खप्तड बाबासँगको भेटका केही प्रसंगहरू
२०३४ साल फागुनको पहिलो साता चिसो स्याँठले सताइरहेको कठ्याङ्ग्रिँदो डोटी सिलगढी बजारको शैलेश्वरी मन्दिर नजिकैको एउटा सानो पाटीमा गेरु बस्त्रधारी ओजस्वी दिव्य पुरुष खप्तड बाबालाई पहिलो पटक भेट्ने साइत जुरेको थियो । हामी १२ जना विद्यार्थी त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको १० महिने राष्ट्रिय विकास सेवाको १० महिनाको स्वयंसेवक कार्यक्रमअन्तर्गत डोटी जिल्लामा खटिएका थियौं ।
खप्तड बाबाको नाम मैले विद्यार्थीकालदेखि नै सुनेको थिएँ । उहाँको आध्यात्मिक दर्शन र बहुचर्चित कृति विचार विज्ञानले पनि मलाई ज्याँदै प्रभावित तुल्याएको थियो । उहाँको साधनास्थल खप्तडबाट भारतका विभिन्न तीर्थस्थलहरुमा ओहोरदोहोर गर्दा केही दिन शैलेश्वरी मन्दिरमा विश्राम गर्ने चलन रहेछ । हामी काठमाडौंबाट डोटी पुग्ने र बाबा भारतको तीर्थबाट फर्कने एउटै समय परेको हुँदा उहाँलाई भेट्ने अवसर जुरेकोमा सबैजना दंग थियौं ।
प्रथमत: बाबाको सरल, सौम्य र सादगी जीवन शैलीको व्यक्तित्व नै अलौकिक लाग्यो । सामान्य परिचयपछि नै बाबाले नै राष्ट्रिय विकास सेवा कार्यक्रमको युवा विद्यार्थीहरुका लागि आफ्नो मुलुक चिनाउन र आफ्नो क्षमताको उपयोग तथा ग्रामीण समाजमा विकासमा योगदान पुर्याउन सघाउ पुग्ने भन्दै प्रशंसा गर्नुभयो । अभाव, गरिबी र पछौटेपनमा रहेका यहाँका जनताहरुलाई माया गरेर, सेवाभाव राखेर दु:ख सुख जस्तो परे पनि सहेर राम्रो काम गर्न सल्लाह दिनुभयो । अहिले कठोर मेहनतका साथ गरेको कामले जीवनपर्यन्त आत्मसन्तुष्टि मिल्ने बताउनुभयो । हामीले आफ्नो कार्यक्रमको चिनारी गर्न नपाउँदै त्यस विषयमा बाबाको विस्तृत जानकारी सुनेर थप कुराकानी गर्ने सहज वातावरण बन्यो ।
हामी चकित त्यति बेला भयौँ, जति खेर बाबाले हामीले पढीरहेको हरेक विषयको महत्व र उपयोगिताको चर्चा सुरु गर्नुभयो । बोलीचाली पनि साधारण, अंग्रेजी, नेपाली दुवै भाषामा फरर । हाम्रो विषय अनुसार अर्थशास्त्रमा आर्थिक उदारवाद, एडम स्मिथको सिद्धान्तको व्याख्या, साहित्यमा सेली, वर्डस्वर्थका कविताको विशिष्टता र प्रकृति प्रेमको कुरा, नेपाली कवितामा तेस्रो आयाम, अमूर्तवादको प्रभावको चर्चा तथा वनस्पति विज्ञानको लागि खप्तड क्षेत्रमा नै अध्ययनको लागि ठूलो खजाना रहेको संकेत गर्दै भर्खरै पढाई सुरु भएको मौसम विज्ञानको आवश्यकता र सान्दर्भिकताको विश्लेषण गर्नुभयो ।
वास्तवमा, खप्तड बाबासँग भएको त्यो पहिलो भेटले नै हामी सबैलाई आफ्नो लक्ष्यमा अघि बढ्न थप उर्जा र आत्मविश्वास बढाएको अनुभूत भयो । राष्ट्रय विकास सेवाअन्तर्गत म डोटी जिल्लाको दुर्गम क्षेत्र बोग्टानको खत्याडी माध्यमिक विद्यालयमा खटिएको थिएँ । त्यँहा रहँदा मैले खप्तड बाबाको साधना, खप्तड क्षेत्र आसपासका जनताहरुलाई उहाँले औषधिमूलो गरेर पुर्याएको सेवा जस्ता धेरै कुराहरु जान्ने मौका पाएँ । केहीका घरमा थन्क्याएर राखिएका बाबाका कृतिहरु खोजेर पढ्न सुरु गरें । जति पढ्दै जान्थे, मेरो मन रोमान्चित हुन्थ्यो र उहाँलाई फेरि भेट्ने उत्कट अभिलाषा जागेर आँउथ्यो ।
गाउँमा स्वच्छ पानीको अभाव थियो, दूषित पानीले होला, म अकस्मात गम्भीर बिरामी परी उपचारका लागि सिलगढीको अस्पतालमा जानु पर्यो ।उपचारपछि मलाई केही हप्ता डाक्टरको सम्पर्कमा रही आराम गर्नुपर्ने सल्लाह दिइयो । संयोग नै भनु पुन: तीर्थयात्राबाट फर्कनु भएको खप्तड बाबा लगातारको झरीले गर्दा खप्तड जान नसकी पहिलेकै ठाउँ शैलेश्वरीमा रोकिनु भएको रहेछ । उपचारपछि करिब स्वस्थ अनुभव गर्दै थिएँ । तर बाबासँग पुन: भेट गर्ने अवसर पाउँदा आफू पूर्ण स्वस्थ भए झैं एकाएक जोस, जाँगर बढेजस्तो शरीर चंगा हुँदै गयो । दिन दिनैको सतसंगको प्रभावले होला, सतसंकल्प, सतविचारले मन आलोकित भएको, जंगलमा बाटो बिराएर हराइरहेको बेलामा बाटो फेला पर्दा खुसी भएको र वर्षौ नभेटिएका आफ्ना प्रिय आफन्तहरुलाई भेट्दा रमाएर उत्तेजित भए जस्तो रोमान्चित हुन्थें ।
दिउँसोको धेरै समय बाबाको अर्ती, उपदेश, स्मृति, श्रुति, पुराण तथा धर्मशास्त्रका विभिन्न ग्रन्थहरुको चर्चामा बित्थ्यो । साँझ, विहान विचार विज्ञान आद्योपान्त पढेर बाबालाई विभिन्न जिज्ञासा र प्रश्नहरु तेर्स्याउँथें । बाबा भन्नुहुन्थ्यो- 'राम्रो विचारबाट आत्मशक्ति र सर्वज्ञता प्रकट हुन्छ।चित्त सदा सत्संकल्पित रहनुपर्छ । तसर्थ सत्संग, सतग्रन्थ पाठ, सत्कर्म, सदगुरु सेवा आवश्यक छ । सत्संकल्पले चित्त भरिएको व्यक्ति नै सुखी र परोपकारी हुन्छ ।'
गीतामा पनि विचार शुद्धिलाई ठूलो तपस्या मानिएको बताउँदै मनको प्रशन्नता, शान्तिभाव, भगवत चिन्तन, मनको निग्रह तथा अन्त:स्करणको पवित्रता नै मानवताको कल्याणका सुनिश्चित साधन हुन भनिएको यो श्लोक पढ्न सुझाउनु हुन्थ्यो ।
मन: प्रसाद सौम्यत्वं मौनमात्य विनिग्रह:
भाव संसुद्धिरित्येतत्वपो मान समुच्चते। १७।१६
ती सत्संगका क्षणमा आत्मसात गरेका विचारहरुले मेरो जीवनको बाटोमा सधैं दिशानिर्देश गर्दै अगुवाइ गरिरहें । मान्यता र आदर्शको पर्खाल निर्माण गरेको महसुस भयो ।
यथार्थपरक आध्यात्मिक दर्शन
खप्तड बाबाले विचार विज्ञान, म र मेरो कर्तव्य, स्वस्थ्य विज्ञान (४ खण्ड), नारी धर्म तथा पुरुष धर्म, आत्म ज्ञान, वेदान्त विज्ञान, योग विज्ञान र आरोग्य विज्ञान लगायतका दर्जनौं दुर्लभ कृतिहरु सुम्पेर जानुभएको छ ।उहाँका कृतिहरु यर्थाथमा आधारित बिचार तथा व्यवहारबाट प्रभावित भएको पाइन्छ । बाबा, अलवर्ट आइन्सटाइनको 'अध्यात्म बिनाको विज्ञान अपुर्ण हुन्छ' भन्ने भनाइ स्वीकार्दै मानवीय स्वास्थ्यमा विचारको सर्वोपरि प्रभाव रहने तथ्य केलाउँदै अध्यात्म र विज्ञानको संयोजनमा मात्रै विश्वको उन्नति सम्भव देख्नुहुन्छ ।
शिवपुरी बाबाको स्वधर्म जीवनशैलीको दर्शनको ख्याती प्राप्त गरेजस्तै खप्तड बाबाको सद्बिचारको दर्शन ज्यादै मननीय र सर्व स्वीकार्य भएको छ।तसर्थ विचार विज्ञानमा एकाग्रतापूर्वक गरिएको विचारबाट सफलता अवश्यभावी रहेकोले सदा प्रसन्न चित्त र प्रेम एवं सहानुभूतिको भाव राख्नु पर्ने सल्ह दिनुहुन्छ।त्यस्तै पवित्र र शान्त बिचारले मष्तिष्कमा ओजस उत्पन्न हुने हुँदा संधै उच्च भाव र विचार मनमा राख्नु पर्छ।विचारको शुद्धता सत्कार्यको दृढता र सात्विक आहार विहारको जीवन शैली उपयुक्त हुने बताउनु हुन्छ।
राजादेखि रक्षकसम्मको समान व्यवहार
खप्तड बाबाको व्यवहार राजा देखि बझाङ, बाजुरा, अछाम र डोटीका गोठालाहरुसम्म एकनास थियो । स्थानीयहरुको भाषा, बोलीचाली उहाँलाई प्रिय लाग्थ्यो आफू पनि त्यही शैलीमा कुरा गर्नुहुन्थ्यो।भनिन्छ, गाउँलेहरुका हरेक द':ख सुखमा बाबाको साथ थियो र कोही पनि बिरामी पर्दा जडिबुटीको उपचारबाट निको हुन्थ्यो।घरमा भएको दुध, दहि, फलफुल पुर्याएर उनीहरुले पनि उहाँप्रति अन्त्यन्त श्रद्धा र भक्ति भाव दर्शाउँथे।
तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको खप्तड बाबाको कुटीमा पटकपटक भ्रमण हुँदा पनि विशेष आदर सत्कार र मानसम्मान सामान्य व्यवहार गरेको स्थानीयहरु बताउँछन्।२०३६ सालको जनमत संग्रहको घोषणा पछि तत्कालीन राजा वीरेन्द्र खप्तड बाबालाई भेट्न जाँदा राजा तटस्थ भएर बस्नुपर्ने र जनताको निर्णयलाई स्वीकार्नुमा नै कल्याण छ भनेर बहुदलको प्रभावलाई रोक्नु नहुने सललाह दिएको कुरा त्यस समयमा खप्तड जटीबुटी उद्यान कार्यालयका प्रमुख स्व. डा. निर्मल भट्टराईले बताउनुभएको थियो ।
ठूला ठूला मेला, चाड पर्वमा खप्तडका सीमावर्ति गाँउहरुमा पुगेर स्थानीय जनताहरुसँग आत्मियता दर्शाउनुहुन्थ्यो। वन, वन्यजन्तु र पर्यावरणका संरक्षक- शिवपुरी बाबा प्रकृतिको विनास हुँदा रुनु हुन्थ्यो रे।खप्तड बाबाको पनि वन, वन्यजन्तु र पर्यावरण संरक्षणमा गम्भीर चासो रहन्थ्यो। वन विनास नगर्न गाँउलेहरुलाई सम्झाउनु हुन्थ्यो, वन्य जन्तुलाई हिंस्रक र शत्रु नठान्न अर्ति दिइरहनुहुन्थ्यो ।
उहाँले पाटे चितुवाको खुट्टामा बिझको काँढा झिकेर पठाएको सत्य घटना अहिलेपनि सुदुर पश्चिममा चर्चा हुन्छ।बाबाकै विशेष अनुरोधमा खप्तडमा जटीबुटी उद्यान कार्यालयको स्थापना र स्नाको संरक्षणमा रहने गरी खप्तड क्षेत्रलाई राष्ट्रिय निकुन्जमा सूचिकृत गरिएको थियो
।प्रकृतिको अनुपम स्वर्ग मानिएको खप्तडको धार्मिक र ऐतिहासिक महत्व छँदैछ, '२२ पाटन ५२ झुति' भनिने समथर मैदानहरु खेल पर्यटन र साहसिक पर्यटनको लागि उपयोगी हुन सक्ने देखिन्छ।दुर्लभ बन्यजन्तु, चराचुरुंगी र बनस्पतिका असंख्य प्रजातिहरुको लागिपनि यो क्षेत्र प्रशिद्ध छ।प्रकृति बीचको एकाग्रतामा गरिएको मौन साधनामा आफुँलाई परमानन्द प्राप्त हुने कुरा खप्तड बाबाले सुनाउनु हुन्थ्यो।
आयुर्वेदिक औषधिको अथाह ज्ञान
खप्तड क्षेत्रमा विभिन्न प्रजातिका बोट विरुवा र विभिन्न रोगका लागि उपयोगी हुने असंख्य जडिबुडिहरु भएको विभिन्न अध्ययनबाट पुष्टि भएको छ।निकुञ्ज क्षेत्रमा हालसम्म २८८ प्रजातिका फूल फूल्ने विरुवाहरु सूचीकृत भएको बताइन्छ (खप्तड बाबा स्मृति पुन्ज, पृष्ठ २४२) । खप्तड बाबालाई त्यहाँका हरेक बिरुवाहरुको बैज्ञानिक र आर्युवेदिक दुवै नाम कण्ठस्थ थियो।
दुर्लभ वनस्पतिको महत्व, निकुञ्जका कर्मचारीलाई बताउनु हुन्थ्यो र बिशेष संरक्षणको लागि सक्षाउनु हुन्थ्यो।जटामसी, गुर्जो, रुडिलो जस्ता अति उपयोगी जटीबुटीहरु चोरेर भारत निकासी गरेको खवर सुनेर ज्यादै दु:खीत हुनुहुन्थ्यो।खप्तड बाबाले लेख्नुभएको खप्तड आश्रम प्रकाशन समितिबाट प्रकाशित स्वास्थ्य विज्ञान नै नेपालको आर्युवेद क्षेत्रमा निकै चर्चा पायो।
त्यसरी नै बाबाले उर्दूभाषामा आफ्नै हस्त लिखित आरोग्य विज्ञानको दस्तावेजलाई उर्दू भाषा विज्ञ पत्ता लगाएर सो समितिले नै नेपाली भाषामा उल्था गराएर प्रकाशित गर्ने प्रशंसनीय काम भएको छ। यी दुवै कृतिहरु त्रिभुवन विश्वविद्यालयबाट आर्युवेद विज्ञानको पाठ्यक्रममा समावेश गरिएको खवरले बाबाका भक्तहरुलाई हर्षित तुल्याएको छ।बास्तवमा, खप्तड बाबासंग आर्युवेद क्षेत्रको अथाह ज्ञानको भण्डार नै थियो भन्दा अत्युक्ति नहोला।
आडम्बर नभएको सरल र साहसी जीवनशैली
खप्तडबाबामा कुनै पनि किसिमको लोभ, आडम्वर लेसमात्र थिएन। कसैलाई पनि शिष्य, उत्तराधिकारी तोक्नु भएन।उहाँ समत्व भावको अथाह सागर हुनुहुन्थ्यो।लेखकसँगको संवादमा, तिक्ष्ण बुद्धि, वेदान्त र धेरै शास्त्रका ज्ञाता भएपनि योगी र सन्तहरु राजनीतिमा लागेर, कोटि होम आदीको घोषणा गरेर बदनाम भएको गुनासो गर्नुहुन्थ्यो।
आफ्नो प्रचारप्रसार गर्न पटक्कै नरुचाउने खप्तड बाबा अत्यन्त मिलनसार, ठूलो सानो नभनेर समान भावले सवैको आतिथ्य स्वीकार्ने, पीडामा परेका भक्तहरुलाई शान्त्वना र सहानुभूति दिएर आत्मियता र हार्दिकता दर्शाउनुहुन्थ्यो।
प्रकाशित : असार २१, २०७७ १८:३८