कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उत्पादन कम, खपत बढी

नेपालमा धानको औसत उत्पादकत्व विश्वमै निकै कम (३.५ टन प्रतिहेक्टर) छ । हामीलाई वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ ।
रामबहादुर केसी

धान नेपालसहित एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वको कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७ औं स्थानमा पर्छ ।

उत्पादन कम, खपत बढी

नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा धानको प्रयोग अनिवार्य छ । धान कत्तिको महत्त्वपूर्ण बाली हो भन्ने त दुई नेपाली भेट भएमा ‘भात खानुभयो’ भनी सोध्ने चलन रहेबाटै स्पष्ट हुन्छ ।

धानको उत्पत्ति र वितरण

धान घाँसे परिवारअन्तर्गतको एकवर्षीय वनस्पति हो । करिब ५,००० वर्षपहिले धानको उत्पत्ति भएको विश्वास गरिन्छ । विश्वमा खेती गरिने धानका दुई प्रजाति छन्— ‘ओराइजा सेटाइभा एल’ र ‘ओराइजा ग्लाबेरिमा एल’ । दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र पूर्वी एसियामा पाइने बहुवर्षीय जंगली धान ‘ओराइजा रुफिपोगन’ बाट एकवर्षीय जंगली धान

‘ओराइजा निभारा’ उत्पत्ति भएको हो । हाल विश्वभर खेती हुने धान ‘ओराइजा सेटाइभा एल’ हो । अफ्रिकी महाद्वीपमा पाइने बहुवर्षीय जंगली धान ‘ओराइजा लंगिस्टामिनाटा’ बाट एकवर्षीय जंगली धान ‘ओराइजा बार्थी’ हुँदै उत्पत्ति भएको अफ्रिकाको सीमित क्षेत्रमा खेती हुने धान ‘ओराइजा ग्लाबेरिमा एल’ हो । एसियाली धान (ओराइजा सेटाइभा एल) का पनि मुख्यतः दुई उपप्रजाति छन्— ‘ओराइजा सेटाइभा भार इन्डिका’ र ‘ओराइजा सेटाइभा भार जापोनिका’ । यीबाहेक दक्षिणपूर्वी एसियामा पाइने अग्लो बोट र ठूलो दाना हुने ‘इन्डिका’ र ‘जापोनिका’ बीचको तेस्रो उपप्रजातिका रूपमा ‘ओराइजा सेटाइभा भार जाभानिका’ लाई मानिएको थियो । तर हाल आएर यसलाई ‘ट्रपिकल जापोनिका’ भनिन्छ ।

डा. बालकृष्ण जोशीले ‘नेपाल कृषि अनुसन्धान जर्नल’ (सन् २००५) मा उल्लेख गरेअनुसार, नेपालमा चार प्रजातिका जंगली धान (ओराइजा निभारा, ओराइजा रुफिपोगन, ओराइजा ग्रानुलाटा र ओराइजा अफिसिनालिस) पाइनुले नेपालमा पनि धानको उत्पत्ति भएको विश्वास गरिएको छ ।

नेपालको अर्थतन्त्र र खाद्य सुरक्षामा धानको महत्त्व दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहेको हाम्रोजस्तो मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको छ । धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४.०६ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान गर्नुका साथै आर्थिक मेरुदण्डको भूमिका निर्वाह गरेको छर्लंग छ । कुल खेती गरिएको

३०,९१,००० हेक्टर जमिनमध्ये लगभग आधा (१४,५८,००० हेक्टर) मा आर्थिक वर्ष २०७६/७७ मा धान खेती गरिएको थियो । यसबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कुल अन्नबाली उत्पादनमा ५२ प्रतिशत हिस्सा धानको छ ।

नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको आम्दानी धान, पराल, ढुटो आदिबाट हुने गर्छ ।

नेपालमा वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन उत्पादन र आपूर्ति हुने गरेको छ भने ६ लाख ८८ हजार मेट्रिक टन अपुग भइरहेको छ । मागअनुसारको उत्पादन नहुँदा आर्थिक वर्ष २०७५/७६ मा धान ६ अर्ब ८४ करोड, चामल २४ अर्ब ५९ करोड, खैरो चामल ३८ करोड र कनिका १ अर्ब १८ करोड गरी जम्मा ३२ अर्ब ५९ करोड रुपैयाँको आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकबाट देखिन्छ । यो कटु सत्यले हामीले बर्सेनि मनाइरहने राष्ट्रिय धान दिवसलाई नै गिज्याइरहेको छ ।

यस वर्ष सरकारले धानको समर्थन मूल्य मोटा धान प्रतिक्विन्टल २,७३५ र मध्यम धानको २,८३५ रुपैयाँ तोकेको छ । यो कृषकहरूका लागि खुसीको कुरा हो । तर यसको कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ । सरकारले मूल्य तोक्ने अनि व्यापारीले सस्तोमा धान बेच्न कृषकलाई बाध्य पार्ने गरे यसको अर्थ रहँदैन ।

धान खेतीको वर्तमान अवस्था

नेपालमा ७५ जिल्ला (मनाङ र मुस्ताङबाहेक) मा धान खेती गरिन्छ, समुद्र सतहभन्दा ६० मिटर (झापा) माथिदेखि ३,०५० मिटर (जुम्ला) सम्म । भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा करिब ५ प्रतिशत, मध्यपहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत धानको उत्पादन हुन्छ । धान खेती गरिने संसारकै अग्लो स्थान जुम्लाको छुमचौर ज्युलामा जुम्ली मार्सीको उत्पादन हुन्छ । नेपालमा वर्षैभरि प्राकृतिक रूपमै धान खेती गर्न सकिन्छ । हिउँदे धान (बोरो) मंसिरदेखि जेठसम्म, घैया धान फागुनदेखि भदौसम्म, चैते धान फागुनदेखि असारसम्म र वर्षेर् धान असारदेखि मंसिरसम्म हुन्छ । जुम्लामा चैत १२ गते धानलाई पानीमा भिजाई चैत १६ गते पानीबाट निकाली अंकुरणका लागि न्यानो ठाउँमा राखिन्छ । अंकुरित बीउलाई २० गते हिले ब्याडमा छरी जेठमा धान रोपिन्छ भने कात्तिकमा बाली थन्काइन्छ ।

धान–चामलको यति धेरै आयात किन ?

यसरी वर्षैभरि धान खेती हुने र कुल खेती गरिने क्षेत्रफलको आधाजतिमा लगाउँदा पनि किन धान–चामल आयात दिनानुदिन बढिरहेको छ भनी आमनेपाली र नीतिनिर्माताहरूमा कौतूहल हुनु स्वाभाविक हो । नेपालमा धानको औसत उत्पादकत्व विश्वमै निकै कम (३.५ टन प्रतिहेक्टर) छ । विश्व खाद्य तथा कृषि संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रह्यो । सबभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व ७.० टन प्रतिहेक्टर छ । बंगलादेशको ४.७ टन प्रतिहेक्टर, भुटानको ४.३ टन प्रतिहेक्टर, भारतको ३.९ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुवैको समान ३.८ टन प्रतिहेक्टर छ ।

२०२८ सालमा नेपालको जनसंख्या १ करोड १५ लाख थियो, जुन हाल दोब्बरभन्दा निकै बढी भइसकेको छ । यसकारण प्रतिव्यक्ति चामलको खपत पनि बढिरहेकै छ । वैदेशिक रोजगारीका कारण आम्दानीसँगै मसिनो तथा बास्नादार चामल खाने प्रवृत्ति बढेको छ । बढ्दो सहरीकरणका कारण र भू–उपयोग नीतिलाई दह्रोसँग कार्यान्वयन गर्न नसक्दा खेतीयोग्य जमिनको खण्डीकरण तथा घडेरीकरण दिनानुदिन बढिरहेको छ । युवाहरूको खेतीप्रति विरक्ति, पढेकाले हलो छोड्ने र कमाएकाले थलो छाड्ने प्रवृत्ति, गुणस्तरीय मल–बीउको कमी, सिँचाइ सुविधाको अभाव, जलवायु परिवर्तनको नकारात्मक असर, भण्डारणको अप्राप्यता, श्रम अभावका कारण लागत वृद्धि, मागअनुसार धान–चामलको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु जस्ता कारणले धान–चामल आयात बढ्दै गएको हो । यसपालि ‘धान उत्पादनमा वृद्धि ः आत्मनिर्भर र समृद्धि’ नारासहित धान दिवस मनाइरहँदा नीतिनिर्माण तहदेखि स्थानीय निकाय र आम जनतासम्मको ध्यान उत्पादन र उत्पादकत्व बढाउन खेल्नुपर्ने प्राविधिक पक्षतिर पनि पुग्न जरुरी छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म नेपालमा ८५ वटा धानका जातको विकास तथा सिफारिस गरेको छ । चैते धानका लागि चैते–५, चैते–२, हर्दिनाथ–१, हर्दिनाथ–३; वर्षे धानका लागि खुमल–४, खुमल–६, खुमल–१०, सावित्री, राधा–४, राधा–१४, तरहरा–१, रामधान; बास्नादार धानका लागि लल्का बासमती, सुगन्धित धान–१, सुनौलो सुगन्धा, सुधारिएको जेठो बुढो; सुक्खा सहने जातहरूमा सुक्खा धान–१, सुक्खा धान–२, सुक्खा धान–३, सुक्खा धान–४, सुक्खा धान–५; बाढीग्रस्त क्षेत्रका लागि साँवामन्सुली सब–१, स्वर्ण सब–१, सेहराङ सब–१ तथा सुक्खा र बाढी दुवैका लागि उपयोगी बहुगुणी धान–१, बहुगुणी धान–२ र सुक्खा धान–६ सिफारिस गरिएका छन् । यसै गरी पौष्टिक तथा औषधीय गुण भएको ‘कालो चामल’ भन्ने जात पनि सन् २०१८ मा सिफारिस भएको छ । उच्च पहाडका लागि छोम्रोङ स्थानीय, माछापुच्छ्रे–३, चन्दननाथ–१ र ३ तथा लेकाली–१ र ३ छन् । नार्कले हर्दिनाथ हाइब्रिड धान–१ र हर्दिनाथ हाइब्रिड धान–३ पनि हाल सालै सिफारिस गरेको छ, जसको उत्पादकत्व क्रमशः ७.८ टन प्रतिहेक्टर र ७.० टन प्रतिहेक्टर छ । हिउँदे सिजनका लागि हर्दिनाथ बोरो धान–१ सिफारिस गरिएको छ । केही प्रचलित स्थानीय जातहरूमा आंगा, अनदी, एक्ले, करियाकामर, गुडुरा, झिनुवा कृष्णभोग, मनसरा, पहेंले, बोराङ धान, हंसराज, सौउठारी, जुम्ली मार्सी, जोरायल बासमती, तिल्की आदि स्थानविशेषअनुसार लगाइँदै आएका छन् । स्थानीय जातहरू संरक्षणका निम्ति नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा २,३०० थरीका जातलाई दीर्घकालीन रूपमा भण्डारण गरिएको छ । रोग, कीरा, चरा, मुसा, घुन, पुतलीबाट औसत १५–२० प्रतिशतसम्म उत्पादन नोक्सानी हुने भएकाले यसबारेको सचेतना पनि नितान्त आवश्यक छ । यसबाहेक चैते धानको क्षेत्र विस्तार, कृषि यान्त्रिकीकरण र सन्तुलित मलखादको प्रयोगमा पनि उचित ध्यान दिनु जरुरी छ ।

अन्त्यमा, जमिनको खण्डीकरण र घडेरीकरणले व्यावसायिकता र बाली विस्तारमा नकारात्मक असर पुर्‍याएको छ । भूमि बैंकको अवधारणा आएको छ, जसको कार्यान्वयन पक्ष हेर्न बाँकी नै छ । वैज्ञानिक भू–उपयोग नीति लागू गर्न सकिएको छैन । धानबाट चामल बनाउँदा पोलिसिङ धेरै गरिन्छ । यसले गर्दा चामलको पौष्टिकता क्षीण हुनुका साथै चामलको उत्पादनमा पनि ७ प्रतिशतजति कमी आउँछ । यावत् विषयमा सुधारका लागि सरोकारवालाहरूको ध्यान पुगे मात्र राष्ट्रिय धान दिवस (असार १५) ले सार्थकता पाउन सक्छ ।

केसी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक हुन् ।

प्रकाशित : असार १५, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?