कोरोना कहर : मानवीय बनौं- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कहर : मानवीय बनौं

डा. सन्तोष ढकाल

विश्वभरि नै नेपाली भन्नेबित्तिकै मिलनसार, सहयोगी र मानवता भएका मान्छेहरु भनेर चिनिन्छ । भाइचारा र सहयोगी भावनाकै बलमा हामी भूकम्प, नाकाबन्दीलगायत धेरै प्राकृतिक तथा कृत्रिम प्रकोपहरुको डटेर सामना गर्न सफल भयौं ।

दैलेखको नारायण नगरपालिका–२ कोटथाप्लास्थित जनता माविको क्वारेन्टाइमा रहेका स्थानीय । तस्बिर : कान्तिपुर

यद्यपि कोभिड–१९ को कहरसँगै घटेका विभिन्न घटनाक्रम भने सुखद छैनन् । यससँगै एउटा प्रश्न उब्जिएको छ– कतै हामी अमानवीय बन्दै गइरहेका त छैनौं ?

हाल विश्वभर फैलिरहेको कोभिड महामारीले नेपाललाई पनि असर गरेको छ । यहाँ ५ हजार ७ सय ६० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने १९ जनाले ज्यान गुमाइसके ।

नेपालको वर्तमान अर्थतन्त्र बिदेसिएका नागरिकले पठाएको रेमिट्यान्सले चलेकोमा दुईमत छैन । तर अहिले कोभिड महामारीकै कारण विदेशमा रहेका लाखौं नेपालीले जागिर गुमाएका छन् । घर–परिवारको सहारा खोजिरहेका उनीहरूलाई फिर्ता ल्याउन सरकारको उल्लेख्य चासो देखिएको छैन जुन आश्चर्यलाग्दो र दुःखद छ । भारतीय सिमानामा नेपाल छिर्न अझै केही नेपालीको पर्खेर बसेको अवस्था दयनीय छ । अनेक दुःख, कष्ट सहेर नेपाल प्रवेश गरेकाहरूको पनि उचित व्यवस्थापन भएको सुनिँदैन । नेपाल भित्रिएकाहरूलाई आआफ्नो घरसम्म पुर्‍याइदिने र आइसोलेसनमा राख्ने व्यवस्था गर्न सके मात्रै महामारी नियन्त्रण गर्न केही हदसम्म सफलता मिल्न सक्छ ।

क्वारेन्टाइन भनेको रोग सर्न नदिन संक्रमणको शंका लागेका व्यक्तिलाई अरूबाट भिन्नै राख्ने प्रक्रिया हो । क्वारेन्टाइनमा बसेका मान्छेमा कोरोना भाइरसको संक्रमण हुन पनि सक्छ, नहुन पनि सक्छ । क्वारेन्टाइनमा हरेक व्यक्तिलाई भिन्नै राख्नुपर्छ ताकि कसैलाई संक्रमण रहेछ भने अरूलाई नसरोस् ।

निश्चित समय क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरिएपछि सम्बद्ध व्यक्तिलाई घर जान दिइन्छ । क्वारेन्टाइन भनेको अरूको मात्र नभई त्यहाँ बस्ने व्यक्तिकै स्वास्थ्य सुरक्षाका लागि पनि हो । क्वारेन्टाइनमा बसेकालाई खाने, बस्ने, सुत्ने उचित व्यवस्था हुनुपर्छ । त्यति मात्र होइन, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था पनि अनिवार्य हुन्छ ।

कोरोना भाइरसको संक्रमण नभए पनि क्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा अरू सरुवा तथा अन्य दीर्घरोगहरू लागेको हुन सक्छ । उनीहरूको व्यक्तिगत सुरक्षाका साथै त्यहाँ रहने अरूको सुरक्षाको लागि पनि क्वारेन्टाइन अत्यन्तै व्यवस्थित हुनैपर्छ ।

नेपालमा अहिले क्वारेन्टाइनका रूपमा विद्यालयका कोठाहरू प्रयोग गरिएको देखियो, जुन उचित होइन । यसरी राख्दा खाने, सुत्ने उचित व्यवस्था हुन सक्दैन । क्वारेन्टाइनमा बसेका मान्छेहरूलाई हेय र घृणाका दृष्टिले हेर्ने गरेको पनि देखिएको छ । यो पनि उचित होइन । क्वारेन्टाइनमा राखिएका मान्छेको समयमै स्वास्थ्य सेवा नपाएर मृत्यु भएको सुन्दा यसले क्वारेन्टाइनको औचित्यमाथि नै शंका उत्पन्न गराएको छ ।

यसरी अव्यवस्थित क्वारेन्टाइनमा राख्दा जुन मानसिक पीडाबाट गुज्रनुपर्छ, त्यसको लेखाजोखा त हामीले गरेकै छैनौं । यस्तो अव्यवस्थित क्वारेन्टाइनमा गर्मीसँगै फैलने डेंगेजस्ता रोगको प्रकोप बढ्ने सम्भावना देखाएको छ । त्यसैले क्वारेन्टाइनलाई व्यवस्थित गर्न सकिँदैन भने आफ्नो घरमा छुट्टै कोठा भएका व्यक्तिलाई त्यसैमा बस्ने व्यवस्था मिलाउनु उचित देखिन्छ ।

डाक्टर, नर्स, एम्बुलेन्स चालकदेखि स्वास्थ्यसंस्थामा सरसफाइ गर्ने सबै जना कोभिड–१९ विरुद्धको लडाइँका सिपाही हुन् । उनीहरूले यो संकटको घडीलाई सेवा गर्ने अवसरका रूपमा लिएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । सरकारी तथा निजी अस्पतालले पनि समस्याको गाम्भीर्य बुझेर आफ्नो स्रोतसाधनको उच्चतम प्रयोग गर्दै कोभिड–१९ र अन्य रोगका बिरामीको उपचार सुचारु राखी आमनागरिकलाई सेवा प्रदान गर्नुपर्छ । अस्पताल र अस्पतालका कर्मचारीलाई आफ्नो कार्य सुचारु राख्न आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री र उपयुक्त वातावरण उपलब्ध गराउने तथा सही मार्गनिर्देश गर्ने जिम्मा भने सरकारले लिनुपर्छ ।

यति बेला विश्वभर नै कोभिड–१९ को उपचारमा दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीको अनवरत प्रयासलाई विभिन्न तरिकाले सम्मान गरिएको छ । नेपालमा भने स्वास्थ्यकर्मीलाई घरबाट निकालेको, बस्नका लागि क्वारेन्टाइनसमेत नपाएको अनि भौतिक आक्रमण नै गरिएका समाचार आइरहेका छन् । यसले पनि हाम्रो मानसिकता कस्तो हुँदै छ र हाम्रो समाज कता जाँदै छ भनेर प्रश्न उब्जाएको छ ।

कोरोना भाइरसको प्रकोप केही वर्षसम्म रहने पक्कापक्की छ । यस्तो अवस्थामा यो महामारीलाई परास्त गर्न सरकारको जति भूमिका हुन्छ, नागरिकको पनि उत्तिकै हुन्छ । त्यसैले आत्तिएर गलत तथा अमानवीय कार्य गर्न अग्रसर हुनुभन्दा यसबाट बच्ने उपाय अपनाउँदै अनि एकआपसमा भाइचारा र सहिष्णुता कायम राख्दै यो महामारीविरुद्धको लडाइँ सबै मिलेर लड्ने कि ?

(डा. ढकाल जोन होप्किन्स विश्वविद्यालयमा कार्यरत छन् । उनी इन्फ्लुएन्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताबारे अनुसन्धान गर्छन् ।)

प्रकाशित : असार १, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

कसरी फैलिन्छन् महामारी गराउने भाइरसहरू ?

डा. सन्तोष ढकाल

कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व नै आतंकित बनेको छ । हालसम्म ६० लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ७५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । अहिले फैलिरहेको कोरोना भाइरसलाइ सार्स कोरोना भाइरस २ नाम दिइएको छ ।

मानव समुदायले यस्ता महामारी हरेक १० देखि ५० वर्षको अन्तरालमा भोग्दै आइरहेको छ । कुनै महामारी केही महिनामै सकिन्छ भने कुनै केही वर्षसम्म पनि रहन सक्छ । केही महामारी सीमित देशमा मात्र असर गर्न सक्ने हुन्छन् भने कुनैले विश्वमै असर गर्छ । कोरोना महामारी पनि केही समयमा कम भएर जाला तर यसले सिर्जना गरेको आर्थिक तथा सामाजिक असर धेरै वर्षसम्म रहिरहन्छ ।

कुनै पनि भाइरसले महामारीको रूप लिन निश्चित अवस्था र कारणहरू हुन्छन् । सबैभन्दा पहिले त त्यो भाइरस नयाँ हुनुपर्छ जसले गर्दा मान्छेको शरीरमा त्यसविरुद्ध प्रतिरोधात्मक क्षमता हुँदैन । त्यसै गरी महामारी बन्न त्यो भाइरस सजिलै एक मान्छेबाट अर्कोमा सर्ने हुनुपर्छ । अहिलेको सार्सकोभ–२ नयाँ भाइरस हो । यसका विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता मान्छेमा थिएन । साथै, यो भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्न सक्ने हुनाले छिट्टै फैलन सफल भयो । यसका विरुद्ध कुनै खोप वा औषधि उपलब्ध छैन ।अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार सार्सकोभ–२ को स्रोत चमेरो हो । चमेरालगायत अन्य जंगली जनावरमा धेरै भाइरस पाइन्छन् जुन मान्छेमा सरे महामारीको रूप लिन सक्छ । कोरोना मात्र नभई चमेराहरूमा इन्फ्लुएन्जालगायत अन्य धेरै भाइरस भेटिएको अध्ययनले देखाएका छन् । यी भाइरसले चमेरालाई कुनै नोक्सानी गर्दैनन् । यी भाइरस सजिलै अरू जनावर तथा मान्छेमा सर्दैनन् पनि । तर समयक्रममा आनुवंशिक परिवर्तन हुँदा चमेराबाट कुनै जंगली जनावरमा सर्न सक्छन् । तिनबाट बिस्तारै अन्य घरपालुवा जनावर हुँदै मान्छेमा संक्रमण हुन सक्छ । तर यस्तो प्रक्रिया पूरा हुन धेरै वर्ष लाग्ने गर्छ ।

सन् २००२ मा सार्स नाम गरेको कोरोना भाइरस चीनबाट फैलिएको थियो । कम्तीमा २७ देशमा फैलिएको उक्त भाइरसले करिब ८ हजार जनालाई संक्रमित बनायो भने ७ सय ५० भन्दा धेरैको ज्यान लिएको थियो । त्यसै गरी सन् २०१२ मा ‘मर्स’ नाम गरेको अर्को कोरोना भाइरस साउदी अरबमा देखियो । मर्स पनि कम्तीमा २७ देशमा फैलियो । यसको संक्रमण २५ सयजति मान्छेमा पुष्टि भयो भने ज्यान गुमाउनेको संख्या ८५० भन्दा धेरै थियो ।

सार्स र मर्सको स्रोत पनि चमेरो हो । सार्स चमेराबाट नीर बिरालो हुँदै मान्छेमा सरेको मानिन्छ । त्यसै गरी मर्स चमेरोबाट कुनै माध्यमद्वारा उँटमा सरेको र त्यसबाट मान्छेमा सरेको मानिन्छ । अनुसन्धानमा उँटमा मर्स भाइरस मान्छेमा देखिनुभन्दा ३ दशकपहिलेदेखि नै फैलिएको पाइयो । कुनै समयमा जनावरबाट सरेको भए पनि अन्ततः यी भाइरस मान्छेबाट मान्छेमा सजिलै सर्न सक्ने बनेकाले मात्रै महामारीको रूप लिएको हो ।

अहिले फैलिरहेको सार्स कोरोना भाइरस–२ को स्रोत चमेरो भए पनि यो कुन माध्यम हुँदै मान्छेमा सर्‍यो भन्ने प्रस्ट भइसकेको छैन । केही अनुसन्धानमा सालकको माध्यमबाट यो भाइरस मान्छेमा सरेको हुन सक्ने अनुमान गरिए पनि पुष्टि हुन बाँकी छ । यो भाइरस मान्छेमा सार्न कुनै घरपालुवा जनावरको भूमिका अहिलेसम्म देखिएको छैन । यसको उत्पत्ति र संक्रमणबारे आगामी दिनमा वैज्ञानिक अनुसन्धानले पक्कै पत्ता लगाउला । अहिलेचाहिँ यसबाट बच्न सकेसम्म भिडभाडमा नजाने, जानै परे पनि सामाजिक र व्यक्तिगत दुरी कायम राख्ने, मास्क लगाउने, खोक्दा अथवा हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने, साबुनपानीले हात धुनेजस्ता उपाय जारी राख्नुपर्ने हुन्छ ।

यस्ता महामारी भविष्यमा पनि फैलन सक्ने भएकाले राज्यले जनस्वास्थ्यको क्षेत्रमा गरिने अनुसन्धान र विकासमा मनग्य लगानी गर्नुपर्ने हुन्छ । भाइरसको पहिचान, डायग्नोस्टिक किट निर्माण, खोप विकास, औषधि उत्पादनजस्ता क्षेत्रमा लगानी गरेर देशलाई भविष्यमा फैलन सक्ने महामारीविरुद्ध तयार राख्न अत्यावश्यक छ ।

(डा. ढकाल जोन होप्किन्स विश्वविद्यालयमा कार्यरत छन् । उनी इन्फ्लुएन्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताको बारे अनुसन्धान गर्छन् । )

प्रकाशित : जेष्ठ २१, २०७७ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×