कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीवित भएको प्रमाणपत्र

‘डाक्टरले मृत्यु भएको प्रमाणित गरिसकेपछि हामीले केका आधारमा तपाईंलाई जीवित मान्ने ?’
शरच्चन्द्र वस्ती

पशुपतिको दर्शन गरेर फर्कन लाग्दा हठात् श्यामलाल सामु आएर कसैले भन्यो, ‘तपाईं जिउँदै हुनुहुन्छ, दाइ ?’


अप्रत्याशित प्रश्नले श्यामलाल जिल्ल परे । त्यो मान्छे उनलाई देखेर स्तब्ध भएको थियो । आँखा आश्चर्यले फैलिएका, मुख विस्मयले विस्फारित भएको, हत्केला आकाशतिर फर्किएका, शरीरको माथ्लो भाग अलिकति पछाडि ढल्किएको । भन्छन् नि, भौचक्का !

‘मलाई के भएको छ र ?’, श्यामलालले प्रतिप्रश्न गरे, ‘तर तपाईं को ? मैले त चिनिनँ नि ?’

‘म लेखनदास क्या, चारखालको । पोहोर तपाईंको जग्गा मैले नै पास गराइदिएको होइन ? कस्तो नचिन्नुभएको ?’

‘ए, हो त नि । नमस्कार है भाइ,’ श्यामलालले हात जोडे, ‘बुढेसकाल लागेपछि सुद्धी नै हराउँदो रहेछ ।’

‘सुद्धी होइन, तपाईंको जग्गा चैं हराउला जस्तो छ । तपाईंका भाइले तपाईं मरिसक्नुभो, त्यसैले त्यो जग्गा नामसारी गरिपाऊँ भनेर हिजो मात्र निवेदन हाल्या छन्,’ लेखनदास हाँस्यो, ‘म त तपाईं साँच्चै मरिसक्नुभएछ भन्ठान्या । यहाँ ठमठमी हिंडिराख्या देख्ता त झन्डै ढल्या नि !’

श्यामलाल छाँगाबाट खसे । ‘हे भगवान्, के हुन लाग्या यस्तो !’ खुइय्य गर्दै उनले थाप्लामा हात लगाए ।

‘तपाईंको औंला चैं के भो नि दाइ ?’, उनको दाहिने हातमा बूढीऔंलो नदेखेर लेखनदास फेरि छक्क पर्‍यो ।

‘काटेर फ्याँक्नुपर्‍यो भाइ,’ संक्षिप्त उत्तर दिएर श्यामलाल पिरोलिन थाले, ‘अब के गर्ने होला ? जग्गा गयो भने त मेरो सर्वस्वै जान्छ । जिन्दगीभरिको कमाइ...’

‘चिन्ता नगर्नोस् दाइ, म छँदैछु नि,’ खग्गू लेखनदासले ढाडस दियो, ‘आज शनिवार भैगो । भोलि बिहान मकहाँ आउनोस् । म मिलाइहाल्छु नि । तपाईं जिउँदो छँदाछँदै तपाईंको जग्गा अर्कालाई कसरी हडप्न दिउँला ?’

लेखनदास मुस्कुराउँदै पशुपतितिर लाग्यो, श्यामलाल चिन्ताले डोरिंदै डेरातिर ।

सिन्धुपाल्चोकको विकट गाउँमा ६२ वर्ष अघि जन्मेका श्यामलाल २० वर्षको उमेरमा मुगलान भासिएका थिए । अनेक हन्डर खाँदै ४० वर्ष उता बिताएपछि पोहोरसाल स्वदेश फर्केर काठमाडौंमा चार आना जग्गा किनेका थिए । बुढेसकाल आफ्नै देशमा बिताउने उनको धोको थियो । कम्पनीको रहलपहल हिसाब टुंग्याऊँ भनेर जग्गा किने लगत्तै उता लागेका, कोरोनाको लकडाउनले उतै अड्किए । यसैबीच एउटा दुर्घटनामा परेर हातको औंलो गुमाउनुपर्‍यो । बल्लतल्ल काठमाडौं फर्केका थिए, जग्गा पास गर्दा साक्षी बसेको भाइले नै जग्गा हडप्न लागेको थाहा पाएर मर्माहत भए । भोक, प्यास सबै हरायो । ‘जिन्दगीभरि त्यो असत्तीको मुख हेर्दिनँ,’ मनमनै अठोट गरे, र बारम्बार पशुपतिनाथलाई धन्यवाद दिइरहे, ‘धन्न प्रभु, वेलैमा लेखनदाससँग भेट गराइदिनुभो । नत्र मैले थाहै नपाई जग्गा गुमिसक्ने रहेछ !’

भोलिपल्ट १० बज्दा नबज्दै श्यामलाल चारखाल पुगे र लेखनदासलाई भेटे । उसले मालपोतको सुब्बासँग भेट गरायो । सुब्बाले फाइल खोलेर देखाइदियो : जग्गा नामसारीका लागि भाइले दिएको निवेदनमा ‘श्यामलालको मृत्यु भएको’ डाक्टरी–पत्र पनि नत्थी गरिएको रहेछ, एउटा प्राइभेट अस्पतालले बनाइदिएको ।

फाइल लिएर हाकिमकहाँ पुग्दा उसले भन्यो, ‘डाक्टरले मृत्यु भएको प्रमाणित गरिसकेपछि हाम्रो केही लाग्दैन । हामीले केका आधारमा तपाईंलाई जीवित मान्ने ?’

‘म तपाईंका सामुन्ने खडा छु, सर । म जीवित रहेको प्रमाण यही होइन र ?’ श्यामलालको स्वर भारी थियो ।

‘तपाईंले बोलेर हुँदैन । कागजले बोल्नुपर्छ,’ हाकिमले भन्यो, ‘तपाईंले आफू जीवित भएको लिखित प्रमाण ल्याउनुपर्छ ।’

‘कहाँबाट ल्याउने त्यस्तो प्रमाण–पत्र ?’

‘मानिस जिउँदै भएको प्रमाणित गर्ने एउटा अफिस छ । त्यहीं जानोस् र आफू जीवित रहेको पत्र लिएर आउनोस् ।’

‘त्यस्तो पनि अफिस हुन्छ र ?’ श्यामलाललाई उदेक लाग्यो ।

‘अफिसै हो । म चिठी लेखिदिउँला,’ हाकिमले कुरा टुंग्यायो ।

श्यामलाल चिठी लिएर दगुरे । अफिस महानगरपालिका कार्यालयमा रहेछ । त्यहाँको हाकिमले भन्यो, ‘यसका लागि वडामा सर्जमीन गराउनुपर्छ । म चिठी लेखिदिन्छु ।’

उसको चिठी बोकेर श्यामलाल आफ्नो वडा कार्यालय पुगे । वडाध्यक्षले निर्धारित शुल्क बुझाउन लगायो र सर्जमीनको चाँजोपाँजो मिलायो । ६० हजार जनसंख्या भएको वडामा सर्जमीनका लागि २० जना जति भेला भए । तीमध्ये कसैसँग श्यामलालको परिचय थिएन । श्यामलाललाई चिन्छु भन्ने पनि कोही भएन । अधिकांशले भने, ‘कहिलेकाहीं यताहुँदि देखेको त हो, तर को हुन्, के नाम हो, कहाँ बस्छन् थाहा छैन ।’ बाँकीले उनलाई कहिल्यै नदेखेको बताए । वडाध्यक्षले सोही बमोजिम पत्र तयार गर्‍यो ।

‘आफ्नै वडामा तपाईंलाई कसैले नचिनेपछि मैले के आधारमा तपाईं जीवित भएको प्रमाणित गर्ने ?’ वडाको पत्र पढेर हाकिम टकटकिन खोज्यो । श्यामलालले धेरै नेहोरा गरेपछि उसले हाल नगरपालिकामा परिणत भएको उनको गाउँलाई चिठी लेखिदियो । श्यामलाल चिठी झोलामा हालेर गाउँ पुगे । तर, त्यहाँ पनि उनलाई चिन्ने कोही भेटिएनन् ।

भेटिउन् पनि कसरी ? ४२ वर्ष अघि गाउँ छोडेर हिंडेपछि श्यामलाल एकचोटि पनि त्यहाँ पुगेका थिएनन् । उनको घर पाताल भैसकेको थियो । परिवारको कोही गाउँमा थिएन । बूढाखाडा मरिसकेका थिए । आफन्त र समवयस्कहरू गाउँ छोडेर शहरतिर लागेछन् । युवाहरू विदेशतिर । एउटी बूढी आमै भेटिइन्, जसले आँखा देख्न छोडिसकेकी थिइन् । सर्जमीनमा केहीले श्यामलालको नाम त सुनेको बताए, तर उनलाई उनी नै हुन् भनिदिने कोही भएन । जिन्दगीमा कहिल्यै नदेखेको बूढो मान्छेलाई कसैले कसरी चिनोस् ?

गाउँबाट पनि निराश भएर फर्केपछि श्यामलालले हाकिमसँग दुःखपुकारा गरे, ‘कुनै न कुनै उपाय निकालेर म जीवित भएको प्रमाणित गरिदिनोस्, सर । नत्र म बर्बाद हुन्छु ।’

श्यामलालको कथा सुनेर हाकिमलाई उनीप्रति सहानुभूति जागेको थियो । उसले भन्यो, ‘मैले सर्जमीनका आधारमा प्रमाणित गर्ने हो । तर त्यो आधारै बनेन । तपाईंका लागि जोखिम मोल्न पनि तयार छु । तर केही न केही आधार त अवश्य चाहिन्छ ।’

अर्को दिन उसले ल्याप्चे विशेषज्ञलाई बोलायो र श्यामलालको नागरिकता प्रमाणपत्र देखायो । विशेषज्ञले ‘म्याग्निफाइङ ग्लास’ लगाएर त्यसमा भएका दुवै ल्याप्चेको सूक्ष्म निरीक्षण गर्‍यो र निष्कर्ष सुनायो, ‘यसमा दाहिने औंठाको छाप स्पष्ट छ, तर अहिले उहाँको त्यो औंठै छैन । यो ल्याप्चे उहाँको औंठाको हो भनेर कसरी भन्ने ? उहाँको देब्रे औंठा छ, तर यसमा त्यसको छाप ल्याप्प एक ढिक्का छ, रेखा छुट्याउनै सकिंदैन । यो ल्याप्चे पनि उहाँको हो भनेर कसरी भन्ने ?’

विशेषज्ञलाई बिदा गरेर हाकिमले श्यामलाललाई भन्यो, ‘अब एउटै उपाय छ । तपाईं आफ्नो डाक्टरबाट औंला काटिएको प्रमाणपत्र लिएर आउनोस् । त्यसका आधारमा सिडियोले नागरिकता प्रमाणपत्र सच्याइदिन्छ । बूढीऔंलाको सट्टा चोरऔंलाको ल्याप्चे प्रमाणित गरिदिन्छ र तपाईंको फोटो पनि नयाँ राखिदिन्छ । त्यो भएपछि म तपाईं जिउँदो रहेको प्रमाणित गरिदिन्छु ।’

श्यामलाल आँखा चिम्लेर भारततिर कुदे । लकडाउनका कारण यात्रा सहज भएन, तर डाक्टरले बूढीऔंला काटिएको पत्र सहजै तयार गरिदियो । एक हप्ताभित्रै उनी विजयी मुद्रामा हाकिमसामु उपस्थित भइसकेका थिए ।

हाकिमले खाम खोलेर पत्र हेर्‍यो र देब्रे हातले पुर्पुरो समात्यो, ‘के लिएर आउनुभएको यो ? तपाईंको दाहिने हातको बूढीऔंला काटिएको होइन ? यसमा त देब्रे हातको बूढीऔंला पो काटेर फ्याँकेको भन्ने लेखेको छ त !’

श्यामलाललाई रिंगटा लाग्यो र जीउ लल्याकलुलुक भयो । स्वाँ–स्वाँ गर्दै उनले एक जग पानी एकै सासमा रित्याए ।

हताश भएर लेखनदासकहाँ पुग्दा उसले भन्यो, ‘हत्तेरी दाइ, कत्रो हन्डर खानुभएछ ! त्यत्ति जाबो कामका लागि किन भारत गइराख्नुपर्थ्यो ? म यहीं व्यवस्था गरिदिहाल्थें नि !’

नभन्दै उसले भोलिपल्टै ‘श्यामलालको दाहिने हातको बूढीऔंला काटेर फ्याँकेको’ डाक्टरी–पत्र ल्याइदियो र श्यामलालसँगै लागेर तीन दिनमा नागरिकताको नयाँ प्रतिलिपि निकालिदियो । त्यसका आधारमा महानगरपालिकाको हाकिमले उसै दिन श्यामलाल जीवित भएको प्रमाण–पत्र बनाइदियो । अर्को दिन मालपोतको हाकिमले उनको भाइको निवेदन खारेज मात्र गरेन, जालसाजी बापत उसलाई प्रहरीको जिम्मा पनि लगाइदियो ।

तमाम झमेला, तनाव र निराशा बाहेक यस काण्डमा श्यामलालको एक लाख भन्दा बढी खर्च भएको थियो । सोझै होइन, लेखनदास मार्फत । कुन वेला कसलाई कति दियो, उसैलाई थाहा थियो । ऊ खुशी देखिन्थ्यो । श्यामलाल झन् खुशी थिए । किनभने, आफू जिउँदै भएको प्रमाणित गर्न सफल भएका थिए । प्रकाशित : श्रावण ३, २०७७ ०९:४६

प्रतिक्रिया
पठाउनुहोस्

पर्वतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

‘उच्च रक्तचापका बिरामी उनको केही दिनअघि औषधि सकिएको थियो’
अगन्धर तिवारी

पर्वत — पर्वतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका एक ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पैयुँ गाउँपालिका–६ का ती पुरुषको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पुऱ्याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सको निर्णयअनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिंदै थियो ।

उच्च रक्तचापको नियमित औषधि सेवन गर्दै आएका उनको केही समयदेखि औषधि सकिएको थियो । ‘उता खाएको औषधि यहाँ आएपछि केही समय रोकिएको रहेछ,’ डा. गौतमले भने, ‘बीचमा सास फेर्न गाह्रो भयो भनेपछि मैले नै सल्लाह दिएर गण्डकी अस्पताल पठाएको हो । राति निधन भएछ ।’

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको डा. गौतमले बताए । ‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौं,’ गौतमले भने, ‘मैले हाम्रो क्षेत्रीय निर्देशकज्यूलाई पनि भनेको छु ।’

प्रकाशित : श्रावण ३, २०७७ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×