१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माटोदेखि माटोसम्म

जीवनले दिने आनन्द हामीले लिनै सकेका छैनौं किनभने हामीले माटोसँग धीत मर्ने गरी खेलेकै छैनौं । जीवन जसरी बाँचिनुपर्ने हो, त्यसरी बाँचिएको छैन ।
सरला गौतम

विपश्यना ध्यानका गुरु आचार्य गोयन्काले सुनाएको एउटा कथा छ । एक जना पिताले चार दाना धानको बीउ जोगाएर राखेका हुन्छन् । एक दिन चार जना बुहारीलाई बोलाएर भन्छन् ‘जसले यो चार दाना बीउ जतनले पाँच वर्षसम्म राख्न सक्छ, उसैलाई म सन्दुकको चाबी सुम्पिन्छु ।’ चारमध्ये पहिलीले ‘ह्या यो बूढोको पारा’ भन्दै बीउ मिल्काउँछिन् । दोस्रीले चाबीको लोभमा धानको दाना बाकसमा लुकाउँछिन् ।

माटोदेखि माटोसम्म

तीन नम्बरकी बुहारी सोच्छिन्- बूढाले यसै यो कुरा भनेनन्, पक्कै यो दानामा केही रहस्य छ । खाएपछि फलिपाप होला भनेर खाइदिन्छिन् । चार नम्बरकी बुहारी खेतमा जान्छिन्, बीउ जमाउँछिन् । बीउबाट बोट बन्छ । बोटबाट असंख्य बीउहरू । अनि पूरै खेत लहलह बन्छ । काटेर गोदाममा थन्क्याउँछिन् । पाँच वर्षपछि पिताजीले सबैसँग बीउको खबर सोध्छन् । सबैले आफ्नो बीउको कथा भन्छन् । चौथो नम्बरकी बुहारीले ‘तपाईंको बीउ हेर्न जानुस्’ भनी गोदामको चाबी दिन्छिन् । ससुरा भन्छन्, ‘एक यो बुहारी कामकी रहिछ ।’ सन्दुक र गोदाम दुवैको चाबी कान्छीले समाउँछिन् ।

बीउ जोगाउने, बाली फैलाउने, जीवनको रक्षा गर्ने प्राकृतिक नियममा हिजो हजुरआमाहरूको पकड थियो । आजको संसारमा यो हक उनीहरूबाट खोसिँदै छ । प्रकृति र खेतीमाथि पकड राख्ने महिलालाई किसान भन्न पनि गाह्रो मानिन्छ । अधिकांश पेसागत शब्दको भाषिक कनोटेसन पुलिंगी भएजस्तै किसान शब्दले पनि महिलाप्रति कम इंगित गर्छ । किसानी कर्मलाई निर्मम नाफा-घाटाको संसारमा परिणत गर्न लागिपरिरहेका मानिसहरूको ज्ञानलाई सर्वोच्च मानिएको छ ।

भारतीय पर्यावरणविद् बन्दना शिवा भन्छिन्, ‘वर्षमा दुई लाख किसानले आत्मदाह गर्ने देश समृद्धिको बाटोमा छ भन्न मिल्दैन । विश्वमा कुनै पनि देशको शक्ति र चमकको मानक किसानको जीवनको उन्नतिलाई मानिनुपर्छ । शक्तिशाली राष्ट्रको परिभाषा मेजर गर्ने स्केल किसानको जीवन हुनुपर्छ ।’ शिवाले भनेजस्तो परिदृश्य भेट्न मुस्किल छ । अहिलेसम्म किसानबारेका सामग्री सञ्चारमाध्यमका कुनोमा लुकाइएका हुन्छन् ।

संसारको आँखा उनीहरूमा कसरी परोस् १ खेतबारी हुनु, आफ्नो उब्जनी हुनुको महत्त्व अहिले कोरोना संकटले सम्झाउँदै छ । मानिसहरू घरघरबाट प्रकृति नियालिरहेछन्, जमिन नहुनेहरू पनि कौसी खेतीतिर लागिरहेका देखिन्छन् । लेखक जीवन राईले सामाजिक सञ्जालमा लेखे, ‘हामीसँग मकैको बीउ पनि रहेनछ भन्ने कुरा कोरानाले थाहा दियो ।’ कहाँबाट हाम्रो खाना आउँछ, खानाका बीउहरू कहाँ छन् हामीलाई मन्द होस आउँदै छ । सन् २०१९ को ‘टाइम म्यागेजिन’ ले किशोरी पर्यावरण अभियानकर्ता ग्रेटा टुनबर्गलाई वर्ष व्यक्तिको रूपमा कभर गर्‍यो । यसले अबको संसारमा को प्रभावशाली व्यक्ति भन्ने मानक बदल्ने संकेत गरेको छ । त्यस कभरेजलाई लिएर ट्रम्प र उनका समर्थकले चर्को प्रतिक्रिया गरे । उनीहरूको कमजोर हृदय हल्लियो । प्रभावशाली व्यक्ति को भन्ने मानक अब भत्किन सुरु हुनैपर्छ । संसारमा अहिले हाबी भएको आर्थिक संरचनाले मानिसलाई आइसोलेसनमा काम गर्न बाध्य पारेको छ । मानिस समूहमा रमाउने प्राणी हो । उसको सामाजिक-पारिवारिक जीवन खोसिएको छ । श्रमिकहरूको हातबाट जीवनप्रतिको स्वामित्व खोसिएको छ । यसको खास कारण माटोसँगको उसको आत्मनिर्भर सम्बन्ध नहुनु नै हो । मान्छेले आफ्नै जीवनमाथि अरूको राज सहेर बसेको छ । गान्धीले भनेजस्तै स्वराजमा फर्कन मानिस माटोमै फर्कने हो ।

आजको समयमा एकै परिवारका सबै मानिस आफ्नो खेतीबारीको काममा हुनु भनेको दुर्लभ दृश्य छ । तर, आधारभूत जीवनशैली त यही हुनुपर्थ्यो । यहीबीच सामाजिक सञ्जालमा एउटा भिडियो देखियो— नेपाली श्रमिकलाई भारतीय अधिकारीहरूले अपमान गरेको । देशको माटोले मान गुमाएपछि मानिसको मान कसरी रहोस् १ उनीहरूलाई गरेको अपमानको रापले हामी सबैलाई पोल्यो । साना-साना किसानले सजाएको सुनौला संसार उजाड हुँदै गए । मानिसहरू जीविकाका लागि लाखापाखा लागे । पारिवारिक सामाजिक जीवन मात्र होइन, आत्मसम्मान नै धरापमा परिरहेको छ । हामीले गुमाइरहेका छौं— ओल्लो घर, पल्लो घर बोल्दै हिँड्ने हँसिला मानिस । हराभरा गाउँघर, रमाइला आँगन र गुञ्जायमान रोधीघर ।

दशकअघि भारतीय खाद्य अधिकारकर्मी रुक्मिणी रावसँग प्रशिक्षण लिने मौका मिलेको थियो । उनले बताएको खाद्य सम्प्रभुता र भारतीय किसानको आत्महत्याको प्रसंग मस्तिष्कमा घुमिरहन्थ्यो । लगभग सोही समयमा भेट भएका पत्रकार पी. सैनाथले यसलाई थप प्रस्ट पारिदिएका थिए । अधुरो ज्ञान मस्तिष्कमा थियो । जब अकबरे खुर्सानीको बीउ जमाएर बिरुवा हुर्केको हेरें, यही सानो उपलब्धिले हृदयमै बोध पुर्‍याइदियो । माटो र बीउसँग जोडिएको आफ्नो जीवनको पाटो बुझ्न हातमा माटो लतपतिनैपर्ने रहेछ । हातमा आफ्नो बीउ हुनु भनेको अभूतपूर्व स्वतन्त्रता रहेछ । यति सानो कुरामा स्वतन्त्रताको कति ठूलो अर्थ लुकेको रहेछ । यो थाहा पाएर म साँच्चै खुसी भएँ ।

मेरो एक जना मित्रले जागिरको सिलसिलामा तीन महिनासम्म पानीजहाजमा यात्रा गरिन् । संसारका सबै सुविधा भोगिन् । जहाजमा केवल मानिसहरू थिए । पानीमाथि हिँडिरहने जहाजमा माटो र अरू प्राणी थिएनन् । काम सकिएपछि उनको जीवन जमिनमा फर्कियो । उनले बारीमा मुसाहरू दगुरेको देखिन् । मुसा देखेरै खुसी भइन् । मसँगको संवादमा भनिन्, ‘हेर मानिसलाई खुसी हुन पैसा र सुविधा मात्र होइन मुसा, साङ्ला र गँड्यौला पनि चाहिने रहेछ ।’ हामीले हेपेका जीवहरूको अभावले पनि हाम्रो जीवन सुनो हुने रहेछ । माटोमा चलिबस्ने जीवजन्तु हेर्न आँखा न्यास्रिने रहेछन् । हाम्रो सुख माटोले नै बोक्ने रहेछ । पहाडले पनि जमिन छोड्यो भने त्यो केवल ढुंगा-माटोको थुप्रो हुन्छ । जमिनमा उभिएको हाम्रो जीवनको अस्तित्वको आधार पनि जमिन नै हो ।

संसारमा अहिले आधुनिक सुखसयलका कत्ति विषय बन्द भए १ मानिसहरूलाई फरक परेन । तर हावा, पानी, माटो र माटोले दिने उब्जनी सकिएको दिन के होला हाम्रो जीवन ? मानिसको जीवन माटोदेखि माटोसम्म नै हो ।

सन् २००९ मा सिरियामा ठूलो खडेरी भयो । मौसम परिवर्तनले कृषिमा हान्यो । धेरै मानिस कृषि कर्मबाट विमुख भए । गृहयुद्धको चपेटामा पनि उनै थिए । सिरिया कृषिको आधारभूमि मानिएको देश हो । मकै, गहुँ, जौको भण्डार । यस्तो सुनौलो भूमिका बालबच्चा बाउ-आमाका काखमा च्यापिएर हिँडेको दृश्यले विश्व हल्लायो । ९ लाखभन्दा बढी सिरियन शरणार्थी बने । सिरियाका ऐलान नाम गरेका बालक टर्कीको समुद्री किनारमा घोप्टो परिरहेको मृत अवस्थामा भेटिए । यो दृश्यले विश्व रोयो । पर्यावरणविद् बन्दना शिवा भन्छिन्, ‘नामजस्तै ऐलान एउटा अभूतपूर्व सन्देश हुन् संसारका लागि । तेलको युग सकियोस् ताकि माटोको युग सुरु होस् । उनको सन्देश यही हो ।’ माटोमा मिल्दै गरेको ऐलानको कोमल देहले संसारलाई माटोमा फर्कन उद्घोष गरेर गयो । कोरोना संकट एउटा यस्तै महावाणी हो, प्रकृतिको । अब हामीले प्रकृतिलाई जीवनसँग जोडेनौं भने हाम्रो अस्तित्व धरापमा पर्नेछ । मानवशास्त्री मेरि डेसनले केही समयअघि एक अन्तर्वार्तामा भनिन्, ‘प्रकृतिलाई पनि माया गर्ने समाज व्यवस्था हामीलाई चाहिएको छ ।’

हाम्रो शरीरको केही अंग माटोमा राखिदिने हो भने त्यो माटोसँगै मिसिएर माटै बन्छ । माटोसँग खेल्दा अचानक मानिसको मुहारमा खुसी फर्केर आउने, मुस्कान लयमा आउने हुँदो रहेछ । आफ्नो अस्तित्वसँग मिलेकोमा हाम्रो शरीरका कोषहरू खुसी भएका होलान् । हाम्रो आयातित बौद्धिकताले ठानेभन्दा भिन्न विषयमा हामी किन अचानक रमाउँछौं भन्दा हाम्रो शरीरको प्राकृतिक माग अर्कै होला । यसकारण हाम्रो उपलब्धिको चाङ र खुसीको रेसियो मिलिरहेको देखिन्न ।

यशोधराको जीवन-कथा पढिरहेकी थिएँ । राजा सुद्धोधनकी श्रीमतीले प्रसव पीडाको कारण देह त्याग गर्छिन् । राजा यति विरहमा डुब्छन्, त्यो पीडाबाट बाहिर आउनै सक्दैनन् । अन्तत: उनी आफ्नो निजी बगैंचामा समय बिताउन थाल्छन् । बगैंचामा समय बिताउन थालेपछि मात्रै राजाको होस फर्केर आउन थाल्छ । काम पर्‍यो भने पनि उनका मन्त्रीहरू बगैँचामै भेट्छन् । अति विरहमा पुगेका मानिसलाई पनि माटोको स्पर्शले जीवनमा फर्काउने रहेछ । माटोमा लुकेको जीवनको रहस्य माटै नछोई कसरी भेटिएला र १ माटोमा मन गड्न सक्यो भने सुखको रहस्यमयी यात्रा सुरु भयो भन्ने बुझे हुन्छ ।

मानिसहरू सहर-बजारका साना आपर्टमेन्ट अझ कति त एक-दुईवटा कोठामै जीवन बिताइरहेका हुन्छन् । जैविक फोहोरको थुप्रो लाग्छ । कहिलेकाहीँ भनेको बेला नगरपालकिकाको मोटर आउँदैन । यस्तो बेला थुप्रिएको फोहोरको गन्धले दिमागको शक्ति नै खाइदिन्छ । फोहोर व्यवस्थापन गर्न प्रशस्त ठाउँ हुँदैन र समस्यामा परिन्छ । सानै ठाउँमा पनि छेउ-कुनातिर गमलाहरू, पुराना बाल्टीहरू, बाटाहरूमा केही रोपिएको छ भने यो दु:ख कम हुन्छ । किचन बगैँचा वा कौसी बगैँचा बनाउने थोरै मात्र ठाउँ छ भने सुनमा सुगन्ध भइहाल्यो । अब आफ्नोवरिपरिको ठाउँलाई थोरै र सानो भनेर हेला गर्नुभएन । न्युयोर्कलगायतका सहरका साना अपार्टमेन्टमा बस्नेहरूले कोठालाई नै जंगलमा बदलेका दृश्यहरू युट्युबमा छ्यापछ्यापी छन् । आफ्नो करियर निर्माण गर्दै गर्दा माटोको स्पर्शबाट हामी परपर पुगेको छौं । यस्तो बेला स-साना ठाउँमा ठूला रहर सजाउनु नै एउटा उपाय हो । माटोसँगको सामीप्य पाएपछि हृदयको रस फर्किन्छ । डस्ट टु डस्ट, माटोमै मिलेर जाने देह भएकाले त माटोमा हातका औंलाहरू चलिरहँदा मन नाचिरहेको हुन्छ, मन हाँसिरहेको हुन्छ । माटोमा खेल्नु हाम्रो लत भइदियो भने धरती कति खुसी होलिन् !

कुनै बेला वरिपरि हेर्दा कतै पनि माटो नदेखेर छट्पटिन्थें । गमलाहरूमा भर्न पनि माटोको अभाव हुन्थ्यो । किनेको माटोमा भान्साको फोहोर मिसाएर यसको आयतन बढाउन थालें । फोहोरहरू जम्मा गरी माटोमा पुरेर माटो बनाई निकाल्दा जादु गरेजस्तो लाग्न थाल्यो । भान्साबाट निक्लेको फोहोरले कमपोस्ट बनाउनु संसारकै सेक्सी कुरा हो भन्छन् अमेरिकन गार्डनर रोन फिन्ले । आहा १ कस्तो जादुमयी रूपान्तरण । आफ्नो कारणले माटोको आयतन बढ्यो । राम्रो खान पाएर माटो पनि रमायो । अब उसले बिरुवाहरूलाई आफ्नो जीवन दिनेछ । माटो छोइरहँदा माटोको शक्ति आफ्नै शरीरका कोष कोषहरूमा फैलिनेछ र हाम्रो शक्तिलाई दसौं गुणा बढाइदिन्छ । नगरपालिकाले फोहोरका लागि सिठी फुक्दै आउँदा ‘आई एम सरी’ भन्न पाइन्छ । डा. उपेन्द्र देवकोटा भन्ने गर्थे, ‘आफूले खाने तरकारी आफैँ उब्जाउनुको आनन्द भन्नै सकिन्न ।’ जीवनले दिने आनन्द हामीले लिनै सकेका छैनौं, किनभने हामीले माटोसँग धीत मर्ने गरी खेलेकै छैनौं । जीवन जसरी बाँचिनुपर्ने हो, त्यसरी बाँचिएको छैन ।

कटिङ गरेका हाँगाले जरा निकाल्दा, जमाएका बीउहरू बिरुवा बन्दा, हुर्केका बोटहरूले फल र फूल दिन थाल्दा धरती आफैंसँग रमाइरहेको हुन्छ । चुल्होमा कराई बसालेर फुत्त निक्लेर, टप्प-टप्प खुर्सानी टिपेर तेलमा पड्काउनु ! उन्मत्त भएर फलेको राता-राता गोलभेंडालाई टप्प-टप्प टिपेर तरकारीमा हाल्नु ! मन्किएका लसुन प्याज, पुदिना र धनियाँले भान्सा नै मगमग बनाउनु ! यही त हो संसारको जादु ! किन नबन्ने जादुगर !

प्रकाशित : जेष्ठ ३, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?