कोरोना नियन्त्रणमा अब के गर्ने ?

कोरोना नियन्त्रणको उपाय भौतिक/सामाजिक दुरी र कन्ट्याक्ट ट्रेसिङ नै हो । नेपालले लकडाउनको उपाय अपनाएको दुई महिना पुग्न त लाग्यो तर संक्रमितको संख्या स्थिर हुनुको साटो बढ्दै गएको छ । यो लकडाउनको लक्ष्यविपरीत देखिन्छ । 
शेरबहादुर पुन

काठमाडौं — हुन त यसभन्दा अगाडि पनि काठमाडौंमा कोरोना भाइरस देखिएको थियो । कोरोना भाइरसका संक्रमित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै  छिरेका थिए । अहिले देखिँदै आएको भाइरस काठमाडौंसम्म आइपुग्ने तरिका भने अलि भिन्न छ ।

कोरोना नियन्त्रणमा अब के गर्ने ?

अहिले लकडाउन जारी छ । तर पनि नेपाल-भारत सीमाबाट मानिस छिर्ने क्रम रोकिएको छैन । योसँगै कोरोना भाइरस छिर्ने क्रम बढ्दै गएको परीक्षणका नतिजाहरुले देखाउँछन् । पछिल्ला दुई-चार दिनमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालम कोरोना भाइरसको परीक्षण वा परामर्श लिन आउनेहरुको भिड नियन्त्रण गर्न अस्पताललाई नै हम्मे परेको छ। कारण थियो, उनीहरु उपत्यकाबाहिरबाट काठमाडौं आइपुग्नु र घर छिर्नुअघि कोरोना मुक्त भएको प्रमाण टेकु अस्पतालबाट घरबेटीलाई पेस गर्नु । यसले आगामी दिन संक्रमितहरुको संख्या बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। काठमाडौं नेपालको सबैभन्दा बढी जनघनत्व भएको सहर भएकाले यसको फैलावट रोक्न थप चुनौती देखिएको छ ।

भारतसँग नेपालको लामो खुल्ला सिमानाले गर्दा त्यहाँबाट आउने सबैलाई व्यवस्थित रुपले क्वारेन्टाइनमा राख्न व्यावहारिक रुपमा ठूलो समस्या देखिन्छ। लुकीछिपी आउनेहरुले गर्दा थप चुनौती बढाएको छ। केही लुकीछिपी आएकाहरुमा नै कोरोनाको संक्रमण पुष्टि हुँदा आतंक थपिएको छ ।

हाल सीमा क्षेत्रमा संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ। केही दिनअघि नेपाल सरकारले अति आवश्यक सेवा दिने कार्यालय तथा कलकारखाना खोल्ने निर्णयसँगै काठमाडौं प्रवेश गर्नेहरु ह्वात्तै बढे । केही लुकीछिपी प्रवेश गर्नेहरु पनि छन् । निर्णयलगत्तै सडकमा सवारीसाधनको जाम र बटुवाहरुको बाक्लो उपस्थितिले काठमाडौंमा अत्यधिक मानिसहरुको आगमन भएको र लकडाउन खासै प्रभावकारी नभएको बुझ्न सकिन्थ्यो । काठमाडौंबाहिरबाट आएजति सबैको प्रयोगशाला परीक्षण नहुँदा/नगर्दा संक्रमणको जोखिम बढ्दै गएको पनि हो। पछिल्लो समय काठमाडौं र भक्तपुरमा देखिएका संक्रमितहरु बाहिरबाट आएका थिए। यदि उपत्यकाबाहिरबाट आएकाहरुले स्वयं अस्पताल गई कोरोना परीक्षण गरेको भए टोलवासीहरुले असुरक्षित महसुस गर्दैनथे होला ।

नेपालको संघीय राजधानी भएकाले धेरै सरकारी वा निजी अस्पताल काठमाडौंमा छन् । अस्पतालमा धेरै मानिसको आवतजावत हुँदा संक्रमणको जोखिम पनि बढ्ने हुन्छ। विश्वको घटना हेर्ने हो भने स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन् । काठमाडौंमा संक्रमितहरु देखापरेसँगै पछिल्लो समय अस्पतालहरु पनि असुरक्षित बन्दै गएको हो कि भनेर सोच्नुपर्ने अवस्था आएको छ । अस्पताल स्वास्थ्य सेवा प्रदायक सार्वजनिक संस्था भएकाले बिरामी तथा उसका आफन्तबीच भौतिक दुरी कायम राखिराख्नु चुनौती नै देखिन्छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा काम गर्ने दर्जनौं स्वस्थाकर्मी संक्रमित भएको पनि तीन महिनाभन्दा बढी भइसकेको अवस्थामा नेपालमा भने अहिलेसम्म स्वास्थ्यकर्मीहरु आफ्नो सुरक्षा गर्न अझै चुकिरहेका छौं । यसमा राज्यले पनि पीपीईलगायत थप अरु आवश्यक सामग्रीको सहज आपूर्ति गरिदिनुपर्दछ । जुन स्वास्थ्यकर्मीहरुले लामो समयदेखि आग्रह पनि गरिरहेका छन् ।

हाल लकडाउनका कारण धेरैजसो सार्वजनिक स्थान बन्द छन् । फलफूल तथा तरकारी बजारजस्ता दैनिक आवश्यक पर्ने उपभोग्य समान पाउने ठाउँ भने खुल्ला नै छन् । त्यो आवश्यक पनि छ । तर त्यस्ता ठाउँमा सामाजिक/भौतिक दुरी कायम राख्नु पनि ठूलो चुनौती देखिन्छ ।

केही साताअघि एक समकक्षी चिकित्सक र यो पंक्तिकार कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना भाइरससम्बन्धी चेतनामुलक अभियानमा सामेल भएका थियौं । कार्यक्रम कतिको उपयोगी भयो/भएन थाहा भएन । यद्यपि यस्ता कार्यक्रम गरिराख्दा संक्रमण नियन्त्रण गर्नमा भने सहयोगी नै हुनेछन् । फलफूल तथा तरकारी बजारमा कोरोना भाइरसबाट बच्न सबैले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ ।

काठमाडौंमा संक्रमण बढ्दै गर्दा यसबाट उत्पन्न हुने समस्याको समाधान निकाल्नुको कुनै विकल्प छैन । हामी यो मानेमा भाग्यमानी छौं कि हाम्रो देश पहिलो वा दोस्रो वा तेस्रो कोरोना भाइरस महामारीको ठूलो सिकार हुनु परेन तर अन्तिम पनि हुनु हुँदैन वा हुँदै गर्दा नै रोक्ने प्रयास गर्नुपर्छ । कतिपय देश यो महामारीको चपेटाबाट निक्लिइसके, केही देश यसको प्रभावबाट निस्कन संघर्षरत छन् । विभिन्न देशले आफ्नो देशको स्रोतसाधन र महामारीको स्तरअनुसार विज्ञहरुको सुझाव लिएर सोअनुसार बच्ने वा नियन्त्रण गर्ने उपाय अवलम्बन गरिरहेका पनि छन् ।

कतिपय देशले लकडाउनको सहारा लिएका देखिन्छन् भने केहीले बिनालकडाउन नै कोरोना नियन्त्रण गरेका छन् । तर सारमा यी दुवै तरिकाको मुख्य उद्देश्य भनेको भौतिक/सामाजिक दुरी कायम राख्नु र कन्ट्याक्ट ट्रेसिङ गर्न सहज वातावरण बनाउनु हो । नेपालले लकडाउनको उपाय अपनाएको दुई महिना पुग्न त लाग्यो तर संक्रमितको संख्या स्थिर हुनुको साटो बढ्दै गएको छ । यो लकडाउनको लक्ष्यविपरीत देखिन्छ । तसर्थ हालसम्म गरेको लकडाउनको समीक्षा गरी कहाँ के कमजोरी छ, त्यसमा सुधार गर्दै लानुपर्ने हुन्छ ।

हालसम्म लगभग सबैजसो संक्रमित लक्षणविहीन अवस्थामा भेटिएका छन् । यो नै नेपालका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय पनि हो । संक्रमितले लक्षण नदेखाउँदा पत्ता लगाउन अति कठिन हुनेछ, किनभने एकएक गरी सबैलाई प्रयोगशाला परीक्षण गर्न व्यावहारिक रुपमा सम्भव पनि हुँदैन। सार्वजनिक स्थानमा लक्षणविहीन संक्रमित हुन सक्दछ तर बाहिरी आवरण हेरेर पहिचान गर्न भने सहज हुनेछैन तर ती संक्रमितले अरुलाई भने सार्न सक्ने अनुसन्धानले देखाइसकेकाले काठमाडौंजस्तो घनाबस्तीमा कोरोनाको जोखिम हरेक दिन बढ्दै गइरहेको छ ।

एक-अर्कालाई शंकाको दृष्टिले हेर्ने क्रमसमेत बढ्दै गएको छ। तर संक्रमितहरु लक्षणविहीन हुँदा त्यसबाट हुने मृत्युदर भने धेरै न्यून हुनेछ । आगामी दिनमा सबै संक्रमित लक्षणविहीन वा सामान्य अवस्थामा नै हुन्छन् भन्ने छैन । अर्थात् लक्षणहरु कडा हुन सक्ने र मृत्युसमेत हुन सक्नेछ । त्यसैले यसका लागि आगामी दिनमा अझ सजक हुनुपर्दछ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारणले दुई जनाको मृत्यु भएको छ । यसबाट आत्तिनेभन्दा पनि कोरोनाविरुद्ध हालको प्रयासमा भएगरेका कमीकमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्छ । यसमा सर्वसाधारणले लकडाउनको कडा पालना गर्नुको कुनै विकल्प छैन । सम्बन्धित निकायले पनि परीक्षणको (पीसीआर) दायरा बढाउँदै विशेषगरी लक्षणविहीन संक्रमित र संक्रमितका सम्पर्कमा आएकाहरुको पहिचानलाई द्रुत गतिमा बढाउनुपर्छ । यसमा सबै एक भएर अगाडि बढ्न सके कोरोना भाइरसमाथि अवश्य पनि विजय हासिल गर्न सक्नेछौं ।

लेखक पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?