उत्पादन कम, खपत बढी

नेपालमा धानको औसत उत्पादकत्व विश्वमै निकै कम (३.५ टन प्रतिहेक्टर) छ । हामीलाई वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ ।
रामबहादुर केसी

धान नेपालसहित एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वको कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७ औं स्थानमा पर्छ ।

नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा धानको प्रयोग अनिवार्य छ । धान कत्तिको महत्त्वपूर्ण बाली हो भन्ने त दुई नेपाली भेट भएमा ‘भात खानुभयो’ भनी सोध्ने चलन रहेबाटै स्पष्ट हुन्छ ।

धानको उत्पत्ति र वितरण

धान घाँसे परिवारअन्तर्गतको एकवर्षीय वनस्पति हो । करिब ५,००० वर्षपहिले धानको उत्पत्ति भएको विश्वास गरिन्छ । विश्वमा खेती गरिने धानका दुई प्रजाति छन्— ‘ओराइजा सेटाइभा एल’ र ‘ओराइजा ग्लाबेरिमा एल’ । दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र पूर्वी एसियामा पाइने बहुवर्षीय जंगली धान ‘ओराइजा रुफिपोगन’ बाट एकवर्षीय जंगली धान

‘ओराइजा निभारा’ उत्पत्ति भएको हो । हाल विश्वभर खेती हुने धान ‘ओराइजा सेटाइभा एल’ हो । अफ्रिकी महाद्वीपमा पाइने बहुवर्षीय जंगली धान ‘ओराइजा लंगिस्टामिनाटा’ बाट एकवर्षीय जंगली धान ‘ओराइजा बार्थी’ हुँदै उत्पत्ति भएको अफ्रिकाको सीमित क्षेत्रमा खेती हुने धान ‘ओराइजा ग्लाबेरिमा एल’ हो । एसियाली धान (ओराइजा सेटाइभा एल) का पनि मुख्यतः दुई उपप्रजाति छन्— ‘ओराइजा सेटाइभा भार इन्डिका’ र ‘ओराइजा सेटाइभा भार जापोनिका’ । यीबाहेक दक्षिणपूर्वी एसियामा पाइने अग्लो बोट र ठूलो दाना हुने ‘इन्डिका’ र ‘जापोनिका’ बीचको तेस्रो उपप्रजातिका रूपमा ‘ओराइजा सेटाइभा भार जाभानिका’ लाई मानिएको थियो । तर हाल आएर यसलाई ‘ट्रपिकल जापोनिका’ भनिन्छ ।

डा. बालकृष्ण जोशीले ‘नेपाल कृषि अनुसन्धान जर्नल’ (सन् २००५) मा उल्लेख गरेअनुसार, नेपालमा चार प्रजातिका जंगली धान (ओराइजा निभारा, ओराइजा रुफिपोगन, ओराइजा ग्रानुलाटा र ओराइजा अफिसिनालिस) पाइनुले नेपालमा पनि धानको उत्पत्ति भएको विश्वास गरिएको छ ।

नेपालको अर्थतन्त्र र खाद्य सुरक्षामा धानको महत्त्व दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहेको हाम्रोजस्तो मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको छ । धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४.०६ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान गर्नुका साथै आर्थिक मेरुदण्डको भूमिका निर्वाह गरेको छर्लंग छ । कुल खेती गरिएको

३०,९१,००० हेक्टर जमिनमध्ये लगभग आधा (१४,५८,००० हेक्टर) मा आर्थिक वर्ष २०७६/७७ मा धान खेती गरिएको थियो । यसबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कुल अन्नबाली उत्पादनमा ५२ प्रतिशत हिस्सा धानको छ ।

नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको आम्दानी धान, पराल, ढुटो आदिबाट हुने गर्छ ।

नेपालमा वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन उत्पादन र आपूर्ति हुने गरेको छ भने ६ लाख ८८ हजार मेट्रिक टन अपुग भइरहेको छ । मागअनुसारको उत्पादन नहुँदा आर्थिक वर्ष २०७५/७६ मा धान ६ अर्ब ८४ करोड, चामल २४ अर्ब ५९ करोड, खैरो चामल ३८ करोड र कनिका १ अर्ब १८ करोड गरी जम्मा ३२ अर्ब ५९ करोड रुपैयाँको आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकबाट देखिन्छ । यो कटु सत्यले हामीले बर्सेनि मनाइरहने राष्ट्रिय धान दिवसलाई नै गिज्याइरहेको छ ।

यस वर्ष सरकारले धानको समर्थन मूल्य मोटा धान प्रतिक्विन्टल २,७३५ र मध्यम धानको २,८३५ रुपैयाँ तोकेको छ । यो कृषकहरूका लागि खुसीको कुरा हो । तर यसको कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ । सरकारले मूल्य तोक्ने अनि व्यापारीले सस्तोमा धान बेच्न कृषकलाई बाध्य पार्ने गरे यसको अर्थ रहँदैन ।

धान खेतीको वर्तमान अवस्था

नेपालमा ७५ जिल्ला (मनाङ र मुस्ताङबाहेक) मा धान खेती गरिन्छ, समुद्र सतहभन्दा ६० मिटर (झापा) माथिदेखि ३,०५० मिटर (जुम्ला) सम्म । भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा करिब ५ प्रतिशत, मध्यपहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत धानको उत्पादन हुन्छ । धान खेती गरिने संसारकै अग्लो स्थान जुम्लाको छुमचौर ज्युलामा जुम्ली मार्सीको उत्पादन हुन्छ । नेपालमा वर्षैभरि प्राकृतिक रूपमै धान खेती गर्न सकिन्छ । हिउँदे धान (बोरो) मंसिरदेखि जेठसम्म, घैया धान फागुनदेखि भदौसम्म, चैते धान फागुनदेखि असारसम्म र वर्षेर् धान असारदेखि मंसिरसम्म हुन्छ । जुम्लामा चैत १२ गते धानलाई पानीमा भिजाई चैत १६ गते पानीबाट निकाली अंकुरणका लागि न्यानो ठाउँमा राखिन्छ । अंकुरित बीउलाई २० गते हिले ब्याडमा छरी जेठमा धान रोपिन्छ भने कात्तिकमा बाली थन्काइन्छ ।

धान–चामलको यति धेरै आयात किन ?

यसरी वर्षैभरि धान खेती हुने र कुल खेती गरिने क्षेत्रफलको आधाजतिमा लगाउँदा पनि किन धान–चामल आयात दिनानुदिन बढिरहेको छ भनी आमनेपाली र नीतिनिर्माताहरूमा कौतूहल हुनु स्वाभाविक हो । नेपालमा धानको औसत उत्पादकत्व विश्वमै निकै कम (३.५ टन प्रतिहेक्टर) छ । विश्व खाद्य तथा कृषि संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रह्यो । सबभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व ७.० टन प्रतिहेक्टर छ । बंगलादेशको ४.७ टन प्रतिहेक्टर, भुटानको ४.३ टन प्रतिहेक्टर, भारतको ३.९ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुवैको समान ३.८ टन प्रतिहेक्टर छ ।

२०२८ सालमा नेपालको जनसंख्या १ करोड १५ लाख थियो, जुन हाल दोब्बरभन्दा निकै बढी भइसकेको छ । यसकारण प्रतिव्यक्ति चामलको खपत पनि बढिरहेकै छ । वैदेशिक रोजगारीका कारण आम्दानीसँगै मसिनो तथा बास्नादार चामल खाने प्रवृत्ति बढेको छ । बढ्दो सहरीकरणका कारण र भू–उपयोग नीतिलाई दह्रोसँग कार्यान्वयन गर्न नसक्दा खेतीयोग्य जमिनको खण्डीकरण तथा घडेरीकरण दिनानुदिन बढिरहेको छ । युवाहरूको खेतीप्रति विरक्ति, पढेकाले हलो छोड्ने र कमाएकाले थलो छाड्ने प्रवृत्ति, गुणस्तरीय मल–बीउको कमी, सिँचाइ सुविधाको अभाव, जलवायु परिवर्तनको नकारात्मक असर, भण्डारणको अप्राप्यता, श्रम अभावका कारण लागत वृद्धि, मागअनुसार धान–चामलको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु जस्ता कारणले धान–चामल आयात बढ्दै गएको हो । यसपालि ‘धान उत्पादनमा वृद्धि ः आत्मनिर्भर र समृद्धि’ नारासहित धान दिवस मनाइरहँदा नीतिनिर्माण तहदेखि स्थानीय निकाय र आम जनतासम्मको ध्यान उत्पादन र उत्पादकत्व बढाउन खेल्नुपर्ने प्राविधिक पक्षतिर पनि पुग्न जरुरी छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म नेपालमा ८५ वटा धानका जातको विकास तथा सिफारिस गरेको छ । चैते धानका लागि चैते–५, चैते–२, हर्दिनाथ–१, हर्दिनाथ–३; वर्षे धानका लागि खुमल–४, खुमल–६, खुमल–१०, सावित्री, राधा–४, राधा–१४, तरहरा–१, रामधान; बास्नादार धानका लागि लल्का बासमती, सुगन्धित धान–१, सुनौलो सुगन्धा, सुधारिएको जेठो बुढो; सुक्खा सहने जातहरूमा सुक्खा धान–१, सुक्खा धान–२, सुक्खा धान–३, सुक्खा धान–४, सुक्खा धान–५; बाढीग्रस्त क्षेत्रका लागि साँवामन्सुली सब–१, स्वर्ण सब–१, सेहराङ सब–१ तथा सुक्खा र बाढी दुवैका लागि उपयोगी बहुगुणी धान–१, बहुगुणी धान–२ र सुक्खा धान–६ सिफारिस गरिएका छन् । यसै गरी पौष्टिक तथा औषधीय गुण भएको ‘कालो चामल’ भन्ने जात पनि सन् २०१८ मा सिफारिस भएको छ । उच्च पहाडका लागि छोम्रोङ स्थानीय, माछापुच्छ्रे–३, चन्दननाथ–१ र ३ तथा लेकाली–१ र ३ छन् । नार्कले हर्दिनाथ हाइब्रिड धान–१ र हर्दिनाथ हाइब्रिड धान–३ पनि हाल सालै सिफारिस गरेको छ, जसको उत्पादकत्व क्रमशः ७.८ टन प्रतिहेक्टर र ७.० टन प्रतिहेक्टर छ । हिउँदे सिजनका लागि हर्दिनाथ बोरो धान–१ सिफारिस गरिएको छ । केही प्रचलित स्थानीय जातहरूमा आंगा, अनदी, एक्ले, करियाकामर, गुडुरा, झिनुवा कृष्णभोग, मनसरा, पहेंले, बोराङ धान, हंसराज, सौउठारी, जुम्ली मार्सी, जोरायल बासमती, तिल्की आदि स्थानविशेषअनुसार लगाइँदै आएका छन् । स्थानीय जातहरू संरक्षणका निम्ति नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा २,३०० थरीका जातलाई दीर्घकालीन रूपमा भण्डारण गरिएको छ । रोग, कीरा, चरा, मुसा, घुन, पुतलीबाट औसत १५–२० प्रतिशतसम्म उत्पादन नोक्सानी हुने भएकाले यसबारेको सचेतना पनि नितान्त आवश्यक छ । यसबाहेक चैते धानको क्षेत्र विस्तार, कृषि यान्त्रिकीकरण र सन्तुलित मलखादको प्रयोगमा पनि उचित ध्यान दिनु जरुरी छ ।

अन्त्यमा, जमिनको खण्डीकरण र घडेरीकरणले व्यावसायिकता र बाली विस्तारमा नकारात्मक असर पुर्‍याएको छ । भूमि बैंकको अवधारणा आएको छ, जसको कार्यान्वयन पक्ष हेर्न बाँकी नै छ । वैज्ञानिक भू–उपयोग नीति लागू गर्न सकिएको छैन । धानबाट चामल बनाउँदा पोलिसिङ धेरै गरिन्छ । यसले गर्दा चामलको पौष्टिकता क्षीण हुनुका साथै चामलको उत्पादनमा पनि ७ प्रतिशतजति कमी आउँछ । यावत् विषयमा सुधारका लागि सरोकारवालाहरूको ध्यान पुगे मात्र राष्ट्रिय धान दिवस (असार १५) ले सार्थकता पाउन सक्छ ।

केसी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक हुन् । प्रकाशित : असार १५, २०७७ ०८:५५

प्रतिक्रिया
पठाउनुहोस्

यसपालि छिट्टै रोपाइँ

समयमै मनसुन सुरु भएकाले उत्पादन बढ्ने आशामा रहेका किसान मल नपाउँदा चिन्तामा छन्
प्रदेश ब्युरो

बुटवल — बाँकेको जानकी गाउँपालिका–६ गहनापुरका रामसागर भाट गत बुधबार रोपाइँमा व्यस्त थिए । उनले वर्षा नभएको बेलालाई भनेर एक कट्ठा जमिनमा खनेको खाल्डोमा आकासे पानी जम्मा गरेका छन् । त्यसैले खेत हिल्याएर रोपाइँ गरिरहेका थिए । यसरी सञ्चित पानीले उनले रोपाइँ पूरा गर्छन् । सँधियारलाई आवश्यक परे त्यहींबाट दिन्छन् । ‘जमिन हुनेले यसरी पानी सञ्चय गर्छन्,’ उनले भने, ‘नहुनेलाई समस्या छ ।’

जानकी–६ का भोलाराज मिश्रलाई यस वर्ष सिँचाइको भन्दा मल अभावले सताएको छ । सधैं मल हालेर रोपाइँ गर्थे । यसपालि बिनामल रोपाइँ गरे । प्राय: किसानले मलबिनै रोपाइँ गरेको उनले बताए । सहकारीमा मल नहुँदा सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँथे । यसपालि त्यो पनि सम्भव भएन । स्थानीय तहले मल व्यवस्थापनमा चासो नदिँदा किसान निराश छन् । मिश्रको आठ कट्ठा खेत छ । उनी प्रत्येक वर्ष ‘३१२’ नामक धान लगाउँछन् । कम जमिनमा धेरै फल्ने भएकाले यो जातको धान रोजेको उनले बताए । ‘गाउँपालिकाले नाम मात्रैको बीउ ल्याउँछ,’ उनले भने, ‘उत्पादन बढी हुने धानको बीउ ल्याउँदै ल्याउँदैन ।’

यस वर्ष अघिल्ला वर्षको तुलनामा दुई साताअघि रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । सिँचाइ समस्या र रासायनिक मल अभावले किसान चिन्तित रहेको उनले सुनाए । गाँज हाल्ने बेलासम्म मल प्रयोग गरे उत्पादनमा कमी नआउने उनले बताए ।

पश्चिम नवलपरासी धान उत्पादनमा अग्रणी मानिन्छ । असार दोस्रो सातासम्म रोपाइँ धमाधम छ । सरावल गाउँपालिका–२ का रामानन्द गुप्ताले दुई बिघा खेतमा धान खेती गर्छन् । उन्नत जातको धान रोपेर धेरै उत्पादन गर्छन् । धान बेचेर वर्षभरिको खर्च धान्छन् । यसपालि लकडाउनले उन्नत जातको बीउ पाएनन् । ‘रैथाने धान खेतीले मजदुरको खर्च पनि उठ्दैन,’ उनले भने, ‘मलबीउ नपाएपछि कसरी खेती गर्नु ?’ जिल्लामा २८ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ ।

रूपन्देहीको तिलोत्तमाका शिव चौधरीले लकडाउनका कारण रोपाइँ प्रभावित भएको बताए । ट्रयाक्टर, मल र बीउ समयमा नपाएपछि रोपाइँ ढिलो सकिएको उनको भनाइ छ । लकडाउनका कारण मजदुर नपाएकाले दु:ख बढेको उनले सुनाए । पहिले नै राखेको ब्याडमा बीउ सुकेर समस्या हुने हो कि भन्ने चिन्ता गर्दागर्दै सकिएको उनले सुनाए । यस पटक प्रशस्त वर्षा भएकाले पानीको समस्या नभएको उनले बताए । रूपन्देहीमा ८० हजार १ सय २२ हेक्टर जमिनमा धान खेती गरिन्छ । प्रदेशका तराईका ६ जिल्लामा कोरोना संक्रमित धेरै छन् । संक्रमणको बेवास्ता गर्दै किसान रोपाइँमा व्यस्त देखिन्छन् । समयमै वर्षा भएकाले उत्साहित पनि छन् । तर आवश्यक मल र बीउ उपलब्ध नहुँदा निराशा व्यक्त गर्छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ बाँसखोरकी वसन्त माली यस वर्ष असार १५ अगावै रोपाइँ सकिने भएपछि खुसी छन् । ‘सधैं साउनमा सकिन्थ्यो,’ उनले भने, ‘यस पटक कोरोनाका कारण पनि छिट्टै रोपाइँ भइरहेको छ ।’ जिल्लामा संक्रमण उच्च रहेका बेला उनले जेठ पहिलो साता बीउ छरेका थिए । तीन सातामा तयार भयो । जेठ अन्तिममा रोपाइँ सुरु गरे । अहिले आठ बिघाभन्दा बढी खेत रोपेर सक्नै लागेको उनले बताए । यसपालि गाउँमै खेताला पाइए । कपिलवस्तु नगरपालिका–९ बन्डीहुलीका अब्दुल रसिद खाँको पनि पाँच बिघाभन्दा बढी खेत रोपेर सकिन थाल्यो । ‘महामारीले फुर्सद थियो,’ उनले भने, ‘बीउ राखिहालें । समयमै वर्षा भयो । बीउ हलक्क बढ्यो । स्थानीय मजदुर पाइएपछि धमाधम रोपाइँ थालेको उनले बताए ।

भाइरस संक्रमणका बेला फुर्सदिला भएका किसानले समयमै बीउ छरे । वर्षा पनि निरन्तर भयो । मौसमले पनि साथ दियो । संक्रमणको डरले घरमा बस्दाबस्दा हैरान भएका किसान खेतमा व्यस्त हुन थालेका छन् । ‘मन भुलाउन खेतका आली चहार्न थालियो,’ मायादेवी गाउँपालिका बिजुवाका कृष्णनारायण तिवारीले भने, ‘रोपाइँको माहोल छ ।’ अहिले यहाँ रोपाइँको माचो छ । किसान खेतखेतमा छन् । जिल्लाको उत्तरी क्षेत्रमा बढी रोपाइँ भएको छ भने दक्षिणतर्फ सुरु हुँदै छ । जिल्लामा अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत वासुदेव पौडेलले बताए । यस वर्षको रोपाइँ गत वर्षको भन्दा अगाडि भइरहेको छ । अहिलेकै गतिमा रोपाइँ भए साउन पहिलो सातामा सकिन्छ ।

‘पानी परिरहेकाले किसान रोपाइँको चटारोमा छन्,’ कपिलवस्तु नगरपालिका–४ मलपरवाका कृषक खैरुल्ला मुसलमानले भने, ‘छिटो रोपाइँ गरेकाले रोग/कीरा लागेन भने उत्पादन बढ्छ ।’ जिल्लामा ८२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ७१ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । यहाँ राधा ४, सावित्री, राम, साभा सव वन र सम्पूर्णलगायत धानका जात रोपिएका छन् ।

सन्जु पौडेल (तिलोत्तमा), मनोज पौडेल (कपिलवस्तु), नवीन पौडेल (परासी), मधु शाही (बाँके)

मल र मजदुर नहुँदा पनि ५० प्रतिशत रोपाइँ


धनगढी– सयममा मनसुनी वर्षा सुरु भएकाले किसानले मल र मजदुर अभावबीच पनि रोपाइँ सुरु गरेका छन । कैलालीमा ५० प्रतिशत रोपाइँ सकिएको छ । कोभिड–१९ का डरले मजदुर नपाए पनि जसोतसो रोपाइँ गरिरहेका धनगढी बेलाका खुसीराम चौधरीले बताए । ‘मल पनि पूरै खेतका लागि पाएनौं,’ उनले भने । परिवारका सदस्यबाटै तीन बिघा जग्गा रोपाइँ सकेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा रोपाइँका बेला ४०/५० जना मजदुर धान रोप्न लगाउने गरेका उनले यसपालि परिवारबाटै काम चलाए । ‘मजदुरलाई रोपाइँमा सहभागी गराउँदा आफूलाई पनि कोरोना सर्ने डर भयो,’ उनले भने । कैलाली थापापुरका गंगा चौधरीले पनि किसानले मल अभावमा रोपाइँ गर्नुपरेको गुनासो गरे । ‘किसानले कहिल्यै पर्याप्त मल पाएनन्,’ उनले भने, ‘यसपालि त ५० बोरी मल प्रयोग गर्ने किसानले आधा पनि पाएनन् ।’

समयमा किसानलाई पर्याप्त मल पुर्‍याउन नसकेको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश प्रमुख नवलसिंह बोगटीले स्विकारे । कैलालीमा धान खेतीका लागि ४ हजार डीएपी र ५ हजार मेट्रिक टन युरिया चाहिन्छ । त्यसमध्ये युरिया २ हजार ५ सय ९० र डीएपी २ हजार २५ मेट्रिक टन मात्रै उपलब्ध गराउन सकिएको उनले बताए । पछिल्लो समय ४ सय मेट्रिक टन डीएपी भैरहवाबाट आएको उनले जानकारी दिए ।

वाग्मतीमा २३ प्रतिशत रोपाइँ

हेटौंडा – वाग्मती प्रदेशमा आइतबारसम्म २३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष भने सोही अवधिमा १० प्रतिशत मात्र रोपाइँ सकिएको थियो । मनसुन छिट्टै सुरु भएकाले रोपाइँ पनि छिटै भएको वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रवीन्द्रकुमार प्रधानले जानकारी दिए ।

वाग्मतीका १३ जिल्लामध्ये सिन्धुलीमा वर्षा नभएकाले रोपाइँ हुन सकेको छैन । ‘सिन्धुलीमा पानी नपरेकाले रोपाइँ हुन सकेन,’ उनले भने । भक्तपुर र ललितपुरमा आइतबारसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ । यसैगरी नुवाकोटमा ७, रामेछापमा १०, धादिङमा ११, मकवानपुरमा १५ र चितवनमा २० प्रतिशत मात्र रोपाइँ सकिएको प्रधानले बताए । यसैगरी रसुवामा २०, दोलखामा ३०, काभ्रेमा ३० र काठमाडौंमा ७० प्रतिशत रोपाइँ सकिएको छ । वाग्मतीका १३ जिल्लामा एक लाख ३० हजार ९८ हेक्टरमा धान खेती गरिन्छ ।

प्रकाशित : असार १५, २०७७ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×