अनि अंगुरबाबाका आँखा टिलपिलाए

श्रद्धाञ्जलि अंगुरबाबा जोशी ! 
हरि अधिकारी

शिक्षाक्षेत्रकी एक सुपरिचित अगुवा अंगुरबाबा जोशी ८८ वर्षको परिपक्व उमेरमा गत हप्ता ब्रह्मलीन भएकी छिन्  ।

उनी पुरुष जातिको एकछत्र दबदबा भएको हाम्रो जस्तो पुरातनपन्थी समाजमा त्यस्तो एक विरल नारी व्यक्तित्व थिइन् जसले आफूले मात्र उच्च शिक्षा प्राप्त गरेको होइन, एउटा विशाल शैक्षिक संस्थाको सञ्चालकका रूपमा लामो समय काम गरेर हजारौं–हजार नेपाली चेलीलाई शिक्षित बनाउने अभियानको नेतृत्वसमेत गरेकी थिइन् । बेलायतको विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर आएकी, प्रसिद्ध वैज्ञानिक डाक्टर बलराम जोशीकी पत्नी अंगुरबाबाले त्यसपछि २ दशकभन्दा बढी समय पद्मकन्या कलेज, काठमाडौंको प्राचार्यको पद बडो कुशलताका साथ सम्हालेकी थिइन् ।

पद्मकन्या कलेज अक्सफोर्ड रिटर्न्ड युवा विदुषी अंगुरबाबा जोशीले देखेको एउटा महान् सपना थियो । शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको यस देशमा स्त्रीहरूका लागि मात्र एउटा छुट्टै कलेज खोलेर त्यसलाई नारी–शिक्षाको एक बृहत् केन्द्रका रूपमा विकसित गर्ने जुन परिकल्पना जोशीले गरेकी थिइन् त्यो आफैँमा एउटा क्रान्तिजस्तै थियो । त्यस महत्त्वाकांक्षी परियोजनालाई मूर्त रूप दिन कुनै एउटा बलियो साथ र सम्बलविना सम्भव थिएन । जोशी र नेपाली नारी-समाज दुवैको सौभाग्य, देशका तत्कालीन शासक राजा महेन्द्रविक्रम शाह पद्मकन्या कलेजको परियोजनालाई सफल बनाउन अग्रसर भए । उनले कलेजलाई बागबजारको ठूलो प्लट जग्गा मात्र दिलाएनन्, अन्य हरेक प्रकारका भौतिक र नैतिक सहयोग पनि उपलब्ध गराए । ती दुवै जनालाई नजिकबाट चिन्ने समकालीन भद्रजनहरूका अनुसार कवि राजा महेन्द्र र प्रकाण्ड विदुषी अंगुरबाबा जोशीका बीच घनिष्ठ मित्रताको सम्बन्ध थियो ।

जोशीको व्यक्तित्व बडो रवाफिलो थियो, विद्वत्ताको आलोकमा उज्यालिएको । उनी अनिन्द्य सुन्दरी थिइन् । अलि बढी नै फराकिलोजस्तो लाग्ने गोरो निधारमा गाढा रातो रङ्गको बिन्दीको ठूलो टीका लगाएर बस्ने उनको अनुहारमा सौन्दर्य र बौद्धिकता दुवैको चमक हर्दम नाचिरहेको देख्न सकिन्थ्यो । उनलाई आफ्नो काममा निपुण, लगनशील र अनुशासनप्रिय प्राचार्यका रूपमा सादर सम्झना गर्दछन् पद्मकन्या कलेजका भूतपूर्व शिक्षक, कर्मचारी र छात्राहरू । त्यहाँ पढ्ने विद्यार्थीका लागि शुद्ध नेपाली सुतीको खैरो रङ्गको साडी र चोलोको पोसाक तय गरेर जोशीले त्यस महाविद्यालयलाई अत्यन्त सजिलोसँग एउटा पृथक् र विशिष्ट पहिचान दिलाएकी थिइन् । त्यो युनिफर्म नै पीकेका लागि उनले बनाएको सफल ‘मार्केटिङ टुल’ बनेको थियो । हुन पनि पीकेको युनिफर्म देशभरिका किशोरीले सबैभन्दा बढी मन पराएको कलेज युनिफर्म बन्न पुगेको थियो । भनिन्छ, कतिपय केटीहरू त त्यस पोसाकको आकर्षणले तानिएर नै पीकेमा भर्ना हुन चाहन्थे ।

पद्मकन्या कलेजप्रति नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसका संवाहक नेपाली कांग्रेसलगायत राजनीतिक दलले कृतज्ञता ज्ञापन गर्नुपर्दछ भन्नु अत्युक्ति हुनेछैन । पद्मकन्या कलेजले जुन ठूलो संख्यामा नेपाली महिलालाई सक्रिय राजनीतिमा पठाएको छ त्यत्रो संख्यामा अन्य कुनै संस्थाले पठाउन सकेको छजस्तो लाग्दैन । नेपाली युवकहरूको राजनीतिक प्रशिक्षणको केन्द्र त्रिचन्द्र कलेजलाई मान्न सकिन्छ भने युवतीहरूका लागि पीकेलाई । पद्मकन्यामा प्रशिक्षित धेरै युवती अहिले राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा उभिएका भेटिन्छन् । दुई चार जनाले त मन्त्रीको पद पनि सम्हालिसकेका छन् ।

नेपाली कांग्रेस पार्टीका लागि त पद्मकन्या कलेजले नेत्रीहरूको एउटा हुल नै उत्पादन गरेर पठाएको छ । यस प्रसंगमा मीना खड्का पाण्डे, कमला पन्त, महालक्ष्मी डिना उपाध्याय, शमा शाही, समिता खड्गी, रिना उप्रेती, हरिप्रिया पाण्डे, नानू न्यौपाने, हरिप्रिया खड्गी, कृष्णा अमात्य, विनीता अधिकारी, सम्झना पोखरेलजस्ता केही नाम झट्ट सम्झनामा आउँछन् । यो लिस्ट यतिमै सीमित भने छैन, यो धेरै लामो हुन सक्छ । दरबारसँगको निकटताका कारण पुरानो संस्थापनाको निकट मानिने जोशीको नेतृत्वमा सञ्चालित पद्मकन्या कलेजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लामो समयदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ‘स्विप’ गर्दै आएको घटनालाई भने रोचक र अर्थपूर्ण मान्नुपर्छ । मीना खड्का पाण्डे अध्यक्ष चुनिएको वर्षदेखि अहिलेसम्म पद्मकन्या कलेजको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघले एकपटक पनि हारेको छैन ।

जोशीले तारागाउँ विकास समितिका नाममा नेपाली महिलाहरूको हित प्रवर्द्धनको उद्देश्य लिएको एउटा संस्थाको स्थापना गरेर चलाउने कोसिस पनि गरेकी थिइन् । राजा महेन्द्रसँगको घनिष्ठ सम्बन्धको उपयोग गर्दै जोशीले त्यो संस्थाका हकमा ‘रमागृह’ नाम भएको काठमाडौं, नयाँ सडकको एउटा भव्य घरसहित राम्रै ‘प्रपर्टी’ पनि जोडेको देखिन्छ । तर, कतिपय कारणले त्यस नारी–हितमुखी उद्यममा उनी सफल हुन सकिनन् । जानिफकारहरूले भन्ने गरेझैं ‘ज’ अथवा तारागाउँको जग्गाको पछिपछि ‘झ’ अथवा झगडा पनि आइलागेको देखिन्छ । राजधानीको बौद्ध-टुसाल क्षेत्रमा भएको तारागाउँको जग्गाको ठूलो प्लटलाई लिएर अहिले पनि कानुनी झमेला चलिरहेको छ जस्तो लाग्छ । राधेश्याम सराफ समूहले चलाएको हयात रिजेन्सी होटेलले चर्चेको जग्गा पनि सायद तारागाउँसँग लिजमा लिइएको हो । तारागाउँको मामिलालाई जोशीको चमकपूर्ण करियरमा लागेको असफलताको सानो दाग भन्न सकिन्छ ।

एक पत्रकारका रूपमा मैले चासो राखेर सोधखोज गरिरहेको सार्वजनिक व्यक्तित्व भए पनि जोशीलाई प्रत्यक्ष भेट्ने अवसर भने धेरै पछि मात्र पाएको हुँ । म उनलाई एकोहोरो किसिमले राम्रैसँग चिन्दथेँ । उनले भने मेरो नामसम्म सुनेकी थिइन् कि, त्यो पनि यकिन गरेर भन्न सकिँदैनथ्यो । विभिन्न छापाहरूमा मेरा लेख-रचना छापिएर आउँदा जोशीले तिनमा मेरो नाम देखे, पढेको भने हुन सक्दथ्यो । उनका सुपुत्र इन्जिनियर किरणसँगचाहिँ त्यसभन्दा पहिले नै पार्टीहरूमा एक–दुईपटक भेट भएको थियो मेरो । उनले ‘म तपाईंका रचनाहरूको नियमित पाठक हुँ नि हरिजी’ भनेर मेरो उत्साहवर्द्धन पनि गरेका थिए एकपटक । किरणकी पत्नी रूपा जोशी (दीक्षित) सँग पनि विभिन्न सामाजिक जमघटहरूमा भेट भइरहन्थ्यो मेरो । जोशीहरूको घर बागबजारस्थित रत्न पुस्तक भण्डारनजिकै छ । म त्यो पुस्तक पसलमा गइरहन्छु । एउटा त्यस्तै अवसरमा पुस्तक पसलनेर उभिइरहेका किरणले मलाई उनको घरमा चिया खाने निम्तो पनि दिएका थिए । मेरो जाने अनुकूल भने परेको थिएन ।

पछि जोशी र म दुवैका लागि खुसीको विषय बनेको एउटा सुखद संयोगका कारण उनीसँग मेरो प्रत्यक्ष भेट भयो । मैले घरमै गएर उनलाई भेटेको थिएँ । कडा हृदयाघातका कारण उनी अलि अशक्त भएकी थिइन् ती दिनमा । रोगको असरले उनको मुख एकातिर अलि टेढो भएको थियो । त्यसबाहेक आत्मबल, चेहराको कान्ति, स्मृति र सहज चैतन्यजस्ता यावत् कुरामा उनी एकदम स्वस्थ र स्थिरचित्त देखिएकी थिइन् ।

म नेपाल स्रष्टा समाजसँग आबद्ध भएको कालखण्डको कुरो हो यो । समाजका तत्कालीन महासचिव पवन आलोकले स्थापना गरेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा पुरस्कार’ त्यस अमूक वर्षमा कसलाई दिन मनासिब होला, सिफारिस गर्न भनी समाजको कार्यकारी समितिले निर्णय गरेर मलाई एकल सिफारिसकर्ता तोकेको थियो त्यस साल । पुरस्कारका लागि सिफारिसमा पर्ने व्यक्ति नारी जागरणको प्रतीक, सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदाता र प्रतिभाशाली लेखक पनि हुनुपर्ने प्रावधान राखिएका थिए । मैले तिनै योग्यतालाई ध्यानमा राखेर योग्यतम नारी–प्रतिभाको नाम १ नम्बरमा राखेर ३ जना सिफारिस गर्नु पर्ने थियो । र, मैले त्यस सालको पुरस्कारका लागि मुख्यत: अंगुरबाबा जोशीको नाम सिफारिस गरेँ ।

मेरो सिफारिसबाट स्रष्टा समाजका सबै पदाधिकारी योग्यतम पात्रको चयन भएको भनेर अत्यन्त प्रसन्न भए । त्यसपछि प्रश्न उठ्यो, जोशीले पुरस्कार स्वीकार गर्ने हुन् कि होइनन् भन्ने । अनि समाजका कर्ताधर्ता परशु प्रधान र अध्यक्ष चन्द्रप्रसाद भट्टराईले उनलाई भेटेर स्वीकृति लिई आउने जिम्मेवारी पनि ममाथि सुम्पिदिए । त्यसै मेसोमा भेटेको थिएँ, जोशीलाई उनको बागबजारको घरमै गएर ।

मैले आफू आएको प्रयोजनसहित बेलीविस्तार लगाएर योगमाया राष्ट्रिय नारी प्रतिभा पुरस्कार स्वीकार गरिदिन गरेको अनुरोधको प्रतिक्रियामा जोशीका सकारात्मक सोच र सत्कर्मको तेजले प्रदीप्त आँखा जसरी टिलपिलाएको देखेँ, मेरो आफ्नै पनि भक्कानो छुट्लाजस्तो भयो । उनले अडिई–अडिई मधुरो स्वरमा भनिन्, ‘म जस्ती रिटायर्ड र एक प्रकारले विस्मृत भइसकेकी आइमाईलाई तपाईंहरू मैले चिन्दै नचिनेका मित्रहरूले सम्झिएर, योग्य ठानेर योगमायाजस्ती महान् नारीको सम्मानमा राखेको पुरस्कार दिन चाहनुभएको छ । तपाईंहरूको सद्भावको अवमानना गर्न मिल्छ र मैले ?’ प्रकाशित : असार ९, २०७७ ०९:५७

प्रतिक्रिया
पठाउनुहोस्

अघोषित क्रान्ति : एक स्पष्टोक्ति

व्यक्तिविशेषको खुबी र क्षमतालाई उपेक्षा गर्दै जन्मका आधारमा उच–नीचको व्यवहार गरिने, यो जात र त्यो वर्ण भनेर वर्गीकरण गर्दै त्यसैका आधारमा मानवप्रति विभेदपूर्ण व्यवहार गरिने समाज उँभो लाग्छ भनी अपेक्षा गर्नु निरर्थक छ ।
प्रभा कैनी

नवराज विक र साथीहरूको नृशंस हत्या अनि लगभग त्यही समयमा गोरा अमेरिकी प्रहरीको ज्यादतीबाट मृत्युवरण गरेका अफ्रिकी–अमेरिकी जर्ज फ्लोयडको मृत्युले नेपाली र अमेरिकी दुवै समाज उधुम उचालिएका छन् । एकातिर ‘ब्याक लाइफ म्याटर्स’ लेखिएका र अर्कातिर ‘दलित लाइफ म्याटर्स’ लेखिएका पोस्टरले व्यापकता पाएका छन् ।

‘साइलेन्स इज भ्वाइलेन्स’, ‘नो जस्टिस नो पिस’ जस्ता साझा स्लोगनमार्फत अमेरिकी काला र नेपालका दलितको समस्या उनीहरूको मात्र सोचियो भन्ने आरोप लाग्दै छ, इतर जात र रङका मानिसहरूलाई । सँगसँगै यस्ता दुव्र्यवहारको निन्दा र विरोध गर्नेहरूलाई पनि अर्को तरिकाले दोष लगाइँदै छ । अरू बेला चुप बस्ने र घटना भएका बेला दलितप्रति सहानुभूति दर्साउनेहरूलाई बोक्रे परिवर्तनको खोल ओढ्ने पाखण्डीका रूपमा आरोपित गरिँदै छ । कतिसम्म भने, हरेक दलितसँग क्षमा माग्न सबैलाई बाध्य पार्ने जस्ता आक्रोशजन्य अभिव्यक्ति पनि देखिँदै छन् । विशेष गरी गैरदलितलाई ‘उठी सुख न बसी सुख’ को अवस्था आइपरेको छ । नबोल्ने हो भने दलितप्रति न्याय नगरेको र हिंसालाई प्रश्रय दिएको ठहर्ने, बोले पनि कतै पाखण्डीको बिल्ला भिराइने त होइन भन्ने आशंका छ ।

निश्चय नै, दलितप्रतिको छुवाछूत, विभेद र चरम अत्याचारको शृंखला हाम्रो समाजमा व्याप्त छ । तर, म हिंसालाई प्रश्रय दिने व्यक्ति होइन, न त यस मामिलामा दलितसँग माफी माग्नुपर्छ भन्ने नै ठान्छु । आफूले जानेबुझेसम्म म दलितहरूको अहंमा चोट पुर्‍याइन्छ कि भन्नेमा सधैं सतर्क छु, छुवाछूतजस्तो अमानवीय व्यवहार र अन्यान्यविरुद्ध आवाज उठाउँदै र आफूले सकेसम्म व्यवहारमा उतार्दै आइरहेकी छु भन्ने यथार्थ आज समय र सन्दर्भले बृहत् रूपमा सार्वजनिक गर्नुपर्ने बाध्यता मेरा सामु आइपरेको महसुस गरेकी छु ।

घटना एक

२०३०–३१ सालतिरको कुरा हुनुपर्छ । एक साँझ एक युवक गोप्य चिठी लिएर हाम्रो घर आइपुगे । पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेसको भूमिगत आन्दोलनको कुनै कार्यक्रमसम्बन्धी चिठी रहेछ । त्यो दिएपछि ती युवक आफन्तकहाँ जाने तरखरमा लागे । हामीले खाना खान अनुरोध गर्दा उनी असमञ्जसमा परे, कारण थाहा भएन । साँझको पाहुना, त्यसमाथि पनि चिठी लिएर आएको व्यक्तिलाई अन्यत्र जान दिन हाम्रो नैतिकताले दिएन, यो हाम्रो संस्कारविरुद्धको पनि कुरा थियो । त्यसैले उनलाई कर गरेरै हाम्रै घरमा राख्यौं । मैले भुइँमा दुई–तीन जना बस्न मिल्ने लामो गुन्द्री ओछ्याएर खाना खान आउन अनुरोध गरें । उनी उस्तै असजिलो महसुस गरिरहेका थिए । मेरा जीवनसाथी अमरराज कैनी गुन्द्रीमा बसे र उनले पनि युवकलाई बस्न अनुरोध गरे । दुवैलाई खाना मैले राखिदिएँ । तर उनी त अझै आएनन् र बिस्तारै हिचकिचाउँदै भने, ‘हजुर, म त कामी हुँ ।’

बिनाहिचकिचाहट अमरजीले ‘केही हुँदैन, बस्नोस्’ भन्दै उनको हातै समाएर आफ्नो बगलमा राखे । अलमलमा परेका आगन्तुक छक्क परे । उनको अनुहारमा प्रसन्नताको लहर छाएको स्पष्टै देखियो । उनले भने, ‘अरूकहाँ यसरी कहाँ बस्न पाइन्छ र, हजुर ? हामीलाई त खाना बाहिरै दिन्छन् । खाना खाएका भाँडा आफैं माझेर बाहिरै सुकाउनुपर्छ ।’ अमरजीले भने, ‘हो, समाजको त्यो व्यवहार तपाईंलाई जति हामीलाई पनि थाहा छ, तर हाम्रा घरमा कसको के जात भन्ने कुराले फरक पार्दैन ।’ ती युवकले अन्यत्र बेहोरेका अपमानका धेरै कथा सुनाए अनि हाम्रो व्यवहारप्रति हार्दिक आभार प्रकट गरे ।

घटना दुई

ससाना छोराछोरी हुर्किरहेका र आफू बाहिर काम गरिरहेकी हुँदा मलाई घरधन्दाका लागि कोही न कोही सहयोगी चाहिन्थ्यो । कहिले केटा, कहिले केटी भेटिन्थे । कहिले बाहुन–क्षत्री त कहिले दराई, मगर, तमाङ आइपुग्थे । एकपटक पैंतीस वर्षजतिकी लाग्ने, लोग्नेबाट परित्यक्त महिला आइपुगिन् ।उनी हाम्रा घरमा आइपुग्नुभन्दा पहिले जहाँ काम गर्थिन्, त्यहाँबाट उनको जात थाहा भएपछि लखेटिएकी रहिछन् । हामीले जात नसोधी हाम्रा घरमा रहँदा आफूले दिन सक्ने तलब र सुविधा बतायौं अनि उनले गर्नुपर्ने कामको कुरा गर्‍यौं । लुगा धुने, बढार्ने, पुछ्ने, भाँडा माझ्ने सबै काम गर्न उनी राजी भइन्, तर खाना पकाउन इन्कार गरिन् । मैले खाना आफैं पकाउने सर्तमा उनलाई घरमा राखें ।

बस्न सुरु गरेका दिनदेखि नै भाँडा लिन भान्सामा जान हिचकिचाउने र अरूसँग छोइन नखोज्ने उनको बानी देखेर मलाई शंका लाग्यो । अनि म उनको जात सोध्न बाध्य भएँ । उनले डराईडराई भनिन्, ‘म त मिजार (सार्की) की छोरी, हजुर ! पहिला हजुरले सोधिबक्सेन, मेरो पनि जाने ठाम थिएन, आफ्नो जात भन्यो भने हजुरले काम दिनुहुन्न होला भन्ने सोचेर नभनेकी । भूल भयो, माफ पाम् !’ पहिलापहिला बसेका घरमा भोगेको व्यवहारले मसँग उनले जात लुकाएकी र खाना नबनाउने सर्त राखेकी रहिछन् । त्यो सुनेपछि मैले उनलाई खाना पकाउने कामसमेत सुम्पिएँ । ‘कुक’ मा प्रमोसन गरें र उनको जातको कुराले आफ्ना घरमा कुनै असर नपर्ने बताएँ । उनलाई बोझ थपिएको थियो, तैपनि बडो प्रसन्न मुद्रामा काम गर्न थालिन् । हामी दुई थरीको सम्झौता निकै उचित लागेको थियो तर उनी धेरै दिन बसिनन् । ‘बा–आमाले अर्को केटा खोजिदिए रे, सधैं अर्काको घर बसेर भएन, आफ्नो पनि भविष्य हेर्नुपर्‍यो’ भन्दै उनी बिदा भइन् ।

घटना तीन

केवल पाँच–सात वर्षअघिको दसैंको कुरा हो । ‘दोबाटेकी आमासँग टीका थापेर आशीर्वाद लिम् है यसपटक ।’ अमरजीको प्रस्ताव आयो मलाई । सासू–ससुरा, जेठाजु– जेठानी गुमाइसकेका थियौं । घरमा मान्यजन नभएको अवस्थामा मैले पनि नकार्ने कुरै थिएन । आमासँग टीका लगाइमाग्न आउने हाम्रो प्रस्तावले दोबाटे, जो अहिले गण्डकी प्रदेशका सांसद हुनुहुन्छ, समेत पूरै परिवार आश्चर्यमा परेको हामीले अनुभूति गर्‍यौं । टीकाका दिन उहाँकी आमासँग हामीले टीका थाप्यौं । उहाँले आशीर्वाद दिनुभो । खाना खाएर हामी घर फर्कियौं ।

भोलिपल्टदेखि हाम्रो चर्चा हुन थाल्यो । साथीसंगी, वृद्ध, युवा जोसँग भेट हुन भयो, सबैले प्रश्न गर्न थाले । सबै जना छक्क पर्न थाले । कसैले यति लामो जिब्रो निकालेर सोधे, ‘साँच्चै हो र ?’ हाम्रो कुरा पत्याउन मात्रै पनि गाह्रो भयो उनीहरूलाई । कसैले ‘बिचरी कमिनी बूढीले के आसिक दिइन् होउ तपाईंहरूलाई ?’ भन्दै विश्वकर्मा आमालाई होच्याए, कसैले ‘हरे शिव ! राम राम ! के सुन्नुपरेको हो यो’ भन्दै हाम्रो कदमलाई उल्का साबित गर्ने हिसाबले पुर्पुरोमा हात राखे । के कांग्रेस के कम्युनिस्ट, के शिक्षित के अशिक्षित, जागिरे, व्यापारी, धनी–गरिब सबैको एकै प्रकारको उद्गार । हामीलाई केके न नमुनायोग्य काम गर्ने हिम्मत गरेझैं लागेको थियो, हाम्रो कामको समर्थनसम्म त होला भन्ने महसुस गरेका थियौं, तर जजससलाई यो कुरा सुनायौं, ती कोही पनि हाम्रो पहलबाट उत्साहित भएनन् । अधिकांश त हाम्रो टीका सामाजिक स्थिरता भाँड्ने अर्घेल्याइँ साबित गर्न उद्यत होलान् जस्तो भयो । थोरैले चाहिँ हाम्रो अघोषित क्रान्ति ठीकै माने पनि आफूले चाहिँ अझै आँट्न नसक्ने कुरा स्विकारे ।

यस्ता उदाहरण अरू पनि छन् तर अहिलेलाई यति नै पर्याप्त ठान्छु । हुटिट्याउँले खस्न लागेको आकाश मैले नै धानेको हुँ भनेर धाक लगाएझैं आफ्ना कदमको प्रशंसा आफैं गर्न खोजिएको होइन । तर, दलित समस्याका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक तहमा गर्नुपर्ने धेरै कुरा छन्, तापनि दलितउपर हुँदै आएका अनेकौं अपमान र असहिष्णुतालाई घटाउन यस्तै हरेकका एक–एक पहलले केही न केही सहयोग पुर्‍याउँछन् भन्नचाहिँ हिचकिचाउनुपर्दैन ।

छुवाछूतविरुद्धको कानुनले मान्यता पाएको पाँच दशकभन्दा बढी भइसकेको छ । दलित उत्थानका पक्षमा अनगिन्ती कानुन पास भएका छन्, सयौं नीतिनियम बनेका छन् । हरेक राजनीतिक पार्टीका अभियान र चुनावी घोषणापत्रमा दलित उत्थानको सवाल प्राथमिकतामा पनि परेकै छन् । दलित उत्थानका लागि भनेर शैक्षिक छात्रवृत्ति छुट्याइएकै छन्, राजनीतिक आरक्षणरूपी सुविधाको पसारो पनि तहगत रूपमा छँदै छ । यी सबै व्यवस्था र सुविधाबाहेक दलितहरूले प्राप्त नगरेको कुरा के हो त जसले गर्दा उनीहरू तथाकथित उपल्लो जातका मानिसजस्तो हैसियतमा जम्न र रम्न पाएनन् ?

दलितले तथाकथित उपल्ला जातहरूबाट पाउन नसकेको कुरा हो— समभाव । न्यूनतम मानवीय समव्यवहार हो । जब दुई थरीका बीचमा समभावको व्यवहार हुन्छ, त्यहाँ कानुनी प्रावधानको पनि उति खाँचो पर्दैन । समस्या कहाँ देखियो भने, कानुनी व्यवस्था हुँदाहुँदै पनि उच्च भनाउँदाहरूबाट दलितहरूप्रति दिलैदेखि सद्भावपूर्ण व्यवहार गर्ने प्रयत्न नै भएन । केही अपवादबाहेक हाम्रो समाजमा कानुनले दिएको बाध्यतालाई पनि कहिले उपेक्षा र उल्लंघन गर्दै त कहिले त्यसबाट लुक्दै र बच्दै आफू ठूलो र अर्को सानो भन्ने व्यवहार भइरहे । फलत: सबै प्रयास ‘मेकानिकल मिन्स’ जस्ता साबित भए । दलितसँगको अन्तरघुलनको ‘केमेस्ट्री’ बुझ्ने प्रयत्न र प्रयास हुँदै भएन, न राजनीतिक प्रशिक्षणमा न सामाजिक कार्यक्रममा न त सांस्कृतिक रीतिरिवाज, व्यवहार र मूल्यमान्यतामै । नीतिनियमलाई व्यवहारमा उतार्ने मानिसकै नियत खोटो भएपछि संविधानका धारा र अनगिन्ती बुँदागत कानुन पाखा लाग्छन् भन्ने उदाहरण हरेक दलितले बेहोरिरहेका अन्यायपूर्ण व्यवहार नै हुन् ।

व्यक्तिविशेषको खुबी, क्षमता र सच्चरित्रतालाई उपेक्षा गर्दै जन्मका आधारमा उच–नीचको व्यवहार गरिने, यो जात र त्यो वर्ण भनेर वर्गीकरण गर्दै त्यसैका आधारमा मानवप्रति विभेदपूर्ण व्यवहार गरिने समाज उँभो लाग्छ भनी अपेक्षा गर्नु निरर्थक छ । आआफ्ना ठाउँबाट विभेदविरुद्ध सानै भए पनि पहल गरिरहे समाजको रूपान्तरण सम्भव चाहिँ छ ।

प्रकाशित : असार ९, २०७७ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×