कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली राजनीति कस्तो पानीमा बग्छ ?

मेलम्ची आउने प्रतीक्षामा धेरै वर्ष बिते यो नगरका । विडम्बना, यो नबग्ने राजनीतिको पर्याय भएर बसेको छ । यसको नाटकीय शक्ति छ । ब्रिटिस नाटककार सेमुअल बेकेटको विसंगत नाटक ‘वेइटिङ फर गोडो’ मा नआउने गोडो पात्रजस्तै भएको छ यो पानी ।
अभि सुवेदी

एकाउन्न सालको आमचुनावको बेला थियो । एउटा सानो घटनाबाट आरम्भ गर्छु । कथा छोटो छ तर यसले समेटेको इतिहास र वर्तमान वाचाल छ । क्षेत्र नम्बर एकबाट चुनाव लड्न लागेका कृष्णप्रसाद भट्टराई उर्फ किसुनजी टुँडिखेल खुलामञ्चको एउटा ठूलो जनसभालाई सम्बोधन गर्दै थिए । मेलम्चीबाट पानी ल्याउँने विषय त्यही बेला राजनीतिमा आइसकेको थियो ।

किसुनजीले खुलामञ्चबाटै भने, ‘म छानिएर आएपछि मेलम्चीको पानी ल्याउँछु, अनि त्यो पानीले यो राजधानीका सडक पटकपटक धोइदिन्छु ।’ हजारौं मानिसको भीडमा म पनि थिएँ । मलाई त्यो बेलासम्म राजनेताहरूले भनेका कुरामा चाख लाग्थ्यो । तिनका सिद्धान्त हुन्छन् । ती इमानदार हुन्छन् । त्यसैले तिनले भनेका कुरा सुन्नुपर्छ भन्ने विश्वास भित्र कहीँ लाग्थ्यो । मलाई लाग्यो, यिनले केही राम्रो कुरा भने । तिनको मेलम्चीले नभए पनि तिनले त्यस दिन भनेको कुराले मलाई निथु्रक्क भिजायो । अहिलेसम्म पनि भिजाएको छ किनकि तिनले पानीको विश्वासले बोलेका थिए । उनले यसले जन्माउने समस्या, ऐठन र पथभ्रान्त राजनीतिक कर्महरू देखेका थिएनन् । यो मेलम्चीको पानीको मात्र कुरा होइन ।

यो इतिहास कस्तो बाटोबाट चल्दै छ भन्ने कुरासँग जोडिएको छ । मलाई विश्वास लाग्थ्यो, किनकि किसुनजीका समकालीन नेताहरूका कुरामा प्रतिज्ञा थिए । ती सिद्धान्त मान्थे । नेतालाई जनताको सेवक मान्थे । युगका सपना बोक्थे तिनीहरू । किसुनजीका समकालीनहरू बीपी कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंहले भनेका र लेखेका कुरामा मलाई समयको त्यही धुकधुकी छ भन्ने लाग्थ्यो । अहिले त्यस्तो केही छैन । आपैंmलाई सोध्छु किन यस्तो भयो ? कति छिट्टै मूल्य र इमान बद्लिए ? । सोच्छु, पुँजी र त्यसलाई पाउने कर्मले गर्दा नै नदी र जलधारहरूका नेपाल उपत्यका, बाहिर र यो भेकमा नै परिवर्तन भएका हुन् त ?

किसुनजीले त्यो दिन भनेको पानी अदृश्य थियो । त्यो कहीँ थिएन । चुनाव भए, परिवर्तनहरू भए । किसुनजीले पनि अनेकौं नियति भोगे । मनमोहनजी त्यही साल पहिलो कमिनिस्ट प्रधानमन्त्री भए । ९ महिनासम्म उनको सरकार रह्यो । इतिहास अगाडि बढ्दै गयो । मेलम्चीको पानी कतै आएन । त्यो एक सरकार, दलहरू र ठेकेदारहरूको कमाइ खाने भाँडो अनि देशका निम्ति घाँडो भएर बसिरह्यो । पुँजीवादको एक विकीर्ण अवतार भएर बस्यो । किसुनजीले पानीका धार आँखाअगाडि देखेकै थिए । मनमोहनजीले पनि देखेकै थिए किनभने तिनीहरू आचरण र सही कर्म अनि लोकतान्त्रिक वा समाजवादी सिद्धान्तमा विश्वास गर्थे । इमानदार राजनीतिक सिद्धान्त मानिसका जीवनबाट टाढा हुँदै जानु भनेको लोकतन्त्र वा समाजवाद कर्म नभएर सिद्धान्तका गफ मात्र बन्दै जानु हो ।

नेपाली इतिहासमा ठूलठूला तरंग आएका हुन् । जनताका अपार छालहरू उर्लेका हुन् । अहिलेको लोकतान्त्रिक गणतन्त्र त्यही बहावको परिणाम हो । तर, त्यो बहाव चलाइराख्न, त्यसलाई अघि लैजान जिम्मा लिनेहरू नबग्न अभिशप्त छन् । खै किन हो, अनुभवले देखाउँछ, राजनीति गर्नेहरू बग्न मान्दैनन् । टाढा किन जानु र १ यो लेख लेखेको बेलासम्म नेपाली राजनीति समयको पानीमा बग्न नसक्नुको एउटा चरम उत्कर्षमा पुगेको छ । सबै गतिहरू एकाध नबग्ने मोडहरूको खोजमा साँगुरिँदै गएका छन् । तर, ती पानीका धेरै कुरा गर्छन् । नेपालमा लाग्छ अब राज्य, राजनीति र सपनाहरू सहज गतिमा बग्दैनन् । अलिकता बगेजस्तो देखिन्छन् तर ती फेरि जम्छन् । ती गाँठो पर्छन् । यो विडम्बनामाथि लगभग हामीले ध्यान नदिएकै रहेछौं ।

साहित्यकार भएकाले सम्झिन्छु, कवितामा पानी बग्छ । कवि वासु शशीले धेरै अघि लेखे, ‘पानी हो त्यो बग्छ, वीणा हो त्यो बज्छ ।’ त्यसैगरी कवि केदारमान व्यथितले लेखे, ‘रोकिए जीवन प्रवाह अल्झिँदो जलमैल बन्छ, तर त्यही हर्दम बगिरहे प्रत्येक पदमा तीर्थ बन्छ ।’ कवि लेखनाथले त यसरी लेखिदिए, ‘ठाडै कैलाशदेखि द्रुततर गतिले गठ्गडाएर झर्दी । ...आमा भन्दै झरेका सकल नदी काखमा टप्प धर्दी ।’ पानीको एउटा सुन्दर गतिको चित्र आउँछ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘सुन्दरीजल’ को प्रवाह, ध्वनि अनि चित्र राखेर कविता लेखे । थाहा छ, नेपालमा पानी अनेकौं गतिमा बग्छ । नेपालको धन पानी हो । यो स्रोत शाश्वत छ । नेपाल यिनै प्रवाहले धनी हुन्छ । विडम्बना छ । ती प्रवाह अर्को मोडमा पुग्छन् । ती अनन्त दु:खका कारक हुन्छन् । ठूला–साना बाँध भएर भत्किएर, खोलिएर पानीले मधेसका गाउँहरू डुबाउँछ । राजनीति हुन्छ त्यसमा । नेपालको पानीको प्रवाहको अन्तिम दु:ख झेल्ने मधेसका जनता हुन् । नेपालमा विद्युत् योजना, बाँध अनि टनेल शक्ति समूहका धन जोड्ने स्रोत बनिन्छन् ।

कोसी बाँध नेपालले भारतसँग सम्झौता गरेअनुसार सन् १९५८ देखि १९६२ मा बनिएको थियो । पन्जाबका भाख्रा र नङ्गल बाँधको सन् १९५४मा उद्घाटन गर्दा स्वतन्त्रतापछिको जोसमा नेहरूले ठूला बाँधहरूलाई मन्दिर भने । यो भूललाई रामचन्द्र गुहाको भनाइअनुसार, नेहरूले सन् १९५८ मा नै थाहा पाइसकेका थिए । तर, कोसी बाँधको पीडा मधेसका विस्थापित जनताले अहिलेसम्म भोगिरहेका छन् । तिनका कथा न नेपाल सरकार सुन्छ, न भारत सुन्छ । पानीका अराजक धारसँग पनि राजनीति र उत्तरऔपनिवेशिक राजनीतिक कल्पना जोडिएको हुन्छ । कोसी र गण्डक बाँध, जलविद्युत् परियोजनाहरू, अनि पछिल्लो भयानक तन, मन र धन खिचिबसेको मेलम्ची जल परियोजनाका कथाले के भन्छन् ? मेलम्ची आउने प्रतीक्षामा धेरै वर्ष बिते यो नगरका, यो देशका । विडम्बना, यो नबग्ने राजनीतिको पर्याय भएर बसेको छ । यसको नाटकीय शक्ति छ । ब्रिटिस नाटककार सेमुअल बेकेटको विसंगत नाटक ‘वेइटिङ् फर गोडो’ मा नआउने गोडो पात्रजस्तै भएको छ यो पानी । आउँछ, आउँदै छ । भर्खरै अर्को एउटा सूचना निस्केको छ, गोडो आउन लागेको छ । दर्शकदीर्घामा पर्खेकै छौं, हेरौं । थोरै जनसंख्या भएको सिन्धुपाल्चोकको मेलम्ची उपत्यका । जुगल हिमालबाट निस्केको कलकल सुन्दर मेलम्ची नदीलाई २८.८३ किलोमिटर टनेल बनाएर नेपाल उपत्यकामा ल्याउने योजना पर्याय भएको छ राजनीति, आशा र नयाँ युगको ।

म एक विद्यार्थी भएर नेपाल उपत्यकामा आउँदा मलाई सबैभन्दा मन परेको विषय पानी नै थियो । म यस्तो ठाउँबाट आएको थिएँ, जहाँ खोला र नदीहरू निर्बाध बग्थे । तिनको आकार र तिनको संस्कार निश्चित थिएनन् । नेपाल उपत्यकामा देखें नदीहरू मानिससँग कथा, प्रयोजन र मिथकले जोडिएका छन् । यहाँ हिटी, धारा, राजकुलो र अरू रूपहरूमा पानी वास्तुकला र इतिहास भएको रहेछ । तिनलाई सहरको मात्र होइन नदीको आर्किटेक्चरले पनि आकार दिएको छ । थाहा पाएँ, तिनका नामहरू कविताका निम्ति कुँदिएका छन् । वाग्मती, विष्णुमती, मनहरा, भाचाखुसी, भद्रमती, कर्मनाशा, धोवी खोला, टुकुचा, हनुमन्ते, कति हुन् कति ! सबैका आकार सहर, बस्ती, मानिसका कर्मले बनिएका छन् । चाख बढ्दै गयो । पानीका एक अध्येता, जसलाई म पानी कवि भन्छु डा. अजय दीक्षितसँग यो कुरा राख्छु । अजय दीक्षित पानीका, धारका अनि तिनका इतिहासका वैभव र वर्तमानका विजोगका ज्ञाता विद्वान् हुन् ।

ती कोसी, गण्डकीका भङ्गालाहरूदेखि नेपाल उपत्यकाका नदीका प्रवाहका अध्ययन गर्छन्, लेख र किताब लेख्छन् । ‘देवानन्दले हरेराम हरेकृष्ण फिल्म बनाउँदासम्म वाग्मतीको पानी सफा रहेछ, दाइ’, तिनले डायलगबाट थाहा पाए, लेख लेखे । ती यो पानीका सञ्जालले संस्कृति, वास्तुकला, इतिहास, संगीत र जीवन अनि जिजीविषाका गतिहरू पैल्याउँदै हिँड्छन्, लेख्छन् र ठूलो सुस्केरा हाल्छन् । तर, जब राजनीतिसँग पानी जोडिन्छ, त्यो पैसाको खेलको जालोमा पस्छ । मेलम्चीजस्तो जाज्वल्यमान उदाहरणबाहेक अरू अनेकौं विषय छन्, दीक्षितका । तर, नबग्नेहरूले तिनका गतिको जिम्मा लिएपछि नदी बाटो बिराउँछन् र डुबान र पहिरामा निसासिन्छन् ।

मलाई सधैं एउटा प्रश्नले पिरोलिरहन्छ । त्यो हो, नेपाली राजनीति कस्तो पानीमा बग्छ ? राजनीति र पानीको सम्बन्ध धेरै नजिकको हुन्छ । यो जति ठूलो विषय राजनीतिदेखि, अर्थनीति, सौन्दर्यशास्त्र र दर्शनमा अरू केही हुन सक्तैन । नेपालमा मलाई जटिल लागेको विषय यस्तो छ— पानी बग्छ तर अर्को अर्थमा नेपालमा पानी बग्दैन किनभने यसलाई लिएर चल्नेहरू बग्दैनन् । तिनको प्रवाह छैन । तर, तिनका जलराशिका सपना धेरै हुन्छन् । ती खोला र नदी होइन समुद्रकै सपनामा रम्छन् । विडम्बना छ, नेपालको राजनीति र त्यसलाई लिएर काम गर्नेहरू बग्दैनन् ।

नेपालमा इतिहास बग्छ तर फेरि जम्छ, फेरि अडिन्छ । विडम्बना, नबगे पनि त्यो त्यसैको इतिहास हुन्छ । नेपालमा राजनीति बगेको छ कि छैन, त्यसलाई पानीसँग जोडेर हेर्दा धेरै कुरा खुल्छन् । पानीको सहज गति र यसलाई लिएर चिन्तन गर्ने योजनाकारहरूका अलमलिएका गतिहरू र तिनका योजनाहरूले नदी, तिनको संस्कृति, सभ्यता, राजनीति, कला, वैभव र काव्यको उपेक्षा गरेको कुरालाई उठाउनु मात्र यो निबन्धको उद्देश्य हो । प्रकाशित : असार २७, २०७७ १०:५९

प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्षासँगै मुलुकका विभिन्न ठाउँमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप न्यूनीकरण र पीडितको उद्धार तथा राहतबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ ।

विपद् व्यवस्थापन परिषद्को बैठक। तस्बिरः प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बिहानदेखि परिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, मन्त्रीहरूको सहभागिता रहेको छ ।

प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै सरकार प्राकृतिक प्रकोपबाट प्रभावित जनताको उद्दार र राहत कार्यमा लागिरहेको बताएका थिए ।

पछिल्लो केही दिनयता मुलुकका विभिन्न भागमा गएका बाढी र पहिरोले २६ जनाको मृत्यु, ४२ जना बेपत्ता र २४ जना घाइते भएका छन् ।

प्रकाशित : असार २७, २०७७ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×