काजी दाइका ती कविता

युगकवि सिद्धिचरण श्रेष्ठले विसं १९९५ मा रचना गरेका थिए- ‘चम्क युवक चम्क न चम्क ।’ परिवर्तनका संवाहक युवालाई सम्बोधन गरिएको त्यो प्रख्यात कविता मभन्दा १ वर्ष जेठो थियो ।
वैरागी काइँला

युगकवि सिद्धिचरण श्रेष्ठ (१९६९-२०४९) आफ्नो मातृभाषा नेपाल (नेवार) तथा मुलुकको सम्पर्क अर्थात् राष्ट्रको भाषा नेपालीमा समान रूपमा कलम चलाउने अत्यन्त लोकप्रिय कवि हुन् ।

नेपाली साहित्यको शैशवकालमा यसलाई मलजल गर्दै हुर्काउने, बढाउने, फलाउने र फुलाउने सद्कार्यमा सिद्धिचरणका समकालीन अन्य साहित्यकारहरूमा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु, धरणीधर कोइराला, केदारमान व्यथित तथा अन्य साहित्यकार मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गोविन्दबहादुर गोठाले, विजय मल्ल, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्रहरूका योगदान पनि उत्तिकै महत्त्वको र ऐतिहासिक छ । तर पनि अरू साहित्यकारका भन्दा भिन्न विशेषता बोकेको उनका साहित्यिक सृजनाहरूको व्यक्तित्व र विशिष्टता नै अर्को र अलग भएको नेपाली साहित्यका समालोचकहरूको ठम्याइ छ ।

सबैले प्रेम, स्नेह र आदरपूर्वक ‘कविजी’ अथवा ‘काजीदाइ’ भनेर सम्बोधन गरिने सरस्वतीका वरद्पुत्र युगकवि तथा कविरत्न सिद्धिचरण श्रेष्ठले प्रकृतिप्रेम र राष्ट्रभक्तिका कविता प्रशस्त लेखे । सौन्दर्यको चेत र अनुभूतिको प्रगाढताले कविता रचना गर्ने उनलाई प्रकृतिको सशक्त कवि मानियो । भाषाको कोमलता, भावको सजीवता, लय र छन्दको तालमेल र कल्पनाको जीवन्तताले भरिपूर्ण छन् उनका कविताहरू । ती रचना जिउँदो यथार्थका मूर्तरूप भई पाठकका मानस र चाक्षुस दृश्यपटलमा नाच्छन् ।

उनका कविताहरू समाजका, दैनिक मानवीय जीवनका ससाना घटनाहरूमाथि आधारित भएर लेखिएका भए पनि जीवन र जगत्को रहस्य खोतली निकाल्ने, जीवन र जगत्प्रतिको काव्यिक चिन्तन-मनन नै हो भनेर समीक्षक, समालोचक र पाठकहरू मान्छन् । यति भनेर मात्र उनको कवि व्यक्तित्वको सबै पाटाहरू पूर्ण रूपमा स्पष्ट देखा पर्दैनन् । उनको कवि व्यक्तित्वको अन्य प्रखर र उज्ज्वल तथा प्रभावकारी पाटो अरू पनि छन् ।

युगकविका रूपमा कविवर सिद्धिचरण

समालोचकहरू भन्छन् कि स्वच्छन्दतावादी काव्यधारा उनको काव्यको मूलधार हो । प्रकृति प्रेमका अनुपम कवि युगकवि श्रेष्ठलाई स्वच्छन्दतावादी काव्यधाराको अग्रणी मात्र होइन, सूत्रधार कविका रूपमा मानिन्छ ।

के पनि मानिन्छ भने स्वच्छन्दतावादी धाराले साहित्यमा सत्य र सुन्दर, प्रकृति प्रेम, देशभक्ति, क्रान्ति र परिवर्तनलाई जोड दिइरहेको हुन्छ । नेपाली काव्य धारालाई दशकौंसम्म प्रभावित गरिराख्ने त स्वच्छन्दतावादी काव्य धारा नै हो । तत्कालीन नेपाली साहित्यको चित्रफलक यस्तै देखिन्छ । नेपाली साहित्यको यो चित्रफलकलाई टड्कारो रूपमा अघि ल्याउने काम युगकवि सिद्धिचरण श्रेष्ठकै थियो ।

सामाजिक यथार्थप्रति सचेत र संवेदनशील र युगको आवाज मुखरित गर्ने निर्भीक स्वप्नद्रष्टा कवि थिए उनी । समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, भेदभावका विरुद्ध आवाज बुलन्द गर्ने, कुण्ठित नागरिक हक र मानवअधिकारको पक्षमा लेख्ने उनको निर्भय कलम, मुक्ति र स्वतन्त्रता र समानताको पक्षमा उभिने उनीभित्रको निडर कवि, निरंकुश शासनको विपक्षमा क्रान्तिको विगुल फुक्ने प्रगतिवादी मानवतावादी र क्रान्तिकारी कविलाई स्वस्फूर्त रूपमा सबै नेपालीले ‘युगकवि’ माने आरम्भदेखि नै । युगको चेतना अत्यन्त संवेदनशीलताका साथ कवितामा सफलतापूर्वक व्यक्त गर्ने कविलाई युगकवि भनिन्छ । क्रान्ति र परिवर्तनका पक्षधर युगकविले नेपाली भाषा र मातृभाषामा पनि प्रशस्त लेखेका छन् । नेवारी भाषा-साहित्यमा त उनलाई अझ ‘कविरत्न’ कै उपाधिले विभूषित गरिएको छ ।

२००७ सालको जनक्रान्तिअघिको नेपालमा राणाहरूको जहानियाँ शासनकालमा युवा क्रान्तिकारीहरू उनका क्रान्तिकारी विचारले भरिएका कवितालाई प्रेरणाको स्रोत मान्थे । नेपालमा जागरित क्रान्ति चेतको इतिहासको प्रसंगमा कुरा गर्दा सर्वमान्य नेता तथा ०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहले युगकविको कवि व्यक्तित्व, उनको राजनीतिक चेत र प्रतिबद्धताबाट आफू प्रभावित भएको बताएका थिए ।

कविवर व्यथित सिद्धिचरण श्रेष्ठलाई भेटेको सम्झँदै लेखेका छन्, ‘राणाहरूको निरंकुश जहानियाँ राज्यसत्ताको विरोधमा लेखेका कारण जेल परेका सिद्धिचरण श्रेष्ठलाई म पनि उस्तै आरोपमा जेल पर्दा भेटेको थिएँ । उनी क्रान्तिकारी र प्रगतिवादी कवि त थिए नै, तर त्यसमाथि पनि उनी त सच्चा अर्थमा मानवतावादी थिए ।’ जन्मजात कवि सिद्धिचरण श्रेष्ठ शृंगारपटार गर्नै नपर्ने गाउँकी प्रकृति बालाजस्तै थिए भन्ने कवि व्यथितको भनाइले युगकविको कवि व्यक्तित्वको अर्को सुन्दर पाटो खोल्छ ।

उनका क्रान्तिकारी साहित्यिक सृजना राणाशाहीविरोधी क्रान्तिकारीका लागि सधैं प्रेरणाको स्रोत हुन्थ्यो । सामन्ती व्यवस्था र जहानियाँ निरंकुशतन्त्रलाई जरैदेखि निर्मूल गरेर प्रजातन्त्र स्थापित गर्न र सहज जीवनयापनका लागि समाज तथा मुलुकमा शान्ति स्थापना गर्नका लागि जनक्रान्ति नै पूवसर्त हो भन्ने मान्यता लिएका कविले मातृभाषा नेवारीमा लेखेका अमर कविताको यौटा पंक्ति छ, ‘क्रान्ति बिना थन शान्ति दाय मखु’ अर्थात् ‘क्रान्तिबिना यहाँ शान्ति हुँदैन ।’

दीनदु:खीका पक्षमा कलम चलाउने उनले सुरुदेखि नै सामन्तवादमाथि निर्मित जहानियाँ राणाशासनको अन्तका लागि मात्र नभएर भाषिक, सांस्कृतिक र सामाजिक विभेद, राजीतिक र आर्थिक असमानताका विरुद्ध कलम चलाउँदै अरूलाई पनि यस दिशामा उत्प्रेरित गरे । यसै कारणले कविवर सिद्धिचरण श्रेष्ठलाई, जसले आफूले बाँचिरहेको समयको चेतना, युगको बोध र समसामयिक स्वरलाई ठूलो आवाजमा बुलन्दीमा उचालेर सबैले मनैदेखि नै युगकवि भनेर स्वीकार गरेका थिए आरम्भदेखि नै ।

यस सन्दर्भमा चर्चा गर्दा उनको आफ्नै मातृभाषामा लेखिएको प्रसिद्ध कविता ‘झीगु न पा: वइतिनी’ (हाम्रो पनि पालो आउँछ) को सम्झना हुन्छ । यस कविताका माध्यमबाट युगकविले शासन गर्ने अधिकार निधारमा लेखिएरै जन्मनुपर्छ, धनी गरिब हुनु त प्रारब्ध नै हो, सुखी हुनु दु:खी हुनु भावीले नै लेखिदिन्छ भनेर भाग्यवादी जालोभित्र अशिक्षित, निरक्षर र गरिब निमुखा जनतालाई पुस्ता दरपुस्ता शासन गर्ने विधिको विधान सृजना गरेको भ्रमलाई चुनौती दिएका छन्-

युगौंदेखि पददलित, शोषित, पीडित जनताको पनि

एक दिन पालो आउँछ

त्यस दिन,

राजधानीमा तारिख खेप्न आउने मधेसिनीहरू

पहाडबाट भारी बोकेर झर्ने शेर्पिनीहरू,

राजधानीमा हाकुपटासी लाएर खेतमा काम गर्ने ज्यापुनीहरू

जुन दिन एकै घरमा बुहारी बन्नेछन्...

समाजमा विद्यमान शोषण तथा अत्याचारका साथै दमन र अन्यायका विरुद्ध टड्कालो स्वर तथा उच्च आवाज नै उनको कवित्व हो । उनका कवितामा पाइने यस्ता विद्रोही स्वरले नयाँ सामाजिक व्यवस्था स्थापनाका लागि आस्था प्रस्ट पार्छ । अर्को शब्दमा थोत्रा मान्यतामा अडिएको निरंकुश शासनपद्धतिको उन्मूलन उनको लेखनको मूल ध्येय थियो । कालजयी उनका काव्यकृतिहरू आजको समय सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक हुनुले स्वस्फूर्त रूपमा आमनेपालीले उनलाई प्रदान गरेको युगकवित्वको मर्यादाको सार्थकता पुष्टि गर्छ ।

युवामा निहित शक्ति, जोस, जाँगर, साहस, निडरता, विद्रोही स्वभाव र क्रान्तिकारिताको ठूलो महत्त्व हुन्छ भनेर बुझेका युगकविले आफू मात्र २६ वर्षको लक्का जवान हुँदा विसं १९९५ सालमा रचना गरेका थिए, ‘चम्क युवक चम्क न चम्क ।’ परिवर्तनका संवाहक युवालाई सम्बोधन गरिएको त्यो प्रख्यात कविता मभन्दा १ वर्ष जेठो थियो । धेरैपछि विसं २०१२ तिर कक्षा ९ र १० को पाठ्यक्रममा यसबाहेक पनि उहाँका अन्य दुई कविता ‘तिम्रो बासित पैसा छैन’ र ‘महाकालको दुलोमा अनन्तको पुच्छर’ पढेको सम्झना ताजै छ । परिवर्तनका संवाहक युवाशक्तिलाई सम्बोथित प्रख्यात कविता ‘चम्क युवक चम्क न चम्क’ का पंक्तिहरू अझै सम्झन्छु-

तिमी हौ गौरव जगतितलको

तिमी हौ तागत धनको जनको

तिमी हौ आशा दु:खीहरूको

तिमी हौ सहारा सारा जनको

चम्क युवक १ अब चम्क न चम्क ! प्रकाशित : जेष्ठ १०, २०७७ ०८:४१

प्रतिक्रिया
पठाउनुहोस्

गांगुलीलाई लिएर दक्षिण अफ्रिकामा मत विभाजन

एजेन्सी

केपटाउन — केपटाउन दक्षिण अफ्रिकी क्रिकेटमा रहेको विभाजन फेरि एकपल्ट छर्लङ्ग देखिएको छ । क्रिकेट साउथ अफ्रिका (सीएसए) का अध्यक्ष क्रिस नेन्जानीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रमुख पदमा भारतका सौरभ गांगुलीलाई समर्थन गर्नेमा कुनै आधिकारिक निर्णय नभएको बताएका छन् । 

यसअघि बोर्डका निर्देशक ग्रेम स्मिथले खुलेर गांगुलीको समर्थन गरेका थिए । अध्यक्ष नेन्जानीले भने, ‘हामीले आईसीसीको प्रमुखमा कसलाई समर्थन गर्ने हो भनेर आधिकारिक निर्णय गरेका छैनौं ।’ नेन्जानीलाई दक्षिण अफ्रिकी क्रिकेटमा विवादास्पद मानिन्छ । उनीमाथि राजीनामाको लगातार चर्को दबाब रहँदै आएको छ । तर शुक्रबार दक्षिण अफ्रिकी मिडियासँगको कुराकानीमा नेन्जानीले भने, ‘अहिलेसम्म आईसीसी प्रमुखका लागि कसले उम्मेदवारी दिने हो, त्यसबारे खुलस्त केही पनि आएको छैन । जतिबेला निर्णय गर्ने समय आउने छ, हामीले त्यसबारे छलफल गर्नेछौं ।’

यसअघिको पत्रकार सम्मेलनमा सीएसएका निर्देशक रहेका स्मिथले गांगुलीलाई खुलेर समर्थन गरेका थिए । दक्षिण अफ्रिकी क्रिकेट टिमका कप्तानसमेत रहिसकेका स्मिथले आईसीसीको अबको नेतृत्वका लागि भारतका पूर्वकप्तान गांगुली सबैभन्दा उपयुक्त रहेको बताएका थिए । अहिले आईसीसीको प्रमुखमा भारतकै शशांक मनोहर छन् । उनको कार्यकाल चाँडै सकिँदै छ । पछिल्लो सेप्टेम्बरमा भएको वार्षिक बैठकले नेन्जानीको कार्यकाल एक वर्ष थप्ने निर्णय गरेलगत्तै दक्षिण अफ्रिकी क्रिकेट विवादको घेरामा छ । नेन्जानीले यसअघि नै तीन वर्षको दुई कार्यकाल बिताइसकेका छन् ।

नेन्जानीको कार्यकाल थप्ने निर्णय भएपछि दक्षिण अफ्रिकी क्रिकेटका सबै प्रमुख प्रायोजकले बोर्डसँगको सम्बन्ध टुंग्याएका थिए । दक्षिण अफ्रिकी व्यावसायिक खेलाडीको संघ पनि नेन्जानीको विपक्षमा छ । यसैबीच ज्याक्स पाउललाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गरिएको थियो । पाउलले स्मिथसँग मिलेर दक्षिण अफ्रिकी क्रिकेट हाँकिरहेका थिए । बोर्ड लगभग चुपचाप रहेको थियो । तर अहिले नेन्जानीले स्मिथको विरोध गरेर फेरि राजनीति गर्ने प्रयास गरेका छन् ।

गांगुलीमाथि उथप्पाको विश्वास

कोरोना भाइरस संक्रमणको महामारीले विश्व क्रिकेट थलिएपछि भारतीय क्रिकेट खेलाडीले पनि विदेशीमा व्यावसायिक क्रिकेट खेल्न पाउनुपर्ने माग राख्न थालेका छन् । भारतका पूर्वब्याट्सम्यान रोबिन उथप्पाले आफूजस्ता खेलाडीले विदेशी फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमा खेल्न पाउनुपर्ने धारणा राखेका हुन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पुरुष खेलाडीलाई विदेशमा फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेट अनुमति दिँदैन ।

भारतीय खेलाडीका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नु एकमात्र विकल्प छ । बीबीसीसँगको कुराकानीमा उथप्पाले भनेका छन्, ‘कृपया भगवान्, हामीलाई विदेशमा खेल्न दिइयोस् ।’ उथप्पाले विदेशमा खेल्न नपाउँदा भारतीय खेलाडीले आर्थिक र अनुभव दुवै आधारमा अवसर गुमाइरहेको दाबी गरे । बीसीसीआईले अस्ट्रेलियाको बिग–बास तथा वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग जस्ता अन्य ठूला फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडीलाई खेल्न दिँदैन ।

भारतीय महिला खेलाडीले मात्र विदेशमा खेल्न पाउने गरेका छन् । सन् २००८ मा आईपीएल सुरु भएयता यसका सबै संस्करण खेलेका उथप्पाले विदेशमा खेल्न नपाउँदा आफूजस्ता सबै भारतीय खेलाडी दुःखी रहेको सुनाए । यसअघि अर्का भारतीय खेलाडी सुरेश रैनाले पनि विदेशी फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटमा खेल्न पाउनुपर्ने माग गरेका थिए । बीसीसीआईको नेतृत्वमा पूर्वखेलाडी तथा कप्तान सौरभ गांगुली आएयता विदेशमा खेल्न पाउने माग सुनिश्चित हुने उनको विश्वास छ ।

उथप्पाले भनेका छन्, ‘गांगुली नयाँ सोच राख्ने खेल पदाधिकारी हुन् । उनले क्रिकेटलाई नयाँ उचाइ दिन सक्छन् । अहिले भारतीय क्रिकेट जुन स्थितिमा छ, त्यसको जग बसाउने पनि उनी नै हुन् । उनले नै भारतीय खेलाडीलाई विदेशमा खेल्न दिने मौका तयार पार्न सक्छन् ।’ कोरोना भाइरस संक्रमण महामारीकै कारण इन्डियन प्रिमियर लिग (आईपीएल) हुने निश्चित छैन । प्रतियोगिता हुन नसके भारतीय खेलाडीका लागि यो ठूलो आर्थिक नोक्सानी हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×