२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालबालिकासँग यौनका कुरा

विद्यालयमा विद्यार्थीलाई प्रजनन प्रणालीको पाठ आफैँ पढ भन्ने शिक्षक, टेलिभिजनमा आउने कन्डमको विज्ञापनबारे प्रश्न गर्दा ‘उम्रँदैमा तीन पात’ भन्दै हप्काउने अभिभावक र छोराका बालजिज्ञासाको उत्तर दिन असमर्थ मबीच खास केही फरक लागेन ।

बालबालिकाका यौनसम्बन्धी जिज्ञासाको उत्तर दिनु जटिल विषय रहेछ । सामान्यत: बाबु-आमाको बिहेको फोटो हेरेर फोटोमा म किन नभएको (?), हजुरहरूको बिहेमा म कहाँ थिएँ (?) तथा म कसरी जन्मिएँ (?) जस्ता प्रश्न आजभोलिका अधिकांश आमा-बाबुले आफ्ना छोराछोरीबाट सुनेका हुन्छन् ।

बालबालिकासँग यौनका कुरा

सानै हुँदा मैले यो प्रश्न आमासँग सोधेकी थिएँ र पछि छोराले मलाई त्यही प्रश्न सोध्यो । त्यतिखेर आमाको उत्तरसँग म सन्तुष्ट थिइनँ भने अहिले आफूले पनि छोराको प्रश्नको चित्तबुझ्दो उत्तर दिन सकेकी छैन ।

साथीहरूसँग यस विषयमा कुरा गर्दा उनीहरूले पनि यो प्रश्नसँग अप्ठ्यारो महसुस गरेको बताएका थिए । छोराको ‘म कसरी जन्मिएँ ?’ भन्ने प्रश्नमा मैले ‘तिम्रो बाबा र मैले बिहे गर्‍यौँ अनि तिमी जन्मियौ’ भन्ने गर्थें, भन्ने गरेकी छु । मलाई थाहा छ, यो पूर्ण जवाफ होइन । ‘बिहे गरेपछि बच्चा जन्मन्छ’ उसले बुझेको यत्ति हो । बिहेको सामाजिक परिभाषा र यौनसम्बन्धजस्ता विषयलाई उसले बुझेको छैन । दस वर्ष पुग्दै गर्दा यस विषयमा उसका अन्य जिज्ञासा छन् भन्ने थाहा पाए पनि उसले बुझ्न सक्ने जवाफ आफूसँग नभएकाले पहिलेकै उत्तर दोहोर्‍याउँदै टार्दै आएकी थिएँ । अहिलेको बन्दाबन्दीको समयमा छोराका यस्तैयस्तै प्रश्नको चित्तबुझ्दो उत्तर दिन नसकेको आफ्नै अप्ठ्यारोको सेरोफेरोमा यो लेख लेखेकी हुँ ।

कोभिड-१९ महाव्याधिको कारण चैतमा परीक्षा सकिएपछि गाउँ लैजानुपर्ने छोराको माग पूरा गर्न सकिएन । लामो समयसम्म घरभित्रै रहनुपर्ने हुनाले समय कटाउन सबैलाई अप्ठ्यारो थियो/छ नै । त्यसमाथि भर्खर १० वर्ष पुगेको छोरालाई भाडाको साँघुरो कोठामा पूराका पूरा दिन बिताउन झन् जटिल बनेको थियो । मोबाइल तथा ल्यापटपमा युट्युबमा विविध भिडियो हेर्दै तथा गेम खेल्दै भुलेको आफैँलाई पनि राम्रो लाग्दैन । त्यसमाथि बिदामा गाउँ गएर भैंसी, बाख्रा चराउन जाने र पौडी खेल्ने योजना बनाएर बसेको छोरा यसपटक मोबाइल, ल्यापटपसँग पनि झिँजो मानिरहेको थियो ।

अलि सानैदेखि नै उसको बाबाले सुनाउने धार्मिक तथा लोककथाहरूमा ऊ रमाउँथ्यो । चार/पाँच वर्षदेखि लगातार यस्ता कथा सुनाउँदै आएकाले पनि उसका बाबासँग त्यस्ता नयाँ कथा बाँकी थिएनन् । त्यसैले पनि यस बन्दाबन्दीमा हामीले ‘महाभारत’ र ‘रामायण’ पढ्ने विचार गर्‍यौं । अरू बेलाजस्तो आ-आफ्ना किताब समाएर बस्नुको सट्टा यसपटक हामी परिवारका सबै सदस्यले पालैपालो सस्वर पढ्ने तथा सुन्ने निर्णय गर्‍यौं ।

पहिले महाभारत पढ्न सुरु गर्‍यौँ । त्यसो त महाभारत आफैँमा बृहत् पुस्तक हो । यसले समेटेका विषय ज्यादै व्यापक छन् । पढ्दै गर्दा पुस्तकमा उल्लेख भएका विभिन्न विषय तथा घटनामा छलफल पनि गर्‍यौं । छोराका जिज्ञासा अत्यधिक थिए । यो लेख भने महाभारतका कथाहरूमा उल्लेख भएका केही यौन प्रसंगबारे १० वर्षे छोराले उठाएका प्रश्न र ती प्रश्नको उत्तर दिन मलाई परेको कठिनाइमाथि हो ।

महाभारतको आदिपर्वमा व्यास उत्पत्तिको कथा पनि छ, जसमा कुनै दिन ऋषि परासर डुंगामा चढेर यमुना नदी तर्न लागेका हुन्छन् । डुंगा चलाउने सत्यवती नामकी युवती हुन्छिन् । डुंगा चलाउँदै गरेकी ती युवतीको सुन्दरतासँग मोहित भएर ऋषिले त्यसैबेला उनीसँग सम्भोगको प्रस्ताव राख्छन् । नदीको वारिपारि मान्छेहरू भएका र यस्तो सबैले देख्ने ठाउँमा म कसरी सम्भोग गर्न सक्छु भन्दै युवतीले अस्वीकार गर्छिन् । तर, ऋषिले आफ्नो तपोबलको प्रभावले तत्कालै डुंगाको वरिपरि बाक्लो कुइरो उत्पत्ति गराई सत्यवतीसँग सम्भोग गर्छन् र त्यसबाट व्यासको जन्म भयो भन्ने कथा छ ।

यस प्रसंग पढ्दै गर्दा छोराले पहिलोपटक ‘सम्भोग भनेको के हो ?’ भनी सोध्यो । त्यसबेला मैले ‘एकअर्कालाई माया गर्नु र सँगै मिलेर रमाइलो गर्नु’ नै ‘सम्भोग’ हो भनी उत्तर दिएँ ।

व्यास जन्मिएको सन्दर्भ उप्काउँदै उसले फेरि सोध्यो, ‘बच्चा जन्मन त बिहे गर्नुपर्छ होइन र ?’

‘एकअर्कालाई माया गर्ने र सँगै मिलेर रमाइलो गर्ने कुरा दुवैले स्विकारेपछि उनीहरूले बिहे गरे अनि बच्चा जन्मियो’, यो मेरो जवाफ थियो । वयस्क स्त्री-पुरुषबीच हुने शारीरिक सम्बन्धबारे मैले उसलाई बताउन सकिनँ र गोलमटोल उत्तरले टारेँ । आफ्नो भनाइसँग म आफैँ पनि सन्तुष्ट थिइनँ ।

कथामा सम्भोगका प्रसंग प्रशस्त आउन थाले । त्यतिबेला बिहे र यौनसम्बन्धलाई पर्यायवाची शब्दको रूपमा प्रयोग गरेका मेरा निम्छरा उत्तरहरूले छोराका जिज्ञासा शान्त पार्न सकेनन् । महाभारतको कथा अगाडि पढ्दै जाँदा धृतराष्ट्र तथा पाण्डु जन्मको कथा आयो । राजा शन्तनुको छोरा बिचित्रवीर्यको अल्पायुमै मृत्यु हुन्छ । विवाहित भए पनि उनका सन्तान थिएनन् । वंशोत्पादनका लागि बिचित्रवीर्यका दुई रानीहरू अम्बिका र अम्बालिकासँग सम्भोग गराउनका लागि व्यास ऋषिलाई डाकिएको हुन्छ । त्यसपछि अम्बिकाको गर्भबाट धृतराष्ट्र, अम्बालिकाको गर्भबाट पाण्डु र दासीको गर्भबाट विदुर जन्मिएको कथा छ । समागमको समयमा डरले अम्बिकाले आँखा चिम्लिएकी कारण धृतराष्ट्र दृष्टिविहीन भएका तथा अम्बालिकासँग सम्भोगको समयमा उनी पनि डराएर अनुहार सेतो भएका कारण पाण्डुको सेतो कुष्ट शरीर भएको पुस्तकमा उल्लेख छ ।

यी प्रसंगपछि ‘एकअर्कालाई माया गर्ने र सँगै मिलेर रमाइलो गर्नु’ नै ‘सम्भोग’ हो र ‘बिहे गरेपछि बच्चा जन्मन्छ’ भन्नेजस्ता मेरा उत्तरमा छोराले शंका व्यक्त गर्‍यो । शब्दमा भने ‘माया गर्ने मान्छेसँग पनि दुवै जना किन डराएको होला है ?’ यो प्रश्नमा बढी जोड दियो । ‘खै कुन्नि ?’ मैले यति मात्रै भन्न सकें । मनमा आए पनि ‘सायद यो नियोजित बलात्कार थियो कि’ भन्न सकिनँ ।

कथामा यस्ता अरू पनि धेरै प्रसंग आउँछन् । मृगरूप धारण गरी सम्भोगरत ऋषिपुत्र र उनकी पत्नीलाई पाण्डुले बाण हानेका र ती ऋषिले पाण्डुलाई ‘सम्भोग गरेमा मर्ने’ श्राप दिएको उल्लेख छ । त्यस्तै श्रापका कारण माद्रीसँग सम्भोगपछि पाण्डुको मृत्यु भएको घटनादेखि पाँच पाण्डवहरूको जन्म-कथा होस् वा कर्ण जन्मको कथा सम्भोगका प्रसंगहरू आइरहन्छन् । स्वर्गका राजा इन्द्रले गौतम ऋषिको रूप धारण गरी ऋषिपत्नी अहिल्यासँग सम्भोग गरेको प्रसंग होस् अथवा अप्सरा उर्वशीले अर्जुनसँग सम्भोगका लागि कर गरेको र उनले अस्वीकार गरेकाले श्राप दिएको प्रसंग ! यी सबै पढ्दै जाँदा छोराले मेरा उत्तर गलत भएको भेउ पाइसकेको हुन्छ । त्यसैले त, महाभारत अनुशासन पर्व पढ्दै गर्दा ‘सम्भोगका बखत स्त्री-पुरुष कसलाई बढी आनन्द हुन्छ’ भन्ने प्रसंगमा उसले मेरो अनुहारतर्फ हेर्‍यो तर केही सोधेन ।

द्रौपदीको चीरहरणको प्रसंग, दुर्योधनले जाँघ देखाएको प्रसंग होस् वा पाण्डवहरूको गुप्तवासमा सैरन्ध्रीमाथि कीचकका अत्याचारका कथा, छोराले किन भनी प्रश्न गरिरह्यो । तर, मैले ‘समाजका केही मान्छे खराब हुन्छन् र तिनीहरू अरूलाई दु:ख दिन्छन्’ मात्र भनी टारेँ । मेरो यस उत्तरले रावणले सीता हरण गरेको प्रसंगलाई सम्बोधन गर्छ तर राम-लक्ष्मणले सुर्पणखालाई गरेको दुर्व्यवहारलाई भने समेट्दैन । त्यसैले त छोरो ‘राम्रा र खराब मान्छे कसरी छुट्याउने ?’ भनी प्रश्न गर्छ । तर, म सत्ता र शक्तिको आवरणमा हुने अत्याचार र तिनका भक्तहरूले ती अत्याचारीलाई गर्ने देवत्वकरणबारे थप व्याख्या गर्न असमर्थ हुन्छु ।

महाभारत तथा रामायणका पुस्तकमा पटकपटक आएका यौन दुर्व्यवहारका प्रसंगपछि छोराले नै के यो भनेको ‘निर्मला पन्त बलात्कार’ जस्तै हो (?) भनी सोध्यो । निर्मला पन्त बलात्कार र हत्याविरुद्ध आवाज उठेको समयमा होस् अथवा ‘मिटु’ आन्दोलनबारे लेखिएका विभिन्न लेखमा, घरमा छलफल हुँदा ‘बलात्कारको बेला खासमा गर्छन्चाहिँ के ?’ भनी उसले सोधेको थियो । त्यसबेला खराब छुवाइ के हो, मान्छेको स्वतन्त्रताको सम्मान, कसैको स्वीकृतिबेगर कहिल्यै केही नगर्नु आदिजस्ता कुरा गरेकी थिएँ । तर, समाजमा सयौँ वर्षदेखि विद्यमान बलात्कारको शक्ति सम्बन्ध र प्राकृतिक यौनसम्बन्धबारे खुलेर पूर्ण उत्तर दिन सकेकी थिइनँ, अझै सकेकी छैन ।

र अन्त्यमा, विद्यालयमा विद्यार्थीलाई प्रजनन् प्रणालीको पाठ आफैँ पढ भन्ने शिक्षक, टेलिभिजनमा आउने कन्डमको विज्ञापनबारे प्रश्न गर्दा ‘उम्रदैमा तीन पात’ भन्दै हप्काउने अभिभावक र छोराका बालजिज्ञासाको उत्तर दिन असमर्थ मबीच खास केही फरक लागेन । हाम्रा अभिभावकले झैँ ‘ठूलो भएपछि आफैँ बुझ्छौ’ भन्दै बालबालिकाका प्रश्न पन्छाउन त हामी पनि सकौँला तर पनि उनीहरूका जिज्ञासा त ज्यूँका त्यूँ रहन्छन् नै । आदिमकालदेखि अनवरत चलिरहेको प्राकृतिक यौन सम्बन्धको विषय होस् अथवा शक्ति वा कुण्ठासिर्जित बलात्कारजस्तो जघन्य अपराधबारे हाम्रा बालबालिकालाई उनीहरूले बुझ्ने गरी कसरी बुझाउने होला ? यसका लागि सुहाउँदो भाष्य कस्तो हुनुपर्ला ? यसमा पनि ध्यान जानुपर्ने हो कि ? ताकि उनीहरू सही उत्तरको खोजीमा यताउता भौंतारिनु नपरोस् ।

प्रकाशित : जेष्ठ ३, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?