‘सर्पसँग केको डर ?’ - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सर्पसँग केको डर ?’ 

सर्पले हाम्रो पारिस्थितिक प्रणालीमा सिकारी र सिकारको दोहोरो भूमिका खेलेको हुन्छ । यिनले बाली विनाशकहरूको संख्या घटाइदिन्छन् । नासकारी महामारी फैलाउने मुसाविरुद्ध लड्ने अथक र विश्वासिला सहयोगी हुन् सर्पहरू । पर्यावरणमा सर्पको स्थान अत्यन्त महत्त्वपूर्ण छ । 
केआर खम्बु

काठमाडौँ — सर्प शब्द सुन्नासाथ हाम्रो मस्तिष्कमा एउटा चित्र सलबलाउँछ– हात–खुट्टाविहीन सामान्य रूपमा घस्रेर हिँड्ने एक जीव । सरीसृप वर्गको यसको शरीर लाम्चो डोरीजस्तो र कत्लाले ढाकिएको हुन्छ । सामान्यतः सर्पको शरीरलाई टाउको, घाँटी, जीउ र पुच्छर गरी चार खण्डमा बाँडिएको हुन्छ ।

यसको टाउको पनि प्रजातिअनुसार विभिन्न आकारका हुन्छन् । पुच्छर पनि जमिन र समुद्रमा बस्ने प्रजातिको बेग्लाबेग्लै हुन्छ । सबै सर्पको आँखाको ढकनी नहुने भएकाले यसले हामीलाई ट्वाल्ल परेर हेरिरहेझैं देखिन्छ र प्रायः मानिस त्यसैकारण तर्सिने वा डराउने गर्छन् । नेपालको हिमाल, पहाड, चुरे तथा समतल तराई तीनवटै भूभागमा विभिन्न खाले सर्पहरू छरिएर बस्ने गर्छन् ।

संसारभरि ३५०० प्रजातिका सर्प भएको तथ्यांक छ । तीमध्ये जम्मा ६०० प्रजातिका सर्प मात्रै विषालु मानिन्छन् । त्यस्तै भारतमा २७१, चीनमा २०९ र नेपालमा ७७ प्रजातिका सर्प पाइएका छन् । यसमा १० सेमि मात्र भएको अन्धा सर्पदेखि ६ मिटर लामोसम्मका अजिंगर र राजगोमनसमेत पर्छन् । सर्पका यी प्रजातिमध्ये जम्मा २०५ जति मात्रै विषालु हुन्छन् भने बाँकी विषरहित हुन्छन् । भारतमा ६१, चीनमा ३५ र नेपालमा २१ प्रजातिहरू मात्र विषालु सर्पका रूपमा चिनिएका छन् । त्यसमा पनि गोमन, करेत, पुवाले (कोरल) सर्प, रसेल्स भाइपर र सोऊ–स्केल्ड भाइपर गरी जम्मा चार प्रजातिका सर्पचाहिँ निकै घातक मानिन्छन् ।

मेरुदण्डीय समूहको सरीसृप वर्गभित्र पनि उपवर्ग छन् । तीमध्ये केही हुन् ः शरीरमा कडा खबटा भएको टेस्टुडाइन उपवर्ग (कछुवाहरू), ठूलो शरीर, आँखाको डल्लो उभोतिर फर्केको, थुतुनोमाथि नाथ्री उठेको आदि भएको क्रोकोलिडा उपवर्ग (गोहीहरू), शरीरभरि कत्ला भएको, खुट्टा भएका वा नभएका, पुच्छर लामो वा छोटो भएका आदि गुण भएका स्क्वामाट उपवर्ग । स्क्वामाट उपवर्गमा छेपारा तथा सर्पहरू पर्छन् । नेपालका सर्पहरूलाई स्क्वामाट उपवर्ग (अर्डर) को सर्पेन्टिज भन्ने सबअर्डरमा राखिएको छ । यस सबअर्डरलाई बोइडी, कलुब्रिडी, इलापिडी, भाइपेरेडी र डाइफ्लोपिडी गरी जम्मा पाँच परिवारमा बाँडिएको छ । यी हरेक परिवारले सर्पहरूका बेग्लाबेग्लै गुण सामूहिक रूपमा देखाउँछन् । हरेक परिवार विभिन्न गुण भएका जाति वा प्रजातिमा बाँडिएका छन् । ठूलो शरीर र ढिलो हिँडाइ भएका सर्प बोइडी परिवारभित्र पर्छन् । जस्तै ः पाडे अजिङ्गर (पाइथन मलुरस), चिचिन्डे वा बाउन्ने अजिङ्गर (इरिक्स कोनिकस) आदि ।

साधारण खाले सर्पहरू कलुब्रिडी परिवारमा पर्छन् । सर्पको जगत्मा यो सबैभन्दा ठूलो परिवार हो । यसका पेटतिरका कत्लाहरू पिठ्युँतिरको भन्दा निकै ठूला र प्रायः शरीरको जत्रै चौडा हुन्छ । यस समूहका प्रजातिहरू घातक खालका विषालु छैनन् । हरहरा सर्प (एम्फिस्मा स्टोलाटम), गहने सर्प

(इलाफे फोरफाइरेसिया), धामन सर्प (टाइयस म्युकसस) आदि यस समूहमा पर्छन् ।

बाटुलो टाउको, खबटे कत्ला, छरितो जीउ, बढी सुल्कने क्षमता भएका सर्पहरू इलापिडी परिवारमा पर्छन् । यस परिवारका सबै सर्प अति विषालु हुन्छन् । एक थोप्ले गोमन (नजा काउथिया), दुई थोप्ले गोमन (नजा नजा), राजगोमन (ओफियोफ्यागस हान्ह) तथा करेटहरू (बंगरस स्पेक) यस समूहमा पर्छन् ।

च्याप्टो तीनकुने टाउको, घाँटी साँघुरो, जीउ पोटिलो, मसिना कत्ला, नाथ्रो र आँखाको बीचमा खोपिल्टा परेको पिट, ठाडो परेको आँखाको नानी, सुल्कने शरीर भएका गुर्भे (ओभोफिस मन्टिकोला), हरेउ

(टाइमेरेसुरस ग्रामेनी) आदिलाई भाइपेरेडी परिवारमा राखिएका छन् । यसैगरी सानो झिनो शरीर भएको तथा आँखाको थोप्ला मात्र भएको साथै करिब १० सेमि जति मात्र लम्बाइ भएका साना गनेउले

(र्‍याम्फोटाइफ्लप ब्रामिनी) आदिलाई टाइफ्लोपिडी परिवारमा राखिएका छन् ।

विषालु सर्पका कुरा

सर्प विषालु हो कि विषरहित भन्ने बुझ्न यसका दन्तीकरणमा विष दन्त (फ्याङ) को अध्ययन गर्नुपर्छ । यसैको आधारमा सर्पलाई तीन समूहमा बाँड्न सकिन्छ ।

पहिलो ओपिस्थोग्लिफ अर्थात् पाश्चदन्त समूहको सर्पको विष दन्त मुखेओडारको पछिल्लो भागमा हुन्छ र यो विशेष खोलभित्र हुन्छ । यसर्थ यो पाश्चदन्तलाई डस्न निकै समय लाग्छ । यसले विरलै मात्र टोक्ने गर्छ । यस समूहमा कलुब्रिडी परिवारका (साभे, बिराले, माटे) सर्पहरू पर्छन् । यस परिवारमा पर्ने यार्ब्डोफिसबाहेक अन्य सबै प्रजाति विषरहित मानिन्छ ।

दोस्रो प्रोटोग्लिफ अर्थात् अग्र अचल विषदन्तधारी समूहका सर्पको विषदन्तको अवस्थिति मुखेओडारको अघिल्तिर हुन्छ, जसले गर्दा कुनै वस्तुलाई झट्टै टोक्न सजिलो हुन्छ । मुख उघ्रनासाथ यसका विषदन्त पनि ठाडो पर्ने भएकाले सिकार टोक्दा सीधै दाँत गाडेर विषलाई शरीरभित्र छिराइदिन्छ, जसकारण मान्छे वा सिकार तुरुन्त मर्न सक्छ । यस समूहका सबै सर्प (गोमन, राजगोमन, करेत आदि) घातक र विषालु हुन्छन् ।

तेस्रो सोलेनोगलिफ अर्थात् चल अग्रदन्त समूहको सर्पको विष मुखेओडारको अग्रभागमै भए पनि यो यताउति चल्न सक्छ । आवश्यक परेको बेला बाहिर निस्कन्छ र अरू बेला पछिल्तिर दोब्रिएर रहन्छ । यसमा नेपालमा पाइने गुर्भे समूहका सबै सर्प पर्छन् । यिनीहरू निकै विषालु हुन्छन् ।

सर्पको विषदन्तको अवस्थिति र बनावटले यसको विषालुपनको स्तर निर्धारण हुन्छ ।

वातावरण र सर्प

सर्पसँग तर्सिने वा घिनाउने मनोविज्ञान बोकेर बाँचेका छौं हामीहरू । त्यसो त नागपञ्चमी वा अन्य बेला जातिअनुसार, सर्पको पूजा गर्ने प्रथा पनि छ । तर, सर्पलाई मायाले होइन त्रासले हेरिन्छ ।

वास्तवमा सर्पले हाम्रो पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले खाद्य सञ्जाललाई सन्तुलनमा राख्छ । सर्पले पारिस्थितिक प्रणालीमा सिकारी र सिकारको दोहोरो भूमिका खेलेको हुन्छ । यिनले बाली विनाशकहरूको संख्या घटाइदिन्छन् । बाली ध्वस्त पार्ने रोगबाहक मुसा तथा अन्य साना स्तनधारी विनाशकलाई खाइदिन्छन् । नासकारी महामारी फैलाउने मुसाविरुद्ध लड्ने अथक र विश्वासिला सहयोगी हुन् सर्पहरू । यसैले सर्पलाई मार्नु हुँदैन । प्रकृतिले सर्पलाई विषग्रन्थि तथा विषदन्त मानिस डस्न होइन, आफ्नो खाद्य शृंखलाभित्र भोजन प्राप्त गर्न र सिकार खेल्न दिएको हो । जलचर सर्पले पानीमा रहेका दूषित पदार्थ वा जन्तु खाई पानी स्वच्छ राख्छ । पाखामा बस्ने सर्पले बालीनालीमा लाग्ने हानिकारक कीटपतंग खाइदिन्छ । रूखजीवी सर्पले बगैंचाका फल लाग्ने रूखमा बस्ने विभिन्न सिकारी जन्तुलाई मार्छ । यसरी पर्यावरणमा सर्पको स्थान सधैँ महत्त्वपूर्ण छ ।

अनौठा स्वभाव

सर्पको एउटा अनौठो स्वभाव के भने यसले जिब्रोले सुँघ्छ । हाम्रो जिब्रोको काम चपाउनु र निल्न सहयोग गर्नु हो भने सर्पको जिब्रो सुँघ्नलाई हो । यसर्थ सर्पले कतै हिँड्दा वा रिसाउँदा जिब्रो छिटोछिटो बाहिर निकाल्दै चलायमान बनाउँछ । हाम्रो जिब्रोमा स्वाद थाहा पाउने ‘स्वाद कोपिला’ भन्ने ज्ञानेन्द्रिय हुन्छन् तर सर्पको जिब्रोमा यो हुँदैन । यसर्थ सर्पको जिब्रोले स्वाद होइन गन्ध पत्ता लगाउने काम गर्छ । यसले गन्ध मात्रै होइन दिशा पत्ता लगाउन, खाने कुरा चिन्न तथा आफ्नो प्रजाति पहिल्याउनसमेत सघाउँछ । जिब्रो निकालिदिने हो भने सर्प बाटो पहिल्याउन, सिकार पत्ता लगाउन तथा आफ्ना समुदायसँग सम्पर्क राख्न असमर्थ हुन्छ । समग्रमा जिब्रोको अभावमा सर्पहरू असहाय भई मर्न पनि सक्छन् ।

सर्पको बाह्य कान नभएकाले हामीले झैं सुन्दैनन् । तर, पूरै बहिराचैं हुन्नन् । यिनीहरूको कानको अवशेष भित्रबाट चिउँडोको हड्डीसँग जोडिएको हुन्छ । त्यसमा बाह्य ध्वनिका तरंग ठोक्किँदा कम्पन पैदा भई कुनै पनि वस्तुबाट आएको आवाज सर्पले सुन्न सक्छ । यसर्थ सुरिलो बाजा, बिन, दमाहा, ढोल आदि बजाउँदा सर्पको पूरै शरीर कम्पन भई कि तुरुन्तै भाग्छ कि लठ्ठिएर यता–उता चलमलाउन थाल्छ ।

०००

सर्पदेखि व्यापक डराउने युगौंदेखिको परम्परालाई अब हामीले तोड्नुपर्छ । नयाँ पिँढीलाई सिकाउनुपर्छ– सर्पसँग डराउने वा त्यसलाई घृणा गर्ने होइन बरु प्रकृतिको अभिन्न अंग मानेर माया र संरक्षण गर्ने पाठ । माथि नै लेखियो– हिन्दु समाजमा सर्पको प्रतीक नागलाई नागपञ्चमीमा पूजा गर्ने चलन छँदै छ । अझ हिन्दुशास्त्रमा सातटाउके शेष नागमा विष्णु सुतेको, शिवको गलाको गलबन्दी गोमन भएको, समुद्र मन्थन गर्दा मदानीको नेती नाग (सर्प) भएको चर्चा छ ।

उहिले किरात क्षेत्रमा पनि राईहरूले बर्सेनि होङ्कुमाङ (खोलादेउ) पुज्ने भनी केराको पातमा सर्पको आकृति बनाई खोला वा धारा वा पँधेरोमा लगी पुज्ने चलन थियो । भोजपुरको होमतोक भन्ने ठाउँनजिक नागछाँगा भन्ने ठाउँ छ, जहाँ एउटा ठूलो ओढारमा झरिरहेको झरनाको ढुंगामा सर्पका आकृतिहरू बनेकोलाई नाग भनेर पूजिन्छ साथै त्यहाँ छेउछाउका सर्प नमार्ने चलन पनि थियो । यसरी हरेक सम्प्रदाय वा समाजमा सर्पलाई मार्ने होइन पुज्ने संस्कार छ । तथापि सर्प मार्ने हाम्रो खराब प्रवृत्ति छँदै छ ।

सर्पलाई शत्रुवत् होइन मित्रवत् व्यवहार गर्नुपर्छ । अहिलेको विकास निर्माणको चपेटामा परेर प्राकृतिक बासस्थान नष्ट भई ज्यान जोगाउन सर्पहरू मानव बस्ने क्षेत्रतिर आइरहेका छन् । ती बेवारिसे सर्पलाई मार्ने होइन, उद्धार गरेर सुरक्षित रूपमा नजिकैको जंगलमा पुर्‍याइदिनुपर्छ । कहिलेकाहीं सर्प व्यस्त सडकमा निस्केर घाम ताप्न वा बाटो काट्न लागेको देखिन्छ । यस्तोमा गाडी चालकले यिनलाई निर्दयतापूर्वर्क किचेर मार्ने होइन बाटो काट्ने अवसर दिई बचाउनुपर्छ ।

र, सर्पलाई मार्ने होइन, संरक्षण गर्नुपर्छ भन्ने भावना सिर्जना गर्नुपर्छ । सर्प–डसाइ आक्रमण होइन, एक दुर्घटना हो ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन २, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

डाक्टर केसीलाई अस्पतालमा स्थानान्तरण गर्न माग राख्दै साझा पार्टीको विशेष टोली जुम्लामा

एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डाक्टर गोविन्द केसीको पाँचौ दिनमै स्वास्थ्य बिग्रदै गएको छ । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण माग राख्दै साझा पार्टीको विशेष टोली जुम्ला पुगेको छ ।

स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै जुम्लाको रानिचौरस्थित बाविरामष्ट मन्दिर परिषरमा सुरु गरेको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन देशका विभिन्न ठाउँबाट साझा पार्टीको विशेष टोली जुम्ला पुगेको हो ।

यसअघिका सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा.केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमै नाजुक बन्दै गएको चिकित्सहरुले बताएका छन् । उनलाई तुरुन्तै अस्पतालमा स्थानान्तरण गर्नु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : आश्विन २, २०७७ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×