कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सत्यमोहन दाइको शताब्दी र हामी

सत्यमोहन दाइ जन्मिएको दिन रुसमा बोल्सेबिक उर्फ कमिनिस्टले जितेको एक वर्ष पुगेको थियो । पहिलो विश्वयुद्ध सकिएको पनि एक वर्ष पूरा भएको थियो । स्पेनी फ्लुले यो भेकतिर डेढ करोड मानिसको ज्यान गएको पनि एक वर्ष पुगेको थियो ।
अभि सुवेदी

सत्यमोहन जोशी ३० वैशाख २०७७ को दिन एक सय एक वर्ष पुगेको खबर कोरोना महामारीले थिचेको नेपाली भूमि र प्रकम्पित आकाशमा एउटा अर्को तरंगजस्तो भएर आयो । केही भिजुअल र केही छापामा आयो । उनको यो खबरले सानै कुनामा भए पनि शब्दका सीमा फोर्‍यो । टीभीका स्क्रिनमा एक छिन भए पनि त्यो रह्यो ।

सत्यमोहन दाइको शताब्दी र हामी

सत्यमोहन दाइ सय वर्ष पुगेको दिन पनि त्यस्तै तरंग आएको हो, तर अहिले फरक भएछ । तिनले पूरा गरेको शताब्दी एउटा युग हो जसमा हामी छौं, हिजोको समाज थियो, हिजोको एकतन्त्री शासन थियो । पञ्चायत, गणतन्त्र र अनेकौं दलका शासन हुँदै अहिले कमिनिस्टको शासन छ, नेपालमा । यी सत्यमोहन दाइलाई लिएर हेर्दा हाम्रो अगाडि एउटा युगको चित्र कहिले लैनसिंह बाङ्देलको अमूर्त कलाजस्तो, कहिले चन्द्रमान मास्केको सरल चित्रजस्तो भएर खुल्छ । हामी साठी नाघेका अझ सत्तरी हानेका नरनारी कोरोनाको झापट पहिले हामीमथि पर्छ भनेर वृद्ध चेतना र गतिले हिँड्छौं । सत्यमोहन दाइ १०१ वर्षको देह लिएर पाटनको देहहीन देह, समयहीन समय र कालहीन कालको कलात्मक परिवेशमा बसेर सबैलाई जीवनको सन्देश दिँदै बसेका छन् ।

सत्यमोहन दाइ जन्मिएको दिन रुसमा बोल्सेबिक उर्फ कमिनिस्टले जितेको एक वर्ष पुगेको थियो । त्रिचन्द्र कलेजको शिलान्यास गरेर चन्द्रशमशेर राणा आफ्नै चिहानको ढुंगा राखिएछ भनेर खङ्ग्रङ्ग भएको पनि एक वर्ष पुगेको थियो । पहिलो विश्वयुद्ध सकिएको पनि एक वर्ष पूरा भएको थियो । स्पेनी फ्लुले यो भेकतिर डेढ करोड मानिसको ज्यान गएको पनि एक वर्ष पुगेको थियो । सत्यमोहन दाइ र शताब्दी कवि माधव घिमिरे यी सबै घटनाहरूको छायामा जन्मेका थिए । मानिसहरूको भविष्यको कुनै ठेगान थिएन । तर सत्यमोहन दाइ यस्तो थलोमा जन्मिएका थिए जहाँ एउटा अर्कै विश्व थियो । कलात्मक थियो र स्निग्ध थियो । छेवैमा पाटन दरबार स्क्वायर, कृष्णमन्दिर, क्वाबहा:को सुवर्ण मन्दिर र अरू अनेकौं मूर्ति, पेगोडा शैलीका भवन र मठमन्दिर, साना सडक, टोलटोलमा टिक्टिक् छिना चलाएर प्रस्तर मूर्ति कुँद्ने, अनि काठका कला बनाउनेहरू सधैं क्रियाशील थिए । कलकल निर्मल पानी खस्ने अजस्र प्रवाह भएका ढुंगाका धाराहरू भएका हिटीहरू थिए । मानौं ती जन्मेको संसार बाहिरी संसारसँग मिल्दैनथ्यो । तर दुईपटक महामारी आएको हल्ला तिनले सानैमा सुने । तिनले यो भूमिमा भुइँचालोले ध्वस्त गरेका दुईवटा अनुभव गरे । एउटा केही वर्षपहिले हामीले पनि उनीसँगै भोग्यौं ।

सत्यमोहन दाइ जीवन्त र सक्रिय भइरहेको अवस्थामा हामी हाम्रो र अरूको शताब्दीका केही तरंगहरूलाई उठाएर हेर्छौं । धेरैलाई हाम्रो भविष्य प्रलय वा कसैले भनेको ‘एपोकालिप्स’ उन्मुख छ भन्न मन लाग्छ । हामी सबैलाई त्यस्तो लाग्छ होला तर सत्यमोहन दाइ त्यस्तो कल्पनालाई असत्य हो भनेर ठमठम्ती हिँडिरहेका छन् । भन्दै छन्, मेरो एउटा इच्छा छ, त्यो हो नेपालका कुनै पनि एउटा भाषामा लेखिएको साहित्यमा कसैले नोबेल पुरस्कार जितून् र म त्यो शान्ति बोकेर जान पाऊँ । यो कहिले र कसरी पूरा होला, म जान्दिनँ । तर एउटा कुरा जान्दछु, सत्यमोहन दाइको कल्याणको भावनालाई शताब्दीभरिका दुर्दान्त घटनाहरूले हल्लाएनन् । निरंकुश सामन्त शासक, पञ्चायतको तानाशाही शासन, आफ्ना निम्ति मात्रै काम गर्ने दलका सरकार र भ्रष्ट राजनेताहरूले हल्लाएनन् । नोबेल पुरस्कार अमूक नेपालीले जितून् भन्नु नै यो मुलुक शान्ति र सिर्जनाको थलो होस् भन्ने ठान्नु हो । नेपाली लेखकहरू नोबेल पुरस्कारका निम्ति आफ्ना कृति पठाउँछन्जस्तो लाग्छ । एक जना प्रतिभाशाली उपन्यासकारले उनको उपन्यास अंग्रेजीमा अनुवाद भैसकेको अवस्था भएकाले नोबेल पुरस्कारमा पठाउनुपर्‍यो भनेर मैले जानेसम्मका राय दिन भनेकी थिइन्, केही समयपहिले । लगभग सत्यमोहन दाइको जस्तै सद्भावनाले बनिएको काल्पनिकी भएका एक जना पेन नेपालका नजिकका मित्रले ‘नोबेल पुरस्कारका निम्ति तपाईं पनि लेखकहरूका नाम दिनोस्’ मलाई एकाध पटक भनेका थिए । ती नाम र कृति कसले कहाँ हेर्छन्, मलाई थाहा छैन । नेपालका कस्ता र कुन किसिमका कृतिले नोबेल पुरस्कार पाउँछन्, त्यो पनि मलाई केही थाहा छैन । सत्यमोहन दाइको एक अजस्र प्रवाह हो चेतनाको, त्यो । तिनको जीवन नै अजस्र शान्त नदी हो । साहित्यमा मात्र होइन, अरू क्षेत्रमा पनि नोबेल पुरस्कारका चर्चा आउँछन् नेपालमा ।

मंसिर ५ २०६३ मा बृहत् शान्ति सम्झौता सम्पन्न गरेकोमा गिरिजाप्रसाद कोइरालाको नाम नोबेल शान्ति पुरस्कारका निम्ति पठाउने कुरा आयो । उनकी पुत्री र कांग्रेस पार्टीकी नेत्री सुजाता कोइरालाले मलाई त्यो पाठ सम्पादन गर्न पठाएकाले थाहा पाएको थिएँ । मलाई कताकताभित्र केही विश्वास जागेको थियो । नेपालका माओवादीहरूको युद्ध अन्त भएको र शान्ति सम्झौता भएको कुरा निकै महत्त्वपूर्ण हो, खासगरी यो भेकमा । यो सम्झौता गरेर नेपाली राजनीतिज्ञहरूले निकै ठूलो सफलता हासिल गरेका हुन् । दक्षिण एसियाली मुलुकमा रगत धेरै बग्यो । सीमाहरू रक्तरञ्जित भए । सीमा एउटा प्रेत हो जसले तिमीलाई झम्टिरहनेछ भनेर लिग्यासी दिँदै अंग्रेज हिँडे । त्यो भूतले सीमाहरू बल्झाइरहेको छ । पाकिस्तान र भारतले सीमाको भूत बोकेर चलिरहने अवस्था, बंगलादेशमा ३२ लाख मान्छे मारिनुजस्ता घटना त्यही अंग्रेजले छोडेको सीमाको प्रेत ब्युँझिने क्रममा पर्छ । नेपालको सीमाभित्र बाटो बनाएर यसै उद्घाटन गर्ने भारतको काममा सीमाको त्यही आङ्ल स्मृति छ । माओवादीसँग भएको शान्ति सम्झौता एउटा यो क्षेत्रमा अलग र अनुकरणीय प्रयोग हो, नेपालको । गिरिजाबाबुको पाठ महत्त्वपूर्ण थियो । अर्को ठाउँमा कतै प्रचण्डको पनि नाम थियो कि थिएन, मलाई थाहा भएन ।

त्यो बृहत् शान्ति सम्झौता, त्यो नेपालका निम्ति ठूलो ऐतिहासिक घटना सत्यमोहन दाइको काल्पनिकीभित्र पर्छ कि पर्दैन मलाई थाहा छैन । तर त्यसपछिको समय हाम्रासामु छ । नेपाल हामीले कल्पना गरेको बाटोमा गएन । यो देशमा सत्यमोहन दाइले देखेको कल्याणकारी समय आएको छैन । शासकहरूले यो देशका जनताको सम्मान गरेनन् । कोरोना महामारीले एउटा प्रकट नभएको देश खुल्दै छ जनताको । थाहा नपाएको संख्या र गतिमा नेपाली एक छाक खाने बन्दोबस्तका निम्ति भारतमा गएका नागरिक ठूलो संख्यामा सीमापार गरेर पस्तै गरेका चित्र खुल्दै छन् । यो देशमा शासन गर्नेहरूका चर्चा धन कमाउने र जत्थाहरू बनाउने आफ्नो मूलकर्म बनाउनेमा आइरहन्छन् । लिम्पियाधुरायताको नेपालको भूमि राखेर नक्सापास गरेको ऐतिहासिक घटना हो । तर त्यो विषयलाई समाधान गर्नेतिर लाने शासकका दक्षता, वार्ता गर्ने व्यक्तित्व र इमानको आवश्यकता अहिले जति अघि कहिल्यै परेन । कोरोना महामारीले मचाइरहेको भयावह आतंकबाट ध्यान मोडिएको राम्रो होइन । यसको भयानक परिणाम जीवनका सबै क्षेत्रमा देखिँदै जानेछ ।

सत्यमोहन दाइ यो देशमा शासक र शासितका सम्बन्ध असहज छन् भन्ने जान्दछन् तर त्यसलाई कल्याणकारी भावनाबाट हेर्छन् । उनले लेखेका नाटक हामीले गुरुकुलमा मञ्चन गर्‍यौं । उनैको कारणले प्राप्त भएको भूमिमा बनिएको राष्ट्रिय नाचघरको मञ्चमा उनको अशोकपुत्री चारुमती नेपाल आएर विवाह गरी बसेको नाटक देखाइयो । मण्डला थिएटरमा सिरुमा रानीको लोककथामाथि उनले लेखेको नाटक मञ्चन गर्‍यौं । तेह्रौं शताब्दीमा चीन गएर श्वत चैत्य बनाएका अरनिकोमाथि यिनले किताब लेखे, त्यही विषयमाथि एउटा महाकाव्य लेखे । यी केही उदाहरण मात्र हुन् ।

नेपाली राज्यको अहिलेको सबभन्दा ठूलो समस्या जानीबुझी गरिने विस्मृति वा ‘एम्नेसिया’ हो । मैले यही विषयमा यस्ता हरफ लेखेको थिएँ- ‘यहीँनेर इतिहासमा विस्मृतिको समस्या आउँछ । यस्तै मानिसहरूका निम्ति काम गर्ने सिद्धान्त र सपना कार्ल मार्क्स, विश्वेश्वरप्रसाद कोइराला, महात्मा गान्धीजस्ता मानिसहरूले लिएका र दिएका हुन् । तिनका अनुयायीहरूले त्यही कुरा नबुझेर अक्षर जान्ने सुविधायुक्तमाथि मात्र अल्झेर, नजान्ने पीडितका निम्ति काम गर्ने राजनीतिको चरित्र गुमाउँदै गरेको नेपालमा ऐतिहासिक ‘एम्नेसिया’ को चरित्र देखिँदै जानु चिन्ताको विषय हो’ (कान्तिपुर १८ वैशाख २०७४) ।

एक सय एक वर्षका सत्यमोहन दाइ त्यही ‘एम्नेसिया’ विरुद्ध लड्दै छन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?