२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पहिरोको पूर्वसंकेत र जनधनको रक्षा

धेरै खोल्सा समानान्तर रूपमा हुनु र हिउँदको बेलासमेत तिनमा उत्तिकै पानी बगिराख्नु, बस्तीको माथिल्लो वा तल्लो भेग अथवा नजिकैको सडकमा कतै जमिन चिरा/भ्वाङ पर्नु, कुवा अथवा धाराहरू बर्खामा पनि एक्कासि सुक्ने अथवा हिउँदमा पनि भरिन र धमिलो पानी आउन थाल्नु पहिरोका पूर्वसंकेत हुन् ।
सुबोध ढकाल

काठमाडौँ — प्रत्येक वर्षायाममा पहिरोको चपेटामा परी धेरै जनधनको क्षति बेहोर्ने नियति भोग्दै आएका हामीलाई अहिलेको पहिरोको घटनाले अझै बढी चिन्तित बनाएको छ । यो किनभने अहिलेको समयमा जुन दरमा पहिरोहरू गइरहेका छन् र जसरी तिनले मान्छेको ज्यान लिइरहेका छन्, त्यो पहिलेभन्दा अलि बढी आक्रामक देखिन्छ ।

पहिरोको पूर्वसंकेत र जनधनको रक्षा

यो वर्षका पहिरोहरूबाट किन छिटछिटो बढी मानवीय क्षति भैरहेको छ भन्नेबारे अध्ययन र विश्लेषण हुन सके देशभरिका यस्तै प्रकृतिका भौगर्भिक बनोट, प्राकृतिक धरातल र मानवीय क्रियाकलापमा रहेका स्थानहरू अनि बस्तीलाई कसरी सुरक्षित राख्ने भनी मार्गनिर्देश हुन सक्छ ।

यो वर्ष धेरै पानी परेपछि पहिरोहरू उक्सिएका भए पनि बढी मानवीय र भौतिक क्षति हुनुमा चाहिँ हाम्रा नीति र क्रियाकलापहरू दोषी देखिएका छन् । समग्र र केही फराकिलो हिसाबले भन्दा, जोखिम पहिचान, बस्ती विकासको ढाँचा, पूर्वाधार विकासको शैली र प्रविधि अनि हाम्रो विपत्पूर्वको अध्ययन–अनुसन्धानमा रहेका त्रुटि अथवा बेवास्ताजस्ता कुराहरू यस्ता क्षतिको प्रमुख कारण देखिन्छन् । जनोपयोगी अध्ययन–अनुसन्धानको अभावमा अथवा यसलाई वास्ता नगरिँदा राष्ट्रिय स्तरमै हाम्रो देशैभरिको भूभागमा बढी जोखिमयुक्त स्थान र कम जोखिमयुक्त स्थानको निर्क्योल गर्न नसक्नु नै क्षति न्यूनीकरण हुन नसक्नुको प्रमुख कारण देखिन्छ । यसको अभावमा बढी जोखिममा रहेका बस्तीलाई कम जोखिमका स्थानमा सार्ने काम अगाडि बढ्न सक्दैन । जोखिम पहिचान गरिसकेपछि वैज्ञानिक भू–उपयोगको खाका अनि एकीकृत बस्ती विकासको अवधारणालाई बोलीले हैन, कामले नै देखाउनुपर्ने अहम् काम अहिलेको पहिरोका घटनाहरूले अझै प्रस्ट्याएका छन् । कमजोर, असमान र संवेदनशील भौगर्भिक बनोट भएका स्थानमा बस्ती हुनु, माथि पनि पहिरो तल पनि पहिरो अनि बीचमा बस्ती हुनु, खहरे खोलाको पहुँचमै बस्ती बस्नु, अति भिरालो ठाउँमा बस्ती हुनु, खोलाले धेरै कटान गर्ने ठाउँको नजिकै बस्ती हुनु, मानिसहरूले पनि सम्भावित जोखिमलाई बेवास्ता गर्दै जीविकोपार्जनका लागि सहज हुने स्थानमा आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाउनु अनि विकासका नाममा भविष्यको सम्भावित विपत्को वास्तै नगरी हचुवाका भरमा सडक सञ्जाल विस्तार गरिनु हुन्न भनी यो वर्षका पहिरोहरूले भविष्यका लागि मार्गदर्शन गरेका छन् ।

विपत् व्यवस्थापनमा तीनै तहका सरकार, राजनीतिक पार्टीहरू, विषयका ज्ञाता विपत्विज्ञहरू, मिडियाकर्मीहरू, सरोकारवालाहरू तथा सर्वसाधारण सबैको संयुक्त प्रयास जरुरी हुन्छ । माथि सुझाइएका धेरैजसो विषय दूरगामी प्रभावका असल नीतिहरूबाट र केन्द्रीय सरकारको पहलमा हासिल गर्न सकिने भए पनि मनसुनको अहिलेको समयमा स्थानीय सरकार, समुदाय र त्यस्ता समुदायमा बस्ने जनता नै बढी चनाखो भई पहिरोबाट बच्ने उपाय लगाए ज्यान जोगिन सक्छ । त्यसका लागि कतै बस्तीहरूमा पहिरो जाने सम्भावना त छैन भन्ने कुरामा समुदायका मानिसहरू एक मतले लाग्ने हो भने पहिरोले छोड्ने केही न केही पूर्वसंकेतबारे हामीले थाहा पाउन सक्ने अवस्था हुन्छ । त्यस्ता पूर्वसंकेतबारे थाहा पाई आफ्नो गाउँठाउँको आफैंले समयसमयमा सुपरिवेक्षण गरिराख्ने हो भने पहिरोबाट बच्न सकिन्छ ।

पहिरोको पहिलो संकेतका रूपमा बस्ती रहेको स्थान, त्यसको माथिल्लो वा तल्लो भेग अथवा नजिकैको सडकमा कतै जमिन चिरा परेको त छैन अथवा कतै जमिनमा भ्वाङहरू त छैनन् भनी थाहा पाउनु जरुरी हुन्छ । त्यस्तो छ भने यसलाई पहिरोको पूर्वसंकेतका रूपमा हेर्नुपर्ने हुन्छ । यसमा कत्रो चिरा, कत्रो खाडल अथवा कताकता चिरा र खाल्डा छन् भनी विस्तृत अध्ययनपछि कति बढी जोखिम भन्ने कुराको उत्तर आउने भए पनि सामान्यतया यस्ता चिरा र खाल्डाहरूलाई आकाशको पानी छिर्न नदिने गरी पुर्ने अथवा टाल्ने गर्दा केही समयका लागि पहिरो बचाउको काम हुन सक्छ । यसका लागि चिरा र खाल्डाको तल्लो तह पत्ता लगाई कुनै ठूला कुनै साना ढुंगा र माटोको मिश्रण रहेको गाउँमै पाइने माटोले पुर्दै खाँद्दै खँदिलो बनाउने र माथिल्लो सतहबाट पातलो गिट्टी र सिमेन्टले पानी छिर्न नदिने गरी सिल गर्नुपर्ने हुन्छ । यस्ता चिरा र खाल्डा धेरै र ठूला छन् भने तुरुन्तै आ–आफ्नो स्थानीय तहका सरकारी निकायमा जानकारी गराई सुरक्षित स्थानमा सार्दा सुरक्षित रहन सकिन्छ ।

बस्तीको माथितिरको पहाड कुप्रिएको छ भने धेरै पानी पर्दा अथवा भूकम्प जाँदा त्यो पहिरोका रूपमा झर्न सक्ने सम्भावना हुन्छ । यसलाई पनि पहिरोको पूर्वसंकेतका रूपमा लिन सकिन्छ । यस्तो अवस्थामा कुप्रिएको पहाडको साइज हेरीकन काटेर फाल्ने अथवा चट्टानी पहाड भएमा र छुट्टिएर बसेका ढुंगाका स्ल्याबहरू भए नियन्त्रित तरिकाले आफैंले झारिदिनु राम्रो हुन्छ । त्यस्तो पहाडको तल्लो भागबाट सडक बनाउने वा पहाड काट्ने गर्नु हुँदैन । यस्ता पहाडको सुरक्षित व्यवस्थापन गर्न आफैं नसकिने भए स्थानीय सरकारहरूलाई जानकारी गराई समाधान खोज्नुपर्छ । बस्ती बढी भिरालो ठाउँमा छ र जमिन नखाँदिएको ढुंगामाटोले बनेको छ भने वर्षाको समयमा सजिलै बग्न सक्छ । यसले बस्तीको तल्लो भागमा समेत असर गर्न सक्छ । घरहरू पुरुवा माटामा बनाइएका छन् र राम्रोसँग खाँदिएको छैन भने पनि पहिरोको जोखिम बढी हुन्छ ।

आफ्नो बस्तीवरपर सीधा उम्रिएका रूखहरू बांगिँदै तल फर्किन थालेका छन्, अथवा बिजुलीका पोलहरू तल ढल्किन थालेका छन् भने पनि यसलाई पहिरोको पूर्वसंकेतका रूपमा लिन सकिन्छ । यस्तो हुनुले बस्ती भएका स्थानको जमिन बिस्तारै तलतिर सर्दै छ अथवा माथिबाट केहीले ठेल्दै छ अथवा तलबाट केहीले तान्दै छ भनी बुझ्नुपर्छ । तर यस्ता पहिरोहरू एकैचोटि नभई बिस्तारै जाने खालका हुन्छन् । यसकै असरले कहिलेकाहीँ आँगन, बारी वा घरको गारोमै पनि चिराहरू देखिने वा दब्ने पनि हुन सक्छ । यस्ता ठाउँलाई ठूलो भूकम्प अथवा घनघोर वर्षाले पहिरोका रूपमा उक्साउन सक्छ । यस्तो भएमा पनि स्थानीय सरकारको सहयोग लिनु जरुरी हुन्छ । केन्द्र र प्रदेश सरकारले यसको प्राविधिक अध्ययन गराई बस्ती सार्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ ।

गाउँघरका कुवा अथवा धाराहरू पानी पर्दैको समयमा पनि एक्कासि सुक्ने अथवा पानी नपर्दैको समयमा पनि भरिन र धमिलो पानी आउन थाल्नु पनि पहिरोको पूर्वसंकेत हो । यसले जमिन गतिशील रहेको वा केही न केही जमिन तलमाथि हुँदै छ भनी बुझ्नुपर्छ । त्यस्तै, जमिनमा बग्दै आएको पानी एक्कासि हराउँछ वा कतै अन्तबाट निस्किन्छ भने पनि जमिनभित्र केही समस्या छ भनी बुझ्नुपर्छ । यसले जमिन भित्रभित्रै खोक्रिँदै जाने र पछि जमिन दब्ने अनि पहिरोको रूप लिन सक्ने हुन्छ । यसका लागि पनि पानी बग्ने दिशा अनि जमिनभित्रको बनोटको विस्तृत अध्ययन गरेर मात्र समाधान निकाल्न सकिन्छ । तर पनि जहाँबाट पानी हराउँछ त्यो स्थानमा पानी छिर्न नदिईकन जमिन सिल गर्न सकियो भने तत्कालका लागि केही समाधान हुन सक्छ ।

कुनै स्थानमा धेरै खोल्सा समानान्तर रूपमा छन् र हिउँदको बेलासमेत उत्तिकै पानी बगिराख्छ भने पनि पहिरोका लागि बढी जोखिम हुन सक्छ । बस्ती भए ठाउँ पहिला ठूलठूला पहिरो गएका थिए भनी थाहा भए त्यस्ता स्थानमा फेरि पनि पहिरो जाने सम्भावना बढी हुन्छ । यस्ता कुराबारे बाआमा वा वृद्धवृद्धाहरूसँग जानकारी लिन सकिन्छ । त्यस्तै, बस्ती भएका पहाडको तल्लो भागमा खोला छ र खोला घुमेको छ भने त्यस्तो घुमेको ठाउँमा खोलाको कटान गर्ने क्षमता अत्यधिक हुने कारण तलबाट पहाडलाई काट्दै जाने अनि बस्ती रहेको माथिल्लो भाग असन्तुलित भएर पहिरोका रूपमा बग्न सक्ने सम्भावना बढी हुन्छ । यसको समाधानका लागि वर्षा सुरु हुनुभन्दा पहिला नै कटान गर्ने ठाउँमा बचाउका काम गर्नुपर्ने भए पनि खोलाको छेउछाउमा उपलब्ध ठूलासाना ढुंगाका बोल्डरहरूलाई कटान गर्ने स्थानमा थुपारेर पनि पहाडलाई खोलाले तलबाट काट्ने क्रमलाई घटाउन सकिन्छ ।

बस्ती भएको स्थान र विशेषतः बस्तीभन्दा माथिबाट वर्षाको समयमा जथाभावी अनियन्त्रित तरिकाले भल बग्छ भने त्यसका लागि पानीलाई एकीकृत गरी कुलो कटाएर पानीको व्यवस्थापन गर्नु अति जरुरी हुन्छ । यसो गर्दा पानी जमिनमुनि नछिरोस् भन्नका लागि कुलोको तल्लो सतहमा पातलो सिमेन्टको कोट दिनु उपयोगी हुन सक्छ । बस्तीनजिकैबाट खनिएका सडकहरूमा पानीको निकासका लागि कुलोको उचित व्यवस्थापन गरिएको छैन भने पनि यसले पहिरोको रूप लिन सक्छ । यस्तो अवस्थामा सडकको पानीको निकासका लागि कुलोको बन्दोबस्त गरिहाल्नुपर्छ ।

पहिरोको यस्ता पूर्वसंकेत र जोखिमका कुरा थाहा पाई समुदाय र स्थानीय सरकारले मिलेर गर्न सक्ने साधारण समाधानका उपाय अवलम्बन गर्न सक्ने हो भने मात्र पनि धेरै क्षति घटाउन सकिन्छ ।

-त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ढकाल इन्जिनियरिङ भूगर्भविद् हुन् ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण ८, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?