झङ्‍कार मनको तार  

योग र संगीतको गहिराइलाई बुझेर व्यावहारिक जीवनमा उतारौं । यसले आन्तरिक स्थिरता, शान्ति, प्रसन्नता तथा सकारात्मक हुन सहयोग पुर्याउँदछ। स्वस्थ मन र स्वस्थ शरीरले असीमित रचनात्मक कार्य गर्न सक्दछ । जीवन रहे जगत रहन्छ। सास रहे आस रहन्छ ।
विशाल भट्टराई

नाद हूँ नित्य, सृष्टि प्रलय कालमा । लीन हूँ विलय, लययोग तालमा ॥ जुन २१ अर्थात  विश्व संगीत दिवस र योग दिवस। कस्तो अचम्मको संयोग ! फ्रान्सबाट सन् १९८२ मा सुरु भएको ‘फेटे डे ला म्युजिक’ नै हाल विश्व संगीत दिवसको रुपमा मनाइने गर्दछ।

यसैगरी सन् २०१५ देखि विश्व योग दिवस मनाउन थालिएको छ। 'संगीत' मनको भाषा हो भने 'योग' शरीर र मनलाई सन्तुलन रुपले जोड्ने पद्धति हो। योगमा श्वासप्रश्वास एवं संगीतमा भाव पक्षको महत्वपूर्ण स्थान हुन्छ । चाहे त्यो प्राणको आयाम होस् या भावको, यी दुवैमा एउटै कुराको समानता छ त्यो हो 'लय' । लयमा लिन हुनु वा विलय हुनु आफैमा योग हो। योग होस् या संगीत दुवै प्रकृतिको लयबाट प्रेरित छ । भाव र श्वासप्रश्वासबीचको अन्योन्याश्रित सम्बन्धबाट हामी कोही पनि उम्किन सक्दैनौं। परापूर्व कालदेखि नै संगीतलाई 'लययोग' तथा 'नादयोग'को रुपमा व्याख्या गरिँदै आएको छ । दुर्भाग्यवश यसप्रति हामी जानेर अञ्जान भयौं या बुझ्नै चाहेनौं।। यद्यपि यो हाम्रो चेतना र विचारको बीज रुप हो। संस्कार हो।

हाल कोरोना भाइरसको महामरीले ग्रसित विश्व कठिन परिस्थितिबाट गुज्रिरहेको छ। यसबाट हरेक क्षेत्र तथा तप्कालाई गहिरो असर परिरहेको छ। यसको तत्कालीन तथा दीर्घकालीन असरबारे सम्बन्धित विज्ञहरुले प्रकाश पार्ने छन्। यस्तो कठिन परिस्थितिमा जीवन प्तिको हिनताबोध, अनिश्चितता, डर तथा तनाव उत्पन्न हुनु स्वभाविक हुन्छ। यस्तो अवस्थामा हाम्रो मनोबल उच्च एवं स्थिर बनाइराख्न अत्यन्त आवश्यक पर्दछ। यसका लागि अन्य रचनात्मक क्रियाकलाप जस्तै योग, संगीत, कला र साहित्य प्रभावकारी हुन सक्छ। यस्तो अवस्थामा हामीले स्थापित गरेका सामाजिक मूल्य र मान्यताहरुले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यसलाई परिमार्जित गर्दै लैजानु एउटा कुरा, तर मान्दै नमानी ध्वस्त नै बनाउनु अर्कै कुरा।

हाम्रा पूर्वज ऋषि तपस्वीहरुले शरीररुपी वीणामा वर्षौं वर्ष नादानुसन्धान गरी संस्कृत वर्णमाला बीजाक्षर गरे। शब्दको आकाशीय गुण अनुरुप मन्त्र विज्ञानको प्रतिपादन गरे। मन्त्र उच्चारणद्वारा उत्पन्न स्वरको गति यति लय र छन्द कालान्तरमा ग्राम मुर्च्छना प्रक्रिया हुँदै रागको रुप धारण गऱ्यो। यसैलाई हामी शास्त्रीय संगीत भन्दछौं। मन्त्रमा प्रयोग हुने उदात्त अनुदात्त र स्वरित यी तीन स्वरबाट पछि सारेगमको सप्त स्वरले विस्तार पायो। वैदिक श्रुति परम्पराबाट विकसित हुँदै पारसी संगीतको प्रभावले परिष्कृत भएको शास्त्रीय संगीत हाल हिन्दुस्तानी संगीतको नामले प्रचलित छ। यद्यपि यो समग्र दक्षिण एसियाली राष्ट्रको शास्त्रीय संगीत पद्धति हो।

शास्त्रीय संगीत स्वर प्रधान भएकाले राग विस्तार गर्दा स्वर स्थान र यसको शुद्धतालाई महत्व दिइएको हुन्छ। राग रिस रागको राग नभई स्वर उदय रञ्जकता हो। यसको मुख्य अङ्ग आलापचारी हो। रागालापको लागि उपयुक्त ध्रुपद (ध्रुव पद) गायन परम्परालाई मानिन्छ। ध्रुपदको शाब्दिक अर्थ ध्रुव+पद अर्थात ध्रुवले स्थिरता, अटलता र पदले गीतको चरणलाई बुझाउँछ। शास्त्रीय संगीतको प्राचीनतम् विधा 'ध्रुपद' हाल नादयोगको रुपमा पनि प्रचारित छ। रागमा प्रयोग हुने स्वर स्थान तथा श्रुतिलाई प्रमाणीत गर्ने आधार तानपुरा(तम्बूरा)हो। तानपुराबिना स्वर संवाद हुन सक्दैन। र स्वर संवादबिना रागको असर हुँदैन। तानपुरालाई मनको तार झङ्कार्ने बिम्बात्मक प्रतीक मानिन्छ।

हामी अत्याधुनिक जीवनशैली 'स्मार्ट लाइफस्टाइल' लाई पछ्याई रहेका छौं। त्यसैले हामी दिन प्रतिदिन स्मार्ट बन्दै गइरहेका छौं। वाइफाई र स्मार्ट फोनको आविष्कार हुनु भन्दा १०० बर्ष अगाडि नै यसको परिकल्पना गर्ने प्रसिद्ध आविष्कारक निकोला टेस्ला(जस्ले अल्टरनेटिभ करेन्ट(एसी), रिमोट कन्ट्रोल, वायरलेस कम्युनिकेसन प्रणाली आदि आविष्कार गरे) को प्रसिद्ध भनाइ छ 'यदि तिमी ब्रह्माण्डको रहस्य जान्न चाहान्छौ भने उर्जा(energy), आवृत्ति(frequency) र कम्पन(vibration)को सन्दर्भ भारे सोच।'

विज्ञानले कुनै पनि बस्तुको अस्तित्त्वलाई उर्जाको रुपमा स्वीकारेको छ। कुनै पनि बस्तु उच्च आवृत्तिमा कम्पन हुँदा उर्जाको रुप लिन्छ। विज्ञानले उर्जालाई उत्पन्न तथा नष्ट गर्न नसकिने तर उर्जा रुपान्तरण गर्न सकिने भनेको छ। हामीले कुनै कुरा मनमा सोच्दा मात्र पनि त्यसको असर सम्पूर्ण वातावरणमा परिरहेको हुन्छ। प्रार्थनामा हुने शक्ति पनि यही हो। जहाँसम्म धेरैलाई थाहा नहुन सक्छ हामीले बोलेको आवाज नष्ट हुँदैन। ब्रह्माण्डमा तरङ्गको रुपमा रहिरहेको हुन्छ। हामीले सोचेको कुरा कति प्रतिशत बोलेका हुन्छौं र बोलै क कुरा कति प्रतिशत व्यवहारमा उतारेका हुन्छौं। यसले हामीभित्र रहेको उर्जाको स्रोत निर्धारण गर्दछ।

हाम्रो पूर्वीय अध्यात्मिक दर्शनमा कम्पनलाई 'नाद' भनिएको छ। स्वर तथा संगीतमा नाद तत्व अत्याधिक रहेको हुन्छ। नाद उर्जाको स्रोत हो। यसलाई परब्रह्म तत्वको संज्ञा दिइएको छ। गतिशील जगतको आधार नादबाट सम्पूर्ण सृष्टिको उत्पत्ति भएको मानिन्छ। प्रणव अक्षर ओमकार बिन्दुलाई नादात्मक रुप मानिएको छ। सृष्टिको समस्त चराचर वस्तु एवं जड़-चेतन आदिमा नाद शक्ति विद्यमान रहेको छ। जीवनको चेतना र अनुभूतिको स्पन्दन रुप नाद हो।

शताब्दीकै महान् भौतिकशास्त्री एवं खगोलविद् स्टेफन हकिङ जसले ब्रह्माण्डको उत्पत्ति र अस्तित्वको बारेमा 'बिग ब्याङ' सिद्धान्तको प्रतिपादन गरेका छन्। उनका अनुसार पद्धार्थको महाविस्फोटबाट उत्पन्न उर्जा उत्सर्जनको परिणाम ब्रह्माण्ड अस्तित्वमा आएको हो। यो प्रक्रिया कुनै चमत्कार नभई नियमित आकस्मिकता मात्र हो। भौतिक विज्ञानको संसारभन्दा पर 'ब्ल्याक होल' को बारेमा सम्झाएका हकिङले मानव सभ्यताको चरम अवस्था विनास भनेका छन्।

अन्त्यमाः योग र संगीतको गहिराइलाई बुझेर व्यावहारिक जीवनमा उतारौं। यसले आन्तरिक स्थिरता, शान्ति, प्रसन्नता तथा सकारात्मक हुन सहयोग पुर्‍याउँछ । स्वस्थ मन र स्वस्थ शरीरले असीमित रचनात्मक कार्य गर्न सक्दछ। जीवन रहे जगत रहन्छ। सास रहे आस रहन्छ। सबैको जय होस्।

-लेखमा प्रयोग गरिएको चित्रकला लेखक स्वयम्‌को हो । लेखक प्राचीन ध्रुपद शैलीका शास्त्रीय गायक हुन्। प्रकाशित : असार ७, २०७७ ११:२३

प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङमा कोराेना देखिएपछि तिब्बती शरणार्थी क्याम्प सिल

घनश्याम खड्का

म्याग्दी — हिमालपारीको जिल्ला मुस्ताङमा शनिबार एक वृद्धमा कोराेना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्न घरपझोङ गाउँपालिका–१ छैरो तिब्बती शरणार्थी क्याम्प सील गरिएको छ ।

हिउँदमा जाडो छल्न झरेका ८३ वर्षिय वृद्धसमेत छैरो क्याम्पका २० जना शरणार्थीको टोली लकडाउनले काठमाडौं रोकिएकोमा खुकुलो भएपछि जेठ ३१ गते मुस्ताङ प्रवेश गरेका थिए । मुस्ताङ प्रवेश गर्ने क्रममा आरडीटी परीक्षण गर्दा वृद्धमा कोरोना पोजेटिभ देखिएपछि जोमसोमस्थित आइसोलेसनमा राखिएको थियो ।

सुगर तथा प्रेसरका बिरामीसमेत रहेका उनलाई क्वारेन्टाइनमा नराखी आइसोलेसनमा राखिएको कोरना भाइरस संक्रमण प्रकोप कन्ट्रोल कमान्ड पोस्ट मुस्ताङले जनाएको छ । पोस्टका अनुसार वृद्ध र उनका सुसारे बसेका ज्वाइँसमेतको गरेर दुई जनाको २ गते स्वाब संकलन गरी पठाइएको र पोखरामा पीसीआर गर्दा वृद्धमा कोरना संक्रमण पुष्टि भएको हो । उनका सुसारे बसेका ज्वाइँको पीसीआर रिपोर्ट भने नेगेटिभ छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–१ छैरो तिब्बती शरणार्थी क्याम्पमा १ सय ६० जना बस्दै आएकोमा लकडाउनले केही पोखरा, काठमाडौंमै अड्केकाले हाल क्याम्पमा ९० जना रहेका छन् । यीमध्ये कोरना संक्रमित वृद्ध, उनकी छोरी, ज्वाइँसमेत २० जना जेठ ३१ गते मात्र मुस्ताङ आएर क्याम्प बसेका हुन् ।

‘तिब्बती शरणार्थी क्याम्प सिल गरी कन्ट्याक ट्रेसिङ सुरु गरेका छौं । कन्ट्याक ट्रेसिङपछि उनीहरुको स्वाब संकलन गरी पीसीआर टेस्ट गर्ने तयारीमा छौं,’ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रकाशित : असार ७, २०७७ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×