कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोभिड१९ वैश्विक महामारी र साईकलको सान्दर्भिकता

संक्रमण थप फैलन नदिन विकसित देशहरूले मोटरगाडीको प्रयोग खुम्च्याउँदै साइकललाई प्रोत्साहन गरिरहँदा नेपालमा भने यसतर्फ तयारी त परै, सोचसम्म देखिँदैन ।
रत्नराम श्रेष्ठ

गत अप्रिलमा बेल्जियमकी यातायातमन्त्री इल्के भान डेन ब्रान्ड्टले फेसबुक पेजमा पोस्ट गरिन्, ‘हामीले साइकल–लेनलाई प्रमुख रुटहरूमा प्राथमिकतासाथ राख्दै छौं, त्यसपछि साना र मध्यम सहरी रिंगहरूमा पनि पनि बढाउनेछौं ।’

कोभिड१९ वैश्विक महामारी र साईकलको सान्दर्भिकता

यससँगै रातभर ब्रसेल्सका प्रमुख सडकहरूमा कार र मोटरगाडीका लेन अझ कम गर्दै साइकल लेन थपिएको र कतै चौडा पारिँदै गरेका भिडियो मन्त्रीका ट्विटरमा देखियो । यो कुनै पब्लिसिटी ‘स्टन्ट’ थिएन । किनकि युरोपका हरेक विकसित देश र सहरहरूमा साइकल प्रयोगलाई आम र आधारभूत आवश्यकताका रूपमा धेरै अघिदेखि सरकारहरूले अंगीकार गर्दै आएका छन् ।

ब्रसेल्समा ४० किमि लामो थप साइकल लेन निर्माण भएको छ । जबकि साइकल लेनको राम्रो नेटवर्क सहरभरि नै छ । साथै सन् २०२३ सम्ममा ८० किमिको साइकल लेन ब्रसेल्सको भित्री रिङरोडमा बनाउने योजनामा गत वर्षदेखि नै काम भइरहेको थियो । गत मे ४ देखि ब्रसेल्सका सम्पूर्ण भित्री क्षेत्रहरूमा साइक्लिस्ट र बटुवालाई प्राथमिकता दिँदै उनीहरूको सुरक्षालाई ध्यानमा राखी कार, मोटरगाडीको अधिकतम गति २० किमि प्रतिघण्टा निर्धारित गरिएको छ ।

अप्रिल ३० मा फ्रान्सकी मिनिस्टर फर इकोलोजिकल ट्रान्जिसन एलिजाबेथ बोर्नेले ट्विटरमा लेखिन्, ‘यस समयमा हामी एकदम अघि बढेर साइक्लिङ संस्कृतिलाई अघि लान चाहिरहेका छौं । आफैंमा साइकल यो कैदमुक्तिका उपायहरूमा एक सानी रानीजस्तै हुन् ।’ फ्रान्समा साइकललाई प्रेमपूर्वक ‘लिटिल क्विन’ नाम दिइएको छ ।

फ्रान्सको पेरिसमा २ करोड २० लाख डलरका योजना ल्याएर साइकल लेन र पार्किङ स्थल थप गरिएको छ । सहरबासीलाई साइकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले नजिकका रजिस्टर्ड स्टोरहरूमा साइकल मर्मत गर्न ५० युरो अनुदान दिइएको छ । नागरिकहरूलाई साइकल ट्रेनिङ दिन पनि सोही बजेटबाट खर्चिइँदै छ ।

पेरिसका मेयर एने हिडाल्गो (जो आफैं पनि साइकलप्रेमी हुन्) ले भनेका थिए, ‘म साइकलप्रति नै समर्पित लामो मार्ग चाहन्छु जसमा सार्वजनिक बस, ट्याक्सी, इमरजेन्सी भेहिकल र क्राफ्टम्यान भेहिकलहरूलाई पनि प्रवेश अनुमति हुनेछ तर निजी कारहरूलाई होइन ।’

पेरिस पेडेन्स्ट्रेनाइजेसन र कार–फ्री सहर बन्न आक्रामक रूपमा अघि बढिरहेका सहरमध्ये पर्छ । यहाँ ७ सय ५० किमि साइकल–लेन बनाउने महत्त्वाकांक्षी र बृहत् योजनासहितका विकास कार्य भइरहेको छ । लामो दूरीको सहरी यात्राका लागि पेरिसका ३ तीन व्यस्त मेट्रोलाइनसँगै जोडिएर साइकल–लेन निर्माण भइरहेको छ । फ्रान्स सरकारले ११ मेदेखि लकडाउन हटाइसकेको छ ।

युरोपमा सबैभन्दा कोरोना महामारी भोगेको इटालीमा मिलान सहरले ३५ किमिको व्यस्त सडकलाई कार र मोटरगाडीहरूबाट मुक्त राखेर पैदल र साइकलयात्रीलाई सहज र सुरक्षित बनाउने योजनासहित काम अघि बढाएको छ । सहरभित्र मोटर गाडीहरूको अधिकतम गति ३० किमि प्रतिघण्टामा सीमित पारिएको छ । इटालीले महामारीको दुःखबाट सिक्दै वातावरण प्रदूषण रोक्न र सोसल डिस्ट्यान्सका लागि साइकल प्रयोगलाई नै प्रमुख विकल्पका रूपमा लिएको देखिन्छ ।

कोलम्बियाको राजधानी बोगोटामा पपअप (तत्काल बनाउन सकिने) साइकल–लेनमा सय किमि थप बढाइएको छ । जबकि यसअघि नै त्यहाँ ४५० किमि लामो विकसित र व्यवस्थित नेटवर्क छ । यस बेला बोगोटाले सडकमा मोटरगाडीको स्पेस कम गर्दै साइकललाई ज्यादा छुट्ट्याइएको छ । त्यस्तै जर्मनीको राजधानी बर्लिनले आफ्नो साइकल–लेनको नेटवर्कमा थप अस्थायी लेनहरू निर्माण गरिसकेको छ ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीले साइकल लेनलाई अस्थायी रूपमा चार गुणा बढाएको छ । हंगेरीको बुडापेस्टले पपअप साइकल–लेन थपेर सार्वजनिक बसको यात्रालाई निरुत्साहित गरी कोभिड–१९ को संक्रमण केही रुटहरूमा ९० प्रतिशतसम्म कम गर्न सकेको छ ।

इटालीको रोमका मेयर भर्जिनिया रेगीले पनि नागरिकहरूलाई साइकलमा यात्रा गराउन र समरस्कुल खोल्न चाहेका छन् ।

क्यानडाको भ्यानकोभरले भिडभाड रहने स्टेन्ली पार्कमा मोटरगाडीहरूलाई पूर्ण निषेध गरेर साइक्लिस्ट, ह्विलचेयरयात्री, बटुवा र बच्चाहरूलाई प्राथमिकता दिएको छ । त्यहाँ मानिसहरूलाई व्यायाम, मनोरञ्जन र प्रकृतिप्रेमका लागि छुट्ट्याइएको छ ।

स्कटिस सरकारले सडकमा फुटपाथ र साइकल लेन निर्माणका लागि १ करोड पाउन्ड छुट्ट्याएको छ । ग्रेट म्यानचेस्टरमा साइकल र पैदलयात्राका लागि योजनापूर्वक काम हुँदै छ । ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसोनले मे ६ मा ससद्मा ‘अबको आउने समय साइकलका लागि स्वर्णिम युग हुने’ बताएका थिए । ‘यतिखेर बृहत् मात्रामा प्लानिङ हुँदै छ जसले मानिसहरूलाई मासट्रान्जिटको प्रयोग गरेर काममा जानुको विकल्प दिनेछ, त्यो भनेको पक्कै साइक्लिङको स्वर्णिम युग हुनेछ,’ उनले भनेका थिए । प्रधानमन्त्री जोनसोन साइकलमै नियमित यात्रा गर्छन् । उनी लन्डनको मेयर छँदादेखि नै त्यहाँको परम्परागत यातायात प्रणालीको ढाँचामा साइक्लिङलाई प्राथमिकता दिन सुरु गरेका थिए ।

बीबीसीको रिपोर्टमा लन्डन स्ट्राटेजिक को–अर्डिनेसन ग्रुपको हवाला दिँदै सतर्क गराइएको छ– ‘लकडाउन खोलेसँगै सामाजिक दूरीको नियमका कारण लन्डनका अन्डरग्राउन्ड मेट्रोहरूमा चर्को दबाब पर्नेछ । मेट्रो ट्युबको कुल क्षमताको १५ प्रतिशत र बसहरूको क्षमता १२ प्रतिशतमा झर्नेछ ।’ अर्थात् मेट्रोले सय जना बोक्न सक्ने भए १५ र बसले १२ जना मात्र बोक्नु पाउनेछन् । यस कारण नागरिकहरूलाई सहज यात्राको विकल्प भनेको हिँड्नु वा साइकल चढ्नु नै हो ।

लन्डनमा कोभिड–१९ कै कारण सार्वजनिक बसका ३३ चालकले ज्यान गुमाएका छन् । यस्तोमा सार्वजनिक यातायातको प्रयोग ‘रिस्क’ मानिएकाले साइकल प्रयोग व्यापक बढिरहेको छ ।

०००

लामो लकडाउन बिस्तारै खुकुलो पार्दै मानिसहरूलाई सक्रिय सामाजिक जीवनमा फर्काउने क्रममा कोरोना महामारी झन् नबल्झियोस् भनेर विश्वमा सचेत रूपले विभिन्न उपाय अपनाइँदै छन् । विशेषतः मास ट्रान्स्पोर्टेसनका मेट्रो र बसहरूमा अत्यधिक सावधानीका उपाय अपनाएर या ती साधनको विकल्प साइकलको प्रयोग गर्न हरेक विकसित सहर लागिरहेका छन् ।

हुन त लकडाउनकै कारण सहरहरूमा कहिल्यै नदेखिएका सकारात्मक परिवर्तन पनि देखिएका छन् । सहरी क्षेत्रको वातावरणमा उल्लेख्य परिवर्तन आएको छ । विश्वभर लकडाउनको ३ साताको अध्ययनबाटै वायुमा हानिकारक ‘पार्टिकुलेट’ कणहरू गत वर्षको तुलनामा अनुमानित ६० प्रतिशतले घटेको छ । सहरका आकाश सफा, सुन्दर र स्निग्ध देखिएका थिए । हराइसकेका चराचुरुङ्गीका चिरबिर सुनिँदा सहरहरूमा प्रकृति पसेको अनुभूति सबैले गरे । नदीहरू स्वच्छ भए । हरियाली बढेको छ । यसरी मानिसहरू घरमै बस्दा प्रकृति भने बाहिर निस्कन पाएको छ ।

मोटरगाडीहरू रोकिँदा देखिएको यो परिवर्तनले हाम्रो सहरी जीवनको ढाँचा मात्र होइन, मूलभूत रूपमै नयाँ प्राथमिकता निर्धारण गर्न दबाब दिएको छ । यी प्राथमिकतामध्ये एक हो, यातायातमा दिगो र वातावरणमैत्री साधनहरूको प्रयोग ।

लकडाउनपछि सामाजिक दूरी कसरी व्यावहारिक हुन सक्छ ? के सार्वजनिक बस, मेट्रोहरूमा यसको ग्यारेन्टी रहन्छ ? मोटर गाडीहरूको प्रयोगले सुध्रिसकेको वायु फेरि प्रदूषित हुँदैन ? यहीबीचमा महामारीको अर्को तरंग उठ्यो भने ? यी सबै संशयको एउटा उपाय साइकलको ज्यादाभन्दा ज्यादा प्रयोग नै हो ।

कोरोनाबाट बच्ने उपाय भनेकै रोगप्रतिरोधात्मक क्षमता बढाउनु हो । यसका लागि पनि साइकल उपयोगी हुन्छ । लकडाउनमा कोठामा खुम्चिएका सर्वसाधारणलाई यात्रासँगै व्यायाम गराउनु साइकलको अर्को आयाम हो ।

कोभिड महामारी र वायुप्रदूषणबारे गरिएको अध्ययनले धेरै प्रदूषित सहरका बासिन्दालाई न्युमोनिया लाग्न सक्ने र यसले मृत्युदर बढाउने देखाएको थियो । अतः पुनः सडकमा तिनै मोटरगाडी, कार, बाइकहरू देखिए तिनले बढाउने वायुप्रदूषण र कोभिड–१९ को असर अझ भयंकर हुनेछ । यही सम्भावना बुझेरै विकसित देशहरूले यसमा कठोर निर्णय लिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि महामारीको अवस्थामा शारीरिक सक्रियता कम भएकाले सामाजिक दुरी कायम राख्दै अनुकूल बेलामा साइकल चलाउन वा हिँड्न सुझाव दिएको छ ।

०००

नेपालमा भने यति बेला दिग्भ्रमित र किंकर्तव्यविमूढको अवस्था देखिन्छ । लकडाउन केही खुकुलो पार्दै काठमाडौंका सडकमा कार र बाइकहरूको भिड ह्वात्तै बढेको छ । सम्बन्धित सरकारी निकायले यसबाट सिकेर वातावरण, प्रकृति र मानव जीवनको मूल्यलाई सर्वोपरि ठानी नीतिगत र रणनीतिक योजनाको आवश्यकता महसुस गर्लान् ? सहर र सडकको यो समस्यालाई बेलैमा समाधान गर्न उचित कदम नचाले महामारीको दोस्रो स्टेजमा छिरिसकेको देशमा हुन सक्ने विस्फोट नियन्त्रण गर्न सरकारको क्षमता रहनेछैन । अन्य देशको भोगाइबाट शिक्षा लिँदै सरकारले तत्काल पाइला चालिहाल्नुपर्छ । साइकल–लेन र गतिला फुटपाथ बनाउन अबका आधारभूत आवश्यकता हुन् । सडकहरूमा अब क्रान्तिकारी हस्तक्षेप गर्दै यिनलाई मानवकेन्द्रित बनाउनुपर्छ, न कि मोटरगाडी–केन्द्रित ।

लकडाउनका समयमा सडकहरूको मर्मतसम्भार प्रशंसायोग्य छ । सडक विभाग र यातायातमन्त्री वसन्त नेम्वाङको मिहिनेत सराहनीय छ । लकडाउन खुकुलिएपछि उत्पन्न हुने जटिलता आँकलन गर्दै मोटरगाडीको प्रभुत्व कम गरेर साइकल–लेन निर्माणका नयाँ योजना सुरु गरेको भए मन्त्रालयले आमनागरिकबाट ठूलो सम्मान र प्रेम पाउने पक्का थियो ।

ललितपुर महानगरले सुरु गरेको साइकल–लेनको कार्ययोजनालाई तदारुकताका साथ अघि बढाउन नसक्दा धेरै निराशा छाएको छ । काठमाडौं महानगरले नयाँ कार्यकालको ३ वर्ष सकिँदा पनि साइकल–लेनका काम सुरु गर्न नसक्नु दुःखद छ ।

अब पनि सार्वजनिक यातायातका साधन निस्फिक्री चल्न दिनु र एउटै गाडीमा कोचाकोच मानिसहरू यात्रा गर्नु संक्रमणलाई बढाउनु हो । अतः स्पष्ट मापदण्ड तयार गर्दै साइकल तथा पैदल यात्रालाई बढीभन्दा बढी प्रोत्साहन गर्नु नै अहिलेको उत्तम उपाय हो । यसका लागि कम्तीमा साइकल पसल, रिपेयर स्टोरहरू तमतयार राख्नुपर्छ ।

(श्रेष्ठ नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन्)

प्रकाशित : जेष्ठ १६, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?