कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भ्रष्टाचार नियन्त्रण

‘भ्रष्टाचारीलाई छोड्दिनँ भनेको ‘आफैंसँग राख्छु’ भनेको होइन ? भाषै नबुझेजस्तो त नगर्नू न !’
शरच्चन्द्र वस्ती

राज्यारोहण भएको एक साता नबित्दै महाराजले घोषणा गरे, ‘म भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचारीलाई कुनै हालतमा छोड्दिनँ ।’ भ्रष्टाचारबाट आजित भएका जनतामा महाराजको घोषणाले खुशीको लहर छायो । तिनले महाराजको जयजयकार गर्दै जुलूस निकाले । आआफ्ना घरमा महाराजको तस्वीर सजाए र आनन्दले सुते ।

भ्रष्टाचार नियन्त्रण

भोलिपल्ट सकल कर्मचारीले प्रतिदिन भ्रष्टाचार त्याग्ने प्रतिज्ञा गर्नुपर्ने उर्दी जारी भयो । कार्यालय खुल्नासाथ सम्पूर्ण कर्मचारी हाकिमको कोठामा भेला भई दाहिने हात आफ्नो छातीमा राखेर प्रतिज्ञा गर्न थाले, ‘म घूस खानेछैन र अरूलाई पनि घूस खान दिनेछैन ।’

प्रतिज्ञा गरेर भ्रष्टाचार रोकिने कुरालाई धेरैले हाँसोमा उडाए । यसबारे बनाइएका चुटकिला रातारात लोकप्रिय भए । एउटा चुटकिला थियो— आफूले घूस खान नपाएपछि अर्कालाई कसले घूस खान दिंदो होला त ? केही कर्मचारीलाई भने प्रतिज्ञाको कुरा निकै गम्भीर लागेको थियो । उनीहरू भन्थे, ‘महाराज जस्ता बुद्धिमानले यस्तो उर्दी विना कारण जारी गरेको हुनै सक्तैन । पक्का पनि यसका पछाडि कुनै रहस्य छ ।’

नभन्दै प्रतिज्ञा गर्न थालेको चौथो दिन, दरवारको गोप्य स्रोतमा पहुँच भएको दाबी गर्ने एक जना खग्गू कर्मचारीले खबर ल्यायो : भ्रष्टाचार नियन्त्रण गर्ने घोषणा वक्रेश्वर गुरुको सल्लाह बमोजिम भएको रहेछ । हामीले गर्ने प्रतिज्ञा गुरुले १२ वर्ष हिमालयमा तपस्या गरेर सिद्ध गरेको मन्त्र हो अरे । बिहान यो प्रतिज्ञा गरेपछि त्यो दिन जसले भ्रष्टाचार गर्छ ऊ राति सुतेको सुत्यै ठहरै हुन्छ अरे ।

खबर आङै सिरिंग पार्ने खालको थियो । सकल कर्मचारीमाझ त्यो वायुवेगले प्रसारित भयो र कार्यालयहरूमा घूसखोरी बन्द भयो । जरिवाना तिरेको रसीद समेत घूस नपाएसम्म नदिने कर्मचारीहरू घूस छुन पनि डराउन थाले । उनीहरू खाजा पनि आफ्नै पैसाले खान थाले र चुरोट पनि आफ्नै पैसाले किन्न थाले । प्रतिज्ञाको आतंक कति गाढा थियो भने, टिप्पणी सदर गराउन पियनले ल्याएको फाइलमा हाकिमहरू ‘सदर’ लेख्नुको साटो ‘म घूस खानेछैन’ लेख्न थाले ।

दुई हप्ता घूसविहीन अवस्थामा पिल्सिएपछि कार्यालयको हाकिम लम्बहस्त एकाबिहानै वक्रेश्वर गुरुकहाँ पुग्यो र आफूलाई त्यो पीडाबाट मुक्त हुने मार्गदर्शन गर्न अनुरोध गर्‍यो । उसले भक्तिपूर्वक चढाएको महँगो घडी र मोटो दक्षिणाबाट प्रसन्न भएर मुसुमुसु हाँस्तै गुरुले रहस्यमय भाकामा भने, ‘दिन सूर्योदयबाट शुरू हुन्छ र रातभरि रहन्छ । तिमीहरूले गर्ने प्रतिज्ञाको प्रभाव पनि प्रतिज्ञा गरेको क्षणबाट शुरू भएर रातभरि मात्र रहन्छ । बिहान सूर्योदय भएपछि त्यसको प्रभाव समाप्त हुन्छ । त्यसैले हरेक दिन प्रतिज्ञा गर्नुपर्ने नियम बाँधिएको हो ।’

‘मैले पीडाबाट मुक्तिको बाटो खोजेको गुरुदेव !’ लम्बहस्तले कुरा नबुझेर हात जोडयो । गुरु खितखिताए, ‘मैले भनेको कुरा शान्त मनले मनन गर । तिम्रो अगाडि बाटो आफैं प्रकट हुनेछ । जय शम्भो !’

उनका कुरामा गम खाँदै घर पुगेर ओछयानमा पल्टँदासम्म पनि लम्बहस्तको दिमाग हात लाग्यो शून्य थियो । श्रीमतीले पस्केको भात खाँदै गर्दा उसलाई अकस्मात् ज्ञानोदय भयो र ‘जय

गुरुदेव !’ भन्दै बाँकी भात छोडेर कार्यालयतिर हानियो । उसले कर्मचारीहरूलाई मार्गनिर्देश गर्‍यो, ‘हामीले गरेको प्रतिज्ञा रातभरिमा निष्क्रिय भइसक्छ अरे । त्यसैले, बिहान घाम झुल्केपछि अफिस नआउन्जेल हामीलाई कुनै प्रतिज्ञाले बाँधेको हुँदैन । अबदेखि जे गर्नु छ, त्यही वेला गर्ने हो ।’

सबै जना हर्षविभोर भए । दिनभरिमा त्यो रहस्य सकल कर्मचारीसम्म प्रसारित हुन पुग्यो । अब कर्मचारीहरू बिहान–बिहान पशुपति धाउन थाले । उनीहरू पशुपतिको दर्शन गर्थे, निधारमा चन्दन लगाउँथे र मृगस्थलीतिर चढ्थे । आफूलाई पर्खिरहेका दलालहरूसँग भेटेर लेनदेन त्यहीं टुंग्याउँथे र घर फर्कन्थे । कार्यालय पुगेर घूस नखाने प्रतिज्ञा गर्थे र दिनभरि इमान्दारीसाथ दलालले ल्याएको काम गर्थे ।

तर, त्यो दिनचर्या धेरै दिन चल्न पाएन । नजाने कताबाट सुराक पाएर हो, भ्रष्टाचार निवारण आयोग सक्रिय भयो र बिहानबिहानै कर्मचारीहरू उसको फन्दामा पर्न थाले । पाँच हजारदेखि एक लाख रुपैयाँसम्म घूसको रकम सहित पक्राउ परेका कर्मचारीको तस्वीर सञ्चार माध्यममा आउन थाल्यो । जनता फेरि महाराजको जयजयकार गर्न थाले । त्यसबाट हौसिएर आयोगले अलि ठूला माछामा पनि बल्छी हान्न नखोजेको होइन तर महाराजले अनुमति दिएनन् । भने, ‘तिमीहरू दुई लाख भन्दा तलै बस । माथिको चासो लिनुपर्दैन ।’

वक्रेश्वरले देखाएको बाटो पनि बन्द भएपछि लम्बहस्त झन् छटपटियो । त्यही रनाहामा एक दिन उसले कार्यालयमै २५ हजारको घूस खल्तीमा हाल्यो र अठोट गर्‍यो, ‘आज राति म सुत्दै सुत्दिनँ । नसुतेपछि कसरी मरिएला ? बिहान घाम झुल्केपछि त आजको प्रतिज्ञाको शक्ति समाप्त भइहाल्छ !’ ऊ रातभरि टीभी हेर्दै बडो बलपूर्वक निद्रा दबाएर बसिरहेको थियो । चार बज्न लागेपछि भने निद्राले नै उसलाई नियन्त्रणमा लियो । बिहान आफूलाई जिउँदै पाएर ऊ चकित भयो । त्यस दिन झन् दुई जनासँग घूस लिएर घर आई चाँडै सुत्यो ।

त्यो रात पनि सकुशल बितेपछि उसले साथीहरूलाई भन्यो, ‘वक्रेश्वरले हिमालयमा तपस्या गरेको कुरा हावा रहेछ । हाम्रो प्रतिज्ञा पनि हावा हो । यसले केही लछार्दैन ।’ त्यस दिनदेखि प्रतिज्ञा ठट्टाको विषय बन्यो । उनीहरू उच्च सतर्कतासाथ आआफ्नो हैसियत अनुसार पकेट–खर्च उठाउन थाले ।

मन्त्री र तिनका सल्लाहकारले भने कर्मचारीले जस्तो प्रतिज्ञा गर्नु पर्दैनथ्यो । महाराजले उनीहरूलाई त्यसभन्दा माथि राखेका थिए । ठूलठूला खरीद, ठेक्कापट्टा र लेनदेनको निर्णय उनीहरूको मुखबाटै हुन्थ्यो । त्यसको प्रक्रिया मिलाउने काम मात्र कर्मचारीको जिम्मामा पर्थ्यो ।

एक महीना पछि भ्रष्टाचारविरोधी स्टिकर र प्रतिज्ञा लेखिएको ब्याच आइपुग्यो । १५ रुपैयाँ पर्ने स्टिकर दुई सय रुपैयाँ गोटा र ९५ रुपैयाँ पर्ने ब्याच १२ सय रुपैयाँ गोटाको दरले चार–चार लाख थान खरीद गरिएको रहेछ— बजार मूल्य भन्दा ५२ करोड रुपैयाँ बढी तिरेर । बुझ्दै जाँदा कर्मचारीले थाहा पाए, त्यसको ठेकेदार पटकपटक कालो सूचीमा परेको व्यापारी रहेछ र उसलाई ठेक्का दिलाउने एजेन्ट चाहिं मन्त्रीपुत्र रहेछ । सदाचारमन्त्रीको जोडबलले त्यसको भुक्तानी तत्काल गरिएको रहेछ ।

त्यही साता सदाचारमन्त्रीले भ्रष्टाचार नियन्त्रणका सामग्री छाप्न भनेर २८ करोड पर्ने प्रेस ७० करोडमा किन्ने गोप्य सम्झौता गरे । त्यस दिन आयोजित पत्रकार सम्मेलनमा महाराजले भने, ‘भ्रष्टाचार नियन्त्रणमा हामीले प्राप्त गरेको अद्भुत सफलताले सारा विश्व चकित भएको छ । यसमा सघाउ पुर्‍याउने हाम्रा ठेकेदार, व्यापारी, बिचौलिया, बाहुबली, सल्लाहकार र मन्त्रीहरूको जति प्रशंसा गरे पनि कम हुन्छ । केही ईष्र्याग्रस्त व्यक्तिहरूले उनीहरूमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । त्यो पूर्णत: निराधार छ । उनीहरू निर्दोष मात्र होइन, पुरस्कृत गरिन लायक छन् । म उनीहरू सबैलाई यसै हप्ताभित्र विशिष्ट जिम्मेदारी प्रदान गरिने जानकारी दिन चाहन्छु ।’

के हुन लागेको हो, बुझ्न नसकेर म अलमल्ल थिएँ । हिजो छाडी अस्ति वक्रेश्वरसँग पशुपतिमा जम्काभेट भयो । पढाइमा हरिलम्फू ऊ चारचौरास गफ हाँक्न भने सानैदेखि उस्ताद थियो । कुरो घुमाउन कसैले नभेट्ने । कहीं जागीर नपाएपछि लट्टा–दारी पालेर वक्रेश्वर गुरु हुँदै महाराजको भित्रिया बनेको थियो । मैले केटाकेटीमा जिस्क्याउने गरेको नामले सम्बोधन गरें—

‘क्या हो बकरू भाइ, महाराजलाई कस्तो सल्लाह दियौ ? उल्टो उल्टो गरिराख्या छन् त ?’

‘के भो र दाइ ?’

‘भ्रष्टाचार नियन्त्रण गर्छु भन्थे, भ्रष्टाचार त झन् अकासिएको छ नि ?’

‘हया, दाइ पनि १ भाषै नबुझेजस्तो त नगर्नू न भन्या । नियन्त्रण गर्नु भनेको आफ्नो पकड, आफ्नो मुठीमा राख्नु होइन ? अहिले भ्रष्टाचार कसको मुठीमा छ, भन्नोस् त ? ठूलठूला भ्रष्टाचार महाराजका मान्छेले मात्र गर्न पाउँछन्, हो कि होइन ? यही त हो नि महाराजले भनेको भ्रष्टाचार नियन्त्रण ।’

‘अनि भ्रष्टाचारीलाई कुनै हालतमा छोड्दिनँ भनेको नि ?’

‘त्यो त झन् स्पष्टै छ । छोड्दिनँ भनेको आफैंसँग राख्छु भनेको होइन ? बाबुले नाबालक छोरालाई छोड्दिनँ भन्दा के बुझिन्छ, भन्नोस् त ? महाराज पनि भ्रष्टाचारीलाई संरक्षण गर्छन्, पद दिन्छन्, पुरस्कार दिन्छन् । कुनै हालतमा छोड्दैनन्, जसरी भए पनि आफैंसँग राख्छन् । योभन्दा बढी के गर्नु ?’

‘ए... कुरो त्यसो पो ? मैले नै उल्टो बुझेको रहेछु,’ मैले भनें, ‘महाराजको भाषिक सल्लाहकार तिमी नै हौ कि क्या हो, बकरू ?’

दुवैले वनै थर्किने गरी अट्टहास गर्‍यौं ।

प्रकाशित : असार २०, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?