२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेपालमा कोरोनाभाइरसको प्रभावका प्रक्षेपण र बहस

हाम्रो अहिलेको क्षमताले ८० प्रतिशत त के कुल जनसंख्याको ५ प्रतिशत संक्रमित भए पनि व्यवस्थापन गर्न कठिन देखिन्छ ।
प्रक्षेपण गरेको मिल्यो कि मिलेन भनेर बहसको लागि बहस गर्ने, यसको खण्डन गर्ने गरेर रोकथाममा खासै ठूलो भूमिका खेल्न सकिन्न ।
डा. दिनेश न्यौपाने

कोरोना भाइरसले नेपालमा कस्तो असर पार्छ होला भनेर धेरै प्रक्षेपणहरु भएका छन् । ती प्रक्षेपणहरुको चुरो कुरा नबुझी सतही टिप्पणीले मात्र जनमानसमा अन्योलको अवस्था सिर्जना भएको छ । यी संख्याहरुमा टिप्पणी गर्नु अगाडि तिनीहरुको बारेमा विस्तृत अध्ययन गरिनु जरुरी छ ।

नेपालमा कोरोनाभाइरसको प्रभावका प्रक्षेपण र बहस

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट, बेलायतकै इम्पेरियल कलेज, अमेरिकाको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स लगायतका संस्थाहरुले नेपालमा कोरोना भाइरसले कतिसम्म क्षति गर्न सक्छ भनेर आफ्‍ना अनुमानहरु सार्वजनिक गरेका छन् ।

पछिल्लो पटक अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको प्रक्षेपणको नेपालमा निकै चर्चा छ । यो प्रक्षेपण मा 'ससेप्टिबल, एक्सपोज्ड, इन्फेक्सियस एन्ड रिकभर्ड' (एसईआईआर) मोडेलको प्रयोग गरिएको छ । जसमा संक्रामक रोगहरुको फैलने र यसले पार्नसक्ने असरहरुलाई विभिन्न भागमा विभाजन गरी अनुमानको आधारमा प्रक्षेपण गरिन्छ ।

अनुसन्धानकर्ताहरुले यसमा तीन प्रकारका अनुमान गरेका छन् :
१) धेरै क्षति हुनसक्ने रणनीति : यसमा लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने, सामाजिक दूरी कायम गर्ने, प्रभावकारी रुपमा हात धुने, विद्यालयहरु बन्द गर्ने, विदेशबाट आउने संक्रमण रोक्ने र स्वेच्छिक रुपमा क्वारेन्टाइनमा बस्ने अभ्यासहरु समावेश गरिएका छन् । यसमा यी माथिका कार्यहरु ८ देखि १० हप्तासम्म सम्भव हुने उल्लेख छ ।

२) मध्यम क्षति हुनसक्ने रणनीति : यसमा हात धुने, विद्यालय बन्द गर्ने र विदेशबाट संक्रमितहरुलाई आउन नदिने अभ्यासहरू समावेश छन् । यी अभ्यासहरु २६ देखि ३६ हप्तासम्म लागू हुनेछन् भनेर अनुमान गरिएको छ ।

३) कम क्षति हुनसक्ने रणनीति : यसमा स्वेच्छिक रुपमा क्वारेन्टाइनमा बस्ने, हात धुने र संक्रमितहरु आइसोलेसनमा बस्ने अभ्यासहरु समेटिएका छन् । यी अभ्यासहरुको अनुमान २६ देखि ३६ हप्तासम्म राखिएको छ ।

यी अनुमानहरु प्रयोग गर्दा आइसोलेसनको ५० प्रतिशत, सामाजिक दुरीको ७० प्रतिशत, हात धुनेको १० प्रतिशत, विद्यालयहरु बन्दको ८५ प्रतिशत, विदेशबाट आउने संक्रमणको ९० प्रतिशत र स्वेच्छिक क्वारेन्टाइनमा बस्ने हरुको २० प्रतिशत प्रभावकारिता रहने भनेर अनुमान गरिएको छ ।

धेरै क्षति हुनसक्ने रणनीति अन्तर्गत ८१ प्रतिशत नेपालीहरु संक्रमित हुने र करिब ५० हजार जति व्यक्तिहरुको मृत्यु हुने अनुमान गरिएको छ । कम क्षति हुनसक्ने रणनीति अपनाउँदा पनि करिब ३० हजार जनाको मृत्यु हुने र ६५ प्रतिशत जनसंख्या संक्रमित हुने प्रक्षेपण गरिएको छ ।

यसरी हेर्दा मृत्युदर औसतमा जम्मा ०.१ प्रतिशत राखेको देखिन्छ । यदि हामीले उनीहरुले अनुमान गरेको भन्दा लामो समयसम्म रोकथामका अभ्यासहरु प्रयोग गर्‍यौं भने उक्त प्रक्षेपित समय केही पर धकेलिन सक्छ । तर, औषधि र खोप पत्ता लागेन वा भाइरस आफैं हराएर गएन भने यी संख्या वास्तविकतामा परिणत हुन्नन् भन्ने हामीसँग बलियो प्रमाण केही पनि छैन ।

केही अनुमानका लागि प्रयोग गरिएका अनुमान आज भोलिका तथ्यांकसँग मेल नखाने जस्तो पनि देखिन्छ । जस्तै, करिब ४ दिनमा संक्रमितहरुको संख्या दोब्बर हुने, लक्षण देखिएकाको १० प्रतिशत र लक्षण नदेखिएकाको ५ प्रतिशत मात्रको पीसीआर टेस्ट हुने अनुमान छ । खैर यो प्रक्षेपणको सट्टा १० प्रतिशत जनसंख्या मात्र संक्रमित भयो र मृत्युदर ०.५ प्रतिशत मात्र भए पनि १४,००० भन्दा बढीको मृत्यु हुनसक्ने अनुमान गर्न साधारण गणित जाने मात्र पनि पुग्दछ ।

भविष्यको बारेमा अनुमान गर्न जो कोहीलाई पनि गाह्रो हुन्छ । विज्ञानमा पनि भविष्यको प्रक्षेपण गर्दा धेरै कुराहरुको अनुमानको आधारमा गरिन्छ । यी अनुमानहरु जति छोटो समयका लागि भयो त्यति यथार्थसँग मिल्दाजुल्दा हुन्छन् । उदाहरणका लागि आज गरिएको मौसमको अनुमान भोलिको लागि धेरै हदसम्म मिल्न पुग्दछ भने एक महिनापछिको अनुमान नमिल्न सक्दछ । रोगको प्रक्षेपणलाई यस्तै तरिकाले बुझ्नु जरुरी छ ।

कोरोना भाइरसको संक्रमण आफैंमा नयाँ भएकोले यसले भोलि कस्तो अवस्था ल्याउला भनेर प्रक्षेपण गरिएका अनुमानहरुलाई निकै नै सावधानीपूर्वक विश्लेषण गर्नु पर्दछ । यी सबै अनुमानहरुको सार कुरा के हो भने नेपालमा संक्रमितहरुको संख्या उल्लेख्य वृद्धि हुन्छ र ठूलो मानवीय क्षति हुने सम्भावना छ । जति सकिन्छ क्षति न्यूनीकरण गर्नका लागि सकेको व्यवस्थापन गर्नु पर्दछ भन्ने नै मुख्य सन्देशको रुपमा लिनु बुद्धिमता हुन्छ ।

प्रक्षेपण गरेको मिल्यो कि मिलेन भनेर बहसको लागि बहस गर्ने, यसको खण्डन गर्ने गरेर रोकथाममा खासै ठूलो भूमिका खेल्न सकिन्न । वास्तविकता के हो भने हाम्रो अहिलेको क्षमताले ८० प्रतिशत त के कुल जनसंख्याको ५ प्रतिशत संक्रमित भए पनि व्यवस्थापन गर्न कठिन देखिन्छ । जसरी हामीले समुदायमा संक्रमण छ कि छैन भनेर लामो समय बर्बाद गर्‍यौं त्यसरी नै प्रक्षेपणहरु ठीक छन् कि छैनन् भनेर समय बर्बाद गर्नु उचित देखिँदैन । नेपालको सन्दर्भमा हामीले कोरोना भाइरसविरुद्ध हाम्रो क्षमताले भ्याएसम्मको तयारी गर्नु र त्यस्तो अवस्था आउन नदिनु नै बुद्धिमानी हुन्छ ।

प्रकाशित : भाद्र १५, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?