कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सामाजिक दूरी

बाहिरको बेन्चमा बसेका दुई जनालाई पसलेले भन्यो, ‘आफूले चिया खाएको गिलास पखालेर राखिदिनोस् है !’
शरच्चन्द्र वस्ती

‘के हो यो, साहूजी ?’ डाक्टर हच्केर एक पाइला पछि सरे ।
तीन महीनापछि पहिलोपल्ट मर्निङ वाकमा निस्केका डाक्टर साहूको पारा देखेर छक्क परेका थिए ।

सामाजिक दूरी

साहूको हातमा कपडा नाप्ने दुइटा ‘गज’ जोडेर बनाइएको छ फुट लामो फलामे घोचो थियो । अगाडि–पछाडि, दायाँ–बायाँ त्यही घोचो तेर्स्याउँदै हिंडिरहेका थिए र कसैलाई छेउ पर्न दिएका थिएनन् । पुरानो चिनजान भएकाले ‘तारेमाम साहूजी’ भन्दै हात मिलाउन फुर्तीसाथ अघि बढ्न खोज्दा डाक्टरलाई पनि झट्ट त्यही घोचो तेर्स्याएर चार हात परै स्तम्भित गरिदिएका थिए । धन्न डाक्टर झ्याप्पै रोकिए, नत्र फलामे घोचाले उनको करङसँग भेटवार्ता गरिसकेको हुन्थ्यो ।

‘सामाजिक दूरी कायम गरेको, डाक्टरसाब ! ’ साहूले जवाफ दिए, ‘कोरोनाबाट बच्न अरूभन्दा छ फुट टाढा बस्नू भनेको होइन ? त्यही गर्दैछु ।’

‘कपडा नाप्ने गज नै बोक्नुभएछ त ?’

‘सानो कपडापसल थियो, तीन महीनादेखि बन्द छ । कहिले खुल्ने हो, थाहा छैन । पसलै नखुलेपछि के काम यस्ता गजको ?’ साहूले भने, ‘दुइटा जोड्दा ठ्याक्कै छ फुट हुन्छ । चाहिने जति दूरीमा बस्न बडा सजिलो भएको छ— न घटी न बढी ।’

सामाजिक दूरी कायम गर्न भनेर सबै जना यसैगरी हिंड्न थाले भने के होला ? शहर–बजारको र अझ आफ्नै अस्पतालको सम्भावित दृश्य सम्झेर डाक्टरलाई जोडले हाँसो उठ्यो । त्यसलाई बलपूर्वक रोकेर शिष्टाचारवश उनले भने, ‘राम्रै गर्नुभएछ । छ फुटको दूरी सबैले कायम गर्नुपर्छ ।’

‘त्यसो भए म एउटा कुरा सोधूँ है, डाक्टरसाब ?’

‘सोध्नोस् न !’

‘तपाईं छ फुट टाढाबाट बिरामीलाई सूई चाहिं कसरी लगाउनुहुन्छ ?’

नजीकै उभिएर उनीहरूका कुरा सुनिरहेका चार जना गलल्ल हाँसे । डाक्टरसँग प्रश्नको सरल उत्तर थिएन । उनले भने, ‘हाम्रो तरीका बेग्लै हुन्छ । कुनै दिन तपाईंलाई अस्पताल लगेर देखाउँला ।’

‘सामाजिक दूरीको पनि के कुरा गर्नु ?’ एक जनाले कुरा उठाए, ‘अस्ति मेरा काकाकाकीलाई विराटनगर नगई नहुने भयो । सरकारले निजी गाडीमा तीन जना चढ्न हुन्छ भनेकाले एउटा कार रिजर्भ गर्नुभयो । झोला–झ्याम्टा गाडीमा हालियो । ड्राइभर बसेपछि फित्ता लगाएर नापेको त, जुन कुनामा जति चेप्टिएर बसे पनि छ फुटको दूरी कायम हुँदो रहेनछ । बर्बादै भो नि !’

डाक्टरलाई लाग्यो, एम्बुलेन्सको हालत पनि उस्तै हो । तर उनी बोलेनन् । अर्काले भने, ‘अनि उहाँहरू कसरी जानुभो त ?’

‘केही नलागेपछि एउटा ट्रक रिजर्भ गर्‍यौं र ट्रकको पछाडि पर्याप्त दूरी कायम गरेर दुइटा कुर्सी बाँधिदियौं । तिनैमा बसेर जानुभो । विराटनगर पुग्दा बिरामी भैसक्नुभएको थियो अरे ।’

यसपालि कोही हाँसेन । साहूले ‘तपाईंहरू कुरा गर्दै गर्नोस्, म जान्छु है’ भने र दृष्टिविहीनले सेतो छडी चलाएझैं आफ्नो घोचो दायाँबायाँ तेर्स्याउँदै हिंडे । नजीकै पार्क थियो । डाक्टरसँगै चारै जना पार्कमा पसे र चउरमा बसेर गफ गर्न थाले । यत्रो दिनसम्म अस्पतालमा काम गर्दा कल्पनै नगरेका कुरा देख्न–सुन्न पाउँदा डाक्टरलाई रमाइलो लागिरहेको थियो ।

‘सामाजिक दूरी त ठीकै हो, तर यो बीचबीचमा हात धोइराख्नुपर्ने नियम चाहिं यातना नै हो,’ आफ्ना नारी सुम्सुम्याउँदै एक जना प्रौढले भने ।

‘के भएको यो ?’ उनका दुवै नारीमा एकनासका नीला डाम देखेर डाक्टरलाई अचम्म लाग्यो ।

‘के हुनु नि ?’ सँगै बसेकी पत्नीतर्फ औंल्याउँदै उनले भने, ‘यिनले रातभरि मेरा दुइटै हात डोरीले टुइँक्याएर बाँधिदिन्छिन् । त्यसैको परिणाम हो ।’

किन नि ?’ डाक्टरको उत्सुकता चरम सीमामा पुग्यो ।

‘तिमी नै भनिदेऊ अब । डाक्टरसँग के लुकाउनु ?’ उनले पत्नीलाई प्रेरित गरे । पत्नीले भनिन्, ‘हामीले दुई–दुई घण्टामा साबुन लगाएर हात धुने नियम बनाएका छौं । त्यसबीच कुनै कुरा छोइयो भने स्यानिटाइजर लगाउँछौं । दिनभरि त ठीकै हुन्छ, राति चाहिं उहाँ अल्छी गर्नुहुन्छ । म घडीमा अलार्म लगाउँछु र दुई–दुई घण्टामा उठेर हात धुन्छु । उहाँ भने निदाएपछि रातभरि उठ्नै मान्नुहुन्न । हार खाएर मैले उहाँको हात बाँधिदिन थालेकी छु । बिहान उठेपछि खोलिदिन्छु र सीधै बाथरूम गएर हात धुन लगाउँछु । कोरोनाबाट बच्न यति त गर्नैपर्‍यो नि, होइन डाक्टरसाब ?’

डाक्टरले सुनी मात्र रहे, केही बोलेनन् । पतिदेवले नै कुरा अघि बढाए, ‘जे पनि जहिले पनि धुने रोगले पागल बनाउला जस्तो भैसक्यो । म मात्र हो र, छोराछोरी पनि उत्तिकै पीडित छन् । भात खाँदाखाँदै टेबुल छोइयो भने खान छोडेर हात धुन जानुपर्छ । टाउको कन्यायो भने स्यानिटाइजर लगाउनुपर्छ । कर्डलेस, मोबाइल, टीभी, कम्प्युटर, रिमोट कन्ट्रोल चार–चार घण्टामा सफा गरिराख्नुपर्छ । हरेक पटक साबुनपानीले नधोएसम्म स्कूटर, मोटरसाइकल चढ्न पाइँदैन ।’

‘त्यो त के भो र ? मकहाँ त खाने कुरा पनि पखालेर पो आपत । हरिया मकै त पखाल्थे पखाल्थे, अस्ति जेरी ल्याइदिएको, त्यो पनि तातो पानीले पखालेछन्,’ एक जनाले भने र हाँसोको लहर उठ्यो ।

हाँसोले पतिदेवको कुरा रोकिएन । उनी भन्दैगए, ‘अरू त अरू, पैसा पनि धोएर सुकाउनुपर्ने । हिजो छतमा सुकाएर मोबाइल हेर्न थालिछन्, हावाले सारा नोट उडाएर बाटोमा पुर्‍याइदिएछ । बटुवाहरूमा हारालुछ ! ’

‘धुनु त पर्छ नि । नोट कस्तो हुन्छ, थाहा छ ? भएभरका सरुवा रोगी, जँड्याहा, मगन्ते, फोहोरी, कवाडी, कुचिकार, बगरे, ढलवाला, चर्पीवाला, मसानवाला सबको हातमा पर्दै आएको हुन्छ । पैसा गन्ने निहुँमा साराले त्यसमा आफ्नो थूक र र्‍याल लगाएर पठाएका हुन्छन् । त्यस्तो फोहोरी जिनिसलाई नधोइकन कसरी घरमा राख्नु ?’ पत्नीले दपेटिन्, ‘कोरोना चम्केको वेला मात्र होइन, सधैं धुनुपर्छ !’

डाक्टर उनको समर्थनमा मुन्टो हल्लाउन थाले । उनलाई आफ्नो पर्समा भएको पैसा र पैसा राखेको पर्ससँग दिगमिग लाग्न थालेको थियो ।

‘ठीक भन्यौ नानी, रुपियाँ पैसा भनेको पापको घर हो । यसको मोहमा नपरेकै जाती,’ नजीकै उभिएर उनीहरूका कुरा सुनिरहेका जोगीले आफ्नो ट्वाक अघि सार्दै ठट्यौली भाकामा भने, ‘लु सबैले आफ्नो पाप अलिअलि यसमा विसर्जन गरौं त ! ’

सबै जना हाँस्तै उठे र आआफ्नो बाटो लागे । जाँदाजाँदै दुई जनाले उनको ट्वाकमा पाँच–पाँच रुपैयाँ हालिदिए ।

डाक्टरलाई चियाको तलतल लागेको थियो । बाटोछेउ एउटा चियापसल खुला रहेछ । उनी त्यहाँ छिरे र कुर्सीमा विराजमान भएर चिया मगाए । त्यही वेला बाहिरको बेन्चमा बसेका दुई जनालाई पसलेले नरम स्वरमा भन्यो, ‘आफूले खाएको गिलास पखालेर ऊ त्यहाँ राखिदिनोस् है ! आजभोलि यस्तै छ ।’

‘के हो यो ?’ कुरा नबुझेर डाक्टरले सोधे ।

‘सामाजिक दूरी कायम गरेको सर !’ पसलेले संक्षिप्त जवाफ दियो ।

‘के भन्नुभएको ? कस्तो सामाजिक दूरी ?’ डाक्टर जिल्ल परे ।

‘हेर्नोस्, तीन महीना अघिसम्म यस्तो थिएन । सबैलाई एकै ठाउँमा राखेर चिया दिन्थें । तर कोरोना आएपछि डाक्टरहरूले सामाजिक दूरी कायम गर भन्न थाले,’ भित्तामा टाँसिएको पोस्टर देखाउँदै पसलेले भन्यो, ‘सरकारले पनि कोरोनाबाट बच्न सामाजिक दूरी कायम गरौं भन्न थाल्यो । त्यही भएर यिनीहरूलाई पर राख्न थालेको । मन त लाग्दैन तर के गर्नु ? कोरोनाबाट बच्नैपर्‍यो ।’

डाक्टर स्तब्ध भए । र, किञ्चित् आवेशमा आएर भने, ‘त्यो त खालि छ फुटको भौतिक दूरी कायम गर्ने पो भनेको, सामाजिक भेदभाव कायम गर्ने भनेको हो र ?’

‘मूर्ख नबनाउनोस् सर, शब्दको अर्थ त हामी पनि बुझ्छौं नि,’ पसलेले भन्यो, ‘छ फुटको दूरी मात्र भन्न खोजेको भए त्यही भनिहाल्थे नि, किन सामाजिक दूरी भन्नुपर्थ्यो ? भौतिक दूरी के हो र के गर्दा सामाजिक दूरी कायम हुन्छ भन्ने हामीलाई थाहा छैन र ?’

‘तपाईंको बुझाइ मिलेन भाइ, म पनि डाक्टर हुँ,’ डाक्टरले सम्झाउन खोजे ।

‘त्यसो भए जानोस्, शब्दकोशहरूमा गएर सामाजिक शब्दको अर्थ परिवर्तन गर्नोस् । सक्नुहुन्न भने सरकारलाई गएर भन्नोस् र शब्द फेरेर अर्को पोस्टर निकाल्न लगाउनोस्,’ पसलेले कुरा टुंग्यायो ।

डाक्टर दुःखी मनले घर फर्के र खाना नै नखाई लुगा फेरेर मन्त्रालयतिर लागे । उनलाई विश्वास थियो— मन्त्रीलाई भेटेर कुरा बुझाएपछि जे भन्न खोजिएको हो त्यही अर्थ लाग्ने पोस्टर सरकारले अवश्य निकाल्नेछ ।

प्रकाशित : असार १३, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?