कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लकडाउन खुल्ने भय

लकडाउन अस्त्र होइन, ढालमात्रै हो । ढालको आफ्नो क्षमता हुन्छ । जुन दिन यो ढालले थेग्न सक्नेभन्दा बढी मानिस काठमाडौंमा वा देशभित्र ओइरिन थाल्छन्, अवस्था भयावह हुने पक्का छ । 
शिशिर वैद्य

लकडाउन थपिएको थपियै छ तर लकडाउन खुल्ने खबरले मन बढी आतंकित भएको छ । केही दिनअघि लकडाउन आंशिक खुल्दा सहर अस्तव्यस्त बन्यो । लकडाउनमा चिल्लो पारिएका सडकले पहिलो जाम भोग्यो । समूह-समूहमा निस्किएका मानिसको पदचापले लकडाउनमा टल्किएका सडक मैला भए ।

लकडाउन खुल्ने भय

भिडमा मास्क लगाएका, नलगाएका, मुखमात्रै छोप्नेगरी नाकमुनि मास्क लगाएका, साधारण कपडाले मुख छोपेका अनेक मानिस थिए । त्यसो त आंशिक लकडाउन नखुल्दा पनि सहरमा मानिसहरु बिन्दास हिँड्थे । कोही प्रहरीको फलामे सनासोको फन्दामा पर्थे, कोही उम्किन्थे । आंशिक लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या एकाएक बढेको र दुईको मृत्युको खबरले सहर आतंकित बनेको छ । समाचारहरु भन्छन्– ‘विभिन्न जिल्लाबाट काठमाडौं छिरेकाहरुमा कोरोना पोजिटिभ भेटियो । विभिन्न जिल्लामा संक्रमण समूहमा फैलियो ।’ यी समाचारसँगै सहरमा त्रास फैलिएको छ ।

सरकार लकडाउनमा कडाइ गर्ने मुडमा पुगेको छ । महानगरका कर्मचारीको माइकिङ फेरि सुरु भएको छ– ‘कोरोना महामारीबाट बच्न सबै आ–आफ्नो घरमै बसौं ! सामाजिक दुरी कायम गरौं ! साबुनपानीले पटकपटक कम्तीमा २० सेकन्ड हात धोऔं ! हालसालै काठमाडौंबाहिरबाट आएका कोही छन् भने नजिकको प्रहरीलाई खबर गरौं ! आफू पनि बचौं अरुलाई पनि बचाऔं !’

राजधानी काठमाडौंको ५० प्रतिशतभन्दा बढी जनसंख्या भाडामा बस्छन् । तीमध्ये लगभग २० प्रतिशत लकडाउनको भेउ पाउनेबित्तिकै गाउँ फर्किए । एक प्रतिशतजति अकल्पनीय ढंगले दुःखजिलो गर्दै सयौं किलोमिटर हिँडेरै घर पुगे । कोही अझै बाटैमा पनि हुन सक्छन् । परिवार भेट्ने चाहना अनि बन्द सहरमा बस्नुको आर्थिक पीडाबाट भाग्नुको विकल्प थिएन उनीहरुसँग ।

लकडाउनमा सहर छाड्नेहरु मात्रै होइनन्, सहर प्रवेश गर्नेहरु पनि छन् । तर गाउँबाट फर्किएकाहरुमा कोरोना संक्रमण देखिन थालेसँगै सहरका घरधनीहरुमाझ तनाव आइलागेको छ । गाउँबाट फर्किएका डेरावालालाई के गरी घर भित्र्याउने ? कतै संक्रमण बोकेर पो आउने हुन् कि ? आशंका बढ्नु स्वाभाविक हो । स्वास्थ्यको मामिलामा संवेदनशील छ सहर । त्यसैले वर्षौं आत्मीय सम्बन्धका साथ बसेका डेरावालासँग कोरोना फ्रीको सर्टिफिकेट माग्दै छन् घरधनीहरु । यसले घरधनी र डेरावालाबीचको सम्बन्धमा तिक्तता ल्याएको छ । तर यस्तो प्रमाणपत्र दिने निकाय सरकारले खडा गरेको छैन । भएको त्यही सरुवा रोग अस्पताल हो । जहाँका चिकित्सकहरु आफै अत्यावश्यक उपकरण अभावमा डराइडराई बिरामी जाँचिरहेका छन् ।

घरधनीहरुको अडानमा स्थानीय निकाय पनि सामेल भएको छ । परीक्षण नगरी सहरमा, टोलमा, घरमा बास नदिने नीति लिएका छन् वडापालिकाहरुले । तर लाखौंको संख्यामा आउने मानिसमा संक्रमण जाँच्ने क्षमता सरकारसँग छैन । सरकारसँग भएको महामारीसँग लड्ने अस्त्र भनेकै लकडाउन मात्रै हो अहिलेलाई । तर लकडाउन अस्त्र होइन, ढालमात्रै हो । ढालको आफ्नो क्षमता हुन्छ । जुन दिन यो ढालले थेग्न सक्नेभन्दा बढी मानिस काठमाडौंमा वा देशभित्र ओइरिन थाल्दछन् अवस्था भयावह हुने पक्का छ । कोरोना महामारी जाँच सामाग्री खरिदमा भ्रष्टाचारको आरोप लागेको सरकारले त्यो भयावह अवस्थाको सामना गर्न सक्ला ? त्यो भयावह अवस्था आएमा सरकार त अर्को भ्रष्टाचारमा लाग्ला तर समाज छिन्नभिन्न हुने पक्का छ ।

०७२ सालको महाभूकम्प र नाकाबन्दीले समाजलाई एकजुट हुन सिकायो । महामारी दुरी बढाउन सिकाउँदै छ । व्यक्ति-व्यक्तिबीच दुरी राखेर कसरी चलायमान होला यो साँघुरो सहर ? कसरी सञ्चालन होलान् यहाँका जात्रा, पर्व, गुठी र भोजहरु ? महामारी नभोगेको होइन यो सहरले । बिफर, हैजाजस्ता महामारी भोगेकै हो । बिफर फैलने डरले सहरभरिका स–साना बालबालिका देश निकाला गरिएको कथा रणबहादुर शाहको इतिहास पढ्दा थाहा पाइन्छ । तत्कालीन शासकहरु क्रुर थिए । आफ्नो सन्तान बचाउन दुनियाँका सन्तानलाई दुःख दिए । अहिले दुनियाँकै सन्तानले राज्य सञ्चालन गरिरहेको छन् । महामारीलाई मजाक बनाएर राज्य सञ्चालकहरु आफ्नो अक्षमता प्रदर्शन गर्दै छन् ।

सहरमा महामारीको ताण्डव त्रास बढेसँगै महानगरका वडापालिकाहरु जुर्मुराउन थालेका छन् । सहरको तरकारी बजारमा कालीमाटी बजार प्रख्यात छ । यहाँ सधैं भिड लागिरहन्छ । तरकारीबाट संक्रमण फैलन सक्ने विषयमा विज्ञहरुको राय बाझिएका छन् । तर मानिसबाट सर्ने भएपछि भिड धेरै लाग्ने क्षेत्रका व्यापारीमा संक्रमण परीक्षण गर्न जरुरी हुन्छ । त्यसैले कालीमाटी र टुकुचाको तरकारी बजारमा परीक्षण सुरु भएको छ । ढिलो तर यो राम्रो सुरुवात भो । नत्र ती तरकारी बजारको बेपरवाह भिडले सामाजिक दुरीलाई खुल्लम खुल्ला च्यालेन्ज गरिरहेका थिए । लकडाउनले सचेत र सजग समाज बनाउन नसकेको खुल्ला प्रमाण हुन् यी बजारहरु । सहरमा यस्ता बजार चोकचोकमा, टोलटोलमा छन् । अवस्था सबैतिर उस्तै हो ।

सुरुवाती परीक्षणमा कोरोना पोजिटिभहरु भेटिएका छन् । महानगर झस्किएको छ । सरकारले थाहा पायो कि पाएन । झस्किएको महानगरले आफ्ना सफाइ कर्मचारीको परीक्षण गराएको छ । नाकाहरु खुकुलो हुनुको सकस भोग्दै छ सहर । पहुँचको तुजुक र व्यवस्थापनको कमजोरीले स्रोत नाकामा भएको लापरबाहीले ल्याउने विस्फोट भयानक हुने पक्का छ । त्यही विस्फोटको पर्खाइमा छ सहर ।

लकडाउनले खुल्न नसकेका निजी विद्यालय अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै छन् । अनलाइन कक्षा सञ्चालन गर्न राम्रो इन्टरनेट सुविधा चाहिन्छ । तर सहरमा नेटवर्क राम्रो चल्दैन । किन मरिहत्ते गर्दै छन् यी विद्यालयहरु अनलाइन पढाउन ? अनुमान सहजै लगाउन सकिन्छ । देशव्यापी पठनपाठन बन्द भएको अवस्थामा सहरलक्षित अनलाइन शिक्षणले शैक्षिक असमानता बढाउने पक्का छ । सहरमै नचल्ने नेटवर्क गाउँतिर चल्ने कुरै भएन । अनि कसरी पढाउने गाउँका विद्यार्थीलाई अनलाइनमार्फत ? सहरमै सबै अभिभावक अनलाइन कक्षा लिन प्रविधिमैत्री छैनन् भने कसरी कल्पना गर्न सकिन्छ अनलाइन पढाइको ? अनलाइन ठिक कि बेठिक ? बहस हुनै बाँकी यो शैक्षिक पद्धति एकाएक लागू भएको छ सहरमा ।

अभिभावक, शिक्षाविद्, विद्यालय सञ्चालकहरुको राय बाझिएको छ । अनलाइन पढ्न सक्ने र नसक्ने गरी विद्यार्थीलाई दुई वर्गमा छुट्याइनु पक्कै सही निर्णय हुने छैन । डेरावालासँग कोरोना फ्री सर्टिफिकेट माग्ने सहरमा निजी तथा सार्वजनिक विद्यालय कसरी सञ्चालनमा आउलान् ? लकडाउन खोलिए के तुरुन्तै विद्यालयहरु सञ्चालन गर्न सकिएला ? सम्भावना कम छ । पढेलेखेका प्रौढलाई सिकाउन धौधौ परिरहेको सामाजिक दुरीको प्रयोग स–साना बालबालिकामा कसरी लागू गर्न सकिएला ? के अभिभावक आफ्ना बालबालिकालाई यी आशंकाबीच विद्यालय पठाउन तयार होलान् ?

सहरमा देखिने भोगिने सार्वजनिक यातायातको वास्तविकता हो– कोचाकोच अनि ठेलमठेल । लकडाउन खोलेपछि सार्वजनिक यातायात पनि सञ्चालनमा ल्याउनैपर्‍यो । यातायात सुविधाबिना सहरमा हिँडडुल असम्भवप्राय: हुन्छ । सार्वजनिक यातायातको भिड सम्झिँदा संक्रमण फैलन सक्ने सम्भावना अधिक छ । आङ सिरिंग हुन्छ ती स–साना माइक्रो र टेम्पोको यात्रा सम्झिएर । कसरी कायम होला सामाजिक दुरी ? के लकडाउन खुलेपछि सडकमा फुटपाथे व्यापारीहरु नहोलान् ?

रत्नपार्क, कुपन्डोल, सातदोबाटो, लगनखेल, चाबहिल आदि चोकहरुमा लाग्ने श्रमिकहरुको भिड के साँच्चै पैदल मार्च गर्दै गाउँ फर्किसकेका हुन् ? सरकारले लकडाउनको घोषणा गर्दा यी श्रमिकहरु आ–आफ्नो काममा व्यस्त थिए । अचानकको लकडाउन घोषणाले उनीहरु माझ अनिश्चितता, असुरक्षा र द्विविधाको बादल मडारियो । लकडाउन झेल्न तयार थिएनन् उनीहरु । न आर्थिक रुपमा, न मानसिक रुपमा । लकडाउन खुल्ने सुनेर केही दंग छन् ती श्रमिक तर मनमा डर छ । कतै संक्रमितसँग भेटिने त होइन ? टोलटोलमा प्रवेश निषेधको बोर्ड झुन्ड्याएर, बाँसका तगारो लगाएर सहरका केही मान्छेले मान्छेलाई मान्छे देख्न छाडेको छ । नौलो अनुहार सहरका लागि मान्छे होइन संक्रमण हो ।

यस्तो परिवेशमा लकडाउन कसरी खोल्ने ? चर्चा थुप्रै भएका छन् । सुनिँदै छ लकडाउन खोल्ने विभिन्न तरिकासहितका सुझावहरु पेस भएका छन् उच्चस्तरीय समितिमा । कतिले पत्रपत्रिकामार्फत सरकारलाई लकडाउन खोल्ने आइडिया फोकटमै पनि दिएका छन् । लकडाउन खुलेका देशहरुमा गरिएको प्रयोग उदाहरणका रुपमा सुझाएका छन् थुप्रैले । तरिकाहरु अनेक छन् । तीमध्ये हाम्रो समाज र व्यवहार सुहाउँदो तरिका कुन हो त ? हठात् लकडाउन खोल्नु महामारीलाई अँगालो हाल्नुबराबर हुने निश्चित छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?