कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुकुर पाल्न कर

‘हामीले अहिलेसम्म तिरेको कर कुकुर पाल्नमै त खर्च भइरहेको छ नि । होइन र ?’
शरच्चन्द्र वस्ती

पूर्व–कथा-आफ्ना स्वामी कालभैरवको चरणकमलमा लुटुपुटु गर्दै उहाँको वाहन कालमुख कुकुरले कुईं–कुईं ध्वनिपूर्वक निवेदन गर्‍यो, ‘प्रभु, तपाईंको महिमा अपरम्पार छ । तपाईंमा ब्रह्मा, विष्णु र महेश्वर तीनैको शक्ति समाहित छ । यस्ता सर्वशक्तिसम्पन्न तपाईंको वाहनका रूपमा मेरो पनि तीनै लोकमा प्रतिष्ठा छ ।

कुकुर पाल्न कर

परन्तु मेरा आफन्त र सजातीय बन्धुहरूलाई मानिसले ज्यादै हेला गर्छन् । तिनको न गाँसको ठेगान छ, न वासको, न त सुरक्षाको । तिनले कुकुरले नपाएको दुःख पाइरहेका छन् । तिनमा कृपादृष्टि वर्षाउनुपर्‍यो, प्रभु !’

आफ्नो अनन्य सेवकको याचना सुनेर कालभैरव मुसुक्क हाँस्नुभयो । गाजलको गोला जस्तो अनुहारमा श्वेत दन्तपंक्ति यसरी चम्कियो, मानौं श्रावणको कालो मेघमालामा बिजुली चम्केको होस् । तत्काल श्रीमुखबाट वरद वाणी वर्षियो, ‘चिन्ता नगर कालमुख ! जब कलियुग आउनेछ, त्यसवेला उनीहरूले मनुष्य चोला प्राप्त गरेर ती सबै सुख भोग गर्नेछन्, जसको चाहना उनीहरूलाई छ । आज तिनलाई दुत्कार्नेले त्यसवेला तिनका लागि सुखसयलका साधन जुटाउनुपर्नेछ ।’

कर–कथा

एउटा हड्डीका लागि मुलुकका दुई ठूला कुकुर जुधिरहेको एक ङ्यारङ्यारग्रस्त बिहानीमा महा–मेयर शुनकमित्रलाई लाग्यो, ‘कुकुरको जीवनस्तर माथि उठ्न नसकेकाले महानगरको स्तर माथि उठ्न नसकेको हो ।’ कर लगाउनुलाई सबै रोगको ओखती ठान्ने उसले त्यसै दिन कुकुर पाल्न कर लगाउने निर्णय गर्‍यो । सामाजिक सञ्जाल मार्फत उसको निर्णयले तुरुन्तै विश्व भ्रमण गर्न थाल्यो ।

त्यही साता अफ्रिकाका एक दर्जन अर्थमन्त्रीको ‘जूम मीटिङ’ हुँदैथियो । कम्प्युटरको पर्दामा भेला भएर गरिने त्यो कार्यक्रम पनि कुकुर पाल्न कर लगाउने विषयमै केन्द्रित थियो र त्यसको शीर्षक थियो, ‘काम छाडी कैफत, कुकुरलाई नैवेद’ । शुनकमित्रको क्रान्तिकारी निर्णयबारे थाहा भएपछि उसलाई पनि कार्यक्रममा आमन्त्रित गरियो ।

निर्धारित समयमा सबै सहभागी कम्प्युटरमा प्रकट भएपछि संयोजकले विषयको उठान गर्‍यो, ‘हामीकहाँ कुकुरको संख्या लगातार बढिरहेको छ । यस महाद्वीपका हरेक देशमा केन्द्रदेखि प्रदेशसम्म र राजधानीदेखि गाउँका वडासम्म कुकुरको बिगबिगी छ । तिनलाई पाल्न राज्यलाई सकस पर्दै गएको छ । अब कुकुर पाल्न छुट्टै कर लगाउनु आवश्यक भइसकेको देखिन्छ । यसमा तपाईंहरूको के विचार छ ?’

तीन जना अर्थमन्त्रीले एक स्वरमा भने— हाम्रो पनि समस्या त्यही हो । अनेकौं चर्का करले पिल्सिएका जनतामाथि अर्को कर थप्नु उचित त होइन । तर, अब परम्परागत तरीकाले कुकुर पाल्न सम्भवै छैन । कर नलगाएर के गर्ने ?’

चौथोले सोध्यो, ‘आजसम्म कुकुरहरू कसरी पाल्नुभएको थियो त ?’

पहिलोले बयान गर्‍यो, ‘गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यापार, उद्योग, व्यवसाय, कृषि, यातायात आदिका नाममा कर उठाउने गरेको तपाईंलाई थाहै छ । त्यो सारा राजस्व एउटै डालोमा हाल्थ्यौं र त्यसलाई कुकुर पाल्ने काममा खर्च गर्थ्यौं । तर अब त्यसले नपुग्ने भएको छ ।’

‘कुकुरलाई बेथा लाग्दा बाख्रो नमास्नू भन्छन् । राजस्व जति कुकुर पाल्न खर्च गरेपछि कर तिर्ने नागरिकका लागि चाहिं के गर्नुहुन्थ्यो नि ?’

दोस्रोले कुरा बुझायो, ‘नागरिकका लागि हामीले के गरिराख्नुपर्छ र ? तिनको काम भनेकै सरकारलाई खुरुखुरु कर तिर्ने र आफ्नो व्यवस्था आफैं गर्ने हो । कसरी बाँच्नुपर्छ, त्यो तिनैले जान्ने कुरा हो । त्यसमा सरकारले हस्तक्षेप गर्दैन । हाम्रो चिन्ता त कुकुर कसरी पाल्ने भन्ने मात्र हो ।’

तेस्रो अर्थमन्त्रीको अनुहारमा बाह्र बजेको थियो, ‘हामीले त विकासका नाममा विदेशसँग लिएको ऋण समेत कुकुर पाल्न खर्च गरिसकेका छौं । राजस्वले छोप पनि नलागेपछि के गर्नु ?’

तिनको कुरा सुनेर शुनकमित्रलाई अचम्म लाग्यो । उसले धक मान्दै प्रश्न गर्‍यो, ‘सरहरू, एउटा कुरा सोधौं है ? कुकुर पाल्न पनि त्यत्रो खर्च लाग्छ र ?’

कुरा त्यतै मोडियो । दुई अर्थमन्त्रीले एकैचोटि हात उठाए ।

एउटाले भन्यो, ‘तिनलाई बस्न राम्रा घर चाहियो । सुत्न महँगा पलङ चाहियो । टहल्न बगैंचा चाहियो । दगुर्न चउर चाहियो । जीउ बनाउन जिम चाहियो । पौडी खेल्न स्विमिङ पूल चाहियो । सुरक्षाका लागि प्रहरी र सेनाका जवान चाहियो...’

अर्काले थप्यो, ‘घरमा हिंड्न गलैंचा चाहियो । बाहिर हिंड्न गाडी चाहियो । एउटाले पुग्दैन, लश्करै चाहियो । पुरानाले हुँदैन, वर्षैपिच्छे नयाँ चाहियो । महीनैपिच्छे तलब चाहियो, हप्तैपिच्छे मोटो भत्ता चाहियो, दिनैपिच्छे टन्न पकेट खर्च चाहियो । अनि थोरै खर्चले पुग्छ ?’

‘तिनले काम चाहिं के गर्छन् ?’ शुनकमित्रको उत्सुकता बढ्दो थियो ।

‘के काम गर्नु नि ? कुकुरको काम पनि छैन, फुर्सत पनि छैन । भुक्छन्, बस्छन् । अरू काम त जानेको भए पो !’ अझ अर्काले व्याख्या गर्‍यो, ‘कहिले आफ्नो सुविधाका लागि मिलेर भुक्छन् । कहिले आपसमा झगडा गर्न भुक्छन् । कहिले मर्यादा पुगेन भनेर भुक्छन् । रातदिन भुकिरहन्छन्, तर आफ्नै लागि । भुकाइ कम गर भन्यो भने सबै मिलेर टोक्लान् भन्ने डर ।’

‘जम्मै यस्तै हुन् र ? हामीकहाँ त अनुशासित, आज्ञाकारी, स्वामिभक्त कुकुर पनि थुप्रै छन् नि ?’

‘हामीकहाँ पनि छन् मित्र ! तर एकदमै कम । गोरू जस्तै काममा जोतिने त अझ हातका औंलामा गन्न पुग्ने होलान् । बाँकी त भुक्ने मात्र हुन् ।’

‘तिनलाई सधाएर काममा लगाउन सकिंदैन ? हाम्रा पिताजीले त कुकुर खूब सधाउनुहुन्थ्यो,’ शुनकमित्रले जिस्क्यायो, ‘कि कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा हाले पनि बांगाको बांगै हो ?’

यसपालि दुई अर्थमन्त्रीले हात उठाए । पहिलोले भन्यो, ‘त्यति मात्र भए त हुन्थ्यो नि साथी ! यहाँ त ढुंग्रामा पुच्छर हाल्दा ढुंग्रै बांगिएर पो आपत । स्थानीय ढुंग्रो निम्छरो भएर होला भन्ठानेर लोकटन्टा, गणटन्टा, समाजबाँड जस्ता नामी बहुराष्ट्रिय कम्पनीका ब्रान्डेड ढुंग्रा पनि ल्यायौं, तैपनि पार लागेन । पुच्छर हाल्यो कि जुन ढुंग्रो पनि बांगिंदै गएर पुच्छर जस्तै घुम्रिने !’

यतिन्जेल गम्भीर मुद्रामा रहेका सहभागी हाँस्न थाले । दोस्रोले आफ्नो त्रासदी सुनायो, ‘अझ हाम्रो देशमा त दुनियाँले नगरेको प्रयोग पनि गर्‍यौं । ढुंग्रामा हालेर पार नलागेपछि घुम्रेको पुच्छरै काटिदियौं र त्यसको ठाउँमा सोझो, सग्लो पुच्छर प्रत्यारोपण गरिदियौं । त्यो पनि दुई–दुई पल्ट । तर हाम्रो दुर्भाग्य, त्यसले पनि काम गरेन । प्रत्यारोपण गरेको दुई–चार हप्तासम्म त पुच्छर सोझै हुन्छ, त्यसपछि बिस्तारै बांगिंदै गएर फेरि घुम्रिहाल्छ । के गर्नु ?’

हाँसो झन् चर्कियो । कुरा बहकिए जस्तो लागेर होला, संयोजक कार्यक्रमको बिट मार्न तम्सियो, ‘हामी सबै एउटै डुंगामा सवार छौं । जस्ता भए पनि हाम्रा कुकुर हाम्रै हुन् । तिनलाई हामीले पाल्नैपर्छ । त्यसका लागि नयाँ कर नलगाई सुखै छैन । अब हामी एउटा निष्कर्षमा पुगौं । के तपाईंहरू कुकुर पाल्न कर लगाउन तयार हुनुहुन्छ ?’

‘तयार छौं,’ बाह्रै जना अर्थमन्त्रीले दाहिने हात उठाएर हुंकार भरे र तीन महीनाभित्र कर लगाइसक्ने अठोट गरे । गडगडाएर ताली बज्यो ।

‘तपाईंले त हात उठाउनुभएन नि मित्र ?’ ताली रोकिएपछि संयोजकले शुनकमित्रलाई सम्बोधन गर्‍यो ।

‘मैले पहिल्यै निर्णय गरिसकेको छु,’ उसले भन्यो, ‘फेरि मैले उठाउन लागेको कर बेग्लैखाले हो । तपाईंहरूले जस्तो सम्पूर्ण जनतासँग होइन, कुकुर पाल्नेसँग मात्र उठाउने ।’

‘कुकुर पाल्नेसँग रे ?’ संयोजक हाँस्यो, ‘आफ्नो कुकुर उसैले पालिहाल्छ, तपाईंले कर चाहिं केका लागि उठाउने ?’

शुनकमित्र बोल्न खोज्दैथियो, ‘जूम मीटिङ’ झ्याप्प बन्द भयो ।

अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पाएकोमा दंग पर्दै ऊ कार्यालय बाहिर निस्कन लाग्दा नयाँ करको विरोधमा नागरिकहरू धर्ना दिइरहेका थिए । अगुवाहरूले भने ‘यो कर हामी तिर्दैनौं ।’

‘किन नतिर्ने ? कुकुर पाल्न कर चाहिंदैन ?’ शुनकमित्र चर्कियो ।

‘हामीले अहिलेसम्म तिरेको कर कुकुर पाल्नमै त खर्च भइरहेको छ नि । होइन र ?’ अगुवाहरूले सोझो प्रश्न गरे ।

शुनकमित्रसँग त्यसको जवाफ थिएन । तर, प्रहरी परिचालन गरेर भए पनि उसले कर लगाइछोड्यो ।

उत्तर–कथा

कुकुर पाल्न कर लगाइएको एक वर्ष बितिसकेको थियो । कालभैरवसँग एक दिनको भैपरी विदा लिएर कालमुख पृथ्वीतलमा ओर्लियो । मानिसहरू दुःखजिलो गरेर बाँचिरहेका थिए र तिनले तिरेको करबाट कुकुरहरू सुखसयलमा डुबेका थिए । आफ्ना बन्धुबान्धवको चकचकी देखेर हर्षले उसको गह भरियो । दंग परेर डुल्दैथियो, एउटा कुकुर उसलाई देखेर भुक्न थाल्यो । तत्काल टोलभरिका कुकुरले उसलाई घेरे र ‘हाम्रो भाग खोस्न आएको ?’ भन्दै झम्टिए । ऊ पुच्छर लुकाएर भाग्यो । उसलाई टोल कटाएपछि त्यो टोली त फर्कियो तर अर्को जत्थाले लखेट्यो । एकपछि अर्को जत्थाको लखेटाइमा पर्दै महानगर बाहिर पुगेर उसले मुश्किलले ज्यान जोगायो ।

कुकुरहरूका लागि कालभैरवसँग गरेको याचनाप्रति कालमुखलाई पछुतो लागिरहेको थियो । लामो जिभ्रो निकालेर फ्याँफ्याँ गर्दै ऊ बर्बरायो— कुकुरलाई घीउ नपचेको !

प्रकाशित : श्रावण १०, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?