कोरोना : बुझाउन नसकिएको रोग

शेरबहादुर पुन

समाजमा अझै पनि कोरोनाबारे भ्रम, अविश्वास र त्रास व्याप्त छ । केही दिनअघिकै प्रसंगलाई लिऔं । कोरोना निको भई गाउँ फर्किएका व्यक्ति पानी लिन गाएको ठाउँमा करेन्ट प्रवाह गरिदिँदा दुःखद घटना हुन पुग्यो । उपचारपछि पनि व्यक्तिले कोरोना फैलाउन सक्ने भ्रमका कारण यस्तो हुन पुगेको थियो ।

कोरोना : बुझाउन नसकिएको रोग

काठमाडौंकै एक टोलमा कोरोनामुक्त भइसकेका व्यक्तिलाई अरूले छुवाछुतको व्यवहार गरिदिँदा मानसिक तनाब सिर्जना भई उनले घर नै सर्नुपर्‍यो । यस्ता अरू पनि थुप्रै घटना ठाउँठाउँमा भइरहेका छन् । यसले समाजमा कोरोनासम्बन्धमा रहेका भ्रमहरूबारे अझै पर्याप्त सम्बोधन भइनसकेको देखाउँछ ।

केही महिनाअघि संक्रमणमुक्त भएको भनी डिस्चार्ज गरिएका केहीमा पीसीआर गर्दा फेरि पोजिटिभ देखिएपछि ठूलो हलचल मच्चियो । त्रासको वातावरण सिर्जना गर्‍यो । यस्तै प्रकृतिका घटना चीन, कोरिया र जापानमा पनि भएका थिए । बहस बढ्दै गएपछि स्वयम् विश्व स्वास्थ्य संगठनले यसको अध्ययन गर्ने भनेको थियो । यसैबीच यस्ता घटनालाई लिएर गरिएका अनुसन्धानका नतिजा सार्वजनिक हुन थाले । जसले उपचारपछि पीसीआरमा कोरोना पोजिटिभ देखिए पनि त्यो निष्क्रिय भाइरसको अवशेष मात्र रहेको निष्कर्ष निकाले । यस्ता व्यक्तिबाट अरूमा कोरोना संक्रमण हुन नसक्ने अनुसन्धाताहरूको निचोड थियो । यसैलाई आधार मानेर नेपालमा पनि विज्ञहरूले यस्तो अवस्थामा कोही त्रस्त हुन नपर्ने धारणा राख्दै आएका छन् । यद्यपि समुदायलाई पूर्ण रूपमा विश्वस्त पार्न अझै कसरत गर्नुपर्ने देखिन्छ ।

हाल लकडाउन खुकुलो हुनुका साथै केही कार्यालय सुचारु हुँदै छन् । धेरै मानिस काठमाडौं आउने क्रम बढ्दै छ । काठमाडौं पुगेलगत्तै घरबेटी र कार्यालयहरूले घर प्रवेश गर्न वा कार्यालय हाजिर हुन पीसीआर रिपोर्ट अनिवार्य गरिदिएका छन् । घर सर्दा, अस्पतालको बसाइबाट फर्कंदा वा सार्वजनिक स्थानमा आवतजावत गरेको अवस्थामा पनि घरबेटीले पीसीआर रिपोर्ट ल्याउन दबाब दिने गरेका छन् । कतिपयले रिपोर्ट देखाउन नसक्दा तीन–चार दिनदेखि घर पस्न नपाएको गुनासोसमेत पोख्ने गरेका छन् ।

यसले विशेष गरी पीसीआरपीडित र स्वास्थ्यकर्मीबीच असहजताको वातावरण सिर्जना हुँदै गइरहेको छ । लेखक स्वयम्ले पनि यस्तो अवस्थामा उनीहरूलाई परामर्श दिँदै आइरहेको छ । केही समयअघि प्रकाशित राष्ट्रिय परीक्षण निर्देशिकामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण नदेखिए पीसीआर नगर्नू/नगराउनू भनिएको छ । तर स्वास्थ्य मन्त्रालयबाट प्रकाशित निर्देशिकाबारे धेरै सर्वसाधारण अनभिज्ञ रहेको राति दुई–तीन बजेबाटै टिकटका लागि लाम लागेकाहरूबाटै अनुमान गर्न सकिन्छ । लकडाउन खुकुलो भएसँगै अस्पतालमा मान्छेको भीड नै लाग्ने गरेको छ । यसले काठमाडौं भित्रिने नाकाबाट यात्रुहरू सहजै ओहोरदोहोर गरिरहेको संकेत गर्छ । अस्पतालमा विशेष गरी ससाना बच्चासँगै आउने महिलाहरू बढी कष्टमा परेका छन् ।

घरबेटी वा कार्यालयबाट मात्र होइन, वडाबाटसमेत पीसीआर गर्न अनुरोध गरिएका पत्रहरू आउने गरेका छन् । यहाँ सरकारी निकायबीच नै समन्वयको अभाव देखिन्छ । मन्त्रालय र स्थानीय तह एकै सरकारअन्तर्गत भए पनि यी दुईले दिने फरक–फरक निर्देशनका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यो विषय कसले कसलाई कसरी बुझाउने भन्ने प्रस्ट देखिँदैन ।

लकडाउन खुकुलो हुँदा र कार्यालय खुल्दै जाँदा यस्तो समस्या आउन सक्ने अनुमान नगर्दा नागरिकले सास्ती पाएको देखिन्छ । हरेकले एकअर्कालाई कोरोना भएको शंका गर्ने अवस्था निम्तिनु पनि यसको कारण हुन सक्छ । निर्देशिकाले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले त्यसलाई प्रकाशित गर्नुअघि व्यापक प्रचार–प्रसार गर्नुपर्ने रहेछ भन्ने यो भद्रगोल अवस्थाले देखाउँछ । त्यस्तै काठमाडौंबाहिर जाँदा होस् वा विदेश, पीसीआर रिपोर्ट चाहियो भन्दै आउनेहरू पनि छन् । सरकारले आफ्नै पैसामा पीसीआर गर्न चाहनेका लागि अस्पताल तोकिदिएको छ तर धेरै जनालाई यसबारे जानकारी छैन ।

लकडाउनमा धेरैले आत्महत्या गरेका समाचार पनि सार्वजनिक भएका छन् । कोरोनाभन्दा पनि आत्महत्याका कारणले दसौं गुणा बढीको मृत्यु भएको तथ्यांकले देखाउँछ । यसमा क्वारेन्टिनमा बसेका व्यक्ति र कोरोना संक्रमित पनि पर्छन् । कतिपय भने क्वारेन्टिनबाट भाग्ने गरेका छन् । क्वारेन्टिनमा यस्ता घटना हुनुको मुख्य कारण संक्रमणपछि मृत्यु भइहाल्छ भन्ने गलत बुझाइ, समाजले देखाउने नकारात्मक दृष्टिकोण हो भन्दा अत्युक्ति नहोला । यसको अर्थ सम्बन्धित निकाय र विज्ञहरूले सर्वसाधारणमा कोरोनासम्बन्धमा रहेका तथ्य बुझाउन अझै पुगेको छैन ।

कोरोना भाइरस पहिचान गर्ने र बच्ने उपायबारे गएको तीन महिनामा विभिन्न कार्यक्रम र माध्यमहरूबाट प्रशस्त जानकारी गराइँदै त आइयो । तर, समाजमा देखिने यस्ता नयाँ चुनौतीलाई लक्ष्यित गर्दै जनचेतना जगाउन भने पछि परेको प्रस्टै देखिन्छ ।

सरोकारवाला निकाय र विज्ञहरूबीच पीसीआर टेस्ट, क्वारेन्टिन विस्तार र व्यवस्थापन, अस्पताल बेड, आईसीयू र भेन्टिलेटरबारे तर्कवितर्क हुँदै गर्दा समाजमा देखिएका यस्ता भ्रम, त्रास, अविश्वासको वातावरण भुसको आगोसरि फैलिइरहेको बारे भने लगभग सबै अनभिज्ञजस्तो देखिन्छ । यो हाम्रो समाजमा देखिएको यथार्थ हो । पहिलो कोभिड–१९ को केस नेपालमा पुष्टि भएसँगै विशेष गरी यसका लक्षण र बच्ने उपायबारे धेरै बहस र छलफल भए । तर, यो पंक्तिकारले माथि उल्लिखित घटनालाई नजिकबाट देखेको, भोगेको र अनुभव गरेका आधारमा विश्लेषण गर्दा कोरोनाबारे समाजमा अझै बुझाउन अझ धेरै बाँकी रहेको देखिन्छ ।

यसका लागि नेपाल सरकार, जनस्वास्थ्यकर्मी, स्वयंसेवक र सेविका, स्थानीय जनप्रतिनिधि एक हुनुपर्छ । सबै मिलेर समाजमा देखिने यस्ता नयाँनयाँ चुनौतीलाई लक्षित गरी अभियानकै रूपमा सर्वसाधारणलाई बुझाउनु, विश्वस्त पार्नुको विकल्प देखिँदैन ।

प्रकाशित : असार ११, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?