दानको प्रचार : कति जायज ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दानको प्रचार : कति जायज ?

दानको फराकिलो आयाम यसको मानवीय पाटोमा मात्रै सीमित छैन । ‘दुःखीका घाउमा मल्हम लगाउने होडबाजी’ मा यसको विद्र्रूप पक्ष पनि बारम्बार सतहमा आउने गरेको छ । अप्ठेरामा परेकाहरुलाई एक कोसो केरा वा एक प्याकेट चाउचाउ ‘हस्तान्तरण’ गरी खिचाएका सामूहिक तस्बिर भाइरल बनिरहेछन् ।
सुजित मैनाली

विपत्ति मान्छेलाई संकटमा पार्नै आउँछ, महामारी होस् वा अनिकाल । अरू नै प्राकृतिक तथा मानवसिर्जित विपत्ति पनि हुन सक्छ । तर, यस्तै विषम स्थितिले मानिसलाई हार्दिक बन्ने अवसर पनि दिलाइरहेको हुन्छ । र, यो हार्दिकता नियाल्ने प्रमुख माध्यम हो– दान ।

राहत, चन्दा, अनुदान भनूँ वा सहयोग १ जुन रूप र शब्दमा बेरिएर आए पनि त्यो दान नै हो । अहिलेको कोरोनाको विश्वव्यापी महामारीमा पनि दान टोलटोलमा पुगिरहेकै छ, दाल–चामलका बोरा अनि नुन–तेलका पोका बनेर । संकटको यो घडीमा हामी यसको महत्त्व अझ नजिकबाट महसुस गरिरहेका छौं ।

दानको फराकिलो आयाम यसको मानवीय पाटोमा मात्रै सीमित छैन । ‘दुःखीका घाउमा मल्हम लगाउने होडबाजी’ मा यसको विद्र्रूप पक्ष पनि बारम्बार सतहमा आउने गरेको छ । २०७२ सालको भूकम्पमा यस्तै पक्षको साक्षी बसेका हाम्रासामु कोरोनामा पनि त्यसको पुनरावृत्ति जारी छ । अप्ठेरामा परेकाहरूलाई एक कोसो केरा वा एक प्याकेट चाउचाउ ‘हस्तान्तरण’ गरी खिचाएका सामूहिक तस्बिर भाइरल बनिरहेछन् । यस्ता अतिप्रचारमुखी दानलाई देय अर्थात् दानबापत दिइने वस्तुले नभई दाताको अभीष्टले ‘विद्रूप’ तुल्याएको चर्चा चलिरहेछ ।

विद्रूपताको कारण

अप्ठेरोमा परेकालाई आफूसँग भएको सामग्री दिएर हार्दिकतापूर्वक गरिने सहयोगलाई दान भनिन्छ । मानिसको आदिम मनोवृत्तिबारे लेखाजोखा गर्नेहरूले मानिस मूलतः स्वार्थी हुने बताउने गरेका छन् । ‘तरुण तपसी’ मा लेखनाथ पौड्यालले लेखेको ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ’ हरफले मानिसको त्यस्तै मनोवृत्तिमाथि प्रकाश पार्छ । मानिसको यस्तो स्वभावलाई सिद्धान्तको रूप दिने क्रममा १७ औं शताब्दीका बेलायती चिन्तक थोमस हब्सले हरेक दोस्रो व्यक्तिलाई शत्रु देख्नेगरी मानिस नैसर्गिक रूपमै एकलकाँटे, स्वार्थी र हिंस्रक प्रवृत्तिको हुन्छ भनेका छन् । यस्ता खालका दाबीलाई दानसम्बन्धी सामाजिक अभ्यासले भने खण्डित गर्छ । संस्कृत वाङ्मयमा दानको अर्थ काट्नु, विभाजन गर्नु, बाँड्नु पनि हो भनिएको छ । आफ्नो भाग काटेर अरूलाई अर्पण गर्ने व्यक्ति एकलकाँटे, स्वार्थी हुन सक्दैन । मानिस मूलतः सामाजिक प्राणी भएकैले दानमार्फत अभिव्यक्त हुने व्यक्तिको सामाजिक दायित्वले संसारभरि मान्यता पाएको छ ।

हार्दिक भावसहित गरिने दानलाई विद्रूप नमानिनुपर्ने हो । यद्यपि अतिप्रचारमुखी भएर गरिने दानको आलोचना हुँदै आएको छ । नेपाली समाजमा प्रचारसहित गरिने दानको आलोचनापछाडिको कारण बुझ्न दानसम्बन्धी हामीकहाँ प्रचलित अवधारणा र दैनन्दिन्यको अभ्यासबीच तुलना गर्न आवश्यक छ ।

दान परोपकारी भावको परिणाम हो । यद्यपि यो परोपकारी भावमा मात्रै सीमित छैन । आदर्शवादी कोणबाट गरिने दानको व्याख्याले परोपकारी भावलाई बढ्ता जोड दिने गरेको छ । तर, दानका अन्य आयाम पनि छन्, जसलाई दार्शनिक, मनोवैज्ञानिक आदिले आ–आफ्नै तरिकाले व्याख्या गरेका छन् । समाजशास्त्रीहरूले पनि पछिल्लो समय दानसम्बन्धी व्याख्यामा अभिरुचि देखाउन थालेका छन् । दानबारे लेख्ने समाजशास्त्रीहरू दानको ध्येयबारे चर्चा गर्ने क्रममा यसका मुख्यतः तीनवटा प्रकारमाथि केन्द्रत हुने गरेका छन् ।

पहिलो हो- परोपकारी भाव सन्निहित दान । आफ्नो हितप्रति बेपर्वाह रही व्यक्तिगत लाभको आश किञ्चित नगरीकन गरिने दानलाई यस श्रेणीमा राखिन्छ । दोस्रो हो- व्यक्तिगत स्वार्थजनित दान । उद्योगी–व्यवसायीले संकटको बेलामा अप्ठेरामा परेकाहरूलाई गर्ने सहयोग यही श्रेणीअन्तर्गत पर्छ । खानी सञ्चालन हुने ठाउँमा खनिज उद्योग सञ्चालकहरूले विद्यालय, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी आदि निर्माण गर्नु यस किसिमको दानअन्तर्गत पर्छन् । ठोस प्रतिफलको अपेक्षासहित यस्तो खालको दान गर्ने गरिन्छ । आफ्नो सामाजिक हैसियत अथवा इज्जत अभिवृद्धि गर्ने उद्देश्यले गरिने दानलाई पनि यही श्रेणीमा राख्न सकिन्छ ।

दानको तेस्रो प्रकारमा सामाजिक चरित्र बढ्ता प्रभावी छ । यस्तो दानलाई पारस्परिकताजनित दान भनिन्छ । आज अरूलाई गरिने दान प्रतिफल बनेर भोलिका दिनमा पुनः आफूलाई प्राप्त हुन्छ भन्ने मान्यताले पनि मानिसलाई दान गर्न प्रेरित गरिरहेको हुन्छ । मरिमराउमा सिधा पुर्‍याउने आम प्रचलन यस्तै खालको दानको एउटा उदाहरण हो । यस प्रकृतिको दान संसारमा बढी प्रचलित छ । फ्रेन्च समाजशास्त्री मार्सेल माउसले आफ्नो किताब ‘द गिफ्ट’ मा यस्तो खालको दानको विस्तृत चर्चा गरेका छन् । आज संकटमा परेकालाई मैले सहयोग गरेँ भने भोलि मलाई अप्ठेरो पर्दा अरूहरूले पनि सहयोग गर्नेछन् भन्ने आशाले मानिसलाई दान गर्न प्रेरित गरिरहेको हुन्छ । आफन्त, छरछिमेक, इष्टमित्र आदिलाई मर्दापर्दा गरिने सहयोग यस्तै खालको दानको अर्को उदाहरण हो । महामारीजस्ता विपत्तिमा गरिने दानमा पनि यस्तै भाव सन्निहित हुन्छ । यस्तो खालको दानले व्यक्तिलाई समाजसँग बलियोसँग जोडेको हुन्छ ।

माथि उल्लिखितमध्ये पहिलो प्रकृतिको दान नेपाली समाजको पनि आदर्श हो । गाउँघरतिर भन्ने गरिन्छ- दाहिने हातले दिएको देब्रे हातले पनि थाहा नपाओस्, नत्र दानबापत हासिल हुने पुण्य नष्ट हुन्छ । अर्थात् म फलानालाई दान दिने हैसियतको हुँ, ऊ याचक हो, मैले उसको कल्याण गरिदिएकाले ऊ मप्रति अनुगृहीत हुनुपर्छ भन्ने भाव दातामा रहनु हुँदैन । दान अथवा सरसहयोग गर्दै गर्दा व्यक्तिमा आत्मसन्तुष्टि हुनु एउटा कुरा हो, तर यसले अहंकारको रूप लिनुलाई वाञ्छनीय मानिँदैन ।

जीवन आदर्शबाट चल्दैन । यो जीवनकै तितो यथार्थ हो । विवेकशील प्राणी हुनुका नाताले मानिसले लाभहानिको गणनासहितको व्यावहारिक जीवन बाँच्ने गर्छ । दानको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । नेपाली समाजमा प्रचलित दानसम्बन्धी अवधारणा र यसको अभ्यासबीचको भेद नियाल्न सक्यौं भने दानलाई लिएर देखापरिरहेको अन्तर्विरोधलाई गहिरोसँग बुझ्न सकिन्छ ।

विचारको स्रोत

दानसम्बन्धी नेपाली समाजमा प्रचलित धारणा धार्मिक मान्यताबाट धेरै हदसम्म प्रभावित छ । हिन्दु धर्ममा रहेको दानसम्बन्धी अवधारणाको विश्लेषण गर्ने लेखकमा मानवशास्त्री डोरबहादुर विष्ट पनि पर्छन् । आफ्नो किताब ‘फ्याटालिजम् एन्ड डेभलोपम्यान्ट’ मा उनले दानसम्बन्धी हिन्दु मान्यताबारे चर्चा गर्ने क्रममा परस्परविरोधी विचार राखेका छन् । एउटा सन्दर्भमा उनले जोगी, संन्यासी र बाहुन (पुरेत) लाई दान दिने चलन हिन्दु धर्मले संस्थागत गरिदिएको भनेका छन् । आफ्नो कुरा आफैँले काट्दै विष्टले किताबमा त्यसलगत्तै कसैलाई दान दिनुलाई हिन्दु धर्मले मान्यता नदिएको जिकिर गरेका छन् । हिन्दु धर्ममा पुनर्जन्मको अवधारणा छ । यसले पूर्वजुनीमा गरेको कर्मका आधारमा मानिसको अहिलेको जुनी तय भएको हो भन्ने मान्यता राख्छ । पूर्वजन्ममा गरेको दुष्कर्मका कारण मानिसले यो जन्ममा दुःख पाएको हो । त्यस्ता मानिसलाई सहयोग गर्दा कर्म–फलसम्बन्धी सनातन हिन्दु मान्यतालाई आघात पुग्छ भन्ने विष्टको मत छ । हिन्दु धर्मग्रन्थमा गरिएका दानसम्बन्धी व्यवस्था हेर्ने हो भने विष्टको यस्तो दाबी सही ठहर्दैन ।

दानको महिमाबारे हिन्दु धर्मशास्त्रमा प्रशस्तै उल्लेख छ । हिन्दु धर्मको सबैभन्दा पुरानो ग्रन्थ ऋगवेद (१०।१०७।२ र ७) मा गाई अथवा दक्षिणा दान गर्ने व्यक्तिले स्वर्गमा र घोडा दान गर्नेले सूर्यलोकमा बास पाउँछ, सुन दान गर्ने व्यक्ति देवता बन्छ अनि कपडा दान गर्नेले दीर्घजीवन पाउँछ भनिएको छ । मनुस्मृति (१०।११६) ले विद्या, शिल्प, ज्यालादारी काम, गाईपालन, व्यवसाय, कृषि, ब्याजको कारोबार आदिसहित भिक्षालाई पनि जीवनोपयोगी कृत्य मानेको छ । मठमन्दिरमा भिखारीहरूको लर्को लाग्नुले हिन्दु धर्मले व्यवहारमा पनि दानलाई उत्तिकै प्रश्रय दिएको पुष्टि हुन्छ । १९ औं शताब्दीका प्रकाण्ड संस्कृतविद् म्याक्स मुलरले हिन्दु र बौद्ध धर्मको बलियो प्रभाव रहेको भारतसँग पश्चिमी मुलुकमा प्रचलित दानसम्बन्धी अवधारणाको तुलना गर्ने क्रममा भिखारीहरूलाई कानुनअनुरूप दण्ड दिने आधुनिककालको युरोपभन्दा भिखारीलाई समुदायको वैधानिक सदस्य मानेर कानुनी संरक्षण प्रदान गर्ने प्राचीन भारत फरक छ भनी गरेको टिप्पणीलाई यस सन्दर्भमा उल्लेख गर्नु उपयुक्त हुन्छ ।

नेपाली समाजमा प्रचलित भावशून्य दानको अवधारणा हिन्दु धर्मग्रन्थहरूमा पनि भेटिन्छ । यस अर्थमा दानसम्बन्धी नेपाली अवधारणा हिन्दु धर्मबाट एक हदसम्म प्रभावित छ भन्न सकिन्छ । श्रीमद्भगवत गीतालगायत शास्त्रमा निःस्पृह कर्मसम्बन्धी चर्चा छ, जसमा कर्म गर्दै गर्दा व्यक्तिमा कर्ताभाव लोप हुनुपर्छ भनिएको छ । कर्ताभावसहितको कर्ममा अहंकार झल्किने भएकाले कर्ताभावरहित कर्मले मात्र व्यक्तिलाई सिद्धिको बाटोतिर डोहोर्‍याउन सक्छ भनी जिकिर गरिएको छ । दानको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

दानमै केन्द्रित भएर चर्चा गरिएका हिन्दु धर्मशास्त्रका सन्दर्भले चाहिँ दानलाई मोहभावबाट अलग गर्न सकेका छैनन् । व्यक्तिको परलोक यात्रालाई सहज बनाउने लालसा देखाएर ती धर्मग्रन्थले व्यक्तिलाई दानवीर बन्न प्रेरित गरेका छन् । महाभारतमा (अनुशासनपर्व, १३८।६) मा ‘इह कीर्तिमवाप्नोति प्रेत्य चानुत्तमं सुखम्’ अर्थात् ‘दान गर्ने मानिसलाई इहलोकमा कीर्ति र परलोकमा सर्वोत्तम सुख प्राप्त हुन्छ’ भनी उल्लेख भएको सन्दर्भलाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘धनं लाभेत दानेन’ अर्थात् ‘दान गर्नाले धन लाभ हुन्छ’ भनेर महाभारत (अनुशासनपर्व, ७।१४) ले धनी व्यक्तिलाई दानमार्फत अझ बढी धन प्राप्त हुने लालसा देखाएको छ ।

समग्रमा हिन्दु धर्मशास्त्रहरूको दानसम्बन्धी अवधारणामा आदर्शवादी दृष्टिकोण कम, व्यवहारवादी दृष्टिकोण बढ्ता प्रभावी रहेको पाइन्छ । संस्कृत कोषहरूमा दानलाई शत्रुमाथि विजय हासिल गर्ने चार उपायमध्ये एउटा मानिएको छ । शत्रु राष्ट्रलाई प्रभावमा लिन गरिने सहयोगलाई पनि हिन्दु धर्मशास्त्रले दानका रूपमा स्विकारेको छ । चीनले आफ्नो प्रतिद्वन्द्वी राष्ट्र अमेरिकाका साझेदारहरूलाई कोरोना महामारीसँग जुध्न सहयोग गरेर उनीहरूलाई प्रभावमा लिने प्रयास गरिरहेको छ । हिन्दु धर्मले दानको यस्तो रणनीतिक उपादेयतालाई पनि स्विकारेको छ ।

आफ्नो काम फत्ते गर्न दिइने घूसलाई पनि दान ठहर गरेको छ । यहाँसम्म कि कसैलाई भयभीत तुल्याई असुलिने फिरौतीलाई पनि हिन्दु धर्मशास्त्रले दानकै मान्यता दिएको छ । राजालाई भयका कारण दान (कर) दिइन्छ भनी महाभारतको यक्षप्रश्न प्रकरणमा (वनपर्व, ३१३।८०) मा भएको उल्लेखलाई यसको उदाहरण मान्न सकिन्छ ।

हिन्दु धर्मग्रन्थले दानलाई उपयोगितावादी दृष्टिकोणबाट बढ्ता हेरेकाले नेपाली समाजमा प्रचलित दानसम्बन्धी अवधारणामा हिन्दु मान्यता प्रभावी भएको देखिँदैन । बरु यसमा बौद्ध धर्मको प्रभाव बढ्ता परेजस्तो देखिन्छ । बौद्ध धर्मले दानलाई उच्च महत्त्व दिँदै भावशुन्य दानको महिमा गाएको छ । दानसम्बन्धी बौद्ध धर्मको मत आदर्शवादी छ ।

बौद्ध धर्मले निर्वाण प्राप्ति हेतु गर्नुपर्ने अभ्यासमा दानलाई पहिलो स्थान दिएको छ । दस पारमिता (सिद्धि) मध्ये दानलाई पहिलो स्थानमा राखेको छ । तीन सत्कर्ममध्ये शील र भावनापछिको स्थान दानलाई दिइएको छ । सातवटा प्रमुख धनमध्ये एउटा दान हो भनिएको छ ।

बौद्ध धर्मशास्त्रहरूले दान दिँदै गर्दाको मनस्थितिबारे पनि यथेष्ट चर्चा गरेका छन् । दाताको मनस्थितिलाई यी शास्त्रहरूले देयभन्दा बढ्ता महत्त्व दिएका छन् । कसैलाई दान दिँदै गर्दा कुनै मूल्यवान वस्तुको स्वामित्व त्यागिरहेको छु भन्ने भावबाट दाता सर्वथा मुक्त हुनुपर्छ । अनुकम्पाबाहेकका यावत् भावबाट मुक्त भए मात्र दान सार्थक हुन्छ भनिएको छ । दानलाई बोधिसत्त्व हासिल गर्ने मार्गका रूपमा स्विकारेर बौद्ध धर्मले यसलाई मोहदेखि सर्वथा अलग गराउने प्रयत्न गरेको छ । दानमा निहित प्रचारको लालसालाई बौद्धमतले ठाडै खारेज गर्छ ।

बौद्ध मतअनुसार दान भनेको निर्वाण हासिल गर्ने अभ्यास हो । बौद्ध धर्मले भावशून्य त्यागलाई निर्वाणको पूर्वसर्त मानेको छ । दान दिँदा व्यक्तिमा मूल्यवान् वस्तु गुमाउँदै छु भन्ने बोध किञ्चित हुनु हुँदैन । यस्तो निःस्पृह तथा भावशून्य मनस्थितिले व्यक्तिलाई सांसारिकताबाट अलग गर्छ । यसले मोहलाई शनैःशनैः कमजोर तुल्याई व्यक्तिलाई निर्वाणको दिशातर्फ डोहोर्‍याउँछ । काठमाडौं उपत्यकाका बौद्ध नेवारहरूले हरेक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पञ्चदान पर्व मनाउने गरेका छन् । बौद्ध धर्मले दान गर्न छुट्टै पर्वको जोहो गरेकाले यसले दानलाई अत्यन्तै उच्च महत्त्व दिएको स्पष्ट हुन्छ ।

‘एक हातले गरेको दान अर्को हातले थाहा नपाओस्’ भन्ने नेपाली समाजको परम्परागत मान्यतासँग बौद्ध धर्मको मान्यता बढ्ता नजिक छ भन्ने माथिका चर्चाहरूबाट स्पष्ट हुन्छ । बौद्ध धर्मशास्त्रका रचयिताहरू दानमा आश्रित भिक्षु भएकाले उनीहरूले संग्रहलाई त्यज्य र अपेक्षारहित दानलाई बढ्ता महत्त्व दिएका हुन् । हिन्दु धर्मशास्त्रहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । हिन्दु धर्मशास्त्रका रचयिता ब्राह्मण हुन् । त्यसैले ती ग्रन्थमा भएका दानसम्बन्धी अधिकांश चर्चा ब्राह्मणहरूलाई गरिने दानसँग सम्बन्धित छन् । महाभारतको अनुशासनपर्वअन्तर्गतको दानधर्मपर्वलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

प्रचारको प्रश्न

२०७२ सालको भुइँचालोमा हामीले दानको अतिशय प्रचार भएको देख्यौं । ठूलठूला सहयोगको घोषणा गर्ने तर कार्यान्वयन गर्न अग्रसर नहुने प्रवृत्ति पनि देख्यौं । कुनै संस्था अथवा समूहका प्रतिनिधिबाट घेरिएर मानिसहरूले राहत ग्रहण गरेको देख्यौं । हिन्दु कर्मकाण्डमा सहायक यजमानहरूले मुख्य यजमानको शरीर छोएर गोदान गरेकै शैलीमा दाताहरूले मानिसलाई राहत बाँडेको देख्यौं । अहिले कोरोना भाइरसको महामारीमा पनि त्यस्तै दृश्य देखिरहेका छौं ।

दानको यस्तो खालको प्रचारमुखी प्रवृत्तिलाई हामीले दुई तरिकाले बुझ्नुपर्ने हुन्छ । पहिलो, राहत अथवा दान दिने व्यक्तिले दान र भिख फरक हुन् भन्ने हेक्का राख्न सक्नुपर्छ । व्यक्तिले समाजबाट साथ र सुरक्षा पाइरहेको हुन्छ । यसबापत समाज संकटमा परेका बेला क्षमताअनुसारको सहयोग गर्नु व्यक्तिको दायित्व हुन जान्छ । व्यक्तिले समाजप्रतिको यस्तो दायित्व पूरा गरेन भने समाजसँगको उसको दूरी बढ्दै जान्छ र ऊ झन्झन् एक्लिन पुग्छ ।

व्यावसायिक प्रतिष्ठानहरूले गर्ने सहयोगलाई पनि हामीले भिखका रूपमा बुझ्नु हुँदैन । यस्तो खालको सहयोग उपभोक्ता अथवा समाजप्रति व्यवसायीहरूको दायित्व हो । श्रमिक र उपभोक्ताको अतिरिक्त दोहन गरेर उद्योगी, व्यवसायीहरूले मुनाफा आर्जन गरेका हुन्छन् । मुनाफा अभिवृद्धि गर्न प्रकृतिमा हानि पुर्‍याइरहेका हुन्छन् । यसबापत हासिल हुने लाभको ठूलो हिस्सा उनीहरूले उठाउँछन् । यसको मूल्यचाहिँ समाजका बाँकी सदस्यले बढ्ता चुकाइरहेका हुन्छन् । यस अर्थमा उद्योगी, व्यवसायीले गरेको आम्दानीमा समाजको पनि हिस्सा हुन्छ । संकटको बेला सहयोग गरेर व्यवसायीले समाजको यस्तो हिस्सा चुक्ता गर्न सक्छ । संकटमा परेकाहरूलाई गरिने सहयोग कुनै दिव्य कर्म नभई हाम्रो सामाजिक दायित्वको फगत सम्पादन हो भन्ने महसुस गर्न सकियो भने अतिशय प्रचारको मोहबाट मुक्त हुन सकिन्छ ।

दोस्रो, प्रचारको मोहलाई कम आँक्दै गर्दा हामीले व्यावहारिक भएर दानबारे बिचार्न पनि उत्तिकै आवश्यक छ । निजी संग्रहलाई अतिशय महत्त्व दिने पुँजीवादी युगमा हामी बाँचिरहेका छौं । मानवीय संकट उत्पन्न भएका बेला दानभन्दा बढ्ता कृत्रिम महँगी र कालोबजारीबारे सुन्ने अवस्था दोहोरिरहनु यसकै परिणाम हो । यस्तो अवस्थामा दानलाई दाताको अपेक्षाबाट सर्वथा मुक्त राख्न सम्भव छैन । अहिलेको समयमा दान पनि निजी संग्रह अभिवृद्धि गर्ने माध्यम बन्न पुगेको छ । संकटको बेला गरिने सरसहयोगलाई व्यापारीहरूले आफ्ना व्यावसायिक प्रतिष्ठानहरूको सामाजिक अनुमोदन अभिवृद्धि गराउन प्रयोग गरिरहेका छन् । नेता र समाजसेवीले यसलाई आफ्नो सामाजिक हैसियत अभिवृद्धि गर्ने अवसर बनाइरहेका छन् । कलाकार, अभियन्ता, पेसाकर्मी आदिले यसमार्फत आफ्नो छवि उचो पार्न खोजिरहेका छन् । बजार प्रभावी रहेको यो बेलामा पनि मानिसले निःस्पृह भावसहित दान गरून् भनी अपेक्षा गर्नु अनुपयुक्त नहोला, तर यो व्यावहारिकचाहिँ छैन ।

हिन्दु मठमन्दिरमा गयौं भने निर्माण र मर्मतसम्भारमा सहयोग गर्नेहरूको नामावलीले भित्ता र खाँबा ढाकिएको पाउँछौं । मोहरहित दानको पक्षमा पैरवी गर्ने बौद्ध धर्मावलम्बीहरू पनि पछिल्लो समय दानको प्रचारमा लिप्त हुँदै गएका छन् । मुस्ताङको मुक्तिनाथ परिसरमा पछिल्लो समय प्रतिष्ठापन गरिएका स्तूपमा तिनको खर्च बेहोर्ने दाताहरूका नाम, थर र ठेगाना उल्लेख भएका विवरण छ्यापछ्याप्ती पाइन्छन् । बौद्ध धर्मका अन्य पवित्र स्थलहरूमा पनि दानको प्रचार गर्ने परिपाटीले जरा गाड्दै गएको छ । बौद्ध धर्मावलम्बीले त यशको मोहबाट दानलाई अलग गर्न सकेका छैनन् भने बाँकीको के कुरा ?

अबका दिनमा दानको प्रचारमाथि लगाम लगाउन सम्भव छैन । यस्तो खालको प्रचारलाई तिरस्कार गर्न आवश्यक पनि छैन । यसले बाँकी मानिसलाई पनि दानी बन्न प्रेरित गर्छ । यसो भनिरहँदा प्रचारलाई मर्यादाको सीमा पार गर्ने गरी भद्दा हुनबाट चाहिँ रोक्ने प्रयत्न गर्नुपर्छ । दान ग्रहण गर्ने व्यक्तिलाई याचकको हैसियतमा गिराएर आफ्नो छवि अग्ल्याउने अहंकारी प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ । दान ग्रहण गर्ने व्यक्ति अहिले संकटमा परेको मात्र हो, ऊ मगन्तेचाहिँ होइन भन्ने आममनोविज्ञान अभिवृद्धि गर्न आवश्यक छ ।

प्रकाशित : वैशाख २७, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

महामारी-धर्म सम्बन्ध

महामारीले विज्ञानसामु धर्म कति निम्छरो हुन्छ भन्ने देखाएको छ । मानिसको ध्यान कोरोनाको महामारी शमन गर्न कुन मन्दिर, मस्जिद अथवा गिर्जाघरमा प्रार्थना गरिए भन्नेतिर होइन, कोरोनाको औषधि फेला पार्न चीन, अमेरिका अथवा युरोपका डाक्टरहरु सफल भए/भएनन् भन्नेमा छ ।
सुजित मैनाली

कारोना भाइरसको महामारी नेपाल छिर्नै लाग्दा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले फेसबुकमा लेखे, ‘कोरोना भाइरस शान्तिका लागि रोगको कीटाणु नास गर्ने मन्त्र प्रकाश गर्दछु- ॐ किच वँ वँ गच तितिये स्वाहा । गच वँ वँ गचि तितिये स्वाहा । थिँ धरति सदुमते ज्वल रँ पये स्वाहा ।’

सामाजिक महत्त्वका विषयमा अनुसन्धान गर्ने/गराउने जिम्मा सम्हालेको व्यक्तिले विज्ञानलाई बेवास्ता गरेर अन्धविश्वासलाई प्रश्रय दिनु खेदजनक थियो, त्यसैले यसको चौतर्फी विरोध भयो । यस घटनाले हाम्रो सामाजिक जीवनमा वैज्ञानिक मूल्य संस्थागत गर्न अझै बाँकी नै छ भन्ने संकेत गरेको छ । साथै, महामारी र धर्मबीचको अन्तरसम्बन्धबारे विमर्श गर्ने सन्दर्भ पनि दिलाएको छ ।

भयको साम्राज्य

धर्म भनेको अलौकिक शक्तिप्रतिको सामूहिक आस्था हो । समूहबाट अलग भएमा त्यस्तो आस्था भ्रान्ति बन्छ । सामाजिक अनुमोदन पाए त्यही भ्रान्ति धर्म कहलिन्छ । धर्मको नाभि भयसँग गाँसिएको हुन्छ । महामारीमा भयले राज गर्ने हुँदा धर्मसँग यसको सम्बन्ध केलाउनुअघि भयको बीजबाट धर्म कसरी अंकुरित भयो भनी चर्चा गर्नु उपयुक्त हुन्छ ।

आजसम्म धर्मबारे जे-जति चिन्तन गरिएका छन्, तीमध्ये अधिकांश भयमा केन्द्रित छन् । बीपी कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ मा ईश्वरले हिट्लरलाई तानाशाह भनेर लाञ्छना लगाउँदा प्रतिवादमा हिट्लर भन्छन्, ‘तिमी मभन्दा ठूला तानाशाह हौ, मेरो सत्ता उल्टिएकाले संसारले आज मलाई थुकिरहेको छ, भोलि तिम्रो सत्ता उल्टियो भने तिमी पनि यसरी नै थुकिनेछौ ।’

उपन्यासको यो प्रसंग अत्यन्तै अर्थपूर्ण छ । यसले भयको गर्भबाट आस्था नि:सृत हुन्छ भनेको छ । जसले जति धेरै भय सिर्जना गर्न सक्छ, ऊ त्यति नै बढ्ता पुजिन्छ । हिन्दु धर्मावलम्बीले सृष्टिकर्ता ब्रह्माभन्दा संहारकर्ता महादेवको भक्ति-उपासना बढ्ता गर्नुको कारण पनि यही हो । राज्यप्रतिको आस्थालाई कर तिरेर जाहेर गर्नुपछाडिको कारण पनि राज्यले एकाधिकार जमाएको वैधानिक हिंसाको सम्भावित प्रयोगबाट उत्पन्न हुने भय नै हो । यस अर्थमा धर्मले राज्यभन्दा ठूलो भयको साम्राज्य चलाइरहेको छ ।

आस्था र भयबीचको सम्बन्ध केलाउनमा धर्मसम्बन्धी यावत् लेखाइ बढी केन्द्रित छन् । मानिसको सबैभन्दा ठूलो भय हो, मृत्यु । त्यसैले धर्मले सबैभन्दा बढ्ता चर्चा गर्ने विषय पनि मृत्यु नै रहँदै आएको छ ।

धर्मको सामाजिक पक्षबारे अध्ययन गर्नेहरूमध्ये बेलायती मानवशास्त्री एड्वार्ड बी. टेलर अग्रणी मानिन्छन् । उनले जीवित र मृत शरीरबीचको भिन्नताबारे बुझ्ने आदिम मानवको बौद्धिक प्रयत्नबाट प्रकारान्तरमा धर्मको जन्म भएको लेखेका छन् ।

जर्मन दार्शनिक म्याक्स मुलरले चाहिँ मानव जीवनलाई जोखिममा पार्ने आँधीबेहेरी, चट्याङ, ज्वालामुखीजस्ता प्राकृतिक विपत्तिको रहस्य बुझ्न खोज्दा मानिसले धर्मको सृष्टि गरेको उल्लेख गरेका छन् ।

जीवनले बेहोर्ने सबैभन्दा ठूलो क्षति मृत्यु हो । एक छिनअघि हलचल गरिरहेको शरीर सधैंका लागि अचेत हुनु र क्रमश: कुहिँदै जानुले जीवित व्यक्तिहरूलाई भयभीत बनायो । यसबाट जोगिन उनीहरूले यस्तो हुनुपछाडिको कारण जान्न खोजे । खोज्दै जाँदा सबै प्राणीको जीवन मृत्युमा गएर टुंगिन्छ भनी बुझे ।

मृत्युलाई दैवी शक्तिको रचना ठम्याए । त्यस शक्तिलाई प्रसन्न तुल्याएर मृत्युबाट जोगिने अथवा मृत्युपर्यन्त अर्को जीवन पाउने आशाको खोजी गरे । अर्का बेलायती मानवशास्त्री बी. मेलिनोस्कीले संसारभरिका समुदायमा प्रचलित मृत्यु संस्कारमा धर्मसँग जेलिएको अमरत्वप्रतिको आस्थालाई मृत्युसम्बन्धी त्यस्तै आदिम विश्वासको प्रमाण मानेका छन् ।

मृत्युको भयबाट मुक्ति पाउने मानवीय अभिलासाले धर्मलाई जन्म दिएकाले यसको उद्देश्य जीवित मानिसलाई मृत्युबाट र मृतकलाई जीवनको क्षणभंगुरताबाट उन्मुक्ति दिनु रहँदै आएको छ । सबै धर्मले मृत्यु जीवनको अन्त्य होइन भनी दाबी गर्नुको कारण यही हो । अमरत्वको चाह प्राणीको जन्मजात गुण भएकाले यसबाट निवृत्त हुन मानिसलाई सम्भव छैन, जसकारण धर्मले आगामी दिनमा पनि निरन्तरता पाइरहने निश्चित छ ।

त्रासबाट आसतर्फ

महामारीले मृत्युको भय लिएर आएको हुन्छ । भयग्रस्त माहोलमा धर्मको साम्राज्य विस्तार गर्न सजिलो हुने भएकाले महामारीजस्ता संकटमा धार्मिक अभियन्ताहरू बढ्तै सलबलाउने गर्छन् । अहिले हामी यस्तै देखिरहेका छौं । महामारी शान्त गर्न भनेर भारतमा मानिसलाई यज्ञ, जप, देवीदेवताका नाममा बाजागाजासहित द्वीप प्रज्वलन आदि गर्न हिन्दु अभियन्ताहरूले आह्वान गर्दै छन् । गहुँत (गाईको पिसाब) र योगबलद्वारा कोरोना भाइरसलाई परास्त गर्न सकिने झूटा आश्वासन बाँड्दै छन् । यसको प्रभाव नेपाली समाजमा पनि परिरहेको छ ।

महामारीको बेला प्रबल हुने मृत्युको भय अरू बेला पनि समाजमा विद्यमान हुन्छ । रोगी मानिस मृत्युसँग बढी डराउँछ । योगविद्यामार्फत हिन्दु अभियन्ताहरूले रोगी मानिसमा रहेको त्यस्तो भयको दोहन गरी धर्मको साम्राज्य फैलाउने प्रयास गर्दै आएका छन् । यदि योग प्रशिक्षकहरूको चाहना धार्मिक साम्राज्यको विस्तार थिएन भने उनीहरूले योगविद्यालाई धर्मबाट अलग गरिसकेका हुने थिए ।

धर्म फैलाउन मृत्युको भय दोहन गर्ने सवालमा इसाई धर्मले बाँकी सबै धर्मलाई उछिन्दै आएको छ । चीनको वुहान सहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि इसाई मिसनरीहरूले त्यहाँका मानिसलाई राहत सामग्रीसँगै ‘पितापरमेश्वरको उपदेश’ बाँडेको समाचार सार्वजनिक भएको थियो । यस्तो प्रवृत्ति नेपालमा पनि देखियो ।

पोखराको एउटा सुकुम्बासी बस्तीमा इसाईहरूलाई कोरोना भाइरसले छुँदैन भनी अफबाह फैलाउने एक जना क्रिस्चियन धर्मगुरु पक्राउ नै परे । २०७२ सालको भुइँचालोपछि उत्पन्न संकटमा पनि हामीले इसाई धर्मविस्तारको यस्तो उद्योग फस्टाएको देख्यौं ।

धर्म विस्तार अभियानमा लागेकाहरूले महामारीजस्ता संकटलाई अवसरका रूपमा लिने गरेका छन् । सन् १७४० ताका भारतबाट तिब्बत हिँडेका इसाई पादरीहरू काठमाडौं उपत्यका आइपुग्नेबित्तिकै यहाँ बिफरको महामारी फैलियो ।

महामारी फैलिन नदिन उपत्यकाका नाकाहरू बन्द गरिए । नाका नखुलुन्जेल उपत्यकामै रहनुपर्ने भएपछि पादरीहरूले महामारीलाई उपयोग गर्ने निश्चय गरे । भक्तपुरका राजाको अनुमति लिएर निकै परबाट देखिने गरी फलामको ठूलो क्रस चिह्न ठड्याई उनीहरू रोगीको उपचारसँगै धर्म प्रचारमा सरिक भए ।

इसाईहरूले स्वास्थ्यसम्बन्धी ज्ञानलाई हतियार बनाएर अविकसित समाजमा धर्मान्तरण गराउँदै आएका छन् । औषधोपचारलाई बाइबलको सन्देश फैलाउने माध्यमका रूपमा दोहन गर्ने उपाय उनीहरूले सुविचारित रूपमै अवलम्बन गरेका हुन् । यसका प्रमाण यत्रतत्र भेटिन्छन् ।

मल्लकालताका बंगालको चन्द्रनगरस्थित इसाई केन्द्रमा सक्रिय जोभान्नी दा फानोले २७ सेप्टेम्बर १७१२ मा रोमस्थित पादरी फेलिचे दा मोन्तेक्योलाई एउटा पत्र लेखेर तिब्बत र आवश्यक परे नेपालमा समेत सक्रिय हुने गरी थप धर्मप्रचारक पठाउन आग्रह गरेका थिए । नयाँ धर्मप्रचारकहरूमा ईश्वरभक्तिको अतिरिक्त औषधोपचार, गणित र घडी तथा समयसम्बन्धी ज्ञान हुनु अनिवार्य रहेको जिकिर गरेका थिए ।

समाजविज्ञान, ललितकला र संगीतसम्बन्धी ज्ञानसमेत भए समाजमा घुलमिल हुन उनीहरूलाई अझ सजिलो हुने राय व्यक्त गरेका थिए । स्वास्थ्यसम्बन्धी ज्ञान भयो भने धर्म फैलाउन सजिलो हुन्छ भनेरै तिब्बत मिसनमा सक्रिय केपुचिन पादरी दोमेनिको दा फानोले धर्मप्रचारकहरूलाई स्वास्थ्य सेवाबारे प्रशिक्षित गर्ने उद्देश्यले पाँच सय पृष्ठको ग्रन्थ त्यतिबेलै तयार गरेका थिए ।

मल्लकालताका इसाई पादरीहरू महामारी अथवा अन्य रोगव्याधि फैलिएको बेला औषधि बोकेर समाजभित्र पस्ने गर्थे । पितापरमेश्वरले चाहेमा रोग र मृत्युबाट मुक्ति पाइन्छ भन्दै मानिसहरूलाई आफ्नो धर्मबारे प्रशिक्षित गर्थे । त्यतिबेला बाल मृत्युदर उच्च थियो । कुनै घरमा बालक मृत्युको सँघारमा पुगेको थाहा भयो भने मिसनरीहरू पुग्थे र त्यस्ता बालकलाई इसाई बनाउँथे ।

सन् १७३३ ताका काठमाडौं उपत्यकामा रहेका पादरी फ्रान्सिस होरेसले त्यस्ता केही बालकलाई इसाई बनाएका थिए । पितापरमेश्वरको कृपा भयो भने बालक बाँच्छ अथवा उहाँसँगै स्वर्गमा बस्छ भनी पादरीहरूले परिवारका सदस्यलाई राजी गराउने गर्थे । बिरामीहरूको औषधोपचार र उनीहरूका निम्ति ईश्वरसँग प्रार्थना गरेर स्थानीयलाई प्रभावमा लिने गर्थे ।

पादरीहरू शासनसत्तामा रहेका मानिसको औषधोपचार गरेर उनीहरूलाई कृतज्ञ तुल्याई धर्मान्तरण सहज बनाउने रणनीति पनि अवलम्बन गर्ने गर्थे । यही रणनीतिअनुरूप कीर्तिपुरसँग गोरखाको युद्ध हुँदा कीर्तिपुरेहरूले हानेको वाण लागेर पृथ्वीनारायणका कान्छा भाई शूरप्रतापको एउटा आँखो फुटेपछि काठमाडौंमा रहेका पादरी माइकल एन्जेलोले उपचार गरिदिएका थिए । तिनै पादरीले पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंहको पनि उपचार गरेका थिए । यसबापत बाबुको मृत्यु भएपछि प्रतापसिंह इसाईहरूप्रति हार्दिक रूपमा प्रस्तुत भएका थिए ।

चाँदीको घेरा

महामारी विपत्को क्षण हो । तर, समाजको उन्नतिमा महामारी, प्राकृतिक प्रकोप, युद्धजस्ता संकटले महत्त्वपूर्ण योगदान गर्दै आएको हामीले भुल्नु हुँदैन । चिकित्साविज्ञानदेखि समाजविज्ञानसम्मका क्षेत्रमा दोस्रो विश्वयुद्धताका हासिल भएका अभूतपूर्व उपलब्धिलाई यसको प्रतिनिधि उदाहरण मान्न सकिन्छ ।

अहिलेको महामारीलाई पनि हामीले धर्मसम्बन्धी हाम्रो बुझाइ परिशुद्ध गर्ने एउटा अवसरका रूपमा लिन सक्छौं । यस सन्दर्भमा चौधौं शताब्दीमा युरोपको करिब एकतिहाइ जनसंख्या सखाप पार्ने गरी फैलिएको प्लेगको महामारीले त्यहाँको धार्मिक जीवनमा पारेको प्रभावबारे चर्चा गर्नु प्रासंगिक हुन्छ ।

त्यतिबेला महामारी फैलिनुको कारण थाहा पाउन सक्ने गरी चिकित्साविज्ञानको विकास भएको थिएन । त्यसैले मानिसले आफूहरूसँग रुष्ट भएर दैवले महामारी फैलाइदिएको विश्वास गरे । पापमोचनका लागि आफ्नै शरीरमा कोर्रा बर्साएर उनीहरू आत्मपीडक बने । व्यापारका सिलसिलामा संसारभरि यात्रा गर्ने ‘विधर्मी’ यहुदीहरूले महामारी भित्र्याएको भन्दै उनीहरूमाथि युरोपका इसाईहरू बर्बर रूपमा प्रस्तुत भए । महामारीबाट संक्रमित हुने र मर्नेको संख्या बढ्दै गएपछि बाँच्ने अभिलासामा मानिसहरू चर्च धाउने क्रम बढ्यो ।

यसले गर्दा चर्च महामारीको केन्द्र बन्न पुग्यो । चर्चमा रहने पादरी, संन्यासीलगायत पनि भटाभट मर्न थाले । आफूलाई ईश्वरको दूत दाबी गर्नेहरूसमेत मरेको देखेपछि मानिसमा धर्मप्रतिको आस्था धर्मराउन थाल्यो । यही आममनोविज्ञानले रुढीग्रस्त इसाई धर्ममा सुधारको पहल गर्ने आन्दोलनलाई आधार प्रदान गर्‍यो । महामारीकै कारण मानिसहरू धर्मको सीमाबारे अवगत भए । विज्ञानप्रतिको मानिसको रुझान बढ्दै गयो । यस्तो बुझाइले युरोपेली समाजलाई क्रमश: धर्मनिरपेक्ष बनाउँदै लग्यो ।

अहिलेको महामारीले पनि विज्ञानसामु धर्म कति निम्छरो हुन्छ भन्ने देखाएको छ । मानिसहरूको ध्यान कोरोनाको महामारी शमन गर्न कुन मन्दिर, मस्जिद अथवा गिर्जाघरमा प्रार्थना गरिए भन्नेतिर होइन, कोरोनाको औषधि फेला पार्न चीन, अमेरिका अथवा युरोपका डाक्टरहरू सफल भए/भएनन् भन्नेमा छ । यसले हामीलाई धर्मको सीमा महसुस गरी वैज्ञानिक मूल्यमान्यता आत्मसात् गर्न प्रेरित गरिरहेको छ ।

महामारीको बेला धर्मले गर्न सक्ने एक मात्र काम भनेको अप्ठेरोमा परेकाहरूप्रति सहृदयी बन्न मानिसलाई प्रेरित गर्नु हो । योभन्दा अतिरिक्त दायित्व यदि धर्मले बहन गर्न खोज्यो भने यसले संकटलाई अझ सघन बनाउँछ ।

यही कुरा महसुस गरेर पशुपतिनाथदेखि मक्कामदिनासम्मले भक्तालुहरूलाई दर्शनार्थ नआउन भनिरहेका छन् । ईश्वरको शरणमा आयौ भने मर्न सक्छौ भनेर भक्तजनलाई सम्झाइरहँदा के धर्मका मठाधीशहरूले विज्ञानको हैसियत धर्मभन्दा माथि हुन्छ झनी स्विकारिरहेका छैनन् ?

प्रकाशित : वैशाख १३, २०७७ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×