बेग्लै महाभारत
जूवामा सर्वस्व हारेर पाण्डवहरू वनवास गएपछि सुयोधनको चुरिफुरी बढ्दै गयो । उद्दण्ड त ऊ पहिलेदेखि नै थियो, अब उसको उद्दण्डताले आकाश छुन लाग्यो । बोलीमा, व्यवहारमा र राजकीय कार्यव्यापारमा हुनुपर्ने मर्यादालाई उसले पाण्डवसँगै वनवास पठाइदिएको थियो र अहंकारलाई आफ्नो सिंहासन बनाएको थियो ।
हुन त ऊ युवराज मात्र थियो र राजसिंहासनमा धृतराष्ट्र आसीन थिए । तर दृष्टिविहीन राष्ट्रप्रमुख उसैका आँखाले हेर्थे, उसैका कानले सुन्थे र उसैको बोली बोल्थे । उसैको निर्णय अनुसार परिचालित हुन्थे । भव्य नवीन दरबार, सुन्दरी दासीहरू, दुर्लभ मदिरा, रत्नजडित रेशमी परिधान र बहुमूल्य सोह्रघोडे रथ लगायत विलासिताका सामग्रीले उनलाई रद्द पारेर ऊ सर्वशक्तिसम्पन्न कार्यकारी महाराज बन्न पुगेको थियो । उसमाथि कसैको अंकुश थिएन ।
नाम सुयोधन भए पनि ऊ आफूलाई दुर्योधन भन्न रुचाउँथ्यो । गदा उसको प्रिय शस्त्र थियो । आफ्ना विरोधीलाई गदा प्रहारबाट जमीनमा धसाउनु उसको प्रिय व्यसन । मत बझाउने धेरैलाई उसले यसैगरी तह लगाइसकेको थियो । गदा सञ्चालनमा जस्तै वीणा वादनमा पनि ऊ प्रवीण थियो । समय र परिस्थिति अनुरूप नयाँ राग निकालेर दुनियाँलाई लठ्ठ पार्न उस्ताद । उसले छेडेको रागले प्रजाजन सम्मोहित हुन्थे र जयजयकार गर्दै उसको पछि लाग्थे । तिनका दु:खकष्ट र भोकप्यासको रापलाई उसले यस्तै रागद्वारा निस्तेज पार्ने गरेको थियो ।
एक दिन अकस्मात् देशमा महामारी आइलाग्यो । त्यसको न कुनै औषधि थियो, न उपचार । वैद्यहरू आफैं भयभीत थिए । त्यही समयमा अधिकतर जनपदमा अनिकाल शुरू भयो । रोग र भोकले आक्रान्त प्रजाजन राजदरवार वरिपरि जम्मा भएर त्राहित्राहि गर्न थाले । यसैबीच सुदूर सीमान्त प्रदेशमा प्रवेश गरेर शत्रुदेशले कतिपय ग्राम आफ्नो अधीनस्थ गरेको खबर आयो ।
खबर सुन्नासाथ सुयोधन वीणा उठाएर देशभक्ति–राग अलाप्न थाल्यो । खबर लिएर आएको सेनापतिले ‘आहा, कति मीठो राग !’ भनेर प्रशंसा गरेपछि
ऊ पुलकित भएर सेनापतिसँगै दरवारको कौसीमा उक्ल्यो र प्रजाजनलाई नयाँ राग सुनाउन थाल्यो । उनीहरू आफ्नो पीडा बिर्सेर उसको जयजयकार गर्न थाले । विदा हुन लाग्दा सेनापतिले अयाचित परामर्श टक्रयायो, ‘शत्रुको कान टालिएको छ । उसले महाराजको राग श्रवण गर्न सक्तैन । तीक्ष्ण वाणहरूले मात्र उसको कर्णविवर खोल्न सक्छन् । त्यसका लागि सैनिक अभियान जरूरी छ । प्रभुको जो विचार !’
त्यही अपराह्न सुयोधनले सर्वोच्च राजपरिषदका सदस्यहरूलाई मन्त्रणा कक्षमा आमन्त्रित गर्यो । परिषदमा ऊबाहेक चार सदस्य शकुनि, कर्ण, अश्वत्थामा र दु:शासन थिए, जो उसका सम्पूर्ण उचित–अनुचित कृत्यका उत्प्रेरक, सहयोगी र सहभागी रहँदै आएका थिए । सधैं झैं, आजको समस्या अपसारण गर्न पनि उनीहरूले साथ दिने कुरामा ऊ विश्वस्त थियो । तर वर्तमान ग्रहस्थिति उसका लागि किञ्चित् अनुकूल थिएन ।
‘सुदूर सीमान्त प्रदेशमा शत्रुलाई पाठ पढाउन सैनिक अभियान आवश्यक देखिएको छ,’ सुयोधनले मन्त्रणा आरम्भ गर्ने उपक्रम गर्यो, ‘त्यसनिम्ति, विभिन्न ठाउँमा छरिएर रहेका सैनिकलाई एकत्र गरी यथाशीघ्र प्रयाण गराउनुपर्ने भयो ।’
‘तपाईं हाम्रो मर्यादामा आघात पार्ने कुचक्र रच्तै हुनुहुन्छ युवराज,’ अश्वत्थामाले आपत्ति जनायो, ‘हामी चार जनाको सेवामा एक सहस्र सैनिक परिचालित छन् । तिनलाई सैनिक अभियानमा पठाएर हाम्रो अपमान गर्ने ?’
‘यो कदापि सहय हुँदैन युवराज,’ कर्णले सही थाप्यो ।
आफ्ना निकटतम मित्रहरूको आक्षेपले सुयोधन रन्थनियो । उसको आहत अहंकारले फूत्कार गर्यो, ‘मलाई युवराज होइन, महाराज भन । वास्तविक महाराज मै हुँ ।’
‘सत्य ढाकछोप गरेर लुक्तैन भान्जा,’ शकुनिले भन्यो, ‘हाम्रो मर्यादा घटाउने खेलमा लाग्नेलाई हामी कसरी महाराज स्वीकार्न सक्छौं ?’
‘मामाश्री ठीक भन्नुहुन्छ,’ दु:शासनले ओट थाप्यो ।
चारै जनाको एउटै स्वर सुनेर सुयोधनलाई खपिनसक्नु भयो । ऊ गर्जियो, ‘होइन, तपाईंहरूले के खोजेको ? दशकौंदेखि राज्यको उच्चतर सुखसुविधा उपभोग गर्दै आउनुभएको छ । सबैको गृहकोष स्वर्णमुद्राले भरिएको छ । दास–दासीको फौज छ, राजसी खाद्यवस्तु र मदिराको छेलोखेलो छ । सारथि सहितका अनेक रथ अहोरात्र प्रांगणमा उपस्थित छन् । आमोद–प्रमोद र विलासिताको सम्पूर्ण व्ययभार राजकीय कोषबाट वहन गरिएको छ । अरू के चाहियो ?’
‘तिम्रो कार्यशैली हाम्रा लागि सन्तुष्टिप्रद भएन भान्जा,’ शकुनिले तिखुल्ले स्वर निकाल्यो, ‘हामी महान् आत्मा हौं । हामी छायामा पर्दा जनता अपमानित हुन्छन् । देश दु:खी हुन्छ । राज्यव्यवस्था कमजोर हुन्छ । हामीले धेरै त्याग गर्यौं । देश र जनताका लागि अब तिमीले त्याग गर्नुपर्छ ।’
‘के त्याग गर्ने ?’
‘सिंहासन त्याग गर । यतिन्जेल तिमी बस्यौ । अब म यसको शोभा बढाउँछु ।’
‘दुई जनाले चोचोमोचो मिलाएर हुँदैन,’ घुटुक्क थूक निल्दै अश्वत्थामाले प्रतिवाद गर्यो, ‘पहिले सिंहासन खाली होस् । को बस्ने भन्ने कुरा त्यसपछि निर्णय हुन्छ ।’
शकुनि सशंकित भयो र मनमनै ङयार्र गर्यो, ‘तँलाई त म देखाउँछु नि, पख् न !’
सुयोधनको शरीर क्रोधले काम्न थालेको थियो । ऊ एक एक गरेर चारै जनालाई दपेट्न थाल्यो :
‘को बस्ने मेरो सिंहासनमा ? शकुनि मामा ? हाम्रो राज्य ध्वस्त पार्ने अभिप्रायले हामीकहाँ घुस्रिन आएको प्रतिशोध–अन्ध गान्धार राजकुमार होइन तपाईं ? पासा हान्नु नै सर्वोच्च योग्यता होइन तपाईंको ? आभिचारिक विधिद्वारा मानवीय अस्थिको पासा निर्माण गर्न १८ जना निर्दोषको हत्या गर्ने तपाईं नै होइन ? त्यसबापत दण्डित हुनबाट आजसम्म जोगिनुभएको छ, यही तपाईंको अहोभाग्य होइन ? आफ्नै राज्यबाट बेदखल हुनेले अर्काको सिंहासन ताक्न लाज लाग्दैन ?
‘कि अश्वत्थामा बस्ने मेरो सिंहासनमा ? सधैं लुब्ध, सधैं पदाकांक्षी र सधैं तर मार्दै आएका काइते होइनौ तिमी ? आजसम्म कतिवटा एकलव्यका औंला काटयौ र जालझेल गरेर राज्यको कति भूमि हडप गर्यौ, त्यसको हिसाबकिताप लिएर दण्डाधिकारी उपस्थित भयो भने के गर्छौ ? हामीले दिलाइदिएको अहिच्छत्र राज्य छँदाछँदै वर्तमान परिप्रेक्ष्यमा हाम्रै सिंहासन ताक्ने ?
‘कि सूतपुत्र कर्णले सपना देख्ने मेरो सिंहासनको ? रातिराति सुवर्ण–तस्करीको गुप्तमार्गमा विचरण गर्ने र बिहानबिहान सुनको नाउँमा पित्तल दान गरेर महादानी कहलाउन खोज्ने ढोंगी होइनौ तिमी ?
गरिखाऊ न त भनेर अंगदेशको रजौटा बनाएर पठाइदिएको, जनता रिझाउन नसकेर त्यहाँबाट पनि लखेटियौ होइन ? राजकुलभित्रै नपरेपछि कुन मुखले मेरो सिंहासनमा र्याल चुहाउँछौ ?
‘अनि तँ दु:शासन ? तँ झल्लु पनि मलाई आँखा चम्काउने ? एकचोटि राज्यकोषको जिम्मेदारी दिएको, त्यसैमा प्वाल पारेर भाग्ने तैं होइनस् ? सुदूरपूर्व कामरूप क्षेत्रमा पुगेर तेरो घाँटीमा खड्ग राखी कोष फिर्ता ल्याउनेहरू यही दरवारमा छन् भन्ने बिर्सिस् ? तैंले कुन आँट र कुन हैसियतले मेरो सिंहासन ताकिस् ?’
यही वेला दरवार बाहिर ठूलो कोलाहल सुनियो । रोग र भोकले पीडित प्रजाजनको चीत्कार रहेछ । ‘राजकीय मन्त्रणामा खलल पार्ने ?’ भन्दै सुरक्षाकर्मीले दण्डप्रहार गरेर तिनलाई एक योजन पर पुर्याए ।
घाइते भएर बीच बाटोमै लडेकाहरूले भने त्यहीं छटपटाइरहने सुविधा पाए ।
यता सुयोधन गदा उचालेर गर्जिंदैथियो, ‘मेरो राजदण्ड यही हो । अब यसैले निर्णय गर्छ । अनुचित दबाव कदापि क्षम्य हुन सक्तैन ।’
सुयोधनको दपेटाइले चार भाइ तीव्र आक्रोशित भए । अश्वत्थामाले भन्यो, ‘तिम्रो योजना हामीलाई कारागारमा हाल्ने हो भन्ने स्पष्ट भयो । हामी अहिल्यै धृतराष्ट्रकहाँ जान्छौं र तिम्रो पोल लगाउँछौं । अनि देखौला ।’
‘जाओ, खुशीसाथ जाओ । तिमीहरूलाई के भन्ने भनेर बूढालाई मैले बिहानै सिकाइसक्या छु । त्यही सुनेर फर्कनू,’ सुयोधन हाँस्न थाल्यो ।
यसैबीच शून्यमा ओमकारको ध्वनि गुञ्जियो र मन्त्रणा कक्षमा महर्षि वेदव्यासको प्रवेश भयो । सबैले उठेर अभिवादन गरे । ‘आयुष्मान् भव,’ एकमुस्ट आशीर्वाद दिंदै महर्षिले भने, ‘मैले योगबलद्वारा तिमीहरूको सम्पूर्ण विवाद श्रवण गरें । विग्रहले कसैको हित गर्दैन । तिमीहरू मेलमिलापतिर लाग ।’
‘अपमान सहेर कसले मेलमिलाप गर्छ ?’ शकुनि बटारियो ।
‘सिंहासनमा दागा धर्नेसित केको मेलमिलाप ?’ सुयोधनले गदा सुम्सुम्यायो ।
‘मैले लेखेको महाभारतमा तिमीहरूबीच द्वन्द्व छैन । त्यसको विपरीत नजाऊ,’ महर्षिले पुन: सम्झाउने प्रयास गरे ।
‘यो द्वापर होइन, कलियुग हो । तपाईंको महाभारत अब काम लाग्दैन,’ सुयोधन व्यंग्यमा ओर्लियो, ‘कलियुगको कथा फरक हुन्छ । अब तपाईं बेग्लै महाभारत लेख्नोस् ।’
‘अवश्य लेख्नेछु पुत्र ! अब तिमीहरूलाई नाश गर्न पाण्डव आउनुपर्नेछैन । महाभारतको युद्ध पनि हुनेछैन । आफैंबीचको महाभारत तिमीहरूको विनाशका लागि पर्याप्त हुनेछ,’ अल्प प्रश्वासका साथ वेदव्यासले भने र ओमकारको ध्वनिबीच त्यहाँबाट अलप भए ।
प्रकाशित : असार २७, २०७७ ११:४९