पुस्तकको आतंक- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तकको आतंक

‘भ्यू–टावरलाई नै पैसा पुग्या छैन, पुस्तकालय जस्तो सेतो हात्ती कसले पालोस् ?’
शरच्चन्द्र वस्ती

बिहान सपरिवार चिया खाइरहेको वेला मन्त्रीको मोबाइल बज्यो । त्यसमा पिलिक्क चम्केको नाम देख्नासाथ मन्त्रीपुत्र प्रफुल्लित भयो, ‘ड्याडी, अंकलको फोन !’ मुखमा हाल्न लागेको पाउरोटी बीचैमा रोकेर मन्त्रीले फोन उठायो । उताबाट एउटा बिचौलिया भन्दैथियो, ‘बर्बाद हुन लाग्यो हजूर !’

‘के भयो र ?’

‘त्यो अस्ति मैले हजूरलाई देखाएको जग्गा छ नि, त्यसमा पुस्तकालय बनाउन लागेका छन् । हाम्रो योजना डुब्ला जस्तो भो ।’

‘कहाँ त्यस्तो हुन्छ ? म मिलाइहाल्छु नि ।’

‘कहाँ हजूर, दुई–चार दिनमै जग खन्न थाल्ने भन्दैछन् । त्योभन्दा पहिले नै रोक्नुपर्ने भो । नत्र बित्यास पर्छ,’ बिचौलियाले भन्यो, ‘हजूर अहिले १० बजे मकहाँ सवारी होस् न । अरूलाई पनि बोलाउँछु । सबै कुरा यहीं गरौंला ।’

‘ठीक छ,’ मन्त्रीले फोन टुंग्यायो । छोराले दबाव दियो, ‘अंकलको काम हुनुपर्छ है ड्याडी, मैले कुरा गरिसक्या छु ।’

मन्त्री बिचौलियाकहाँ पुग्दा दुई ठेकेदार पहिलेदेखि नै हाजिर थिए । एउटाले भन्यो, ‘शहरको मुटुमा भएको त्यस्तो जग्गा पुस्तकालयको नाउँमा खेर फाल्न त भएन नि हजूर ।’

अर्काले थप्यो, ‘हामी त्यहाँ शानदार मल बनाउँछौं । अन्डरग्राउन्ड डिस्को राख्छौं । शहरको शान बढ्छ । हजूरलाई पनि फाइदा हुन्छ ।’

‘...बाबुले मलमा दुइटा शटर चाहिन्छ भन्नुभा छ,’ मन्त्रीपुत्रको नाम लिंदै बिचौलियाले गाँठी कुरा गर्‍यो, ‘त्यो उहाँको जेठानका नाउँमा हुन्छ । हजूरको नाउँ कहीं आउँदैन ।’

‘भोलि क्याबिनेट छ । म मिलाइहाल्छु,’ मन्त्रीले विश्वास दिलायो ।

‘एउटा अर्को कुरा हजूर,’ बिचौलियाले नयाँ प्रस्ताव अघि सार्‍यो, ‘त्यो जग्गासँगै जोडिएको क्याम्पस हाता झन् ठूलो छ । क्याम्पसलाई पनि त्यहाँबाट हटाउन पाए त दुवै जग्गा मिलाएर देशकै सबैभन्दा ठूलो र भव्य मल बनाउन सकिन्थ्यो ।’

‘हो नि । शहरका बीचमा थोत्रो क्याम्पस राखेर के काम ? मखमलको पोशाकमा भाङ्ग्राले टालेजस्तो,’ एउटा ठेकेदारले ङिच्च गर्‍यो ।

‘प्रोजेक्ट जति ठूलो, फाइदा उति ठूलो,’ अर्काले लोभ्यायो ।

मन्त्रीले घुटुक्क थूक निल्यो, ‘पहिले पुस्तकालयको झमेला टुंग्याइहालौं । त्यसपछि क्याम्पसलाई पनि लेखेटौंला नि ।’

त्यहीं ‘लन्च’ गरेर मन्त्रालय पुगेपछि मन्त्रीलाई लाग्यो, ‘यस्ता कुरामा कसरी अघि बढ्ने भनेर एकचोटि साथीभाइसँग गफ गर्नुपर्‍यो । उसले शिक्षा क्षेत्र हेर्ने पार्टीका दुई विज्ञ र हित्तचित्त मिल्ने एक जना मन्त्रीलाई बेलुका आफ्नो घरमा निम्त्यायो ।

‘कुरा स्पष्ट छ, पुस्तकालय बनाउनु हाम्रो नीतिमा पर्दैन,’ तरल पदार्थको रमरम शुरू भएपछि एउटा विज्ञ जोशियो, ‘पुस्तक हाम्रा लागि सबैभन्दा ठूला समस्या हुन् । तिनले दिमाग बन्द गर्छन् । हाम्रा विरोधी जन्माउँछन् । जसले पुस्तक पढ्छन्, तिनले हामीले भनेको मान्दैनन् । हामीसँग प्रश्न गर्न थाल्छन् । त्यस्ता पुस्तक थुपार्ने ठाउँ हामीलाई किन चाहियो ?’

‘यो नैतिक दृष्टिले पनि नमिल्ने कुरा हो । हिजो बुर्जुवा शिक्षा बहिष्कार भनेर कार्यकर्तालाई पढ्न दिएनौं । बुर्जुवा पुस्तकको काम छैन भनेर पुस्तक च्यात्न र पुस्तकालय जलाउन लगायौं । पुस्तकहरू हुर्हुर बल्दा खुशीले चिच्याउँदै, नाच्दै, गाउँदै आगो वरिपरि घुमेको दृश्य अहिले पनि झलझली आँखासामु आइरहन्छ,’ अर्काले भन्यो, ‘अब हामीले नै पुस्तकालय बनाउन थाल्यौं भने हामी भन्दा सिद्धान्तहीन को होला ?’

‘पुस्तकालय जस्तो अनुत्पादक कुरामा पैसा खेर फाल्न मिल्दैन । जग्गा देऊ, घर बनाइदेऊ, फर्निचर ल्याइदेऊ, वर्षैपिच्छे किताब किनिदेऊ, महीनैपिच्छे कर्मचारीलाई तलब देऊ । एक सुका आम्दानी हुने होइन, खर्च चाहिं कति हो कति,’ आमन्त्रित मन्त्रीले व्यावहारिक प्रश्न उठायो, ‘भ्यू–टावरलाई नै पैसा पुग्या छैन, पुस्तकालय जस्तो सेतो हात्ती कसले पालोस् ?’

‘पुस्तकालय नचाहिने कुरामा त सबै पार्टी हाम्रै लाइनमा छन् नि । त्यही भएर ३० वर्ष यता कसैले कहीं एउटा पनि पुस्तकालय बनाएको छैन,’ घरभेटी मन्त्रीको टिप्पणी थियो ।

गिलास एकपल्ट रित्तिएर फेरि भरिएको थियो । ‘पढेर के हुन्छ यार ?’, एक जना हात हल्लाउँदै आफ्नै बयान गर्न थाल्यो, ‘मेरो कक्षामा म सधैं फेल हुन्थें । गुरुले जबर्जस्ती कक्षा चढाइदिंदा पनि पाँच कक्षा भन्दा माथि पुग्न सकिनँ । तर आज डाक्टर, इन्जिनीयर, पीएच्डीहरू मेरो चाकरीमा आउँछन् । सरुवा–बढुवा मिलाइदिनुपर्‍यो भनेर ब्रीफकेश बुझाउँछन् ।’

अर्काले आफ्नो पुरुषार्थ सुनायो, ‘मेरो छोरो पढ्न भनेपछि मरिहत्ते गर्थ्यो । घरमा होस् अथवा बाहिर, पुस्तक भेट्यो कि पढिहाल्ने । ठूलो भएपछि दुःख पाउला भनेर आफूलाई कत्रो चिन्ता । अनेक उपाय लगाएर, टुनामुना समेत गरेर बल्लतल्ल पढाइको लत छुटाएँ र राजनीतिमा ल्याएँ । १० वर्षमै अर्बपति भइसक्या छ र अहिले प्रदेश सांसद छ । नपढेर के भो र ?’

‘ठीक भन्नुभो, पढेका भए तपाईं–हामी यो ठाउँमा कसरी आइपुग्थ्यौं ?’, तेस्रो चम्कियो, ‘पढ्नतिर लाग्या भए हाम्रा नेता कहाँ हुन्थे, भन्नोस् त ? हद्द भए आफ्नै गाउँको स्कूलमा सिर्कनो हातमा लिएर क–ख–ग–घ सिकाइराख्या हुन्थे होला । कि होइन ?’

चौथाले मुखमुद्रा गम्भीर देखाउने प्रयास गर्‍यो, ‘यो मन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति जस्ता पदमा क्याम्पस नपुगेका मान्छे नै बढी सुहाउँछन् कि क्या हो ?’

‘त्यही भएर हाम्रो भविष्य उज्ज्वल छ, के बुझ्नुभो ?’ एउटाले भन्यो र हाँसोको लहर उठ्यो । उसले थप्यो, ‘यो हाँस्ने कुरा होइन । अब प्लस–टुसम्म हरेक कक्षामा नपढीकन ठूलो मान्छे भएकाहरूको मात्र जीवनी पढाउनुपर्छ । त्यसो भएपछि पढ्नुपर्छ भन्ने मान्यता स्वतः कम हुँदै जान्छ । मान्छेले पढ्नै छोडेपछि पुस्तकको आतंक पनि घट्दै जान्छ ।’

‘पाठ्यपुस्तक र पार्टीले सिफारिश गरेका किताब बाहेक अरू पुस्तकको कामै छैन । तर के गर्नॅ, सोझै यस्तो नीति ल्याउन मिल्दैन’, अर्को चुकचुकायो ।

एक छिन सबै मौन भए । तेस्रोपल्ट गिलास भरिएपछि घरभेटी मन्त्रीले अर्को कुरा कोट्यायो, ‘मलाई त पुराना क्याम्पसहरू पनि झम्पाट लाग्न थाल्या छन् ।’

‘शिक्षा भनेको उच्च नाफामूलक व्यवसाय बन्नुपर्छ । त्यसैले वर्षको १०–१२ लाख रुपैयाँ लिने क्याम्पसहरू मात्र शहरभित्र राख्ने हो । तिनका विद्यार्थीले हामीसँग प्रश्न पनि गर्दैनन्,’ एउटा विज्ञले नीतिगत मार्गदर्शन गर्‍यो,‘जाबो तीन–चार हजार लिएर वर्षभरि पढाइराख्ने दुखिया सरकारी क्याम्पसको अब काम छैन । बिस्तारै तिनलाई शहरबाहिर पठाउनोस् । हाम्रो टाउको दुखाउने पनि तिनकै विद्यार्थीले हो ।’

‘विद्यार्थी नेता त्यहीं हुन्छन्, आन्दोलन गर्ने हुन् कि ?’

‘तिनलाई अलिकति मह चटाइदिनुहोला, कुरै खत्तम । क्याम्पस शहरबाहिर लैजाँदा उत्पात राम्रो हुन्छ भनेर तिनैले भाषण गर्न थाल्नेछन् ।’

‘अहा, कति राम्रो उपाय !’ मन्त्री गद्गद भयो ।

दोस्रो विज्ञ कुराको चुरोतिर लाग्यो, ‘हेर्नोस्, मुख्य समस्या भनेको पुस्तक हो । त्यसले मान्छेका भावना जगाउँछ र उसलाई कमजोर बनाउँछ । देश बनाउन कमजोर होइन, बलियो र अनुशासित मान्छे चाहिन्छ । यस्तो मान्छे जसमा भावना नहोस्, जसले नसोचोस्, प्रश्न नगरोस् र नेताले भनेका कुरा आँखा चिम्लेर पालन गरोस् ।’

दुवै मन्त्रीका आँखा निर्निमेष उसको अनुहारमा गाडिएका थिए । ऊ भन्दैगयो, ‘त्यसका लागि उसलाई पुस्तकबाट टाढा राख्नुपर्छ । पुस्तकालय बन्द गरेर हुन्छ कि, क्याम्पस हटाएर हुन्छ कि, भन्सार बढाएर हुन्छ कि, प्रकाशकलाई तर्साएर हुन्छ कि हामीले यो काम गर्नैपर्छ । त्यतिले पुगेन भने जीप, कारमा जस्तै पुस्तकमा पनि वार्षिक ‘पठन–कर’ लगाउनुपर्छ । नत्र समाजवाद कसरी आउँछ ?’

छलफल टुंग्याउन सबैको गिलास फेरि एकपल्ट भरियो ।

भोलिपल्ट मन्त्रिपरिषदको बैठकले निर्णय गर्‍यो : क. अनुत्पादक क्षेत्रमा लगानी नगर्ने नीति अन्तर्गत पुस्तकालय बनाउने योजना अनिश्चित कालका लागि स्थगित गर्ने । ख. पुस्तकालयका लागि छुट्याइएको जग्गा व्यापारिक केन्द्र बनाउन २०० वर्षका लागि लीजमा दिने । ग. सो जग्गासँगै जोडिएको क्याम्पसलाई एक वर्षभित्र नगरबाहिर शान्त ठाउँमा स्थानान्तरण गर्ने ।

बैठक सकेर बाहिर निस्कनासाथ मन्त्रीसँग हात मिलाउँदै बिचौलियाले खुशी जाहेर गर्‍यो, ‘बधाई छ मन्त्रीज्यू, आज गज्जब राम्रो निर्णय भयो ।’

मन्त्री मुस्कुरायो, ‘दुई–तिहाई अलिक पुगेन । नत्र राम्रा निर्णय कति गरिन्थ्यो कति !’

प्रकाशित : श्रावण २४, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

निश्छल हाँसो

तस्बिर : बिजु महर्जन

काठमाडौँ — ललितपुरको खोकनामा खुर्सानी झुन्ड्याइएको झ्यालबाट बाहिर हेर्दै बालिकाहरू । परम्परादेखि खोकना क्षेत्रका बासिन्दाले आफैंले जोगाएका खुर्सानीका बीउ वैशाखमा रोप्छन् । फलेपछि साउनको पहिलो साता टिप्छन् र सुकाउन ६ दिनसम्म झ्याल–झ्यालमा झुन्ड्याउँछन् ।

डेढ दशकअघिसम्म साउन–भदौका महिना भक्तपुर, काठमाडाै‌ं, ललितपुरका पुराना नेवार बस्तीका झ्याल–झ्यालमा मालाझैं झुन्ड्याएर राखिएका राता खुर्सानीका माछीकाँडे झुप्पा लहरै देखिन्थे ।

झ्यालमा खुर्सानी सुकाउने त्यस्ता दृश्यले उपत्यकावासी स्वतः बुझ्थे– अब वर्षा समाप्त भयो र शरद लाग्ने बेला भयो । पुराना शैलीका कलात्मक झ्यालहरूमा खुर्सानी झुन्ड्याइने यो चलन भूकम्पपछि नयाँ शैलीका घरहरू बन्न थालेसँगै हराउँदै गएको छ । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार नेपालमा अलि–अलि पिरो, पिरो र ज्यादै पिरो सबैखाले गरी १५ थरी खुर्सानी पाइन्छन् । खुर्सानी दक्षिण अमेरिकी देश मेक्सिकोबाट संसारभर फैलिएको मानिन्छ । अध्ययनअनुसार, युरोप र उत्तर अमेरिकामा खुर्सानीको खपत सबैभन्दा कम हुन्छ । दक्षिण अमेरिका, एसिया र अफ्रिकामा खुर्सानी खानेहरू बढी छन् ।

प्रकाशित : श्रावण २४, २०७७ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×