कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लकडाउन डायरी : ती ऐतिहासिक दिनहरूको मलामी

घिमिरे युवराज

काठमाडौँ — बैशाख भरी पनि पानी परिरह्यो । मचाहिँ प्रायजसो अल्छिलाग्दो, निरास, दुःखी, कमजोर, अज्ञानी र कहिलेकाहीँ असन्तुतिल मनस्थितिझै| बाँची रहेँ । निराशा र खालीपन डरलाग्दो हुँदो रहेछ । त्यही पनि एक हदसम्म यो सबैलाई छोपेर बाँच्न सकिने रहेछ ।

लकडाउन डायरी : ती ऐतिहासिक दिनहरूको मलामी

सबै ठीकठाक भएजस्तो । बुद्धिमानी, उत्साहित र सकारात्मक भएजस्तो । तर त्यो कति दिन भन्नेचाहिँ मलाई थाहा भएन । एक दिन त बास्तविकता देखिन्छ । यतिखेर म मेरो बास्तविकता के हो भन्नेमा पनि 'कन्फ्युज्ड' छु । ठिकठाक भएको स्वाङ पार्नु बास्तविकता हो कि त्यसभित्रको स्थिति बास्तविकता हो ? यस्तो बेला केही साथीहरुले ध्यानमा बस्न सुझाएका छन् ।

मलाई ध्यानप्रति पहिले कहिल्यै रुचि भएन । २०, २२ वर्षको हुँदा केही अभ्यासमा गएँ । फिटिक्कै रमाउन सकिनँ । केही हप्तादेखि सोचिरहेछु । सुरु गर्न सकेको छैन । लकडाउनमा बसेर पनि समयको सदुपयोग गर्न सकेको छैन । धेरै वर्षदेखि प्रयास गर्दा पनि मेरो निश्चित दैनिकी छैन । हरेक दिनको रुटिन फरक छ । सुत्ने–उठ्ने, खाने–पिउने, पढ्ने–लेख्ने, व्यायाम–विश्राम केहीको निश्चित रुटिन छैन । एउटा असल मानिसको जिन्दगी कहाँ यस्तो हुन्छ ?

बैशाखको अन्तिम साता पनि उसरी नै साँझ पर्‍यो । साँझ ४ देखि ७ बजेसम्म लकडाउन खुल्छ । आकाश धुम्म भएर पनि म किनमेलका लागि बालकोट चोकसम्म पुगें। सुपरमार्केटमा भीड थियो । ‘सोसल डिस्टेन्स’को त्यहाँ कुनै अर्थ थिएन । एकमिटर दूरीको कुरै भएन । एक युवक सुपरमार्केटको ‘पासेज’ छेकेर अर्कोलाई नेपाल सरकारको स्वास्थ्य नीतिबारे सम्झाइरहेको थियो । गफकै सुरमा उसले सिग्नेचर (रातो) हिृवस्की उठायो । म ‘पासेज’मै अड्किएँ । बडो सकसले सकभर अर्को ग्राहकलाई नछोइकन लुनाले भने बमोजिमको सामान किनें । बाहिर पानी छिट्याउन थाल्यो । तुफान बेगझैँ घर आएँ । घर आइपुग्दा झमझम पानी पर्न थाल्यो । म किचेनमा चम्सुरको साग केलाउन थालेँ ।

लुनाले सोधिन्–सबै सामान ल्यायौ ?

मैले भनेँ–अँ ल्याएँ ।

मृत्युको डर कति ठूलो छ । ढोका बाहिरै सिंढीमा छोडेका सामान दिमागमा झल्किन थाल्यो । ती सामानले कम्तिमा ८ घण्टा त्यहीँ ढोका बाहिर अपहेलित भएर काट्नु पर्नेछ । कालो दाल, चना र भटमास, ५ केजी चामल, नुन । लुनाले मलाई ग्लुकोज र हेण्डवास पनि ल्याउनु भनेकी थिइन् । मैले जीवनजल र ‘डिस वास’ल्याएछु । अचेल मलाई आफ्नै कमजोर स्मरण शक्तिले वाक्क बनाएको छ । किन मैले ग्लुकोजको ठाउँमा जीवनजल ल्याएँ ? हेण्डवासको सट्टा डिस वास ल्याएँ ? त्यो सोचिरहँदा चम्सुरको माटोसँगैको जरा भाँडामा हालेर पात चाहिँ फालिरहेको थिएँ । लुनाले नदेख्दै मैले सट्टापट्टा गरेँ । चम्सुरको साग, आधा सुकेको थियो मेरो मनजस्तै । नओइलाएको मनले मात्रै साग राम्ररी केलाइने रहेछ ।

'बैचनी ठ्याक्कै केको हो ?' थाहा छैन । उठेर झ्यालबाट बाहिर हेर्छु । झमझम पानी परिरहेको छ । केही सय मिटर पर टिनको टहरोमा रन्धीर शर्मालाई देखें । ऊ छानोमा चढेर टिनमाथि प्लाष्टिक बिछ्याउँदै थियो । उसले २ हजार रुपैयाँमा जग्गा भाडामा लिएर टिनको टहरो बनाएको हो । उसको ४ वर्षे छोरो ओम र २ वर्षे छोरी दीक्षा यस धर्तीमा बाँच्नकै लागि बडो कस्टकर संघर्ष गरिरहेका छन् । सहरका केटाकेटीले खेल्ने खेलाउना बिर्सिदिनुस् । खुट्टामा चप्पल, पूरै शरीर ढाक्ने लुगा वा शरीरको सरसफाई पनि बिर्सिदिनुस् । तिनले २ छाक अघाउँझी खान पाइरहेका छैनन् । रन्धीर शर्मा र संगीताको टहरोमा सम्भवत अर्को सन्तान आउनेवाला छ । संगीता गर्भवती छे । कति महिनाकी हो मलाई के थाहा ! यी साढे चारजनाको परिवार त्यही टिनले बारेको कोठामा धर्तीलाई टेकेर बसेका छन् (भूमिपुत्रझैं) । धर्ती हिलो छ छानाबाट चुहिएको पानीले । यही ऐतिहासिक सहर भक्तपुरको एउटा यथार्थ हो यो । यस परिवारको दैनिकीको पीडालाई बलियोसँग वर्णन गर्न मेरा शब्दहरु असमर्थ भएकोमा म क्षमा चाहन्छु ।

रन्धीर शर्माका पुर्खा भारतको दरभंगाबाट काठमाडौ आए । ऊ यहीँ जन्मियो । हुर्कियो । स्कुल जान छोडेर बालखैदेखि उसले राजधानीलाई श्रम दिन थाल्यो । पुर्खाको घर ऊ खोज्दै गएन, राजधानीले उसको गुन कहिल्यै देखेन । हरेक दिन बस्ती बाक्लिँदैछ । कंक्रिटका ठूलाठूला घर बनेका छन् । यिनै ठूलाठूला घरहरुका कापमा कयौं रन्धीर शर्माहरु बस्छन् यही सहर बनाउन । घर र बाटाहरुको सिंगारपटार गर्न । रन्धीर शर्मा कार्पेन्टर हो ।

राति अबेरसम्म पानी परिरह्यो । अबेरसम्म ख्याउटे रन्धीर शर्मा, उसका अर्धनग्न छोराछोरी, उसकी गर्भवती श्रीमती र त्यही टहरो सम्झी रहेँ । अरु धेरै छिमेकीका अनुहार पनि सम्झिएँ । गाउँका आफ्नै बाआमाको अनुहार सम्झिएँ । भोलीपल्ट बिहान रन्धीर शर्मालाई भेटेँ । रातभरी छानोमा टाँगेको प्लास्टिक देखाउँदै गौरवपूर्ण बोल्यो :

–‘७ हजार ६ सोमा प्लास्टिक किनेको हो दाइ ।’

–‘राम्रो गर्‍यो । तर उडाउँदैन हावाले ?’

–‘कहाँ उडाउँछ ? रस्सीले जोडले बाँधेको छु ।’

–‘भाइ रन्धीर, २ छोराछोरी हुँदाहुँदै अर्को किन जन्माउन लागेको ? गाह्रो हुन्छ नि हुर्काउन पढाउन ।’ केही दिनदेखि मनमा खेलिरहेको कुरा मैले फ्याट्टै ओकलिदिएँ ।

–‘उसको भागको पाइहाल्छ नि, जति पाउने हो । थोडी मैले दिने हो दाइ ?’

म अवाक भएँ । उसको सोच र विश्वासमाथि व्यंङ्ग्य गर्न मेरो केही हैसियत देख्दिनँ । हाम्रो यस समाजको पद्धतिको, शिक्षाको, चेतनाको संरचनाभित्र लाखौँ रन्धीर शर्माहरु छन् र अझै जन्मनेछन् ।

केही दिनपछि रन्धीर शर्मा फेरि मलाई भेट्न आयो । लगभग चौंसठ्ठी इन्च अग्लो ज्यादै पातलो शरीरको, करीब ५५ किलोको फिस्टे रन्धीर शर्मा विनम्र भएर बोल्यो ‘दाइ’।

–‘मेरो श्रीमतीको जाँच गराउन जानु छ । अलिकति पैसा सापटी दिनुस् न । काम गरेर तिर्छु ।’

मलाई झनन्न रीस उठ्यो । मुर्खझैं आवेशमा उसलाई व्यङ्ग्य बाँणा छोडेछु–‘अस्ति त, उसले पाउने भाग भगवानले दिन्छ भन्थिस् त ? अब किन जँचाउन लानु ? भगवानलाई भन् ।’

आवेशमा मैले उसलाई तँ भनेँ । सधैँ तिमी भन्थें । कमजोरलाई हेप्ने मभित्र अझै यस्ता कतिधेरै कमजोरी छन् । ठ्याक्कै थाहा भए यी-यी हुन् भन्ने थिएँ होला । तर, कमजोरी थाहा पाउनु चानचुने कुरा रहेनछ । म बबुरो त्यही अज्ञानताको सिकार भएँ । बोली फुत्किएपछि पछुताएँ । उसले फेरि उध्रिएको ठाउँलाई सियो धागोले झैँ खिप्यो ।

–‘सबै कुरा त कहाँ दिन्छ भगवानले । थोडाथोडा त आफूले पनि गर्नु पर्छ ।'

–‘त्यो थोडाथोडा भनेको कति हो ?’

रिसाएरै मैले उसाई सोधेँ । ऊ बोलेन । उसलाई त्यो थोडाथोडा थाहा भएर नै मसँग पैसा माग्न आएको थियो ।

मलाई रन्धीर शर्माप्रति दया लागेन ईर्स्या लाग्यो । किनभने ऊ आफ्ना बारेमा म मेरो बारेमा भन्दा बढी स्पष्ट छ । दया त मलाई ईश्वरप्रति लाग्यो किनभने ऊ ईश्वरलाई सहयोग गर्न ऋण खोज्दै हिँडेको छ । रन्धीर शर्मालाई थाहा भयो ईश्वरले सबै थोक गर्न सक्दैन । त्यही ईश्वरले गर्न नसक्ने काम आफ्नो बलबुताले सकेजति फत्ते गर्न ऊ हिँडेको छ । कसमेकम ईश्वर केही गर्न नसकेर पनि हाम्रा शासकहरु जस्तो गफाडी छैन ।

मैले सोचेँ–‘विचरा ईश्वर धन्न यस धर्तिमा रन्धीर शर्माजस्ता मनुवा छन् र तिम्रा दुःखमा मलम लगाउँछन् ।’रन्धीर शर्माको टहरोमा जानु । आफू, श्रीमती र छोराछोरी पानीमा भिजेर पनि भगवानलाई सुरक्षित राखेको छ उसले । उसले ईश्वरलाई काठको कलात्मक घरमा राखेको छ । उसलाई थाहा छ पानीले भिजाउँदा भगवानले आफ्ना लागि प्लाष्टिक ओडाउन सक्दैनन् । रन्धीर शर्माको टहरोमा चुपचाप ईश्वर बसेको छ । राति ईश्वरलाई शौचालय जान गाह्रो हुन्छ भनेर हो कि किन हो, रन्धीर शर्माले ईश्वरको घरभित्र मोटरसाइकलको पिलपिल गर्ने साइडलाइटको बल्ब राखिदिएको छ ।

यी सबै देखेपछि जिन्दगीमा कमसेकम एउटा खत्रा नाटक बनाउने, कमसेकम एउटा खत्रा कथा लेख्ने, कसेकम एउटा खत्रा नाटक खेल्ने सपना स्खलित हुन्छ । मलाई लाग्छ, मसँग रन्धीर शर्माले झैँ भगवानलाई सघाउने हिम्मत छैन । मैले आफैंलाई सहयोग गर्ने क्षमता छैन ।

मेरा आफ्नै दुःख छन् । थिएटर बन्द भएपछि भाडाको चिन्ता छ । कलाकारको तलबको चिन्ता छ । आफ्नै काम र मामको चिन्ता छ । सबैले भन्ने गरेको ‘बाँच्ने’ चिन्ता भएर पनि अरु चिन्ता बढी छ । यी सबै संकट समाधान गर्न नसक्दा बाँच्नु मात्रै झन् मरे तुल्य हुनेछ । सबैभन्दा बढी मलाई आफ्नो प्रतिष्ठा, नाम र इज्जतको चिन्ता छ । ठ्याक्कै भन्नु पर्दा मैले मेरो ईश्वरलाई सघाउन सक्ने सम्भावना कम छ ।

अब थिएटरको स्थिति के हुन्छ त ?

कलाकारहरु कसरी बाँच्छन् ?

लकडाउनमा तपाईं के गर्दै हुनुहुन्छ ?

समय कसरी बित्छ ?

यी सबै प्रश्नको उत्तर मसँग नभएर फोन अफ गरिदिएको छु । केही बाध्यतालाई टार्न नसकेर बोल्छु । आफैंले बोलेका कुरा पत्रिकामा छापिएपछि दिक्दार लागेर आउँछ । वाइयात बोलेछुजस्तो लाग्छ । आजसम्म मैले आफ्नै अन्तर्वार्ता सुन्ने वा हेर्ने हिम्मत गरेको छैन । मैले अहिलेसम्म बोलेका कुरामा कुनै गुदी छैन ।

यसपटकको नयाँ वर्षमा कसैको ‘न्यु इयर रिजोलुसन’मैले थाहा पाइनँ । बैशाख १ फ्यास्सफुस्स भयो । गत वर्षको मूल्याङ्कनसहित अखबारहरु भरिएनन् । बैशाख १ गते भक्तपुरमा मनाइने बिस्केट जात्रा यसपटक मनाइएन । सिन्दुर र अविर छर्दै धिमे र झ्यालीको तालमा नाच्दै सडकमा हिँड्ने हुल देखिएन। कमसेकम यिनले केही उत्साह लिएर आउँथे हाम्रा टोलबस्तीमा । बैशाख बिग्रनुमा चैतको ठूलो हात छ । तर, सबैलाई थाहा छ चैतको कुनै हात हुँदैन ।

चैत महिनामै लकडाउन सुरु भयो । त्यो भन्दाअघि चैत ३ आयो । तर, उराठउराठ आयो । ठिक ३० वर्षअघि चैतमा प्रजातन्त्रको लागि आन्दोलन गर्ने सबै स्रष्टाहरुको नाम समेत मलाई थाहा छैन । अखबारहरुमा धेरैले ‘सिर्जना चैत्र ३’को गौरवमय इतिहास लेखे । धेरै स्रष्टाहरुले एकतन्त्री पञ्चायती शासन ढालेर प्रजातन्त्र ल्याएको महानताको गीत गाए । उसरी नै चैत २६ पनि आयो । कोरोना लकडाउनमै पनि फेरि एकपटक गणेशमान सिंह र चाक्सीबारीको खुब सम्झना भयो । ०४६ को चैतलाई सम्झने धेरै भए । हुन पनि दर्जनौं नागरिकले ज्यान गुमाएर, सयौं अंगभंग भएर लामो संघर्षपछि आएको प्रजातन्त्रको सम्झना कम गौरवमयी होइन ।

जनआन्दोलन २०४६ माथि लेखिएको एउटा तथ्यपरक किताब ‘काठमाडौ स्प्रिङ’सम्झन्छु । प्रत्यक्ष आन्दोलनमा सहभागी देशभरीका हजार जना नेपाली नागरिकहरुसँगको अन्तर्वार्ताबाट जापानी लेखक कियोको ओगुराले तयार पारेको यस किताब पढ्दा पत्तो लाग्छ हजारौं नेपालीहरुको संघर्षपूर्ण ईतिहासबाट जन्मिएको थियो प्रजातन्त्र । त्यस किताबले आन्दोलनको कथामात्र भन्दैन । किताबको पुछारका पानाहरुले गजबका तथ्य भन्छ- प्रजातन्त्रको स्थापनापछि आन्दोलनमा लागेका वा नलागेका को कहाँ पुगे ? तिनले कस्ताकस्ता अवसर र विलासिता पाए ?

कियोको ओगुराको किताब पढ्दामात्रै पनि थाहा लाग्छ प्रजातान्त्रिक आन्दोलन हजारौंहजार नेपाली नागरिकहरुको अत्यन्त्यै संघर्षपूर्ण र महान् योगदान थियो । तर, के त्यो प्रजातन्त्रबाट आम नागरिकहरु लाभान्वित भए ? स्रष्टा आन्दोलनमा समर्पितहरु मध्ये को को कहाँ पुगे ? केही स्रष्टाले सत्ताको तलुवा कसरी चाटे । केहीले सधैँ चाकडी गरिरहँदा पनि अझै अवसरको दाउ कुरिरहे । थोरै स्रष्टा इमान्दार भएर सत्तासँगको दूरीमा अडिग रहे । वा संयोगले ती सत्ताको जुठो भाग खानबाट बचे ।

  • पारिजातलाई पुलिसले पक्डियो ।
  • पारिजातलाई पुलिसले पक्डिएन ।
  • पारिजात त्यहाँबाट एकछिनमै हिंडिन् ।
  • पारिजात भरेसम्म त्यहीँ बसिरहिन् ।
  • म र उसलाई पुलिसले धेरै दुःख दिए ।
  • उसलाई त एकैछिनमा छोडिदिए । मलाई चाहिँ पुलिसले बढी दुःख दिए ।

उतिखेर म निक्कै सानो थिएँ । मेरा फुपु–काकाहरु प्रत्यक्ष आन्दोलनमा थिए । म सुन्थेँ उनीहरुले गाएको क्रान्किारी गीत । ज्यानको बाजी लाएर आन्दोलनमा हिँडेका मेरा फुपु–काकाहरुको जिन्दगी फेरिएन । मेरो गाउँको मने झाँगड, गुत्थी मुसहर वा टुरुवा बातरको दुःख गएन । जेठा राई, खड्का काकाकाकी, पराजुली वा पोखरेलको पनि जिन्दगी फेरिएन । मेरै आमाबाको जिन्दगी फेरिएन ।

चैत विशेष महिना भैदियो । यसले यस देशमा डकडाउन र कोरोना संकटमात्रै ल्याएन । ‘स्रष्टा चैत्र ३०’ पनि ल्यायो । कवि ठाकुर बेलबासेले फोन गर्‍यो । ‘स्रष्टा चैत्र ३० बारे एउटा लेख लेखि दे । एउटा साहित्यिक पत्रिका निस्कँदै छ ।’उक्त अमुक लेखको बारेमा उसको विशेष आग्रह थियो । तत्कालीन ज्ञानेन्द्र शासनको विरुद्ध २०६२ चैत्र ३० गते गुरुकुल पुरानो बानेश्वरमा घटित एउटा विशिष्ट आन्दोलनको कथा हरेक वर्ष फरकफरक मानिसले व्याख्या गर्दै थिए । करीब २ सय ५० स्रष्टाहरु सहभागी उक्त कार्यक्रमलाई हरेक व्यक्तिले आफ्नै दृष्टिकोणबाट हेर्ने भए ।’कवि बेलबासेले भन्यो–‘त्यस दिन जे भएको हो त्यही लेखि दे ।’ अचम्म, म को हुँ त्यत्रो घटनाको लिगेसी बोकेर हिँड्न सक्ने ? इतिहासको विडम्बना वा सौन्दर्य जे भने पनि यही रहेछ सायद । हरेकले आफ्नो किसिमले व्याख्या गर्ने । मैले लेख्ने पनि मलाई नै महान बनाएर हो । लेख्न सकिनँ । नलेखेकोमा ठाकुरलाई ‘सरी’ पनि भनिनँ ।

सिर्जना चैत्र ३ झैँ ३० पनि कतिका लागि राजनीतिक अभिप्रायको एउटा सिंढीजस्तो भयो । सत्ताको नजिक पुग्ने । आन्दोलनका फोटोहरुमा जजसका अनुहार देखिन्छन् तिनलाई सजिलो भयो सत्तासम्म पुग्न । पत्रिकामा नाम छापिएको छ भने पनि झनै उत्तम । त्यसपछि त मैले नै आन्दोलनको नेतृत्व गरेको थिएँ भनिदिए पनि पत्याउने भए । एक लेखकले केही वर्षअघि गरिमा पत्रिकाको जनआन्दोलन विशेषाङ्कमा लेखेको लेख सम्झन्छु । स्रष्टा आन्दोलन चैत्र ३० को गुरुकुल घटना यति चर्चामा आयो प्रगतिशील भनाउँदा कति लेखकहरु ओझेलमा परे । त्यही औडाहा र आक्रोशमात्रै उनले त्यस लेखमा पोखेकी छिन् ? लेखको मूल आशय छ–‘गुरुकुलको घटनाको किन यतिधेरै चर्चा भयो ? आन्दोलन गर्ने असली स्रष्टा त हामी हौं ।’ एकखाले ‘प्रगतिशील’ स्रष्टाहरुभित्रै कसको योगदान ठूलो भन्ने होडबाजी चल्यो, चलिरहेछ । निश्चित पद र स्वार्थका लागि यस्तो भयो, भइरहेछ ।

  • एकेडेमीमा जानको लागि
  • विश्वविद्यालयमा जानको लागि
  • विकास बोर्डमा जानको लागि
  • गोरखापत्र र राससमा जानको लागि
  • पुरस्कार र सम्मान थाप्नको लागि

यस्तो भएपछि सत्ता र राजनीतिक दलले स्रष्टाहरुलाई सधैँ प्रयोग गरिरहे । स्रष्टा भएर हैन पार्टीको प्रतिनिधित्व गरेर ती संस्थाहरु चलाउन पुगेका स्रष्टाहरु कला साहित्यको विकासका लागि भएनन् । नागरिकका लागि भएनन् । अहिले ती संस्थाहरुको हविगत हेर्नुहोस् । प्रिय मित्र ठाकुर त्यसैले तैँले अनुरोध गरेको लेख मैले लेख्न सकिनँ । तर, त्यस आन्दोलनसँग सम्बन्धित केही दृश्य मेरो मगजको स्मृति फोल्डरमा सेभ छ । पुरानो बानेश्वर चोकमा पुलिसको डण्डाले चुटिएका कलाकार देशभक्त खनालको घडी फुटेर ठ्याक्क १२ बजेर ३ मिनेटमा रोकिएको छ । गुरुकुलभित्र पुलिसले हानेको गोलीको खोका किरण मानन्धरको क्यानभासमा टाँसिएको छ । त्यही क्यानभासमा श्यामलको कविता छ । अँ साँच्ची ठाकुर, आन्दोलनमा गणतन्त्र जिन्दाबाद भन्दै चिच्याएको तेरो तस्विर अखबारहरुमा देखेँ । म त्यसैमा खुशी भएँ ।

आन्दोलन गज्जबको लाइसेन्स रहेछ सत्ताको स्वाद चाख्ने । स्वयं प्रधानमन्त्रीले दर्जनौपटक ‘१४ वर्षे जेल’को लाइसेन्स प्रयोग गर्नु भएकोछ । जब उहाँको कुर्सी धर्मराउँछ, उहाँले यही कार्ड प्रयोग गर्नु हुन्छ र टेलिभिजनमा दम्भ भरिएको अनुहार देखाएर भन्नुहुन्छ– म यही देशका लागि १४ वर्ष जेलमा बसें । कठोर यातना भोगें । के अब मैले त्यसको बदला १४ वर्ष शासन गर्न नपाउने ? नाथे जनताहरु हो, मेरो जेल जीवनबाट सिक र चुपचाप लकडाउनको पालन गर । घरबाट ननिस्क । म सत्ताभोगको रहरबाट नघाउन्जेल क्वारेन्टिनमा बस ।’

पटक पटक । धेरै पटक हजारौं जनताको संघर्षपूर्ण आन्दोलन र बलिदानीले आएको यस लोकतन्त्रमा संघर्षको हिसाबकिताब केवल सत्ता भोगीहरुले गर्छन् । यस्तो भएको कमसेकम ३० वर्ष भयो । जसरी पञ्‍चायतले यस मुलुकलाई ३० वर्षसम्म बेहाल बनायो ।

थिएटर लकडाउन भएको ठ्याक्कै एक महिना हुँदै थियो । शिल्पी थिएटरको स्थापना दिवस पनि त्यही दिन पर्‍यो । चौध वर्षअघि पहिलो लोकतन्त्र दिवसको अवसर पारेर ठूलो उत्साह र सपना बोकेर शिल्पी थिएटरको विधिवत उद्घाटन गरेका थियौं । रंगमञ्चबाटै पूरै देशलाई रुपान्तरण गर्छौ भन्ने कति ठूलो भ्रम थियो हाम्रो । कमसेकम मेरो । यी १४ वर्षमा कति भ्रम भत्किएर गए । नयाँ सपना कसरी पलाए ? एउटा घच्चीको लेख लेख्ने ईच्छा थियो । लोकतन्त्र र शिल्पीलाई जोडेर भयंकर ठूलो आदर्शवादी लेख पनि लेख्न सकिन्थ्यो ।

‘शिल्पीका १४ वर्षे गौरवशाली ईतिहास’ भनेर पनि लेख्न सकिन्थ्यो । ‘हाउ शिल्पी कन्ट्रिब्युटेड टु सोसियोपोलिटिकल चेन्ज इन नेपाल’ भनेर पनि ठोक्न सकिन्थ्यो । ‘हाउ शिल्पी क्रिएटेड अ न्यु हिस्ट्री इन नेपाली थिएटर’ भनेर हुँकार पनि गर्न सकिन्थ्यो । कुनै क्वालिटिका अखबारहरुले नछापे बर्गेल्ती अनलाइन पत्रिकाहरु मध्ये मेरा एक मित्रले त छापिदिन्थे नै । सिडियो कार्यालयमा संस्था दर्ता गराएर कामै नगरी हरेक वर्ष सरकारी बजेट हसुर्ने कति संस्था छन् यस देशमा । एकैपटक रजत र गोल्डेन जुब्ली मनाउने पनि संस्था छन् यहीँ । तर, आफ्नै कुरा गर्दाचाहिँ सन्तोषजनक कत्ति भएनछ । फर्की हेर्दा आफूले गरेको कामको महत्व फगत मृगतृष्णा जस्तो रहेछ । यत्रो वर्षमा कत्ति पनि पुगिएनछ । म आफैं कतै पुगेनछु । सम्झन्छु, सम्झनलायक केही छैन मसँग । फगत कामको रिपिटेसन गरिएछ । हजारौं वर्षदेखि मान्छेले भात खाएझैं खाइएछ ।

हरेक मानिसको पहिचान ३ किसिमको हुन्छ रे । उसले आफूलाई ठानेको, अरुले उसलाई मानेको र तेस्रो चाहिँ ऊ खासमा जस्तो छ त्यो । यो कसले भनेको हो ? बुद्धले ? दलाई लामाले ? गान्धीले ? ठ्याक्कै सम्झन्न । तर मैले कतै पढेको हुँ । विचारहरुको कपिराइट कसरी राख्ने मान्छेहरु माथि ? एकजना छन् यहाँ लेखक- संसारका धेरै व्यक्तिहरुको यस्तै विचार जोडेर किताब लेखिदिए । सबै विचार आफ्नै बनाएर । पुरस्कारै पाए प्रशस्त । माया एन्जेलोले उहिल्यै भनिन्–‘होप फर द बेस्ट, प्रिपेयर फर द वर्स्ड ।’अचेल यो भनाई आङसाङ सुकीको नामले प्रसिद्ध छ । बेन्जामिन डिस्राएलीले माया एन्जेलो जन्मिनु वर्षौअघि नै भनेका रहेछन्–‘आइ एम प्रिपेयर्ड फर द व्वर्स्ट बट होप फर द बेस्ट ।’ उनीभन्दा अघि पनि पक्कै कसैले यस्तै भनेको हुनु पर्छ । त्यसो भए के नयाँ सम्भव छ ? कसैले नसोचेको, कसैले नगरेको, कसैले नबाँचेको जीवन कसरी बाँच्ने ?

म प्रसंसा सुन्न चाहन्छु

म प्रसंसा मात्रै सुन्न चाहन्छु

म आफ्नो मात्रै प्रसंसा सुन्न चाहन्छु

मान्छेको चौथो अनुहार पनि हुन्छ भन्ने अहिले सोच्छु । भोली यस्तो नसोच्न सक्छु । म आफूलाई जे ठान्छु त्यसमा पनि म सन्तुष्ट छैन । र, म आफूलाई फरक देखाउने कोसिस गर्छु मानिसहरुका बीच । जनावर वा वस्तुहरुका बीच पनि । म सँधै प्रिटेन्ड गर्छु म आफैंले ठानेको भन्दा विशेष देखिन । बनाएर बोल्छु । आदर्शका भएनभएका कुराहरु जोडेर, संघर्ष र जीवनका विशेष कपोलकल्पित विशेष कथा बनाएर । त्यसबखत कस्तोखालको संघर्ष कथाको डिमाण्ड छ बजारमा म त्यस्तै भनिदिन्छु ।

‘बाल्यकालमा तपाईँ कस्तो हुनुहुन्थ्यो ?’

एउटा अन्तर्वार्तामा म चकचके थिएँ भनिदिन्छु । अर्को अन्तर्वार्तामा ज्ञानी थिएँ भनिदिन्छु । एउटा अन्तर्वार्तामा म ज्यादै दुःखले हुर्किएँ भनिदिन्छु । अर्को अन्तर्वार्तामा म जन्मिने बित्तिकै चित्र कोरेँ भनिदिन्छु । कहिले देवकोटासँग खसीको भुटन खाएको भनिदिन्छु । कहिले पारिजातसँग गाँजा तानेको भनिदिन्छु । अलिकति नारायण गोपाल जोड्छु । अलिकति नातिकाजी, अलिकति तारादेवी, बालकृष्ण सम, रिमाल, मास्के, लामिछाने, आइबी राई वा बल्लभ ।

‘ए प्रभावको कुरा ?’

बुद्ध, अब्राहम लिंकन, ब्रेख्त, कार्ल मार्क्स, गान्धी, आमा, बीपी, मदन भण्डारी । आफ्नै चौथो अनुहारको खोजी वा निर्माणको यात्रा निक्कै कष्टकर ठान्छु । तर, यही नै प्रिय छ किनभने यो अनुहार कस्तो हो थाहा छैन । म आफैंले आफूलाई कस्तो बनाउन खोजेको हो ठ्याक्कै थाहा छैन । वा मेरो वशको कुरा पनि हैन ।

यसपटकको लोकतन्त्र दिवस त बिति गयो । शिल्पी थिएटरका लागि खत्रा लेख लेख्न सकिएन । ६ वर्ष भएछ हातमा बोकेको 'बेस्ट अफ डि एच लरेन्स' पनि । पढि सकिएन । किताबहरुका रासमा शंकर लामिछाने हेर्छु । पढिसकेको उनको कथाहरु पनि सम्झना छैन ।

पढ्न कति बाँकी छ ।

पढेको जति बिर्सिसकिएछ ।

हेर्न कति बाँकी छ ।

हेरेको जति सम्झनामा छैन ।

सुन्न कति बाँकी छ ।

सुनेको जति याद छैन ।

मैले धेरैपटक आफूलाई अध्ययनशील र बौद्धिक देखाउन किताबहरुको चाङ अगाडि बसेर फोटो खिचेको छु । तर, मैले नपढेका ती दर्जनौं किताबहरुले मलाई सताउँछन् । किनेर त थुपारेको छु तर पल्टाएको छैन । मैले कार्ल मार्क्सको रातो किताब पढेको छैन । फिडेल क्यास्ट्रोको दुई फरकखालका बायोग्राफीको ठेली पल्टाएको छैन । नहेरेका ती एकसेएक फिल्मले पिरोल्छ । लेख्न नसकेका केही कथाका पात्रहरुले आक्रमण गर्छ ।

ब्रेख्तका मात्रै नाटक पढे पनि जिन्दगी जानेरहेछ । समका मात्रै कृति पढे पनि केही वर्ष बित्ने रहेछ । पिटर ह्यांकेका ३० वटा किताब मध्ये जम्मा एउटा बल्ल बढेंछु । ताना शर्माको 'बेलायततिर बराल्लिँदा' छिचोल्नै सकिनँ । अरु धेरै किताब १० पृष्ठबाट अघि बढ्नै सकिनँ । कुनै कुनै त १० सम्म पनि पुग्न सकिनँ । संसारका कति महान् लेखकको मलाई नाम मात्रै थाहा छ । संसारका कति महान् लेखकको मलाई नामसमेत थाहा छैन ।

संगीत, फिल्म, चित्रकला, फोटोग्राफी, साइन्स, मोनसान्टो, अल्ट्रा फेमिनिज्म, पोलिगामीका बारेमा बुझ्न बाँकी छ । बरु भोकै पेट होस्, यतिखेर नेपाल भारतको सिमानाको ऐतिहासिक डकुमेन्ट अध्ययन गर्नुछ । नत्र अराष्ट्रिय होइने डर छ । नियतिले कुनै दिन हरेक नागरिकलाई नेपाल-चीन सिमानाका ऐतिहासिक डकुमेन्ट अध्ययन गर्न बाध्य बनाउने छ । त्यसबाहेक विश्व कोरोना समाचार पनि हेर्नु नै छ ।

अचेल हरेक दिन टोलमा प्रहरीहरु साइरन बजाउँदै आउँछन् । पसलहरु खुल्ला छन् कि हेर्न आउँछन् । तर, कोही बिरामी छन् कि ? खान नपाएका छन् कि ? हिंसामा परेका छन् कि भनेर कोही सोध्न आउँदैनन् । पसल बन्द गर्न र हरेक नागरिकलाई घरघरमा थुन्न आइपुग्न भ्याउने स्रोत साधन रहेछ सरकारसँग । यही सरकार नागरिकको हालखबर बुझ्नचाहिँ किन आउन सक्दैन ? छक्क पर्छु । हरेक दिन प्रहरीले ‘कोरोना–माइकिङ’गर्छ । त्यस दिन पनि प्रहरीले ‘घरभित्रै बसौं’भनेर माइकिङ गर्दै हिँडेको एकैछिनपछि छिमेकमा रुवाबासी र झगडा सुनियो । बाहिर निस्किएर हेरेँ । लोग्नेले स्वास्नी भकुर्दै थियो । छिमेकी आएर छुट्याए । स्वास्नीचाहिँ रुँदै घरभित्र पसी । जाँडले टिल्ल लोग्ने फतफताउँदै बटारिएका २ थान खुट्टा लिएर टोलतिर हिँड्यो । एकैछिनमा स्वास्नीचाहिँ दुईवटा पोको बोकेर फतफताउँदै हिँडी ।

  • ‘कति सहनु ? अब म योसँग बस्न सक्दिनँ । अब पनि म योसँग बसें राती घाँटी थिचेर मार्छ ।’
  • ‘ए कहाँ जान लागेको साँझको बेला ? यी छोराछोरीको बिचल्नी हुन्छ ।’
  • ‘तेस्को पनि सन्तान हुन् नि । त्यसैले हेर्छ होला नि । मैले हेर्ने भए मलाई यसरी दुःख दिन्थ्यो ?’

उनीहरुका तीन छोराछोरी कतै खेल्न गएका थिए । बाउआमा दुईतिर बाँङ्गिएको एकछिनपछि तिनीहरु आइपुगे । सँधैझैं आमाबाउको झगडा उनीहरुले चाल पाइसकेका थिए सायद । निरिह हेरिरहे । हामीले पनि ट्वाल्ल ती केटाकेटीलाई हेरिरहृयौँ । झगडाको बारेमा टोलको कसैले नजिकैको प्रहरी चौकीमा खबर गरेछन् । कोरोना संकटको बेलामा हिंसा गर्नेलाई समाएर लान नसक्ने कुरा चौकीले जानकारी दिएछ । विराटचोक मोरङको विकाश राई र भोजपुरकी मञ्जु राई यही टोलमा डेरा गरेर बस्छन् । यी दुबै घर निर्माण मजदुर हुन् । लकडाउन उलंघन गर्ने मञ्जु राईलाई सायद सरकारले कारबाही गर्छ । गोलीसमेत हान्न आदेश दिने सरकारले के साँच्चै नागरिकको ज्यानको चिन्ता लिन्छ ? नत्र घरभित्रै बस्दा मञ्जु राईको ज्यानको जिम्म कसले लिन्छ ?

  • हातमा भारी बोक्ने नाम्लो बोकेका सुर्यबहादुर तामाङ किर्तिपुरको सडकमा मृत भेटिन्छन् ।
  • ‘उच्च जाती’की युवतीसँग प्रेम गरेको भन्दै रुकुम चौरजहारीका गाउँलेहरुले नवराज बिकलाई कुटेर मार्छन् ।
  • कोरोना भाइरसबाट ६८२ जना संक्रमित, ४ जनाको मृत्यु ।

(नोटः यस देशमा कोही पनि भोकमरीबाट मर्ने छैनन् । कोही त्यसरी मरेँ भन्छ भने त्यसको लासलाई भए पनि दण्ड दिनु । सोसल डिस्टेन्स मेन्टेन गर्ने बेलामा प्रेम गर्दै हिँड्नेलाई दण्ड दिनु हाम्रो राज्य व्यवस्थामा स्वाभाविक हो । हाम्रो शासन रहुन्जेल विशेष जाति, धर्म, वर्ग र पदको वर्चश्व रहन्छ । नेपालीहरुको रोगप्रतिरोध क्षमता बलियो भएको हुनाले कोराना भाइरसबाट मानिस मरेको भनेको समाचार मिथ्या हो । तर, विश्वस्वास्थ्य संगठनलाई सम्मान गर्दै यो आरोप स्विकारिएको हो ।)

शासकहरु जस्तै एउटा वर्ग छ सहरमा । र, गाउँमा पनि । जसलाई महिनौं लकडाउनले पनि केही असर गर्ने छैन । त्यो वर्गलाई देखेको हुँ मैले ७२ सालको भूकम्पमा अनि नाकाबन्दीमा । उनीहरुलाई ग्याँस, पेट्रोल, डिजेल र महंगा रक्सीको कहिल्यै अभाव भएन । आज पनि उनीहरुको बिलाशीता र सुखमा केही कमी आउनेछैन । लडकडाउनमा तिनले नै पाउनेछन् बाहिर निस्कने पास । र, खुल्ला सडकमा मस्ती गर्छन् । शासक र तिनका आसेपासेहरु पनि यसरी नै गुडेका छन् सडकमा । ती केही प्रतिशत मानिसहरुका लागि लकडाउन फगत एक बिलाशीता बनेको छ । बाँकी नागरिकहरु जेजस्तो होस् घरभित्रै बस । चाहे हिंसा होस्, बलात्कार होस् । या अन्य विरामी परोस् । लकडाउन एउटा उत्सव हो यो विक्षिप्त सत्ताको । भयंकर बिलाशीता हो शासकहरुको । र, प्रहसनमा माहिर शासक गौरवका साथ टेलिभिजनमा उही पुरानो दम्भी अनुहार देखाउँदै जनतालाई अर्डर दिन्छ–‘लकडाउन सेलिब्रेसन गर । लकडाउन सक्सेसको दिपावली गर ।’

पिउन छोडेको महिनौंपछि सरकारको दिपावली सम्मानमा म एकखिल्ली पाइलट चुरोट सल्काउँछु । र, चैत–बैशाखमा आइपरेका ती ऐतिहासिक दिनहरुको मृत्युको मलामी हिँडेकी राष्ट्रपति, प्रधानमन्त्री र तिनका आसेपासेहरुको सम्मानका खातिर त्यही चुरोटको धुवाँ आकाशमा फुङ उडाउँछु । एकदिन, लकडाउन नसक्किँदै, यिनै शासकहरुको सम्मानमा नाङ्‍गै हिँड्ने अवस्था आउला कि यही सहरमा । र, त्यसका लागि आफ्नै विक्षिप्तताको उत्सर्घ पर्खिरहेको छु । मलाई थाहा छ त्यसपछि फेरि शासकहरुले दिपावली गर्नेछन् समृद्धिको ।

प्रकाशित : जेष्ठ १३, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?