अखबारका पानाबाट भागेर आएको मान्छे

हाम्रो अपार्टमेन्ट परिसरमा बनेका एकैनासका घरहरू कुनै भीषण युद्धमा परेर अभिभावक गुमाएका टुहुरा केटाकेटीझैँ नि:शब्द, टामाटुमी परेर उभिएका छन् । ती घरहरूको ब्लकलाई छुट्याउने सडकहरूमा पार्क गरेर राखिएका विभिन्न ढप-ढाँचाका मोटर-गाडीहरु खोरेतले थला परेका जनावरहरूजस्तै शान्त छन् ।
हरि अधिकारी

दुई दिन भयो म बाहिर निस्किएको छैन । तर, मेरो मनको आँखामा बाहिरको वातावरणको एकदम नै सफा र प्रस्ट तस्बिर छापिएको छ । म प्रस्टसँग देखिरहेको छु- हाम्रो अपार्टमेन्ट परिसरमा बनेका एकैनासका घरहरू कुनै भीषण युद्धमा परेर अभिभावक गुमाएका टुहुरा केटाकेटीहरूझैँ नि:शब्द, टामाटुमी परेर उभिएका छन् ।

अखबारका पानाबाट भागेर आएको मान्छे

ती घरहरूको ब्लकलाई छुट्याउने सडकहरूमा पार्क गरेर राखिएका विभिन्न ढप-ढाँचाका मोटर-गाडीहरू खोरेतले थला परेका जनावरहरूजस्तै शान्त छन् । कैयौँ दिनदेखि मानिसको पाइला नै नपरेका स्विमिङ पुल, टेनिस कोर्ट, अपार्टमेन्ट क्लब हाउस र बालकहरू खेल्ने मैदानहरूमा उदासीको बाक्लो पत्र जमेको छ । यसबीचमा परिसरभित्र हुर्काइएका रूख-बुटाहरूले नयाँ पालुवा हालेका छन् तर तिनमा आएको गाढा हरियो रङमा वासन्ती चमक भने छैन । पारखी मानिसको स्नेहिल स्पर्श नपाउन्जेल प्रकृतिका सुन्दरतम रचनाहरूले पनि आफ्नो नैसर्गिक कान्ति पाउँदा रहेनछन् ।

म लगभग चार घण्टादेखि आफ्नो कोठामा धुम्धुम्ती बसिरहेको छु । लगभग ४ महिनाअघिदेखि मेरो अधिकांश समय १२ फिट चौडाइ र १४ फिट लम्बाइ भएको यही कोठामा बित्ने गरेको छ । यसरी कोठामा एक्लै बस्दा स्मार्ट फोन र ल्यापटप कम्प्युटर समय-कटनीका मेरा साधन बनेका छन् । धेरैजसो म सामाजिक सञ्जालहरूमा अलमलिन्छु । युट्युबमा सिनेमा पनि हेर्ने गर्छु । युट्युब च्यानलले नि:शुल्क उपलब्ध गराएको सुविधाको उपयोग गर्दै प्रख्यात पाकिस्तानी शायर फैज अहमद फैज र भारतीय गीतकार साहिर लुधियानवीका केही अमर रचनाका रेकर्डहरू सुनेर लकडाउनका कारण खर्च गरेर नसकिने गरी थुप्रिएको समयको डंगुरलाई पन्छाउने प्रयत्न पनि गरिरहेको छु म । त्यस क्रममा ती महान् स्रष्टाका रचनालाई मैले एकपटक मात्र होइन, बारम्बार सुनेँ । तिनका रचनामा निहित अद्भुत जादुले गर्दा नै हुनुपर्छ तिनलाई जतिपटक सुने पनि मलाई पट्यार लाग्दैन ।

पाकिस्तानी शायर फैज अहमद फैजका ‘हम देखेंगे...’ र ‘मुझ से पेहेली सी मोहब्बत मेरे मेहबूब न माग’ बोलका दुई नज्मको ममाथि यस्तो जादु चल्यो मैले ती दुवै गीतलाई धेरै दिनसम्म लगातार सुनिरहेँ । यति धेरैपटक सुनेँ, सुन्दासुन्दा मलाई तिनका शब्दशब्द मुखाग्र भएका छन् । यी दुई महान् कविताको दर्पणमा यस युगका महानतम् उर्दू कवि फैजको क्रान्तिकारी विश्व-दृष्टिको सुस्पष्ट र प्रेरक झल्की पनि पाएको छु मैले । फैज अहमद फैजका यी बहुचर्चित र बहुप्रशंसित गीतहरू भारतीय उपमहाद्वीपका नाम चलेका प्राय: सबै गायक-गायिकाले तालिमका क्रममा होस् वा कसैको फर्माइसमै किन नहोस् पटकपटक गाएको हुनुपर्छ । मैले मल्लिका-ए-तरन्नुम बेगम नूरजहाँ, बेगम एकबाल बानो, आविदा परवीन, डाक्टर राधिका चोपडा, ओरुणिमा भट्टाचार्य, टिना सानी र जवाद अहमद गरी ७ जना कलाकारले विभिन्न भेन्यु र अवसरमा गाएका फैजका यी दुई गीतको रेकर्ड सुनेको छु । प्रत्येकपटक तिनले मलाई अभिभूत बनाएका छन् । ती गीत सुन्दा म आफूलाई चेतनाको अर्कै माथिल्लो स्तरमा पुगेको अनुभव गर्छु ।

फैजका शब्दहरूलाई वाणी दिने यी सातै जना दक्षिण एसियाका ख्यातनामा कलाकारहरू हुन् र यिनीहरूले यी गीत गाउँदा जनाब फैजका रचना-सामर्थ्यमाथि न्याय गर्ने पूरापूर प्रयत्न गरेका छन् । मलाई लाग्छ, त्यस प्रयत्नमा उनीहरू धेरै हदसम्म सफल पनि भएका छन् । तीमध्ये कसको गायकी अब्बल लाग्यो भनेर रोज्नुपर्‍यो भने म ‘हम देखेंगे...’ का लागि बेगम एकबाल बानो र ‘मुझ से पेहेली सी मोहब्बत....’ का लागि बेगम नूरजहाँलाई रोज्नेछु । भनिन्छ कवि फैज स्वयं पनि बेगम नूरजहाँको अलौकिकझैँ लाग्ने सुन्दरता र थोरै उदासीको सुसेली मिसिएको मिठासपूर्ण गायकीका ठूला प्रशंसक थिए । त्यसैले उनले आफ्नो बहुचर्चित गीति-रचना ‘मुझ से पेहेली सी मोहब्बत...’ को संगीत संयोजन र गायनसम्बन्धी सबै जिम्मेवारी बेगम नूरजहाँलाई सुम्पेका थिए । नूरजहाँको हृदयमा पनि उर्दू शायरीका बेताज बादशाह फैजप्रति गहिरो अनुराग र आदर थियो । नूरजहाँले आफ्ना मनपसन्द शायरद्वारा सुम्पिएको त्यो जिम्मेवारी आजीवन लगनका साथ पूरा गरेकी थिइन् । जीवनको गोधूलि-बेलासम्म पनि उनी फैज साहबको यो मार्मिक गीत गाउने कुनै पनि अवसरलाई खेर जान दिँदैनथिन् ।

लकडाउनको यो अल्छे अवसरलाई सदुपयोग गर्ने क्रममा मैले प्रख्यात कवि र हिन्दी सिनेमाका लोकप्रिय गीतकार साहिर लुधियानवीका रचनाहरू पढ्ने र हिन्दी सिनेमाका लागि उनले लेखेका केही लोकप्रिय गीत सुन्ने मेसो पनि मिलाएँ । न्वारनको नाम अब्दुल हाई भएका, वामपन्थी रुझानका विद्रोही कवि साहिर लुधियानवीले गधेपच्चिसीमै छँदा बादशाह शाहजहाँले आफ्नी मलिका मुमताज महलको स्मृतिमा बनाएको ताजमहल नामक विश्वप्रसिद्ध कब्रगाहका बारेमा ‘इक शेहन्शाह दौलतका सहारा ले कर हम गरीबों की मोहब्बत का उडाया है मजाक’ भन्ने सनसनीपूर्ण कविता लेखेर हिन्दुस्तानी साहित्य-जगत्मा आफ्नो दरिलो उपस्थिति जनाइसकेका थिए । तर, उनको प्रतिभाको आलोक फैलिन थालेको भने उनले हिन्दी सिनेमाका लागि गीत लेख्न थालेपछि नै हो । फिल्मी गीत सम्बन्धित फिल्मको कथा, परिस्थिति र पात्रहरूको मनस्थितिअनुसार तयार गर्नुपर्ने भए पनि साहिरले आफ्ना हरेक गीतमा कलात्मक वैशिष्ट्य हासिल गर्ने प्रयत्न गरेका छन् र उनी त्यसमा धेरै हदसम्म सफल पनि भएका छन् । आकर्षक विम्व-विधान, सही शब्द चयन, प्रकृतिको लालित्यपूर्ण प्रस्तुति र दीनहीन अकिञ्चन जनताप्रति असीम सहानुभूति दर्साउने गीति-रचनाका कारण साहिर समसामयिक कवि र फिल्मी गीतकारहरूको पंक्तिमा अलग्गै र बेग्लै चमकका साथ उभिन्छन् ।

साहिर लुधियानवीले सयौंको संख्यामा हृदयस्पर्शी कविता, गीत लेखेका छन्, तिनलाई यस सानो लेखमा उद्धृत गरिरहन सम्भव छैन । उनले लेखेका मार्मिक गीतहरूको बान्कीका रूपमा गुरुदत्त पादुकोणको क्लासिक ‘प्यासा’ को ‘ये कूचे, ये नीलामघर दिलकशी के, ये लुटते हुए कारवा जिन्दगी के, कहाँ है कहाँ है मुहाफिज खुदी के ? जिन्हे नाज है हिंद पर कहाँ है ?, सोहनसिंह ग्रेवाल ‘नजर’ को सांगीतिक फिल्म ‘शगून’ को ‘तुम अपना रंजोगम अपनी परेशानी मुझे दे दो’ र ‘पर्बतों के पेडो पर शामका बसेरा है’ र यश चोपडाको रोमान्टिक ड्रामा ‘सिलसिला’ का लागि लेखेको ‘मैं पल दो पलका शायर हुँ पल दो पल मेरी कहानी है, पल दो पल मेरी हस्ती है’, ‘मुझसे पहले कितने शायर आए और आकर चले गए, कुछ आहें भरकर लौट गए, कुछ नगमें गाकर चले गए’ जस्ता केही पंक्तिहरू दिन सकिन्छ । यी गीतहरूले साहिरको उच्च कल्पनाशीलता र उत्कृष्ट काव्यिक शिल्पको झलक दिन्छन् ।

गीत, संगीत र सिनेमाको दुनियाँबाट बाहिर निस्किएर कम्प्युटरमा केही लेख्ने अभ्यास पनि गर्न खोज्छु । पहिलेपहिले मलाई लाग्थ्यो, लेख्नका लागि मैले पर्याप्त समय पाइरहेको छैन । मसँग कुनै झन्झटबिनाको फुर्सदिलो समय पर्याप्त हुँदो हो र लेख्न बसेको बेलामा आएर अलमल्याउाने तत्त्वहरू हुँदैनथे भने म खुरुखुरु कति धेरै लेख्न सक्थेँ होला । तर, अहिले घरको चारदिवारीभित्र बन्दीझैँ दिन बिताउनुपरेर आफूसँग समय छेलोखेलो भएपछि पो मलाई थाहा भयो, फुर्सद हुँदैमा लेख्न सकिने होइन रहेछ । फुर्सदको समय कसरी प्राप्त भएको हो र कुन ठाउँमा कस्तो परिस्थितिमा बसेर त्यस समयको उपयोग गर्न खोजिँदै छ भन्ने कुराले लेख्न सक्ने कि नसक्ने भन्ने कुराको निर्क्योल गर्ने रहेछ । लेख्नका लागि समय र फुर्सद त चाहियो नै तर आफूलाई चित्तबुझ्दो किसिमको स्तरीय कृतिको सिर्जना गर्न यी दुई तत्त्वभन्दा पनि आवश्यक हुँदो रहेछ सर्जकमा रचनात्मक एकाग्रता ।

कोभिड-१९ को महामारीले फैलाएको आतंकले अधमरो भएको एउटा निरीह लेखकले लकडाउनको कैदमा बसेर के लेखोस् ? कसरी लेखोस् ? ल्यापटप कम्प्युटरमा एउटा नयाँ फोल्डर बनाएर अल्याङ-टल्याङ गरिरहेको मेरो मनमा यिनै प्रश्नहरू छड्किरहेका छन् । केही लेख्नु छ भन्ने कुरा दिमागले बारम्बार सम्झाइरहेको छ तर एक वाक्य पनि राम्रोसँग टाइप गर्न सकिरहेको छैन । मेरो चेतनामा नयाँ सिर्जनाको झिल्काझिल्कीसम्म पनि देखापर्न सकिरहेको छैन । दिल र दिमागमा जीवनप्रति सन्देह र मृत्युको सामर्थ्यका बारेमा रन्थनमन्थन चल्न थालेको छ । प्रत्येक दिन मरिरहेका र मृत्युको निष्पट्ट अँध्यारो सुरुङमा पस्न बिस्तारै अघि बढिरहेका हजारौँ नरनारीका अस्पष्ट अनुहारहरूको गुजुमुज्ज परेको कोलाजले लखेटिरहेको मेरो चेतनामा आजभोलि आफूले केही वर्षपहिले लेखेको एउटा कविता चियाउन आइरहन्छ ।

अघिल्लो दिनसम्म सारसौंदो रहेको मान्छे अचानक अखबारको पानामा टाँगिएको देखेर स्तब्ध भएको मैले लेखेको ‘अखबारका पानाबाट भागेर आएको मान्छे’ शीर्षकको त्यो कविता यस्तो थियो : अखबारका पानाबाट भागेर आएको छ/थाहै नदिई सुटुक्क मरेर गएको मान्छे/ऊ अखबारको पानाबाट जुरुक्क उठ्छ र/बेमनसँग बाँचिरहेको अर्को मान्छेको कानमा/चीसो साउती गर्छ/घरको जस्केलामाथि झुन्डिएको छ/अखबारबाट बाहिर निस्किएको त्यही मान्छेको आकृति/उसको जिभ्रोमा फैलिएको छ-अन्तिम भोजको तीखो र दुर्गन्धमय स्वाद/समवेदनाका हरफहरूमा पुरानो वेस्टकोटझैं/झुन्डिनबाट आफूलाई बचाउँदै र/माखेसाङ्ग्लोझैँ बेरिएका बाटाहरूको जञ्जालमा/हराउँदै-भेटिँदै, भेटिँदै-हराउँदै/हिँडिरहेको देखिन्छ अर्को एउटा मान्छे/आफैँलाई बलियोसँग कसेर आफ्नै अँगालोमा/सुरक्षित निदाइरहेको तेस्रो मान्छेलाई/चीसो प्रेमको कठोर र भयप्रद भाषामा बोलाउँदै/अखबारका पानाबाट भागेर आएको त्यही मान्छे/अलि पर अँध्यारोमा उभिएर/खितखित खितखित हाँसिरहन्छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?