कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रतिपक्षको बैठक

‘प्रतिपक्ष भनेको कुम्भकर्ण हो । छ महीना सुत्यो, एक दिन उठेर आँ गर्‍यो, रावणले पेटभरि आहारा हालिदिन्छ, ढ्याउअ डकार्‍यो, अनि फेरि सुत्यो ।’
शरच्चन्द्र वस्ती

कैयौं हप्ताको निस्तब्धता पछि एक अपराहृन पार्टी मुख्यालयको टेलिफोन घन्कियो । नजीकै सुतिरहेको कार्यालय सहायक झस्केर उठ्यो र हतारहतार फोन उठायो । नमस्कारको सट्टा भन्ने गरिएको ‘जय नेपाल’ भनिसक्न नपाउँदै नेताजीको आदेश पायो, ‘भोलि मीटिङ हुन्छ, तयारी गर्नू ।’

प्रतिपक्षको बैठक

पार्टी ठूलो थियो । सबैभन्दा पुरानो । पुरानो कोट जस्तै । शानदार इतिहास भएको तर वर्तमानमा साइज नमिलेको । ‘बेडरूम’ बाट ‘स्टोररूम’ मा पुगेको । नेताहरू पनि त्यही कोट जस्ता थिए । मुख्यालयले तिनको मुख देख्न औंसीपुर्ने कुर्नुपर्थ्यो । त्यतिन्जेल माकुरा, मूसा र साङ्लाले राजकाज चलाउँथे । नेताजीको फोन पछि कार्यालय सहायकले कुचीकार, जमदार, चौकीदार सबैलाई बोलाएर आदेश जारी गर्‍यो, ‘भोलि बैठक छ, बिहानै आएर अफिस सफा गर्ने ।’

नेताहरू आइपुग्दा दिन ओरालो लाग्दैथियो । बिहानको खानपीन अर्थात् ‘लन्च’ सकेर एक निद्रा सुतेपछि एक कप चिया खाएर ढीला नगरी आउँदा त्यति समय त भइहाल्थ्यो । सामान्य भलाकुसारी पछि बैठक शुरू भयो । शुरूमै सभापतिले भने, ‘यो निर्णय गर्न बोलाइएको बैठक हो । आज हामीले ऐतिँहासिक निर्णय गर्नुपर्छ । अब निर्णय गरौं ।’

‘छलफलै भएको छैन, के निर्णय गर्ने ?’ गर्नुपर्ने निर्णयबारे थाहा पाइसकेका र त्यही निर्णय गर्न तयार भएर आएका नेता नम्बर दुईले प्रश्न गरे । उनको उद्देश्य प्रश्न गर्नु नभएर आफूले सभापतिलाई टक्कर दिएको देखाउनु थियो ।

‘शुरूमै छलफलतिर लाग्दा आज निर्णय गर्न भ्याइँदैन । त्यसैले पहिला निर्णय गरिहालौं । छलफल त्यसपछि गरौंला’ सभापतिले सह–महामन्त्रीलाई अह्राए, ‘निर्णय लेख्नोस् त !’

‘के लेख्ने दाइ ?’

‘सत्तारूढ दलले निर्णय गरिसक्यो । हामीले पनि त्यही निर्णय गर्ने हो । त्यही लेख्नोस् न !’

‘मैले बुझिनँ’ तिलचामले दारीवाल युवा नेता कस्सिए, ‘हामी प्रमुख प्रतिपक्षी दल । सत्तापक्षले निर्णय गरिसकेको कुरा हाम्रो निर्णय कसरी हुन्छ ? यसलाई निर्णय भनिन्छ कि समर्थन ?’

‘यो यस्तै हो भाइ’ दार्शनिक नेताले सम्झाउन खोजे, ‘उहिलेउहिले हामी निर्णय गर्थ्यौं, अरू पार्टी विरोध अथवा समर्थन गर्दै हाम्रा पछि लतारिन्थे । आज समय फेरिएको छ । निर्णय अरूले गर्छन्, हामी तिनको पछि लतारिन्छौं । विरोध गरे पनि समर्थन गरे पनि त्यो क्रिया नभएर प्रतिक्रिया मात्र हो । तर त्यसलाई निर्णय भनिदिंदा अलिक गहकिलो सुनिन्छ क्या ! कुरा बुझ न ।’

‘के बुझ्नु ? प्रतिपक्षको काम सरकारको समर्थन मात्र गर्ने हो ? हामीले आन्दोलन गर्न पाउनुपर्दैन ?’ दारीवाल रन्किए, ‘बिहान हामी आन्दोलन घोषणा गर्छौं, साँझ हाम्रा नेता महाराजको दर्शनभेटमा जान्छन् र आन्दोलन तुहाइदिन्छन् ।’

‘हामी रचनात्मक प्रतिपक्षको उदाहरण प्रस्तुत गर्दैछौं’ सभापतिले बचाउ गरे, ‘देशको जिम्मा महाराजले लिएका छन्, विरोधको जिम्मा पनि उनकै पार्टीले लिएको छ । जे गर्छन्, गरून् । हामीले बेकारमा किन टाउको दुखाउने ?’

‘ठीक भन्नुभो । रचनात्मक प्रतिपक्ष भनेको कुम्भकर्णको अवतार हो । छ महीना सुत्यो, एक दिन उठेर आँ गर्‍यो, रावणले पेटभरि आहारा हालिदिन्छ, ढ्याउअ डकार्‍यो, अनि फेरि सुत्यो । होइन त ?’ नेता नम्बर तीनले व्यंग्य गरे ।

बैठकमा हाँसो छायो । सभापति झर्किए, ‘नकराऊ यार । त्यो त्रेतायुगको कथा हो । कलियुगको रावणलाई त छ महीनामा एकचोटि भेट्नु पनि लंका जिते जस्तो हुन्छ । कति कुरा मिलाउनुपर्छ, तिमीहरूलाई के थाहा ? पार्टी चलाइदिएकै छु, चूप लागेर बस न ।’

‘यसरी हुँदैन नि दाइ, तपाईं पो भाउजूले भनेपछि गएर कुरा मिलाउनुहुन्छ र ढुक्क छ । हाम्रो त बिजोक छ । आम्दानीको बाटै सुकिसक्यो’ एक नेतापुत्रले गनगन गरे ।

फूलमाला सहित फोटो टाँगिने नेताहरूका आधा दर्जन जति सन्तान बैठकमा उपस्थित थिए, जसले आफ्ना बाबुको नाममा गैसस चलाउँथे र सरकारबाट वर्षेनि मोटो अनुदान कुम्ल्याउँथे । सभापतिले तिनलाई एकमुस्ट सम्बोधन गरे, ‘तिमीहरूका आआफ्नै पसल छन्, झन् कसैले त सुपरमार्केट नै चलाएका छौ । अरू कति चाहियो ?’

‘उहाँहरूको मात्र कुरा होइन, हामीलाई पनि संकट छ’ लहरै बसेका आठजना पूर्वमन्त्रीमध्ये एकले मुख फोरे, ‘अब त व्यापारी–उद्योगपतिले हाम्रो फोन पनि उठाउन छाडे । न कतैबाट चन्दा आउँछ, न कमिशन । कसैले पत्याउँदैन । अरू त अरू, पत्रकारले धरी फोन गर्दैनन् । यस्तो भएपछि आन्दोलन नगरी हुन्छ ?’

भ्रष्टाचारीलाई कार्वाही गर्न खोज्दा राजीनामा दिन बाध्य पारिएका पूर्वमन्त्री अर्को लहरमा थिए । उनले झम्टिए, ‘अरू कोही नभएर तपाईंहरूका लागि पार्टीले आन्दोलन गरिदिनुपर्ने ? अलिकति त लाज मान्नोस् ।’

‘मेरो एउटा सुझाव छ’ धार्मिक क्षेत्र हेर्ने वयस्क नेताले आन्दोलनको विकल्प सुझाए, ‘हामी एउटा भव्य महायज्ञ गरौं । मान्छेहरू मेरो सम्पर्कमा छन् । इन्डियाबाट पनि बाबाहरू आउनुहुन्छ । सारा व्यवस्थापन मेरो जिम्मामा हुन्छ । पार्टीले एक पैसा खर्च गर्नुपर्दैन । महायज्ञ पछि सम्पूर्ण ग्रहदशा समाप्त हुन्छन् । शत्रुको विनाश हुन्छ र पार्टीको भाग्य चम्किन्छ ।’

‘कुरो त ठीकै हो । घरबाट पनि मलाई यस्तै सुझाव आएको थियो । तर कोरोना चम्केको वेला महायज्ञ गर्दा मान्छेले के भन्लान् ?’ सभापतिले नरम भाषामा अस्वीकार गरे ।

‘आन्दोलन पनि नगर्ने, महायज्ञ पनि नगर्ने । केही नगर्ने भए पार्टीको नाम नै झखापा राखिदिऊँ न त’ ६८ वर्षीय युवा नेताले छेड हाने, ‘झखापा अर्थात् झर्ला र खाउँला पार्टी ।’

बैठकमा हाँसोको विस्फोट भयो । सभापति चाहिं गम्भीर थिए, ‘आफूले झार्न सकिंदैन क्यारे । झरेपछि नै खाने त हो नि । बाहिर पो भन्न हुँदैन !’

‘यो पनि एउटा नीति हो । खास गरी अहिलेको अवस्थामा हाम्रा लागि यो नै सबैभन्दा महत्त्वपूर्ण नीति हो’ सभापति निकट बौद्धिक नेता ‘झर्ला र खाउँला’ को सिद्धान्तीकरण गर्न अघि सरे, ‘यसको सूत्र हो— लक्ष्य स्पष्ट हुनुपर्छ, अर्जुनदृष्टि राखेर बस्नुपर्छ र धैर्य गर्नुपर्छ । भाग्यले साथ दिए जे पनि हुन्छ । एउटा नीतिकथा सुन्नोस्...

‘एकपल्ट एउटा सपेराले सर्प समातेछ र काठको सानो डिब्बामा हालेर बन्द गरिदिएछ । हलचल गर्न नसकिने र सास फेर्न पनि गाह्रो हुने त्यो डिब्बामा भोकै–प्यासै एक हप्ता बिताएपछि सर्प अधमरो भएछ । चारैतिरबाट निराश भएर उसले बाँच्ने आशा समेत गुमाएछ । त्यही वेला एउटा मूसो खानेकुरा खोज्दै डिब्बामा प्वाल पारेर भित्र पसेछ । अकस्मात् आफ्नो मुखमा आइपुगेको मूसालाई सर्पले झटपट आहारा बनाएछ र उसैले पारेको प्वालबाट सुलुलुलु बाहिर निस्केर आफ्नो दुलोतिर लागेछ ।

‘यसबाट लिनुपर्ने शिक्षा हो— झार्छु र खान्छु भनेर चुरीफुरी गर्नेको हालत मूसाको जस्तो हुन्छ । भाग्यमा भए आहारा तपाईंको मुखमै आइपुग्छ । आफैं झरे पनि, अर्काले झारिदिए पनि खाने तपाईंले नै हो ।’

‘हाम्रा लागि कसले झारिदेला र ?’ नम्बर दुईले सुस्केरा हाले ।

‘हेर्दै जानोस्, के हुन्छ !’

‘अहिल्यै भन्देको छु, अब त मैले खान पाउनुपर्छ’ मुख मिठ्याउँदै नम्बर दुईले सभापतिको अनुहारमा हेरे ।

‘खूब खाउला...’ सभापतिले जिस्क्याए, ‘मलाई ज्योतिषीले छपल्ट खान पाउँछस् भनेको छ । चारपल्ट खाइसकें, अझै दुईपल्ट बाँकी छ ।’

‘कहिले झर्ने, कहिले खाने...’ उनले ओठ लेप्र्याए ।

‘के थाहा, यसपालिको दशैं खर्च मेरै हातबाट पाउने हौ कि ?’ सभापतिले जिस्क्याउन छोडेनन् ।

‘खर्चले मात्र कहाँ हुन्छ ? दशैंमा घर जान एउटा राम्रो गाडी पनि चाहिन्छ,’ नम्बर दुईले मौका छोपे । उनलाई लाग्यो, आज सभापतिलाई दुईचोटि टक्कर दिएँ ।

‘ल अब बैठक टुंग्याऊँ । साँझको तलतल लाग्ने वेला भो’ सभापतिले आदेश दिए, ‘आजको निर्णय सुनाउनोस् त ।’

के विषयमा के निर्णय गरियो भन्ने थाहा नपाएका सदस्यहरूले आफ्नो निर्णय सुन्न कान ठाडा पारे । सह–महामन्त्रीले निर्णय सुनाए : ‘हाम्रो पार्टी आफ्नो देशको नक्शा आफैं बनाउने सत्तापक्षको निर्णयप्रति सहमत हुने निर्णय गर्दछ ।’

पछाडि बसेकी महिला नेत्रीले हाँसो रोक्न सकिनन् । खितखिताउँदै भनिन्, ‘देशको नक्शा त पाँच कक्षामा पढ्ने मेरी छोरीले पनि आफैं बनाइरहेकी छ नि । यस्तो कुरा पनि यत्रो बैठक बसेर निर्णय गर्नुपर्छ ?’

सभापति बाहिर निस्किसकेका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?