जैविक विविधता र मानव अस्तित्व- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक विविधता र मानव अस्तित्व

सन्दर्भः जैविक विविधता दिवस
मनकुमार धमला

काठमाडौँ — प्राध्यापक जायर्ड डायमण्ड जीव, जैविक विविधता, जीव विकासक्रम, मानव समाज विकास र यिनीहरुबीचको अन्तरसम्बन्धका बारेमा शोध गर्ने विश्व प्रशिद्ध अध्येता हुन् ।

उनले त्यस्तै अध्ययनहरु गरेर सन् २००५ मा ‘कोल्याप्स’ मुख्य शिर्षक रहेको एउटा पुस्तक प्रकाशन गरेका छन् । उक्त पुस्तकमा डायमण्डले प्राग–ऐतिहासिक मानव समाजहरुको विकास र पतनका कारणहरुको खोजी गरेका छन् । कुनै समाज रहनु वा पतन हुनुमा डायमण्डले ५ मुख्य कारणहरु निर्क्यौल गरेका छन् ।

मानवीय क्रियाकलापले निम्त्याउने वातावरण विनास, जलवायु परिवर्तन, शत्रु समाजको आक्रमण, छिमेकी समाजको असहयोग र समस्याहरु (वातावरणीय वा अन्य) आउँदा समाजले गर्ने प्रतिकार्यले त्यो समाजको भविष्य निर्धारण गर्ने डायमण्डको निचोड छ । प्राकृतिक स्रोतहरुको दुरुपयोगले निम्त्याएको वातावरणीय असन्तुलन तथा समाजको सकारात्मक पहलकदमीको अभावमा मध्य अमेरिकाको माया सभ्यता, ग्रीनल्याण्डको भाइकिंग सभ्यता, इस्टर टापुको सभ्यता, कम्बोडियाको अन्ग्कोरवाट सभ्यता जस्ता विकासको उत्कर्षमा पुगेका सभ्यताहरुको पतन भयो ।

अर्कोतर्फ प्राकृतिक स्रोतहरुको सदुपयोग र समाजमा देखापरेका समस्याहरुसँग सामूहिकरुपमा प्रतिकार्य र सकारात्मक पहलकदमी हुँदा तोकुगावा (जापान) सभ्यता, न्युगिनी सभ्यता, तिकोपिया सभ्यता अझै यथावत मात्र छैनन् झन् समृद्ध भएका छन् ।

आज विश्व कोभिड—१९ नामक जीवाणु र त्यसले निम्त्याएको महाव्याधिले आक्रान्त छ । यो लेख तयार गर्दा सम्म करिब ५० लाख मानिस यस महाव्याधीको संक्रमणबाट ग्रसित भएका छन् भने करिब सवा तीन लाखले ज्यान गुमाइसकेका छन् । सिंगो मानव समाज भोक र शोकले आहत छ । हिजोसम्म पुँजी र प्रविधिमा अल्लादित मानिस आज आफैं गृहबन्दी भएको छ । प्रविधि र विकासको उत्कर्षमा रहेका समाजहरु रोकथाम र उपचारको अभावमा क्रन्दित छन् । मानव समाज द्वेष र घृणाले भरिँदै छ । समग्रमा आज मानव प्रजाति आफ्नो अस्तित्वको गम्भीर चिन्तामा डुबेको छ । आखिर किन र कसरी ? उत्तर खोज्न फेरी डायमण्डको निचोडलाइ विश्लेषण गरौं ।

डायमण्ड मानिस र पर्यावरणबीच अन्योन्याश्रित सम्बन्ध रहेको ठान्दछन् । मानिस आफ्नो जीवन र जीविकोपार्जनको लागि पारिस्थितिक प्रणाली र त्यहाँ रहेको जैविक विविधतामाथि निर्भर रहन्छ । पारिस्थितिक प्रणालीहरुले प्रवाह गर्ने सेवाहरुबाट नै मानवीय आवश्यकता परिपूर्ति हुन्छन् । अर्कोतर्फ मानवीय क्रियाकलापले पारिस्थितिक प्रणालीहरुको प्राकृतिक कार्य र सेवा प्रवाहमा असर गरिरहेको हुन्छ । यो जटिल र गहन अन्तरसम्बन्ध को बुझाइ र तदनुरुपको कार्यले दुवैको भविष्य निर्क्यौल गर्दछन् ।

आफ्ना आवश्यकताहरुको परिपूर्ति गर्ने क्रममा मानिसले पृथ्वीको अत्यधिक दोहन गरेको छ । प्राकृतिक प्रणालीहरुको विनास पृथ्वीको इतिहासमै सबै भन्दा ज्यादा भएको छ । मानव र वन्यजन्तुको अन्तरक्रिया बढेको छ । वन्यजन्तुको प्राकृतिक जनसंख्या न्युन हुँदै जाँदा प्रजातिहरुको लोप हुने क्रम अत्यधिक बढेको छ । जटिल पारिस्थितिक प्रणालीहरु सरलीकृत गरिएका छन् । र समग्रमा सम्पूर्ण पारिस्थितिक प्रणालीहरु कमजोर भएका छन् । पारिस्थितिक प्रणालीहरु कमजोर हुँदा र मानव वन्यजन्तुको अन्तरक्रिया बढ्दा वन्यजन्तुबाट विभिन्न किसिमका रोगहरु मानिसमा र मानिसबाट वन्यजन्तुमा सर्ने सम्भावना रहन्छ ।

कोभिड—१९ भन्दा अघि देखा परेका उस्तै प्रकृतिका रोगहरु (सार्स, मर्स) को उत्पत्ति वन्यजन्तुबाट भएको वैज्ञानिक पुष्टि भइसकेको छ । कोभिड—१९ को उत्पत्ति पनि वन्यजन्तुबाट भएको हुनसक्ने वैज्ञानिक आधारहरु तय हुँदै छन् । सबै भन्दा दुखको कुरा त के रहेको छ भने प्राकृतिक वातावरणको विनाशसंगै आगामी दिनहरुमा यस्तै प्रकृतिका रोगहरु देखा पर्ने सम्भावना बढेर जाने वैज्ञानिक अनुसन्धानहरु र विभिन्न निकायका प्रतिवेदनहरुले देखाएका छन् ।

सन् २०१९ मा करिब १ सय ५० वैज्ञानिकको टिमले १५००० भन्दा बढी वैज्ञानिक शोधहरुको अध्ययन संश्लेषण गरि प्रकाशन गरेको प्रतिवेदनले मानव अस्तित्वका लागि सन्तुलित प्रकृतिको अपरिहार्यता स्थापना गरेको छ । सोहि प्रतिवेदन अनुसार पृथ्वीको प्रकृति र सम्पूर्ण प्राकृतिक प्रणालीहरुमा मानवीय क्रियाकलापका कारण अपुरणीय क्षति पुगेको छ । फलस्वरुप पारिस्थितिक प्रणालीहरुहको कार्यसम्पादनमा ह्रास आइ तिनीहरुले गर्ने सेवाको प्रवाहमा नकरात्मक असर परेको छ । यसले समग्र आर्थिक सामाजिक पक्षमा असन्तुलन आएको र विपन्न वर्गमा त्यसको असर तुलनात्मक रूपमा बढी रहेको देखाएको छ ।

मानव जातीले पृथ्वीको कतिसम्म दोहन गरेको रहेछ भन्ने कुरा त यो बन्दाबन्दीको समयमा प्रकृतिमा पुनः आएको स्वच्छताले पुष्टि गरिसकेको छ । थोरै समयका लागि मानवीय क्रियाकलापहरु रोकिदा वायुमण्डल स्वच्छ भएको छ भने हरितगृह ग्यासको उत्सर्जनमा कमी आएको छ । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट बाहिर निस्केका छन् । अझ भनौं केहि समय भने पनि पृथ्वीले सास फेर्न पाएको छ ।

आज मे २२ संसारभर जैविक विविधता दिवस मनाइदैछ । सन् १९९३ देखि मनाउन थालिएको यो दिवसमा जैविक विविधता र यसको संरक्षणको महत्वलाइ विभिन्न कार्यक्रम गरेर प्रचार प्रसार गर्ने गरिन्छ । जैविक विविधता महासन्धि को सचिवालयले यो वर्षको नारा ‘हाम्रा समस्याको समाधान प्रकृतिमा छन् — आवर सोलसुन्स आर इन नेचर’ भन्ने तय गरेको छ । कोभिड—१९ महाव्याधि खेपिरहेको आजको दिनमा यो वर्षको नारा अझ सान्दर्भिक देखिन जान्छ ।

कोभिड—१९ महाव्याधिले सिंगो मानव जातिलाई धेरै शिक्षा दिएको छ । हाम्रो सोचमा परिवर्तन ल्याउने मौका दिएको छ । हाम्रा क्रियाकलापहरु सच्याउने अवसर दिएको छ । प्रकृति र मानवबीचको अन्तरसम्बन्ध बुझ्ने तथा सह अस्तित्व र भातृत्वमा बाँच्ने विश्वास जगाएको छ । हाम्रो र सम्पूर्ण पृथ्वीको भविष्य हाम्रो हातमा रहेको यथार्थ बोध गराएको छ ।

कोभिड—१९ महाव्याधि कहिले अन्त्य हुने हो वा होइन आजै भन्न सकिने अवस्था छैन । यो महाव्याधिका कारण लाखौ करोडौ मानिसले आफ्नो रोजगारी गुमाउनुका साथै चरम गरिबीको सामना गर्नु पर्ने भनेर अर्थशास्त्रीहरूले चेतावनी दिइसकेका छन् । त्यसले आगामी दिनमा प्राकृतिक स्रोतसाधनमाथि विश्वभर नै मानवीय चाप बढाउने निश्चित प्राय छ । त्यसैले यस अवस्थामा प्राकृतिक स्रोतहरुको सुरक्षित उपभोग तथा व्यवस्थापनमा अझ बढी सजगताका साथ काम गर्नु पर्ने देखिन्छ । नेपाल पनि यसतर्फ चनाखो रहनु पर्ने हुन्छ ।

प्राकृतिक प्रणालीहरूको विनाश र प्रजातिहरुको लोप हुने क्रमलाई रोक्ने कार्यहरु अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्ने हुन्छ । लोपोन्मुख प्रजातिहरु र तिनीहरुका बासस्थानको संरक्षण गर्दै सन्तुलित रूपमा विकास निर्माणका कार्यहरु गर्न सकेमा मात्र सम्पूर्ण दिगो विकासका लक्ष्यहरू हासिल हुनेछन् । विज्ञान र प्रविधिको उपयोग मानव समाज मात्र होइन सम्पूर्ण प्रकृतिको हितमा लगाउन सकेमा हामी दीर्घकालसम्म लाभान्वित रहन्छौं । सम्भवतः कोभिड—१९ महाव्याधिले मानव जातिलाई सिकाएको यो नै सबैभन्दा ठूलो पाठ हो ।

व्यारी कम्मनरले सन् १९७१ मा प्रकाशन गरेको पुस्तक ‘द क्लोजिंग सर्कल’ मा प्रतिपादन गरेका इकोलोजीका चार नियमहरु मध्ये तेस्रो नियम ‘प्रकृति सर्वज्ञानी छ’ लाई हृदयंगम गर्न सकेमा पनि हामीले अहिले भोगिरहेका धेरै समस्याहरुको समाधान निकाल्न सकिन्छ । पृथ्वीको स्वास्थ्यमा नै हाम्रो स्वास्थ्य निर्भर रहन्छ, पृथ्वीको अस्तित्व सुरक्षित रहँदा नै हाम्रो अस्तित्व सुरक्षित रहन्छ । हाम्रा हरेक अप्राकृतिक क्रियाकलापहरुको प्रकृतिसँग जवाफ छ किनकी प्रकृति हामीभन्दा महान् छ, प्रकृति हामीभन्दा ज्ञानी छ ।

लेखक त्रिवि वातवरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी फ्रान्चाइज खेल्न पाउनुपर्ने उथप्पाको माग

एजेन्सी

नयाँ दिल्ली — भारतका पूर्वब्याट्सम्यान रोबिन उथप्पाले आफूजस्ता खेलाडीले विदेशी फ्रान्चाइज ट्वान्टी–२० क्रिकेटमा खेल्न पाउनुपर्ने माग राखेका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पुरुष खेलाडीलाई विदेशमा फ्रान्चाइज ट्वान्टी–२० क्रिकेट खेल्न अनुमति दिँदैन ।

भारतीय खेलाडीका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नु एक मात्र विकल्प छ । बीबीसीसँगको कुराकानीमा उथप्पाले भनेका छन्, ‘कृपया भगवान्, हामीलाई विदेशमा खेल्न दिइयोस् ।’

उथप्पाले विदेशमा खेल्न नपाउँदा भारतीय खेलाडीले आर्थिक र अनुभव दुवै आधारमा अवसर गुमाइरहेको दाबी गरे । बीसीसीआईले बिग बास, क्यारेबियन प्रिमियर लिगजस्ता अन्य ठूला फ्रान्चाइज ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडीलाई खेल्द दिँदैन ।

भारतीय महिला खेलाडीले मात्र विदेशमा खेल्न पाउने गरेका छन् । सन् २००८ मा आईपीएल सुरु भएयता यसका सबै संस्करण खेलेका उथप्पाले विदेशमा खेल्न नपाउँदा आफूजस्ता सबै भारतीय खेलाडी दुःखित रहेको दाबी गरे ।

यसअघि अर्का भारतीय खेलाडी सुरेश रैनाले पनि विदेशी फ्रान्चाइज ट्वान्टी–२० क्रिकेटमा खेल्न पाउनुपर्ने माग गरेका थिए । बीसीसीआईको नेतृत्वमा पूर्वखेलाडी तथा कप्तान सौरभ गांगुली आएयता विदेशमा खेल्न पाउने माग सुनिने खेलाडीले विश्वास लिएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×