कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पामको विकल्प चिउरी

चिउरीको फलमा यस्तो गुण हुन्छ जसबाट संसारले खोजिरहेको पामको तेललाई शतप्रतिशत प्रतिस्थापन गर्न सक्छ । चिउरी नेपालका डाँडाकाँडामा सजिलै पाउन पनि सकिन्छ ।
प्रकाश अधिकारी

कसैले नेपाल कस्तो देश हो भनेर सोधेमा हाम्रो मुखमा आउने साझा उत्तर हो- कृषिप्रधान । ४०–५० वर्षपहिले नेपाल कृषिप्रधान नै थियो । अधिकांश नेपाली कृषि पेसामा संलग्न थिए । अहिलेको अवस्था फरक छ ।

पामको विकल्प चिउरी

कृषिप्रधान भनेर प्रमाणित गर्न त्यति सजिलो छैन, किनकि कृषिको बीउबिजनदेखि मलखादसम्म विदेशबाट आयात गरिन्छन् । नेपाल दुई–चार कृषि उत्पादनमा मात्र आत्मनिर्भर छ । बाँकी सबै विभिन्न देशबाट आयात गर्नुपर्ने बाध्यता लुकेको छैन । केही वर्षदेखि खाने तेलसम्बन्धी क्षेत्रमा खोज–अनुसन्धान गरिरहेकाले र त्यसबारे केही जानकारी भएकाले अहिले नेपालमा प्रयोग भैरहेका तेललाई लिएर थोरै चर्चा गर्न चाहन्छु ।

नेपालको तथ्यांक विभागका अनुसार, नेपालमा सन् २०१७ मा मात्र ४ करोड ५० लाख अमेरिकी डलर बराबरको ६८ हजार मेट्रिक टन पामको तेल आयात गरियो । ११ करोड ३० लाख अमेरिकी डलर बराबरको १ लाख ३५ हजार मेट्रिक टन भटमासको कच्चा तेल र ५ करोड ७० लाख अमेरिकी डलरको ६४ हजार मेट्रिक टन सूर्यमुखी फूलको तेल आयात भयो । सोही समयमा नेपालले ६ करोड अमेरिकी डलर बराबरको ७५ हजार मेट्रिक टन पामको कच्चा र प्रशोधित तेल मलेसिया र इन्डोनेसियाबाट आयात रेको छ । हुन त सन् २०१८ मा भटमासको कच्चा तेल आयात घटेर १ लाख ४३ हजार मेट्रिक टन र २०१९ मा ६६ हजार मेट्रिक टन भएको देखिन्छ ।

के–कति कारणले दुई वर्षबीच आधाभन्दा बढीले भटमासको कच्चा तेलको आयात घट्यो र त्यसलाई कुन तेलले प्रतिस्थापन गर्‍यो, अध्ययनको विषय छ ।

नेपालमा उत्पादन बढेर वा नेपाली नागरिकले तेल कम खानुपर्छ भन्ने ज्ञान बढाएर आयात घटेको नहुन सक्छ । सन् २०१७ देखि २०१९ सम्म पाम र सूर्यमुखी तेलको आयात केही मात्रामा बढेको तथ्यांकले देखाउँछ तर त्यसले भटमासको घटेको तेलको पूर्ति गर्न सक्ने देखिँदैन ।

त्यसो भए नेपालमा खाने तेलको आयात घटाउन के गर्नुपर्ला ?

अहिले नेपालमा प्रयोग भैरहेका खाने तेलहरूमा सबैभन्दा गाह्रो बेकरी र कन्फेक्सनरी (चकलेट) मा प्रयोग गरिने तेललाई प्रतिस्थापन गर्नु हो । ती वस्तु बनाउन केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । मुखमा राख्दा बिल्ने, हातले छुँदा मुलायम हुने र लचकताजस्ता गुणहरूले तेलमा भएको ठोस फ्याट तत्त्व निर्धारण गर्छ ।

पामको तेललाई विभिन्न किसिमले रूपान्तरण गरेमा एकदम कडा, कम कडा, तरल र एकदमै तरल बनाउन सकिन्छ । हेर्दा उस्तै लागे पनि प्रत्येक तेलको अम्लीय फ्याटी एसिड र ट्राइएसिलग्लिसेरोल बनावट फरक हुन्छ । सोही फरकपनले नै पग्लने र जम्ने प्रक्रियालाई फरक बनाउँछ । सबै संरचनामा बन्ने गुणले गर्दा पामको तेल संसारभरि लोकप्रिय भएको हो । मलेसिया र इन्डोनेसियाको कुल गार्हस्थ्य उत्पादनमा पामको तेलले मात्र झन्डै ३ प्रतिशत योगदान दिएको छ ।

समयको विकास र प्रविधिले गर्दा नेपाललाई पनि पामको तेल अति आवश्यक छ । नेपालमा उत्पादन नहुने भए पनि पामको आयातलाई कम गर्ने अवसर प्रचुर छ । आयात कम गर्ने मात्र होइन, नेपालले पाँच–दस वर्षमै निर्यात पनि गर्न सक्छ ।

नेपालको भौगोलिक बनावटअनुसार अधिकांश भागमा चिउरी उत्पादन हुन सक्छ । गेडा जता फालिदियो त्यतै उम्रन्छ र छोटो समयमै फल्न थाल्छ ।

चिउरीको फलमा यस्तो गुण हुन्छ जसबाट संसारले खोजिरहेको पामको तेललाई शतप्रतिशत प्रतिस्थापन गर्न सक्छ । नेपालका डाँडाकाँडामा सजिलै पाउन सकिने वनस्पति हो चिउरी ।

पामको तेलमा पाइने रसायन संरचना फ्याट्टी एसिड चिउरीको गेडामा पाउन सकिन्छ । जस्तै— पाल्मेटिक पाममा ४४ र चिउरीमा ५० प्रतिशत, स्टेरिक दुवैमा ४ प्रतिशत हुन्छ । ओलेइक पाममा ४० र चिउरीमा ३६ प्रतिशत हुन्छ भने लिनोइक पाममा ९ र चिउरीमा ७ प्रतिशत । अर्थात्, पाममा पाइने सबै रसायन संरचना चिउरीमा पनि पाइन्छ ।

नेपालका डाँडाकाँडामा फल्ने चिउरीको व्यावसायिक खेती गर्ने हो भने पाम मात्र नभई अन्य धेरै खाद्य तेलको आयात कम गर्न सकिन्छ । अहिले युरोपतिर विभिन्न कारणले पाम बहिष्कारको अभियान चलेको छ । विभिन्न प्रक्रियाद्वारा पामलाई प्रतिस्थापन गर्न विकल्पको पनि खोजी भइरहेको छ । अन्य तेलका तुलनामा क्यान्सरजन्य ‘कार्सिनोजेनिक’ तत्त्व एकदमै कम वा नगण्य हुने चिउरीको तेलले व्यापकता पाउन धेरै समय लाग्दैन । अहिले मलेसिया र भारतबीच विषम परिस्थिति उत्पन भएकाले नेपालले भारतलाई चिउरी आपूर्ति गर्न सक्छ र भारतलाई पनि सजिलो हुन्छ ।

वेबसाइटका अनुसार, भारतले बर्सेनि ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको १० लाख मेट्रिक टन पामको तेल आयात गर्छ । यो संसारमा आयात गरिने पामको तेलको १७ प्रतिशतभन्दा बढी हो । चीनले ११ प्रतिशत अर्थात् ३ अर्ब ४० करोड अमेरिकी डलरको पाम आयात गर्छ भने पाकिस्तानले ६ प्रतिशतभन्दा बढी अर्थात् १ अर्ब ९० करोड अमेरिकी डलरको । नेपालका दुवै छिमेकीले यति धेरै माग गरेको पाम तेलको सट्टा चिउरी उत्पादन गर्दा बजार खोज्न नेपाल कतै जानुपर्दैन ।

अहिले नेपालमा चिउरीको दाना ४० देखि ५० हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ । उत्पादन बढाउन वन उपभोक्ता समितिमार्फत चिउरीलाई डाँडाकाँडामा लगाउन सकिन्छ । चिउरी खेतीमा सरकार वा सम्बन्धित निकायले रकम विनियोजन गर्न आवश्यक छ । युवापुस्ता वैदेशिक रोजगारीमा होमिएकाले नेपालका जमिन बाँझै छन् । बाँझा जमिनमा व्यापक रूपमा मकैको खेती गर्न सकिन्छ ।

स्वास्थ्यका लागि मकैको तेल राम्रो मानिन्छ । अहिले भइरहेका वा चिउरी प्रशोधनका लागि आधुनिक प्लान्ट राख्नका लागि सरकारले ऋण सहज गर्नुपर्छ र प्लान्ट आयातका लागि करमा सहुलियत दिनुपर्छ ।

सरकारी सहुलियतमा खुलेका त्यस्ता प्लान्टले किसानबाट सरकारले तोकेको मूल्यमा चिउरीका दाना किन्नुपर्ने सर्त राख्ता किसानको हित हुन्छ । आधुनिक प्लान्टमा चिउरी मात्र नभएर अरू तेल (मकै, भटमास, तोरी) पनि प्रशोधन गर्न सकिन्छ ।

अर्को महत्त्वपूर्ण पाटो, चिउरीको बिरुवाको गहिरो अध्ययन गरी त्यसलाई छोटो समयमै बढी फल दिने बनाउनुपर्छ । सानो रूखमा धेरै दाना र रोपेको दुई–तीन वर्षमै फल्ने बनाएमा लगानी सुरक्षित हुन्छ ।

यस्तो अनुसन्धानका लागि कृषि विश्वविद्यालय अथवा कृषि अनुसन्धान परिषद् लगायतका निकायले सक्रिय काम गर्न आवश्यक छ । भलै अनुसन्धानमा चार–पाँच वर्ष लाग्न सक्छ । स्मरण रहोस्, मलेसियाले धेरै वर्ष लगाएर पामको अनुसन्धान गरेको हो र अहिले पनि गरिरहेको छ । सरकारी तथा निजी क्षेत्रको सक्रियतामा काम थाल्ने हो भने नेपालले पाँचदेखि दस वर्षमै पामको तेललाई प्रतिस्थापन गर्ने चिउरीको तेलको उत्पादन गर्न सक्छ । इमानदारीपूर्वक काम भएमा राष्ट्रिय आय बढाउने, किसानलाई स्वरोजगार बनाउने र विदेशी मुद्रा जुटाउने स्रोत बन्न सक्छ चिउरी ।

खाने तेलसम्बन्धी वैज्ञानिक अधिकारी हाल मलेसियास्थित मेवा कम्पनीको अनुसन्धान विभाग प्रमुख छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?