२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गणतान्त्रिक रोयल क्लब

‘जसरी पञ्चायतकालमा भूमिगत गिरोहले सरकार चलाउँथ्यो, अहिले हामी त्यही मोडलमा काम गरिरहेका छौं । के बुझ्नुभो ?’
शरच्चन्द्र वस्ती

हुइँकिएर आइरहेको कार घ्याच्च रोकियो । कालो चश्मा लगाएको एउटा ठिटो कारबाट ओर्लियो र नमस्कार गरेर ‘दाइ, यो हजूरलाई’ भन्दै एउटा बन्द खाम मेरो हातमा राखिदियो । मैले केही भन्नुभन्दा अघि नै ऊ कार चढेर हुइँकिसकेको थियो । 

गणतान्त्रिक रोयल क्लब

बिहान आठ बजेको हुँदो हो । म तर्कारी किन्न घरबाहिर निस्केको थिएँ । कोरोनाबाट जोगिन मुखमा मास्क, आँखामा चश्मा, हातमा पन्जा लगाएको । उसलाई चिन्दिनथें । छक्क परें, उसले मलाई कसरी चिन्यो ? को भन्ठान्यो ? के होला यो खामभित्र ?

घर आएर खाम खोलें । तीन पानाको २१ बुँदे दस्तावेज रहेछ । शीर्षक थियो— नीति तथा कार्यक्रम (कार्यकारी) । कार्यकारी शब्दले मेरो उत्सुकता बढायो र हतारहतार पूरै पढें । बडो धारिलो, स्पष्ट र किञ्चित् झस्काउने खालको । पुछारमा सात जनाको हस्ताक्षर थियो र लेखिएको थियो— ‘गणतान्त्रिक रोयल क्लब’ । साथै एउटा फोन नम्बर पनि ।

फोन गर्दा थाहा भयो, अर्कैलाई दिन पठाइएको जिनिस झुक्किएर मेरो हातमा परेको रहेछ । ‘नीति तथा कार्यक्रम त सरकारको पो हुन्छ, जुन भर्खरै आइसकेको छ, फेरि यो के गरेको ?’ भन्ने मेरो प्रश्नमा उताबाट जवाफ आयो, ‘जसरी पञ्चायतकालमा भूमिगत गिरोहले सरकार चलाउँथ्यो, अहिले हामी त्यही मोडलमा काम गरिरहेका छौं । सरकारको दस्तावेज आलंकारिक हो, हाम्रो कार्यकारी । त्यो हात्तीको देखाउने दाँत हो, यो खाने दाँत । के बुझ्नुभो ?’

‘गफ नदेऊ भाइ’ मैले अनपत्यार व्यक्त गरें, ‘भूमिगत गिरोह त पञ्चायतमा राजाका भाइ-भारदारहरूले चलाउँथे । पञ्चायत समाप्त पारेर प्रजातन्त्र र प्रजातन्त्र पनि समाप्त पारेर गणतन्त्र आइसकेको छ । आज पनि कहीं यस्तो हुन्छ ?’ उसले भन्यो, ‘त्यही भएर त हाम्रो समूहलाई भूमिगत गिरोह नभनेर गणतान्त्रिक रोयल क्लब भनेको । हामी सात भाइ पनि त गणतान्त्रिक महाराजका साक्खै भाइ-भारदारका सुपुत्र र महारानीका ज्वाइँराजा हौं नि !’

जोशैजोशमा उसले सातै भाइका महामहिम पिताश्रीहरू र सासूश्रीको समेत नाम भन्यो । यस्ता नाम, जसलाई सुन्दा मलाई नजीकै राष्ट्रिय गान बज्न थालेको अनुभूति भयो । ऊ फुर्तीसाथ भन्दैगयो, ‘राजनीति र चानचुने कुरासँग मतलब छैन, तर ठूलठूला काम हामीसँग सेटिङ नमिलाई सम्भव छैन । फाइव स्टार होटल र रिसोर्टमा हुने मीटिङमा हामीले जे निर्णय गर्छौं, क्याबिनेटले त्यही पारित गर्छ । के बुझ्नुभो ?’

‘गफ दिनुको पनि हद हुन्छ भाइ’ मैले उसलाई रोकें । अनि सोधें, ‘साँच्चै भन त, तिमीहरूले के गर्न खोज्या हो ? कमेडी क्लब भनेजस्तै रोयल क्लब नामको कुनै हास्य कार्यक्रम टेलिभिजनमा शुरू गर्न लाग्या हो ?’ ऊ रिसायो, ‘तपाईंले के ठान्या हामीलाई ? हेर्दै जानुहोला, के हुन्छ ? अब फोन राख्नोस् । फेरि फोन नगर्नुहोला ।’ र, फोन काटियो ।

मेरो दिमाग रन्थनियो । के पत्याऊँ के नपत्याऊँ, निर्णय गर्न सकिनँ । पत्याऊँ- पत्याइनसक्नु छ, नपत्याऊँ- दस्तावेज आफ्नो हातमा छ । फेरि सोचें, यो तनाव मैले किन बोक्नु, समयले सबै कुराको जवाफ दिइहाल्छ । यही रनाहाका बीच तपाईं समक्ष प्रस्तुत गर्दैछु, ‘गणतान्त्रिक रोयल क्लब’ को उक्त २१ बुँदे कार्यकारी नीति तथा कार्यक्रम :

१. रोग र मृत्युबाट बचेका सम्पूर्ण जनता सरकारको अथक प्रयासका कारण स्वस्थ र जीवित रहेका हुन् भन्ने तथ्य सबैलाई आत्मसात् गराइनेछ र यस्तो प्रयास निरन्तर जारी रहनेछ ।

२. जन्मेपछि मृत्यु हुनु प्रकृतिको नियम भएकाले कोरोना लगायत महामारी वा रोगहरूबाट हुने मृत्युलाई स्वाभाविक मानिनेछ र त्यसमा विघ्न पुर्‍याउने अनावश्यक प्रयास गरिनेछैन ।

३. लकडाउनलाई यथासम्भव लम्ब्याइनेछ र यसलाई जनता घरबाहिर निस्कँदा गर्न नमिल्ने र गर्न नसकिने कामहरू फत्ते गर्ने अवसरका रूपमा उपयोग गरिनेछ ।

४. कुनै पनि किसिमको खरीद, ठेक्कापट्टा, आयात-निर्यात, आयोजना वा निर्माणलाई त्यसबाट प्राप्त हुने अधिकतम कमीशन सुनिश्चित गरेर मात्र स्वीकृति प्रदान गरिनेछ । यो मूल नीति हुनेछ र कार्यकारी नीति तथा कार्यक्रमका सबै बुँदा यसबाट निर्देशित हुनेछन् ।

५. यसरी प्राप्त गरिने लाभको मात्रामा चामत्कारिक अभिवृद्धि गर्न इस्टिमेट दोब्बर बनाउने, लागत तीन गुणा बढाउने, भुक्तानी चार गुणा बढी गर्ने लगायतका क्रान्तिकारी उपाय अवलम्बन गरिनेछ । यस्ता सम्पूर्ण कार्यलाई कानूनी उन्मुक्ति दिलाउन मन्त्रिपरिषद्बाट निर्णय गराइनेछ ।

६. सरकारको मेरुदण्डका रूपमा रहेका तस्कर, ठेकेदार, भूमाफिया, जलमाफिया, कमीशन एजेन्ट, कालाबजारिया, शिक्षा-स्वास्थ्य माफिया लगायतको व्यवसाय निर्वाध रूपमा अघि बढाउन उनीहरूको सल्लाह एवं निर्देशन बमोजिम कानूनहरू संशोधन गरिनेछ ।

७. विकासको गति तीव्रतर बनाउन ट्रक, ट्रिपर आदिको गति तीव्रतम बनाइनेछ र तिनले मान्छे किचेमा किचिनेकै दोष ठहरिने कानूनी व्यवस्था गरिनेछ ।

८. लकडाउनका कारण बेरोजगार हुन पुगेका हाम्रा अभिन्न मित्रशक्ति चोर, पाकेटमार तथा तीनै लिंगका यौन व्यवसायीका लागि विशेष राहत प्याकेजको व्यवस्था गरिनेछ ।

९. प्र्रहरीलाई सीमा-सुरक्षामा खटाई टोल र वडाको शान्ति-सुरक्षाको जिम्मेदारी, आफ्नो खर्च आफैं उठाउन पाउने अधिकारका साथ, स्थानीय गुण्डा र डनहरूलाई प्रदान गरिनेछ ।

१०. राजनीतिक नियुक्तिमा गुटगत निकटता, व्यक्तिगत वफादारी र नियम मिचेर निर्णय गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइनेछ भने निजामती र अन्य सेवाका आकर्षक पदहरूमा नियुक्ति तथा सरुवा-बढुवा बोलकबोलका माध्यमबाट गरिनेछ ।

११. भ्रष्टाचार नियन्त्रणलाई निरपेक्ष रूपमा अघि बढाउँदा ९५ प्रतिशत राजनीतिज्ञ र कर्मचारी जेल परी राज्यव्यवस्था संकटमा पर्ने र मुलुकको बदनामी हुने देखिएकाले एक लाख रुपैयाँ भन्दा माथिको भ्रष्टाचारलाई कारवाहीको दायराबाट मुक्त राखिनेछ । अख्तियार लगायतका निकायलाई यसभन्दा मुनिको भ्रष्टाचारमा कारवाही गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिनेछ । कुनै पनि कार्यालय, योजना, निर्माण आदिमा यस प्रकारको भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाई देशलाई भ्रष्टाचारमुक्त घोषणा गरिनेछ ।

१२. सामाजिक सुरक्षा कोष, सञ्चय कोष आदि कोषहरू र नाफामा रहेका सरकारी संस्थान तथा कम्पनीहरूमा सञ्चित रकम खिची ठूलो ठेक्कापट्टामा प्रवाहित गर्ने बाटो खोलिनेछ ।

१३. पार्टीका समर्थक तथा सक्रिय कार्यकर्तालाई भूमि आयोग मार्फत सरकारी जग्गा उपलब्ध गराउनुका साथै ‘विना धितो विना योजना कर्जा कार्यक्रम’ सञ्चालन गरी जनही एक करोड रुपैयाँका दरले पछि फिर्ता गर्नु नपर्ने ऋण उपलब्ध गराइनेछ ।

१४. बेरोजगार युवाहरूलाई पार्टीप्रति आकर्षित गराउन प्रधानमन्त्री रोजगार योजना अन्तर्गत आँगनको घाँस उखेल्ने, घरको झ्यालढोका पुछ्ने, नङ काट्ने, जुम्रा मार्ने र कपाल कोर्नेमध्ये कुनै एक क्षेत्रमा आकर्षक रोजगारी प्रदान गरिनेछ ।

१५. फजूल खर्च नियन्त्रण गर्न शिक्षा, स्वास्थ्य, समाजकल्याण जस्ता अनुत्पादक क्षेत्रलाई ठेकेदारी व्यवस्था अन्तर्गत निजी क्षेत्रको जिम्मा लगाइनेछ र तिनलाई उच्च नाफामूलक व्यवसायमा रूपान्तरित गरिनेछ ।

१६. शिक्षामा पूर्ण उदारीकरणको नीति अपनाउँदै ‘भर्ना हुनोस्, प्रमाणपत्र लिनोस्’ नारा तय गरी पूर्व प्राथमिकदेखि पीएचडी तहसम्मका सबैलाई भर्ना भएको रसीदका आधारमा एकद्वार प्रणालीबाट प्रमाणपत्र उपलब्ध गराइनेछ ।

१७. खाद्यान्न, फलफूल तथा तर्कारीको स्वदेशी उत्पादनबाट वाञ्छित कमीशन प्राप्त नहुने देखिएकाले कृषि क्षेत्रलाई भगवान श्री पशुपतिनाथको जिम्मामा छोडी उक्त वस्तुहरूको आपूर्ति निर्यातका माध्यमबाट गरिनेछ ।

१८. उच्चपदस्थ व्यक्तिको सम्पत्ति, यौन सम्बन्ध, अदृश्य लेनदेन, अपराधीसँगको उठबस आदिलाई निजी जीवनको अंग मानिनेछ र त्यसबारे सार्वजनिक रूपमा चर्चा गर्न रोक लगाइनेछ ।

१९. राजनीतिक स्थिरता र सुशासनका लागि निजी क्षेत्रका सञ्चार माध्यमलाई यथासम्भव दुरुत्साहित गरी फेसबुक, ट्विटर र युट्युबको पत्रकारितालाई अघि बढाइनेछ । वाञ्छनीय सूचनाको सम्प्रेषण र अवाञ्छनीय सूचनाको प्रतिरोधका लागि शक्तिसम्पन्न ‘अरिंगाल ब्रिगेड’ को व्यवस्था गरिनेछ ।

२०. सरकारलाई असजिलो नपर्ने गरी स्वस्थ आलोचना र रचनात्मक विरोध गर्न सबैलाई छूट दिई लोकतन्त्रको सौन्दर्य सुरक्षित राखिनेछ । यस्तो सीमा अतिक्रमण गर्नेलाई सम्पत्ति शुद्धीकरण लगायतका संयन्त्र प्रयोग गरी तह लगाइनेछ ।

२१. कार्यालयका प्रत्येक भित्ता, सडकका प्रत्येक मोड, बिजुलीका प्रत्येक खम्बा र सम्पूर्ण सार्वजनिक स्थलहरूमा हाँस्दै गरेका नेपालीको तस्वीर टाँगी ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य साकार पारिनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?