के साँच्चै नेपालमा कोरोनाले कम मानिसहरुको मृत्यु भएको हो?

डा. दिनेश न्यौपाने

काठमाडौँ — नेपालमा अन्य देशमा भन्दा कोरोनाको मृत्युदर कम भएको भनेर बारम्बार समाचारहरु आइरहेका छन् । यही सिलिसिलामा हिजो त सम्माननीय प्रधानमन्त्रीले पनि सोही कुरालाई दोहोर्‍याउनुभयो । अझ उहाँले त नेपालीहरुको रोग प्रतिरोधी क्षमता अरु देशका मानिसहरुको भन्दा बढी हुने भनेर गलत जिकिर गर्नुभयो ।

के साँच्चै नेपालमा कोरोनाले कम मानिसहरुको मृत्यु भएको हो?

बरु हाम्रोमा कुपोषणको दर उच्च भएकोले रोगसँग लड्ने क्षमता कमजोर छ भनेर भन्नु भएको भए केही वैज्ञानिक तर्क गर्न सकिन्थ्यो होला ।

रोगको मृत्युदर बुझ्नका लागि सीएफआर (केस फेटालिटी रेट) को बारेमा बुझ्नु जरुरी हुन्छ । यो भनेको प्रयोगशालाबाट पीसीआर परिक्षण गर्दा पोजिटिभ देखिएका मध्ये कोरोनाको कारणले जम्मा मृत्यु हुनेको प्रतिशत हो ।

कोरोना भाइरसले मुख्यत: फोक्सोमा असर गरेर मानिसहरुको मृत्यु हुने भए पनि कतिपयमा मृत्युको कारण अहिले पनि अध्ययन अनुसन्धानकै विषय रहेको छ । धेरै कोरोना संक्रमितहरु निको नभइसकेकाले अहिले भएका जम्मा मृत्युको संख्यालाई जम्मा संक्रमितको संख्याले भाग गरेर सीएफआर निकाल्नु गलत हुन्छ । यसको लागि निको भइसकेका वा मृत्यु भएकाको संख्यालाई आधार मान्नुपर्ने हुन्छ ।

वल्डोमिटरको पछिल्लो तथ्यांङको आधारमा यसरी सीफआर निकाल्दा अहिलेको औसत विश्वको सीएफआर करिब १० प्रतिशत जति हुन आउँछ । लगभग पूरै संक्रमितहरु निको भएको चीनको सीएफआर करिब ६ प्रतिशत छ । हाम्रो जस्तै भौगोलिक अवस्था भएको दक्षिण अमेरिकी देश पेरुको सीएफआर ५.८ प्रतिशत छ । अमेरिका र क्यानडाको सीएफआर करिब १२ प्रतिशत जति छ ।

देशैपिच्छे फरक फरक सीएफआर देखिनु भाइरसको खतराको स्तरले भन्दा पनि त्यो देशको संक्रमितहरुको पहिचान गर्ने रणनीतिले मुख्य भूमिका खेलेको देखिन्छ । अर्को कुरा पीसीआर टेस्ट गर्ने क्षमता र रणनीतिले पनि सीएफआर लाई प्रभाव पार्दछ । जस्तो धेरै मात्रामा टेस्ट गर्ने दक्षिण कोरिया, सिंगापुर, हङकङ र न्यूजिल्याण्डमा लक्षण नभएका वा सामान्य लक्षण भएकाहरु वढि पत्ता लागेकाले तिनिीरुको सीएफआर तीन प्रतिशत वा सोभन्दा पनि कम देखिएको छ भने लक्षण देखिएका वा उच्च जोखिममा भएकाहरुको मात्र टेस्ट गर्ने रणनिति लिएका इटाली, फ्रान्स, अमेरिका र स्पेन जस्ता देशहरुको सीएफआर दश प्रतिशतभन्दा माथि देखिन्छ ।

अहिलेसम्म नेपालमा केबल ८६१ जना मात्र निको भएर घर फर्किएकाले सिएफआर निकाली हाल्नु अलि हतार हुन्छ । अहिले पनि ३७०० भन्दा बढी संक्रमितहरुको अवस्था के हुन्छ हेर्न बाँकी नै छ । यदि प्रतिशतमा नै निकाल्ने हो भने पनि सीएफआर करिब दुई प्रतिशत हुन आउँछ न कि ०.३ प्रतिशत । संक्रमितहरु मध्ये केहीको मात्र मृत्यु भयो भने पनि सीएफआर ह्वात्तै बढ्छ । उदाहरणका लागि अहिले संक्रमितहर मध्ये यदि मृत्यु हुनेको संख्या १५ बाट २५ मात्रै पुग्यो भने पनि सीएफआर करिब ४ प्रतिशत हुन आउँछ । छिमेकी मुलुक भारतको अहिलेसम्मको सीएफआर ५.४ प्रतिशत छ ।

अहिलेको तथ्याङ्क र हाम्रा सीमितताका आधारमा भन्ने हो भने नेपालको सीएफआर अरु देशहरुको भन्दा कम छ भनेर भनिहाल्न सकिने अवस्था छैन । नेपालमा कसैको मृत्यु भएपछि कारण खुलाएर प्रमाणीकरण गर्न अनिवार्य छैन । अस्पताल बाहिर मृत्युहुने वा पीसीआर टेस्टबिना नै संक्रमण भएर मृत्यु भएकाहरुको तथ्यांक पाउन सकिँदैन । अहिले नै कोरोनाको कारणले नभएर अरु नै कारणले कोरोना संक्रमितहरुको मृत्यु भएको भन्न मिल्दैन ।

सीएफआर जति नै कम भए पनि यो रोगको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर धेरै वढी छ । त्यसैले सीएफआर थोरै नै भए पनि कोरोना भाइरसले ठूलो क्षति पुर्‍याउने ल्याकत राख्दछ । अहिले कै रफ्तारमा नेपालमा संक्रमणको दर बढ्दै जाने हो भने मृत्यु हुनेहरुको संख्या पक्का पनि धेरै नै बढ्ने देखिन्छ ।

त्यसैले सस्तो लोकप्रियता र अल्पज्ञानको आधारमा हाम्रोमा मृत्युदर कम छ, हाम्रो इम्युनिटी राम्रो छ, यो रोगले हामीलाई केही गर्दैन भनेर समय बर्बाद गर्नुभन्दा सबै जना गम्भीर भएर हाम्रो अवस्था अरु देशको भन्दा पनि भयावह हुन नदिन आजैदेखि रोकथामका उपायहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो ।

(जनस्वास्थ्यविद डा. न्यौपाने अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको इपिडेमियोलोजी विभागमा कार्यरत छन् ।)

प्रकाशित : जेष्ठ ३०, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?