राष्ट्रसंघमा बीपी कोइराला- विविधा - कान्तिपुर समाचार

राष्ट्रसंघमा बीपी कोइराला

विचार आदानप्रदानमा अद्वितीय अभिरुचि र क्षमता भएका बीपीसँग न्युयोर्कमै ख्रुस्चेभले तीन पटक, गोल्डा मायरले तीन–चार चोटि, नेहरूले दुईपल्ट, मार्सल टिटो र नासेरले एक–एक पटक भेट गरेका थिए ।
रामचन्द्र पोखरेल

काठमाडौँ — संयुक्त राष्ट्रसंघको पन्ध्रौं महासभा नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरूको इतिहासमा एउटा कोसेढुंगा मानिन्छ । १९ नोभेम्बर १९६० मा मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले बीपी कोइरालाले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै दिनुभएको भाषण र यसबाट परेको प्रभाव हाम्रा परराष्ट्र सम्बन्धहरूमा महत्त्वपूर्ण विषय भएर रहेको छ ।

भाषणपश्चात् त्यसै साँझ बीपीले आयोजना गर्नुभएको चियापान कार्यक्रममा विश्वनेताहरूसँगको भेटघाट र सम्पर्क आफैंमा विशिष्ट महत्त्वको थियो । शीतयुद्धकालमा दुई ध्रुवमा विभाजित विश्वराजनीति उत्कर्षमा पुगेका बेला तेस्रो विश्वका गुटनिरपेक्ष राष्ट्रहरूको प्रभावशाली समूह बनेको थियो । त्यस समूहमा विशिष्ट पहिचानसहितको नेपालको सहभागिता धेरैका लागि चाखको विषय थियो । महासभामा बीपीले प्रस्तुत गर्नुभएको ‘साना राष्ट्रहरूको भूमिका’ बारेको अभिव्यक्तिले एउटा तरङ्ग पैदा गरेको थियो ।

उहाँले आफ्नो भाषणमा ठूला शक्तिराष्ट्रहरू ‘महत्ताभाष’ (बिग पावर कम्प्लेक्स) बाट ग्रसित रहेको र केवल तिनीहरू मात्र नभई ठूलो शक्ति बन्ने महत्त्वाकांक्षा राख्ने अन्य राष्ट्रमा पनि त्यही किसिमको महत्ताभाष रहेको विचार राख्नुभएको थियो, जुन ठोस र निर्भीक थियो । उहाँले नवप्रवेशी सदस्यराष्ट्रहरूको उपस्थितिले विश्वपरिघटनामा एक किसिमको नवीनता ल्याउने र (तिनीहरूको उपस्थितिबाट) त्यस्तो ‘महत्ताभाष’ को भावना नराखेका राष्ट्रसंघभित्रका शक्तिहरूलाई बल पुर्‍याउने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

त्यसै सन्दर्भमा उहाँले विविध कारणवश अझै औपनिवेशिक दबाबमा रहेका, दोस्रो विश्वयुद्धपछि मुलुक विभाजनका कारण आफ्नो स्वतन्त्र हैसियतमा वञ्चितीकरणमा परेका जर्मनी, कोरिया, भियतनामको समस्या, मध्यपूर्वमा अरब–इजरायल द्वन्द्वबाट आहत शान्ति एवं अफ्रिकी महादेशमा जटिल बनेको कंगो र अल्जेरियाको प्रश्नबारे धारणा राख्दै आफ्नो स्वतन्त्र मार्ग अख्तियार गर्ने साना राष्ट्रहरू विश्वशान्तिका लागि एक महत्त्वपूर्ण शक्ति बन्न सक्छन् भन्ने विचारसमेत प्रस्तुत गर्नुभयो ।

६३ करोड जनसंख्या भएको चीनले राष्ट्रसंघमा उचित र सम्मानजनक प्रवेश पाउनुपर्नेमा जोड दिँदै बीपीले चीनको प्रवेशले मात्र राष्ट्रसंघ जस्तो विश्वसंस्थाले पूर्णता पाउन सक्नेछ र त्यसको हैसियत पनि बढ्नेछ भन्ने धारणा राख्नुभयो । साना राष्ट्रहरूको ‘भौतिक शक्ति’ नगण्य हुन सक्छ तर उनीहरूको ‘नैतिक शक्ति’ बलियो छ भन्दै उहाँले हामी आफैंप्रति इमानदार भयौं भने र जसका लागि बोल्दै छौं, उनीहरूप्रति इमानदार रह्यौं भने हाम्रो शक्ति ठूलो हुनेछ भन्नुभयो ।

त्यस साँझको चियापान कार्यक्रममा नवोदित र साना राष्ट्रहरूको उत्साहपूर्ण सहभागिता नेपालका लागि गौरवको विषय थियो । चियापानमा सोभियत संघ जस्ता शक्तिराष्ट्रका प्रधानमन्त्री निकिता सार्गेइभिच ख्रुस्चेभ स्वयम् पूर्वी युरोपका सरकार प्रमुखहरूको जत्थासहित पुगी अन्तिम समयसम्म बस्नुले नेपालप्रतिको ठूलो सम्मान प्रदर्शित भएको थियो । त्यसै वर्ष नेपाल र सोभियत संघबीच मैत्री सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नै मस्को र काठमाडौंमा आ–आफ्ना दूतावास स्थापना गर्ने निर्णय (२०१६ वैशाख १०) भएको थियो । राष्ट्रसंघको त्यस सभामा भाग लिन फ्रान्सका राष्ट्रपति जनरल चार्ल्स दे गालबाहेक विश्वका प्रायः चर्चित नेताहरू, बेलायतका प्रधानमन्त्री ह्यारोल्ड विल्सन, युगोस्लाभियाका राष्ट्रपति मार्सल जोसिप ब्रज टिटो, इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेर, घानाका प्रथम राष्ट्रपति क्वामे यानक्रुमा, कम्बोडियाका राजकुमार (राजा) नरोदम सिंहानुक, इन्डोनेसियाका राष्ट्रपति सुकार्नोसमेत सहभागी थिए । तत्कालीन शीतयुद्धको राजनीतिमा चर्चित क्युबाका प्रधानमन्त्री (पछि राष्ट्रपति) फिडेल क्यास्ट्रो र इजरायलकी परराष्ट्रमन्त्री गोल्डा मायर पनि त्यहाँ थिए । मायर पछि प्रधानमन्त्री भइन् ।

तत्कालीन विश्वमा पश्चिमा राष्ट्रहरूको नेतृत्व अमेरिकाले गर्दथ्यो भने साम्यवादी विश्वको नेतृत्व सोभियत रुसले । दुवैबीच प्रतिस्पर्धा थियो । यसै सन्दर्भमा पश्चिमा गुटको ‘नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन’ (नाटो) र त्यसको प्रतिस्पर्धामा पूर्वी युरोपेली राष्ट्रहरूको ‘वार्सा सन्धि संगठन’ बनेको थियो । बीपीले दुवै ‘सुपर पावर’ अमेरिका र रुसका नेताहरूलाई भेटेर आफ्नो मुलुकको तटस्थ परराष्ट्रनीतिको परिचय दिनुभएको थियो ।

त्यतिखेरै न्युयोर्कमा वाल्डोर्फ एस्टोरिया होटलमा अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजनहावरसँग बीपीको भेट भयो । आफ्नो कार्यकाल सकिन लागेको भए पनि उनमा नेपालबारे स्वाभाविक चासो थियो । त्यसअघि राजा महेन्द्र अमेरिका पुगेको स्मरण गर्दै आइजनहावरले दुवै मिलेर जाँदा नेपालको हित हुने कुरा गरेका थिए । बीपीले त्यतिखेर अमेरिकामा पहिलो पटक थालिएको, राष्ट्रपति निर्वाचनपूर्व उम्मेदवारहरूबीचको टेलिभिजन बहस हेर्ने मौका (पर्दामा) पनि पाउनुभएको थियो । उहाँलाई न्युयोर्कका गभर्नर रकफेलरले खाना खान आमन्त्रण गरेका थिए । उहाँका साथ विश्वबन्धु थापा (प्रमुख सचेतक, प्रतिनिधि सभा) र हृषीकेश शाह (राजदूत) थिए । सुन्दर तालको किनारस्थित लनमा भएको त्यस कार्यक्रममा गभर्नरले त्यहाँको दृश्य देखाउने क्रममा बीपीसँग छुट्टै कुरा गरेका थिए । रकफेलर ठूला धनाढ्य र उद्योगपति थिए । नेपाल–अमेरिका सम्बन्ध धेरै राम्रो थियो । बीपीकै कार्यकालमा काठमाडौंमा अमेरिकी दूतावास खुल्ने निर्णय (२०१६ असरा १५) भएको थियो । र त्यसको महिनादिनमा अमेरिकी दूतावास उद्घाटनसमेत भएको थियो । वास्तवमा, भारत र चीनबीच रणनीतिक, भूराजनीतिक अवस्थितिमा रहेको नेपालको झनै महत्त्व बढेको थियो ।

अमेरिका पुगेपछि राजधानी वासिङ्टन डीसीसमेत जाने बीपीको कार्यक्रम बनेको थियो । आफ्नो देशको दूतावास त्यहाँ भएकाले भ्रमण अझ स्वाभाविक थियो । अझ भन्ने हो भने, अमेरिकी विदेशमन्त्री (सेक्रेटरी अफ स्टेट) क्रिस्चियन हर्टरले उहाँलाई लन्चका लागि आमन्त्रण गरेका थिए । लन्चअघि दुवैबीच ‘स्टेट डिपार्टमेन्ट’ मा कुराकानी भयो । सो लन्च कार्यक्रम ब्लेयर हाउसमा आयोजना गरिएको थियो । अमेरिकी सरकारले नेपाललाई शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास, सडक आयोजना निर्माणमा सहयोग गर्ने रुचि देखाएको हर्टरले बताएका थिए । बीपी त्यतिखेर भारत, चीनसहितका राष्ट्रहरूसँग सहयोगको आश्वासन प्राप्त गरी अन्य राष्ट्रसँग पनि दोस्रो पञ्चवर्षीय योजनाका लागि सहयोगको खोजीमा हुनुहुन्थ्यो । त्यसै दिन बीपी वासिङ्टनको आर्ट ग्यालरी हेर्न जानुभएको थियो । कलाकृतिप्रति उहाँको रुचि र गहिरो ज्ञानलाई सम्मान गर्दै ग्यालरीका क्युरेटरले उहाँ अमेरिकाबाट फर्केको डेढ महिनापछि उक्त आर्ट ग्यालरीमा रहेका कलाकृतिहरूको एल्बम पठाइदिएका थिए, जसमा लेखिएको थियो, ‘यो उहाँको लागि, जसले चित्रकलाबारे मभन्दा पनि बढ्ता जानकारी राख्नुहुन्छ भन्ठानेको छु ।’ एक राजनीतिज्ञको कलाकृतिप्रतिको अभिरुचि र ज्ञानप्रतिको सम्मान थियो त्यो अभिव्यक्ति ।

भेटघाट, विचार आदानप्रदान र प्रत्येक ससाना घटनालाई पनि महत्त्वका साथ समय दिने र हेर्ने अद्वितीय अभिरुचि र क्षमता थियो बीपीमा । विश्वशक्ति मानिएको सोभियत रुसका प्रधानमन्त्री ख्रुस्चेभले उहाँसँग तीन पटक भेटघाट गरे । नेहरूजीले दुई पटक, मार्सल टिटो र नासेरले एक–एक पटक, गोल्डा मायरले तीन–चार पटकसम्म त्यतिखेरै भेट गर्नुले उहाँको व्यक्तित्व कस्तो थियो भन्ने झल्काउँछ । न्युयोर्कको फिफ्थ एभेन्युमा भेटघाटपछि बीपीलाई लिएर पाँच तला तलसम्म आई ख्रुस्चेभले मोटरभित्र घाँटी छिर्‍याईछिर्‍याई बिदाइ गरेको दृश्यले सञ्चारकर्मीहरूलाई समेत आकर्षित गरेको थियो ।

बीपीले न्युयोर्क भेटघाटमा अर्को प्रसंग पनि जोड्नुभयो । प्राइभेट किसिमको एउटा पार्टीमा तेस्रो विश्वबाट पाँच जनाको मात्र उपस्थिति थियो— नेहरू, नासेर, सिंहानुक, मोरक्कोका युवराजाधिराज र बीपी । तर पूर्वी युरोपका गोलमुका, कदारसहितको पूरै टिम थियो । यसरी विश्वले नेपाललाई विशेष ध्यान दिन थालेको राम्रो संकेत थियो यो । एउटा विचित्रको प्रसंग के छ भने, ख्रुस्चेभले राखेको एउटा प्रस्तावमा बीपीले ठाडै असहमति जनाउनुभएको थियो । त्यो थियो— राष्ट्रसंघमा तीन जना महासचिव राखिनुपर्ने अवधारणाÙ एक पश्चिमा मुलुकका तर्फबाट, अर्को रुसी धुरीसहितका पूर्वी युरोपका मुलुकहरूका तर्फबाट, र तेस्रो, तृतीय विश्व (थर्ड वर्ल्ड) का तर्फबाट । यस्तो गरे राष्ट्रसंघको सचिवालय पूरै प्रभावहीन बन्ने स्थिति आउने बीपीको विचार थियो । यसबाट पश्चिमी राष्ट्रहरू खुसी हुने नै भए, तर यो वास्तविकता थियो । नेपालको असंलग्न परराष्ट्रनीतिसम्बन्धी अडानको एउटा चुरो पनि थियो यो ।

राष्ट्रसंघीय महासभामा नेपालबाट बीपीले नेतृत्व गरेको टोलीमा उहाँसहित छ जनाको सहभागिता थियो— विश्वबन्धु थापा र अच्युतराज रेग्मी (दुवै सांसद), राजदूत हृषीकेश शाह, प्रो. यदुनाथ खनाल र स्वकीय सचिव कुमारमणी दीक्षित । सबै सुयोग्य । बीपीले महासभामा प्रस्तुत गर्नुभएको भाषणको तयारीमा शाह र प्रो. खनालको योगदान विशेष रूपमा परेको थियो । सो प्रतिनिधिमण्डल काठमाडौंबाट १६ सेप्टेम्बर १९६० मा कलकत्ता पुगेको थियो । भोलिपल्ट हङकङ र त्यहाँबाट दुई दिनपछि टोकियो, गुआम, होनोलुलु हुँदै न्युयोर्क पुगेको थियो । हङकङमा दुई दिन रहँदा बीपीले त्यहाँका गभर्नरसँग भेटघाट गर्नुभएको थियो ।

बीपीले आफू त्यसै वर्ष अर्को चोटि राष्ट्रसंघ नगई गृह, कानुन तथा संसदीय मामिला मन्त्री सूर्यप्रसाद उपाध्यायलाई पठाउनुभयो । त्यसबीच बीपीले भारत र चीनको भ्रमण गरी दुवै देशका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो र उहाँहरूलाई नेपालमा स्वागत पनि गर्नुभयो । केही महत्त्वपूर्ण सन्धि–सम्झौताहरू एवं समझदारी गरिए । त्यस अतिरिक्त उहाँले दुई वटा आँटिला काम गर्नुभयो । पहिलो, पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना, र दोस्रो, इजरायललाई मान्यता र दौत्य सम्बन्ध स्थापना । त्यसपछि इजरायलका प्रधानमन्त्रीको निमन्त्रणमा इजरायलको भ्रमणसमेत गर्नुभयो । यस्तै, चीन भ्रमणमा जाँदा उहाँले बर्माको पनि दुईदिने भ्रमण गर्नुभएको थियो । यस अतिरिक्त, अमेरिका, रुस र चीनका दूतावास काठमाडौंमा स्थापना गर्ने निर्णय गरेर उहाँले नेपाललाई दिल्लीबाट हेरिने वर्षौंदेखिको परम्पराको अन्त्य गर्नुभएको विषयसमेत यहाँ उल्लेखनीय छ ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट । पोखरेल जननायक बीपी कोइराला मेमोरियल ट्रस्टका महासचिव हुन् ।)

प्रकाशित : भाद्र २४, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

मेलमिलाप नीतिको सान्दर्भिकता

रामचन्द्र पोखरेल

प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने बीपी कोइरालाको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । सारनाथ (बनारस) मा एक बिहान सधैंझैं पारिवारिक चियापानमा बीपीले जब स्वदेश फर्कने कुरा सुनाउनुभयो, गिरिजाबाबु किंकर्तव्यविमूढ हुनुभयो ।

बीपीसँगै भारत निर्वासनमा रहेका गणेशमान सिंहले पनि अचम्मित हुँदै त्यस्तो कदम आत्महत्यासरह हुने बताउनुभयो । बीपीका शुभेच्छुक भारतीय नेताहरू, विशेष गरी जयप्रकाश नारायण (जेपी) पनि निकै चिन्तित बन्नुभयो । देशभरिका कार्यकर्ता एवं शुभचिन्तकहरूसमेत गम्भीर चिन्तामा थिए । यसको कारण थियो— बीपीविरुद्ध फाँसीसम्म हुन सक्ने राष्ट्रद्रोहका मुद्दाहरू ।

अन्तत: गणेशमान सिंहसहितलाई लिएर २०३३ पुस १६ को ठिहीलाई चिर्दै बीपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभयो, जहाँ उहाँको स्वागतार्थ उल्लेख्य कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका थिए, जसलाई चरम अभद्र व्यवहार गरियो । महिलाहरूलाई समेत अपमानित गर्न छाडिएन । उग्रपञ्च र सरकारको नियोजित घटना थियो यो । बीपीलाई विमानस्थलबाट सोझै सुन्दरीजलको सैनिक जेल लगियो, जहाँ उहाँले सत्र सालको काण्डपछि आठवर्षे बन्दी जीवन बिताइसक्नुभएको थियो ।

राष्ट्रिय मेलमिलापको नीतिप्रति अनेक अफवाह फैलाइए । कतिपयले ‘राजासमक्ष आत्मसमर्पण’ भने । यस्तो भन्नेमध्ये अधिकांश वामपन्थी थिए । कतिपयले भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपछिको बाध्यात्मक परिस्थितिको उपज ठाने । पञ्चहरूको एउटा समूहले त बीपीलाई ‘फाँसी दिनुपर्छ’ भनी पञ्च भेलाबाट प्रस्ताव नै पारित गरेको थियो ।

स्वदेश फर्किनुअघि बीपीले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण र मूल्यांकन गर्नुभएको थियो । बीपीकै शब्दमा, ‘...हामीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म विश्लेषण गर्‍यौं ।’ उहाँको विश्लेषणमा, २०१७ पुस १ को राजाको कदम प्रजातन्त्रको हत्या मात्र थिएन, त्यसले स्वेच्छाचारी शासक मात्रै जन्माएन, अपितु ‘यहाँको राजनीतिमा सक्रिय भूमिका खेल्न’ विदेशीहरूलाई बडो ठूलो अवसर दियो । उहाँको विवेचनामा, तर राजालाई त्यतिखेर (प्रजातन्त्रले) आफ्नो स्वेच्छाचारितामा बाधा परेको मात्र लागेको थियो । प्रजातन्त्रले आफूलाई भन्दा पनि ठूलो बाधा विदेशी तत्त्वहरूलाई पारेको थियो भन्ने राजाले बुझेनन् ।

बीपी दक्षिण एसिया ‘अशान्त क्षेत्र’ बन्दै गएको निष्कर्षमा पुग्नुभएको थियो । त्यतिखेर उहाँको विश्लेषणप्रति प्राय: सहमत देखिन्थेनन् । उहाँको विचारमा, राजाले आफू सुदृढ रहेको महसुस गरेका थिए । विदेशमा पनि राजाको स्थिति बलियै मानिन्थ्यो । त्यस्तै, भारतमा इन्दिरा गान्धी एकदम बलियी थिइन् । पाकिस्तानको राष्ट्रपतिमा ‘जनताबाट निर्वाचित, इतिहासमा सबभन्दा लोकप्रिय’ जुल्फीकर अली भुट्टो थिए । अफगानिस्तानमा राजा हटेपछि दाउद खाँले राष्ट्रपति भएर शासन चलाइरहेका थिए । त्यहाँ पनि विदेशी शक्तिहरूले सहायताको खोलो बगाइरहेका थिए । श्रीलंकामा श्रीमती भण्डारानायके थिइन्, जसले पछि चुनाव हारिन् । पाकिस्तान र अफगानिस्तानको स्थिति पछि के भयो, स्पष्ट छ । यस क्षेत्रमा जो–जो शक्तिशाली देखिन्थे, एक–एक गर्दै या त चुनाव हारे या सत्ताबाट हटाइए या हत्या गरिए या फाँसीमा चढाइए । यिनै सन्दर्भलाई बीपीले गम्भीरताका साथ लिन सजग गराउनुभएको थियो ।

बीपीलाई स्वदेश फर्कन नदिन सुवर्णजीसमेत प्रयत्नरत हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘नेता जेल गएपछि छुटाउन ठूलो मूल्य चुकाउनुपर्छ ।’ त्यो गलत थिएन, किनभने सुवर्णजीले १९६८ को मेमा मेलमिलापकै नीति झल्किने वक्तव्य जारी गरेपछि मात्रै बीपी सहितका नेताहरू सुन्दरीजल जेलबाट छुट्नुभएको थियो । तर दस वर्षसम्म पनि राजाले अपेक्षित परिवर्तन महसुस गराउन सकेनन् । त्यसरी लामो समय निष्क्रियप्राय: रहनु पार्टीका लागि हितकर नहुने बोध सुवर्णजीलाई पनि भइरहेकै थियो । बीपी नेपाली कांग्रेसलाई जीवन्त राख्न र परिवर्तनको सम्भावनालाई निरन्तर बचाइराख्न सक्रिय राजनीतिका पक्षमा हुनुहुन्थ्यो । त्यसैले छिमेकी मित्रराष्ट्रहरूलाई सन्तुलनमा राख्दै प्रजातन्त्रको संघर्ष अघि बढाउन सक्छु भन्ने आँट बीपीमा थियो ।

बीपीले हामीलाई छाडेको ३७ वर्ष र भारत निर्वासनबाट फर्केको ४४ वर्ष भैसके पनि राष्ट्रिय मेलमिलापको नीतिको औचित्य झन् बढ्दै गएको छ । यो अझै छलफलको विषय बनिरहनुले यसको महत्ता पुष्टि गरिरहेकै छ । आखिर मेलमिलापको नीति के हो ? यसलाई सजिलै बुझ्न उहाँले स्वदेश फर्किंदा देशवासीका नाममा गर्नुभएको अपिल सहयोगी हुनसक्छ, ‘...हाम्रो देश अहिले राष्ट्रिय संकटमा छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति थियो, आज यसमा एउटा नयाँ आयाम थपिएको छ, नेपाली कांग्रेसलाई दोहोरो जिम्मेवारी आइपरेको छ— देशको अस्तित्वसमेत रक्षा... ।’ त्यसैले राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिहरूबीच राष्ट्रिय मेलमिलापका लागि उहाँले अपिल गर्नुभएको थियो । त्यसैलाई पञ्चहरूको उग्रपक्षले पनि विरोध गरेको थियो ।

भारत छाड्नुअघि ‘हिमेसिया टाइम्स’ पाक्षिकका सम्पादकसँगको अन्तर्वार्तामा बीपीको जवाफ उल्लेखनीय छ । ‘...म एक नयाँ परिस्थितिमा, नयाँ परिस्थिति अनुरूप, नयाँ राजनीतिक दृष्टिकोण उत्पन्न गर्ने उद्देश्यले (स्वदेश) फर्किंदै छु ।’ उहाँको ‘हामी हाम्रो सिद्धान्त, आदर्श र मूल्य–मान्यतामा सम्झौता गर्दैनौं, तर हाम्रो विचार अनुरूप लक्ष्यप्राप्तिको उपायका सम्बन्धमा विचार गर्न सक्छौं’ उक्तिबाट स्पष्ट हुन्छ, उहाँको स्वदेशफिर्ती विरोधीहरूले प्रचार गरे जस्तो राजासँगको आत्मसमर्पण थिएन । राष्ट्रमा संकट नआओस् भनेर राष्ट्रिय एकताका निम्ति उहाँको विवेकले ठहर गरेको निर्णय थियो यो ।

राष्ट्रिय मेलमिलापको राजनीतिक निर्णयको गहिराइ बुझ्न बीपी स्वदेश फर्किनुअघि दक्षिण एसियामा भएका दुई घटनालाई बिर्सनु हुँदैन । ती हुन्— बंगलादेशको उदय र सिक्किमको भारत विलय । सन् १९५० तिर तिब्बतमा चिनियाँ लालसेनाको प्रवेशपछि भारत र चीन दुवै आमने–सामने भए र परिस्थिति १९६२ को युद्धसम्म आइपुग्यो । तर त्योभन्दा जटिल स्थिति अमेरिका–सोभियत संघ द्वन्द्व र शीतयुद्धले जन्माएको अफगानिस्तानको थियो । यसबाट दक्षिण एसिया क्षेत्र प्रत्यक्ष प्रभावित हुँदै गर्दा नेपालमा समेत त्यसको असर पर्दै छ भन्ने बीपीको विश्लेषण थियो ।

स्वदेश फर्कंदा देशवासीका नाममा जारी अपिलमा उहाँले भन्नुभएको थियो, ‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । मलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।’ निर्दलीय व्यवस्थाको चरमोत्कर्षमा उहाँको यस्तो विश्लेषणलाई धेरैले हल्का ढंगले लिएका थिए । समय बित्दै जाँदा उहाँका भनाइ, तर्क र भविष्यवाणी बेजोड साबित भए, भइरहेका छन् । उहाँको व्यक्तित्व, तीक्ष्ण बौद्धिकता, राजनीतिक सोचलाई लिएर प्रो. यदुनाथ खनालले गर्नुभएको टिप्पणी सदैव मननीय छ, ‘उनी (बीपी) एकसाथ राजनीतिशास्त्री (पोलिटिकल साइन्टिस्ट), राजनेता (पोलिटिसियन) र नीतिद्रष्टा (स्टेट्सम्यान) थिए ।’

पोखरेल नेपाली कांग्रेसका नेता हुन् ।

प्रकाशित : पुस १६, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×