१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोना संक्रमित पत्ता लगाउन 'डाइरेक्ट पीसीआर'

डा. विजयकुमार ढकाल

काठमाडौँ — विश्वभरी माहामारीको रुपमा फैलिएको कोभिड- १९ रोगबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यदी समयमा  नै रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन नगरेमा ढिला गरेर नेपाल भित्रिएको यस माहामारीले देशको अर्थव्यवस्था र जनस्वास्थमा ठुलै क्षति पुर्‍याउने निश्चित छ । 

कोरोना संक्रमित पत्ता लगाउन 'डाइरेक्ट पीसीआर'

रोग फैलिन नदिने धेरै उपायहरु मध्येमा कोभिड- १९ को संक्रमण भए/नभएको पत्ता लगाई संक्रमित व्यक्तिलाई क्वारेन्टाइन (आइसोलेसन) मा राख्नु नै हालको सर्वमान्य र प्रभावकारी विधि हो ।

कोभिड- १९ को लक्षण अन्य सामान्य श्वासप्रश्वास रोगको भन्दा खासै फरक नभएकाले प्रयोगशालामा परीक्षण नगरी कोभिड- १९ रोग लागेको पुस्टि हुँदैन । प्रयोगशालामा संक्रमण पत्ता लगाउने धेरै तरीकाहरु मध्येमा पीसीआर श्रेष्ठ प्रविधि हो । नेपालमा पनि विगत केहि महिनादेखि पीसीआर विधिबाट शंकास्पद नमुनाहरुको परीक्षण भैरहेका छन् । संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएकोले पीसीआर परीक्षणको माग पनि बढ्दै गएको छ । नेपालमा अहिले भएका पीसीआर परीक्षण विधिहरुले माग अनुसारको संख्यामा पीसीआर परीक्षण गर्न सकेका छैनन् । यसका अतिरिक्त पीसीआरलाई चाहिने विभिन्न सामाग्रीहरु (जस्तै भिटिएम, स्वाब, एक्स्ट्राक्सन् रिएजेन्ट, प्लास्टिक कन्सुमेबल इत्यादि) को सुलभ तथा सुपथ आपूर्तिमा अनेक बाधाहरु थपिएका छन् । किनभने यिनै सामग्रीहरु सारा विश्वलाई चाहिएको छ । यसर्थ पीसीआर परीक्षण क्षमता बढाउन नँया प्रविधिको अवलम्बन गर्नुको विकल्प छैन । परीक्षण क्षमता बढाउन धेरै देशमा प्रयोग भएको यस्तै एउटा सफल प्रविधि हो - डाइरेक्ट पीसीआर।

नेपालमा हाल प्रचलनमा रहेको आरटी-पीसीआर परीक्षण विधिमा स्वाबले बिरामीको घाँटीबाट नमुना संकलन गरिन्छ र त्यो स्वाबलाई भिटिएममा राखि प्रयोगशालामा पठाइन्छ। प्रयोगशालामा पहिला नमुनामा भएका भाइरसहरुका आनुवंशिक तत्व (आरएनए) एक्स्ट्राक्सन् गरेर निकालिन्छ। यसरी निकालिएको आरएनएको आरटी-पीसीआर गरेर नमुनामा कोरोना भाइरस भए/नभएको पत्ता लगाइन्छ। कोरोना भाइरस भेटिएको खण्डमा बिरामीमा कोभिड- १९ रोग भएको पुष्टि हुन्छ।

आरटी-पीसीआर परीक्षणमा प्रयोग भएका अधिकांस किटहरु विदेशी सरकार तथा दाता संस्थाहरुबाट सहयोगको रुपमा नेपाललाई प्राप्त भएका छन्। भिटिएम र एक्स्ट्राक्सन् रिएजेन्ट साधारणतय नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्रालय मातहतका निकायहरुले खरिद तथा आयात गर्ने गरेको देखिन्छ । कहिले स्वाब, कहिले भिटिएम त कहिले एक्स्ट्राक्सन् रिएजेन्टको अभावमा आरटी-पीसीआर परीक्षण पटक पटक बन्द भएका समाचारहरु बेला बेलामा देशका विभिन्न भागबाट सम्प्रेषित भैरहेका छन्। केहि दिन यता समुदायमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको अनुमान नेपाली विज्ञहरुले गरेका छन्। संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको अवस्थामा परीक्षणको निरन्तरता रोकिएमा अथवा माग बमोजिमको संख्यामा परीक्षण गर्न नसकेको खण्डमा संक्रमण अझ द्रुत गतिमा फैलिने सम्भावना अत्याधिक हुन्छ। तसर्थ परीक्षण सामाग्रीहरुको अभावबाट मुक्ति पाउन होस अथवा परीक्षण क्षमतामा बृद्धि गर्ने उद्देश्य होस्, समाधानको उपाय भनेको भिटिएम र एक्स्ट्राक्सन् रिएजेन्ट प्रयोग नगरी ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर प्रविधि अपनाउनु नै हो।

वास्तवमा ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर गर्ने कुनै नयाँ प्रविधि भने हैन। वैज्ञानिकहरुले अनुसन्धान पश्चात प्रकाशित गरेका लेख तथा सोधपत्रहरुमा यो प्रविधिको उपयोगिता र हाल प्रचलनमा भएका प्रविधिसँगको समानता स्पष्टसँग किटान गरिएको छ । यहि प्रविधि अपनाई कोभिड- १९ को पीसीआर परीक्षण गर्न मिल्ने कम्तिमा दुई वटा किटलाई अमेरीकी खाद्यान्न तथा औषधि अनुगमन प्रशासन (एफडीए) ले अनुमति प्रदान गरेको छ। क्यानाडा तथा अमेरिकाका सरकारी र निजी प्रयोगशालाहरुमा पनि डाइरेक्ट पीसीआर प्रविधि सामान्य रुपमा प्रयोग भैराखेको छ । यी सम्पन्न देशहरुले डाइरेक्ट पीसीआर विधि अपनाउनुको विभिन्न कारणहरु मध्ये परीक्षण खर्च कम लाग्ने र बेला बेलामा आइपर्ने भिटिएम र एक्स्ट्राक्सन् रिएजेन्ट को अभाव प्रमुख हो ।

ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर गर्ने प्रविधि के हो र कसरी प्रयोगशालाहरुमा गरिन्छ ?

तल चित्रण गरे जस्तै नमुना संकलक स्वास्थ्यकर्मीले स्वाबलाई बिरामीको नाकको पछिल्लो भित्रि भागसम्म पसाएर नेजोफेरेञ्जेल नमुना संकलन गर्दछन् । त्यसपछि स्वाबलाई उपयुक्त ट्युबमा सुरक्षित गरी परीक्षणको लागि प्रयोगशाला पठाइन्छ। नमुना स्वाबलाई प्रयोगशाला पठाउँदा २४ घण्टासम्म कोल्ड चेनको आवश्यकता नपर्नु यस विधिको सकारात्मक पक्ष हो । केवल २५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रम कायम राखे पुग्छ।

प्रयोगशालामा ल्याइएको ट्युबमा न्युक्लिएज फ्री पानी अथवा किट सुहाउँदो बफर हालेर स्वाबमा भएको भाइरसलाई पानी/बफर मा घोलिन्छ। यसरी प्रशोधित नमुनामा रहेको भाइरसलाई निस्क्रिय बनाउन ७५ डिग्री सेन्टिग्रेड तापक्रममा २० मिनेटसम्म तताइन्छ। त्यसपछि किटको निर्देशन बमोजिम आरटी-पीसीआर गरी नमुनामा कोरोना भाइरसको आरएनए रहे/नरहेको पत्ता लगाएर पीसीआर परिणाम रिपोर्ट गरिन्छ।

यो विधिको लागि विशेष नयाँ आरटी-पीसीआर किट चाहिँदैन । अहिले प्रचलनमा रहेका विश्वसनीय किट प्रयोग गर्न मिल्छ।

ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर गर्ने प्रविधिको फाईदा के हो?

१. भिटिएम नचाहिने

नेपालमा थरि थरिका भिटिएमहरु भित्रिएका छन्। बजारमा पाइने सबै भिटिएमहरु प्रचलित आरटी-पीसीआर किटसँग प्रयोग गर्न अनुकूल नभएको पाइएको छ। यस्तै एउटा उदाहरण हो केहि दिन अघि नेपाली सेनाले किनेको किटहरु। फेरी भिटिएमको अभावमा नमुना संकलन हुन नसकेर आरटी-पीसीआर परीक्षण बन्द भएका प्रशस्तै उदाहरणहरु पनि छन्।

२. एक्स्ट्राक्सन् रिएजेन्ट नचाहिने

भिटिएम जस्तै एक्स्ट्राक्सन् रिएजेन्टको अभावमा पनि आरटी-पीसीआर परीक्षण बन्द भएका त्यतिकै उदाहरणहरु छन्। एक्स्ट्राक्सन् रिएजेन्ट नेपालमा उत्पादन नहुने हुनाले यसको अभावले ठुलै असर गर्ने गरेको छ।

भिटिएम र एक्स्ट्राक्सन् रिएजेन्ट दुवै नेपालको कोरोना भाइरस परीक्षण विधिबाट हटाइयो भने बेला बेलामा अवरुद्ध भैरहने पीसीआर परीक्षणमा निरन्तरता आउने पक्का छ।

३. राष्ट्रिय सम्पत्तिको वचत

भिटिएम र एक्स्ट्राक्सन् रिएजेन्ट दुवै विदेशबाट आयात गरिन्छ, जसले गर्दा करोडौँ रुपैयाँ विदेशिइ रहेको छ । हाल प्रति गोटा भिटिएमको औसतमा ४०० रुपैयाँ र एक्स्ट्राक्सन् रिएजेन्टको औसतमा ७५० रुपैयाँ पर्दछ । यी दुवै सामग्री परीक्षण विधिमा प्रयोग नगर्दा परीक्षण खर्च घटेर हालको भन्दा कम्तिमा पनि आधा हुन जान्छ । ड्राई स्वाब संकलन गरेर डाइरेक्ट पीसीआर गर्ने प्रविधि अपनाउँदा देशको ठुलै रकम वचत हुने प्रष्ट छ ।

४. प्रयोगशालाका कर्मचारीको परीक्षण क्षमता वृद्धि हुने

प्रयोगशालामा नमुनाबाट भाइरसको आनुवंशिक तत्व (आरएनए) स्वचालित उपकरणले (अटोमेटेड) अथवा टेक्नोलोजिस्टले (म्यानुयल) एक्स्ट्राक्सन् गर्दछन् । नेपालमा हाल अटोमेटेड एक्स्ट्राक्सन् उपकरण नभएकोले म्यानुयल एक्स्ट्राक्सन् नै गर्नुपर्ने बाध्यता छ। म्यानुयल एक्स्ट्राक्सन् गर्न धेरै समय लाग्ने हुनाले यो प्रक्रिया परीक्षण क्षमता वृद्धिको प्रमुख बाधक हो।

एकदिनमा एकजना टेक्नोलोजिस्टले एक सिफ्टमा मुस्किलले ५० वटा नमुनाको एक्स्ट्राक्सन् गरेर आरटी-पीसीआर गर्न सक्छन् । यदि एक्स्ट्राक्सन् गर्न परेन भने त्यहि एकजना टेक्नोलोजिस्टले एक सिफ्टमा लगभग ४०० वटा नमुनाको परीक्षण पुरा गर्न सक्दछन् ।

५ . प्रयोगशालामा परीक्षण समय छोटो हुनाले रिपोर्ट चाँडै तयार हुने

म्यानुयल एक्स्ट्राक्सन् गर्न नपरे पछि स्वत: प्रयोगशालाको परीक्षण क्षमता वृद्धि हुन्छ, जसले गर्दा बढीभन्दा बढी नमुना परीक्षण भई रिपोर्ट चाँडै तयार हुने वातावरण सृजना हुन्छ । समुदायमा संक्रमण फैलिएको प्रवल आशंका भईरहेको बेला परीक्षण क्षमता वृद्धि गर्नसक्नु संक्रमण रोकथामको लागि महत्वपूर्ण कदम हुन्छ ।

मोलेकुलर (पीसीआर) परीक्षण बढाउने अरु नयाँ प्रविधि छन्?

१. अटोमेटेड एक्स्ट्राक्सन्

नमुनाबाट भाइरसको आनुवंशिक तत्व (आरएनए) स्वचालित उपकरणको सहयोगले (अटोमेटेड) एक्स्ट्राक्सन् गर्दा परीक्षणको क्षमता बृद्धि गर्न सकिन्छ। अटोमेटेड एक्स्ट्राक्सन् प्लेटफर्मको साइज र ब्रान्ड अनुसार आउटपुट क्षमता फरक हुन्छ, तर साधारणतय एक पटकमा ९६ वटा नमुनाको एक्स्ट्राक्सन् गर्न सकिन्छ । डाइरेक्ट पीसीआर जस्तै एक जना टेक्नोलोजिष्टले एक शिफ्टमा लगभग ४०० वटा नमुनाको परीक्षण पुरा गर्न सक्दछन् ।

२. अटोमेटेड स्याम्पल-टू-एन्सर प्लेटफर्म

प्रयोगशालामा परीक्षणको संख्या बृद्धि गर्ने सबै भन्दा उत्तम उपकरण अटोमेटेड स्याम्पल-टु-एन्सर प्लेटफर्महरु हुन्। यस्ता उपकरणहरु संचालन गर्न सजिलो हुन्छन् र थोरै मात्रै जनशक्तिले पनि धेरै संख्यामा नमुनाहरु परीक्षण गर्न सक्छन्। साधारणतय यस्ता उपकरणमा टेक्नोलोजिस्टले नमुना र चाहिने रिएजेन्ट लोड गरे मात्र पुग्छ। बजारमा उपलब्ध यस्ता प्लेटफर्महरुले २४ घन्टामा ५०० देखि हजारौं नमुनाहरु परीक्षण गर्न सक्छन्।

यी दुवै थरिका उपकरणहरुको माग संसारभरी नै अत्याधिक छ, अत: उपकरण र यिनिहरुलाई चाहिने रिएजेन्ट दुवैको अभाव छ। उपकरण भएका प्रयोगशालालाई पनि उत्पादक कम्पनिले पर्याप्त रिएजेन्ट उपलब्ध गराउन नसकेको अवस्था छ। त्यस माथि यी उपकरणहरु धेरै नै महंगा पनि छन्।

तसर्थ तथ्यहरुलाई नियालेर हेर्दा नेपालको हालको स्थितिमा ड्राई स्वाब नमुना संकलन गरेर डाइरेक्ट पीसीआर गर्नुको विकल्प नरहेको देखिन्छ।

डा. ढकाल अमेरिका, टेक्ससस्थित सोनीक रेफरेन्स ल्याबको मलेकुलर विभागका निर्देशक हुन् ।

प्रकाशित : असार ३१, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?