बोकाको मुखमा कुभिन्डो

राति सबै जना तन्त्रमन्त्र हेर्न झुम्मिएका थिए । त्यही सड्को दुई जनाले रूखमा झुन्डेर आत्महत्या गरेछन् । पाँच जना क्वारेन्टाइनबाट भागेछन् ।
शरच्चन्द्र वस्ती

आधा भन्दा बढी लाश जलिसकेको थियो । चिता वरपर २५ जना जति मलामी देखिन्थे । सबैको अनुहार मास्कले ढाकिएको । एक हप्ता अघि अस्पतालबाट निको भइन् भनेर घर पठाइएकी ५७ वर्षीया गंगामाया गएराति अकस्मात् बितेकी हुँदा कताकता डराइरहेका ।

बोकाको मुखमा कुभिन्डो

त्यही वेला परबाट धूलो उडाउँदै एउटा जीप मसानघाटतिर आयो र चिता नजीकै रोकियो । अघिल्लो सीटबाट सरकारी अस्पतालका अधिकृत ओर्लिए र देब्रे हातमा एउटा कागज हल्लाउँदै दाहिने हातले चितातिर देखाएर भने, ‘उहाँलाई कोरोना भएको रहेछ । रिपोर्ट यही हो । आज मात्र आइपुग्यो । तपाईंहरूको उहाँसँग सम्पर्क भएको छ । सबै जना संक्रमणको जोखिममा पर्नुभो ।’

उनको भनाइले मलामीहरूबीच चटयाङ परेजस्तो भयो । अस्पतालबाट फर्केको तीन दिन पछि गंगामायाले सत्यनारायणको पूजा लगाएकी थिइन् । निकट आफन्त अर्थात् आज मलामी आएका सबै निम्तारु थिए । तिनलाई आफ्नै हातले टीका लगाइदिएर प्रसाद बाँडेकी थिइन् । सेल र अचार सबैले थपीथपी खाएका थिए । त्यत्रो घुलमिल गरेपछि पक्कै कोरोना संक्रमण भयो होला भनेर सबैको मन सिरिंग भयो ।

‘अब के गर्ने त सर ?’ गंगामायाको भान्जो हरिमानले सोध्यो । पूजाको दिन माइजूलाई दिनभरि सघाउने उही थियो ।

‘अब १४ दिन सबै जना क्वारेन्टाइनमा बस्ने’ जीपमा आएका प्रहरीहरूतर्फ इशारा गर्दै अधिकृतले भने, ‘उहाँहरूले लगेर राखिदिनुहुन्छ । तपाईंहरूले सहयोग गर्नुहोला ।’

एक छिनमा एउटा मिनी ट्रक आइपुग्यो र लाश जलिसकेपछि सबै मलामीलाई त्यसमा खाँदखुँद पारेर सरकारी स्कूलमा पुर्‍याइयो । स्कूलका दुई भवनमध्ये ठूलोलाई क्वारेन्टाइन र सानोलाई आइसोलेशन सेन्टर बनाइएको रहेछ । उनीहरूलाई जुन कोठामा छिराइयो, त्यहाँ पाँच जना पहिलेदेखि नै थिए— घोप्टिएर मोबाइल चलाइरहेका । ‘आउनुहोस्, स्वागत छ’ मुन्टो उठाएर मुस्कुराउँदै तिनीहरूले भने ।

अलिबेरको भलाकुसारी पछि उनीहरूले थाहा पाए : भुईंमा सामान्य सतरन्जा बाहेक केही नभएको त्यही पुरानो कोठा अब दुई हप्ताका लागि उनीहरूको आश्रयस्थल हो । सुत्ने, बस्ने, उत्तानो पर्ने, कोल्टे पर्ने, घोप्टिने, मडारिने, झोक्राउने, जाग्राम बस्ने, मौन हुने, फतफताउने— जे गरे पनि त्यहीं गर्ने हो । दुई छाक खाना र खानेपानी त पाइन्छ, तर नुहाउने पानी छैन । नुहाउन मन लागे बिहानै पर खोलातिर जाने हो । शौचालयमा सधैं लाम हुन्छ, हतार भए खेततिर लाग्ने हो । पल्लो कोठामा बसेकाहरूसँग लुडो र तास छ, खेल्न मन लागे तिनलाई रिझाउने हो । डाक्टर, नर्स र औषधि आइसोलेशनतिर त छैनन्, क्वारेन्टाइनमा तिनको सपना नदेख्नू ।

अरूले दुई घण्टा अघि नै खाइसकेको चीसो खाना खाएर सुस्ताउन लाग्दा एउटा प्रहरी नोटबुक सहित हाजिर भयो र सोध्न थाल्यो, ‘मृतकसँग तपाईंहरू बाहेक अरू ककसको सम्पर्क भएको थियो ? उनीहरूलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने हो...’

‘खै ककसको सम्पर्क भयो भन्नु ?’ हरिमानले जवाफ दियो, ‘पूजामा टोलका आधाजसो मानिस आएका थिए । माइजू सरसामान किन्न बजार गइरहनुहुन्थ्यो । मान्छेहरू घरमा भेट्न आइरहन्थे ।’

‘अनि तपाईंहरूका परिवार नि ?’

‘उनीहरू पनि पूजामा गएका थिए’ सबैका तर्फबाट उसले भन्यो, ‘तर सईसाब, उनीहरूलाई दु:ख नदिनोस् । हामीले फोन गरिसकेका छौं, उनीहरू चूपचाप उतै क्वारेन्टाइनमा बस्छन् । घरबेटीले थाहा पाए भने समस्या पर्छ ।’

‘ठीकै छ, कति खोज्नु ? धेरै खोज्न थाल्दा अर्को बवाल हुन सक्छ’ सई मुस्कुरायो ।

‘कस्तो बवाल सर ?’ हरिमानले कुरा कोटयायो ।

‘यही महीनाको शुरूतिर त हो नि, एउटी केटीलाई कोरोना भएपछि उसलाई आइसोलेशनमा र उसको परिवारलाई क्वारेन्टाइनमा राखियो । उसको मोबाइल खोलेर हेर्दा दुई दिन अघि ब्वाइफ्रेन्डसँग सम्पर्क भएको थाहा पाइयो । अनि त्यो र त्यसको परिवारलाई पनि यहीं ल्याइयो । तिनीहरूको जात मिल्दो रहेनछ । दुवै परिवारबीच यति मारामार भयो कि के भन्नु ? धन्न हामीले केटाको मोबाइल खोलेर हेरेनौं । नत्र अरू कति बवाल हुन्थ्यो होला ।’

‘तपाईंले उनीहरूलाई सम्झाउनुभएन ?’

‘के सम्झाउनु ? अब त कुटाकुट भइरहेको ठाउँमा छुटयाउन जाँदा पनि डराउनुपर्छ । बुझ्नुभो ?’

‘त्यस्तो के भयो र सर ?’ हरिमानले फेरि उक्सायो ।

‘आइसोलेशनमा घोप्टे जुँघावाल एउटा मोटो मान्छे बसेको छ’ सईले भन्यो, ‘ऊ पल्लो गाउँको साहू हो । लेनदेनका कुरामा उसको एक जनासँग नराम्ररी कुटाकुट परेछ र दुई जना छिमेकीले छुटयाइदिएछन् । साहू घाइते भएको रहेछ । अस्पताल पुर्‍याउँदा उसलाई कोरोना भएको पुष्टि भयो । अहिले ऊ त्यो घरमा छ, उसलाई कुट्ने र छुटयाउने तीनै जना यो घरमा, पल्लो कोठामा छन् ।’

सई हाँस्यो । हाँस्ने वेला भएछ भनेर अरू पनि हाँसे । उसले बिट मार्‍यो, ‘एउटा कुरा है । तपाईंहरू भाग्न चाहिं नभाग्नुहोला । नत्र हामीले पक्रेर ल्याउनुपर्छ ।’

त्यो रात क्वारेन्टाइनमा एक जनालाई सर्पले टोक्यो । डाक्टर थिएनन् । स्कूलको पियनले गाउँबाट एक जना ओझालाई लिएर आयो । सर्पले टोकेको ठाउँमा कालो ढुंगा, सिन्दूर र अरू के के राखेर उनले रातभरि अनेक तन्त्रमन्त्र गरिरहे । सबै जना त्यहीं झुम्मिएका थिए । त्यही सड्को आइसोलेशनका दुई जनाले रूखमा झुन्डेर आत्महत्या गरेछन् । यताबाट पाँच जना मलामी भागेछन् । सई फन्किंदै तिनलाई खोज्न हिंडयो । तर उनीहरू कहीं फेला परेनन् । न घरमा भेटिए, न त बजारमै ।

दिउसो मसानघाटवाला अधिकृत एक जना डाक्टर लिएर निरीक्षणमा आए । डाक्टरले भने, ‘१४ दिन पुगेपछि तपाईंहरू घर गए हुन्छ ।’

‘परीक्षण गरेर, संक्रमण नभएको ठहर भएपछि मात्र जाने होइन र डाक्टर साहेब ?’ हरिमानले सोध्यो ।

‘सय–पचासको भए पो परीक्षण गर्नु ? हजारौं हजारको कसरी परीक्षण गर्नु ? न उपकरण छन्, न जनशक्ति छ’ डाक्टरले तर्साए, ‘परीक्षण गराउने भन्नुहुन्छ भने रिपोर्ट आउन अरू १५ दिन लाग्छ । त्यतिन्जेल यहीं बस्नुपर्छ । बस्ने हो ?’

‘अब जथाभाबी परीक्षण गर्न सकिंदैन । सरकारसँग फजूलखर्च गर्ने बजेट छैन’ अधिकृत उड्किए, ‘जसको मृत्यु हुन्छ त्यसको मात्र परीक्षण गरेर रोग पत्ता लगाउने हो ।’

‘त्यसो भए क्वारेन्टाइनको के मतलब भो ?’

‘हेर्नोस्, यो क्वारेन्टाइन भन्ने कुरा सरकारका लागि बोकाको मुखमा कुभिन्डो भइसक्यो । जति मुख बाए पनि पार लाग्दैन । यसको कुनै अर्थ छैन । अब क्वारेन्टाइनलाई पूरै हटाउनुपर्छ’ अधिकृतले कुरा टुंग्याए, ‘सबै जना घरमै बस्ने, रोग लाग्यो भने सीधै अस्पताल जाने, उतैबाट आइसोलेशनमा आउने । आफ्नो स्वास्थ्यको जिम्मा जनताले आफैं लिनुपर्‍यो नि १’

अर्को दिन बिहान दिसा बस्न जाने बहानामा आइसोलेशनबाट चार जना भागे । तिनलाई पक्रेर ल्याउन पिस्तोल सहितका प्रहरी खटाइए । एउटालाई उसको घर नजीकै अमराईबाट पक्रेर ल्याइयो । प्रहरी आउन लागेको देखेपछि ऊ आँपको रूखमा चढेर लुकेको रहेछ । संयोगवश एउटा प्रहरीले आँप झार्न भनेर त्यही रूखमा ढुंगा हान्न खोज्दा उसलाई देखेछ र पिस्तोल देखाएर तल झारेछ ।

अरू तीन जनाको अत्तोपत्तो थिएन । दुई घण्टा पछि प्रहरी निरीक्षकको मोबाइल बज्यो । उताबाट एउटा प्रहरी कातर स्वरमा गुहार माग्दैथियो, ‘मलाई बचाउनुपर्‍यो सर, यिनीहरूले मलाई पनि कोरोना सारिदिने भए ।’

‘के भो ? राम्ररी भन् ।’

‘मैले तीनै जनालाई फेला पारें । तर उनीहरूले मलाई नै घेरेका छन् । तीनै जनाले तेरो मुखमा एकैचोटि हाच्छिउँ गर्दिन्छौं भनेर धम्क्याउँदैछन् । म के गरौं, सर ?’

‘तँसित पिस्तोल छैन ?’

‘त्यही पिस्तोल देखाएर त म नजीक नआओ भनेर रोकिराखेको छु सर । यसरी कतिन्जेल रोक्नु ?’

‘आत्मरक्षाका लागि तिनीहरूको खुट्टामा गोली हान् न ।’

‘त्यो मिल्दैन सर । एउटाले मोबाइलबाट फेसबुकमा लाइभ गर्दैछ । दुनियाँले देखिराखेका होलान् । भोलि सरलाई नै अप्ठयारो पर्छ ।’

‘त्यसो भए जसरी हुन्छ, कुरा मिलाएर उम्की । उनीहरू फेला परेनन् भन्ने रिपोर्ट गरिदिउँला । ओभर एन्ड आउट !’

प्रकाशित : जेष्ठ ३१, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?