हजूरबासँग आधा दिन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजूरबासँग आधा दिन

हजूरबाले भने, ‘कोरोना जाओस्, तर कोरोनाले ल्याएको राम्रो बानी नजाओस् ।’
शरच्चन्द्र वस्ती

सोह्र श्राद्ध लागेको पाँच दिन भएको थियो । बिहान ‘मर्निङ वाक’ भ्याएर मृगस्थलीबाट पशुपतितिर फर्कंदै थिएँ, वाग्मती तर्नासाथ कसैले बोलायो, ‘ए बाबु !’

फर्केर हेरें । ८० वर्ष नाघेका बूढा मान्छे । कताकता देखेजस्तो लाग्यो । नजीकै गएँ । फिस्स हाँस्तै उनले भने, ‘बिर्सियौ कि क्या हो, बाबु ?’

हाँसेपछि पो झल्याँस्स भएँ । उनी मेरा साथीका हजूरबा थिए । मलाई सारै माया गर्ने । नमस्कार गर्दै भनें, ‘ओहो हजूरबा, तपाईं ?’

भन्न त भनिहालें, भनिसक्ता नसक्तै आफैं आश्चर्यचकित भएँ । उनलाई मैले देखेको ५० वर्ष अघि हो । त्यसवेला जाँघे लगाएर दगुर्ने फुच्चे थिएँ म, आज जागीरबाट रिटायर्ड भइसकेको छु । उनी भने उसवेला जस्ता थिए, ठ्याक्कै उस्तै । यो कसरी सम्भव छ ?

झ्वाट्ट दिमागमा झड्का हान्यो, उनी त उहिल्यै दिवंगत भइसकेका हुन् । म स्वयं पनि मलामी गएको थिएँ । ऊ त्यहीं, दश पाइला पर आर्यघाटमा उनको दाहसंस्कार गरेको । यिनका त छोरा पनि चार वर्ष अघि बितिसकेका हुन् । ...त्यसो भए यिनी के हुन् ? भूत–प्रेत कि दिव्यात्मा ?

अरूवेला भए डरले सातो जाँदो हो । तर त्यसवेला, उनको मायालु भावभंगिमाले होला, फिटिक्कै डर लागेन । सोधें, ‘तपाईं आज कसरी यहाँ ?’

‘आज तिथि हो । सोह्र श्राद्धको पिण्डपानी खान आएको । नाति तयारी गर्दै होला,’ उनले बताए, ‘म पशुपतिको दर्शन गर्नुपर्‍यो भनेर यता लागेको । तिमीलाई देखेर बोलाउन मन लाग्यो ।’

‘आजै आउनुभएको, पितृलोकबाट ?’

‘वर्षमा यही एक दिन त हो नि आउन पाउने । त्यो पनि श्राद्ध सकिएपछि नातिलाई आसिक दिएर फर्किहाल्नुपर्छ ।’

‘कस्तो लाग्यो त यसपालि काठमाडौं ?’

‘निकै सफा भएछ । धूलो–धूवाँ नभएर आकाश छ्यांगै देखिने । रूख–बिरुवाका पात पनि धूलोले नछोपिएका, टिलिक्क टल्कने । कताकताबाट फूलको बास्ना आउने,’ बूढा दंग थिए, ‘पोहोर एकैछिनमा नाक पोलेर सिंगान चुहुन थालेको थियो, यसपालि त आनन्द छ । सास फेर्न पनि कति सजिलो !’

हामी उभिएर कुरा गर्दैथियौं । एकछिनमा एउटा मान्छे ड्याम्म बूढासँग ठोकिउँला जस्तो गर्दै हुत्तिएर आयो । बूढा पनि तर्किन खोजेनन् । उनी ढल्ने भए भनेर डराएको थिएँ, त्यो मान्छे त बूढाको जीउबाट स्वात्तै पार भएर गयो । मानौं त्यहाँ केही छँदै थिएन । म जिल्ल परेको देखेर हजूरबाले भने, ‘अचम्म नमान । हाम्रो शरीर शून्यमा हुन्छ । अरूले देख्न, छुन, सुन्न सक्तैनन् । जसका अगाडि प्रकट हुन चाहन्छौं, उसले मात्र देख्न सक्छ ।’ मेरो देब्रे काँधमा हात राख्तै उनले थपे, ‘अब अलिक बेरका लागि मैले तिमीलाई पनि आफूजस्तै बनाइदिएको छु । यसको मजा लेऊ । आऊ, एक छिन घुमौं ।’

अदृश्य भएर पितृसँगै घुम्ने मौका म किन गुमाउँथें ? हामी गफ गर्दै अघि बढ्यौं । बूढाको गुनासो थियो, ‘मानिसहरू बिग्रिए । धर्म, संस्कार सब छोडे । नमस्कार गर्न छोडे । जोसुकैसँग च्याप्प हात मिलाउँछन्, गम्म अँगालो मार्छन् । जोसुकैसँग बसेर खान्छन् । जुत्ता लगाएरै भान्सा कोठामा पस्छन् । मलामी गएर, लाश राखेको घरमा पसेर आएपछि पनि नुहाउँदैनन्, लुगा फेर्दैनन्...’ यस्तै यस्तै ।

एक छिन हिंडेपछि बूढा छक्क परे । भन्न थाले, ‘जसले पनि मुख छोपेर हिंड्या देख्छु, के भएको यो ? यिनीहरूले अरूलाई मुखै देखाउन नमिल्ने त्यस्तो के अनैतिक काम गरे बाबु ?’

‘आजभोलि अनैतिक काम गर्नेले मुख छोप्तैनन् हजूरबा,’ मैले कुरा बुझाएँ, ‘कोरोना भन्ने महामारी आएको छ, त्यसैको डरले मास्क लगाएर हिंडेका ।’

‘केटीहरूको अनुहारै नदेखिएपछि तिनलाई जिस्क्याउन पनि बन्द भएको होला, होइन ?’ उनले ठट्टा गरे । मैले जवाफ दिइनँ ।

दोबाटोमा पुगेपछि रमाइलो दृश्य देखियो । दुईतिरबाट आएका दुईजना मध्ये एउटाले हात मिलाउन अघि बढाउँदा अर्को तर्सेर पछि हट्यो र हतारहतार हात जोड्यो । बूढा प्रसन्न भए, ‘अघिदेखि ख्याल गरिराख्या छु, कसैले हात मिलाएको देख्तिनँ । सबले नमस्कार गर्न थालेछन् । कति राम्रो संस्कार बसेछ ।’

‘केको संस्कार बस्नु ? रोग सर्ला भनेर नि,’ मैले भनें ।

पाँच मिनेट पछि चोकमा पुगेर हामी एक छिन उभियौं । निषेधाज्ञाका कारण गाडी फाट्टफुट्ट मात्र चलेका थिए । बूढा फेरि दंग परे, ‘यो अफिस टाइम होइन ? यसवेला पनि सडक कति शान्त ? न गाडीको घुइँचो छ, न हर्नले कान खाएको छ । काठमाडौं त झन्डैझन्डै हाम्रै वेलाको जस्तो भएछ ।’

‘पसल पनि बन्द छन् नि हजूरबा,’ मैले देखाएँ, ‘हेर्नोस् त, होटल, रेस्टुराँ केही खुलेको देख्नुभा छ ?’

‘हो त नि, हगि ? जहिलेसुकै, जोसुकैसँग बसेर भक्ष्य–अभक्ष्य जेसुकै खाने मेलो नै हराएछ,’ बूढा गद्गद भए, ‘अब सबैले आफ्नै घरमा पकाएको शुद्ध र ताजा खान थाल्या होलान्, होइन ? कोरोनाले त साँच्चै राम्रो गरेछ ।’

मैले केही बोलिनँ । दुई सय कदम परको घर देखाउँदै उनले भने, ‘त्यो मेरो मामाघर हो । एकचोटि पसौं न ।’

मलाई के आपत्ति हुन्थ्यो र ? हामी त्यहाँ छिर्‍यौं । सबैजना बेसारपानी खाइरहेका थिए । बूढा भन्दा पहिले मैले मुख खोलें, ‘छक्क नपर्नोस् । आजभोलि सबले चियाको सट्टा अदुवा, लसुन, ज्वानो, गुर्जो, तुलसी, मरीच पकाएर, बेसारपानी बनाएर खान थाल्या छन् ।’

‘बल्ल हाम्रा जडीबुटीको महत्त्व बुझेछन्,’ उनको अनुहार उज्यालो भयो, ‘अब यिनलाई चानचुने रोगले छुँदैन ।’

घरमूलीले कसैलाई अह्राए, ‘माथि कोठामा माइलोलाई पनि लगेर देऊ न एक कप । छुन हुँदैन नि, ढोकामा राखेर आउनू ।’

‘यिनले माइलो भनेका कि माइली ?’ हजूरबा अलमल्ल परे । मैले अर्थ्याएँ, ‘माइलो नै भनेका हुन् । कोरोनाले छोएको शंका लागेर छुट्टै बस्या होला, दुई हप्ताका लागि ।’

‘ए, त्यसो पो ?’ बूढा हाँसे, ‘अब केटाहरू पनि नछुने भएर पर सर्न थालेछन् ।’

यसैबीच ढोकामा घण्टी बज्यो । घरबूढीले झ्यालबाट चियाइन् र भनिन्, ‘अस्पताल पुगेर आएको होइनस् कान्छा ? नुहाएर मात्र भित्र पस् नि । फेर्ने लुगा म पठाइदिन्छु ।’

‘आहा, पवित्रताको कस्तो ख्याल गरेको ∕ लाश राखेको घरबाट फर्केपछि हामी पनि यसै गर्थ्यौं,’ हजूरबाका आँखा चम्किए, ‘मान्छेको बुद्धि फिरेजस्तो छ । अब हाम्रो धर्म, संस्कार, परम्परा सब जाग्ने भो ।’

बूढा फुर्केको देखेर मलाई हाँस उठ्यो । भनें, ‘यो सब महामारीको डरले हो हजूरबा । कसैको बुद्धि फिरेको छैन । कोरोना जानेबित्तिकै फेरि उस्तै हुन्छ । तपाईंले पोहोर देखेजस्तै ।’

‘कोरोना जाओस्, तर कोरोनाले ल्याएको राम्रो बानी नजाओस्,’ उनको भनाइ थियो । मैले केही बोलिनँ ।

‘ल अब उतै जाऊँ । वेला हुन लाग्यो,’ हजूरबाले भनेपछि हामी उनको नातिकहाँ पुग्यौं । पितृहरू जम्मा भइसकेका रहेछन् । पिण्ड ग्रहण गर्न आएका मात्र बूढा समेत १२ जना ।

नाति सारा सर्जाम सजाएर, कानमा एयरफोन घुसाएर कम्प्युटरमा हेर्दै श्राद्धको काम गरिरहेको थियो । केही वेरपछि टाउको भुइँमा राखेर ढोग्यो र अर्को कोठामा पसेर मोबाइल चलाउन थाल्यो ।

‘केटाकेटी खेलेजस्तो के गरिराख्या हो यसले ? श्राद्ध कहिले शुरू गर्ने होला ?’ एकजना पितृले भने ।

‘अब गर्ला नि,’ अर्कीले भनिन् ।

यत्तिकैमा खाना पस्किएको खबर आयो । ऊ भान्साकोठामा पस्यो, खपाखप खायो र ओछ्यानमा गई पल्टियो ।

‘लौ मार्‍यो, यसपालि हिस्स पार्‍यो बेकूफले,’ एकजनाले सुस्केरा हाले ।

‘अब यहाँ बसेर के काम ?’ अर्काले खुइय गरे र सबै पितृ तत्काल गायब भए ।

‘त्यसले भर्चुअल श्राद्ध गरेको हो । आजभोलि धेरैले त्यसै गर्न थाल्या छन् । पिण्डपानी इमेलबाट सेन्ड गरिदियो होला, तपाईंले रिसीभ गर्नुभएन र ?’ मैले हजूरबालाई सोधें ।

‘श्राद्ध भनेको ख्यालठट्टा होइन बाबु ∕’ बूढाले यति मात्र भने । उनको अनुहार किञ्चित् मलिन थियो ।

हामी बाहिर निस्क्यौं । १२ बज्न लागेको थियो । चर्को घाम । सुनसान सडक । चरोमूसो नाइँ । न एउटा पसल खुला थियो, न गाडी नै चलेको ।

बूढाले भने, ‘म सानो छँदा पनि यतिवेला यस्तै चकमन्न हुन्थ्यो । दिउसो भूत लाग्छ भन्थे । मान्छे बाहिर निस्कन डराउँथे । फेरि त्यस्तै दिन आएछन् ।’

यसैबीच पर सडकमा एउटा मान्छे देखा पर्‍यो । पुलिसले लठ्ठी उजाएर लखेटेपछि दगुर्दै एउटा गल्लीमा छिर्‍यो । त्यो देखेर बूढाले भने, ‘अब तिमी पनि घर जाऊ । बाटोभरि अदृश्य नै रहनेछौ । घरको गेट छोएपछि मात्र देखिन थाल्नेछौ ।’

‘हवस्, हजूरबा !’ मैले हात जोडें । उनले मेरो शिरमा हात राखे । र, शून्यमा बिलाए ।

म फटाफट घर पुगें । गेट खोलेर भित्र पसेपछि श्रीमतीले भनिन्, ‘एकैचोटि कताबाट आइपुग्नुभो ? म अघिदेखि झ्यालबाट हेरिराखेकी छु, बाटोमा त तपाईं आएको देखिनँ ?’

‘राम्ररी हेर्नुपर्छ नि,’ म मुसुक्क हाँसें र भनें, ‘भोक लाग्या छ । खाना पस्क ।’

प्रकाशित : भाद्र २७, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

गोविन्द पोखरेल

काठमाडौँ — मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।

मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने 'इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल', आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने 'एड्भान्स ह्यान्ड स्यानिटाइजर', सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने 'इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल' र सूर्यमुखी हर्बल प्रोडक्टको 'सूर्यमुखी ह्यान्ड स्यानिटाइजर' मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो । यो कम्पनीलाई विभागले यसअघि नै बन्द गरिसकेको छ ।

विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको 'इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६' विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।

'हामीले स्यानिटाइजरको मापदण्ड तयार गरेर कम्पनीहरुलाई विभागमा दर्ता गर्न आउन भनेर सूचीकृत गरेका थियौं,' केसीले भने,'केहीले विभागमा दर्ता भएर र केहीले घरेलु तथा साना उद्योग कार्यालयमा भएर उत्पादन गरिरहेका थिए । उत्पादन कस्तो भइरहेको छ भनेर हामीले ल्याबमा परीक्षण गर्दा आधा मापदण्डविपरफत भएको पायौं ।' असोजभित्र सबै औषधि उद्योगहरुलाई मापदण्डमा ल्याइसक्ने उनले बताए ।

विभागले तोकेको मापदण्डमा स्यानिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइन्न । केसीले भने,'हामीले इथानोल प्रयोग गर्न भनेका थियौं तर मिथानोल प्रयोग भएको पाइयो । '

क्षणिक नाफाका लागि उद्योगहरुले मिथानोल प्रयोग गरेको स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ ।

कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ । ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने केसीले बताए ।

ह्यान्ड स्यानिटाइजर उत्पादन गर्न चाहिने इथानोल खरिदका लागि विभागले सिफारिस दिने गरेको छ ।

यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको थियो ।

यो पनि पढ्नुहोस्

‘४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन’

प्रकाशित : भाद्र २७, २०७७ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×