१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

काठमाडौंमा थपिँदै कोरोना चुनौती

कोरोना ‘हटस्पट’ भनिएका ठाउँबाट मानिसहरू काठमाडौं आउने क्रम जारी छ । स्वाभाविक रूपमा त्यस्ता ठाउँबाट आउनेमा कोरोना संक्रमणको उच्च जोखिम हुने गर्छ ।
शेरबहादुर पुन

पछिल्ला दिन घरमा प्रवेश पाउनकै लागि पीसीआर गराउन अस्पताल आउनेहरूको संख्या दैनिक हजारभन्दा माथि पुग्ने गरेको छ । पसल खोल्नुपर्नेहरू, बाहिरी जिल्लाबाट आएर कार्यालय जानुपर्नेहरू, घर सर्दा वा काठमाडौंभित्रै केही दिन घरधनीको आँखाबाट टाढा भएकाहरू पीसीआर रिपोर्ट माग्दै आउने गरेका छन् ।

काठमाडौंमा थपिँदै कोरोना चुनौती

पहिले यस्तो अनुरोध वडा कार्यालयबाटै आउँथ्यो । केही समयअगाडि स्वास्थ्य तथा गृह मन्त्रालयबाट लक्षण नभएकाहरूलाई पीसीआरका लागि दबाब नदिन भनिएपछि यो समस्या केही हदसम्म मत्थर भइसकेको थियो । तर, उपत्यकाबाहिरबाट आउनेहरू बढेपछि फेरि उस्तै अवस्था निम्तिएको छ ।

यसबाट काठमाडौंको बस्ती अझ भरिँदै गएको सहजै अनुमान गर्न सकिन्छ । नेपालका घना बस्ती रहेका ठाउँमा अग्रपंक्तिमै आउँछ काठमाडौं । यसरी मानिसहरू थपिँदै जानु आगामी दिन कोरोना नियन्त्रणमा सबैभन्दा ठूलो चुनौती हुनेछ । यति बेला हरेकले एकअर्कालाई कोरोना संक्रमणको आशंका गर्ने अवस्था बढ्दै गइरहेछ । त्यसमा पनि विशेष गरी काठमाडौंबाहिरबाट आएकाहरू पर्छन् । कोरोना ‘हटस्पट’ भनिएका ठाउँबाट मानिसहरू आउने क्रम जारी छ । स्वाभाविक रूपमा त्यस्ता ठाउँबाट आउनेमा कोरोना संक्रमणको उच्च जोखिम हुने गर्छ । हालको कोरोना परीक्षण निर्देशिकाले लक्षण नभएकाहरूले ‘टेस्ट’ नगर्नू भनेको छ । तर नेपालमा हालसम्मका अधिकांश संक्रमितलाई लक्षण नै देखिने गरेको छैन । यो अहिले विश्वमा देखिएको भन्दा विशिष्ट अवस्था हो । तसर्थ लक्षण नभएकाहरूलाई परीक्षण नगर्नु भनेको संक्रमितहरू समुदायमा जान सक्ने सम्भावना बढ्नु हो । बाहिरबाट आउनेलाई दुई साता होम क्वारेन्टिनमा बस्न आग्रह गरिए पनि कतिले पालना गरे/गरेनन्, अनुगमन भएको छैन । त्यसैले लक्षणविहीन त्यस्ता कति संक्रमित समाजमा खुला रूपमा घुमिरहेका छन्, यकिन जानकारी पनि छैन । लक्षणविहीन संक्रमितले पनि कोरोना भाइरस सार्न सक्छन् ।

राजनीतिक अस्थिरताका कारण नेपालमा हडताल–नाराबाजी भइरहन्छन् । काठमाडौं विगतदेखि नै यस्ता कार्यक्रमको केन्द्रविन्दु हो । सरकारले कोरोना नफैलियोस् भन्नका लागि विभिन्न मध्यमबाट बच्ने उपायहरूबारे जानकारी दिँदै आइरहेको छ । यसमा मुख्य गरी व्यक्तिगत दूरी (दुई मिटरभन्दा टाढा) कायम गर्ने, मास्क लगाउने र नियमित साबुनपानीले हात धुने विषय छन् । तर, हडताल–नाराबाजीमा यी उपाय अनुसरण गरिँदैनन् । सहभागीले व्यक्तिगत दूरी कायम गरेको देखिँदैन । बरु लगाइरहेको मास्क नै खोलेर ठूला स्वरले नाराबाजी गरिन्छ । यस्तो हुलमुलमा संक्रमण सहजै फैलने सक्ने सम्भावना रहन्छ । ‘साइलेन्ट सुपर स्प्रेडर’ (लक्षणविहीन संक्रमित) हुलमुलमा हुनु सबैभन्दा बढी चिन्ताको विषय हो । उसले दर्जनौंलाई एकैपटक कोरोना सार्न सक्छ । नेपालका विभिन्न ठाउँमा एकैपटक धेरै संक्रमित भएकाले त्यहाँ पनि ‘साइलेन्ट सुपर स्प्रेडर’को भूमिका हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यसबारे अनुसन्धान भएको पाइँदैन ।

लकडाउन खुकुलो भएसँगै काठमाडौंका सरकारी र निजी कार्यालय, बजार खुल्ने क्रम बढ्दै गइरहेको छ । मानिस पनि घर बाहिर बाक्लै निस्कन थालेका छन् । यसले व्यक्तिगत दुरी कायम गराउन चुनौती थपिँदै गएको छ । कार्यालयमा सेवाग्राहीहरू हुलमुल गरेर सेवा लिइरहेको देखिन्छ । प्रायले मास्क पनि चिउँडोमुनि राखेको देखिन्छ । कार्यालयहरूले सेवा लिनेहरूलाई व्यवस्थित नगर्दा कोरोना संक्रमण बढ्ने सम्भावना उच्च भएको छ । बजार र पसलहरूमा पनि व्यक्तिगत दूरी कायम गरेको देखिँदैन ।

काठमाडौँमा फुटपाथमा पनि पसल थापिन्छन् । फुटपाथ पसल सञ्चालक विशेषतः निम्नमध्यम आय भएकाहरू हुन्छन् । उनीहरूले आफूलाई कोरोनाको शंका लागे पनि लक्षण नदेखिएको अवस्थामा हालको निर्देशिकाकै कारण निःशुल्क परीक्षण गराउन पाउँदैनन् । कसैले पीसीआर गर्न चाहे केही सरकारी अस्पतालमा सशुल्क सुविधा भने उपलब्ध छ । तर ती अस्पतालले एकपटक पीसीआर गरेको ५५ सय रुपैयाँ लिन्छन् । महँगो भएकैले निम्न मध्यम आय हुनेहरू पीसीआर परीक्षणबाट वञ्चित हुन्छन् ।

गर्मीसँगै मनसुन सिजन सुरु भइसकेको छ । यो समयमा विशेषतः मौसमी संक्रामक रोगहरू देखिने गर्छन् । यी रोगको लक्षण पनि कोरोनासँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ । यसले गर्दा बिरामीमा कुन संक्रमण भएको हो, सही समयमा पत्ता लगाउन अप्ठेरो पर्छ । कोरोनाको भय र आवश्यक व्यक्तिगत सुरक्षा सामग्री अभावले यस्तो अवस्था सिर्जना हुने सम्भावना थप देखिन्छ । केही दिनयता नसर्ने रोगहरूको उपचारका क्रममा स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुने बढ्दो छ । यसले कोरोनाबाहेकका रोगको उपचार गर्न थप कठिनाइ र त्रास सिर्जना भएको छ । नेपालका विभिन्न ठाउँमा उपचार गर्न नसकिएका बिरामी काठमाडौं नै ल्याउनुपर्ने बाध्यताका कारण आगामी दिन काठमाडौंका अस्पतालले कोरोनाको थप चुनौती सामना गर्नुपर्ने हुन्छ ।

हाल काठमाडौंमा कोरोना संक्रमण समुदाय स्तरमा पुग्यो कि पुगेन भन्नेमा सबैको चासो छ । अव्यवस्थित घना बस्ती, कोरोनाविरुद्धको फितलो तयारी वा स्थानीयलाई विश्वस्त बनाउन नसक्नुले पनि यस्तो चासो हुनु स्वाभाविक हो । हालै कोरोना भाइरस ढलमा समेत देखिएको समाचार सर्वजनिक भएसँगै भाइरस समुदायस्तरमा पुगेको अनुमान धेरैले गर्न थालेका छन् । यसको पुष्टि सम्बन्धित निकायले जति सक्दो चाँडो गर्नुपर्छ ।

केही संक्रमितको काठमाडौंबाहिर भ्रमण इतिहास नभएको र संक्रमितसँग पनि सम्बन्ध नभएकोबाट समुदाय स्तरमा कोरोना भाइरस पुगेको झिल्को त मिल्छ तर बलियो प्रमाणका लागि परीक्षणको दायरा व्यापक बढाउनुको विकल्प छैन । कोरोना समुदाय स्तरमा फैलने चरणको ढोकैमा पुगिसक्दा काठमाडौंको घना बस्ती, अस्पतालको क्षमता, मानिसको व्यापक आगमनमा आधारित विश्लेषण गरी भावी रणनीति पनि सँगसँगै बनाउँदै लैजानुपर्छ ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : असार २३, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?