कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युट्युबमा को के हो ?

युट्युबका लागि खटिने एउटा समूहले आफूलाई पत्रकार बताउँदा पत्रकार जमात खितखित हाँसिरहेको छ भने तिनले आफूलाई युट्युबर बताउँदा युट्युबरहरु नै लाजमर्दो मानेर आफूलाई अर्थोकै नामले चिनाउन थालेका छन् ।
सजना बराल

यो लेख ध्रुव राठीको बारेमा होइन तर उनीबाटै सुरु गर्छु र अन्त्य पनि उनमै हुनेछ । युट्युब हेर्नेलाई ध्रुव को हुन् पक्कै थाहा होला । तर, यो मिडियामा जुन प्रकारका सामग्री बढी हेर्ने बानी हामीलाई पर्दै गएको छ, त्यसले हामीमध्ये धेरैले उनलाई नचिन्न सक्ने सम्भावना प्रचुर छ र यो अस्वाभाविक होइन ।

युट्युबमा को के हो ?

युट्युबमा सराहनीय काम गर्दै आएका ध्रुवसँग भारतकै वरिष्ठ पत्रकार एवम् म्यागसेसे पुरस्कार विजेता रवीश कुमारले एनडीटीभीको अन्तर्वार्तामा सोधेका छन्, ‘तपाईं आफूलाई पत्रकार, मिडिया–पर्सन वा केका रूपमा देख्नुहुन्छ ?’ (के भनेर चिनाउनुहुन्छ ?)

ध्रुवको जवाफ, ‘म आफूलाई युट्युबरका रूपमा पहिले देख्छु । एक आर्टिस्ट मान्छु आफूलाई । किनभने मलाई भिडियो बनाउन मन पर्छ । यो फरक कुरा हो कि मेरा भिडियो त्यो क्षेत्रका बारेमा हुन्छन् जुन पत्रकारिता वा एक्टिभिजमसँग सम्बन्धित छन् । तर, यत्तिको भरमा म आफूलाई पत्रकार भन्न सक्दिनँ, मेरो योग्यता नै छैन ।’

योग्यताको कुरामा रवीश ध्रुवसँग सहमत हुँदैनन् । ‘योग्यता के हो र ? तपाईं तथ्यको पछि जति दगुर्दै जानुहुन्छ त्यही नै (पत्रकारको) योग्यता हो...,’ रवीशको भनाइ ।

यी दुईको संवादमा मलाई दुइटा चीज खुब मन परे । एक, ध्रुवले आफूलाई सगर्व युट्युबर भनेको कुरा । दोस्रो, तथ्यको पछि दौडिने कुरा । यी भनाइले उनीहरू आफ्नो पेसाप्रति कति इमानदार छन् र आफ्नो माध्यम (युट्युब, टेलिभिजन, रेडियो आदि) लाई कति आदर गर्छन् भन्ने झल्काउँछ ।

तिनै दुई वचनलाई आधार मानेर यो पनि भन्न सकिएला, जो आफ्नो पेसा र माध्यमप्रति इमानदार हुँदैन वा त्यसको श्रद्धा गर्दैन उसले आफू जे होइन त्यही हुँ भन्दै हिँड्छ । आफू जे हो त्यो स्विकार्दैन र आफूले जे गर्नुपर्ने हो त्योभन्दा फरक काम गर्छ । जस्तै, हामीले देख्दै आएका छौं नि– कतिपय युट्युबरहरू आफूलाई पत्रकार बताइहिँड्छन् तर तथ्य होइन क्रन्दन, सनसनी र भ्युजको पछि आँखा चिम्लेर दौडिन्छन् ।

मलाई अचम्म लाग्ने कुराचाहिँ उनीहरू युट्युबकै लागि भनेर दिनरात खटिन्छन् तर त्यही युट्युब, आफ्नो सानदार माध्यमप्रति गर्व गरेर ‘म युट्युबर हुँ’ भन्न हिचकिचाउँछन् । हामी छेउछाउका अधिकांश युट्युबर आफूलाई कन्टेन्ट क्रिएटर, भ्लगर, आर्टिस्ट, पत्रकार, गेमर, कमेडियन, मिडिया पर्सनलगायत के–के नामले चिनाइरहेका हुन्छन् । युट्युबभित्र छिरेर जेसुकै गरे पनि सर्वप्रथम उनीहरू युट्युबर हुनुपर्ने हो र त्यसपछि बाँकी । तर, तिनलाई युट्युबरको सट्टा बाँकी नाउँले चिनिन बढी मजा लाग्दो रहेछ, ठीकै छ त्यो पनि ।

पुडिपाई, जेफ्री स्टार, लीली सिंहदेखि, आशिष चञ्चलानी, सन्दीप महेश्वरी, ब्रेन्ट रिभेरा र हाम्रै जेम्स श्रेष्ठहरूले युट्युबमा जे–जे काम गरे पनि इन्टरनेटमा खोजी गर्दा यिनलाई युट्युबरका रूपमा भेटिन्छ । यिनीहरू हुन् नै त्यही । युट्युबर हुनु तिनका लागि इज्जतिलो कुरा पनि होला । ‘युट्युबर’ शब्द शब्दकोशमा समावेश भइसकेको छ । क्याम्ब्रिज शब्दकोशका अनुसार, युट्युबका लागि भिडियो बनाउने र भिडियोमा देखिने व्यक्ति युट्युबर हो ।

युट्युबमा अहिले जम्मा ३१ मिलियनवटा च्यानल रहेछन् । सबै च्यानल–धनी युट्युबर होइनन् भन्ने त बताउनै नपर्ला । त्यसमा पनि अन्तर्वार्ता लिने, रिपोर्ट वा सूचना सामग्री बनाउने, लाइभ प्रसारण गर्नेहरू सबै पत्रकार होइनन् । रेडियो, टीभीमै पनि यी काम गर्नासाथ मान्छे पत्रकार भइहाल्दैन । रवीशकै भनाइ फेरि दोहोर्‍याउँदा पत्रकार हुन ऊ कम्तीमा तथ्यको पछि दौडेको छ/छैन भन्ने कुराले अर्थ राख्छ । योसँगै बाँकी ‘योग्यता’ पनि चाहिएलान् । नत्र भए ऊ पित पत्रकार बन्ला ।

आफ्नो मिडियाप्रति अनुगृहीत भएर वा उनकै अनुसार पत्रकार कहलिन योग्य नलागेर ध्रुवले आफूलाई युट्युबर बताएका होलान् । तर, उनी जुन प्रकारले तथ्यको खोजी गर्छन्, विज्ञका राय बुझेर र स्वअध्ययनपश्चात् विविध राजनीतिक, सामाजिक आदि विषयवस्तुबारे शालीन ढंगले जानकारी दिँदै आफ्ना धारणा राख्छन् वा टिप्पणी गर्छन्, उनलाई पत्रकार भन्न कसैले आनाकानी गर्दैन । मूलधार भनिने रेडियो, टीभी, पत्रपत्रिकामा आबद्ध नभएरै र घर–झगडा, दुःख–पीडा, कलह, अभद्रता र क्रन्दनहरू ‘एक्सपोज’ नगरीकनै उनी इज्जतिला पत्रकार भएका छन् ।

तर, कस्तो विडम्बना ∕ रातारात फिल्डमै पुगेर ब्रेकिङ न्युज दिने, पीडित, पीडक र रमितेहरूसँग प्रत्यक्ष कुराकुरानी गर्ने र मर्का परेकालाई सहयोग समेत जुटाइदिन सक्नेहरूले भने आफूलाई ‘पत्रकार हुँ’ भनेर दाबी गरिरहँदा एकथरी समाज ‘ए हो ?’ को शैलीमा खिसी गरिरहेको छ । उता ध्रुवहरूले चाहिँ ‘म पत्रकारै होइन’ भन्दासमेत रवीशहरू ‘किन नहुनु’ को भावमा प्रस्तुत भइदिन्छन् । यस्तो लाग्छ, नयाँ माध्यमले मान्छेको पहिचानलाई गोलमटोल पारेर सबैलाई के हो, के होइनमा अल्झाइदिएको छ ।

जतिसुकै गोलमाल भए पनि पत्रकार पहिल्याउन खासै गाह्रो भने छैन । त्यो मानिस जो समाचार वा अन्य सान्दर्भिक सूचना संकलन गर्छ, तीबारे लेख्छ, तस्बिर खिच्छ, समाचार सम्पादन वा त्यसमा टिप्पणी गर्छ, उही पत्रकार हो । यो शास्त्रीय परिभाषालाई छोडेर अहिलेको परिप्रेक्ष्यअनुसार भन्दाचाहिँ फाल्तुको होहल्ला नगरी, अचाक्ली विरही नबनीकन, शान्त र संयम पाराले सूचना, समाचार वा टिप्पणीहरू प्रस्तुत गर्ने, झूटा/भ्रामक तथ्यविरुद्ध फ्याक्ट चेक गर्ने, मान्छे र परिस्थितिको संवेदनशीलताअनुरूप प्रश्न राख्ने र मोटामोटी रूपमा यिनै काम गरेमार्फत गुजारा टार्ने मानिस पत्रकार हो ।

मैले बुझेअनुसार कसले कुन माध्यमबाट पत्रकारिता गरेको छ भन्ने कुराले ऊ असली पत्रकार हो कि होइन भन्ने कुराको निर्धारण पटक्कै गर्दैन । चाहे रेडियो, टीभी, पत्रिका होस् वा युट्युब, ट्वीटर, फेसबुक वा टिकटक, जुन कुनै माध्यमबाट पत्रकारिता गर्न सकिन्छ र जुन कुनै माध्यम प्रयोग गरेर पत्रकार बन्न सकिन्छ । अझै भन्नुपर्दा, पत्रकारिता यस्तो क्षेत्र हो जहाँ नयाँ र आधुनिक माध्यमको निकै सराहना र बरोबर प्रयोग हुन्छ चाहे त्यो माध्यम अरू नै कुनै क्षेत्र वा प्रयोजनका लागि निर्माण भएको किन होस् !

तसर्थ, युट्युबबाट सही सूचना सम्प्रेषण गर्ने काम हुन्छ भने सो काम गर्ने व्यक्तिलाई पत्रकार मान्न कुनै अप्ठ्यारो मान्नु पर्दैन, मानिँदैन । उसले खुबै भलाद्मी भएर आफूलाई युट्युबर हुँ भने पनि दुनियाँले नै उसलाई ‘तँ पत्रकारै होस्’ भनिदिन्छ । तर, हाम्रो सन्दर्भमा कुरा गर्ने हो भनेचाहिँ यहाँ रमाइलो चलिरहेको देख्छु म । युट्युबका लागि खटिने एउटा समूहले आफूलाई पत्रकार बताउँदा पत्रकार जमात खितखित हाँसिरहेका छन् भने तिनले आफूलाई युट्युबर बताउँदा युट्युबरहरू नै लाजमर्दो मानेर आफूलाई अर्थोकै नामले चिनाउन थालेका छन् ।

आँडेपाँडे भिडियो बनाएर वा त्यसमार्फत झूट, भ्रम, अश्लीलता, अन्धविश्वास, गालीगलौज, अवैज्ञानिक र अर्थसत्य कुरा फैलाउनेहरू युट्युबका पीत पत्रकार वा हाउडेहरू हुन् । मूलधारका मिडियाले बेवास्ता गरेका कतिपय मुद्दा तिनले उठाउन खोजेजस्तो गरे पनि र मूलधारवाला मिडियाले इच्छा नगरेको ठाउँमा उनीहरू फुर्तिलो भएर पुगे पनि तिनले विषयवस्तुमाथि गर्ने ज्यादती र विषयवस्तुप्रतिको तिनको असंवेदनशीलता पत्रकारिताको दृष्टिमा अक्षम्य खालको हुँदै आएको छ । र, सबैभन्दा डरमर्दो कुरा, जुन हिसाबमा यस्ता भ्रामक कन्टेन्ट खतप हुने गरेका छन्, यसले युट्युबमा पित पत्रकारिता र भ्रमकारिता मूलधार बन्ने खतरा बढेको देखाउँछ ।

यो नौजवान मिडियामा जथाभावी गर्नेको संख्या सायद बढी भएर वा जथाभावी भिडियोहरू चाँडो अनि धेरै मात्रामा बिक्ने भएकाले होला केही जेन्युइन युट्युबरहरू आफूलाई युट्युबर बताउन हिचकिचाउनुपर्ने अवस्था आइपुगेको छ । हामीकहाँ युट्युब जति धेरै लोकप्रिय हुँदै छ, उति बदनाम पनि । मैले युट्युबमा च्यानल खोलेर भिडियोसम्बन्धी काम गर्न लागेकोबारे साथीभाइलाई बताउँदा सबैले एउटै प्रतिक्रिया दिए, ‘ए, तिमी पनि अब युट्युबे बन्ने ?’

ओहो ∕ युट्युबरहरू कति छिट्टै ‘युट्युबे’ बनिसके नेपालमा ∕ तिनले राम्रो काम गरिदिएका भए ‘युट्युबु’ बन्थे, सायद । हाम्रो माया गर्ने र खिस्याउने तरिकै मिठो ∕ तर, अझै पनि माया पाउन ढिलो भएको छैन । तसर्थ, जेन्युइन युट्युबरहरू जुझारु हुन आवश्यक छ अब । यतिबिघ्न जुझारु कि ध्रुवले झैं तिनले आफूलाई युट्युबर हुँ भनिरहँदा रवीशहरू लोभिएर ‘होइन तिमी पत्रकारै हौ’ भन्न सकून् । यस्तो जुझारु कि युट्युबरलाई आफ्नो मान्न सम्बन्धित क्षेत्र लालायित होस् ।

प्रकाशित : आश्विन १०, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?