१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बीपी स्मृतिमा इतिहाससँग नयाँ संवाद

बीपीले नेपाल र भारतको सम्बन्धका अनेकौं आधार र मनोविज्ञान प्रस्तुत गरेका छन् डायरीमा, जसको अध्ययन अहिले झन् आवश्यक भएको छ ।
अभि सुवेदी

अहिले बीपी कोइराला स्मृति दिवसका छलफलहरू चलिरहेका छन् । यी हरेक वर्ष यसरी नै चल्छन् । केही प्राज्ञिक मानिस र उनको पार्टी नेपाली कांग्रेसका केही नेताका लेखमा तिनै भाषिकाका पुनरावृत्ति हुन्छन् । पुष्पलाल स्मृति दिवसमा पनि त्यस्तै भाषिका प्रयोग हुन्छन् । नेपालमा भयानक राजनीतिक परिवर्तनहरू भएको युग यही हामीले भोगिरहेको समय नै हो । म यो छोटो लेखमा एकाध अनुभवजन्य लेखनका कुरा मात्र राख्नेछु ।

बीपी स्मृतिमा इतिहाससँग नयाँ संवाद

अहिले बीपी कोइराला स्मृति ट्रस्टको अनुरोधमा सन् १९५१ देखि १९५६ सम्मको बीपीले अङ्ग्रेजीमा लेखेको डायरीको सम्पादन र त्यसको लामो विश्लेषण भर्खरै लेखिसकेको छु । पहिले नपढेका कुराहरूको अध्ययन गर्न पाएँ, लकडाउनका लामा दिनमा । म राजनीतिक विश्लेषक नभएकाले अधिइतिहासवेत्ता हेडन ह्वाइट (१९७३) का विचारले यी डायरी हेरेको छु । ह्वाइट भन्छन्, ‘इतिहास भित्री काव्यिक, भाषिक चरित्रको हुन्छ । यसैबाट ऐतिहासिक अध्ययनको व्याख्या गर्नुपर्छ ।’ ती डायरी पढ्दा मैले त्यही लय र इतिहासको त्यही आत्मा भेटें । बीपीको मात्रै होइन, नेपाली इतिहासकै गतिको विषयमा अहिले चिन्तन र चिन्ता गर्ने मानिसहरू चाहिएको छ ।

अहिले नेपालमा इतिहास अनौठो मोडमा पसेको छ । राजनीति र विचारका अर्थहरू ठीक ठाउँमा काम गर्न छोडेका छन् । राजनीति यो देशको सबैभन्दा प्रयोग र चर्चामा आएको विषय हो । त्योसँग हाम्रा आलम्बन गहिरोसँग जोडिएका छन् । राजनीतिज्ञहरूका व्यक्तित्व र तिनका चाख अनि समूहका चाखका क्रियाकलापले हाम्रो जीवनमाथि प्रभाव पारेको छ । केही समयदेखियता नेपालको शासकीय दल नेकपाभित्रको शक्तिसंघर्षका कथा श्रवण गर्ने हाम्रो नियति भएको छ । कोभिडको महामारीले थला पारेको बेला राजनीतिले जीवनमा कति ठाउँ लिन सक्छ ? यो एउटा मूल प्रश्न भएको छ । नेपाललाई अहिले कुन विचारले चलाउँदै छ ? सबैभन्दा प्रस्ट नभएको विषय हो । लाग्छ, प्रयोगको भ्रमले चलाएको छ । लोकतान्त्रिक वा समाजवादी कुनै विचारको बलियो प्रभाव नभएको यो अवस्था अनौठो शून्यकाल भएको छ । नेपाल र भारतको सम्बन्ध विसंगत रूपले नराम्रो अवस्थामा पुगेको छ । भारतले आफ्नो वैचारिक आधार खोज्न अनेकौं छलफल, प्रयोग र विस्तार गरेका निकै वर्ष भइसके । मिडियाको कुरा छोडिदिउँ । नेपालको शासक दल कम्युनिस्ट समाजवादी हो । प्रतिपक्ष लोकतान्त्रिक समाजवादी हो । लाग्छ, उनीहरूका भन्ने नयाँ कुरा छैनन् ।

शक्ति र सत्ताका प्रपञ्चको आपसी युद्ध लड्दै उनीहरूले हामी सबैको समय मात्र बर्बाद गरिदिँदै छन् । त्यसमा केही बूढाहरूका शक्तिमोह जोडिएका छन् । तिनीहरूको थकान र त्यसबाट निःसृत बोली नै नेपालका राजनीतिक मन्त्र मानिएका छन् । कोभिड महामारीमा पीडित अदृश्य नै भए उनीहरूको निम्ति । यहाँ मोदीको दक्षिणपन्थी भारतको जस्तो कुनै स्थिर व्याख्या छैन उनीहरूको । शक्तिमा रहेका थोरै नेताहरू देब्रे र दाहिने राजनीतिका शब्दजाल यसै फ्याँकिबस्छन् । नेपाल भारतसँगको संवादहीन अवस्थामा छ । भारतमा बीजेपीको सरकार र संस्कृति आएपछि त्यसलाई चलाउने मान्यताहरू बनिन थाले । इतिहास र संस्कृतिको हिन्दुत्वजनिन व्याख्यालाई बल दिने किसिमका लेख र ग्रन्थहरू प्रकाशित हुने क्रम जारी छ । विचारको क्षेत्रमा एउटा उदाहरण लिँदा राजीव मलहोत्राजस्ता व्याख्याताहरू भारतको बद्लिएको युगको व्याख्या गर्न सक्रिय छन् । त्यसो त एउटा ‘आइडियोलोजी’ को आधार तयार गर्न उनीहरू लागेको निकै वर्ष भयो । तर, हाम्रा राजनेताहरू भने यसै पौराणिक कुरादेखि लिएर उत्तरआधुनिक र पँॅजीवादी प्रपञ्चका सबै प्रयोग र व्याख्या गर्न माहिर छन् । कार्यकर्ता यसै अन्योलमा छन् ।

बीपी कोइरालाकै चर्चा गर्न चाहन्छु । तिनका डायरी पढेर हेर्दा हाम्रो राजनीतिक र विचारको इतिहास कहीं नराम्रो गरी फस्दै गएको देखिन्छ । सर्वसाधारण जनताको मुक्ति र तिनको सम्मान गर्ने बीपीको सिद्धान्त मलाई सबैभन्दा आकर्षण गर्ने पक्ष हो । अहिले स्मृति दिवस मनाइने अर्का नेता पुष्पलालको चिन्ता र विषय पनि त्यही थियो भन्ने उनका लेखहरूमा प्रस्टसँग आउँछ । नेपालमा ती दुवै कुरा सबैभन्दा उपेक्षित विषय बन्दै गएका छन् । गायत्री स्पिभाक चक्रोवर्तीले सबाल्टर्न अथवा विपन्न मानिसका निम्ति कसले बोलिदिन्छ भन्ने एउटा चर्चित लेख लेखेकी छन् । त्यसमा जो आफू बोल्न सक्दैन त्यसका निम्ति अरूले बोलिदिनुपर्छ कि पर्दैन भन्ने गम्भीर विषय उठाएकी छन् उनले । आन्टोनियो ग्राम्चीको सबाल्टर्न त्यही व्यक्ति थियो, जसको बोली बाहिर आउँदैन । त्यतातिर नलागी भन्दा, बीपी कोइरालाले तिनै विपन्न मानिसका निम्ति बोल्नु राजनीतिको मूलकर्म हो भने ।

मैले २०७३ सालमा बीपी कोइरालाको ‘अदालतको बयान’ को पाठ अध्ययन गरेर ‘सान्दाजुको महाभारत’ भन्ने नाटक लेखें । त्यही साल थिएटर भिलेजले त्यसको प्रस्तुति गर्‍यो । त्यो बयानलाई नाटकीकरण गर्ने क्रममा मैले बुझेको बीपी कोइरालाको राजनीतिका दुईवटा मूल चरित्र थिए । पहिलो मानिसको स्वाभिमान र त्यसको सम्मान, अनि साथै उसको बास–गाँसको व्यवस्था । सर्वसाधारण नागरिकको सम्मान र उसको अधिकार सबैभन्दा ठूलो कुरा हो । संसद भंग गरेर बीपी, निर्दोष नागरिक र राजनेताहरूलाई राजा महेन्द्रले जेलमा हालेको घटनाले त्यो सम्मान भंग गरिएको थियो भन्ने उनको धारणा नै नाटकको आत्मा छ । नाटक लेख्ने म बीपीको वा अरू कुनै दलको मानिस नभएर एक प्राज्ञिक शिक्षक व्यक्ति भएकाले उनका विचारको मैले अनेकौं किसिमले प्रयोग गरें ।

सबै राजनीतिक विचारधारा राख्ने धेरै मानिसहरूले नाटक हेरे । त्यसमा साधारण किसिमले छलफल भएका र उठेका कुराले बुझाएअनुसार, नेपालको राजनीतिमा सर्वसाधारण जनता मुख्य हुन् । नेपालको बलियो कम्युनिस्ट विचारधारा लिनेका र नेपाली कांग्रेसका सिद्धान्तको केन्द्र त्यही साधारण मानिस हो, अनि त्यो इतिहासको मूल अधार हो भन्ने त्यहाँ समान विचारहरू आए । नाटकमा त्यो कुरा समाउन सकियो कि सकिएन भन्ने कुरा मेरो मूल द्वन्द्व थियो । त्यही बेला नेपाल ब्रिटेन एकेडेमिक काउन्सिलको निम्तोमा नोभेम्बर दोस्रो हप्ता २०१५ मा लन्डन र अक्सफोर्डमा सेमिनार दिँदा मैले ‘बीपी कोइरालाको लेखन साहित्य, राजनीति र इतिहासको अनौठो संगम’ विषय छानेँ । नोभेम्बर १२ को दिन लन्डन विश्वविद्यालयमा मैले त्यो प्रस्तुत गरिरहेको बेला छातीमा नेपाली राष्ट्रवाद र नेपालमा मोदी भारतको नाकाबन्दीको विरोधका बिल्ला टाँसेका थुप्रै नेपाली युवायुवती हलमा ह्वार्र पसे । चकित परें । पछि मलाई प्रश्न सोध्दा कतिपय उनीहरूमा त्यही उत्तेजना थियो । नरेन्द्र मोदी ब्रिटिस प्रधानमन्त्रीको निम्तोमा १० डाउनिङ स्ट्रिटमा आएको बेला जुलुस गर्न भेला भएका तिनीहरू त्यो सकेर यता पसेका रहेछन् ।

सम्झिँदा अनौठो लाग्छ, के अहिलेसम्म भारत र नेपालको सम्बन्ध उस्तै मोडमा छ त ? लाग्छ, अझ बिग्रिँदै गएको छ । सुधार्नका निम्ति सूक्ष्म अनि कुशल प्रयास र नेतृत्व चाहिन्छ, जुन कुरा बीपीले संस्मरण, डायरी र लेखमा बारम्बार भनेका छन् । बीपीले नेपाल र भारतको सम्बन्धका अनेकौं आधार र मनोविज्ञान प्रस्तुत गरेका छन् डायरीमा, जसको अध्ययन अहिले झन् आवश्यक भएको छ । भ्रष्टाचारको व्यापक प्रभाव र प्रयोग हुँदाहुँदै पनि अहिलेको नेपालको समस्या राजनस्तिक र वैचारिक शून्यता नै हो, जुन दिनदिनै जटिल र खराब हुँदै गएको छ । इतिहाससँग नयाँ संवाद थाल्नु बीपी स्मृतिको सन्देश हो ।

प्रकाशित : श्रावण १०, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?