कसरी हेर्छन् पश्‍चिमेलीले हामीलाई ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी हेर्छन् पश्‍चिमेलीले हामीलाई ?

बेल्जियम, जर्मनी, स्पेनदेखि फ्रान्स, इटाली, पोर्चुगल र बेलायतसम्मका सबै साम्राज्यवादी मुलुकहरू हिजो कसरी कमजोर मुलुकहरू लुटेका थियौं भनी सम्झन चाहँदैनन् । भारतको सभ्यता मुगल र अंग्रेज साम्राज्यवादीले नलुटेका भए यस क्षेत्रको सामर्थ्य आज अर्कै हुन्थ्यो कि ?
विपिन अधिकारी

पूर्वेली र पश्चिमेलीको विवादमा कुनै समाज पर्नु हुँदैन । हिजोका कुरा फरक थिए । आजको संसारमा जंगल साम्राज्य छैन । अन्तर्राष्ट्रिय सम्बन्धका मापदण्ड वा आधार परिवर्तन भएका छन् । हरेक मान्छेको अधिकार भएजस्तो सानो–ठूलो हरेक मुलुकको बराबर अधिकार हुन्छ ।

सार्वभौमसत्तालाई ठूलो–सानो भनी नापजोख गर्न पाइँदैन । ज्ञान–विज्ञान र प्रविधिले दिने कुरा सबैका लागि उपलब्ध हुँदै छन् । कानुनको शासन र प्रजातन्त्र अब सबैको साझा चासोको विषय भएको छ । विविधता र समावेशिता विश्व एकताका लागि आवश्यक मानिन्छ । गरिबी उन्मूलन, दिगो विकास र सामाजिक सुरक्षा अब अन्तर्राष्ट्रिय प्रणालीका लागि राष्ट्रिय आधार भइसकेका छन् ।

केही बाँकी समस्याको समाधान पनि निस्कँदै छ । सरुवा रोग त गरिब कंगाल देशमा पो लाग्छ भन्नेलगायतका मानसिकताले अहिले कोभिड–१९ को बज्रपात कथित सम्पन्न मुलुकहरूले पनि खप्दै छन् । उबेला जसरी स्पेन र डचका बीच भएको असीवर्षे युद्ध र जर्मनीसँग सम्बन्धित तीसवर्षे लडाइँपछि शान्तिको सर्तका रूपमा आधुनिक राज्य प्रणालीका आधारभूत मान्यता एवं भौगोलिक सार्वभौमसत्ताका अवधारणा स्थापित भएका थिए, त्यसैगरी र त्यही गतिले कोभिड–१९ को व्यवस्थापनपछि विश्व स्वास्थ्य, अन्तर्राष्ट्रिय कानुन, मानवीय हस्तक्षेप, व्यापार र भूमण्डलीकरणको अवधारणामा आमूल परिवर्तन हुने सम्भावना देखिँदै छ । संसार निरन्तर मानवीय हुँदै छ । आजको नेपाल वा नेपालीले पनि प्रशस्त नाम र इज्जत कमाएका छन् । भविष्यमुखी भएर समभावले हिँड्ने हाम्रो नीति हुनुपर्छ ।

अर्थ दार्शनिक कार्ल माक्र्सले भन्थे– मानव समाजको विश्लेषण गर्दा वर्गको कुरा आउँछ । सामाजिक सम्बन्धमा वर्गीय विश्लेषण छुटाउन सकिँदैन । हरेक समाजमा सधैं विरोधी आर्थिक वर्गहरू अस्तित्वमा छन् । विश्व एउटा ठूलो समाज हो । मुलुक–मुलुकबीच पनि वर्गीयता हुन्छ । अमेरिका, बेलायत वा अरू कुनै युरोपेली मुलुकका मान्छेले हामीलाई गरिब मुलुकको मान्छे भनेर हेर्छन् । गरिबी भनेको परिणाम हो । उनीहरूले हामीलाई गरिब भन्नुको अर्थ पैसा नभएको मात्र होइन । तर पैसा नभएको समाजको पढाइलेखाइ, भाषाकला, साहित्य विज्ञान इत्यादि सबै प्रभावित हुन्छ ।

कमाइको सिद्धान्त खोटो छ भने वितरणको सिद्धान्त कसरी सङ्लो हुन सक्ला ? नेपाल उँभो नलागुन्जेल यो अर्काको वर्गीय दृष्टिकोणबाट कसरी मुक्त होला ? नेपालभित्रै वा बाहिर विदेशीसँग काम गर्दा धेरैजसो सोधिने प्रश्न हुन्छ, ‘तपाईंले कहाँ पढेको ?’ ‘नेपालमा पनि वकिल हुन्छन् र ?’ नेपालमा राम्रो पढ्ने ठाउँ पनि छैन, पढेका मान्छे पनि छैनन् भन्ने सोच छ । धनीहरूको मुलुक हो कि गरिबहरूको भन्ने वर्गीय दृष्टिकोणले विवेकसम्मत बन्न दिँदैन । यो सधैं विचार पुर्‍याउनुपर्ने पक्ष हो ।

हाम्रो सभ्यतालाई बुझ्ने दृष्टिकोण कतिपय पश्चिमीको झन् फरक हुन सक्छ । केही पुरानो कुरा हो । म र मेरा धेरै नजिकका केही साथी कम्बोडियाको सिम्हानुकभिल सहरको समुद्री तटमा बेलुकाको रमाइलो गर्दै थियौं । एक–दुई गिलास चिसो बियर तथा सितन खाइसकेपछि ह्वीस्कीको पालो आयो । कम्बोडिया, भियतनाम, लाओसतिर सिंगै सर्प डुबाइराखेको महँगो ह्वीस्की खाने चलन छ । साथीहरूले मलाई पनि बल गर्दै थिए । म जानीजानी यो विषालु पदार्थ म त खान्नँ, घरमा श्रीमती र साना छोरीहरू छन्, तिमीहरू जस्तो नागा जीवन हो र भनी हाँस्दै पन्छिएँ ।

मेरो डच साथीलाई श्रीमतीले छाडीसकेकी थिइन् । एक जना ब्रिटिस थिए । उनलाई कुनै केटीले जुराएकी थिइनन् । अर्की स्वीडिस थिइन्, मभन्दा केही जेठी तर बिहे गर्ने धैर्य छैन भन्थिन् । अनि फ्रान्समा बसोबास गर्ने सुडानी मूलको मेरो हाकिम थिए । रक्सीले लतपत गर्दै भन्दै थिए, ‘लेट मी फरगेट माई वाइफ एन्ड किड्स । आई डोन्ट वान्ट टु कम्प्लिकेट दिस एन्भाइरमेन्ट ।’ (मलाई मेरा श्रीमती र केटाकेटी बिर्सन देऊ, म यो वातावरणलाई जटिल बनाउन चाहन्नँ) यी सबै असल मान्छे थिए । हामी एउटै हैसियतका मानिन्थ्यौं ।

रात गहिरिँदै जाँदा हामी सबै हल्लाखल्ला गर्न थालिसकेका थियौं । मेरा बंगलादेशी साथी चुरोट खान भर्खर छेउ लागेका थिए । रक्सीले गाँजेकी मेरी स्वीडिस साथी युरोपेली साथीहरूलाई भन्दै थिइन्, ‘एनदर फोर्टी एट आवर्स, देन आई विल बी ब्याक टु सिभिलाइजेसन (अर्को चौबीस घण्टा... अनि म सभ्यतामा फर्किसकेकी हुन्छु ।’ कम्बोडिया जंगली समाज हो भन्ने अर्थमा यो आएको थियो । उनको भनाइपछि सबैले चियर्स भनी गिलास बजारे । त्यसपछि मात्र सबैलाई मेरो (अर्थात् अर्को समकक्षी जंगली मुलुकको) उपस्थितिको अनुभव भयो । उनले भनिन्, ‘सरी विपिन, ठट्टा मात्र हो है ।’ टेबुलमा राखेको मधुरो बत्तीमा उनको अनुहार लज्जित देखिन्थ्यो । मैले ‘नेभर माइन्ड’ भन्दै कुरालाई अन्ततिर लगें । जानेर नजानेर अधिकांश पश्चिमीले हामी जस्ता मुलुकलाई यसै गरी हेर्छन् । असहज रूपमा यस्ता कुरा आउने हुन् ।

सन् २००६ मा म अस्ट्रेलियाको डार्विन सहरमा थिएँ । त्यो साता त्यहाँ ‘नेसनल गेम्स’ हुँदै थियो । मैले बल्लबल्ल होटल पाउन सकें । राति लामखुट्टेले निकै टोक्यो । एउटा मुसो पनि छिरेको रहेछ । बल्लबल्ल भगाएँ । तर राम्ररी सुत्न पाइएन । पैसा भने मैले उत्तिकै तिर्नुपर्‍यो । म होटलको फ्लोर मेनेजरसँग निकै रिसाएँ । ब्रेकफास्ट खाँदै गर्दा एक जना ७५, ८० वर्षको देखिने बूढा म नजिकैको टेबुलमा आएर बसे । उनले म कुन देशको भनी सोधे । मैले नेपाल भनें ।

उनी बेलायतबाट केही दशकअघि त्यहाँ बसाइँ सरेका रहेछन् । कुनै भारतीयले उनलाई ढुट्टो पार्ने गरी ठगेको रहेछ । उनले मसँग भारतीयहरूको निकै कुरा काटे । म कुरा अन्तै लान चाहन्थें । एक त रातिको अनिदो, दोस्रो मसँग असम्बन्धित कुरा । मैले कति गाली गर्छौ पुरानो कुरामा, कति पैसाको कुरो थियो र भनी सोधें । आखिर कुरो १ सय ५० पाउन्डको मात्रै रहेछ । मैले पनि नसोचिकन हाँस्दै भनिदिएँ, ‘कति तिमीहरू मात्र लुट्ने त ? कहिलेकाहीं भारतीयले पेट भर्न खोज्दा यो उमेरसम्म पनि कसरी नबिर्सेको हो ?’

भारतमा स्वतन्त्र हुनुभन्दा तीन–चार वर्षअघि ठूलो खडेरी पर्‍यो । पानीको स्रोत सुक्यो, अन्नबाली भएनन्, बंगालमा २८, ३० लाख गरिबगुरुवा खेर गए । त्यत्रो ठूलो देश, अन्नको अभाव थिएन । रेल चल्थ्यो । खालि अन्न भएको ठाउँबाट नभएको ठाउँमा पुर्‍याउन र खडेरीको मार परेकाहरूलाई समुचित वितरण गर्न जरुरी थियो । तर भारतको ब्रिटिस सरकार त्यसो गर्न तयार थिएन । पगितो मान्छे छन्, अलिअलि मर्छन् नि भन्थे । विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री थिए । दोस्रो विश्वयुद्ध सकिएको थिएन । उनको ‘वार क्याबिनेट’ ले उल्टै यस्तो खबर पठायो, ‘सबै गहुँ थुपारेर राख्नू, युद्धपछि युरोपेलीहरूलाई खान चाहिन्छ ।’ यहाँ मरिरहेका मान्छेबारे उनलाई चासो थिएन । उनी भन्थे रे, ‘खरायोले जस्तो धेरै छाउराछाउरी पाएपछि मर्छन् नि त ।’

भारतीयहरू आफंै मिलेर पनि भोकमरी धान्ने प्रयास गर्न खोज्दा चर्चिलको सरकारले दिएन । अझ मौका छोपी बेलायती व्यापारीहरूले अन्नको भाउ बढाए । अन्तत: भारतको कम्पनी सरकारले यहाँ धेरै मान्छे खेर जान लागे, केही त गर्नै पर्छ होला भनी खबर पठाउँदा चर्चिलले सोधे अरे, ‘धेरै मरे भन्छन्, गान्धी त मरेका छैनन् अहिलेसम्म ।’ ब्रिटिस औपनिवेशिक कालमा भारतमा पटकपटक भोकमरी भयो । तर बेलायतीहरू अन्नबालीको खेती गर्नु हुँदैन, नगदे बालीले पो धेरै पैसा दिन्छ भनी सबैलाई खबरदार गर्दै बसे ।

आधा जीवन बेलायतमा बिताई अस्ट्रेलिया सरेका यी ज्येष्ठ नागरिक चर्चिलका बारेमा अपशब्द सुन्नुपर्दा साह्रै रिसाए । डेढ सय पाउन्ड स्टर्लिङको झोकमा उनी सम्पूर्ण भारतीयको स्तर निर्धारण गर्दै थिए । मैले भनें, ‘तिमीलाई ठग्ने भारतीयले राम्रो काम गरेका होइनन् । तर उनी विश्वयुद्ध बिजेता महान् प्रधानमन्त्री विन्स्टन चर्चिल जस्तो समस्यामूलक होइनन् है ।’ उनी लौरो बोकेर सराप्दै हिँडे । विचरा निर्दोश मान्छे मेरो घानमा परे । तर एउटा कुरा पक्का हो– यी बेल्जियम, जर्मनी, स्पेनदेखि फ्रान्स, इटाली, पोर्चुगल र बेलायतसम्मका सबै साम्राज्यवादी मुलुकहरू हिजो कसरी कमजोर मुलुकहरू लुटेका थियौं भनी सम्झन चाहँदैनन् । भारतको सभ्यता मुगल र अंग्रेज साम्राज्यवादीहरूले नलुटेका भए यस क्षेत्रको सामथ्र्य आज अर्कै हुन्थ्यो कि ?

अफ्रिकी मुलुक घानाको आक्रा अन्तर्राष्ट्रिय विमानस्थलमा म दुबईका लागि उड्ने आफ्नो विमानको प्रतीक्षामा थिएँ । बोर्डिङ सुरु भएको थिएन, टर्मिनलको मुखमा एकदमै घुइँचो थियो । फेदतिर खाली ठाउँमा म झ्यालको आड लिएर उभिएको थिएँ । मसँग त्यस्तै अवस्थामा एक अफ्रिकी युवक पनि उभिएका थिए । उनको हातमा कवि रुडयार्ड किपलिङको बायोग्राफी थियो । उनले ‘किम’ भन्ने किपलिङको उपन्यासबारे चर्चा गरे । मध्य एसियामा रुस र ब्रिटेनको रडाकोलाइ आधार बनाएर लेखिएको यो एउटा द्वन्द्वको कथा हो । मैले भनें, ‘किपलिङ भन्ने बित्तिकै म द ह्वाइट म्यान्स बर्डेन भन्ने उनको कविता मात्र सम्झन्छु ।’ त्यसपछि हामी दुवै मजैले हाँस्यौं । उनले भने, ‘कहिलेकाहीं एउटै गलत काम पनि मान्छेको स्टिग्मा (कलंक) भइदिन्छ ।’ भारतमा जन्मिएका किपलिङ सुप्रसिद्ध लेखक थिए र उनले साहित्यमा नोबेल पुरस्कार पनि पाए । तर यो कविता उनलाई महँगो पर्‍यो ।

विवादको जरो श्वेत समुदायले पृथ्वीका अश्वेत समुदायमाथि शासन गर्न नैतिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने किपलिङको कवितामा अन्तर्निहित साम्राज्यवादी सोचाइ हो । यो उनीहरूको उन्नतिका लागि जरुरी छ भन्ने त्यस कविताले पुष्टि गर्छ । त्यस्तो उपनिवेशमा स्थानीय धर्महरूलाई पनि बिदा गर्नुपर्छ भन्ने तिनताक सोचाइ थियो । रोमन तथा प्रोटेस्टेन्ट धर्महरूको प्रतिस्थापनाले ती ‘असभ्य’ हरूको चाँडो विकास सम्भव हुन्छ भन्ने आशय त्यहाँ छ । त्यसो त अंग्रेजीमा ‘सेभियर कम्प्लेक्स’ (उद्धारकर्ता हुँ भन्ने झूटो अभिमान) भन्ने भनाइ पनि प्रयोगमा छ । कतिपय अमेरिकी र युरोपेलीहरूलाई आजकल खिसी गर्नुपर्‍यो भने अफ्रिका, एसिया तथा अन्यत्रका आलोचकहरूले यही शब्द प्रयोग गरी उडाउँछन् । अमेरिकी लेखक मार्क टवेनले त उबेला प्रत्युत्तरमा कविता नै लेखे । आफ्नो फाइदालाई नैतिक कर्तव्य भनी बुद्ध बनेर हिँड्ने विदेशीहरूको कमी नेपालमा पनि छैन । तर यो विश्वव्यापी समस्या हो । हाम्रो हँसाइको कारण यही थियो ।

धेरै पश्चिमाले यहाँका मान्छे जस्तो संघर्ष गर्नुपरेको हुँदैन । आफूले जानेको कुरामा धेरै बल गर्ने बानीचाहिँ हुन्छ । एक जना अमेरिकीसँगको अर्को अनुभव छ । उनी भर्जिनियाका हुन् । उनको थर जिलेस्पी हो । एक दिन खानपिनपछि चिया गफमा उनले भने, ‘जिलेस्पीहरू सबैको थलो भर्जिनिया नै हो ।’ मैले भने, ‘धेरैजसोको भन न, सबैको किन भन्छौ ?’ संसारको इतिहासमा कुन समुदाय कहाँबाट कहाँ पुगेको छ र हामीले आज पाएको पहिचान हिजोको पहिचानभन्दा कति फरक छ ? ठोकुवा गरेर भन्न सकिँदैन । जिलेस्पीहरू अपवाद नहुन सक्छन् । तर उसले भन्यो, ‘होइन, सबै जिलेस्पीहरू भर्जिनियाकै हुन्छन् ।’

यो हाम्रो देश हो । यसले जे दिन्छ त्यो अरू कसैले दिँदैन । संघर्ष गर्नुपर्छ, यसलाई नै राम्रो बनाउनुपर्छ । नेपालीले राम्रो देश खोज्दै हिँड्ने होइन ।

मलाई उसको बलमिच्याइँ प्रस्ट भइसकेको थियो । तैपनि मैले भनें, ‘आयरिस वा इङ्लिस जिलेस्पीहरू पनि हुन्छन् भन्ने मैले पढेको छु ।’ उसले भन्यो, ‘एकदमै नभएको कुरा भन्यौ तिमीले ।’ अनि मैले उसलाई सन् १८१४ मा नालापानीमा भएको नेपाल–अंग्रेज युद्धको कथा सुनाएँ र भनें, ‘गोर्खालीहरूसँगको पहिलो दिनको लडाइँमै रोल्लो जिलेस्पी भन्ने आयरिस मूलका ब्रिटिस मेजर जनरलले वीरगति पाएका थिए । अब मलाई यो नभन कि उनी भर्जिनियाबाट आयरल्यान्ड हुँदै ब्रिटिस फौजमा भर्ना भएका थिए ।’ मेरो अनुहारमा एक निमेष टक्क आँखा अड्याएर हेरेपछि टेबलमा राखेको आफ्नो पाइप र सुर्ती खल्तीमा हाले र उनी बेपत्ता भए ।

प्रोजेक्ट वर्कका सन्दर्भमा एक दिन एक डच साथीले भनिन्, ‘तिमीले बोल्दा फिलिप्स (काल्पनिक नाउँ) ले सधैं खिचलो गर्न खोज्छ ।’ मैले भनें, ‘मलाई त्यस्तो कहिल्यै लागेन ।’ उनले भनिन्, ‘विचार गर, तिमी बोल्दा उसले आफ्नो हात घोप्टो पारी दाहिने कान पछाडि लगेर कुरो नबुझेको जस्तो गर्छ । उसले त्यो जानाजान गरेको हो ।’ फिलिप्स अर्थात् एक अफ्रिकी अमेरिकन । मैले भनें, ‘तिमी महिलाहरू अलि संवेदनशील हुन्छौ ।’ उसले जवाफ दिई, ‘तिमीमा सरलता छ, त्यो उसमा छैन । मलाईचाहिँ त्यस्तो कुरा सहन गाह्रो हुन्छ ।’

अर्को मिटिङमा मैले गोर्खे बुद्धि लगाएँ । फिलिप्सले कुरा राख्दा नबुझिएको वा नसुनिएको जस्तो गरी ठीक त्यसैगरी कान पछाडि हात लगेर देखाएँ । ऊ रन्कियो, ‘ह्वाट ? ह्वाट इज द प्रोब्लम ?’ मैले भनें, ‘द प्रोब्लेम इज विथ यु । आई एम वान्ली रिपिटिङ इट ।’ त्यसपछि सबै साथी गलल हाँसे । उसले भन्यो, ‘मैले त नबुझेर त्यस्तो गरेको हो ।’ मैले पनि ‘नबुझेरै गरेको मैले पनि’ भनें । उसको स्वाभिमान त्यहीँ डल्लियो । तर धेरै अवस्थामा यताका मान्छेलाई उताका मान्छेले गरेको ‘जोक’, कुरा काट्ने तरिका, छेडो हानेको या हाउभाउ बुझ्न गाह्रो पर्छ । यो कतिसम्म गाह्रो हुन्छ भने पूर्वी युरोपकाले समेत पश्चिम युरोपका यस्ता शैली बुझ्न सक्दैनन् ।

एउटा मिटिङमा हामी केही कानुनकर्मी थियौं । फौजदारी न्याय प्रशासनको कुरा हुँदै थियो । म प्रमाणको भार (बर्डेन अफ प्रुफ) सम्बन्धी एउटा मुद्दाको चर्चा गर्दै थिएँ । कानुनशास्त्रअनुसार सामान्यत: फौजदारी मुद्दा छ भने जसले अभियोजन गर्‍यो, उसले नै अपराध प्रमाणित गर्नुपर्छ । आरोपित व्यक्तिले आफू निरपराध (इन्नोसेन्ट) भएको प्रमाणित गर्नु पर्दैन । कानुनले नै अपवादको सिर्जना गरेको छ भने बाहेक नियम यही हो । सम्पत्ति, लेनदेन वा पदसम्बन्धी मुद्दामा जसले बढी प्रमाण जुटाउँछ, उसले मुद्दा जित्ने सम्भावना हुन्छ । अंग्रेजीमा यसलाई ‘डिसिजन बेस्ड अन प्रिपोन्डरेन्स अफ एभिडेन्स’ भनिन्छ । मेरो टिप्पणीपछि एक जना अस्ट्रेलियालीले भने, ‘फौजदारी मुद्दा भए पनि अभियोजन पक्षले आफ्नो प्रमाण प्रस्तुत गरिसकेपछि त्यसको खण्डन गर्ने वा आफ्नो काउन्टर एभिडेन्स दिने कर्तव्य प्रतिवादीको पनि हुन्छ । आएका प्रमाणलाई चुनौती दिने अभिभारा उसकै हो ।’

मेरो टिप्पणी थियो, ‘प्रतिवादी आफ्नो प्रतिरक्षामा उभिनु उसको आफ्नो कुरा हो । तर जुनसुकै हालतमा पनि मनासिव माफिकको दुविधाविहीन रूपमा आरोप लगाउनेले आरोप प्रमाणित गर्नुपर्छ । फौजदारी न्यायको सिद्धान्त यो नै हो । नो एक्सेप्सन ।’

यो सानो कुरामा धेरै विवाद भयो । त्यसपछि उनले भने, ‘तिम्रो देशको कुरो भनेको भए ठीकै होला । म बहस गर्दिनँ ।’ उसको कुरा सुनेपछि मैले थाम्न सकिनँ । अनि आफ्नो वालेट टेबलमा राख्दै भनें, ‘लौ ठीकै छ, मेरो वालेटमा ६ सय ५० डलर छ । मेरो देशको कुरा छाडौं । भोलि बिहानको सेसनमा अस्ट्रेलियाको फौजदारी कानुनअन्तर्गत मेरो कुरा गलत हो भनी प्रमाणित गरिदेऊ । यो पैसा तिम्रो । तर गर्न सकेनौ भने मैले जान्या छ ।’ त्यसपछि ऊ त्यहाँबाट हिँड्यो । अर्को दिन पनि आएन । मसँगै बसेकी बेलायती वकिलले भनिन्, ‘लुक, दे आर गुर्खाज । इफ यु डोन्ट मिन वार, डोन्ट फाइट इट ।’ गोर्खाली भए पनि नभए पनि शास्त्रको कुरा गर्ने हो भने अस्त्र छाड्नुपर्छ । अस्ट्रेलियाली हुँदैमा सबै कानुन जानेको हुनुपर्छ भन्ने छैन ।

एउटा अर्को फरक प्रसंग छ । मेरो एक बेलायती साथीले मलाई सप्ताहन्तका लागि आफ्नो पाहुना बनाए । उनको घर लंकास्टर सहरदेखि ६०–७० किलोमिटर परको एउटा गाउँमा छ । मसँग भेट गराउन उनले केही गाउँले साथी पनि बोलाएका थिए । उनका झड्केलो छोरीज्वाइँ पनि आएका थिए । उनकी श्रीमतीको त्यही साँझ एउटा चर्चमा ‘जाज’ गाउने कार्यक्रम थियो । उनले मलाई सबैजना जाऔं भनी बल गरिन् । चर्चको ठूलो हलमा हामीले त्यो ‘पर्फर्मेन्स’ हेर्‍यौं । त्यसपछि चर्चका फादरले बाइबलका आधारमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध कस्तो हुनुपर्छ भनी प्रवचन दिए । त्यो सक्नेबित्तिकै उनले मञ्चबाट घोषणा गरे, ‘परमेश्वरका कृपाले आज हामीमाझ एक जना अतिथि पनि हुनुहुन्छ । उहाँलाई यो मञ्चमा आई बाइबलबारे आफ्नो ज्ञान हामीमाझ राख्न अनुरोध गर्छु ।’ सबै मान्छे यताउता हेर्दै थिए । म पनि को रहेछन् ती अतिथि भनी बुझ्न खोज्दै थिएँ । ती झड्केली छोरीले हत्केलामा आफ्नो नानी झुन्ड्याउँदै मतिर आएर भनिन्, ‘तपाईंलाई नै बोलाएको हो ।’

यो अप्रत्याशित निम्तो थियो । एउटा त यत्रो ठूलो भीड र दोस्रो बाइबलबारे बोल्नुपर्ने । मैले फादरलाई भनें, ‘तर फादर म त हिन्दु हुँ । फेरि मलाई बाइबलबारे त्यति ज्ञान पनि छैन ।’ उनले भने, ‘यो त झन् हाम्रा लागि सुखद अनुभूति हुन्छ ।’ म फसिसकेको थिएँ । सबै ताली बजाइरहेका थिए । मैले ‘सर्मन अन द माउन्ट’ का बारे कनिकुथी महात्मा गान्धीको दृष्टिकोण राखें । डेविड थुरो र टाल्सटायको सोचलाई कसरी गान्धीले आफ्नो नैतिक र राजनीतिक विचार परिमार्जन गर्न प्रयोग गरे भन्ने व्याख्या गरें । टाल्सटायको ‘ईश्वरको साम्राज्य तिमीभित्रै छ’ (द किङडम अफ गड इज विदिन यु) पढेपछि अहिंसाप्रति उनको विश्वास झन् दह्रो हुन गएको मानिन्छ । मैले त्यहाँ त्यति राम्रो गरे जस्तो मलाई लागेन । तर विदेशी भनेर होला, सबैले मन पराए ।

हामी घर फर्किने बेला ‘जाज’ प्रस्तुत गरेकी मेरो साथीकी श्रीमतीले सोधिन्, ‘तिमीलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो ?’ मैले ‘राम्रो थियो’ भनें । उनले फेरि सोधिन्, ‘तिमी जाज सुन्न कत्तिको जान्छौ ?’ मैले भनें, ‘हाम्रोमा यस्तो केही छैन । पहिलोपल्ट हो ।’ उनले ‘त्यसो भए त राम्रो लागेन होला ?’ भनिन् ।

मैले कोभेंट गार्डेनमा १८५० मा जंगबहादुर र महारानी भिक्टोरियाबीच भएको संवाद सुनाएँ । ‘तपार्इंले यो गीत बुझ्नुभयो र यति रमाएको ?’ भनी महारानीले सोध्दा जंगबहादुरको जवाफ हुन्छ, ‘आई डु नट अन्डरस्ट्यान्ड द नाइटिंगेल आइदर (बुझ्न त म बुलबुलले गाएको पनि बुझ्दिनँ) ।’ हामी सबै रमाइलो गर्दैगर्दा मेरा साथीलाई कुनै एउटा दारीवालले भन्दै थिए, ‘कहाँदेखि आउँछन्, हाम्रै स्कलरसिपमा यहाँ पढ्छन् अनि हामीलाई पढाएर जान्छन् । यो टोनी ब्लेयरको सरकारले केही गर्छ कि यिनीहरूलाई धपाउन ?’ त्यो भने बिझाउने कुरा थियो ।

धेरै विदेशीका नेपालका यस्ता अनुभव होलान् । तर यो हाम्रो देश हो । यसले जे दिन्छ, त्यो अरू कसैले दिँदैन । पर्यटनको दृष्टिले नेपाल सधैं सुन्दर छ । प्रकृतिले दिएको हामीसँग सबै कुरा छ । संघर्ष गर्नुपर्छ, यसलाई नै राम्रो बनाउनुपर्छ । नेपालीले राम्रो देश खोज्दै हिँड्ने होइन । मैले जति आफ्नो देश र बाँकी संसार देखें, आफ्नो देश जहिले पनि सगरमाथा जस्तै अग्लो र बलियो देखें । हाम्रो चाहना आफ्नो देशको क्षमता, आफ्ना मान्छेको पौरख र उनीहरूको कटिबद्धतालाई बुझ्दै अघि बढ्ने हुनुपर्छ । पश्चिमेलीहरूले नेपाल वा नेपालीलाई जसरी हेरुन् †

(लेखन सहयोग : निर्मल चौधरी)

प्रकाशित : वैशाख २७, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

बीपी : अध्यात्म र बौद्धिकताको सन्दर्भ

‘भविष्यमा नेतृत्व दिन सक्नका लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’
विपिन अधिकारी

बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य, आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण र साहित्यिक बीपीको गहिराइलाई मानवीय चेतनासँग मिलाएर हेर्दा उनको समग्र बौद्धिकतालाई बुझ्न सकिन्छ ।

सांसारिक विषयवस्तुमा बीपीका अनुभूतिहरू, राजनीति तथा त्यसमा पनि उनको आधुनिक सोचबाट निःसृत देखिन्छन् । ज्ञानको प्रयोगमा विवेक तथा भावनाहरूउपर बौद्धिकताको अभ्यास उनको व्यक्तित्वको एउटा बलियो पाटो हो ।

आजको संसारमा मोहम्मद युनुस, नोम चोम्स्की, अमर्त्य सेन, फरिद जकारिया वा अल गोरजस्ता बहुचर्चित व्यक्तिहरूमा जति विविधता छ, त्यति समानता पनि छ । बौद्धिकता देखिने आफ्नो क्षेत्रको ज्ञान, तर्क र विवेकले हो भने अर्कोतर्फ संसारका सम्बन्धमा राखिने विषद् विश्लेषण एवं सोचले पनि हो । राजनीतिमा रुचि राख्ने र राजनीतिलाई नै आफ्नो गन्तव्य बनाउनेका बीचमा ठूलो फरक हुन्छ । तर हरेक क्षेत्रमा बौद्धिकताको अभ्यासमा अलिकति ठूलो, फराकिलो र अन्तर–विषयक दृष्टिकोण चाहिन्छ । बीपीमा यी गुणहरू थिए । उनको व्यक्तित्व विचारप्रधान थियो । यसैकारण मृत्युको ३७ वर्षपछि पनि उनी आफ्नो सिद्धान्त र विश्वासका सम्बन्धमा नेपालको राजनीतिमा सम्भवतः सबैभन्दा प्रभावकारी एवं चर्चित देखिन्छन् ।

अध्यात्म ज्ञान निरन्तर अभ्यासबाट प्राप्त हुने हो । जहाँ प्रेम र सही सोच हुँदैन, त्यहाँ शोषण र क्रूरता बढ्दै जान्छ । साहित्यमा सन् १९५१ मा नोबेल पुरस्कार पाएका स्विडिस साहित्यकार पार लेजरक्विस्टको ‘द सिबिल’ भन्ने पुस्तकको चर्चा गर्दै बीपीले लेखेका छन् ‘मानव अनुभूति र मानवलाई प्राप्त हुन सक्ने देव अनुभवको विश्लेषण गरिएका किताबहरूले मेरो हृदयको धार्मिक—आध्यात्मिक पक्षलाई स्पर्श गर्छन् ।’

राजाको थुनामा रहँदा उनको एउटा क्रन्दन निस्कन्छ । शारीरिकभन्दा पनि मानसिक क्लेशले उनी छटपटाउँछन् । ‘कुनै ठूलो रोगको कमसेकम एउटा गुण हुन्छ । त्यसले मानसिक उत्पीडन हुन दिँदैनÙ बरु रोगमाथि मनको यावत् एकाग्रता स्थापित गरेर रोगीलाई एक प्रकारको मुक्ति दिन्छ ।’ प्रजातन्त्रलाई अवरुद्ध गरेर राजा महेन्द्रले आफूलाई मर्नु न बाँच्नु पारेकोमा उनलाई संशय छैन । तर फेरि राजा महेन्द्रले किन भने होलान्– ‘तपाईंजस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनु म आफ्नो अहोभाग्य ठान्दछु ।’ यो प्रश्नको जवाफ विश्लेषकको खोजको विषय हुन पुगेको छ । बोलेअनुसार महेन्द्र टिक्न सकेनन् । तर देशमा राजा र संसद् दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता बीपीका लागि केवल ब्यूह रचना मात्र थिएन । तिक्तता र क्रोध बीपीमा अवश्य थियो । तर बौद्धिकता जोखिममा पुगेको थिएन ।

त्यसैले बीपी लेख्न पुग्छन्– ‘अहिले जुन तरिकाबाट हामीमाथि (राजा र उनको व्यवस्थाबाट) अत्याचार गरिएको छ, त्यसबाट स्वभवतः हृदयमा ठूलो तिक्तताको बाढी आउँछ ।...क्रोधको वेग पनि आउँछ ।’ देश र व्यक्तिलाई हुने कुनै परिणामको प्रवाह नगरेर ‘नेपालका लागि गणतन्त्र अब आवश्यक भएको (छ)’ भन्ने घोषणा गर्न मन लाग्छ । उनी भन्छन्– ‘क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको सोही कदममा निहित विचारजस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हुन्छ । राजाको स्थान हाम्रो राजनीतिमा के हुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।’

सन् १९५०—५१ को क्रान्तिको विकल्प नरहेको सम्बन्धमा बीपीलाई शंका थिएन । उनको यो यथार्थपरक निष्कर्ष थियो । यसको वैचारिक प्रवाह उनैले थामेका थिए । ‘हिंसा अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कलुषित पार्न सक्दैन तर अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै मात्र हुन्छ— हिंसा केवल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न सजिलो छ भनेर ।’

बीपी भन्छन्– ‘म नेपाली समाजको हरेक पक्षमा वर्तमान युगअनुरूपको परिवर्तन चाहन्छु । राजनीतिक क्षेत्रमा आर्थिक, सामाजिक, बौद्धिक दासता, रुढिवादी, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ । राजनीतिक क्रान्तिले यही समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ । म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले आफूलाई क्रान्तिवादी भन्छु ।’
बीपीको भनाइ छ– ‘क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्तिमा छ, न कि व्यवस्थावादीहरूको । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतंकको व्यक्ति । मैले व्यक्तिगत हिंसा र आतंकको खिलाफमा वक्तव्यहरू दिँदै आएको छु ।’

स्वतन्त्रता नभएको राष्ट्र चरित्रवान् राष्ट्र हुन सक्दैन भन्ने दृष्टिकोणले बीपीको राष्ट्रिय चेतनालाई प्रतिविम्बित गर्दछ । उनी निष्काम कर्मको अर्थ निष्कर्म हो भन्ने ठान्दछन् । दर्शन बाँच्नका लागि चाहिएको हो, मर्नका लागि होइन भन्ने उनको भनाइ उनको विश्वास पनि हो । मृत्युलाई उनी अभय भई हेर्दछन् । अश्वघोषले आफ्नो सुन्दरानन्द काव्यमा उल्लेख गरेको यो भनाइ बीपीले उद्धृत गरेका छन्– ‘निभेको दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशा विदिशामा पुग्छ । प्रत्युत तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै ज्ञानी बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक दिशामा या विदिशामा पुग्छ, त्यो पुरुष क्लेषको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ ।’

मानव समाजका सम्बन्धमा बीपीले जीवनपर्यन्त प्रजातान्त्रिक समाजवादको वकालत गरेको देखिन्छ । दरिद्रताको परिस्थितिको ओखती नभएको होइन । उनले भनेका छन्– ‘जीवनका सबै दरिद्रताका कारण समाजको गठनको अविवेकपूर्ण आधार हो— समाजवादको आधारमा समाजको पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरू स्वतः समाधान भएर जान्छ ।’

यस विश्वासका बौद्धिक आधार थिए । तत्कालीन कम्युनिस्ट पार्टीप्रतिको उनको विरक्ति एउटा प्रमुख कारण थियो । उनको चिन्तनलाई रूसका स्टालिन र ट्राट्स्कीको कलहले निकै प्रभावित गर्‍यो । प्रतिभाका दृष्टिले लेनिनभन्दा ट्राट्स्की अघि थिए । तर उनी षड्यन्त्रका सिकार भए । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन निकै माथि पुगे । उनको शासनमा हत्याका घटना वीभत्स रूपमा आए । त्यसपछि बीपी कम्युनिस्ट सिद्धान्तबाट बाहिरिए ।

तर बीपीलाई लेनिनको ‘राज्य र क्रान्ति,’ ‘जे गर्नु थियो त्यो गरियो’, मेहरिङको ‘कार्ल मार्क्स,’ प्लेखानोभको ‘मार्क्सवादका आधारभूत समस्याहरू’, ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम तह’, बुखारिनको ‘कम्युनिज्मको कखरा’ जस्ता पुस्तकले धेरै कुरा सिकाए । कार्ल मार्क्सलाई सम्झिँदै बीपीले इमानदारीपूर्वक टिप्पणी गरेका छन्– ‘मैले उनको ‘दास क्यापिटल’ पढिनँ, अरूले गरेको त्यसको व्याख्या मात्र पढेँ ।’ बीपीका लागि गान्धी उच्चकोटिका थिए । उनले लेखेका छन्– ‘मैले माओका विषयमा धेरै पढेको छैन तर म उनलाई पनि उच्चकोटिमा राख्दछु ।’

बीपीको बौद्धिकता बुद्धिविलासको अस्त्र थिएन । उनले बाँचेको जिन्दगी त्यस्तो बौद्धिकताको स्पष्ट प्रयोगको रूपमा परीक्षण गर्न सकिन्छ । उनको उपन्यास ‘सुम्निमा’ वा ‘कर्नेलको घोडा’ वा ‘तीन घुम्ती’ जस्ता कथाहरूले उनको जीवनदर्शन व्यक्त गर्दछन् । आफ्नो जेल जर्नलमा उनी जीवन सम्झौताहरूको शृंखला हो भनी उल्लेख गर्दै तत्कालै स्पष्ट गर्दछन्– ‘त्यस्ता संकल्प, मूल्य या आदर्शहरू पनि छन्, जसलाई सम्झौताको दर्शनमा होमिदिनु हुँदैन ।’ आत्मसम्मान त्यस्तो आदर्शको श्रेणीमा पर्ने उनको विश्वास थियो ।

आफ्ना जेल परेका साथीहरू बिन्तीपत्र हाल्दै आफूलाई छोडी हिँडेको देखेर दिक्क भएका बीपी आफ्नो असफलताको उल्लेख यसरी गर्दछन्— ‘समाजलाई – एउटा राष्ट्रलाई अगाडि बढाउन सक्ने क्षमता, विवेक, चारित्रिक दृढता, आत्म संगठन, धैर्य, साहस, निर्भीकता, निःस्वार्थपन, संयम भएको नेतृत्व गुणको ममा अभाव छ भन्ने दुश्चिन्ताले म कहिलेकाहीँ क्षुब्ध हुन्छु ।’ अनि उनी भन्न पुग्छन्– ‘भविष्यमा नेतृत्व दिन सक्नको लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’
बीपीको बौद्धिकताको यो चर्चाको सुरुवात यसै वाक्यबाट गर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×