३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नदेखिएको सडक

‘जति गए पनि सेतो हिउँबाहेक केही देखिएन । धेरै पर जाँदा उताका सुरक्षाकर्मीले थाहा पाउलान् भन्ने डर भयो । अनि बीचबाटै फर्किएँ ।’
शरच्चन्द्र वस्ती

‘बर्बादै भो प्रभु ! ’ गुप्तचर-प्रमुख मन्दकर्ण चिच्याउँदै तबेलामै आइपुग्यो । छोटे महाराज र उनका दाजुभाइबीच चलिरहेको दगलफसलमा अल्पविराम लाग्यो । बाहिरी दुस्मन नभेटेर छटपटिएका उनीहरू आपसी भिडन्तमा व्यस्त थिए । कोही पछारिएको, कोही कसैको छातीमा चढेको, एउटाले अर्काको घाँटी अँठ्याएको । लुगा धुजाधुजा भएर भुइँमा छरिएका, जीउ घोडाको लिदीले नचिनिने भइसकेको ।

नदेखिएको सडक

‘के भन्छ यो ? के बर्बाद भो ?’ महाराजले हपारे ।

‘मुलुकमा दुस्मन पसेछ, प्रभु !’

‘दुस्मन’ शब्द सुन्नासाथ उनीहरूको अनुहारमा क्रान्तिकारी चमक छायो । पाँचै जना दाजुभाइ जर्‍याकजुरुक उठेर ‘विदेशी चोर, देश छोड्’ नारा लगाउँदै तबेलाबाहिर निस्कन थाले । सबैको दाहिने मुड्की हावामा लहराइरहेको थियो ।

‘लुगा प्रभु, लुगा...’ मन्दकर्णले हात जोरेर बिन्ती गर्‍यो । महाराज आफ्नो निर्वस्त्र जीउतिर हेरेर झसंग भए, ‘के भएको यो ? कता गए मेरा लुगा ? यसबारेमा त मलाई कसैले रिपोर्टिङ नै गरेन ! ’

घोडालाई पानी ख्वाउन बनाइएको कुण्डमा पसेर सबैले हतारहतार जीउ पखाले र राजसी लुगा लगाई अत्तर छर्कंदै बैठक कक्षमा दाखिल भए ।

‘के भएको हो, राम्ररी भन्,’ महाराजले मन्दकर्णलाई जाहेरीको अनुमति दिए ।

‘सुदूरपश्चिम पहाडतिर कता हो कुन्नि, विदेशीले हाम्रो सरहदभित्र सडक बनाएर गाडी कुदाउन थाल्यो रे ।’

‘सडक बनायो रे ? कस्तो सडक बनायो ? तिमीहरूले देख्या हो ?’

‘खै कस्तो बनायो ! हामीले देख्या होइन । विदेशीले नै भनेर थाहा पाएको ।’

‘कहिले बनाएछ ? हिजोसम्म त चालचुल थिएन । रातभरिमै बनायो कि क्या हो ?’

‘म इस्कुल पढ्दैखेरिदेखि बनाउन थाल्या रे ।’

‘यतिका वर्ष सडक बनाउँदा पनि थाहा नपाउने भए के गुप्तचरी गर्छस् ? सुराकीको त फौज नै छ तँसँग, के गर्छन् तिनीहरू ?’

‘भएजतिलाई त हजूरका दुश्मनकै सुराकीमा खटाएको छु । त्यसैमा भ्याई नभ्याई छ । अरू काम गर्न कहाँ भ्याउनु, प्रभु !’ मन्दकर्णले हात जोड्यो ।

‘कामचोर गुप्तचरहरूले मात्र थाहा नपाएका हुन् । अरू सबैलाई थाहा छ,’ आफ्ना पछाडि पनि सुराकी खटाइएको बुझेर झस्केका महाराजका ज्येष्ठ भ्राताश्रीले नाकका पोरा फुलाए, ‘हाम्रै कति मान्छे त्यहाँ पुगेर आएका छन् ।’

‘मलाई त कसैले भन्दै भनेन...’ महाराजले आदेश दिए, ‘जो गएका हुन्, तिनीहरूलाई पालैपालो हाजिर गराओ । म पनि थाहा पाऊँ न, विदेशीले कस्तो सडक बनाएछन् ?’

एकैछिनमा एउटा खाइलाग्दा तन्नेरी हाजिर भए । ज्येष्ठ भ्राताश्रीको अनुहार उज्यालो भयो । उनले भने, ‘यिनै हुन् सबैभन्दा पहिले विद्यार्थीको जुलूस लिएर खुकुरी नचाउँदै त्यहाँ पुगेर विदेशीको मुटु थर्काउने हाम्रा होनहार युवा नेता । ल भन, त्यहाँ के देख्यौ ?’

‘जान त त्यहीं पुग्ने भनेर गएका थियौं, तर नपुगी फर्कियौं’

उनले कपाल कन्याए, ‘बाक्लो जंगल छिचोलेर जानुपर्दो रहेछ । गाडी नै नछिर्ने ।’

‘पैदल जान सक्तैनथ्यौ ?’

‘त्यो पनि विचार त गरेको हो । तर जंगलभित्र लज, होटल, रेस्टुराँ केही छैनन् भनेर डर देखाए । त्यसमाथि जंगलपारि बन्दूक बोकेका विदेशी हुन्छन् भनेपछि साथीहरूले आँटै गरेनन् । अनि त्यहीं खुकुरी नचाउँदै विदेशीका विरुद्ध गगनभेदी नारा लगायौं । सबै रूख थरर्र भए, पहेंला पात त कति झरे कति । जंगलै थर्केपछि विदेशीको मुटु पनि पक्कै थर्कियो होला ।’

उनीपछि आइपुगेका सेवानिवृत्त सहसचिवले भने, ‘हामी आठ जना विभागीय प्रमुख भ्रमण आदेश लिएर त्यो ठाउँको निरीक्षण गर्न गएका थियौं । तर हाम्रातिरबाट त्यहाँ जाने बाटै रहेनछ । विदेशतिरबाट भए पनि जाने भनेर उता छिरेको, उकालो लाग्ने नाकामा बसेका सुरक्षाकर्मीसँग कुरा भएपछि अगाडि जानै सकेनौं । सडक कहाँ बनाउँदैछन्, कस्तो बनाउँदैछन्, देख्दै पाइएन ।’

‘तिनले हुलहुज्जत गरे कि क्या हो ?’

‘होइन । पहिले त तिनीहरू हाम्रो पोशाक देखेर हाँसे । अनि दुई मुठी बाक्लो ज्याकेट देखाएर ‘तिमीहरूसँग यस्तो ज्याकेट छ ?’ भनेर सोधे । हामीले छैन भन्यौं । त्यस्तैखाले पन्जा र बूट देखाएर ‘यो छ ?’ भने । त्यो पनि छैन भन्यौं । ‘त्यसो भए, त्यहाँ पुग्न १० फुट हिउँमा एक हप्ता हिंड्नुपर्छ, तिमीहरू जान सक्तैनौ’ भने । हामीले आफूसँग भएको कोट, इस्टकोट, स्वेटर, गलबन्दी, कानेटोपी देखाउँदा झन् मरीमरी हाँसे र भने, ‘एक महीना अघि हाम्रा पाँच जना इन्जिनीयर त्यता गएका थिए । तीन जना त फर्किए, ठण्डीले मरेका दुई जनाको लाश लिन हेलिकप्टर पठाउनुपर्‍यो ।’ त्यसपछि त हाम्रो हंसले नै ठाउँ छोड्यो । उनीहरूसँग अनुमति लिएर हतारहतार महाकालीमा स्नान गर्‍यौं र फर्कियौं ।’

उनका कुरा नसकिंदै एकजना मन्त्री बैठक कक्षमा पसेर सोफामा बसिसकेका थिए । ‘तपाईं त हेलिकप्टर चढेर सडक हेर्न जानुभएको अरे नि, के देख्नुभो ? कस्तो रहेछ सडक, मलाई त रिपोर्टिङ नै गर्नुभएन ?’ महाराजले सोधनी गरे ।

‘गएको त हो, तर जति गए पनि सेतो हिउँ बाहेक केही देखिएन । धेरै पर जाँदा उताका सुरक्षाकर्मीले थाहा पाउलान् भन्ने डर भयो । अनि बीचबाटै फर्किएँ । सडक नै नदेखेपछि हजूरलाई के रिपोर्टिङ गर्नु ?’ मन्त्रीले भने ।

‘दुर्बिन लैजानुभएको थिएन ?’ कनिष्ठ भ्राताले जिज्ञासा प्रकट गरे, ‘त्यसबाट हेर्दा जति टाढाको कुरा पनि नजीकै आउँछ नि ! ’

‘दुर्बिन पनि थियो । तर नक्कली परेछ । त्यसबाट हेर्दा त झन् आफ्नै पाइलट पनि टाढा पुगेको देखेर कस्तो आत्तिएँ ।’

‘हाहाहा... दुर्बिन उल्टोतिरबाट हेर्नुभएछ अनि !’ भ्राताले अट्टहास गरे ।

‘जे भो भो, छोड्नोस् । कहिलेकाहीं यस्तै हुन्छ । एकपल्ट विदेश जाँदा म पनि झुक्किएको थिएँ,’ महाराजले भने, ‘त्यहाँको सिडियोले त देख्या होला नि त्यो सडक ?’

त्यतिन्जेलमा भिडियो च्याट गर्न सिडियो कम्प्युटरको पर्दामा हाजिर भइसकेका थिए । महाराजका तर्फबाट मन्त्रीले सोधे, ‘क्या हो हाकिम साब, विदेशीले सडक बनाइसक्यो रे, खबर गर्नुपर्दैन ?’

‘सडक देख्या भए पो खबर गर्नु सर,’ सिडियोले भने, ‘त्यो ठाउँ पुग्न यहाँबाट १० दिन लाग्छ । हिउँ बाहेक केही छैन । न बाटो छ, न गोरेटो । यताबाट आजसम्म कोही त्यहाँ पुगेकै छैन । कसरी जानु र सडक देख्नु ?’

‘त्यो हेर्ने त तपाईंको काम हो नि’ मन्त्रीको स्वर अलि उच्च भयो ।

‘मेरो काम आफ्नो जिल्ला हेर्ने हो सर’ सिडियोको स्वर ओइलाएन, ‘जिल्लाको सीमाना कहाँ हो भनेर सरहरूले पिलर गाडिदिनोस्, त्यसपछि सडक त के शहर नै बनाएको भए पनि त्यसलाई हेर्ने जिम्मा मेरो भयो ।’

मन्त्रीले हतारहतार कम्प्युटर बन्द गरे । युवा नेता र पूर्व सहसचिवलाई विदा गरे र ढोका पनि बन्द गरे ।

‘ल, अब भन्नोस् त, जब कसैले त्यो सडक देखेकै छैन भने हामीले सडकबारे केही कुरा कसरी बोल्ने ?’ महाराजले गाँठी कुरा उठाए ।

‘पत्रकारले देख्या छन्, अखबारमा लेख्या छन्, फोटो छाप्या छन्, के गर्ने गर्ने...’ मन्त्री अन्योलमा थिए ।

‘तिनले लेखेर हुन्छ ? म राज्य हुँ । सडक त राज्यले देख्नुपर्‍यो नि, राज्यसँग औपचारिक आधार हुनुपर्‍यो नि,’ महाराज टसमस हुन चाहेनन् ।

त्यसपछिका दुई घण्टा राज्यले सडक देख्न के गर्ने भन्नेबारे गहन माथापच्चीमा बित्यो । अन्तत: तीनवटा रणनीतिक विकल्पमा सबै जना सहमत भए । तीनवटै विकल्पमा एकसाथ काम शुरू गर्ने निर्णय भयो । ती विकल्प थिए :

क. सडक बनाएको ठाउँसम्म पुग्न तीन वर्षभित्र राष्ट्रिय गौरवको गोरेटो निर्माण गर्ने । (दीर्घकालीन रणनीति)

ख. तीन जना गुप्तचरलाई तीर्थयात्रीको भेषमा विदेश पठाई तीन महीनाभित्र गोप्य रूपमा उक्त सडकबाट यात्रा गराउने । (मध्यकालीन रणनीति)

ग. सडक निर्माण गरेको विश्वसनीय प्रमाण पेश गर्न चुनौती दिंदै तीन दिनभित्र विदेशीलाई नै औपचारिक पत्र पठाउने । (तत्कालीन रणनीति)

बैठक कक्षबाट निस्केर गाडी चढ्न लाग्दा महाराजले मन्त्रीलाई भने, ‘यो निर्णय राज्यले पनि थाहा पाउनुपर्छ । भोलि नै मलाई रिपोर्टिङ गर्नोस् है !’

प्रकाशित : जेष्ठ ३, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?