कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

स्वर्ग जान योग्य

बहीखाता हेरेर चित्रगुप्तले भने , ‘ तिमीहरुमध्ये एक जना स्वर्ग जानेछ र अरु नर्क जानेछौ।’
शरच्चन्द्र वस्ती

राजा विक्रम पुनः श्मशानमा फर्किए र सिसौको रूखमा झुन्डिएको शव काँधमा हालेर चूपचाप हिंड्न थाले । अन्धकारको गाजल पोतिएजस्तो मध्यरातमा झमझम पानी परिरहेको थियो । छिनछिनमा सनसनाउँदै हावाको झोक्का आइरहेको, चट्याङ कड्किरहेको र श्मशानबाट चीत्कारको झैं उद्वेगजनक आवाज उठिरहेको ।

स्वर्ग जान योग्य

यो सबबाट अप्रभावित विक्रम सिंहको चालमा दुई सय पाइला जति अघि बढेपछि शवमा रहेको बेतालले भन्यो, ‘राजन्, तिमी बडो वीर र दृढनिश्चयी रहेछौ । लामो बाटोमा तिमीलाई थकाइ नलागोस् भनेर म एउटा कथा सुनाउँछु, सुन ।’

विक्रमलाई बेतालसँग झ्वाँक चलेको थियो, तर केही बोलेनन् । उनलाई त्यो शव दुई कोश पर एउटा जोगीको तन्त्रसाधना–स्थलमा पुर्‍याउनु थियो । विक्रमले शव बोकेर हिंड्न थालेपछि वेताल एउटा कथा सुनाउन थाल्थ्यो र कथाको अन्त्यमा उनलाई बोल्नुपर्ने बनाउँथ्यो । विक्रमको मुखबाट बोली निस्क्यो कि वेताल उनको काँधबाट शव सहित उडेर पुनः त्यही रूखमा गएर बस्थ्यो र उनले फेरि श्मशान पुगेर शव बोकी हिंड्न थाल्नुपर्थ्यो । विक्रमले यसरी शव बोकेर हिंडेको यो पन्ध्रौं पटक थियो । उनले अठोट गरे— यसपालि त ज्यान गए पनि बोल्नेछैन ।

विक्रम मौन रहे, वेताल पन्ध्रौं कथा भन्न थाल्यो :

नेपाल देशको शिवपुरी नगरमा यशकेतु नामक राजा राज्य गर्दथे । त्यहाँबाट एक योजन दूर वाग्मती नदीको किनारमा एउटा गुरुकुल थियो । विद्यार्जनका निम्ति विभिन्न देशबाट आएका सयौं वटुकहरूद्वारा गुरुकुल सदा संकुल रहन्थ्यो । तीमध्ये पढाइमा सबैभन्दा कमजोर तर कुटिल स्वभावका सातजना वटुक घनिष्ठ मित्र थिए । १२ वर्षको अध्ययन पश्चात् दीक्षान्त समारोहको पूर्वसन्ध्यामा उनीहरूले पीपलको वृक्षमुनि बसेर भविष्यमा आफूले अपनाउने आजीविकाबारे वार्ता गरे ।

पहिलो वटुक वीरकेतुले भन्यो, ‘म कसैको सेवा, कृषिकर्म अथवा व्यापार–वाणिज्य गर्न सक्तिनँ । त्यसैले दस्युवृत्ति अपनाउने निर्णय गरेको छु । मेरो पेशा डकैती हुनेछ र त्यसै मार्फत आफ्नो परिवार र आफन्तको भरणपोषण गर्नेछु ।’

दोस्रो वटुक धूमकेतुले राजपुरुष अर्थात् प्रहरी बनेर प्रजाको जनधनको सुरक्षा गर्ने संकल्प जाहेर गर्‍यो । तेस्रो वटुक द्रव्यचक्षुले राजकर्मचारी बनेर सुशासन कायम गर्ने लक्ष्य सुनायो । अर्थदत्तको ध्येय व्यापार–वाणिज्यमा संलग्न भएर अर्थोपार्जन गर्ने थियो भने दस्युमित्र न्यायाधिकरणमा प्रवेश गरेर न्यायको ध्वजा लहराउन चाहन्थ्यो । छैटौं वटुक रिक्तशीर्षले बुद्धिजीवी भएर चकचकी मच्चाउने सपना देखेको थियो । सातौं वटुक वज्रमतिले सगर्व घोषणा गर्‍यो, ‘म राजकीय कृपा प्राप्त गरेर मन्त्री बन्नेछु । तिमीहरू सबै मेरा कृपाकांक्षी हुनेछौ ।’ वीरकेतुलाई बाँकी छजनाले डकैती जस्तो निकृष्ट पेशा चयन नगर्न धेरै सम्झाए, तर उसले आफ्नो निर्णय बदलेन ।

गुरुकुलबाट फर्केपछि सबै आ–आफ्नो रुचि अनुसारको आजीविकामा संलग्न भए । वीरकेतुले छ महीना एउटा नामूद डाँकाको टोलीमा रहेर दस्युवृत्तिका दाउपेच सिक्यो र त्यसपछि स्वतन्त्र रूपमा डकैती गर्न थाल्यो । गुरु–डाँकाकै शैली पछ्याएर ऊ अन्यायपूर्वक सम्पत्ति आर्जन गर्नेहरूकहाँ मात्र डकैती गर्थ्यो र लुटेको सम्पत्तिको विपुल अंश गरीब गाउँलेहरूलाई बाँड्थ्यो । मानिसहरू उसलाई समाजसेवीका रूपमा सम्मान गर्थे ।

समय बित्दै जाँदा उसको पेशा धरापमा पर्‍यो । अवैध सम्पत्ति आर्जन गर्ने सबैजना राज्यको उच्च पदमा पुगे र तिनको आवास शस्त्रास्त्रधारी राजकीय सुरक्षाकर्मीहरूद्वारा सुरक्षित हुन थाल्यो । त्यहाँ डकैती गर्ने हैसियत कुनै डाँकाको रहेन । वीरकेतुलाई विपन्नताले गाँज्दै लग्यो । जीवनका अन्तिम दिनहरूमा त उसलाई एक छाक हातमुख जोर्न पनि कठिन भयो ।

धूमकेतु प्रहरी सेवामा प्रवेश गर्‍यो र आफ्नो क्रूर स्वभावका कारण अल्पकालमै प्रजाजनमा आतंकको पर्याय बन्न पुग्यो । ऊ जनसाधारणलाई तुच्छ दृष्टिले हेर्थ्यो र तिनको सुखचैन आफ्नो कृपादृष्टिमा निर्भर रहेको ठान्थ्यो । लुटेरा र ठगहरूसँग उसको अनन्य मित्रता थियो । तिनलाई सुरक्षा दिन र तिनका विरुद्ध आवाज उठाउनेहरूका हातखुट्टा भाँच्न ऊ मध्यरात्रिमा पनि जागरूक रहन्थ्यो । नगरमा हुने प्रत्येक चोरी, डकैती, लूटपाट र ठगीको भाग उसको घरमै आइपुग्थ्यो, जसको भण्डारणका लागि उसले भूमिगत प्रकोष्ठ निर्माण गरेको थियो ।

द्रव्यचक्षु राजकर्मचारीका रूपमा पदोन्नतिका सोपान चढ्दै गयो । राजकीय कोष प्रजाका नाममा खर्च हुनुपर्छ तर त्यसको विवरण गोप्य राखिनुपर्छ भन्ने उसको मान्यता थियो, जसले ऊ र उसका सहकर्मीको भुँडी बढाउन ठूलो योगदान पुर्‍याएको थियो । वणिक–जनबाट प्रहार गरिने चाँदीका जुत्ता र ठूला सेवाग्राहीबाट प्राप्त हुने स्वर्णमुद्रा उसलाई विशेष प्रिय थिए । निरन्तर चाँदीको जुत्ता थाप्नाले उसको निधार गौरवशाली टुटुल्कोबाट सुशोभित भएको थियो भने उसको शयनागारका गर्भे दराजहरू स्वर्णमुद्राले टनाटन थिए ।

वणिक–बुद्धिको अर्थदत्तले नगरसेठ बनेर अथाह सम्पत्ति आर्जन गर्‍यो । ऊ व्यापार–व्यवसायबाट लगानीको दश गुणा र ठेकेदारीबाट बीस गुणा नाफा निकाल्थ्यो । राजाका सम्धी, साला, जेठान, मन्त्री, सेनापति आदिको सम्पत्ति सुरक्षित तवरमा लगानी गरिदिने भएकाले उनीहरूको असीम कृपा उसलाई प्राप्त थियो । फलस्वरूप उसले देशभर अनेकौं सार्वजनिक भूमि, उपवन, जलाशय र पर्वतशिखरहरूको स्वामित्व प्राप्त गर्‍यो । राजपथ र राजकीय भवनहरूको निर्माणको जिम्मा सदैव उसैलाई प्राप्त हुन्थ्यो ।

दस्युमित्र न्यायाधिकरणमा प्रवेश गरेर न्यायको विक्रेताका रूपमा विख्यात भयो । उसले न्यायको दलाली गर्ने बिचौलियाहरूको खेल समाप्त पारेर न्याय प्रदान गर्ने सरल एवं पारदर्शी विधि आविष्कार गरेको थियो । आफ्नो गोप्य कक्षमा वादी प्रतिवादी दुवैलाई राखेर न्यायको लीलाम बढाबढ गराउँथ्यो र बढी बोलकबोल गर्नेको पक्षमा विना पक्षपात फैसला सुनाउँथ्यो । यस क्रममा तीन सय पचपन्न जना निरपराधले मृत्युदण्ड पाएका थिए । करीब दुई हजार अपराधीले उन्मुक्ति प्राप्त गरेका थिए भने झन्डै दुई सय निर्दोषले न्याय खरीद गर्न सफलता हासिल गरेका थिए ।

रिक्तशीर्षले सेतो जामा र पगरी भिरेर छद्म मन्त्र फलाक्तै राजामा अलौकिक शक्ति रहेको घोषणा गर्‍यो र राजकीय गुरुकुलको कुलपतिमा नियुक्ति प्राप्त गरी सुखपूर्वक रहन थाल्यो । ऊ दिनमा तीन पटक राजाको तस्वीरमा धूपधुवाँर गर्दै राजाले लठ्ठी गाडेको ठाउँ पृथ्वीको केन्द्रविन्दु हो र सृष्टिकर्ता ब्रह्माजी त्यहीं उत्पन्न भएका हुन् भन्ने निष्कर्ष लोकलाई सुनाउँथ्यो । राजाको मुखबाट निस्कने प्रत्येक वाक्य ज्ञान, विज्ञान, धर्मशास्त्र, चिकित्साशास्त्र, नीतिशास्त्र, ज्योतिषशास्त्र, भाषाशास्त्र र साहित्यशास्त्रको अन्तिम सत्य हो भन्ने व्याख्या गर्थ्यो । त्यसप्रति असहमत हुनेलाई राजद्रोहको अभियुक्त मानिन्थ्यो र उसमाथि राजकीय अरिंगालहरूद्वारा आक्रमण गराइन्थ्यो ।

भविष्यमा मन्त्री बन्छु भन्ने वज्रमति साँच्चै मन्त्री बन्न पुग्यो र अहर्निश राजाको समीपमा रहन थाल्यो । ऊ राजाको विश्वासपात्र थियो तर उसको विश्वास स्वर्णमुद्रामा मात्र थियो । राज्यका प्रत्येक निकायका अधिकृतले उसलाई हरेक महीना ठेकिएको परिमाणमा स्वर्णमुद्रा नजराना चढाउनुपर्थ्यो । त्यसमा भूलचूक गर्नेहरू राजकोपको शिकार बन्थे । स्वर्णमुद्राको थैलो बोकेर आएको कुनै न कुनै अधिकृत उसको निजी कोषागारको ढोकामा कुनै पनि दिन टुट्तैनथ्यो । प्राकृतिक प्रकोप, महामारी र अनिकालमा समेत वज्रमतिको मति स्वर्णमुद्रा आर्जनमै केन्द्रित रहन्थ्यो । राज्यकोष रित्तिन लाग्दा ऊ राजालाई कर बढाउन सल्लाह दिन्थ्यो र कानमा खुसुक्क भन्थ्यो, ‘अब भगवान्को भव्य मन्दिर बनाउनुपर्छ ।’

सातै जनाको मृत्यु संयोगवश एकै दिन भयो । मृत्यु भएकोमा भन्दा पनि सम्पूर्ण सम्पत्ति पृथ्वीमै छोडेर जानुपरेकोमा उनीहरू दुःखी थिए र प्रेत बनिसक्ता पनि ह्वाँ ह्वाँ रोइरहेका थिए । वीरकेतु मात्र चूपचाप टोलाइरहेको देखिन्थ्यो । यमदूतहरूले उनीहरूलाई एकैसाथ चित्रगुप्तसामु उभ्याए । बहीखाता हेरेर चित्रगुप्तले भने, ‘तिमीहरूमध्ये एक जना स्वर्ग जानेछ र अरू नर्क जानेछौ ।’

यति कथा भनेर वेतालले विक्रमलाई सोध्यो, ‘राजन् ∕ यीमध्ये को स्वर्ग जान योग्य छ र किन ? अरू सबै नर्क जानुपर्ने कारण के हो ? यदि तिमीले जानेर पनि मेरो प्रश्नको उत्तर दिएनौ वा गलत उत्तर दियौ भने तिम्रो शिर यहीं सय टुक्रा हुनेछ ।’

वेतालको वाणीबाट भयभीत विक्रमले जवाफ दिए, ‘यीमध्ये डाँका नै स्वर्ग जान योग्य छ । किन भने अरू सबैले रक्षक र अभिभावकको छद्म भेष धारण गरेर राज्यशक्तिको आडमा प्रजालाई लुटे र अनेक पीडा दिए । त्यो यस्तो पाप हो, जसको फल भोग्न कुम्भीपाक नरकमै पर्नुपर्छ । डाँकाले भने छद्मभेष धारण गरेर प्रजालाई झुक्याएन र तिनलाई मात्र लुट्यो, जसले अन्यायपूर्वक सम्पत्ति आर्जन गरेका थिए । लुटेको अधिकांश सम्पत्ति पनि तिनै प्रजालाई बाँडिदियो, जसका उनीहरू हकदार थिए । बाँकी अंश आफूले उपभोग गरेको सजाय उसले पृथ्वीलोकमै उपवास गरेर भोगिसकेको थियो । त्यसैले उसको पाप कटिसकेको छ र ऊ स्वर्ग जान योग्य छ ।’

विक्रमको जवाफ सुन्नासाथ वेताल शव सहित उडेर फेरि श्मशानमा सिसौको रूखमा पुग्यो । राजा विक्रम पुनः फर्किए र शवलाई बोकेर हिंडे । अनि वेतालले सोह्रौं कथा सुनाउन शुरू गर्‍यो ।

प्रकाशित : भाद्र १३, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?