जातीय विभेदले आक्रान्त दुई गोलार्द्ध

पृथ्वीको दुई गोलार्द्धमा नवराज र जर्जले एकै समय जातीय विभेद र रंगभेदका कारण मारिनु परेको छ । यी घटनाले लोकतान्त्रिक दुवै मुलुकको मुहारमा कालो पोतेको छ । विज्ञान र प्रविधिका कारण विकासको उचाइमा पुगेको घमण्ड गर्ने मानव समाजको मुखमा हिलो छ्यापेको छ ।
शकुन्तला जोशी

गत वर्ष नेपाली कला साहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको काव्य उत्सवमा सहभागी हुन म एउटा टोलीसँग जाजरकोटको सदरमुकाम खलंगा पुगेको थिएँ । त्यो छोटो यात्राबाट फर्कंदा मैले हैंजाले सोहोरिएका बस्ती, जनयुद्धका क्रममा आफन्त गुमाएर उदासिएका दलानहरु टेक्न फेरि खलंगा पुग्ने वाचा गरेको थिएँ ।

बाहिरी आँखाले देख्दा सदरमुकामको जनजीवन सामान्य देखिन्थ्यो । खलंगा बजारबाट नजिकै देखिने भेरी नदी र त्यससँग जोडिएको सभ्यताको मोहक दृश्यले मन तरंगित भएको थियो । पूर्वमा तमोर नदीकै आसपास, यसकै पानीसँग खेल्दै हुर्केकाले होला नदीसँग मेरो विशेष सम्मोहन छ । प्रकृतिका यी जीवनदायी मुहानहरुसँग मेरो जति प्रेम छ उति नै हृदयविदारक दुःखहरु पनि जोडिएका छन् । ती दुःखका कथा हुन सक्छ भविष्यमा कतै लेखिने छ वा नदीले आफ्नै गर्तमा सँधैलाई लुकाइदिने छ ।

तर यतिबेला आँखा अडिइरहने भेरीको त्यो सौन्दर्य मेरो मनभरि बिझाएको छ । किन सकेनन् मानिसहरुले त्यही नदीको पानी पिएर नदीजस्तै सङ्लो सम्बन्ध विकास गर्न ? त्यही नदीमा नुहाएर निस्केकाहरुले किन अछुत मान्छन् प्रेम र रगतलाई ? दम्भको कुन फणा हो त्यो जसले मान्छे जस्तो भएर बाँच्न दिएको छैन मान्छेलाई ? कस्तो अभिभानको ढोंग हो त्यो जसले अर्काको जीवन निमोठ्नलाई कति धक मान्दैन ? कस्तो समाज हो ? कस्ता सामाजिक प्राणी बस्छन् त्यो समाजमा ? जो एउटा प्रेमीलाई लखेट्दै ढुंगाले हानेर मार्न तँछाडमछाड गर्छन् ?

समाचार सुनेदेखि मथिंगल हल्लिएको छ । मान्छे मान्छेबीच छुत र अछुतको पर्खाल उभ्याउनमै मस्त छौं । विश्व कोरोना महाविपत्तिबाट मुक्त हुने संघर्षमा छ । हामी कोरोनासँगै यहीबेला छिमेकीको बलमिच्याइँको प्रतिरोध गर्ने प्रयासमा छौं । गुणात्मक दरमा बढ्दो कोरोनाको संक्रमणका कारण देशविदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्नु उस्तै चुनौती छ । विश्वको अर्थतन्त्रसँगै हाम्रो अर्थतन्त्र पनि थला बसेको छ । रोग र भोकसँग एकैपल्ट लडिरहेको यो असहज परिस्थितिमा रुकुममा भएको नरसंहारले समाज नराम्ररी हल्लिएको छ ।

गत शनिबार जाजरकोट भेरी नगरपालिका ४, रानागाउँका नवराज विक र उनका साथीहरुको कथित उच्च जातका मानिसहरुले हत्या गरेका छन् । रुकुम चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षे युवतीसँगको प्रेम सम्बन्धका कारण विकले जीवन गुमाउनु परेको छ । प्रेमिकालाई लिन भनेर चौरजहारी पुग्दा युवतीका परिवारसहित उक्त समुदायका ठूलो जनसंख्याले उनीहरुमाथि घरेलु हतियारसहित हमला गर्‍यो । उनलाई साथ दिन गएका अरु चार युवाको पनि ज्यान गएको छ, एकजना अझै भेरीमा बेपत्ता छन् । सामान्य मानवीय संवेदना र कानुनी राज्यको खिल्ली उडाउँदै सम्बन्धित समाजका अगुवासहित संलग्न यस्तो अपराध हुनुले नेपाली समाज मानव सभ्यताको ग्राफमा कहाँनेर छ ? ठम्याउन गाह्रो नपर्ला । हुन त अन्तरजातीय प्रेम र विवाह गर्दा अपमानित भएको, सामाजिक बहिष्कारमा परेको वा जीवन नै गुमाउनु परेको यो पहिलो घटना होइन । अन्तरजातीय प्रेम वा विवाह गरेका कारण बहिष्करणमा परेका धेरै दृष्टान्त समाजमा भेटिन्छ । अन्तरजातीय विवाह गरेकै कारण मारिएका काभ्रेका अजित मिजारको शव ४ वर्षदेखि शिक्षण अस्पताल, महाराजगञ्जमा थन्किएको छ । दैलेखका सेते दमाई आफ्नो छोरा सन्तबहादुरले उच्च जातकी केटीसँग विवाह गरेबापत मारिएका थिए ।

नवराज विकको हत्या भएकै दिन यता रुपन्देही जिल्लाको देवदह, बड्की गुम्बीकी १४ वर्षीया दलित नाबालिका अंगिरा पासीले अन्तरजातीय सम्बन्धकै कारण आत्महत्या गरेकी छन् । उच्च जातको भनिएको स्थानीय युवक विरेन्द्र भरले पासीलाई ललाइफकाइ यौन सम्बन्ध राखेको थाहा पाएपछि समाजले जबर्जस्ती केटाको घर भित्राइदिने प्रयास गरेको थियो । तर दलित भएका कारण केटाको परिवारले भित्र्याउन अस्वीकार गरेपछि केटीले आत्महत्या गरेको बताइएको छ । उमेर नपुगेकी बालिकासँग राखेको यौन सम्बन्धलाई कानुनले बलात्कार मान्ने हुँदा कसुरदारमाथि सोही अनुसारको अनुसन्धान अघि बढाइएको छ । तर कसुरदारको परिवार पीडित पक्षलाई पैसा दिएर घटना लुकाउने र नमानेमा ज्यान मार्ने धम्की दिइरहेको पासीकी आमाको भनाइ पनि सार्वजनिक भएको छ । अहिले पीडित परिवार जोखिममा छ । कसुरदार र जवरजस्ती केटाको घर भित्र्याउन लागिपरेका सम्बन्धित पक्षलाई कानुनले कस्तो सजाय देला ? जातीय विभेदले निम्त्याएका यी दुई घटनाले यतिबेला समाज तरंगित बनेको छ ।

दक्षिण एसियामै कायम छुवाछूत

नेपाल मात्रै नभई भारत, पाकिस्तान, बंगलादेशलगायत दक्षिण एसियाली देशहरुमा पनि छुवाछूत प्रथा कायमै छ । सन् २०११ को जनगणनाअनुसार भारतमा १६ करोड ६६ लाख दलित छन् । सोही सालको जनगणनाअनुसार नेपालमा १३ दशमलव ६ प्रतिशत (अनुमानित ३६ लाख) दलित छन् । यति ठूलो संख्यामा रहेर पनि यो समुदाय आफ्नै समाजमा अपमान र जोखिमले किचिएको छ । अन्तरजातीय प्रेम र वैवाहिक सम्बन्धका कारण अपमानित हुने र मारिनेहरु प्रशस्त छन् । गत वर्ष सेप्टेम्बरमा तेलंगनाको मिर्यालागुढा निवासी प्रणय पेरुमल्लाले आफूभन्दा कथित उच्च जातकी युवतीसँग विवाह गरेकै कारण ज्यान गुमाउनुप¥यो । राम्रो आर्थिक अवस्थाका प्रणयले सोही ठाउँकी अम्रुथा भर्सिनीसँग प्रेम विवाह गरेका थिए । भव्य पार्टीको आयोजना गरी विवाह गरेका प्रणयको दलित भएकै कारण उनका ससुराले पेशेवर हत्यारामार्फत् ज्यान लिएका थिए । प्रणयको हत्या हुँदा अमु्रथा गर्भवती थिइन् । गत वर्ष नै महाराष्ट्रकी रुक्मिणी रणसिंघेलाई आफ्नै माइतीले दलितसँग विवाह गरेका कारण आगो लगाएर मार्‍यो । गत जुलाईमै गुजरातको अहमदाबादमा २५ वर्षीय दलित युवा हरेश सोलांकीको पनि उच्च जातकी केटीसँग विवाह गर्ने दुस्साहस गरेबापत हत्या गरिएको थियो । उनलाई

नवविवाहिता श्रीमती उर्मिलाको परिवारले हत्या गराएका थिए । उर्मिला त्यतिबेला दुई महिनाकी गर्भवती थिइन् । गत जुलाईको कुरा हो, भारतीय जनता पार्टी बरेली डिस्ट्रिक्टअन्तर्गत बिठारी चैनपुरका विधानसभा सदस्य राजेश मिश्राकी छोरी साक्षीले सञ्चार माध्यमसामु आफू र आफ्नो पतिको जीवनरक्षाको अपिल गरिन् । दलित समुदायका अजितेश कुमारसँग प्रेम विवाह गरेपछि बाबुबाटै असुरक्षित भएको उनले खुलासा गरिन् । सञ्चारमाध्यममा मुद्दा बनेकै कारण हुनसक्छ उनीहरुको जीवन अहिलेसम्म सुरक्षित छ ।

समाज प्रेम र सहअस्तित्वमा अडेको छ । प्रेमले बनेको सम्बन्ध, प्रेमले बाँधिएको समाज नै चीरस्थायी हुन्छ । अहंकारले मानिसलाई अमानवीय बनाउँछ, हत्यारा बन्न उक्साउँछ । जातीय विभेद हुँदै नरसंहारसम्म पुगेको यी घटनाले उच्च जात, कुल घरानाको दम्भले मात्तिएका मानिसको खानदानमा कालो पोतिएको छ । तिनको सन्तान दर सन्तानमा हत्याराको पुस्तैनी छाप लाग्ने छ । प्रेमले भरिएको हृदय बोकेर आफ्नी प्रेमिका लिन आएको एक प्रेमीको हत्या गर्दै गर्दा तिनीहरुको हात अपराधबोधले किन काँपेन ? कसैको रगत लतपतिएको हातले कसरी सुम्सुम्याउँदा हुन् तिनीहरु आफ्ना नानीहरु ? के चौरजहारीका ठकुरीहरुले हुर्किंदै गरेका सन्तानलाई नरसंहारको कला सिकाउँछन् ? कि यो उनीहरुको पुस्तैनी सीप हो ? होइन भने कसरी सिंगो गाउँ उल्टिन सक्छ नरसंहारमा ? हर कुनै समाजमा एकाध व्यक्ति आपराधिक मानसिकताको हुन सक्छ । उसले अपराध गर्न सक्छ, तर सिंगो समाज ? अझ राज्यको निकाय प्रहरी, प्रशासन नै त्यसको पक्षपोषणमा लाग्नुले राज्य संयन्त्र, सम्बन्धित समाजप्रति नै कडा औंला उठेको छ ।

यसरी सिंगो समाज नै नियोजित तवरले नरसंहारमा उत्रिनुलाई मानवशास्त्री डा. सुरेश ढकाल समाजको फरक मनोविज्ञान र काल्पनिकीले काम गरेको विश्लेषण गर्छन् । उनी भन्छन्, ‘यो घटनाका प्रकृति अहिलेसम्म भएका अपराधहरुभन्दा फरक छ । यसमा तीन पक्षले काम गरेको अनुमान गर्न सकिन्छ । पहिलो, सिंगो समुदायमा ठकुरी हुनुको दम्भ छ । दोस्रो, समुदायमा नै ‘सुप्रिमो’ को भाव हुनु । हत्यामा संलग्न मल्ल समुदायको आफन्त, नातागोता स्थानीय निकायदेखि राज्यको केन्द्रीय तहसम्म देखिन्छ । यसरी शक्ति केन्द्रको पहुँचको बलियो आडमा समुदायमा आफूहरु नै सर्वेसर्वा भएको ‘सुप्रिमो’ भाव आएको हुनुपर्छ । तब समुदाय नै लागेर निम्छरा मानिएको दलितको सामूहिक हत्या गर्नु उनीहरुले सामान्य ठाने । तेस्रो, हत्याको सामूहिक मनोविज्ञान र काल्पनिकी डेढ दशकअघिसम्म चलेको सशस्त्र जनयुद्धको प्रभावले निर्माण गरेको छ । जनयुद्धका क्रममा हातहतियार लिएका हिँडेको लडाकु प्रत्यक्ष देखेभोगेका त्यो काल्पनिकी र मनोविज्ञानले पनि समुदायलाई नरसंहारमा उत्रिन उक्साएको हुनुपर्छ ।’

समाजको यो डरलाग्दो मनोविज्ञान देखेर रन्थनिइरहेका उनी यो घटना सामान्य रिसइबीको परिणाम मात्रै नभएको बताउँछन् । यसको समाजशास्त्रीय कोणबाट गम्भीर अध्ययन गर्नु पर्ने पनि उनी आवश्यक ठान्छन् । पीडित युवतीको तत्कालीन मनोदशाबारे पनि उनी चिन्ता व्यक्त गर्छन् ।

ती अछूत प्रेम

यहाँ म बाल्यकालदेखि युवा वयसम्म हुँदा आफैले देखे जानेका अछूत प्रेमका दृष्टान्तहरु राख्न चाहन्छु । पाँचथर विशेषत लिम्बूवान क्षेत्र भए पनि बहुजातजातिको बसोबास छ । आर्य समुदायको भन्दा खुला र सहज संस्कृति हुने लिम्बू बहुल हाम्रो समाजमा गैरदलित समुदायका बीच हुने अन्तरजातिय प्रेम र विवाह वर्जित थिएन । तर दलित र गैरदलित बीचको विवाह वा प्रेम निषेधित थियो । म सानो छँदाको एउटा घटना हो । गाउँमा एक जना नेवार जातकी फुपू र मिजार थरका दलित काकाको बीचमा प्रेम सम्बन्ध रहेछ । एउटै गाउँमा अर्मपर्म, मेलापात सँगसँगै हुँदा प्रेम बस्यो, अलिक वर्षको प्रेमका बीच फुपू गर्भवती भएको थाहा भयो । एक रात पञ्च भेला बस्यो । दुवै तर्फका अभिभावकसहित बसेको त्यो भेलाले केटाकेटी दुवैलाई बेस्मारी सिस्नुपानी हान्दै प्रेम गरेको (तत्कालिन गाउँले भाषामा प्रेम पनि हैन लसपस भएको) कबुल गराए ।

भेलाका अगुवाहरुले उनीहरुको सामान्य गोपनीयताको पनि ख्याल गरेनन् । दुवै जनालाई कहाँ, कुन–कुन मितिमा, कसरी कुन–कुन आसनमा, शारीरिक सम्बन्ध राखे भन्नेबारे बयान लिए । त्यो हुर्मत लिँदा समाजका नाइकेहरुमा अलिकति पनि संकोच थिएन । त्यहाँ भेला हुनेहरुका लागि उनीहरुको प्रेमको बयानले गज्जब मनोरञ्जन प्रदान गरेको थियो । ती काकाले फुपूको पेटमा हुर्केको बच्चा आफ्नो स्वीकार गरेपछि उनलाई केही जरिवाना गरेर छाडियो । दलित भएका कारण फुपू उनलाई जिम्मा लगाइएन । बरु अर्कै एक जना सजातीय पुरुषलाई केही खर्चसहित फुपूलाई जिम्मा दिए । उनीहरुको प्रेमको निशानीका रुपमा जन्मेकी छोरीलाई पछिसम्म पनि ‘फलाना दलितकी करेसे छोरी’ भन्ने उपमा दिएको सुनिन्थ्यो । ती काका पछिसम्म पनि अछुत र गरिब भएकैले आफ्नी छोरी पनि आफ्नो भन्न नपाएको गुनासो गर्थे । यसरी उनीहरुको प्रेमको अन्त्य भएको थियो ।

अर्की एक फुपू थिइन् । उनी गोरी थिइन् र सुशील पनि, गाउँलेहरु उनलाई जूनको उपमा दिन्थे । ‘कस्तो घरमा पर्छे होला ? कुन लाहुेरेले लाने हो ? साह्रै भाग्यमानी होली जस्ती छ,’ गाउँमा उनको भविष्यको अनुमान गर्थे । समय बित्दै गयो, उनलाई कुनै लाहुरे लिन त आएन । बरु एकै गाउँका दर्जी युवासँग उनको माया बस्यो । बाल्यकालदेखि सँगै हुर्केका ती युवासँग सिलाइको सीप पनि थियो । उनीे बिनायो बाजा पनि निकै राम्रा बनाउँथे र प्रेमिकालाई उपहार दिन्थे । घरबाट निस्केपछि उनी बिनायो बजाउँदै हिँड्थिन् । ‘एक कान दुई कान’ उनीहरुको पिरती गाउँमा हल्ला बन्यो । परिवारले जवरजस्ती फुपूको विवाह अलिक टाढाको गाउँमा गरिदिए ।

विवाह गरेको दुई तीन वर्षसम्म उनलाई माइती आएपछि घर पठाउन निकै फकाउनु पथ्र्यो । फुपूको विवाह भएपछि ती दलित युवा निकै समय विक्षिप्त जस्तो भए । ठूलो स्वरमा विद्रोह गर्न नसकेका उनको मनमा जीवनभर त्यो प्रेमको घाउ निको भएन । त्यसपछि अधिक मदिरापान गर्न थालेका उनको सोही कारण अल्पायुमै मृत्यु भयो । सायद ती फुपूसँग उनले बनाएको बिनायो भने आजसम्म सुरक्षित हुनुपर्छ । गाउँकै अर्का एक दास थरका युवाले पनि मोरङतिरबाट क्षेत्रीकी छोरी प्रेम विवाह गरेर पहाड ल्याए । केटीका बुबा आएर छोरी फर्काउन खोजे, उनी मानिनन् । ‘आजदेखि तँ हाम्रो लागि मरिस्, कहिल्यै फर्केर माइती नआउनू’ भनेर उनका बुबा फर्केका थिए । दलितसँग विवाह गरेकै कारण झण्डै तीन दशकदेखि ती महिला माइती फर्किन पाएकी छैनन् ।

देशमा प्रजातन्त्र आयो । राजनीतिक व्यवस्था परिवर्तन हुनुमा दलितहरुको पनि योगदान थियो । तर समय मात्र हिँिडरहेको थियो, समाजमा परिवर्तनको पाइला खासै हिँडेको थिएन । छोइछिटो कायमै थियो । मसँगै स्कुल पढेका एक विश्वकर्मा थरका युवा थिए । तिनको परिवार गाउँभरिका सबैभन्दा गरिब थियो । गरिब भए पनि उनी स्कुल जान्थे । पढाइमा अब्बल उनी कक्षामा प्रथम आउँथे । निम्न माध्यमिक तहमा पुग्दैदेखि उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । त्यसैबीच उनको एक क्षेत्री जातकी युवतीसँग प्रेम बस्यो । गाउँमा सबैले उनीहरुको चर्को निन्दा गर्न थाले । युवतीका अभिभावकको कडा निगरानी र धम्कीका बाबजुद पनि उनीहरुले भागेर विवाह गरे । समाजबाट बच्न उनीहरु अलिक समय मधेश झरे । तर, त्यहाँ गरिखाने ठाउँ थिएन, फर्केर घरै आए । ‘छोरी नजानु अजातमा गइसकी’ भनेर माइती चुप लागे । तर, उनीहरुको सम्बन्ध सुरक्षित हुन पाएन । उनीहरुलाई छुटाउन युवतीका मावलीहरु षड्यन्त्र गर्न लागे । राजनीति र सामाजिक रुपमा इज्जत कमाएका मावली एक विपन्न दलितलाई ज्वाइँ मान्न तयार भएनन् । घर पुगेको केही समयपछि नै एउटा खोला पारिदेखि आएका मावली खलकले युवतीलाई अपहरण शैलीमा उठाएर लगे । उनीहरुको सामू त्यो प्रेमी जोडीको विलौना वा विद्रोहको अर्थ थिएन । श्रीमती खोस्न आएमा जीउ ज्यानको तलमाथि हुने धम्की पाएपछि ती युवक डिप्रेसनको सिकार भए । उनकी श्रीमतीलाई भारतको आसाम लगेर कसैलाई जिम्मा लगाएको चर्चा गाउँमा चल्यो । प्रेम वियोगले पढाइ पनि अधुरै छाडेर विदेशिएका ती युवा अहिलेसम्म पनि खाडीको मरुभूमितिरै पलायन भएका छन् ।

यी मैले देखेका दृष्टान्तहरु हुन् । यस्ता अनगिन्ती कथा समाजमा व्याप्त छन् । दलित भएकै कारण सामाजिक बहिष्करणमा पर्नु परेको पिडाले तिनै दलितलाई मात्र बिझाएको छ । नेपालको मुलुकी ऐन २०२० ले जातीय छुवाछूत अन्त्य भएको घोषणा भएको आज आधा शताब्दी नाघिसकेको छ । २०६३ जेठ २१ गते संसद्ले नेपाल छुवाछूतमुक्त घोषणा होे । तर यस अवधिमा दलितहरुमाथिको दलनको स्वरुप परिवर्तन भएन । रुकुम घटनाले त्यो दलनको स्वरुप नरसंहारसम्म पुगेको प्रमाणित भएको छ । नेपाल सरकारकै तथ्यांकअनुसार २०६८ साल यता १८ जना दलित मारिएका छन् ।

उत्पीडनको लहरो

हुन त प्रजातन्त्र आउनु अघिको कम्युनिष्ट आन्दोलनले पनि परोक्ष रुपमा जातीय भेदभावविरुद्ध छिटफुट सुधार देखिन थालेको थियो । खासगरी पूर्वी पहाडी भेगतिर आँगनको डिलमा बसेर ‘जदौ’ गर्ने दलितहरु सिकुवामा बस्न पाउने भएका थिए । तर पश्चिम पहाडतिर बग्दो पानीको धारो छोएको निहुँमा दलितलाई कुटेर मारिएका घटना छन् । यसरी हेर्दा त्यस भेगमा परिवर्तनका बाछिटासम्म पनि पुगेन । जनयुद्ध ताका भने दलितमाथि हुँदै आएको विभेद न्यून भएझैं देखिएको थियो । यथार्थमा जनयुद्धले पनि जात व्यवस्थाको आधारभूत जरा हल्लाउन सकेन । तत्कालीन रुपान्तरणको छनक त्रासको परिणाम मात्र थियो । जुन सत्य पछिल्लो समय दलितमाथि भएका जघन्य अपराधहरुले पुष्टि गरिदियो ।

यस्तो किन भयो त ? दलित सौन्दर्यका व्याख्याता आहुति भन्छन्, ‘नेपाल र भारत दुवै देशका राज्यले जात व्यवस्थाको आधारभूत उत्पीडनको चरित्रलाई बदल्न सकेनन् । यहाँको वर्ग, संस्कृति र अर्थतन्त्र जात व्यवस्था अन्तर्गत निर्माण भएका छन् । यहाँको सामन्तवादसँग लड्दा वास्तविक रुपमा जात व्यवस्थासँग लड्नु पथ्र्यो । तर यहाँ भएका कम्युनिष्ट होस् या लोकतान्त्रिक आन्दोलनले सामान्तवादको चरित्र निर्माण जात व्यवस्थामा आधारित भएको पहिचान गर्र्नै सकेनन् । परिणामस्वरुप गणतन्त्र आउँदासम्म पनि हिजो शासन गरिआएका समुदायबाट नै अत्याधिक शासकहरु आए ।’

यसरी दलितमाथि हुने उत्पीडन जारी रह्यो । समाज रुपान्तरणका नाममा भएका तत्कालीन प्रयासहरु थिचेको स्प्रिङ मात्रै साबित भए, जो फेरि फर्केर यथास्थानमै पुग्यो । महिला, दलितलगायत सीमान्त वर्गप्रतिको दृष्टिकोण र व्यवहारमा परिवर्तन आएन । शासन व्यवस्थामा पुरानै संरचनाको निरन्तरतास्वरुप गैरदलित समुदायकै प्रतिनिधित्वको बाहुल्य रह्यो । नयाँ संविधान बनेपछि दलितलाई राज्यको संरचनामा पनि कोटा पुर्‍याउन सामान्य प्रतिनिधित्वसम्म गराइएको छ । नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन तहमा आज पनि दलितलगयात सीमान्त वर्गको पहुँच बन्नै सकेन । किसानको हकमा अहिलेसम्म पनि खेतीयोग्य जमिन उच्च जातकै पहुँचमा छ, दलित वा अन्य सीमान्त वर्गका मानिस हली, गोठाला वा खेताला मात्रै बन्न सक्छन् । हली वा खेतालाले अहिले कमाएर भरै खाने गर्जो मात्रै टार्न सक्छ । जसरी अहिले महामारीको संकटमा पनि सबभन्दा बेसी तिनै वर्गका मानिस पिल्सिएका छन् । भोकभोकै परेका छन् । जब भोकै परिन्छ, बाँच्नका लागि ती मालिक वर्गको शरणमा पुग्छन् । हात थाप्ने अवस्था आएपछि मालिक भइखाएका गैरदलित समुदायले गरिब दलितलाई सँधै पाइतालाको धुलो ठान्ने भए । तब आफ्नो हली–खेताला तहका मानिसले आफ्नो

जात, समुदाय वा खान्दानसँग बराबरी दरिन खोजेको तिनले सहन सकेनन् । आमूल परिवर्तनको सिद्धान्त घोक्दै, सम्पूर्ण विभेदको अन्त्य गर्ने भाषण ठोक्दै सत्तामा पुगेको एउटा शासकको मनोवृत्ति आखिरमा जात व्यवस्थाले बनेको सामान्तवादी घेराबाट बाहिर निस्कन सकेन । अब त्यो शासकले गर्ने निर्णय न्यायसंगत हुन सक्दैन । उसले सबभन्दा पहिले आफ्नो समुदायको हित सोच्छ । ऊ आफ्ना नातागोता, आफन्त, आफ्नो सत्ताका रक्षककै वरिपरि घुम्छ र घुमिरहेका छन् । यसर्थ यो संरचना नभत्किउन्जेल खासगरी दलितसहितको सीमान्त वर्गले वास्तविक न्याय पाउने, अधिकार र हैंसियत निर्माण गर्ने संभावना छैन । परिणामस्वरुप पानी वा चुलो छोएको निहुँमा दण्डित हुनु पर्ने छ, महिलाले ठाकुरहरुबाट बलात्कृत हुँदै मारिनु पर्ने छ । कथित उपल्लो जातसँग प्रेम गरेको अभियोगमा अजित मिजार, नवराज विकहरुले मारिइरहनु पर्ने छ । अजित मिजारहरुको शवले न्यायका निम्ति वर्षौंसम्म अस्पतालको शव गृह वा चिहानबाट पर्खिरहनु पर्ने छ ।

यही मे २५ मा अमेरिकाको मिनेसोटामा अफ्रिकी अमेरिकी जर्ज फ्लोएडलाई २० डलरको नक्कली नोट प्रयोग गरेको आरोपमा खुलेआम घाँटी थिचेर प्रहरीले हत्या गरेको छ । प्रत्यक्षदर्शीहरुले विरोध गर्दागर्दै अर्का प्रहरी अधिकृत ताउ थाओको सहयोगमा उनलाई प्रहरी अधिकृत डेरेक चौभिनले घुँडाले घाँटीमा थिचेर मारेका थिए । भिडियो हेर्दा हत्या गर्ने गोरा प्रहरी एउटा कमिला किचेझैं सामान्य मुडमा जर्जको घाँटी थिच्छ । जुन निकै क्रुर र दुःखद दृश्य थियो । ‘ब्ल्याक लाइभ्स् म्याटर’ भन्ने नाराका साथ स्थानीयहरुले हत्याको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

कारबाहीको दायरामा ल्याइएका प्रहरी अधिकृतले अपराध गरेबापत सजाय पनि पाउलान् । तर, एकैछिनको आवेगले कसैले अत्यन्तै सानो कारणमा मानिसको हत्या गर्न सक्दैन । त्यसका पछाडि दास मनोविज्ञानले काम गरेको हुनुपर्छ । अमेरिकामा अढाइ शताब्दीसम्म गोराहरुबाट काला जातिहरु दास बनाइए । अब्राहम लिंकनले दासता उन्मूलन गरेको आज १ सय ५५ वर्ष बितिसकेको छ । अफ्रिकामा नेल्सन मण्डेलामा सिंगो जीवन काला जातिको मुक्तिमा लगाए । यद्यपि आजसम्म काला जाति रंगभेदको शिकार बनिरहेका छन् । भारतमा डा. भीमराव अम्बेडकरले दलित मुक्तिका लागि महत्वपूर्ण योगदान गरे । आज पनि त्यहाँ प्रणयहरुले प्रेममा अछूत साबित भएर मारिनु परेको छ ।

पृथ्वीको दुई गोलार्द्धमा नवराज र जर्जले एकै समय जातीय विभेद र रंगभेदका कारण मारिनु परेको छ । यी घटनाले लोकतान्त्रिक दुवै मुलुकको मुहारमा कालो पोतेको छ । विज्ञान र प्रविधिका कारण विकासको उचाइमा पुगेको घमण्ड गर्ने मानव समाजको मुखमा हिलो छ्यापेको छ । ‘तँलाई खाने बाघले मलाई खान सक्छ ।’ मान्छे–मान्छेबीचको विभेदको पर्खाल नढलेसम्म संसारभरका न्यायप्रेमीले विरोध र विद्रोहको आवाज बोलिरहनु पर्ने छ । प्रकाशित : जेष्ठ २१, २०७७ १५:४८

प्रतिक्रिया
पठाउनुहोस्

भोकको क्याराभान

शकुन्तला जोशी

काठमाडौँ — कोभिड–१९ को संक्रमणसँगै बेरोजगारी र भोकमारीका कारण देशको मजदुर वर्ग आक्रान्त बनेको छ । अचानक घोषणा गरिएको लकडाउनको मारमा अहिले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्ग परेका छन् । देशका विभिन्न क्षेत्रबाट काठमाडौं आएर मजदुरी गर्नेहरु छन् ।

कोही मधेसबाट पहाडी क्षेत्रमा भएका जलविद्युत् आयोजना वा अन्य विकास निर्माणका क्षेत्रमा रोजगारीका लागि पुगेका थिए भने कोही पहाडबाट मधेस झरेका थिए । कोही कर्णालीबाट काठमाडौं वा संखुवासभा गएका किन नहोउन्, घर फर्किरहेकाहरुको क्याराभान हृदयविदारक छ ।

लकडाउन घोषणा भएलगत्तै उद्योगधन्दा, कलकारखाना बन्द गरिए । सबैलाई घरबाहिर निस्किन, आवातजावतमा प्रतिबन्ध गरियो । सवारी साधन पूर्ण रुपमा बन्द भए । युरोप अमेरिकाजस्ता सम्पन्न र विकसित देश यसबाट सबभन्दा बढी प्रभावित भएका छन् । यो महामारीबाट अमेरिकामा हालसम्म ८० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वैज्ञानिक अनुसन्धानमा सबभन्दा अब्बल, एउटा स्विच दबाउँदा पृथ्वी ध्वस्त बनाउने सामर्थ्यको दाबेदार अमेरिका अहिले यो भाइरससँग हायलकायल छ । विश्वभरी नै प्रतिदिन महामारीबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या अत्यासलाग्दो ढंगले बढिरहेको छ ।

संसारका धेरैजसो देशमा महामारी फैलिसक्दा पनि केही समय नेपाल ग्रीन जोनमा रह्यो । आफ्नै देश सुरक्षित देखेपछि विदेशमा हुने नेपालीहरु भटाभट फर्किए । लकडाउन घोषणा पूर्व हवाइमार्गबाट स्वदेश फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गर्नु आवश्यक ठानिएन । काठमाडौं त कतिसम्म ढुक्कले बसेको देखियो भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा फागुनको तेस्रो हप्ता बित्दासम्म सेनिटाइजर पनि राखिएको थिएन । हाम्रो एउटा ठूलै समूह विश्व नेपाली साहित्य महोत्सवमा सहभागी हुन धनगढी पुग्दा त्यहाँको विमानस्थलमा तापक्रम नाप्ने, सेनिटाइजर दिने काम भएको थियो । तर, काठमाडौ विमानस्थलमा त्यति पनि व्यवस्था नहुँदा हामी अचम्ममा परेका थियौं ।

यता भारतबाट विभिन्न नाका हुँदै फर्किनेको ताँती पनि बाक्लिएको थियो । लकडाउन पूर्वसम्म सीमाबाट वारिपारी गर्नुलाई सामान्य रुपमा लिइयो । लकडाउन सुरु भएपछि पनि कहाँबाट कति जना भित्रिए भन्ने तथ्य राख्ने गतिलो संयन्त्र सरकारसँग थिएन । ‘जसोजसो बराजु, उसै उसै नाती’ भनेझैं स्थानीय निकाय पनि काठमाडौंको मुख ताकेर नबसेको भए हुन्थ्यो । आफ्ना क्षेत्रमा भित्रिनेहरुको निगरानी राखेको भए हुन्थ्यो । परिणामस्वरुप अहिले संक्रमितको संख्या बढ्दो मात्रामा छ । दुई जनाको ज्यानै गइसकेको छ । अहिले पनि स्वास्थ्य परिक्षणको गति निकै सुस्त छ ।

नेपाल सरकारको चैत्र ११ को लकडाउन घोषणालगत्तै खर्चको व्यवस्था हुनेहरु काठमाडौंबाट बाहिरिए । तर, काठमाडौंमै भएकाहरु हुन् या देशका अन्य क्षेत्रमा रहेका मजदुर वर्गका मानिस लकडाउन हुने पूर्व सूचना पाएर पनि खर्चको जोहो गर्न नसकेपछि तत्काल घर फर्किहाल्न असमर्थ रहे । लकडाउनले घर हुनेहरु घरभित्रै बस्नलाई त्यस्तो आपत्ति थिएन । घरबाट नियमित कामका लागि निस्कन नपाउनुको चिन्तासम्म थियो । सप्ताहन्तमा आउटिङ गर्न नपाइने वा हरसाँझ गुल्जार हुने रेष्टुराँ, क्याफे, बारहरुमा झुम्न नपाइने गुनासोसम्म थियो । सोही अवधिमा पर्ने जन्मदिन, विवाहोत्सव वा यस्तै कुनै उत्सव ‘सेलिब्रेसन’ गर्न नपाइने दुखेसोसम्म थियो ।

नत्र सहरी मध्यम वर्गका लागि कम्तिमा २/४ महिना लकडाउनमै जीवन चलाउन कुनै मुस्किल छैन । खाद्यन्नलगायत दैनिक उपभोग्य सामग्री भण्डारण गर्‍यो । टेलिभिजन, अन्य ग्याजेटस्, इन्टरनेट सुविधा तथा मनोरञ्जनका साधनले विश्वसँगको ‘कनेक्टिभिटी’ गराइहाल्छ । अझ घरमै जीमखाना, स्विमिङपुल जस्ता ‘मल्टिफ्यासिलिटी’ भएका वर्गका लागि त लकडाउन पर्व–विदामा कुनै ‘आइसोलेटेड आइल्याण्ड’मा गएसरह भइदिएको छ । सुपरमार्केटहरुबाट बण्डलका बण्डल उठाइएको माक्स, स्यानिटाइजरले कम्तिमा प्रातःकालीन घुमफिरलाई ढुक्क बनाइदिएको छ । अग्ला फलामका पर्खालहरु भित्रै ‘जिन्दगी रक्स’ भएकै छ ।

गस्तीको प्रहरी भ्यान फर्किएपछि देश, काल, परिस्थितिमाथि चोकचोकमा गरमारम बहस चलेकै छ । प्रत्यक्ष हावाबाट संक्रमित नहुने यो भाइसरको प्रकृतिले पर्खालभित्रका जन एकप्रकारको ढुक्कमा छन् । बर्षौंदेखि ‘मिस’ भइआएका जीवनका संगती फेरि जोडिएको छ । परिवारसँग समय व्यतित गर्न पाएका छन् । किचनमा नयाँ ‘रेसिपी’ बनेका छन् । रमाइला ‘सेल्फी मुड’ सामाजिक सञ्जालका भित्ताहरुमा देख्न पाइएको छ । ती फलामे पर्खालभित्र मात्र चिहाइरहने हो भने लाग्छ, दुनियाँ अपूर्व ‘सेलिब्रेसन’मा छ । जो यो समयलाई भोग गर्न सक्ने हैंसियतमा छ, उनीहरुका लागि लकडाउन सुखद् नै भएको हुनुपर्छ ।

तर, यहाँभन्दा बाहिर अर्को सिंगो दुनियाँ छ । त्यता फर्किएपछि पटकपटक तनावले भाउन्न छुट्छ । पिठ्युमा वा थाप्लोमा पोकापन्तुरा वा बोराको फ्याङ्लो भारी हालेर हिँडिरहेका मानिसहरुको क्याराभान देख्दा लाग्थ्यो देशबाट लखेटिएका शरणार्थीहरु गन्तव्यहीन यात्रामा हिँडिरहेछन् । आफ्नै सपनासँग हारेर हिँडेजस्ता देखिने तिनीहरुभित्र हतारो छ त केवल सकेसम्म चाँडै गन्तव्यमा पुग्ने उत्कण्ठाको । निचोरेको निबुवाजस्तो अुहार लाएर हिँडिरहेका उनीहरुको झोलामा २/४ फाँको चिउरा, केही प्याकेट चाउचाउ थिए । कतिपयसँग त्यति पनि थिएन । थोत्रो चप्पल घिसार्दै उनीहरु २/४ दिनदेखि एक हप्ताभन्दा बढी पैदल हिँडेरै घर फर्किए । सुत्केरी महिलादेखि वृद्धवृद्धासमेत यात्रामा भोकैतिर्खै निस्कन बाध्य थिए । केही समूहलाई भने बाटोमा पर्ने स्थानीय समुदायले निश्चित दुरी पार गर्न यातायात र भोजनको व्यवस्था गरिदिएका थिए ।

यसरी सेल्फी संसारबाट बाहिर निस्केर हेर्‍यो भने भूर्ईंमान्छेको दुःख थाहा हुन्छ । जनगणना वा मतदाता सूचीमा समेत नपरेका त्यो वर्गका नागरिक राजधानीमा कति होलान् र बाहिरका सहरहरुमा कति होलान् ? सरकारी कुनै ढड्डामा तिनको लिखत चढाइएको छैन । राष्ट्रको नेतृत्वमा बस्नेहरु जुटपत्ति खेल्नमै बेफुर्सद छन् ।

वेवास्तामा भुईंमान्छे

नेपालमा लकडाउन गर्दा विश्वका धेरै मुलुक यसबाट प्रभावित भइसकेका थिए । महामारी कसरी फैलियो ? नियन्त्रणका पहल के कस्ता हुँदै थिए, ती मुलुकबाट नेपालले पाठ सिक्ने र सतर्कता अपनाउन प्रसस्तै समय पाएको थियो । जोखिम व्यवस्थापनको पूर्व तयारी राम्रोसँग गर्न सक्थ्यो । तर समय रहुन्जेल सरकार नित्य रोइलोमै मस्त रह्यो ।

जोखिम नियन्त्रण गर्न लकडाउन गर्न आवश्यक थियो । तर, त्यसपूर्व दैनिक ज्याला मजदुरी गरी बाँच्नु पर्ने वर्गको व्यवस्थापनमा ध्यान दिनु पर्थ्यो । अर्कातिर देशका विभिन्न भेगमा घुमिरहेका पर्यटकलाई सम्बन्धित देश फर्काउनेतिर पहल गर्नु पर्थ्यो । लकडाउन सुरु भएपछि पर्यटकीय क्षेत्रतिर अलपत्र परेका पर्यटकको निकै मुस्किलले उद्धार गरिएको छ । केही पर्यटकले महामारीका डरले स्थानीयले गरेको दुर्व्यवहार र सरकारी निकायले दिएको सास्तीको नमिठो अनुभूति लिएर फर्केका छन् । आगामी दिनका लागि पर्यटन प्रवर्द्धनमा यी रातो सूचकहरु हुन् ।

लकडाउन गर्ने बेलामा सरकारको ध्यान आफूलाई सुकिलामुकिला वर्गको चिन्ता गर्नेतिर मात्रै जान हुँदैनथ्यो । सामाजिक दूरी कायम गर्ने, घरभित्रै बस्ने, सेनिटाइजर, मास्क प्रयोग गर्नेजस्ता सुरक्षाका तरिका अपनाउन मजदुर वर्ग कति सक्षम थिए ? सोच्नु पर्थ्यो । राजधानी भित्रै निर्माण क्षेत्र, इटाभट्टालगायत उद्योग परिसरमै जस्ताका पाता, पालले बेरेर बनाइएका अस्थाई टहरामा हजारौंको संख्यामा ती क्षेत्रमा कार्यरत मजदुर बस्छन् । जंगल वा खोला किनारमा छाप्रो हालेर बस्ने सुकुम्बासीको संख्या पनि ठूलै छ । लकडाउनले गरिआएको काम बन्द हुने बित्तिकै उनीहरुको आयस्रोत तत्कालै ठप्प भयो । त्यो वर्गसँग अब न पाँच किलो चामल स्टकमा छ न त, गोजीमा पैसा । बन्द हुने बित्तिकै अपवाद छाडेर प्रायः ठेकेदार वा मालिक ती मजदुरले पाउनु पर्ने ज्यालासमेत नदिइ फरार भए । भर्खरै सरकारले केही ठूला उद्योग खोल्न अनुमति दिएको छ । केही मजदुरले फेरि काम पाएका छन् । तर, रोजगारीको आम क्षेत्र चलायमान नभएसम्म असंगठित क्षेत्रमा काम गर्ने यो वर्गको ठूलो हिस्साको चुल्हो बल्न मुस्किल पर्ने छ ।

वास्तवमा यथास्थानमै लकडाउनमा रहन स्थाई आयस्रोत नभएका त्यो वर्गको गाँसबासको जिम्मेवारी सरकारले लिनसक्नु पर्थ्यो । होइन भने यस्तो विषम परिवेशमा उनीहरुलाई घरसम्म पुग्न सक्ने वातावरण सरकारले बनाइदिनु पर्थ्यो ।

त्यसो त सर्वहारा, श्रमिक वर्गको मुक्तिको मुद्धा, नेकपाले निकैपर छोडिआएको हो र त्यही पार्टीको बहुमतीय जन सरकारमा छन् । पार्टीभित्रै गुटउपगुटको रत्यौली मिलाउन तिनलाई हम्मे छ । बहुजन हितायको विचार अवसानप्रायः छ । आत्मकेन्द्रित नीति र सोच हाबी हुँदै गएको छ । केही थोरै व्यक्ति वा समुदायले यसबीच गरेका पहल सराहनीय छन् । तर आम सोच आत्मकेन्द्रित देखिन्छ । मौकामा चौका हान्ने दाउमा बसेकाहरु यही बेला कालो बजारी गरेर कमाउने ध्याउन्नमा लागेका छन् । यस्ता कर्ममा मन्त्रीसम्म मुछिएका छन् ।

हामी कति आत्मकेन्द्रित भएका छौं, यसको पछिल्लो नमुना प्रधानमन्त्री स्वयम् बनेका छन् । देश महामारीमा परेर गरिब जनता भोकमरीले आत्तिएका छन् । त्यस्तो बेला रातारात राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याए र खारेज गर्नुले उनी चरम आलोचनाको शिकार भए । ‘मधेसवादी दलसँगको दुरी घटाउन उक्त अध्यादेश ल्याएको’ भन्ने उनकै अभिव्यक्तिबाट आत्मकेन्द्रित प्रवृत्ति स्पष्ट हुन्छ । देश लकडाउनमा भएको बेला आफ्नो सत्ता टिकाउन रिझाउने र नजिक बनाउने कच्चा खेल खेलिनु हुँदैनथ्यो । यो बेला प्रधानमन्त्री र नेतृत्व चुक्नु भनेको गणतान्त्रिक मुलुकको भयानक ‘ट्रयाजिडी’ हो ।

लोकहितको ढोंग

भारतको छत्तिसगढ, बीजापुर घर भएकी १२ वर्षीया जमालो मडकामको लकडाउनमा पैदल यात्राका क्रममा मृत्यु भयो । ती बालिका आफन्तसँग तेलंगानामा खुर्सानी खेतीमा मजदुरी गर्न गएकी थिइन् । तर, लकडाउनका कारण काम बन्द भएपछि उनी अभिभावकका साथ एक सय किलोमिटर पैदल यात्रा गरी घर फर्कदै थिइन् । घर पुग्न ११ किमी बाँकी छँदा भोक र थकानले उनको मृत्यु भएको थियो । प्रकृतिले सबैलाई समान रुपमा बाँच्ने अधिकार दिए पनि किन पिंधमा पारिएका वर्ग भोकमा दुई टुक्रा रोटीको हकदार हुन सकिरहेका छैनन् ? किन ती कोरोना जस्ता महामारी वा रोगका कारण भन्दा बेसी भोकमरीले मरिरहेका छन् ? ‘द वर्ल्ड काउन्टस्’को रिपोर्टअनुसार प्रति १० सेकेन्डमा भोकमरीका कारण एउटा बच्चाको मृत्यु हुन्छ । कुपोषण र भोकमरीकै कारण प्रतिवर्ष विश्वका ३१ लाख बालबालिकाले मृत्युको शिकार हुने पनि यसको रिपोर्टले देखाउँछ । जमालो, भोकले मर्ने तिमी नै पहिलो वा अन्तिम बच्चा कहाँ हौ र ! तिम्रो अन्त्येष्टि हुँदै गर्दै कति हजार बालबालिका एक घुट्को माड पिउन नपाएर मरे हुन् । तिमीजस्ता भोका बालबालिकालाई एक प्याकेट चाउचाउ हातमा थमाएको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गर्ने वा समाचार बनाउने दानवीरहरुको दुनियाँमा कमि छैन ।

यतिबेला तिम्रो परिवार राहतमा पाएको एक किलो पिठो, एक प्याकेट नुन र तेलको प्याकेज सुम्सुम्याइरहेको होला । जसको बाहिरपट्टी बहुराष्ट्रिय कम्पनीको लोगो चम्किलो गरी छापिएको हुनुपर्छ । न्यूनतम मूल्यमा तिम्रो श्रमको शोषण गरी अधिकतम नाफा कमाउने अर्बपतिहरु, तिम्रो भोटको दुरुपयोग गरेर तिमीलाई कुल्चिरहेका नेताहरु एकाएक तिमीजस्ता गरीबका सामु भगवान साबित हुन्छन् । बिडम्बना, जीवनभर तिमी र तिम्रो परिवार उनीहरुप्रति कृतज्ञ भइरहन्छौं ।

लोकहितका नाममा गरिने यस्ता ढोंग तिम्रा लागि नयाँ होइनन् । विश्वभरका करोडौं गरीबका लागि भोकमरीले तड्पिनु, खान नपाएरै मर्नु नयाँ समाचार होइनन् । महामारीका कारण बाँकी रोजीरोटी पनि ठप्प भएपछि संसारभरका गरिब सत्ता र शक्तिमा हुनेहरुलाई भनिरहेछन्, ‘कोरोनाको त्रास हाम्रोभन्दा तिम्रो अनुहारमा धेरै छ । किनकी अकाल मर्न हामीसँग भोकमरी नै काफी छ ।’ यही भोकमरीविरुद्ध नेपाल, भारत, बंगलादेशलगायत विभिन्न मुलुकमा जनता सडकमा निस्कन थालेका छन् ।

विश्व खाद्य संगठनका अनुसार महामारी पूर्वसम्म १३ करोड ५० लाख मानिस विश्वमा भोकमरीको चपेटामा थिए । सन् २०२० को अन्त्यसम्ममा यो महामारीले थप १३ करोड मानिसलाई भोकमरीको दलदलमा धकेल्ने छ । यसरी भोककै कारण गरीबले कहिलेसम्म मर्नु पर्ने हो ? प्रश्न अनगिन्ती उठ्छन् । मुठिभर मानिसको हातमा सिंगो विश्वको पूँजी भएपछि बाँकी जनसंख्या भोकमरीले माटो खाने हालतमा पुग्नु स्वभाविक हो । केही समयअघि अफ्रिकी मुलुक हैटीमा भोकमरीका कारण माटोको रोटी खाने गरेको समाचार आएको थियो । यो मानव सभ्यताप्रति क्रुर ठट्टा र शोषणको पराकाष्ठा हो ।

अहिले संसारमा कोरोनाको कारण वर्गविहिनताको अवस्था आएको विश्लेषण हुन थालेका छन् । बेलायतका प्रधानमन्त्रीदेखि अन्य देशका ठूला नेता पनि कोरोना संक्रमित भएपछि यस्तो प्रतिक्रिया आउन थालेको हो । स्वभाविक हो, भाइसरले वर्ग छुट्याउँदैन । तर, माथिका तथ्यहरु हेर्दा यो विश्लेषणको ग्राफलाई उल्टो पार्नु पर्छ । लकडाउनले मजदुर र मालिक वर्गको खाडल झन गहिँरिदो छ । एउटा वर्ग घरभित्र सुरक्षित छ, अर्को वर्ग भोकभोकै सडकमा छ । यो नेपालको मात्रै नभइ विश्वका धेरैजसो राष्ट्रको चित्र हो ।

नेपाल सरकारले प्रभावित क्षेत्रका नागरिकलाई पर्याप्त राहत दिनुपर्छ । रोजगारीका क्षेत्रहरु खुला गर्दा उनीहरुको स्वास्थ्य सुरक्षाका निम्ति कडा नीति अपनाउनु पर्छ । अहिले पनि सफाई मजदुरहरु बिना पञ्जा काममा खटेको देखिन्छ । तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रण गर्न परीक्षणको गति पनि बढाउनु पर्छ । त्यो क्षेत्रमा भोकमरी फैलिन नदिन खाद्यन्न आपूर्तिमा राज्यको ध्यान जानुपर्छ । होइन भने भोकै हिडेका मानिसको जुलुस राजधानीतिरै फर्कियो भने विसर्जित विद्रोह ब्यूँतिन बेर छैन । जुन निकै भयानक विस्फोटक हुनेवाला छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×