परिवारभित्र फैलिँदै कोरोना- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवारभित्र फैलिँदै कोरोना

डा. शेरबहादुर पुन

– ‘डाक्टरसा’ब उहाँलाई पहिला कोरोना देखियो, अनि परिवारैले परीक्षण गरायौं, सानो बाबुबाहेक हामी सबै संक्रमित भइसकेछौं, लक्षण भने देखिएको छैन, अब के गर्ने होला ?’

पछिल्ला समय यस्ता प्रश्न बढ्न थालेका छन् । यी प्रश्नहरू पहिले सोधिँदै आएका प्रश्नहरूभन्दा अलि फरक छन् । किनकि पहिले एकादुई सदस्यमा देखिए पनि परिवारै कोरोनाबाट संक्रमित भएका केस खासै थिएनन् ।

कोरोनाको यो ट्रेन्ड केही समयअघि देखिँदै आएको भन्दा अलि फरक छ जुन निषेधाज्ञा सुरु भएपछि ह्वात्तै बढेको देखिन्छ । निषेधाज्ञामार्फत व्यक्ति वा परिवारबीच हेलमेल हुन नदिई संक्रमण नियन्त्रण गर्ने सरकारको कोसिस भए पनि परिवारका कुनै एक सदस्यमार्फत संक्रमण भित्रिएपछि भाइरसले सहजै पहुँच बढाएको पाइन्छ । निषेधाज्ञाको अवधिमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको देखिनुमा यो कारण पनि मुख्य हो ।

सुरुमा जोकोही संक्रमित हुँदा अस्पताल लगिन्थ्यो, नेगेटिभ रिपोर्ट नआएसम्म डिस्चार्ज गरिँदैनथ्यो । लगभग तीन महिनाको लकडाउन खुलेर मानिसको आउजाउ बढेसँगै कोरोना संक्रमणको जोखिम पनि उच्च हुँदै गएको थियो । कमजोर कन्ट्याक्ट ट्रेसिङले संक्रमित समयमा पत्ता नलाग्दा कोरोना क्रमशः घरघर पुगेको देखिन्छ । पहिले–पहिले कन्ट्याक्ट ट्रेसिङमा परिवारको कुनै सदस्य संक्रमित भेटिँदा अरूलाई सरेको खासै सुनिँदैनथ्यो । अहिले परिवारका अधिकांशलाई सरेका केस बढेका छन् । अहिले लक्षणयुक्त संक्रमित थपिएकाले पनि यस्तो भएको हुन सक्छ । तर, विश्वमा गरिएका अधिकांश अनुसन्धानले ८०–९० प्रतिशत केसमा कुनै व्यक्ति संक्रमित हुँदा पनि परिवारमा नफैलिएको देखाएका छन् । कतिमा त श्रीमान्–श्रीमती बीचमै पनि संक्रमण नफैलिएको देखिएको छ । नेपालमा कोरोनाले पहिलोचोटि ज्यान गुमाउने महिला भर्खरै प्रसूति भएकी थिइन् तर उनीबाट जन्मिएको बच्चामा संक्रमण देखिएन । हामीकहाँ परिवारको एक सदस्यमा संक्रमण देखिए कति प्रतिशतसम्मलाई फैलन सक्छ भन्ने अनुसन्धान भएको छैन । तर यस्तो संक्रमण दर तुलनात्मक रूपमा बढ्दो क्रममा छ । यसो हुनुमा सायद निषेधाज्ञाले एकाघरका व्यक्तिबीच हेलमेल अझ बढ्नु पनि अर्को कारण हुन सक्छ ।

कोरोना परिवारमा घुम्न थालेपछि भने पाको उमेरका र दीर्घ रोगीहरूमा प्रत्यक्ष प्रभाव पार्न थालेको तथ्यांकले देखाउँछ । पहिलेको तुलनामा संक्रमितमा लक्षण देखिनु र मृत्यु हुनुमा यो एउटा प्रमुख कारण हुन सक्छ । सुरुसुरुमा विशेष गरी भारतबाट आउनेहरूलाई क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गर्ने गरिन्थ्यो । ती खास गरी युवा तथा स्वस्थ समूहका हुने भएकाले अपवादलाई छोडेर लक्षण पनि नदेखिने र मृत्युसमेत कम हुने गर्थ्यो । उनीहरूमा रोगसँग लड्न सक्ने शक्ति तुलनात्मक रूपमा वृद्ध तथा दीर्घरोगीमा भन्दा बढी हुन्छ ।

चीनमा पनि कोरोना महामारीमा परिवारै संक्रमित भएका (इन्डोर संक्रमण) घटना धेरै हुने गरेको अध्ययनले देखाएका छन् । ३ सय २० सहरमा (जनवरी–फेब्रुअरी) ३ सय १८ कोरोना ‘आउटब्रेक’हरूको अनुसन्धान गर्दा झन्डै असी प्रतिशतजति पारिवारिक संक्रमण हुने गरेको नतिजा प्रकाशित भएको थियो । यी अनुसन्धानले कोरोना पारिवारिक रूपमा पनि सहजै ‘आउटब्रेक’ हुने देखाउँछन् । तर यसको अर्थ सबै संक्रमितको परिवारमा अनिवार्य संक्रमण हुन्छ नै भन्ने होइन । सतर्कता भने अपनाउनुपर्छ ।

हालको निर्देशिकाले परिवारमा कोही संक्रमित देखिए व्यवस्थापन गर्न ‘होम आइसोलेसन’को परिकल्पना गरेको देखिन्छ । तर परिवारै संक्रमित भए के गर्ने भन्ने स्पष्ट छैन । यसले अन्योल बढाएको यो पंक्तिकारसँग संक्रमितहरूको परामर्शबाट थाहा हुन्छ । निर्देशिकाले संक्रमित र परिवारका अन्य स्वस्थ व्यक्तिहरूले कसरी सतर्कता अपनाउने भन्नेबारे उल्लेख गरेको छ । परिवारका लगभग अधिकांश सदस्य संक्रमित हुँदा नाबालक संक्रमित नभएको अवस्था, घरको सक्रिय सदस्य नै संक्रमित भइदिँदा परिवारका वृद्ध वा दीर्घरोगीको खानपान तथा स्याहारसुसार कसले गर्नेजस्ता व्यावहारिक कठिनाइ देखिन्छन् । त्यस्तै परिवारै होम आइसोलेसनमा रहँदा दैनिक खाद्य सामग्री जोहो गर्नु अर्को चुनौती हुन्छ । तसर्थ हेर्दा सामान्य लाग्ने तर अत्यन्तै व्यावहारिक चुनौती सामना गर्नेबारे धेरैमा अनभिज्ञता, अन्योल र समस्या देखिन्छ । पारिवारिक संक्रमणको अवस्था आगामी दिनमा बढ्न सक्ने सम्भावना उत्तिकै छ । तसर्थ यस्तो चुनौतीलाई समयमै सम्बोधन गर्नुपर्छ ।

सबैजसो सदस्य संक्रमित भएपछि परिवारमा मानसिक तनाब बढ्ने गरेको पाइन्छ । यस्तो अवस्थामा विशेषतः सकारात्मक सोच जगाउन छिमेकी/समुदायको मुख्य भूमिका हुन्छ । खोप विकास भइनसकेको अहिलेको अवस्थामा जोकोही पनि जुनसुकै बेला संक्रमित हुन सक्छ । तसर्थ यस्तो अवस्थामा संक्रमित परिवारलाई हौसला र सहयोग आवश्यक पर्छ । विशेषतः वृद्ध अनि दीर्घरोग भएकालाई जटिल लक्षण देखिन सक्ने र आइसोलेसनमा रहेका परिवारका अरू संक्रमित सदस्य बाहिर जान नसक्ने भएकाले छिमेकीले नै अस्पतालसम्म लैजान समन्वय गरिदिनुपर्ने हुन सक्छ । महामारी कुनै एक व्यक्ति/परिवारले मात्र कोसिस गरेर नियन्त्रणमा लिन सकिँदैन ।

अन्त्यमा, केही समययता विशेषतः लकडाउन हटाएसँगै कोरोना भाइरस पारिवारिक वृत्तमा भित्रिने र बाँकी सदस्यलाई पनि संक्रमित गर्दै जाने क्रम जारी छ । फलस्वरूप, वृद्ध तथा दीर्घरोगीहरू (जो अधिकांश समय घरभित्र हुन्छन्) पनि संक्रमित हुने र मृत्यु हुने क्रम बढ्दै गएको देखिन्छ । यसले कोरोना समुदाय स्तरमा पुगेको स्पष्ट संकेत गर्छ । आगामी दिन कोरोना समुदाय स्तरमा थप फैलने भएकाले वृद्ध तथा दीर्घरोगीहरूको स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

प्रकाशित : भाद्र २०, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

आदिकवि

विमल निभा

कुनै आदिवासीले नैरचेको हुनुपर्छ पहिलो पृथ्वी त्यस समयदेखि यसलाई कसले फनफनी घुमाइरहेको छ ?

कुनै आदिवासीले नै

चालेको हुनुपर्छ

पहिलो पाइला

त्यो साहसिक पाइलालाई

मेरो हार्दिक स्वागत


कुनै आदिवासीले नै

गरेको हुनुपर्छ

पहिलो प्रेम

त्यो मधुरतम प्रेमलाई

मेरो सहस्र चुम्बन


कुनै आदिवासीले नै

खाएको हुनुपर्छ

पहिलो शपथ

त्यो दृढ शपथलाई

मेरो पूर्ण समर्थन


कुनै आदिवासीले नै

देखेको हुनुपर्छ

पहिलो सपना

त्यो मृदु सपनालाई

मेरो अगाध स्नेह


कुनै आदिवासीले नै

छेडेको हुनुपर्छ

पहिलो लडाइँ

त्यो अदम्य लडाइँलाई

मेरो तात्तातो सलाम

कुनै आदिवासीले नै

गाएको हुनुपर्छ

पहिलो गीत

त्यो सुरम्य गीतलाई

मेरो असंख्य बधाई


कुनै आदिवासीले नै

आदिम धरतीलाई

पहिलो पयरको

सतत चालले

महाकालमापन गरी

हाम्रो घर, आँगन

र, हामीसमक्ष नै

सुरक्षित पुर्‍याउन

पगालेको हुनुपर्छ

देहको मांस, हाड

र, त्यसभित्रको मज्जा

(रक्त पनि मिसाएर)

हो, त्यही उच्च ललाट

चलायमान नयन

र कर्मठ भुजायुक्त

आद्य प्रतिमान अर्थात्

अर्थात् अर्थात् अर्थात्

यो धूलो माटोसँग

अटुट नाभिनालबद्ध

महान् पूर्वजहरुका

विलुप्त किन्तु अविच्छिन्न

स्मृतिपुञ्जलाई

एक असमकालीन कविको

भावपूर्ण शब्द समर्पण


कुनै आदिवासीले नै

लेखेको हुनुपर्छ

पहिलो कविता

-कवि निभाका ‘आगोने रउभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ कविता कृति प्रकाशित छन्। ‘ डिकेन्द्र राजवंशीको आत्महत्या’ निभाको प्रकाशोन्मुख कवितासंग्रह हो।

प्रकाशित : भाद्र २०, २०७७ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×