कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

गणतन्त्रका बाधक

‘मधेसतिरबाट आठ-दश टन लोकप्रियता ल्याउन खोजेको, उलार लागेर टिप्पर नै पल्टियो । झन्डै किचेर मारेको ।’
शरच्चन्द्र वस्ती

‘साढे ग्यारह जो भैगो । अब सवारी भैहाल्छ’ दारी मुसार्दै बाबाले भने । नभन्दै ११ बजेर ३३ मिनटमा महाराजको गाडी कम्पाउन्डमा दाखिल भयो । दुई मिनटपछि अर्को गाडी पनि ।

गणतन्त्रका बाधक

गोप्य ‘मिसन’ मा आएका मित्रदेशका प्रतिनिधिसँग महाराजको अति गोप्य भेटघाट थियो त्यो रात । ठाउँ थियो, रिङरोड नजीकै एक जना विश्वासिला भारदारको भव्य निवास । महाराज आफ्ना उँघिरहेका अंगरक्षक र सुरक्षाकर्मीलाई छलेर खोपीको झ्यालबाट निस्की सालोको गाडीमा आएका थिए । साढे एघार बजेसम्म राहुकाल रहने भएकाले त्यसपछि मात्र भेटघाट गर्नू भन्ने बाबाको आज्ञा थियो र त्यसै अनुसार समय मिलाइएको थियो । भेटघाट चलुन्जेल सँगैको अर्को कोठाबाट गोपनीय तान्त्रिक विधिद्वारा महाराजमाथि शक्तिपात गरिरहने उनको योजना थियो । ‘यसले महाराजको शक्ति जो बढ्छ’ उनले भनेका थिए । गाडीहरू कम्पाउन्डमा छिर्नासाथ बाबा कोठाभित्र छिरे र ढोका लगाए ।

दोस्रो गाडी मित्रदेशका प्रतिनिधिको थियो । उनी एउटी मैयाँसँग आएका थिए । बैठक कोठामा अतिथिको स्वागत गर्दै भारदारले भने, ‘के टक्र्याऊँ ? चिया, कफी अथवा होली वाइन ?’ अतिथिले अनिच्छा देखाएपछि महाराजको इशारामा उनी बाहिर निस्के र ढोका लगाइदिए । दोभाषे बनेको म समेत कोठामा चार जना बाँकी रह्यौं ।

‘आराम हुनुहुन्छ ?’ प्रतिनिधिले संवाद शुरू गरे ।

‘ठीकै छु भन्नुपर्‍यो कमरेड, १८ घण्टा खटिरहेको छु’ महाराज सीधै मूल विषयमा प्रवेश गरे, ‘तर गणतन्त्र खतरामा छ ।’

‘गणतन्त्र खतरामा रे ? कसरी ?’ कमरेडले जान्न चाहे, ‘सिंगो राज्य त तपाईंको मुठ्ठीमा छ । अनि खतरा चाहिं कताबाट भयो ?’

‘राज्य मुठ्ठीमा भएर के गर्नु ?’ महाराजले बह पोखे, ‘राज्यका एक-एक अंग गणतन्त्रका बाधक भएका छन् ।’

‘अलि खुलस्तसँग भन्नोस् । म यही सब बुझ्न आएको । हामी सक्दो सहयोग गरौंला,’ कमरेडले आश्वस्त गराए ।

‘खै के भन्नु ? मन्त्रिपरिषदकै भर पर्न नसकिने भयो । आफ्नै मन्त्रीहरू अरूका सेवक भएका छन् । जनतालाई पनि थाहा नदिने भनेर क्याबिनेटमा एउटा गोप्य निर्णय गर्‍यो, बैठक नसकिंदै निर्णय तीनवटा दूतावासमा पुगिसक्छ । पाँचवटा अनलाइनमा आइसक्छ ।’

‘मन्त्रीहरूको फोन टेप गराउनुहुन्न ? त्यसैबाट तिनको घाँटी समाउनोस् न ।’

‘गराउन थालेको छु । तर खै कसरी हो, निर्णयको फोटोकपी नै पठाइसकेका हुन्छन् । मेरो आईटी विशेषज्ञले पनि पत्ता लगाउन सकेन ।’

‘त्यो पत्ता लगाउने विशेष शक्तिशाली उपकरण पठाइदिउँला । चिन्ता नगर्नोस्’ कमरेडले सोधे, ‘संसद चाहिं कस्तो छ ?’

‘त्यो झन् ठूलो बाधक भएको छ, गणतन्त्रको । कुनै काम गर्नै दिंदैन । हरेक काममा खोट देखाउँछ । एउटा विधेयक पारित गराउन सरकारको १२ बज्छ । तपाईंहरूकहाँ जस्तो सजिलो कहाँ छ र ? मलाई त संसद भन्यो कि टाउको दुख्छ ।’

‘बुर्जुवा संसदमा सबैतिर यस्तै हो । सकेसम्म कम जाने गर्नुहोला’ कमरेडले भने, ‘अदालतमा आफ्ना कार्यकर्ता भर्नोस्, सजिलो हुन्छ भनेर उहिल्यै सल्लाह दिएका हौं । त्यहाँ त ठीकै होला नि ?’

‘सक्दो भरेका छौं । नियुक्ति पाएपछि आएर दाम चढाउने पनि गरेका छन् । प्राय: मसँग सोधेरै निर्णय गर्छन् । तर कार्यकर्ता बाहेक अरू पनि मान्छे फाट्टफुट्ट भएकाले ढुक्क हुन सकिएको छैन । कुन दिन कुन चाहिंले गणतन्त्रको चाहना विपरीत निर्णय गरिदेला भनेर डर लाग्छ ।’

‘गणतन्त्र भनेर तपाईंले आफैंलाई भन्नुभएको होला । होइन त ?’ कमरेड मुस्कुराए ।

‘हो कमरेड, हामीकहाँ यस्तै भन्ने चलन छ’ महाराज ङिच्च हाँसे ।

‘लजाउनु पर्दैन । हामीकहाँ पनि यस्तै हो । हाम्रो गणतन्त्र पनि महासचिव कमरेडले जे भन्नुहुन्छ त्यही हो । जन गणतन्त्रमा यस्तै हुन्छ’ कमरेडले कुरा अगाडि बढाए, ‘यी त राज्यका तीन अंग भए । चौथो अंग चाहिं कस्तो छ ?’

‘त्यसको कुरै नगर्नोस् । गणतन्त्रलाई सर्वाधिक खतरा त्यसैबाट छ ।’

‘समाचार पार्टीले सेन्सर गर्दैन र ?’

‘तपाईंहरूकहाँ जस्तो पार्टीले सेन्सर गरेपछि मात्र समाचार छाप्न पाइने कानून हामीले बनाउनै सकेका छैनौं’ महाराजले निरीहता प्रकट गरे, ‘कोशिश गरेका गर्‍यै छौं, तर पार लागेको छैन । अलिकति कानून सुधार्न खोज्यो कि गणतन्त्र विरोधीहरू उफ्रिन थालिहाल्छन् ।’

‘बरबाद रहेछ । यस्तो भएपछि कसरी गणतन्त्र बचाउनुहुन्छ ?’ कमरेडले सोधनी गरे, ‘राज्यका अरू संयन्त्र चाहिं कस्ता छन् नि ?’

‘जेठा मामाको त भांग्राको धोती, कान्छा मामाको के गति ?’ महाराजले भने, ‘संवैधानिक निकायहरूमा आफ्नै मान्छे पठाएका छौं । तैपनि वेलावेलामा तिनको मति बिग्रन्छ, हाम्रै मान्छेको कठालो समाउन खोज्छन् । अनेक कार्यालय र कर्मचारी छन्, ती पनि नियम-कानून अनुसार चल्न खोज्छन् । सबका सब गणतन्त्रका तगारा भएका छन् ।’

‘संविधानले त अवश्य पनि ठीकसँग काम गरेको होला ?’

‘केको ठीकसँग काम गर्नु ? गणतन्त्रको सबैभन्दा ठूलो बाधक नै त्यही भएको छ । मेरा हातखुट्टै बाँधिदिएको छ । गर्न खोजेको कुरा गर्नै पाइँदैन ।’

‘यत्रो बहुमतमा हुनुहुन्छ । पार्टीको सहयोग लिएर संविधान संशोधन गर्नोस् र सर्वशक्तिसम्पन्न प्राधिकार बन्नोस् न । के समस्या छ ?’ कमरेडले बाटो देखाउन खोजे ।

‘त्यही गर्न खोजेको थिएँ, तर पार्टीले नै साथ दिएन । बरु विपक्षलाई गुलियो चटाएर मनाउन आँटिसकेको थिएँ, आफ्नै पार्टी गणतन्त्रको बाधक बन्यो । शक्तिशाली बन्छ भनेर साथीहरूले झन्डै मलाई नै सिध्याएका’ महाराजले खुइय गरे ।

‘हो त नि’ मैयाँ कमरेडतिर फर्किइन्, ‘त्यसवेला मैले नै नेताका घरघर पुगेर उहाँलाई बचाइदिएकी ।’ म झल्याँस्स भएँ । अघिदेखि मैयाँलाई कहाँ देखेको कहाँ देखेको जस्तो लागिरहेको थियो । त्यही वेला देखेको रहेछु ।

‘हामीले सधैं अगाडि आएर बचाइदिन सक्तैनौं । भित्रभित्रै सघाउन मात्र सकिन्छ’ कमरेडले भने, ‘मूल कुरो तपाईंको लोकप्रियता हो । त्यो घट्न भएन ।’

‘सारा ध्यान र तिकडम त्यसैमा लगाएको छु कमरेड’ महाराज किस्सा सुनाउन थाले, ‘पहिले कार्यकर्ता हँसाएर लोकप्रिय भएँ । पछि जनता पनि हाँस्न थाले । आकाशपाताल ल्याएर झन् हँसाउन थालें । लोकप्रियताको सीमै थिएन । जसको मुखमा पनि मेरै नाम । एक दिन जोकरहरू आएर ‘हजूरले गर्दा हाम्रो दानापानी हरण हुन लाग्यो’ भनेर रुन थालेपछि पो थाहा भयो, जनता त मैमाथि हाँस्न थालेका रहेछन्...’

हाहाहा... कमरेडले हाँसो थाम्न सकेनन् । मैयाँ मुख छोपेर खितखिताइन् ।

महाराज भन्दैगए, ‘त्यही भएर अस्ति मधेसतिरबाट आठ-दश टन लोकप्रियता ल्याउन खोजेको, उलार लागेर ट्रिपर नै पल्टियो । झन्डै किचेर मारेको ।’

‘यसरी हुँदैन’ कमरेडले रणनीतिक मार्गदर्शन गरे, ‘तपाईं-हामी जस्ताको अन्तिम सहारा भनेको राष्ट्रवाद नै हो । स्यामुएल जोन्सनले उहिल्यै भनिसकेका छन् । त्यसैको जोहो गर्न लाग्नोस् ।’

‘त्यो पनि एक जना मित्रले भर्खरै उपहार दिएका छन्— पूरै एक कन्टेनर । सानोतिनो पहाडै जत्रो छ । चिन्तै नगर्नोस्’ महाराज मित्रलाई सम्झेर दारी मुसार्न थाले । यद्यपि उनको दारी थिएन ।

‘गज्जब भएछ’ कमरेड मुस्कुराए, ‘नढाँटी भन्नोस् त, सल्लाह गरेरै उपहार दिएको त होइन नि ?’

‘तपाईंहरूसँग सल्लाह गरेका थिए र ?’ महाराजले कूटनीतिक उत्तर दिए । उनको मुस्कान कताकता व्यंग्यात्मक थियो ।

‘जे होस्, यो सामान्य उपहार होइन । लोकप्रियताको पावरहाउस हो । यसको उपयोग गरेर शक्ति सञ्चय गर्नोस् र आफूलाई बलियो पार्नोस् । हाम्रो शुभकामना छ’ कमरेड फेरि मुस्कुराए र जीउ अगाडि ढल्काउँदै महाराजतिर हात तेर्स्याए ।

त्यो गोप्य भेटघाट टुंगिएको संकेत थियो । महाराजको हात पनि तेर्सियो ।

उनीहरूले उठेर फेरि हात मिलाए । र, बाहिर उँघिरहेका घरबेटीलाई धन्यवाद दिएर आआफ्ना गाडी चढे ।

राति एक बजिसकेको थियो । भेटघाट सकिएको सूचना दिन म बाबाको कोठातिर गएँ । भित्रबाट घुरेको आवाज आइरहेको थियो । बाबा शायद स्वप्नमै शक्तिपात गरिरहेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?