१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘दासढुंगा’ सुटिङका तीतामीठा सम्झना

तीन दृश्यमा सीमित पात्रलाई स्मरणयोग्य बनाउन सौगात मल्लले जुन सफल मिहिनेत गरे, त्यसले उनीप्रति मभित्र ठूलो सम्मान स्थापित भएको छ । एउटा दृश्यको सामान्य सटका लागि उनले १२८ टेक दिनुपरेको थियो । हिजोआज मनमा प्रश्न उठ्छ- के त्यति धेरै टेक आवश्यक थियो ?
मनोज पण्डित

अमर लामाको पात्रमा थुप्रै अनुहार हेरिरहेका बेला दयाहाङ राईलाई दोस्रो भेटमा एउटा चुनौती दिएँ । दयाहाङले मेरो चुनौतीलाई थोरै मिहिनेत गरेर छोटो समयमै पूरा गरे । पोखरामा हरि पाण्डेको घरमा खाना खाने दृश्य खिच्दा अमर लामा पाएकोमा पूर्ण निर्धक्क भएँ ।

‘दासढुंगा’ सुटिङका तीतामीठा सम्झना

ड्राइभरकै चरित्र निभाउनुपर्ने कलाकारले गाडी चलाउन नजान्नु भने मेरा लागि असहजता थियो । तर, ड्राइभिङभन्दा सहज प्रस्तुति, निर्देशकीय बुझ्ने र अनुशासनमा रहने गुणलाई मैले प्राथमिकता मानेँ ।

मेथोड अभिनय रुचाउने सौगात मल्लले आफ्नो पात्रका लागि धेरै छलफल गरे, मसँग । तीन दृृश्यमा सीमित पात्रलाई उनले स्मरणयोग्य बनाउन जुन सफल मिहिनेत गरे, त्यसले सौगातप्रति मभित्र ठूलो सम्मान स्थापित भएको छ । एउटा दृश्यको सामान्य सटका लागि उनले १२८ टेक दिनुपरेको थियो । तर, उनको धैर्यले जित्यो । हिजोआज मनमा प्रश्न उठ्छ, के त्यति धेरै टेक आवश्यक थियो ? कतै त्यो मेरो अहम् त थिएन ? के सौगातलाई भत्काउन चाहन्थेँ ?

सधैँ सम्मान गरे पनि अनुप बराल सरलाई चुनौतीको पहाड खडा गर्नतर्फ सधैँ उन्मुख रहेँ । उहाँले आफ्नो पात्र-निर्माण गर्न ब्रिटिस गुप्तचर निकायको अध्ययन गरेर ‘ह्याट’ लगाउने प्रस्ताव गर्नुभयो, जसलाई मैले पुनरावलोकन नगरी स्विकारेँ । राम्रै लागेको त्यो ह्याट आज पनि खट्किरहेको छ, मैले त्यसको विकल्प दिएको भए हुन्थ्यो भनेर । फिल्ममा अनुप बरालको पात्रकी श्रीमतीसँगको सम्बन्धलाई पनि न्याय गर्न सकिनँ । म नारी पात्र त्यति बुझ्न नसक्ने रहेछु भन्ने लाग्छ ।

दासढुंगा घटना रहस्यमै सीमित भइसकेको थियो, निष्कर्षर्विहीन थियो । मसँग केवल अमर लामाको मृत्युको घटना मात्र अगाडि थियो, बीचमा ठूलो ग्याप । त्यही ग्याप जोड्न मैले सिजियोफ्रेनियाको मद्दत लिएँ, फिक्सन कस्मेक्सिटीका लागि । ‘दासढुंगा’ फिल्म बनाउन म ‘जेएफके’ र ‘ए ब्युटिफुल माइन्ड’ बाट प्रभावित थिएँ । दासढुंगाको सिजियोफ्रेनियाले मलाई बुझायो- दासढुंगा, दरबार हत्याकाण्डहरूले जनतालाई सिजियोफ्रेनियाको रोगी बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेछ र त्यसबाट मुक्त हुनैपर्छ ।

दयाहाङ राईको सिनेमा अनुभव- दासढुंगा : एक स्टेरिङ

निर्देशकले चलचित्रको दुरुपयोग गर्दै एमालेको पक्षमा दासढुंगालाई षड्यन्त्र प्रमाणित गर्न सफल भएको लेखे, कनकमणि दीक्षितले ‘हिमाल’ पत्रिकामा । उनी दासढुंगा साधारण दुर्घटना हो भन्ने विश्वास गर्छन् । दासढुंगालाई षड्यन्त्र ठान्नेहरूले पनि मलाई गुनासो नै पोखे, षड्यन्त्रकारीको पर्दाफास नगरेकोमा । षड्यन्त्रकारीसँग सम्झौता गरेँ भन्ने शंका पनि छ, कतिपयलाई । दासढुंगाले मलाई प्रशस्त आरोपहरू उपहार दियो तर ‘एमाले भएकै कारण दासढुंगा बनाएको’ आरोपसँग भने आजसम्म पनि भाग्ने गर्छु । मदन भण्डारीलाई देश बदल्न सक्ने सम्भावित सक्षम नेता ठान्नुहुन्थ्यो, मेरा बुबा । दासढुंगा घटनाको दिन उहाँले छाक छोड्नुभयो र ठान्नुहुन्थ्यो- दासढुंगा एक दिन अवश्य खुल्नेछ । ‘दासढुंगा’ फिल्म हेरेपछि अब जनताले त्यो घटना बिर्सिदिनुपर्छ भन्नुभयो बुबाले ।

तर, अध्ययनक्रममा पाएँ- जनताले भन्दा मदनकै पार्टीले दासढुंगा बिर्सिदिएको छ । मदन भण्डारीका पछिल्ला डायरीका लागि विद्या भण्डारीसँग सम्पर्क गर्दा उहाँले हामीलाई लगाउनुभएको आरोप अहिले पनि सम्झिन्छु, ‘मेरो श्रीमान्को नाम बेचेर आफूहरू चर्चित हुन खोजेको हुँदा म कुनै पनि सहयोग गर्दिनँ ।’ उहाँ मात्रै होइन, एमालेका शीर्षस्थ नेताहरूको असहयोगका बावजुद चलचित्र दु:ख-सुखले बन्यो । तर, न दासढुंगाका खेलाडीहरू नाङ्गिएका छन्, न अमर लामाका हत्यारा । म विश्वस्त भएँ- दासढुंगा षड्यन्त्र थियो । र, राजनीतिमा षड्यन्त्र स्वाभाविक हुँदो रहेछ ।

प्रकाशित : जेष्ठ ३, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?