१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टीका थापेको भत्ता

‘हामी जनप्रतिनिधि हौं । हामीमाथि राज्यले गरेको खर्च कसरी फजूल खर्च हुन्छ ?’
शरच्चन्द्र वस्ती

गोजीबाट एउटा कागज झिकेर मलाई दिंदै उसले भन्यो, ‘यसको भाषा मिलाइदे न यार !
‘यो के हो ?’ मैले सोधें, ‘फेरि के गोलमाल गर्न लागिस् ?’

टीका थापेको भत्ता

‘केही होइन यार, एउटा चिठी हो । यसो विदेश घुम्न जाने मेसो मिलाउन लाग्या,’ मलाई जिल्ल पार्दै उसले कुरा फुकायो, ‘कोरोनाले गर्दा छ महीनासम्म कतै जान पाइएन । अब अलिक खुकुलो भएको छ । अन्तर्राष्ट्रिय उडान पनि शुरू हुन लाग्या छ । त्यही भएर ।’

छ महीना यता मेरो घरमा आउने ऊ पहिलो व्यक्ति थियो । चल्तापुर्जा सांसद, एउटा संसदीय समितिको सभापति । सानैदेखिको तँ–तँ म–म को साथी । राम्रो, नराम्रो कुनै कुरा मसँग नलुकाउने । कुनै न कुनै बहाना बनाएर महीनामा एक–दुईपल्ट गफ गर्न आइरहने, ‘चिया खान आएँ है’ भन्दै ।

मैले कागज हेरें । सभामुखलाई सम्बोधन गरिएको पत्र रहेछ । विदेशमा कोरोना नियन्त्रण कसरी भइरहेको छ भनेर अध्ययन गर्न आफ्नो नेतृत्वमा केही सांसदलाई कुनै देशको भ्रमणमा जाने व्यवस्था मिलाइदिन अनुरोध गरेर लेखिएको ।

‘कसैलाई के धन्दा, घरज्वाइँलाई खानकै धन्दा’, मैले छेड हानें, ‘यहाँ मान्छे मरिराख्या छन्, तिमीहरूलाई विदेश घुम्न हतार ? बरु आफ्नै जिल्ला जानु नि कोरोनाको अनुगमन गर्न ।’

‘न भत्ता पाइन्छ, न कुनै सुविधा । के खान जानु ?’ उसले कुरा लुकाएन ।

‘ल विदेश गयौ अरे । हप्ता–दश दिनको घुमाइमा सबै कुरा बुझ्न सक्छौ त ? कहिलेदेखि त्यस्ता बुझक्की भयौ तिमीहरू ?’ मैले जिस्क्याएँ ।

‘आफ्नै देशमा के भइराख्या छ भन्ने त छ महीनादेखि बुझ्न नसकेर हैरान छौं । विदेशको कुरा एक हप्तामा के खाएर बुझ्नु ?’ उसले भन्यो, ‘तर कसलाई बुझ्नुपर्‍या छ र विदेशको कुरा ?’ अनि आफ्नो मनसाय खुलायो, ‘दशैं आउन लाग्या छ, यसो किनमेल गरेर अलिकति राम–रमाइलो गरेर फर्किने हो ।’

‘यसबाट देशलाई के फाइदा हुन्छ ?’ मैले बुझ पचाएजस्तो गरें ।

‘तँलाई कसले भन्यो, हामी देशलाई फाइदा गर्न विदेश जान लाग्या भनेर ? हामी त आफ्नो फाइदाका लागि जान लाग्या,’ उसले अट्टहास गर्‍यो । म पनि अट्टहासमा शामेल भएँ ।

पत्रको भाषामा मिलाउनुपर्ने केही थिएन । भन्नुपर्ने कुरो भनेकै थियो, बाँकी कुरा मिलाउन ऊ आफैं उस्ताद थियो । चिठी त बहाना थियो, खासमा ऊ मसँग गफगाफको न्यास्रो मेटाउन आएको थियो ।

चिया खाएपछि उसले भन्यो, ‘आज तँ पनि मसँग हिंड् ।’ घुमघामको न्यास्रो मेटाउन म ऊसँगै निस्किएँ ।

हामी सभामुखको कार्यालयमा पुग्यौं । उनी मीटिङमा रहेछन्, सहायकले हामीलाई एक छिन पर्खन भने । अरू आधा दर्जन समितिका सभापति पहिल्यैदेखि उनको प्रतीक्षामा थिए । कुरा गर्दै जाँदा थाहा भयो, सबैजना विदेश भ्रमणकै कुरो लिएर आएका रहेछन् ।

सभामुखले सबैलाई एकैचोटि बोलाए । सबैको पत्र बुझेर ‘विषय’ मा नजर लगाएपछि भने, ‘सबै जना आआफ्नो समितिबाट प्रमण्डल लिएर विदेश भ्रमणमा जान खोज्नुभएको रहेछ । किन हो ?’

सबैले पालैपालो उत्तर दिए । ‘कोरोनाले शिक्षा प्रणालीमा पारेको प्रभाव अवलोकन गर्न,’ एउटाले भन्यो । ‘कोरोनाले विकास निर्माणमा पार्ने असरबारे अध्ययन गर्न,’ अर्काले सुनायो । ‘कोरोनापछि पर्यटन क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भनेर विचार विमर्श गर्न,’ तेस्राले बतायो । ‘उद्योग–व्यापारमा कोरोनाले पारेको प्रभाव निरीक्षण गर्न,’ चौथाले जानकारी दियो । ‘कोरोना कालमा महिला हिंसाको अवस्थाबारे अनुभव आदान–प्रदान गर्न,’ पाँचौंले उल्लेख गरिन् । ‘कोरोनाले सुशासनमा पार्न सक्ने प्रभावको अध्ययन गर्न’ छैटौंले भन्यो । अन्त्यमा साथीले जाहेर गर्‍यो, ‘विदेशमा कोरोना नियन्त्रणको स्थिति अवलोकन गर्न ।’

‘सबैजना कोरोनाकै सहारामा हुनुहुँदो रहेछ । अब अरू माननीय पनि आउनुहोला यस्तै पत्र लिएर,’ सभामुखको बोली टर्रो भयो, ‘हामी मितव्ययी हुनुपर्छ । फजूलखर्च गर्न हुँदैन । सबै जना विदेश घुम्न जाँदा कम खर्च हुन्छ ?’

‘हामी जनप्रतिनिधि हौं । हामीमाथि राज्यले गरेको खर्च कसरी फजूलखर्च हुन्छ ?’, एउटाले आपत्ति जनायो । ‘संविधान बनाउने बेला म संघीयताको अध्ययन गर्न मात्र पाँचपल्ट विदेश गएँ...’ अर्काले भन्यो । उसलाई उछिन्दै तेस्रो पड्क्यो, ‘यस्ता प्रमण्डल लिएर कतिचोटि विदेश गइयो, गइयो । त्यसवेला फजूलखर्च भएन, अहिले फजूलखर्च भन्ने ?’

‘मेरो आशय त्यो होइन,’ सभामुख तत्काल नरम भए । उनलाई थाहा थियो, भत्ता लिने र विदेश घुम्ने कुरामा सबै पार्टीका माननीय एकमत हुन्छन् । तिनलाई बिच्क्यायो भने आपत पर्छ । उनले भने, ‘म कोशिश गर्छु, मलाई एक हप्ताको समय दिनोस् ।’

सभामुखसँग विदा भएपछि सबै जना खाजा खान साथीको ‘सचिवालय’ मा पस्यौं । खाजा आएपछि मैले भनें, ‘यस्तो वेला विदेश जान किन अपहत्ते गर्नुहुन्छ ? त्यसै पनि लकडाउनका वेला ट्याक्सी खर्च लिएको भनेर बदनाम हुनुभएको छ ।’

‘त्यो सब प्रतिगामी षड्यन्त्र हो,’ एउटाले भन्यो, ‘कर्मचारीले हामीलाई बदनाम गराउन हाम्रो खातामा खुरुखुरु पैसा हालिदिंदा रहेछन् । हामीलाई के थाहा ?’

‘तपाईंहरूले पैसा लिएको भनेर सही पनि त गर्नुभएको छ नि ।’

‘त्यो झन् ठूलो षड्यन्त्र हो । त्यस्तो ठाउँमा सही गराउन हुन्छ, हामीलाई ?’

अर्काले सप्रसंग व्याख्या गर्न थाल्यो, ‘हामीलाई बदनाम गर्न चौतर्फी षड्यन्त्र भइरहेको छ, बुझ्नुभो ? हेर्नोस् न, ठेकेदारहरूले गाडी दिन्छन्, चढ्नैपर्‍यो । तस्करहरूले केटाकेटीको स्कूल फीस तिरिदिन्छन्, तिनलाई पढाउनैपर्‍यो । दलालहरूले श्रीमतीलाई गहना ल्याइदिन्छन्, फिर्ता लैजाऊ भन्न मिलेन । बिचौलियाहरूले फ्ल्याट मिलाइदिन्छन्, बस्नैपर्‍यो । उस्तै पर्दा जग्गा नामसारी गरिदिन्छन्, कसरी नाइँ भन्नु ? फेरि तिनलाई दिनुपर्ने चाहिं केही होइन । यसो वेलामौकामा, ठाउँमा तिनको पक्षमा बोलिदिए पुग्छ, अरू केही गर्नै पर्दैन । तैपनि तपाईंहरू हामीलाई बदनाम गर्नुहुन्छ । कम पीडा छ हामीलाई ?’

‘यो सब छोड्नोस् सभापतिज्यू, सभामुखको नियत मलाई चाहिं ठीक लागेन,’ तेस्रोले प्रस्ताव राख्यो, ‘बरु हामी आआफ्नो समितिबाट सोझै सरकारलाई निर्देशन दिऊँ न, कोरोनापछि देश कसरी बनाउने भन्नेबारे अध्ययन गर्न सांसदहरूलाई विदेश पठाऊ भनेर ।’

‘हाम्रो निर्देशन कसले सुन्छ ? आजसम्म एउटा निर्देशन सरकारले पालना गरेको देख्नुभा छ ?’ चौथो रन्कियो ।

‘कुनै न कुनै निर्देशन त अवश्य पालना भएको होला,’ पाँचौं आशावादी थियो ।

‘हेरौं न त, के भएको रहेछ । यहाँ पनि त रेकर्ड होला नि,’ छैटौं जुर्मुरायो ।

‘छ नि, किन नहुनु ?’ साथीले भन्यो र दुवैलाई अर्को कोठामा पुर्‍यायो ।

टेबुलमा निर्देशनका फाइलको डंगुर थुपारेर एउटा कर्मचारी उँघिरहेको थियो । उसलाई जगाएर साथीले सोध्यो, ‘हाम्रो निर्देशन सरकारले कत्तिको पालना गरेको छ ?’

‘कुनै कुनै आंशिक पालना गरेको छ, सभापतिज्यू,’ उसले जवाफ दियो ।

‘त्यो भनेको के ? स्पष्ट पार्नोस् न,’ साथीले भन्यो ।

‘त्यो कस्तो भने, मानिलिऊँ तपाईंले कसैलाई पसलबाट पान लिएर आइज भन्ने निर्देशन दिनुभयो । ऊ अल्छी गर्दै निकैबेरमा उठ्यो र घरबाहिर पुगेर खैनी थुकेर फर्क्यो । अब, उसले पान नल्याए पनि आंशिक रूपमा पसलतिर गएको र फर्केर आएको त हो नि । यस्तै हो निर्देशनको आंशिक पालना भनेको,’ कर्मचारीले उदाहरणबाट कुरा स्पष्ट्यायो ।

मैले हाँसो रोक्न सकिनँ । भनें, ‘तपाईंहरूका निर्देशन पनि त घाँटी नहेरी हाड कोच्याउने खालका हुन्छन् नि । हरेक गाउँपालिकामा पीचरोड पुर्‍याऊ, प्रत्येक नेपालीलाई एभोकाडो उपलब्ध गराऊ भन्ने पाराका । यस्ता आदेश कसले, कहिले, कसरी पूरा गर्ने ?’

एक छिन पछि हामी फर्कियौं । बाटोमा साथीले भन्यो, ‘सभामुखको छाँटकाँट हेर्दा यसले विदेश जान देला जस्तो छैन । अब ठूलै नेताको सोर्स लगाउँछु ।’

भोलिपल्ट उसको फोन आयो । भन्दैथियो, ‘नेताकहाँ गएको त सभापतिहरूको लाइन रहेछ । सबै सोर्स लाउन पुगेका ।’

तीन दिन पछि ऊ फेरि मकहाँ आयो । अनुहार उज्यालो थियो । भन्यो, ‘विदेश जान त अहिले रोकियो । पछि पठाउने अरे । अब कोरोना अनुगमनका लागि जिल्ला जानुपर्ने भयो । गाडी, भत्ता लगायत सबै सुविधा दिने भए । दशैं, तिहार आफ्नै घरमा मनाउन पाइने भयो ।’

‘ल मोज गर् । दशैंमा टीका थापेको भत्ता पनि पाउने भइछस् ।’ मैले भनें ।

‘त्यो पनि त जनताकै काम हो नि ! ऊ हाँस्न थाल्यो ।

प्रकाशित : आश्विन ३, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?