कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संकटमा मान्छे

मानवीय अस्तित्व ठूलो संकटमा छ । जलवायु परिवर्तन, विश्व–महामारी, आणविक युद्ध र बिग्रँदो पर्यावरणको क्षतिपूर्ति छैन, जो मानिस स्वयंको विनाशसँग जोडिएको छ । यो विनाशलाई प्रकृतिमाथि भइरहेको चरम दोहनले साथ दिएको छ । अब पृथ्वीमा के होला, सायदै भन्न सकिन्छ । 
राम गुरुङ

मार्च १६, २०२० मा ‘यूएसए टुडे’ ले एउटा रिपोर्ट छाप्यो । डल्भिन ब्राउनको उक्त रिपोर्टिङ कोरोनाले अत्तालिएको अमेरिकी जनजीवनबारे थियो । यसमा सर्वसाधारणका महामारी–मनोदशा समेटिएका थिए । ट्वाइलेट पेपर मात्र होइन, बन्दुक किन्नसमेत लाइनमा बसिरहेका अमेरिकनको कोरोना असरको प्रतिक्रिया, खबरको विषय थियो । बन्दुक किन्ने ग्राहकको तर्क थियो- घरमा बन्दुक नभए महामारीका बेला आफ्नो सम्पत्ति लुटिन सक्छ । त्यसबाट मान्छे महामारीभन्दा मान्छेसँगै डराएको बुझ्न सकिन्छ ।

संकटमा मान्छे

त्यो समाचार छापिनुभन्दा दुई साताअघि (मार्च ३, २०२०) अस्ट्रेलियन दार्शनिक, टोबी अर्डको गैरआख्यान पुस्तक सार्वजनिक भयो । आफ्नो पुस्तक ‘द प्रेसिपस : एक्जिसटेन्सियल रिस्क एन्ड द फ्युचर अफ ह्युम्यानिटी’ मा उनले मानिसको उपलब्धि (?)ले मानिसलाई नै गर्ने नोक्सानबारे लेखेका छन् । त्यो नोक्सानलाई उनले वैज्ञानिक तर्क र वस्तुगत प्रमाणका आधारमा पुष्टि पनि गरेका छन् । कोरोनापछि अनिश्चित विश्व अर्थतन्त्रको कुरा त छँदै छ । अर्डले पुस्तकमा विश्वव्याधिको मानवीय असरबारे आम–धारणाभन्दा अझै डरलाग्दो जोखिमतिर औंल्याएका छन् । उनको तर्कमा अब मानवीय अस्तित्व नै संकटमा छ । जलवायु परिवर्तन, विश्व–महामारी, आणविक युद्ध र बिग्रँदो पर्यावरणको क्षतिपूर्ति छैन, जो मानिस स्वयंको विनाशसँग जोडिएको छ । यो विनाशलाई प्रकृतिमाथि भइरहेको चरम दोहनले साथ दिएको छ । अब पृथ्वीमा के होला, सायदै भन्न सकिन्छ ।

तर, महामारीको जैविक असर एकैखाले हुन्छ । मानिस संक्रमित हुन्छ । उपचार पद्धति उस्तै भए पनि निष्प्रभावी भए, मानिस मर्छ । यो उमेर वा देशपिच्छे फरक हुँदैन । यसले अमेरिका वा नेपाल, सबैतिर अर्थतन्त्रलाई एकै हिसाबमा थल्याउँछ । व्यावसायिक मन्दी र बेरोजगारी, यसबाट हुने मुख्य नोक्सान हुन् ।

मानवीय हर्कत मिसिएको बाढी

उसो त सबै विनाश मान्छेले मात्रै निम्त्याउँदैनन् । बाढी–पहिरो, भुइँचालो, ज्वालामुखी आदिका लागि मानिस कम जिम्मेवार होलान् । र, यो एकदमै प्राकृतिकजस्तो पनि हो । यसले पनि मानव सभ्यताको नोक्सान त गर्छ नै । जनधन वा बस्ती मासिन्छन् । तर, यो प्राकृतिक दोहनको परिणामभन्दा कम हुन्छ । एकपटक भुइँचालो जान्छ । पृथ्वीको खास ठाउँमा क्षति पुर्‍याउँछ । र, बाँकी सुरक्षित रहन्छन् । तर, मान्छेका अमानवीय हर्कतले त पूरै विश्वलाई नोक्सान गर्छ । यसको प्रभाव र परिणाम अकल्पनीय हुन्छ ।

जंगली जनावरबाट मान्छेमा रोगव्याधि सर्‍यो भनिन्छ । तर, जंगली जनावर मान्छेको सम्पर्कमा कसरी आए भन्ने चर्चा गरिन्न । जंगलमा बासस्थान गुमाएका जीवजन्तुको कुरै हुन्न । बजारमा बेचिने वन्यजन्तु र पशुपन्छीतिर मानिसको ध्यानै जाँदैन । वनजंगल बचाउने विषयमा बहस हुन्छन् । तर, वनजंगल किन मासिन्छन् ? जंगलमा बनेका सहर, व्यावसायिक खेती र त्यसको पर्यावरणीय असरको हिसाब छैन । बाढीले मान्छे र घरलाई नै किन बगाइरहेको छ ? खोला/नदी किन साँघुरिन्छन् ? के खोला–नदीवरपर ठूला बस्ती नबस्ने हो भने अहिले भइरहेको विनाश घट्थ्यो होला ? हो, यी प्रश्नमा नै मानवीय विनाशको चक्र घुमिरहेको हुन्छ ।

विश्वका झन्डै ८२ प्रतिशत सहर नदी/समुद्रको किनारमा छन् । विभिन्न माध्यम हुँदै सहरका उद्योगबाट निस्कने पूरै रासायनिक ढल र वर्षातको पानी नदी/खोलामा मिसिन्छन् । यसले नदी तथा खोलामा अस्वाभाविक चाप बढाउँछ । परिणाम, विनाशकारी बाढीले बढावा पाएको छ । बाढीले बर्सेनि करोडौं मानिस प्रभावित हुन्छन् । इन्टरनल डिस्प्लेसमेन्ट मनिटरिङ सेन्टर (२०१८) का अनुसार, विश्वमा बाढीकै कारण बर्सेनि २ करोड ८० लाख मानिसले घरबार गुमाउँछन् । लाखौंको रोजगारी खोसिन्छ । श्रम र जीविकाका लागि करोडौं मान्छेले थातथलो छाड्छन् ।

पर्यावरणको दोहन

माथि उल्लिखित पुस्तकमा अर्डका थुप्रै झकझक्याउने तर्क छन् । यीमध्ये मानव–निर्मित ‘एन्थ्रोपोजेनिक’ त्रास, सबैभन्दा डरलाग्दा र हानिकारक छन् । मानवीय सुखका लागि प्रकृतिको दोहन अरू बढेको छ । तीव्र जंगल फँडानी भएको छ । खानीको संख्या बर्सेनि थपिएका छन्, जसले मान्छेका पर्यावरणीय सम्बन्ध बिग्रिएका छन् । समयमा वर्षा नहुने मात्र होइन, अहिले मान्छेले जाडो र गर्मी मौसमको अनुमान नै गर्न सक्दैन । जब जडीबुटी वा वनस्पति बेचिने वस्तु बने, यार्चागुम्बु, चिराइतोजस्ता सयौं प्रजातिका औषधिजन्य वनस्पति नेपालमै पनि लोप हुन थालेका छन् ।

विश्वमा अझै पनि ६८ प्रतिशत मानिसले जडीबुटी उपयोग गर्छन् । नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनका अनुसार, विश्वमा विभिन्न ९६० वनस्पतिलाई औषधिका रूपमा प्रयोग गरिन्छ । वैज्ञानिक अनुसन्धानले यो संख्या अझै बढाइरहेको छ । वनस्पतिको उपयोग बढेसँगै बर्सेनि ३ करोड ७५ हजार मेट्रिकटन वनस्पति, जंगलबाट सहर निर्यात हुन्छन् । यसले जंगलभित्रको जैविक तथा वनस्पति विविधतामाथि परेको असरबारे मान्छेको ध्यान गएको देखिन्न । यसरी भइरहेको वनस्पतिको दोहन, पर्यावरणीय उथलपुथलसँग जोडिन्छ, जसलाई मानवीय सभ्यतामा आएको नाटकीय परिवर्तनले साथ दिएको छ ।

ग्लोबल फरेस्ट वाचमा प्रकाशित साराह रुज (२०१८) को अध्ययनअनुसार, पछिल्लो ३० वर्षमा पृथ्वीको इतिहासमै छैटौंपटक सबैभन्दा ठूलो पशुपन्छीको आमलोप (मास एक्स्टिङ्सन) भएको छ । संख्याका हिसाबमा, यो पहिलेको भन्दा १,००० गुणा ठूलो हो । सन् २००० यता मात्रै ४ प्रजातिका जीवजन्तु– फर्म्यासन क्लाउडिड प्रजातिको चितुवा, स्पिक्स मकाउ प्रजातिको सुगा माउन्ट ग्लोरियस टोरन्ट प्रजातिका भ्यागुता र डोडानियन प्रजातिका भालु संसारबाट लोप भइसकेका छन् ।

खनिजको बढ्दो उपभोग

अहिले मान्छेले सुख र समृद्धिका अनेक रूप भोगिरहेका छन् । अझै वैभवशाली बन्दै गरेको सहर अग्ला भवनले भरिएको छ । सडक फराकिला र लामा भएका छन् । हरेक दिन सडकमा कुद्ने मोटर थपिँदै छन् । सहर बनाउन र गाडी चढ्न, बर्सेनि अर्बौं मेट्रिक टन फलाम खपत हुन्छन् । पेट्रोल र कोइलाको उत्खनन अझै बढेको छ । विश्वमा अमेरिकाको उटाह राज्यस्थित बिंहम क्यान्योन माइन्सजस्ता सयौं खानीबाट खर्बौं मेट्रिक टन माटो, पृथ्वीको सतहमा निकालिएका छन् । सोचौं त, यसले पृथ्वी कति खोक्रो भयो होला ? मानिसले सुखको मूल्य किन यति विनाशकारी हुँदै छ ? यसको मोटामोटी हिसाब मात्रैले पनि जोकोहीको मथिंगल हल्लिन्छ ।

विश्व नै सहरीकरणको पछाडि दौडिएको छ । गाउँहरू नगर बनेका छन् । व्यावसायिक हिसाबमा नगर क्षेत्रभित्र ठूला बस्ती तथा घरका व्यवसाय फस्टाएका छन् । नेसनल एसोसिएसन अफ होम विल्डर्सका अनुसार, अमेरिकामा बर्सेनि १० लाख २० हजार घर बन्छन् । यसरी नै विश्वमा बर्सेनि झन्डै दुई करोड साठी लाख घर बन्छन् । यसमध्ये परम्परागत घरको संख्या ७ प्रतिशतभन्दा तल छ । विश्व बैंक (२०१६) को आधारमा भन्नुपर्दा, सहरमा घर बनाउन हरेक वर्ष, १३ लाख वर्गकिलोमिटर जंगल फँडानी हुन्छ । सहरीकरण बढेसँगै घर–बस्ती बसाउन, सन् १९९० यता, २५ वर्षमा ल्याटिन अमेरिका, अफ्रिका र एसियामा मात्रै करिब १० लाख वर्गकिलोमिटर क्षेत्रफल वन–जंगल सखाप भएका छन्, जुन दसौं हजार फुटबल मैदान बराबर हुन आउँछ ।

यो अझै बढ्नेवाला छ । विश्वभर सहरीकरणको दर, ४.१ प्रतिशतले बढिरहेको छ । यसरी हेर्दा, सन् २०५० सम्ममा विश्वका ७ अर्ब मानिस सहरमा बस्नेछन् । हरेक वर्ष १ करोड ७० लाखभन्दा बढी मानिस सहरमा थपिइरहेका छन् । यसैले गाउँलाई गरिएको उपेक्षा र सहरप्रतिको अनावश्यक आकर्षण, मानवीय अस्तित्वका लागि अर्को चुनौती हो ।

यल इन्भायरोमेन्ट (२०२०) ले भन्छ- अहिले विश्वमा सिमेन्ट, बालुवा, गिट्टी तथा इँटाजस्ता निर्माण सामग्रीको खपत, मानव इतिहासमै सबैभन्दा धेरै भइरहेको छ । सन् १९७० देखि यता यो चार गुणाले बढेको छ । निर्माण सामग्रीको खपतले हुने प्रकृतिको दोहनमा बर्सेनि ९.१ प्रतिशतले बढिरहेको छ । अब सोचौं, लाखौं हेक्टर वनजंगल फँडानी हुँदा, त्यहाँ बसोबास गर्ने कति जंगली जनावर विस्थापित वा लोप भए होलान् ?

लाखौं वर्षमा जम्मा भएका प्राकृतिक सम्पत्ति, लगभग सकिने तरखरमा छ । सन् १९७० को दशकसम्म पनि एक जना मान्छेले आफ्नो जीवनकालमा करिब दुई २५० मेट्रिक टन फलाम, तामा, सुनचाँदी, ढुंगा–माटो आदि पृथ्वीमा भएका स्रोतको उपभोग गर्थ्यो । त्यो अहिले १,४३५ मेट्रिक टन पुगेको छ । यो अझै बढ्दै जाने निश्चित छ ।

पिपुल एन्ड नेचरको अप्रिल, २०२० को अंकमा छापिएको जर्नल लेखमा भनिएको छ- पृथ्वीको पर्यावरणमा आएको अस्वाभाविक फेरबदलले मानिसको सामाजिक प्रणालीलाई पनि अस्वाभाविक बदलेको छ । मान्छेका वैज्ञानिक तथा प्रविधिजन्य उपलब्धिले जंगल तथा खानीमाथिको निर्भरता अझै बढाएको छ । उद्योगहरू सुधारिएका छन् । अझै धेरै खनिज र जैविक इन्धन खपत गर्ने मेसिन निर्माण भएका छन् ।

मानवीय आयु र पोषणको प्रश्न

गएको दुई सय वर्षमा पृथ्वीमा नाटकीय परिवर्तन आएको छ । मानिसको औषत आयु बढिरहेको छ । नेपालकै कुरा गरौं । ४० वर्षअघि सरदर ३५ वर्ष बाँच्ने नेपाली, अहिले कम्तीमा ७० वर्ष बाँच्छन् । विश्वभर उद्योग र बजारको भूमिका बढेको छ । सूचना प्रविधि भएको क्रान्तिकारी विकासले आर्थिक वृद्धि चामत्कारिक भएका छन् । विश्वका पाँच अर्ब मानिस, एउटै आर्थिक प्रणालीमा बाँधिएका छन् । खानपान, पोसाक, शिक्षा र सीप तथा जीवनशैली एउटै भएको छ । सुत्ने र उठ्ने समय फरक छ । तर, अमेरिकी तथा नेपाली किसानले तरकारी वा दुग्धजन्य पदार्थ बेच्न बजारमा भोग्ने समस्या उस्तै छन् । अन्नबालीमा लाग्ने रोगव्याधि र रोगव्याधि नियन्त्रणका लागि हालिने कीटनाशक औषधि, एउटै कम्पनीले बनाउँछ ।

विश्वका एकचौथाइ मान्छेले पर्यावरणअनुकूलका पर्याप्त पोषणयुक्त खानेकुरा खान पाउँदैनन् । जनसंख्या बढिरहे पनि माटोको स्वाभाविक उत्पादकत्व घटेको छ । यसलाई व्यावसायिक उत्पादन र बजारको तजबिजमा सल्ट्याउने प्रयास नभएका होइनन् । तर, यसले मानिसको खाद्य सम्प्रभुतालाई समेट्न सकेन । असमान खाद्यको वितरण चर्कियो । जैविक सुरक्षा, जैविक आतंकवाद र प्रविधिको नियन्त्रणमा पुगेको राज्यशासन, मान्छेका लागि कसिलो चुनौतीपूर्ण बनेको छ, जसले मानवीय सुरक्षा र सुख–दुःखलाई पर्यावरणसँग अलग्याएको छ ।

घट्दो पर्यावरणीय उत्तरदायित्व

मानिसको चेतना र आविष्कारको दायरा निकै फराकिलो भयो । आर्टिफिसियल इन्टेलिजेन्टले विश्वभरको अस्पताल, कारखाना तथा विश्वविद्यालय चल्न थालेको छ । बर्सेनि अपत्यारिला वैज्ञानिक आविष्कार भइरहेका छन् । तर, पर्यावरणीय सुरक्षा र सुधारका लागि कम प्रयास भएका छन् । उद्योगधन्दाले उँभो लागेका देशले यसप्रति उति चासो दिएका छैनन् । ज्ञान, साक्षरता, जीवन आयु, गुणात्मक जीवनशैली र समग्र मानवीय जीवनस्तर नै प्रविधि र प्राविधिकको नियन्त्रणमा गइरहेको छ, जुन आम–मानिसले पत्तो पाउँदैनन् । यसले मानिसको प्रकृति र पर्यावरणप्रतिको निर्दयीता थप उक्सिएको छ ।

मानिसको समृद्धि वा सुखको मूलस्रोत पृथ्वी र पर्यावरण नै हो । तर, मान्छेभित्रको सीमाविहीन सुखको अपेक्षाले यसलाई विनाशमाथि उभ्याइदिएको छ । यो कुनै अमूर्त विषय होइन । हाम्रै वरपरका रूखबिरुवा, खोलानाला, समुद्र, पहाड, वनजंगल र वन्यजन्तु हुन्, जसले लाखौं वर्षदेखि मान्छेको सभ्यता र अस्तित्वलाई साथ दिइरहेको छ ।

प्रकाशित : वैशाख २७, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?