१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कोरोना-सन्देशको ओइरो : अमृत थोरै अफवाह धेरै

मान्छेको चेतना सबैभन्दा ठूलो शक्ति हो । युद्धका लागि एटम बम हो । अनिकालमा जादुमयी बीउ हो । आपत्तिमा सबैभन्दा ठूलो भरोसा हो । अहिलेको सन्दर्भमा यही चेतना नै भ्याक्सिन हो, एन्टिडोट हो । 
राजन गोदार

मान्छे उहिल्यै बिलाएर जान्थ्यो । तर मान्छे–मान्छेबीच प्रेम पनि छ । त्यसैले त प्राणीजगतमा मान्छे सँधै वर्चस्वसहित अस्तित्वरत छ । मान्छे न हात्तीभन्दा ठूलो छ । न त सिंहजस्तो बलियो । न घोडा जस्तो दौडन सक्छ, न चराझैँ उडान भर्न सक्छ । न माछाझैँ पौडन नै सक्छ ।

कोरोना-सन्देशको ओइरो : अमृत थोरै अफवाह धेरै

तैपनि मान्छेले अस्तित्वमा यत्रो सत्ता कसरी चलाइरहेको छ ? यसको सीधा उत्तर के हो भने मान्छे सामाजिक छ । एकले अर्काको भावना बुझ्न सक्छ र विपत्तिमा सघाउन सक्छ । भाषाले जोडेको भावनात्मक एकता नै मान्छेको शासन सूत्र हो । यसको शक्ति भनेकै सामूहिकता हो ।

एकछिन सोचौँ, भोलि कोभिड–१९ नामक भाइरस संसारका सबै प्राणीबाट सबै प्राणीमा सर्ने गरी विकसित भयो भने के गर्ने ? संसारका सबै चराचरलाई मारिदिने ? सबै जीवजन्तुलाई भ्याक्सिन लगाउँदै हिँड्ने ? कीटपतंगहरुलाई डढेलोले सखाप पार्ने ? समुद्रपार भएर विश्वविचरणमा जाने चराहरुलाई भिसा लागू गर्ने ? कि गुँडमै लकडाउन गर्ने ?

जगजाहेर छ, लकडाउनले यो भाइरससँग लडिँदैन । केही चिजले लड्न सकिन्छ भने त्यो हो हामीबीचको भावनात्मक एकता । जो कथित जनहितकारी सन्देशका कारण यतिबेला आईसीयूमा छ ।

आजसम्म मान्छेले जति मान्छे कुनै विपत्तिले मार्न सकेको छैन । विपत्ति हिजो पनि आयो, आज पनि छ र भोलि पनि आइरहने छ । कोरोना पनि अन्तिम विपत्ति होइन । यसलाई केहीगरी जितेपनि मान्छे सधैंका लागि विपत्तिमुक्त हुन सक्दैन । यो सानो विपत्तिमै मानवीयता खुस्क्यो भने अरु विपत्तिमा के गरौंला ? कुनै विशेष क्षेत्र, देश, शहर, गाउँ, टोल मात्रै कोरोनामुक्त भएर ढुक्क हुन असम्भव छ । र सम्पूर्ण जगतबाट यो भाइरसको नामनिसान मेटाउन पनि सम्भव छैन ।

भ्याक्सिन, एन्टिडोट र औषधिका चर्चाको आनै आयाम छ । हर्ड इम्युन पनि उत्तिकै चर्चामा छ । आरोपप्रत्यारोपको मिडियामा ट्राफिक जाम नै छ । यो केही दिनको भलपानी हो । हरेक विपत्तिविरुद्ध मानव–एकताको विकल्प छैन । सबैभन्दा धेरै चर्चामा हुनुपथ्र्याे भावनात्मक एकता जगाउने सामाजिक सचेतना । विडम्बना, त्यही शून्य छ ।

मानवीय सन्तुलन र संवेदनशीलता नमरुन्जेल जस्तोसुकै विपत्तिविरुद्ध सानदार विजय अवश्य मान्छेकै पोल्टामा पर्छ । विपत्तिविरुद्ध मानव–एकता बाँचुन्जेल मान्छेका लागि घाम–जून उदाइरहन्छन् ।

चुल्हो नजल्नेहरुको मन कति जल्छ होला । भोक भड्किँदै जाँदा कतिको मनमा कति भक्कानो फुटे होलान् । बाँच्ने रहर कसो गरी थमथमाए होलान् । भोकभोकै खाना खोज्दा आफ्नाको भोकले अझै कति चिरियो होला तिनको मन ।

नकारात्मकलाई पशुवत र सकारात्मकलाई मानवीय भनिने गरिन्छ । खासमा मान्छेले गर्ने हरेक काम मानवीय काम हो । फरक यति मात्रै हो, एउटाले विनाश गर्छ । अर्कोले बचाउँछ । अक्सर आस्था, विश्वास, भरोसासहितको मानवीय सन्तुलन विपत्तिमा क्षत–विक्षत हुन्छ । यो सन्तुलन बिग्रन नदिन संसूचनाको सहारा लिइन्छ । यत्तिकै भनिएको होइन, भाषा जस्तो ठूलो आविष्कार अर्को केही छैन । भाषा नभैकन अन्य अभिव्यक्ति मात्रै भएको मानवसमाज कल्पना गर्न पनि गाह्रो हुन्छ । यो शताब्दीमा मान्छेले अर्को आशीर्वाद प्राप्त गर्‍यो वा आविष्कार गर्‍यो । संसूचना एक क्लिक र मिलिसेकेन्डका कुरा भइगए । प्रविधि त मिल्यो तर मूल मर्म नै सम्प्रेषण गर्न र उद्देश्यअनुसारकै प्रभाव पार्न प्रविधि मात्रै अधुरो हुन्छ । प्रज्ञा पनि चाहिन्छ जो नाश हुँदै गयो ।

मानवकल्याणका लागि प्रविधि र प्रज्ञाको संयोजनभन्दा अर्को सुन्दर संयोजन छैन ।

हामीबीचका जनहितकारी सन्देशहरुलाई ध्यान दिएर हेरौं त । अडियो, भिडियो, एनिमेसन, ग्राफिक्स यावत चिजको प्रयोग छ । सम्प्रेषणका लागि फालाफाल छन् प्रकार–प्रकारका माध्यम र प्लेटफर्म । दुर्भाग्य भनौं प्रज्ञाको प्रयोग लगभग हुन छोडेको छ । ती सन्देशहरुले बनाएको च्याम्बरभित्र मानवीय सन्तुलन निसास्सिएको छ । दिन खोजेको अमृत नै हो । विष मिसाएको÷मिसिएको चेत छैन । विषको प्रतिक्रियापछि मात्रै चेत पाइन्छ विष मिसिएको कुरा, विषको मात्राको कुरा ।

संसूचनाको प्रकृतिले सामाजिक मनोविज्ञानको विकास÷विनास गर्दछ । स्मार्टफोन र इन्टरनेटको युगमा थोरैलाई छोडेर आम जनजीवनमा यसको प्रत्यक्ष प्रभाव पर्दछ । व्यक्तिगत मान्यताहरु त्यही प्रभावअनुसार भत्कन्छन् र बन्छन् । आम मानसिकता, आनिबानी, मूल्य र मान्यता पनि बन्छन् । भत्कन्छन् । तर ढिलो भयो भने, मानवीय भावनात्मक एकता जो आईसीयूमा छ यसलाई ब्युँताउन सहज छैन । यी सन्देशहरुले आम मनहरुमा सजिलै जस्तो छाप पार्दै छन् त्यसलाई मेटाउन मुश्किल छ ।

जनहितका नानाथरी कोरोना–सन्देशहरुको ओइरो छ । फाट्टफुट्ट भेटिएका बाहेक औसत सन्देशहरुमा औपचारिकताको उद्देश्य मात्रै देखिन्छ । जसलाई टाउकोमा राख्नुपर्ने हो तिनैलाई पैतालाले थिचिएको छ । मान्छेको चेतना सबैभन्दा ठूलो शक्ति हो । युद्धका लागि एटम बम हो । अनिकालमा जादुमयी बीउ हो । आपत्तिमा सबैभन्दा ठूलो भरोसा हो । अहिलेको सन्दर्भमा यही चेतना नै भ्याक्सिन हो, एन्टिडोट हो ।

प्रचलित कोरोना सन्देशहरुको प्रभावः सम्भावित लक्षणहरुसहित कोरोनाको परिचय दिन सफल । सामाजिक दूरी र व्यक्तिगत आरोग्य एवं सरसफाइमा आंशिक प्रभाव । सामूहिक सरसफाइमा न्यूनतम प्रभाव । कोरोना भाइरसको भय निर्माण गर्न सफल । संक्रमित, शंकास्पद र तिनका परिवारमाथि समाजले गर्ने व्यवहारमा प्रतिकूल प्रभाव । संक्रमितप्रति सहानुभूति र समानुभूति लगभग शून्य ।

यसबीच मुटुमा कीला ठोकेका केही खबरहरु छन् । सायद तपाईंसम्म पनि यी खबरहरु खबरदारी गर्दै आइपुगेका थिए होलान् ।

व्यक्तिगत/सामूहिक सुस्वास्थ्य एवं सरसफाइमा हौसला बढाउने सन्देश खोइ? भाइरससँग डराउने होइन, सावधानी अपनाउने सन्देश खोइ ? सम्मानजनक उपचार, उपलब्धता र सुनिश्चितता ती सन्देशहरुमा कहाँ छन्?

जिउँदाको जन्ती, मर्दाको मलामी । यसबीच यस्तो भएन । कोरोनाले घाँटी थिचेर केही जिन्दगी सक्किए । मलामी त दूरदूरको कुरा, उचित स्थानमा उचित दाहसंस्कारको समेत इन्कार गरियो । मरेकाको यो हाल छ । बाँच्नेको बेहाल कस्तो होला । बाँच्नु भाग्य होला कि दुर्भाग्य होला । कोरोनाको दाग लिएर बाँच्नु कति पीडादायक छ होला । तिरस्कार, क्रुरता जो भड्किरहेको छ ।

यो खबर पढ्दा, मैले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)लाई सम्झिरहेँ । जानेबुझेका स्वास्थ्य विशेषज्ञहरुलाई सम्झिरहेँ । स्वसुरक्षा अपनाउनु एक ठाउँमा होला । ज्युँदो कोरोना संक्रमितको उपचार गर्न मिल्छ । दाहसंस्कार गर्न मिल्छ–मिल्दैन । शवबाट कोरोना सर्छ–सर्दैन । शव जलाउन हुन्छ–हुँदैन । कोरोना भाइरसले लगाएको दागबाट पनि संक्रमण सर्छ–सर्दैन । आदि–इत्यादि ।

भाइरस र लकडाउन मात्रै खोटी छैनन् । केवल डरत्रास देखाएर जनजनलाई आतंकित मात्रै बनाउने जनहितकारी सन्देशहरु झन् बढी दोषी छन् ।

सेवा नै धर्म हो । यो मन्त्र कोरोनाकालमा कमै सुनियो । एम्बुलेन्स कोरोना संक्रमित वा शंकास्पद बोक्न आनाकानी गर्छ । शववाहन संक्रमित जिन्दगीको शव बोक्दैन । अस्पताल उपचारको सेवा दिन मान्दैन । मान्छे मात्रै होइन मान्छेसँगै मानवता पनि घरभित्रै कोचिएको छ । मानवताको खडेरीमा नै जन्मन्छन् महामानव । केही मनकारी युवा कोरोना संक्रमितको उचित दाहसंस्कार गर्छन् । अनि घरघरको दराजभित्र कोचेको मानवता कुहिएर गन्हाउँछ । त्यसैले त, ती युवालाई सोझै तिरस्कार गर्छ समाज ।

आफ्नै अकर्मण्यतामाथि प्रश्नहरु तेर्सिएका छन् । ती युवाको सेवाविरुद्ध समाजले गरेको दुर्व्यवहार कति न्यायोचित छ ? त्यो ऊर्जाको वेग जो जनजनमा फैलनु पर्थ्यो । घरभित्रै थन्किनु पर्दा कस्तो बेहाल भयो होला ? तिनले कस्तो डोरी लगाएर, कस्तो छुरी चलाएर आफ्नो सेवाभावको हत्या गरे होलान् ? कस्तो सामाजिक मनोविज्ञान हुर्कँदै छ ? यस्तै हो भने, यो समाज पनि हाम्रो माझ धेरै नरहला ।

चुल्हो नजल्नेहरुको मन कति जल्छ होला । भोक भड्किँदै जाँदा कतिको मनमा कति भक्कानो फुटे होलान् । बाँच्ने रहर कसो गरी थमथमाए होलान् । भोकभोकै खाना खोज्दा आफ्नाको भोकले अझै कति चिरियो होला तिनको मन । मलर सदालाई भोकले सदाका लागि निल्यो ।

के त्यो गाउँमा हरकोही भोकै थियो? के त्यहाँ एक छाक खाना दिन सक्ने एक जना पनि थिएन ? मध्यरात किन नहोस् ढोका उघार्ने समाज थियो । बास माग्नेलाई गास र बास दुवै टक्रयाउने समाज थियो । जे छ त्यो पस्कने स्वभाविक स्वभाव थियो । कम्तीमा मान्छे खान नपाएर मर्ने समाज थिएन हाम्रो । सम्झँदै कहाली लाग्छ ।

आफ्नै गाउँ, आफ्नै टोल काँडे तार लगाएर प्रवेश निषेधित छ । जाने कुनै ठाउँ छैन । भोक र निद्राले जिन्दगी जुलुम छ । दया, करुणा, माया, सदभाव सबै कोरोनाको बतासमा उडी गए ।

यी दृश्यले म बेचैन छु । बेचैन त तपाईं पनि हुनुहुन्छ होला । तिरस्कार, दुव्र्यवहार चोक–चोकमा गन्हाएको छ । क्वारेन्टिन केन्द्रदेखि उपचार केन्द्रसम्म, सहरदेखि गाउँसम्म छीःछी दूरदूरको दूर्गन्ध फैलिएको छ । हत्यारा, भ्रष्टाचारी, बलात्कारी बरु सम्मानित छन् । कोरोना शंकास्पद, संक्रमित र तिनका परिवारको कुनै सम्मान छैन । तीप्रति कुनै करुणाभाव छैन । समाजले यसरी बुझ्न थालेको छ कि तिनैले चाहेरै यो भाइरस ल्याएका हुन् । अपमान र तिरस्कारको कुनै सीमा छैन । सम्भावित अपमान र अवहेलनाको कल्पनाले नै गलिसकेको छ मान्छे । बरु रोग लुकाएरै मर्न तयार भएको छ । भाइरसको कष्ट सम्झेर भन्दा अपमान, तिरस्कार र घृणाको दृश्य कल्पेर मान्छेले आश गुमाउँदै छ । बिस्तारै सास पनि ।

भाइरस र लकडाउन मात्रै खोटी छैनन् । केवल डरत्रास देखाएर जनजनलाई आतंकित मात्रै बनाउने जनहितकारी सन्देशहरु झन् बढी दोषी छन् । मानवसमाजको यो कुरुप चित्र विपत्तिले निम्त्याएको बाध्यता मात्रै हुँदै होइन । त्रास र आतंकले मौलाएको टिठलाग्दो सामुदायिक मानसिकता पनि हो ।

विपद् संसूचना विशेषज्ञहरु कहाँ छन् ? मैले खोजेँ भेटिनँ । मेरा साथीहरुले पनि मेरा लागि खोजे, भेटेनन् । विभिन्न विज्ञ विशेषज्ञ भेटिए तर भेटिएनन् ती । योग्य जानिफकारले बोलिदिए यही कुरा वैध हुन्थ्यो, व्यवहारमा लागू हुन्थ्यो कि भन्ने आश थियो । भेटिएन । आश मर्‍यो । यति कुरा मैले कुनै ठूलो हैसियत र योग्यता राखेर बोलेको होइन । चिन्ताले ग्रसित भएर व्यथा पोखेको हुँ ।

ती सन्देशहरुले अहं भूमिका निभाउन सक्थे । हाम्रो दुर्भाग्य भनुँ वा अज्ञान, भाइरसको परिचय र रोकथाममै अल्झिगए । जस्तैः भाइरस सबैलाई लाग्न सक्छ । लक्षणहरुको रेखांकन । शंका लागेमा स्वास्थयचौकी धाउने कुरा । व्यक्तिगत एवं सामुदायिक हाइजिनका कुरा । हात धुने, खोक्ने, हाच्छ्युँ गर्ने तरिका अनि मास्क लगाउने कुरा । सामाजिक दूरी, घरमै बस्ने, घरमै सुरक्षित हुने कुरा । भाइरसका भ्रम र सत्यका थोरै कुरा । सारांशमा यति नै हो । प्रस्तुति र माध्यम फरकफरक शैलीका छन् । सहानुभूति र समानुभूतिजन्य सन्देशहरु पनि छन् जो कदाचित पर्याप्त छैनन् ।

कतिपय सन्देशहरु हतारमा कपी गरिएका छन् । समयसान्दर्भिक छैनन् । लक्षित जनमानसमा पर्न सक्ने प्रभावको कुनै अध्ययन छैन । समय–समयमा यस्ता सन्देशले पारेको प्रभावको मूल्यांकन गर्नैपर्छ । तर गरिएको छैन । विपत्तिको फरक चरणहरुमा सान्दर्भिक सन्देश सम्प्रेषण हुनुपर्छ । त्यो त सायद योजनामा पनि छैन । यस्ता सन्देशको प्रवाह गर्दा जस्तोसुकै गम्भीर परिस्थितिमा पनि मानवीय मूल्य मान्यता केन्द्रमा राखिनुपर्छ । जो खर्लप्पै भुलिएको छ । त्यसैले त समाज भ्रमित छ । पथभ्रष्ट छ । आतंकित छ । मानवतामाथि प्रतिकूल प्रभाव पार्ने नपार्ने सम्भावनाको सम्प्रेषणपूर्व नै अध्ययन गरिनुपर्छ । गरि“दैन । एकोहोरो ओइरो चलेको चल्यै छ ।

अझै पनि पहिलो चरणकै सन्देशहरु चलिरहेको देख्दा उकुसमुकुसवाला सकस भएको छ । कसलाई गएर सोधौं यी प्रश्नहरु ? विश्व स्वास्थ्य संगठनको कार्यालय? राष्ट्रिय मानवअधिकार आयोग? संकट व्यवस्थापन समिति ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान? सञ्चार मन्त्रालय? समाजकल्याण मन्त्रालय? थाहा छैन । सामाजिक दूरी एवं स्वसुरक्षात्मक आनीबानीलाई प्रोत्साहन गर्ने सन्देश खोइ ? व्यक्तिगत/सामूहिक सुस्वास्थ्य एवं सरसफाइमा हौसला बढाउने सन्देश खोइ? भाइरससँग डराउने होइन, सावधानी अपनाउने सन्देश खोइ ? सम्मानजनक उपचार, उपलब्धता र सुनिश्चितता ती सन्देशहरुमा कहाँ छन्?

यस्तै सन्देशहरु चलिरहने हो भने स्वसुरक्षासहित सहयोगी भावना र सहानुभूति कसरी जागृत हुन्छ ? नागरिक, समुदाय, छरछिमेकीको सकारात्मक भूमिका कसरी सिर्जना हुन्छ ? अध्ययन, अनुसन्धान र निगरानीबाट प्राप्त दैनिक उपलब्धिका अपडेट खोइ ? सावधान गराउने, उत्साही पनि गराउने । अनुशासित र जिम्मेवार बनाउने । रोबोट होइन, मान्छेलाई मान्छे नै बनाइराख्ने उद्देश्य खोइ ? यो अभावलाई कहिले सम्बोधन गर्ने ? मानवसमाजको भावनात्मक एकतामा पुगेको क्षतिको परिपूर्ति कहिले गर्ने? कसरी गर्ने ?

अनुमान लगाउन सकिन्छ, यो कोरोना सामाजिक सचेतनामा ठूलो धनराशि खर्च भएको छ । फजुल खर्च । संकट व्यवस्थापन समिति आफैमा सिथिल छ सायद । तैपनि समाजशास्त्री, संसूचना विज्ञ, सोसल मार्केटिङ विशेषज्ञ र सार्वजनिक स्वास्थ्य महामारीका प्राज्ञसहितको एउटा समूह बनाओस् । र सम्पूर्ण जनहितकारी सन्देशहरुको रचना, योजना र प्रयोगमा सक्रिय भूमिका खेल्न सकोस् । अब, अहिले र आउँदा विपत्तिमा पनि फेरि यस्तो गल्ती नदोहोरियोस् ।

[email protected]

प्रकाशित : जेष्ठ १९, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?