१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुरक्षित जीवनका लागि जैविक विविधता 

सन्दर्भः विश्व वातावरण दिवस
गोविन्द पोखरेल

काठमाडौँ — केही दिनअघि दक्षिण भारतीय राज्य केरलामा जनावरमाथि मानिसको क्रुरताको एउटा घटना सार्वजनिक भयो । भुईकटहरभित्र विष्फोटक पदार्थ भरेर एउटा गर्भिणी हात्तीलाई खान दिइयो । उक्त हात्तीलाई मारियो ।

सुरक्षित जीवनका लागि जैविक विविधता 

खाने क्रममा मुखभित्रै विस्फोटन भएर घाइते उक्त उक्त हात्ती तीन दिन भेलियार नदीमा सुँड डुबाएर बसेकी थिई । उक्त घटनालाई लिएर विश्वभरका संरक्षणकर्मीहरुले विरोध जनाइरहेका छन् । मानव निर्दोष जनावरसँग कतिसम्म क्रुर हुन्छ भन्ने यो उदाहरण काफी छ ।

हरेक वर्षको जुन ५ मा मनाइने विश्व वातवरण दिवसको केही दिनअघि भएको यो घटनाले अहिले मानव–वन्यजन्तु द्वन्द्व छर्लङ बनाइदिएको छ । कोरोना महाव्याधिका कारण सिंगो विश्व आंशिक रूपमा लकडाउन छ । मानवीय गतिविधिहरु ठप्प छन्, फाटफुट रूपमा सवारी साधन चलेका छन्, अर्थतन्त्र धरासायी बन्दै गएको छ । एउटा भाइरसले सिंगो मानव समुदायलाई त्राहीत्राही बनाइदिएको छ ।

अर्कोतर्फ मानिसलाई छाडेर सिंगो पृथ्वीलाई हेर्ने हो भने करौडौं जीवहरुहरु खुसी देखिन्छन् । सफा र शान्त वातावरणमा उनीहरु रमाइरहेका छन् । मानिसहरु घरमै बस्न थालेपछि वन्यजन्तुहरु अहिले जताततै देखिन थालेका छन् । सधैं मानवीय गतिविधि र गाडीको आवाज सुनिने सहरी क्षेत्रमा हिजोआज चराचुरुंगीको आवाजले वातवरण गुञ्जायमान बनाइदिएको छ । कार्बन उत्सर्जन पनि घटेर वायुमण्डल सफा देखिएको छ । सहरी क्षेत्रमै स्वच्छ हावामा प्रदूषणको मात्रा निकै घटेको छ ।

पृथ्वी मानिसको मात्रै पेवा होइन, सबै प्राणीको साझा घर हो । वन्यजन्तुका विचरण क्षेत्र हामीले अतिक्रमण गर्दै जाँदा उनीहरू बाँच्नका लागि गर्नुपरेको संघर्षका क्रममा मान्छेका आमनेसामने भएका हुन् । हामीले उनीहरूका लागि सुरक्षित विचरणका क्षेत्र नछाड्ने हो भने धेरै प्राणी लोप भएर जान्छन् । धेरै वर्षदेखि यो क्रम चलिरहेकै छ । वन्यजन्तुले स्वतन्त्रतापूर्वक बाँच्न पाउने क्षेत्र बाधामुक्त भइदिए उनीहरू मान्छेका गाउँबस्तीमा आउँदैनन् ।

बितेका केही साता संसारको ध्यान सलहले आकर्षित गर्‍यो । फ्टयांग्राको उक्त प्रजातिलाई मान्छेले नियन्त्रण गर्नुपर्ने नै होइन । जब उनीहरूलाई आहारा बनाउने चराचुरुंगी मासिए, तिनको संख्या यति विघ्‍न बढ्यो की मान्छेलाई खाद्यसंकटको सामना गर्न दरिलो रोकथामको विकल्प खोज्न बाध्य पार्‍यो । संसारमा जहाँ कहीँ वन्यजन्तु र किराफ्ट्यांग्राले दुःख दिएका छन्, त्यसका मूल कारकलाई सुक्ष्म तवरले केलाउँदा मान्छेले प्राकृतिक सन्तुलनमा गरेको हस्तक्षेपकै उपज भन्ने देखाएका छन् ।

कोरोना महामारीका बेला मानवीय गतिविधि कम हुँदा पृथ्वीमा पाइने विभिन्न जीवका प्रजातिहरुलाई भने राहत मिलेको जस्तो देखिन्छ । कोरोना भाइरस वन्यजन्तु हुँदै मानिसमा सरेको विषयमा वैज्ञानिकहरु एक मत छन् । मानवीय क्रियाकलापका कारण बढेको जलवायु परिवर्तन, जंगली जनावरको ओसारपसार र व्यापार, वन फडाँनी, प्राकृतिक स्रोतमाथिको निरन्तर दोहन, कार्बन उत्सर्जन, तापक्रममा वृद्धि जस्ता कार्यहरुले परेको प्रतिकूल प्रभाव आज सिंगो मानव समुदायलाई भारी बनेको छ । प्रकृतिले मान्छेलाई प्रष्ट सन्देश दिएको छ– मिलेर बस ।

सन् २०२० का हरेकजसो ठूला कार्यक्रमहरु अनलाइन प्लटेफर्ममार्फत मनाइदै आइएको छ । यो वर्ष सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने नाराका साथ वातवरण दिवस मनाइदै छ । मानिससहित करोडौं प्रजातिहरुको साझा घर पृथ्वी । यही साझा घरमा हरेक जीवहरुको आ–आफ्नो महत्व, विशेषता र अस्तित्व छ । ढुंगाको भर माटो, माटोको भर ढुंगा जसरी नै एउटा जीवको अस्तित्व अर्को जीवसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । पृथ्वीको यही विशिष्टकृत इकोसिस्टमले सबैलाई प्राणीहरुलाई बचाएको छ । स्वास्थ्य पारिस्थितकीय प्रणाली स्वास्थ्य जीवनको द्योतक पनि हो ।

प्रकृतिले हरेक जीवहरुका लागि बाँच्ने पाउने पूर्वाधार निर्माण गरिदिएको छ । फट्यांग्राादेखि हृवेल माछाको बासस्थान प्रकृतिले नै निर्माण गरिदिएको छ । हावा, पानी, बासस्थान, खानाको उपलब्धता लगायत अन्य विविध वातवरणीय पक्षहरु वातवरणमा पाइन्छन् । लोभी मानिसले आफ्नो महत्वकांक्षा पूरा गर्न प्रकृतिमाथि निरन्तरको दोहनले अन्य प्रजातिहरु पनि जोखिममा परेका छन् । इन्टर गर्भनमेन्टल साइन्स पोलिसी प्लेटफर्म अन बायोडाइर्भसिटी एन्ड इकोसिस्टम (आईपीबीईस)का अनुसार पृथ्वीमा १० लाख प्रजातिहरु लोप हुने खतरामा रहेको उल्लेख गरेको छ । मानवीय क्रियाकलापहरु नसच्चिने हो भने अबका वर्षहरु मानिसका लागि झनै खतरा हुने अनुसन्धानले देखाएका छन् ।

सन् २०५० सम्म विश्वका ७० प्रतिशत मानिसहरु सहरमा बस्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । सहरी क्षेत्रहरु बढ्दै जाँदा वन फडानी पनि बढ्ने अनुमान छ । मावन–वन्यजन्तु द्वन्द्व र वन्यजन्तुको ओसारपसारका कारण तीनमा भएका रोगहरु मानिसमा सर्ने खतरा झनै बढ्ने अनुगमन गरिएको छ । यस्तो अवस्थामा प्रकृति र पारिस्थितकीय प्रणालीलाई नखल्बल्याउन वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सहरी क्षेत्र बढ्दै गर्दा वन्यजन्तुको बासस्थान खुम्चने र ती जीवहरु मानव बस्ती नजिक आउँदा तीनमा भएका रोगव्याधिहरु सर्ने सम्भावना पनि बढेर गएको छ । त्यस्तो अवस्थाबाट बँच्नका लागि बेलैमा सोच्ने बेला आएको छ ।

खेतीपातीका लागि गरिने वन फडानी, प्रदूषण, रासायनिक पदार्थ, किटनाशक औषधी र जलवायु परिवर्तन अहिले हाम्रो सुरक्षित जीवनका लागि समस्या बन्दै गएका छन् । धेरै मात्रामा विषादी र रासायनिक फोहोरका कारण जमिनको उर्वर क्षमतामा ह्रास आउनुका साथै मौरीजस्ता परागसेचनमा प्रमुख भूमिका निर्वाह गर्ने प्रजातिहरु मासिने खतरा बढेको छ । यसले निकट भविष्यमा हामीलाई खाद्य संकटको झन् ठूलो समस्याको सामना गर्नुपर्ने विश्व खाद्य संगठनले उल्लेख गरेको छ । अन्य जीवहरुसँगको सह–अस्तित्व आजको आवश्यता देखिएको छ ।

स्वच्छ जैविक विविधताले मानिसलाई स्वच्छ जीवनसँगै आर्थिक फाइदा पनि पुर्‍याएको छ । विश्वको कूल गार्हस्थ उत्पादनको आधा हिस्सा जैविक विविधताले दिने सेवामा रहेको यूएनले जनाएको छ । वन्यजन्तु पर्यटनबाट मात्रै पनि विश्वमा करिब १ सय २० बिलियन आर्थिक कारोबार हुन्छ । हामी खाने करिब ७५ प्रतिशत बाली परागसेचनमा योगदान पुर्‍याउने जीवहरुको देन हो । स्वच्छ जैविक विविधताले विभिन्न रोगव्याधिलाई प्राकृृतिक रूपमा नष्ट गरेर मानिससम्म पुग्न दिँदैन । जसका कारण सरुवा तथा अन्य रोगहरु लाग्न कम हुन्छ । स्वच्छ वातावरणमा कम रोग फैलने र तहसनहस भएको क्षेत्रमा रोगहरु छिटो फैलने कारण पनि जैविक विविधतालाई लिन सकिन्छ । जैविक विविधताले वन्यजन्तु र मानिसबीचको प्राकृतिक चक्रलाई सन्तुलन बनाइरहेको हुन्छ ।

कोरोना महाव्याधिले मानिसको आर्थिक समाजिक जीवन प्रभावित त पारेको छ । तर, यसले निको हुँदै गएको पृथ्वीको घाउ (जलवायु परिवर्तन, कार्बन उत्सर्जन, प्रदूषण आदि)लाई मानिसले आफ्नो गतिविधिलाई कम गर्ने अवसर पनि दिएको छ । घरमै गर्न सकिने काम घरबाटै गर्न सकिन्छ । यसबाट यातायातमा प्रयोग हुने इन्धनको खपत कम हुन्छ भने अर्कोतर्फ प्रदूषणको मात्रा पनि कम गराउन सकिन्छ ।

यदि मानिसले प्रकृतिमाथि निरन्तर दोहन नै मात्रै गरिरहने, संरक्षणको कुनै उपायहरु नगर्ने हो भने कोरोना जस्तै अन्य विविध समस्याहरु झेल्नुपर्ने वैज्ञानिकहरुले बताएका छन् । कोरोना महामारीका कारण अहिले मुलुकभित्रै पनि धेरैले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा मानिसहरुले आफ्नो पेट पाल्न एवं आर्थिक गतिविधि सुचारु गर्नर् सजिलो उपाय खोज्ने क्रममा वन र वन्यजन्तुलाई निशाना बनाउने सम्भावना बढेको छ । सर्तक भएर संरक्षणकर्मीहरुले काम गर्नुपर्ने देखिएको छ । डब्लूडब्लूएफ नेपालका प्रमुख घनश्याम गुरुङका अनुसार अबका दिनहरुमा खाद्य संकटको समस्याहरु आउने भएकाले जमिन संरक्षण, वनक्षेत्रको संरक्षणमा झन चुनौती निम्तदैछ । यस्तै अवस्थामा राज्यका हरेक निकायहरुले बेलैमा सचेत भएर काम गर्नुपर्ने देखिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?